कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने

जाजरकोट । सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ । मुआब्जा तथा अन्य विवाद सल्टिएपछि कोहलपुर – सुर्खेतमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने भएको हो ।

बाँकेको बैजथानस्थित बस्तीमा सामान्य समस्या आए पनि करिब–करिब हल उन्मुख भएपछि काममा तीव्रता आएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिका(१ गाभर र वडा नं. ४ को बानियाभार हुँदै लाइन विस्तार गरिँदै छ । उक्त लाइन विस्तार गर्ने ठाउँमा बस्ती र खेतीयोग्य जमिनमा असर पर्ने भन्दै केही सर्वसाधारणले विरोध गरे पनि समाधानको दिशातिर गएको प्रदेश कार्यालयले जनाएको छ । विवाद समाधानोन्मुख भएसँगै अबको छ महिनाभित्र काम पूरा हुने र आठ महिनाभित्र पूर्णरूपमा विद्युत् सञ्चालन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

विवाद भएर आयोजनाको नौ वटा पोल निर्माण रोकिएकामा केही दिनभित्र निर्माण अघि बढाइने भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिकाको भने मुआब्जासम्बन्धी विवाद समाधान भएको छ । निजी जग्गाको मुआब्जा वितरण प्रक्रियामा सहमतिअनुसार काम अघि बढाएको मन्त्री बस्नेतले जानकारी दिए । विद्युत् प्रसारण लाइन विस्तारको काम सुरु गरेको तीन वर्ष पूरा भएपछि अपेक्षित लक्ष्यमा पुग्नका लागि काममा जुटेको आयोजनाले जनाएको छ । सुर्खेतसहित कर्णालीका अन्य जिल्लाको विद्युत् समस्या हल गर्न एक मात्र विकल्प ठानिएको उक्त प्रसारण लाइनको जति ढिला हुन्छ, त्यति यहाँका सर्वसाधारणलाई हैरानी हुँदै आएको छ ।

लाइन विस्तार कार्यको सुरुआत २०७७ असारदेखि गरिएको थियो । ठेक्का सम्झौता भएपछि आयोजनाले कानुनी प्रक्रियामै धेरै झन्झट भएकाले काममा ढिला हुँदै आएको थियो । संरचना निर्माण पूर्वका कानुनी उल्झन र विभिन्न अवरोधका कारण लक्ष्यअनुसार प्रगति हासिल हुन समय लागेको प्रदेश कार्यालयले जनाएको छ । अझै ३० प्रतिशत काम गर्न बाँकी छ । हाल सडक डिभिजन कार्यालयअन्तर्गतको रुख कटानको काम सकिएको छ भने राष्ट्रिय निकुञ्जमा रुख कटानका लागि प्रक्रिया अघि बढेको छ ।

आयोजनाअन्तर्गत कोहलपुरबाट सुर्खेतसम्म रहने कुल एक सय ६० वटामा २६ एङ्गल टावर निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका अनुसार प्रसारण लाइनले ७० हेक्टर जमिन वनको क्षेत्र ओगट्नेछ । त्यसै गरी १६ हेक्टर खेतीयोग्य जमिन र दुई हेक्टर बाँझो जमिन तथा ११ हेक्टर अन्य भागले ओगट्ने प्रतिवेदनमा उल्लेख छ । यसमध्ये करिब चार हेक्टर जमिन स्थायी रूपमा सबस्टेसन निर्माणका लागि र तीन हेक्टर टावरको जग निर्माणका लागि अधिग्रहण गरिनेछ भने बाँकी करिब ९२ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गरिनेछ ।

चालिस प्रतिशत काम सम्पन्न गर्न बाँकी रहेको आयोजनाको २०८० चैतमा सम्झौता सकिँदैछ । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले रु। ७० करोडमा आयोजनाको ठेक्का पाएको हो । जाजरकोट, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, डोल्पा र रुकुमपश्चिममा अहिले ३२ केभी प्रसारण लाइनको विद्युत् सञ्चालमा रहेको छ । एक सय ३२ केभी निर्माण हुने बित्तिकै सबै ठाउँमा यही विद्युत् प्रसारण हुने छ । अहिले पानी पर्ने बित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गरेको छ ।

