जापान सरकारबाट नेपाल जाइका अलमनाई एसोसियसन जान पुरस्कृत

काठमाडौँ । जापानको परराष्ट्र मन्त्रालयले सन् २०२३ को ‘फरिअन मिनिस्टर्स कमेन्डेसन अवार्ड’ नेपाल जाइका अलमुनाई एसोसिएसन (जान) लाई दिने निर्णय गरेको छ ।

नेपालस्थित जापानी राजदूतावासबाट जारी प्रेस विज्ञप्ति अनुसार नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धलाई मजवूत बनाउन र जापानका प्रविधिहरू नेपालमा भित्र्याउन लामो समयदेखि निरन्तर रूपमा उल्लेखनीय योगदान गर्दै आएकोले जानलाई यो पुरस्कार दिने निर्णय भएको हो ।

विज्ञप्तिमा जानमा नेपाल सरकारका मुख्य सचिव, सचिवहरू, सहसचिवहरू लगायत विभिन्न सरकारी एवं गैर सरकारी क्षेत्रमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरीरहेका सदस्यहरुको वाहुल्यता रहेकोले नेपालको विकासमा जानका सदस्यहरुको उल्लेखनीय योगदान रहेको उल्लेख गरिएको छ ।

जानका सदस्यहरुको वलियो सञ्जाल (Strong Network) रहेकोले जापानमा अध्ययन तथा तालिममा सिकेका ज्ञान र प्रविधिहरू नेपालमा भित्रउन र राष्ट्र निर्माणमा जानका सदस्यहरुले महत्त्वपूर्ण भूमिकानिर्वाह गरिरहेको राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

जानले यो वर्ष आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाउन लागि रहेको अवस्थामा यस किसिमको महत्त्वपूर्ण पुरस्कार िदन पाउदा खुशी व्यक्त गर्दै नेपाल र जापानको मित्रता थप मजबूत बनाउन जानका सदस्यहरुले भविष्यमा पनि नेतृत्व लिने विश्वास राजदूतावासले गरेको छ ।

जानका अध्यक्ष डा। रामचन्द्र भुसालले लामो समय देखि जानले नेपाल मैत्री सम्बन्धकायम गर्न र विभिन्न जापानी प्रविधिहरू नेपालभित्र्याउन गरेको योगदानको कदर गर्दै जापान सरकारले यस्तो महत्त्वपूर्ण पुरस्कार दिने निर्णय गरेबाट जानको योगदानको कदर भएको बताएका छन् ।

अध्यक्ष डा. भुसालले जानका सदस्यहरु जापानमा बस्दा नेपालको सद्भावदूत(Good will Ambassador) र अहिले नेपालमा बस्दा जापानका (Good will Ambassador) बनेर नेपाल जापानको मैत्री सम्बन्ध मजबूत बनाउन लागि रहेको बताएका छन् । यस पुरस्कारले आफु र जानका सम्पूर्ण सदस्यहरुलाई आगामी दिनहरुमा अझै सक्रिय भै नेपाल जापान मैत्री सम्बन्ध वलियो बनाउने कार्यमाआ–आफ्नो भूमिका निर्वाह गर्न प्रोत्साहन मिलेको बताएको छन् । साथै जानलाई यो महत्त्वपूर्ण पुरस्कार दिने निर्णयको लागिजापान सरकार, जापानको परराष्ट्र मन्त्रालय, जापानी राजदूतावास र जाइका नेपाललाई धन्यवाद व्यक्त गरेको कुरा समेत जापानी राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सर्वदलीय बैठक जारी

काठमाडौँ । सर्वदलीय बैठक सुरु भएको छ। अवैध सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न छलफल हुँदैछ।

यसअघि हिजोको लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण स्थगित भएको थियो।

आजको बैठकमा पनि ओली सहभागी छन्। बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलका नेता तथा अध्यक्षहरू छन्। मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थताको कारण देखाउँदै नगएपछि बैठक स्थगित भएको थियो।

सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको कार्यदलले सोमबार प्रारम्भिक मस्यौदा तयार पारेको थियो। सो मस्यौदालाई आजको सर्वदलीय बैठकले अन्तिम रूप दिने तयारी गरेको छ।

उच्चस्तरीय समिति कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न प्रमुख ३ दलका नेता सम्मिलित समिति गठन भएको छ। समितिमा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन्।

जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले प्रगतिशील गायक स्व जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ ।

पर्यटन मन्त्रालयको प्रस्तावमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय गायक जुठबहादुर खड्गी अर्थात् टुहुरेलाई उक्त उपाधि दिने निर्णय गरेको हो ।

गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनको २ वर्षपछि सरकारले उपाधि दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

२० वर्षदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् ।

सुदूरपश्चिममा माओवादीको कार्य विभाजन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा कार्य विभाजन गरेको छ । माओवादीले सुरु गरेको ३ महिने जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान अन्तरगत कार्य विभाजन गरेको हो । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले नेता कार्यकर्ताको कार्य विभाजन गरेको छ ।

बैठकको अनिर्णय अनुसार प्रदेश इन्चार्ज खगराज भट्टलाई व्यवस्थापन कार्यालय समितिको जिम्मेवारी दिइएको छ । जसको सदस्यमा प्रदेश अध्यक्ष हरिराम चौधरी, केन्द्रीय सदस्य त्रिलोचन भट्ट, झपट साउद र रमेशसिंह धामी छन् ।

प्रचार प्रसार कार्यालय समितिको जिम्मा केन्द्रीय सदस्य ओमविक्रम भाटलाई दिइएको छ । जसको सदस्यमा दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजित श्रेष्ठ छन् ।

त्यस्तै बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र सँगै जिल्ला इन्चार्जहरू पनि तोकेको छ ।

कैलाली इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुर इन्चार्जमा वीरमान चौधरी, डडेलधुरा इन्चार्जमा हरि ज्ञवाली, बैतडीमा रामप्रसाद तिमिल्सेना, दार्चुलामा नरेन्द्र कुवर, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन र डोटीमा लक्ष्मीराम आचार्यलाई इन्चार्ज तोकिएको हो ।

जग्गा फिर्ता गर्ने भनेपछि ४८ जना बनेनन् संगठित अपराधमा प्रतिवादी

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा कीर्ते गरेर हडपेको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेपछि ४८ जनाले जग्गा फिर्ता गर्ने भन्दै निवेदन दिएको खुलेको छ ।

सीआईबीले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा जग्गा फिर्ताका लागि निवेदन दिएको भन्दै सरकारी लिखत कीर्ते र संगठित अपराधको मुद्दाबाट छुटकरा दिइएको छ ।

उनीहरुलाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ । ‘मुल उद्देश्य जग्गा फिर्ता गराउने भएकाले फिर्ता गर्छु भन्नेलाई कीर्ते र संगठित अपराधमा मुद्दा लैजान राय दिएनौं’, सीआईबीका एक अधिकृतले भने, ‘मुद्दा फिर्ता गर्ने प्रयोजनका लागि मात्रै ४८ जनालाई प्रतिवादी बनाएका छौं ।’

सीआईबीले जग्गा फिर्ता प्रयोजनबाहेक २३८ जनालाई मात्रै सरकारी लिखत कीर्ते र संगठित अपराधमा प्रतिवादी बनाएको छ । ललितानिवासको जग्गा लिनेमध्ये सिपिका खेतानसहित ४८ जनाले मालपोत कार्यालय, डिल्लीबजारमा पनि निवेदन दिएका थिए ।

सीआईबीले यो प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय शाहसहितलाई प्रतिवादी बनाएको छ । पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यात, पूर्वसचिव दिनेशहरि अधिकारी, नारायण गोपाल मलेगु लगायत पनि यसमा प्रतिवादी छन् ।

चार चरणमा गरेर ललितानिवासको १४३ रोपनी जग्गा हडपिएको सीआईबीको निष्कर्ष छ । यसमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनु नपर्ने राय सीआईबीले दिएको छ । उनीहरुलाई साक्षीको कागज गराइएको छ । पूर्वमुख्य सचिव लीलामणि पौड्यालको पनि बयान गराइएपनि प्रतिवादी बनाइएको छैन ।

धादिङको छहरानजिकै त्रिशुलीमा बस खस्यो

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

शङ्कर पोखरेलको आरोप ः सरकारले सुशासनका नाममा भ्रष्टाचारीको संरक्षण गर्‍यो

सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धनको सरकारले ‘सुशासन अभियान’को नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् ।

बुधबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग ‘कफी र कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले सरकारले सुशासनकै नाममा भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए ।

‘अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवासको अनुसन्धान र सुनकाण्डलाई हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने रु यी सबै काम सरकारकै डिजाइनमा भएको प्रष्ट देखिन्छ’ महासचिव पोखरेलले भने, ‘दण्डित हुनुपर्ने सरकार सुशासनको नाम दिएर भ्रमको खेती गरिरहेको छ ।’

उनले सुनको अवैध कारोबार गर्न पशुपति सुन काण्ड बाहिर ल्याइएको आरोप समेत लगाए । ‘दुई महिना अघि नक्कली कम्पनी खडा गरेर हङकङबाट पानी तान्ने पम्प र ब्रेक शुलाई जहाज चढाएर ल्याउने पर्ने कारण सुन तस्करीकै लागि रहेछ । ब्रेक शुको तौल कति हुन्छ भनेर भन्न नपाइने, अध्यागमनमा समातिएको सामान तीन दिनपछि हराउँदा पनि हामीले मान्नुपर्ने रु’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘यो प्रकरणमा सत्तापक्ष नै संलग्न छ भन्ने कुराको निष्कर्षका आधारमा हामीले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका हौं ।’

पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको बताए । यस प्रकरणमा पनि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप छ । ‘नक्कली भुटानी शरणार्थी मुद्दामा गृहको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम गरियो । सक्कली प्रतिवेदन भेटिएपछि यो सेलायो तर बाहिर सरकारले नक्कली प्रतिवेदनका आधारमा भ्रम सिर्जना गरियो’, उनले भने ।

ललितानिवास प्रकरणको घरमा मुछिएकाहरूलाई घरघरमा गएर अनुसन्धान तथा बयान लिएकोमा पनि उनले सीआईबीको आलोचना गरे । उनले थपे, ‘मुख्यव्यक्तिहरुको छानबिन सुरु हुने कुरा भयो । राय सुझावका आधारमा अनुसन्धान गर्ने नाटक गरियो । घरमा गएर अनुसन्धानदाता आफैंले निष्कर्ष निकालेर अनुसन्धान अघि बढ्यो । यो कस्तो अनुसन्धान हो ?’

फरक प्रसंगमा महासचिव पोखरेलले एमाले कर्णालीको नेतृत्वको विकास हुन अपरिहार्य रहेको बताए । ‘सापेक्षरुपमा कर्णालीबाट पार्टीको स्थायी कमिटीमा यामलाल कँडेल र गोरखबहादुर बोगटी हुनुहुन्छ । उहाँहरुको योगदान असाधारण छ । उहाँहरुलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न सकियो कि सकिएन भन्ने प्रश्न स्वाभाविक हुन्छ’ उनले भने, ‘त्यसका लागि व्यक्ति स्वयं आफैं भूगोलमा भन्दा राष्ट्रिय विषयमा उभिन आवश्यक हुन्छ । त्यसमा पार्टी नेतृत्वले सहयोग गर्नुपर्छ ।’

स्कुल पसेको भैंसी डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइयो

काठमाडौं । बुद्धनगरस्थित एक स्कुलभित्र पसेको भैंसीलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ ।

डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रयोग गरेपछि ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसी बेहोस भएको थियो । उक्त भैंसीलाई अहिले वन र सुरक्षाकर्मीसहित टोलीले नियन्त्रणमा लिएको छ।

बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेर ग्यारेजमा बसेको थियो ।

भैंसीले क्षति पुर्‍याउन सक्ने भएकाले आज बिहानभर सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरेको थियो ।

उक्त भैंसी स्कुलको ग्यारेजभित्र प्रवेश गरेर बसेपछि नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको टोलीले डिभिजन वन कार्यालयको टोलीलाई खबर गरेको थियो ।

त्यसपछि भेटेरिनरी डाक्टरसहित वन अधिकृतको टोली विद्यालय परिसरमा पुगेको थियो । यसअघि काठमाडौं उपत्यकाका वस्तीहरुमा प्रवेश गर्ने चितुवाहरुलाई पनि यही टोलीले नियन्त्रणमा लिने गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जाँदैछन् ।

मन्त्रिपरिषदको यही बैठकले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय समेत गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई एकसाथ संलग्न नेपाल धितोपत्र निस्कासन सातौं संशोधन नियमावली संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

