पहिलो ‘मेरो भ्वाइस युनिभर्स’ बने प्रीतम राई

काठमाडौँ । प्रीतम राई पहिलो ‘मेरो भ्वाइस युनिभर्स’ बनेका छन् ।

सिक्किमका राईले नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ जितेका हुन् ।

शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा राई विजेता बनेका हुन् । उनले उत्कृष्ट ५ अन्तिममा पुगेका परेश राई, शिशिर ठटाल, शरद हुमागाईं र साइराज खातीलाई पछि पार्दै विजेता बनेका हुन् ।

विजेता बनेसँगै राईले १ करोड जितेका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेले पुरस्कृत गरेका छन् ।

उदरेखोलामा कल्भर्ट निर्माणले खल्लागोठवासीलाई सुरक्षा

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ खल्लागोठ गाउँका बासिन्दालाई वर्षात्का बेला पौडी खेलेर बालबालिकालाई विद्यालय पुर्‍याउने झन्झट छैन । खोलामा कल्भर्ट निर्माण भएपछि खोला तर्न सहज भएको हो ।

खोलामा कल्भर्ट नहुँदा स्थानीय बासिन्दाले वर्षात्का बेला निकै सास्ती खेप्दै आएका थिए । “खल्लागोठ गाउँमा बसोबास गर्ने ८५ परिवारलाई खोला तर्नकै लागि निकै सास्ती थियो”, स्थानीय भीमबहादुर महराले भने, “यस क्षेत्रकै पुरानो बस्ती र पूर्व(पश्चिम राजमार्गभन्दा झन्डै एक किलोमिटरको दूरीमा रहेको भए पनि दुर्गमजस्तै थियो, कल्भर्ट निर्माणले जीवनयापन सहज बनेको छ ।”

बालबालिकालाई विद्यालय पुर्‍याउन खोला तर्नका लागि अभिभावक सँगै जानुपर्ने विगतको बाध्यता हटेर गएको उनले बताए । “गाउँमा कोही आकस्मिकरूपमा बिरामी भए, सुत्केरी हुने महिलालाई अस्पताल पुर्‍याउनुपरे निकै सास्ती खेप्नुपर्ने बाध्यता थियो”, जीतबहादुर महराले भने, “खोलाको बाढीको पानी कम भएपछि खोला तरेर अस्पतालसम्म पुर्‍याउँथ्यौ, तुरुन्तै लैजानुपर्ने भए जोखिम मोलेर बाढी आएकै खोला तरेर अस्पताल पुग्नुपर्ने हुन्थ्यो ।”

वर्षात् सुरु हुनुअगावै बजारबाट खरिद गर्नुपर्ने खाद्यान्नलगायतका सामग्रीको जोहो मिलाउनुपर्ने विगतको बाध्यता हटेर गएको उनले उल्लेख गरे । अब ती दिन विगत भइसकेको उल्लेख गर्दै उनले कल्भर्ट निर्माणले आवागमनलाई सहज बनाएको बताए ।

खल्लागोठ गाउँलाई पूर्वतर्फबाट मछेली नदी र पश्चिमतर्फबाट ओदरेखोलाले घेरेको छ । उत्तरतर्फ सामुदायिक वन छ । “बस्तीमा बाढी पसेपछि सुरक्षित स्थानमा जानका लागि विगतमा माध्यम नै थिएन”, चन्द्रादेवी देउवाले भने, “जङ्गली हात्ती गाउँ पसे भाग्न सक्ने अवस्था थिएन, कल्भर्ट निर्माण भएपछि सहजरूपमा सुरक्षित स्थानमा जान सक्ने भएका छौँ ।”

कल्भर्ट निर्माणले आवागमनलाई मात्रै सहज बनाएको नभएर गाउँलाई नै सुरक्षित गरेको उनले बताए । वडाध्यक्ष अर्जुन साउदले खल्लागोठलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाएको बताए । “पूर्व(पश्चिम राजमार्गबाट नजिकैको गाउँ भए पनि खोलाका कारण दुर्गमजस्तै थियो”, उनले भने, “प्रत्येक चुनावका बेला खोलामा कल्भर्ट निर्माणका लागि माटो परीक्षण गर्ने, डिपिआर बनेको घोषणा हुन्थ्यो, काम हुँदैनथ्यो, खोलामा कल्भर्ट निर्माणका लागि बजेट पनि राखिन्थ्यो तर कार्य नभएर फिर्ता ९फ्रिज० जाने गरेको थियो ।”