त्यस्तै चार सय केभी प्रसारण लाइनको कामसमेत यसै आर्थिक वर्षमा सुरु गरिने भएको छ । सुर्खेतको भेरीगङ्गा–८ देउतीखोलामा सबस्टेसन निर्माण गर्नका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले २०७९ फागुन २० गते सूचना प्रकाशित गरी कामको सुरुआत गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा। नेत्रप्रसाद ज्ञवालीले बताए । जाजरकोटको नलगाड–८ दानीपिपलबाट देउतीखोलासम्मको एक सय ५० किलोमिटर प्रसारण लाइन निर्माण गरेर देउतीखोलाको सबस्टेसनमा विद्युत् जोडिने छ । दुई हजार पाँच सय मेगावाट विद्युत् यही लाइनबाट मुख्य लाइनमा जोड्नका लागि यो कामको सुरुआत गर्न लागिएको हो । रु. १४ अर्ब बराबरको लगानी गर्नुपर्ने डा. ज्ञावलीले बताए । जगदुल्ला एक सय छ मेगावाट, भेरी ‘ए’ तथा नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाट विद्युत् यही स्टेशन हुँदै मुख्य लाइनमा जोडिने छन् ।

डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला

भादगाउँ । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ ।

डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ । समितिले भगवान् शिवको विशेष महिनाका रूपमा रहेको साउन महिनाको १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलशयात्रा गरी श्रावणी मेला सुरु गर्ने गरिनछ । आजकै दिन डोलेश्वरको विशेष पूजाअर्चना गरी मेलाको समापन गरिँदै आएको महासचिव बस्नेतले बताए ।

आठ सय कृषि फार्मलाई अनुदान

गण्डकी । व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन् ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गृष्म न्यौपानेका अनुसार पशुपक्षीपालक किसानलाई रु. सात करोड ८६ लाख र व्यावसायिक कृषिखेती गर्ने किसानलाई रु. आठ करोड अनुदान रकम उपलब्ध गराइएको छ । “साना व्यावसायिक पशुपक्षी र कृषि फार्म लक्ष्य गरी गत वर्ष अनुदान कार्यक्रम सञ्चालन गरिएको थियो”, उनले भने, ‘चालु आवमा भने यो कार्यक्रम छैन, प्रोत्साहन सहयोगका अन्य कार्यक्रम राखिएको छ ।’

मन्त्रालयमार्फत कृषि अनुदान तथा प्रोत्साहनमा बर्सेनि बजेटको ठूलो हिस्सा खर्च हुने गर्छ । कृषि अनुदानको दुरुपयोग बढेपछि पछिल्लो समय उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न थालिएको छ । वास्तविक व्यावसायिक पहिचान गरी प्रोत्साहन रकम उपलब्ध गराइने प्रमुख डा. न्यौपानेले बताए ।

गत आवमा विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत पाँच सय ३० परिवारलाई जीविकोपार्जनमा सहयोग गरिएको थियो । विपन्न घरपरिवारका लागि बाख्रापालन, भकारो सुधारलगायत कार्यक्रममा सहयोग प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ‘ब्लक’ विकास कार्यक्रममा रु. सात करोड १३ खर्च भएको उनले बताए।

मन्त्रालयले गत आवमा मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषिगाउँ, तरकारी खेतीका लागि प्रोत्साहन, बाँझो जग्गामा खेती प्रवर्द्धन, बिज वृद्धि, रैथाने बाली संरक्षण, कृषि उद्यम विकासलगायतका कार्यक्रम सञ्चालन गरेको थियो । यी कार्यक्रमले चालु आवमा पनि निरन्तरता पाउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत आवमा प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तारका लागि पनि किसानलाई अनुदान दिएको थियो । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी पाँच सय ७२ रोपनी क्षेत्रमा स्याउ खेती विस्तार भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

स्याउ खेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट तीन सय ९२ र शीतोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत एक सय ८० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार भएको हो । गत आवमा स्याउ खेती विस्तारतर्फ रु. ११ करोड ५० लाख र शीतोष्ण फलफूल विस्तारमा रु छ करोड बजेट खर्च भएको निर्देशनालयले जनाएको छ ।

आईएसएफ यु१५ जिम्न्यासाइडमा निश्चित कार्कीले जिते स्वर्ण

काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् ।

मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा कार्कीले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन् ।