अर्थ मन्त्रालयकै प्रस्तावमा धुलिखेल अस्पताल आपतकालीन केन्द्र तथा सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने ३ अर्ब २० करोड ६० लाख जापानी यन अनुदान सहायता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

५६ जना एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरी बलमा ५६ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्।

एसपीमा सि.सं.३ र डिएसपीमा सि.सं. ७ मा रहेका अधिकृतहरू बढुवा सिफारिस भएका हुन् । २०६० भाद्र २९ गते भर्ना भएका सि.सं. ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना यसपटक बढुवा सिफारिस भएका हुन् ।

सोह्रौँ योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

काठमाडौँ । सोह्रौँ योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयअन्तर्गतका प्रेस काउन्सिल नेपाल, राष्ट्रिय समाचार समिति, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल दूरसञ्चार प्राधिकरण, गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनलगायतका निकायका प्रमुखसँग आज छलफल गरेको हो ।

राष्ट्रिय योजना आयोगले भर्खरै मात्र सोह्रौँ योजना आर्थिक वर्ष २०८१–८२–२०८५–८६ अवधारणा पत्र सार्वजनिक गरेको छ । अवधारणा पत्रमा आधारित भएर सबै मन्त्रालयले आ–आफ्नो हिसाबले तयार गरेर पठाउनुपर्ने छ ।

“सोह्रौँ योजनाको अवधारणा पत्र हालसालै आएको छ, योजना आयोगले ल्याएको यसमा आधारित भएर सबै मन्त्रालयले तयार गरेर पठाउनुहुन्छ, हामी सङ्घीय संरचनामा छौँ, १६औँ योजनामा छौँ, १५औँ को समीक्षा गर्ने बेला भएको छ”, सञ्चार मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले भने ।

विसं २०८१ को असारमा १५औँ योजना सकिन्छ । वि.सं २०८१ को साउनदेखि १६औँ योजना सुरु हुन्छ । त्यसैले १६औँ योजनाको कागजात माघ मसान्तभित्रमा तयार गरी सक्ने गरी छलफल गर्ने क्रम सुरु भएको छ । सोह्रौँ योजनाको अवधारणा पत्र आएसँगै त्यसमा आधारित भएर विषय क्षेत्रगत मन्त्रालयको क्षेत्रअनुसारको १६औँ योजनामा के(के राखेर अगाडि बढ्ने भनेर योजना आयोगले बनाएको आधार पत्रमा राखिएको छ ।

अवधारणा पत्रमा आधारित भएर सञ्चार मन्त्रालय अन्तर्गतको विषयवस्तुलाई पहिला अलगअलग सङ्कलन गर्ने, त्यसलाई विषयवस्तुका आधारमा बाँडेर छलफल गर्ने र अन्तिम रूप दिएर अर्को हप्ताको सुरुमा योजना आयोगमा पठाउनुपर्ने समयसीमा भएको हुँदा आज मन्त्रालय र मातहतका निकायका प्रमुखसँग छलफल गरिएको हो ।

छलफलमा योजना आयोगका विषय क्षेत्र हेर्ने सहसचिवको पनि सहभागिता रहेको थियो । सोही अवसरमा मन्त्रालयले त्यसबारेमा अहिलेसम्म भएको प्रगति, अहिलेसम्म भएको काम, प्राप्त विवरण पनि उल्लेख गर्ने काम गरेको थियो ।

सोह्रौँ योजना –१५औँ योजनाको समीक्षा र दीर्घकालीन सोचअन्तर्गतका अब आउने योजनाको दिशाबोध गर्ने कार्य भएकाले आगामी पाँच वर्षको अवधिमा के प्राप्त गर्न सकिन्छ, कस्ता सोेच राखेर जाने, कस्ता लक्ष्य राखेर जाने, कस्ता रणनीति, कस्ता कार्यनीति राखेर जाने भन्ने विषयमा सबै निकायसँग छलफल गरेर अन्तिम रूप दिनेबारेमा पनि छलफल भएको थियो ।