“विगतका जनप्रतिनिधिले गरेका नियति नदोहोर्‍याउने प्रतिबद्धता पूरै नगरपालिकाको कार्यपालिकाले गर्‍यौ, जे भनेका छौँ, त्यो गरेरै छाड्ने प्रणअनुसार खोलामा कल्भर्ट बनाएरै छाड्यौँ”, उनले भने, “विगतको जस्तो वर्षात्का बेला खोला तर्न नसकेर सुत्केरी आमा र गम्भीर बिरामीले ज्यान गुमाउनु पर्दैन, अभिभावकले विद्यालय गएका बालबालिकालाई खोला तार्नका लागि डिलमा बस्नुपर्ने अवस्था अब छैन ।”

पहिलो वर्ष खोलामा कल्भर्ट निर्माण गरिएको उल्लेख गर्नुहुँदै उनले अर्को वर्ष तटबन्ध निर्माण र खानेपानीमा जोड दिइने बताए । तटबन्ध निर्माणका लागि पहल गरी प्रदेश सरकारबाट रु. दुई करोड बजेट ल्याउन सफल भएको उनले जानकारी दिए । खानेपानीका लागि पाइप बिछ्याउने कार्य अगाडि बढाइएको उनले भने ।

नगरपालिकाका विपद् शाखाका प्रमुख प्रेम बोगटीका अनुसार खोलामा रु। ५० लाखको लागतमा कल्भर्ट निर्माण गरेको छ । नगरपालिकाको लगानीमा उपभोक्ता समितिमार्फत कल्भर्ट निर्माण गरिएको छ । कल्भर्ट निर्माणमा स्थानीय बासिन्दाले रु नौ लाख ४० हजार सात सय २० बराबरको श्रमदान गरेका छन् । “पहिला कल्भर्ट, पुल पुलेसालगायतका संरचना ठेक्का प्रक्रियामार्फत हुँदै आएकामा नगरपालिकाले पहिलोपटक उपभोक्ता समितिमार्फत गुणस्तरीय कार्य गरेको छ, कल्भर्ट निर्माणसँगै तारजालीको तटबन्धसमेत बनाइएको छ ।”

स्थानीय बूढापाकाका अनुसार खल्लागोठ गाउँमा बस्ती बस्न विसं १९९५ देखि नै सुरु भएको हो । पहिला वस्तुभाउ चराउनका लागि पहाडबाट हिउँदका बेला डडेल्धुरा, डोटीलगायतका क्षेत्रबाट गोठाला यस क्षेत्रमा आउने गरेका थिए । गर्मीयाम सुरु हुनुअगावै वस्तुभाउ लगेर पहाड उक्लिन्थे । तराईमा औलो उन्मूलन भएपछि स्थायीरूपमा यस क्षेत्रमा बस्ती बसेको बताइन्छ । पुरानो गाउँ भए पनि यो क्षेत्र विकासमा भने पछाडि परेको छ ।

संसद्को अवरोध हटाउन सभामुखद्वारा दलका प्रमुख सचेतकसँग छलफल सुरु

काठमाडौँ । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकसँग छलफल सुरु भएको छ ।

बैठकमा सत्तापक्षबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक छन् ।

प्रतिनिधि सभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

सरकार समिति गठनको पक्षमा नहुँदा अझै कुरा मिल्न सकेको छैन । सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अहिले राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग छलफल गर्दैछन् ।

स्वास्थ्य परीक्षण गराएर फर्किए राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर फर्केका छन् ।

राष्ट्रपति पौडेलले महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा नियमित परीक्षण गराएका हुन् ।

आइतबार बिहान मुटुको परीक्षणका लागि राष्ट्रपति पौडेल अस्पताल गई फर्किसकेको पौडेलको सचिवालयले जनाएको छ ।

मुटुको उपचारका लागि झण्डै दुई साता अस्पताल भर्ना भई राष्ट्रपति पौडेल १३ असारमा डिस्चार्ज भएका थिए ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग सोमबार छलफल गर्ने संसदीय सुनुवाइ समितिको निर्णय

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलि (सोमबार)देखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने छ ।

समितिको आज बिहान बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

२३ साउनमा बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । उजुरीकर्तासँग सोमबार छलफल गर्ने र सोही दिन श्रेष्ठसँग पनि छलफल गर्ने ज्येष्ठ सदस्य राणाले बताए ।

बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने सीआईबीको तयारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