कार्कीले फाइनलमा १० अंकको खेलमा ७.४ अंक जोड्दा प्रतिद्वन्द्वी ब्राजिलका खेलाडीले ७.१ अंक मात्र प्राप्त गरेका थिए ।

यसअघि कार्कीले सेमिफाइनलमा मेक्सिकोलाई हराएका थिए । मेक्सिकोले ६.८ अंक जोड्दा ७.४अंक प्राप्त गरेका थिए । जितसँगै ११ राष्ट्रले प्रतिस्पर्धा गरेको गर्ल्स बास्केटबलमा नेपालले नवौं स्थान हात पारेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरू

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज पुनः बसेको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुहुने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले आफ्नो प्रतिवेदन पेस गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य, अन्तर्राष्ट्रिय परिस्थिति, भू–राजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थिति, नेपाली समाजको विशिष्ट अवस्था लगायतबारे चर्चा गरे ।

उक्त प्रतिवेदनमा पार्टीको सैद्धान्तिक, वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै अध्यक्ष नेपालले विभिन्न कारणले आफ्नो पार्टी एमालेभन्दा फरक रहेको उल्लेख गरे। मुलुकमा पुँजीवादी क्रान्तिको अन्त्य गर्न जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेकाले सो विचार छाड्न नसक्ने प्रतिवेदनमा उल्लेख छ । यही भदौ ७ गतेसम्म चल्ने सो बैठकले महाधिवेशनको मिति र स्थान तय गर्ने बताइएको छ ।

भारतले पठाएको चन्द्रयान –३ चन्द्रमाको सतहमा अवतरण गर्दै

काठमाडौँ । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दैछ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहेको र भारतीय समय अनुसार आज बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यान चन्द्रमाको सतहमा अवतरण गराइने भारतीय अन्तरिक्ष संस्था ई सरोलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बीबीसीले, ‘यदि चन्द्रयान(३ सफलतापूर्वक अवतरण भएमा भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलता प्राप्त गर्ने पहिलो राष्ट्र बन्नेछ ।’ लेखेको छ ।

यसको उद्देश्य पानीको सम्भावनासहितको बरफको खोजी हो र त्यसले चन्द्रमामा मानिसको बसोबासको सम्भावनालाई सहयोग गर्ने ठानिएको छ ।

यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ । चन्द्रमाको दक्षिणी भागमा यानलाई अवतरण गराउन लागिएको हो । चन्द्रयान–३ सफल अवतरण भयो भने चन्द्रमाको दक्षिणी भागमा कुनै पनि यानको अवतरण पहिलो हुनेछ ।अवतरणका लागि यानको गति प्रति सेकेण्ड एक देखि दुई मिटरमा सीमित गरिएको छ ।

मन्त्रिपरिषद् आकस्मिक बैठक बस्दै ः३५ सह सचिवको सूची अन्योल, परिचय पत्रबारे निर्णय हुन सक्ने

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक केही बेरमा बस्दै छ । बैठक अहिले ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै राष्ट्रिय परिचय पत्र प्रणाली सञ्चालनका लागि वार्षिक मर्मत सम्भार सम्झौताबारे निर्णय हुन सक्ने बताइएको छ ।

फ्रान्सेली ठेकेदार कम्पनी आईडीएमआईएलाई तिर्नु पर्ने एनुअल मेन्टिनेन्स कन्ट्र्याक्टवापत सरकारले तिर्नु पर्ने शुल्क नदिएपछि कम्पनीले सेवा नै बन्द गर्ने चेतावनी दिएको थियो । राष्ट्रिय परिचयपत्र वितरण प्रभावित हुन सक्ने सम्भावना बढेर गएकोबारे साउन २८ गते प्रशासन डटकमले समाचार प्रकाशन गरेको थियो ।

सम्बन्धित समाचार ःराष्ट्रिय परिचय पत्र वितरण बन्द हुन सक्ने, फाइल घुमाउनै ठिक्क छ गृह मन्त्रालय

गृह मन्त्रालयको तिर्न बाँकी एक र थप एक वर्ष गरी दुई वर्षको तिर्नेबारे निर्णय मन्त्रिपरिषदमा पठाइएको सिंहदरवार स्रोतले बताएको छ ।

अगस्ट १८ मा एक वर्षको बाँकी नै छ, थप एक वर्षको मात्र थप्दा पुनः समस्या दोहोरिन सक्नेसमेत बताइएको छ ।