सञ्चार मन्त्रालयअन्तर्गतका राष्ट्रिय समाचार समिति, प्रेस काउन्सिल नेपाल र नेपाल दूरसञ्चार प्राधिकरणलगायतका केही निकायले विवरण पेश गरिसकेका छन् । मन्त्रालयअन्तर्गत सूचना प्रविधि, आमसञ्चार, चलचित्र, छापा र हुलाक लगायत छ वटा क्षेत्र रहेको छ ।

बूढीनन्दामा पहिलो पटक सरकारी पूजा गर्ने तयारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बूढीनन्दामा पहिलो पटक सरकारीस्तरबाट पूजा गरिने भएको छ । आउँदो शनिबार सरकारी टोली पूजा सामग्री लिएर बूढीनन्दा प्रस्थान गर्ने छ ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा बाजुरा, जुम्ला, डोटी र कालीकोटमा सरकारी पूजा हुने भए पनि बूढीनन्दामा भने योभन्दा पहिले सरकारी पूजा हुने गरेको थिएन । धार्मिकस्थल बूढीनन्दामा पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट पूजाका लागि सरकारी टोली जाने भएको बूढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराले जानकारी दिए।

बडिमालिकामा पहिलेदखि नै जिल्लाबाट सरकारी टोली जाने भए पनि यो वर्षदेखि बूढीनन्दामा पनि पूजा सामग्रीसहितको सरकारी टोली जाने सर्वपक्षीय बैठकबाट निर्णय भएको नगर प्रमुख बोहराले बताए । धार्मिकस्थल बूढीनन्दा ओझेलमा राखी बडिमालिकालई मात्रै बढी महत्त्व दिने गरेको हुँदा आफूले यस्तो प्रस्ताव गरेको उनको भनाइ थियो । सरकारी टोली पूजाका लागि आउने भएपछि स्थानीयवासीसमेत खुसी भएका छन् ।

साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने धार्मिक तीर्थस्थल बडिमालिका र बूढीनन्दा मन्दिरमा भक्तजन पुगेर पूजाआजा गर्ने प्रचलन छ ।

जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिका मन्दिरमा विशेष पूजा हुने भएकाले भक्तजन वर्षे झरीको परवाह नगरी बडिमालिका माताको दर्शन गर्न उक्त क्षेत्रमा पुग्ने गर्दछन् । बडिमालिका जानुपूर्व भक्तजनले त्रिवेणीमा स्नान गरी मन्दिर परिसरमा जाने गरेका छन् ।

त्रिवेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाइने र पितृ तर्नाका साथै आफूले चिताएको सबै कुरा पूरा हुने जनविश्वास रहेको बडिमालिका मन्दिरका पुजारी भोजराज पाध्यायले बताए। बडिमालिका माताको दर्शनपछि निःसन्तानले सन्तान पाउने, रोग हट्ने र मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

चार शक्ति पीठमा एकै साथ पूजा

जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका बडिमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख, जाल्पादेवीलगायत चार शक्ति पीठमा जनैपूर्णिमाको अघिल्लो दिन एकै साथ पूजा हुने गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेका ती चार शक्ति पीठमा आ(आफ्नै ठाउँमा पूजा आरधाना गरेर मेला भर्ने गरिन्छ ।

बडिमालिका, बूढीनन्दा, सुनन्दा र जाल्पादेवी चार बहिनी भएकाले उनीहरुको एकै साथ पूजा हुने गरेको हो । बूढीनन्दा जाने भक्तजनले बडिमालिकालगायत अन्य तीर्थयात्रा जान नपाइने धार्मिक मान्यता रहिआएको छ । बडिमालिका जाने तीर्थयात्रीले बूढीनन्दा गएमा कुनै क्षति हुनसक्ने जनविश्वास रहिआएकाले आ–आफ्नै ठाउँमा पूजा वा मेला लाग्ने गरेको बताइन्छ ।

बाढीले पुल बगाएपछि जनजीवन कष्टकर

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो ।

गत असार ८ गते आएको बाढीले राउतेखोलामा लगाएको ट्रस्ट ब्रिज बगाएपछि आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । पुल बगेपछि यहाँका बालबालिका ज्यान जोखिममा राखेर विद्यालय जान बाध्य छन् । राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई दैनिक विद्यालय आउनजान समस्या भएको सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजधन राईले जानकारी दिए । खोलामा ज्यान जोखिममा राखेर विद्यार्थी विद्यालय आउनुपर्ने स्थिति छ ।