यसै गरी सरुवाका लागि तयार पारिएको ठुलो सङ्ख्यामा सहसचिवहरूको सूचीबारे यसै भन्न सकिने अवस्था देखिँदैन । तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले शुरु गरेको सूची नयाँ मन्त्रीसम्म आई पुग्दा पनि सहजै पार पाउन सकेको छैन । यद्यपि आजको बैठकले निर्णय गर्न सक्ने सम्भावना भने रहेको स्रोतको भनाई छ ।

करिब दर्जन बढी पटक थप्ने घटाउने क्रमसँगै यो समाचार तयार पारुन्जेलसम्म ३५ जनाको सूची बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो । प्राप्त जानकारी अनुसार सङ्घका वरिष्ठ दर्जन बढी सहसचिवहरूलाई प्रदेश पठाइँदै छ भने लामो समयदेखि प्रदेशमा बसेका सहसचिवहरूलाई सङ्घमा ल्याइँदै छ ।

कर्मचारी सरुवामा निकै ठुलो सकस देखिँदै आएको छ । चक्रीय प्रणाली भन्दा ‘चाकरी प्रथा’ बढ्ता प्राथमिकता दिएकै कारण जसले शक्तिकेन्द्र रिझाउन सक्यो त्यसैले बाजी मार्ने परम्पराले निजामती तन्त्र थप अस्थिर र विकृत बन्दै गएको छ ।

पितृ शोकमा परेका मन्त्री किरातीप्रति प्रधानमन्त्रीको समवेदना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई परेको पितृ शोक प्रति समवेदना प्रकट गरेका छन् ।

बुधबार बिहान समाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले मन्त्री किरातीका बुवाको दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनले लेखेका छन् ‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। दुखको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’

प्रधानमन्त्री दाहालले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा पनि समवेदना प्रकट गरेका छन् ।

मन्त्री किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान काठमाडौँको वीर अस्पतालमा निधन भएको हो ।

प्रमुख प्रशासकीय अधिकृतमाथि कर्मचारीबाटै घुस लिएको आरोप

काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलले कर्मचारीबाटै घुस लिएको आरोप लागेको छ ।

सोमबार पत्रकार भनेर नगरपालिका प्रवेश गरेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले अधिकृत पौडेलले कर्मचारीबाटै घुस लिएको विषय सार्वजनिक गरेपछि विवाद बाहिर आएको हो ।

करारका महिला कर्मचारीबाट १ लाख ३५ हजार घुस लिएको आरोप उनीहरूको आरोप छ ।

बासगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्काले घुस प्रकरणको वास्तविकताका विषयमा छानबिन गरिने बताएका छन् । कार्यपालिकाको बैठक बसेर यस विषयमा छलफलपछि निर्णय गर्ने र दोषी ठहर भए कारबाही प्रक्रिया अघि बढ्ने प्रमुख खड्काले बताए ।

घुस प्रकरणमा मुछिएपछि पालिकाले उनीमाथि छानबिन गर्ने भएको हो ।

यस विषयमा प्रशासनले बुझ्न खोज्दा अधिकृत पौडेलले मोबाइल अफ गरेका छन् ।

१७ घण्टापछि सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक

काठमाडौँ । १७ घण्टा पछि मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । सडक विभाग भरतपुरका अनुसार सोमबार राति ८ बजे अवरुद्ध भएको सडक मङ्गलवार दिउसो सञ्चालनमा आएको हो ।

यस वर्षको सबैभन्दा ठूलो पहिरो आएर सडक बन्द भएपछि आज रातभर काम गरिएको थियो । यस सडक खण्डको नाम्सी पुल नजिक ठूलो पहिरो गएको हो ।

कारागारमै १ जना कैदीको मृत्यु

रामेछाप । जिल्ला कारागार रामेछापमा कैद भुक्तान गरिरहेका एक जना कैदी बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा उमाकुण्ड गाउँपालिका–६ का ८४ वर्षीय पदमबहादुर श्रेष्ठ रहेका छन् ।

उनी बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेको कारागार प्रशासनले जनाएको छ । हिजो (सोमबार) बेलुका कारागारको बाथरुममा लडेर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा मृत्यु भएको जिल्ला कारागार रामेछापका प्रमुख रुपलाल तामाङ जानकारी दिनुभयो ।

श्रेष्ठले उच्च रक्तचापको रोगी भएको र प्यारालाइसिस भएर नियमित औषधी सेवन गरिरहेका थिए । मृतक श्रेष्ठ जबरजस्ती करणी मुद्दामा रामेछाप कारागारमा जन्मकैदको सजाय भोगिरहेका थिए । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रामेछापमा राखिएको छ ।

उपप्रधानमन्त्री खड्कासँग थाइल्याण्ड र म्यानमारका नेपालीभाषीको भेट

काठमाडौँ । थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् ।

रक्षा मन्त्रालयमा भएको भेटमा थाइ नेपाल एसोशिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि विदेशमा रही सोही देशको नागरिकका रूपमा काम गरिरहेको बताए ।

साथै उनीहरूले आफूहरू नेपालीकै सन्तान भएको भन्दै पहिचान खुल्ने व्यवस्था मिलाइदिन आग्रह गरे। भेटमा थाइ नेपाल एसोशिएसनका प्रतिनिधिहरूले आफूहरूलाई नेपाल आवतजावत गर्न पाउने तथा गैरआवासीय नेपालीको परिचयपत्र उपलब्ध गराउन आग्रह गरे।

उपप्रधानमन्त्री खड्काले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै संविधानको परिधिभित्र रहेर यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने आश्वासन दिए ।

यसअघि उक्त टोलीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरी थाइल्याण्ड र म्यानमारमा बस्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकलाई गैर आवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन पहल गरिदिनु आग्रह गरिएको थियो ।

भक्तपुरको सुधार गृहबाट भागेका थिए २२० कैदी, ९२ जना समातिए, अझै १२८ फरार

सानोठिमीस्थित बाल सुधार गृहबाट २२० जना कैदी भागेका छन्।

२ सय कैदीबन्दीहरु भागेपछि भक्तपुरदेखि काठमाडौंसम्मै तनाव भएको छ।

भागेकामध्ये अहिलेसम्म प्रहरीले भक्तपुर र काठमाडौंबाट ९२ जनालाई फेरि पक्राउ गरिसकेको छ।

लाठी र भालासहित ढोका फोडेर निस्किएका उनीहरुले बन्दीगृहको पछाडिको ढोका फुटाएका थिए।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाका अनुसार अझै १२८ जना फरार रहेका छन्।

बन्दीगृहका ४३ जना कैदीहरु भने भागेका छैनन्। उनीहरुलाई अहिले सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ।

तनावका क्रममा सशस्त्र प्रहरी, प्रहरी र कैदीबन्दीसहित २१ जना घाइते भएका छन्। भाग्ने क्रममा कैदीहरुलाई रोक्न खोज्दा प्रहरी पनि घाइते भएका हुन्।

कैदी भाग्ने क्रममा झडप हुँदा सशस्त्र प्रहरीका ८ जना, नेपाल प्रहरीका ७ जना र ६ कैदीबन्दी घाइते भएका छन्।

सुधार गृहमा जम्मा २९८ जना कैदीबन्दीलाई राखिएको थियो। तीमध्ये ४३ जना महिला छन्।

भागेका कैदीबन्दीहरु लाठी र भालासहित काठमाडौंको कोटेश्वरसम्म आइपुगेका थिए।

उनीहरुलाई भक्तपुर प्रहरीले पछ्याएर पक्राउ गरेको हो।

आइतबार रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएपछि बालसुधार गृह तनावपूर्ण बनेको हो।

बालसुधार गृहभित्रका थुनुवाले सोमबार दिउँसो बन्दीगृह प्रशासनविरुद्ध नाराबाजी र तोडफोड गर्दै बाहिर निस्किँदा सुरक्षार्थ खटिएको प्रहरीले रोक्न खोजेको थियो।

झडपपछि आक्रोशित भएका कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्किएका थिए।

सुधारगृहले आइतबार बिहान बस्नेतको परिवारलाई उनको मृत्युको खबर दिएको थियो। तर उनको मृत्युको कारण पुष्टि नगरिएपछि आफन्त र कैदीबन्दी आक्रोशित थिए।

आइतबार जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा एक छानबिन समिति बनाएको थियो।