‘बाढीले पुल बगाउँदा जनजीवन प्रभावित भएको छ’, उनले भने, ‘पुलको कारण बालबालिकालाई विद्यालयसम्म नै आउन कठिनाइ भएको छ । पानी परेको अवस्थामा उनीहरूलाई झनै जोखिम छ ।’ खोलामा चाँडो पुल बनाउन यहाँका बासिन्दाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसित माग गरेका छन् ।

ज्यानलाई जोखिममा राखेर खोला तर्नुपर्ने अवस्था रहेको कक्षा ११ मा पढ्ने छात्र दीपक विष्टले बताए । खोला तर्दा किताब, कपीसँगै कपडा भिज्ने गरेको विष्टको भनाइ छ । कहिलेकाहीँ बाटोमा हिँड्ने मानिसको सहायताले खोला पार गर्ने गरेको उनको भनाइ छ । “उर्लिएर आएको खोला तर्न ज्यानको बाजी लगाउनुपरेको छ”, उनले भने, “किताब, कपीसँगै कपडा भिज्दा पठनपाठन गर्न समस्या हुन्छ । दिनभर चिसो कपडामा बस्दा बिरामी परेको अवस्था पनि छ । कहिले किताब, कापी त कहिले जुत्ताचप्पल खोलामा बग्छन् । हामी ४०–५० जना साथी यसरी नै विद्यालय जानेआउने गरेका छौँ ।”

अर्को ठाउँको पुलबाट विद्यालयसम्म दुई घण्टा बढी घुम्नुपर्ने अवस्था रहेको सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा –१० मा अध्ययनरत छात्र दुर्गाबहादुर विश्वकर्माले बताए । बाढीले पुलसँगै बाटो बगाउँदा बालबालिका विद्यालय जानबाट बञ्चित भएको स्थानीयवासी टङ्क विश्वकर्मा बताउछन् । बालबालिकालाई बाध्य भएर जोखिममा पनि विद्यालय पठाउनुपर्ने अवस्था छ । घरको काम पनि धान्नुपर्ने भएकाले सधैँ अभिभावकले विद्यालयसम्म पुर्‍याउन सक्ने अवस्था नरहेको विश्वकर्माले बताए ।

बाढीले पुल बगाउँदा स्थानीयको जनजीवन निकै कष्टकर बनेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले राईले बताए । बाढीले झोलुङ्गे पुल, सडकसँगै १६ वटा सिँचाइ कुलो बगाएको उनको भनाइ छ । यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्‍याएको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए ।

‘झोलुङ्गे पुलसँगै यो खोला भएर बनेका सबै सडक बगाएको छ’, उनले भने, ‘सडक अवरोध हुँदा बालबालिका विद्यालय जान सकेका छैनन् भने सुत्केरी, ज्येष्ठ नागरिक, असक्तलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएको छ ।’

प्रधानमन्त्रीद्वारा पर्यटनमन्त्री किरातीका पिताप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पुल्चोकस्थित मन्त्री निवास पुगेर उनले दिवङ्गत राईप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री दाहालले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा समवेदनासमेत प्रकट गरेका छन् ।

यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सहरी विकासमन्त्री सीता गुरुङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीलगायत मन्त्रीले दिवङ्गत राईप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

मन्त्री किरातीका बुवाको ७६ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए ।

एसियाली खेलकुद ःरग्बीमा नेपाल समूह ‘ए’ मा

काठमाडौँ । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालसँगै यो समूहमा हङ्कङ, चीन र फिलिपिन्स छन् । हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

यसैगरी समूह ‘बी’मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’ मा जापान, सिङ्गापुर र थाइल्यान्ड तथा समूह ‘डि’ मा युएई, चीन र अफगानिस्तान छन् ।

रग्बीका खेलहरू सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछ । विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसै दिन आफ्नो समूह चरणको दुवै खेल खेल्ने छ । नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङ्कङ चाइनाविरुद्ध खेल्ने छ । हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ ।

एसियाली खेलकुदमा नेपालले पहिलो पटक रग्बीमा सहभागिता जनाउन लागेको हो । नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ । १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलङ्काका सन विजेसिङ्घेले प्रशिक्षण दिइरहेका छन् ।

नेपाली टोलीमा विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी छन् ।