बाहिरी उक्साहटमा लागेर सुधार गृहमा रहेकाहरुलाई उपद्रो नगर्न प्रमुख जिल्ला अधिकारी रिजालले आग्रह गरेका थिए।

छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउने बताउँदै संयमित बन्न र कानुनबाहिर नजान रिजालले भनेका थिए।

प्रधानमन्त्रीको चीन भ्रमणमा सडक कनेक्टिभिटी अन्तर्गतका परियोजना अघि बढ्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आसन्न चीन भ्रमणका बेला ‘नेपाल–चाइना ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी’ अन्तर्गतका केही महत्वपूर्ण परियोजना अघि बढ्ने भएका छन्।

‘नेपाल–चाइना ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी’ तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड फोरम’ (बीआरएफ) का क्रममा घोषणा गरिएको कनेक्टिभिटी सम्बन्धी बृहत् परियोजना हो।

चीनको राजधानी बेइजिङमा १३–१४ वैशाख २०७६ मा दोस्रो ‘बीआरएफ’ सम्पन्न भएपछि जारी ३८ बुँदे संयुक्त विज्ञप्तिको २३ औँ अनुसूचीमार्फत् नेपाल–चीन सीमापार रेलमार्गसहितको ‘नेपाल–चाइना ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी’ को घोषणा गरिएको थियो।

‘ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी’ रेलमार्ग, सडकमार्ग, हवाईमार्ग, सूचना–सञ्चार र प्रसारण लाइनको माध्यमबाट एक–अर्को मुलुकलाई जोड्ने बृहत् परियोजना हो। प्रधानमन्त्री प्रचण्डको आसन्न भ्रमणमा यही बृहत् परियोजना अन्तर्गत केही परियोजना अघि बढाइने छन्।

दोस्रो ‘बीआरएफ’ को संयुक्त विज्ञप्तिमा उल्लेख गरिए अनुसार सीमापार रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा थप निर्णय भइसकेको छ। राष्ट्रपति सीको नेपाल भ्रमणको क्रममा सीमापार रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो।

सम्भाव्यता अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च आफूले बेहोर्ने घोषणा पनि चीन सरकारले यसअघि नै गरिसकेको छ। तत्कालीन परराष्ट्रमन्त्री डा। नारायण खड्काको २०७९ साउन अन्तिम साता भएको चीन भ्रमणको क्रममा सो रेलमार्गको सम्भाव्यता अध्ययनमा लाग्ने सम्पूर्ण रकम आफूले बेहोर्ने वचनबद्धता चीनले जनाएको थियो।

सोही अनुसार एउटा चिनियाँ टोली नेपाल आएर रेलमार्ग निर्माणको बृहत् सम्भाव्यता अध्ययन गरिरहेको छ। नेपाल–चीन सीमापार रेलमार्ग निर्माण सम्बन्धी कार्य सम्भाव्यता अध्ययनकै चरणमा रहेकाले यस सम्बन्धमा थप सहमति हुने सम्भावना देखिँदैन।

‘ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी’ को अर्को महत्वपूर्ण पक्ष सडकमार्गबाट हुने कनेक्टिभिटी हो। राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा पनि यस सम्बन्धमा थप केही सहमति भएका छन्। सोही अनुसार प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा त्यस सम्बन्धमा थप ठोस प्रगति हुने गरी प्रस्ताव राख्ने नेपालको तयारी छ।

जसअनुसार ‘कोशी आर्थिक करिडोर’ अन्तर्गतको किमाथाङ्का–लेगुवाघाट राजमार्ग निर्माण सम्बन्धी विस्तृत प्रस्ताव पेस गर्ने तयारी नेपालको छ। यसैगरी ‘गण्डकी आर्थिक करिडोर’ वा ‘कर्णाली आर्थिक करिडोर’ मध्ये कुनै एक राजमार्गमा पर्ने कुनै खण्ड निर्माण सम्बन्धी विस्तृत प्रस्ताव नेपालले राख्नेछ।

यसमध्ये कोशी आर्थिक करिडोर अन्तर्गत किमाथाङ्का–लेगुवाघाट सडक खण्ड निर्माणमा आफूले सहयोग गर्ने एक खालको वचन राष्ट्रपति सीको नेपाल भ्रमणको क्रममा चीनले दिइसकेको छ। भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा यस सम्बन्धमा नेपालले अनुरोध गरेको र यो विषयलाई चीनले नोट गरेको उल्लेख छ।

‘कोशी आर्थिक करिडोर अन्तर्गतको किमाथाङ्का–लेगुवाघाट सडक निर्माणका लागि नेपाली पक्षले राखेको प्रस्तावलाई चिनियाँ पक्षले नोट गरेको छ,’ संयुक्त विज्ञप्तिको पाचौँ बुँदामा भनिएको छ, ‘साथै भविष्यमा हुने सहयोग योजना अन्तर्गत यसलाई समावेश गर्ने सम्बन्धमा विचार गर्न चिनियाँ पक्ष सहमत छ। यसका लागि चिनियाँ पक्षले नेपाली पक्षलाई विस्तृत प्रस्ताव पेस गर्न अनुरोध गरेको छ।’

‘कोशी करिडोर अन्तर्गतको किमाथाङ्का–लेगुवाघाट सडकखण्ड निर्माणका लागि सहयोग गर्न चीन पहिल्यै तयार छ, सहयोग सम्बन्धी विस्तृत प्रस्ताव नेपालले पेस गरेपछि यस सम्बन्धी प्रक्रिया अघि बढ्छ,’ जानकार स्रोतले नेपालखबरसँग भन्यो, ‘यससम्बन्धी गृहकार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरिरहेको छ।’

नेपाल–चीन सीमानाकाहरुमध्ये कोशी करिडोर अन्तर्गत किमाथाङ्का हुँदै आउने सडकमार्गलाई हिमपातले असर गर्न नसक्ने र बाह्रै महिना यातायातका साधन सुचारु हुने सडक खण्ड मानिएको छ। त्यहीकारण नेपालको प्रस्ताव अनुसार सो सडकखण्ड निर्माणका लागि चीन पनि सकारात्मक देखिएको हो।

स्रोतका भनाइमा पूर्वी क्षेत्रमा पर्ने कोशी करिडोर अन्तर्गतको किमाथाङ्का–लेगुवाघाट सडक खण्डका अलावा पश्चिम क्षेत्रको गण्डकी करिडोर र कर्णाली करिडोर अन्तर्गतको कुनै सडक खण्ड निर्माण सम्बन्धमा पनि चीनले सहयोगको वचन दिनसक्छ।

‘पश्चिमी क्षेत्रका दुई आर्थिक करिडोरमध्ये एक अन्तर्गतको कुनै सडक खण्ड निर्माण सम्बन्धी प्रस्ताव नेपालले गर्ने र सो सडक खण्ड निर्माणमा चीनले सहयोगको वचनबद्धता प्रकट गर्ने सम्भावना छ,’ स्रोतले भन्यो, ‘पश्चिमी क्षेत्रका दुई करिडोरमध्ये यसपटक कर्णाली करिडोर अन्तर्गतको कुनै सडक खण्ड चिनियाँ सहयोगमा निर्माण हुने सहमति हुनसक्छ।’

भक्तपुरको थिमीस्थित सुधारगृहमा तनाव, कैदीबन्दी ढोका फोडेर भागे

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बालसुधार गृहमा तनाव भएको छ।

सोमबार सुधार गृहमा राखिएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर भाग्न थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार आइतबारको घटनापछि आफन्तले नारा जुलुस गरेका थिए।

त्यही क्रममा कैदीबन्दीले पछाडिको ढोका फोडेर सबै पुरुष कैदी भागेका छन्। घटनाका क्रममा तीनजना कैदी र केही प्रहरी घाइते भएका छन्।

घाइतेमध्ये एकजना गम्भीर घाइते भएका छन्। उनीसहित अन्यको नागरिक अस्पतालमा उपचार भइरहेको छ। तर प्रहरीले भने गोली चलाइएकोबारेमा केही पनि पुष्टि गरेको छैन।

सुधार गृहमा सजाय काटिरहेका रामेछापको मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो।

सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

त्यही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।

बन्दीहरु सुधार गृहको कम्पाउण्डको मूलढोका फोडर बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको हो।

बन्दीहरुले सुधार गृहबाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न थालेका थिए।

उनीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए। अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन्।

सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन्।

सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यहीँ रहेका छन्। यसैगरी प्रहरीले फारार बन्दीहरुमध्ये करिब २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखिएको छ।