यो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि मुछिए तापनि सीआईबीले उनीहरुको बयान नलिई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

तत्कालीन पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई उन्मुक्ति दिएको भन्दै प्रश्न उठेका बेला सर्वोच्च अदालतले २१ साउनमा मन्त्रिपरिषदको निर्णय तथा कार्य प्रमाणित गरी कार्यान्वयन गर्ने तहमा संलग्नहरुमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।

तर सीआईबीले सरकारी वकिलको कार्यालयले दिएको समयसीमा भन्दा दुई दिनपछि आइतबार प्रतिवेदन बुझाउन लागेको सीआईबीका एक अधिकृतले बताए ।

जिल्ला सरकारी वकिलको कार्यालयले गत शुक्रबारभित्र अनुसन्धान प्रतिवेदन बुझाउन सीआईबीलाई भनेको थियो ।

सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ । यसमध्ये २०६६ सालमा ‘प्रधानमन्त्री निवास विस्तार’का नाममा २५ रोपनीभन्दा बढी जग्गा प्लटिङको बाटो बनाउन र मोहीका नाममा दर्ता हुन पुगेको छ ।

माधव नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो ।

निर्णय कार्यान्वयन हुँदा प्रधानमन्त्री निवासमा २७ रोपनी ७ आना २ पैसा १ दाम जग्गा थपिनुपर्ने थियो । तर मन्त्रिपरिषदले नै सरकारी जग्गामा हुँदै नभएको मोही खडा गरेर उनीहरुलाई अन्यत्र व्यवस्थापन गर्ने भनी निर्णय गर्यो र बालुवाटारको पर्खालभित्र थपिनुपर्ने जग्गाको करिब आधा हिस्सा मोहीका नाममा सारेर ‘भूमाफिया’को कब्जामा गएको अनुसन्धान अधिकृतहरुको निष्कर्ष छ ।

प्रधानमन्त्री कार्यालयको परिपत्र भन्दै समरजंग कम्पनीको नाममा रहेको राजकुलो र सरकारी जग्गामा मोही कायम हुने गरी निर्णय भएको थियो । यो निर्णयको कारण धेरै सार्वजनिक, सरकारी र गुठी समेतका जग्गा हिनामिना भएको अधिकृतहरु बताउँछन् ।

५ माघ २०६९ मा मालपोत कार्यालय, डिल्लीबजारले ललितानिवासभित्र रहेको ६० आना जग्गा ‘पशुपति टिकिन्छा गुठी’का नाममा दर्ता गर्ने निर्णय गरेको थियो । डा। बाबुराम भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले यसबारेमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।

ललितानिवासमा बाँकी रहेको जग्गा हत्याउन भूमाफियाहरुले नक्कली गुठी खडा गरेर त्यसमा फर्जी मोही राखेर सरकारी जग्गा व्यक्तिको नाममा सारेको अधिकृतहरु बताउँछन् ।

यो प्रस्ताव मन्त्रिपरिषदमा पठाउन भूमिका खेलेको आरोपमा तत्कालीन मन्त्री चन्द्रदेव जोशी, सचिव दिनेशहरि अधिकारी लगायत गुठी संस्थानका कर्मचारीहरुलाई पनि प्रहरीले प्रतिवादी बनाउने तयारी गरेको छ ।

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको मूल्य एक लाख ९ हजार ७५० रुपैयाँ तोकिएको छ । शुक्रबार एक लाख १० हजार ४ सय रुपैयाँमा छापावाल र एक लाख ९ हजार ८५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । चाँदीको मूल्य भने शुक्रबारको जस्तै १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

लुम्बिनी सरकार अझै अपूर्ण, संसदीय समिति पनि नेतृत्वविहीन

दाङ । सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा लुम्बिनी प्रदेश सरकारले तीन महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन ।

गत वैशाख १४ गते लुम्बिनी प्रदेश सरकारको सत्ता सम्हालेका नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी हालको सात सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्ने तयारीमा छन् । तर आफ्नै पार्टीभित्रका आकांक्षीहरु धेरै भएकाले उनले निर्णय लिन सकेका छैनन् ।

सबै दललाई भागबन्डा मिलाउँदा मन्त्रालय थप्नुपर्ने अवस्था आउने र आलोचना हुने भन्दै उनले सुरुमा ७ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । मुख्यमन्त्री चौधरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका साथै खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफैंले सम्हालिरहेका छन् ।

हाल लुम्बिनीमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री, नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, लोसपाका सन्तोष कुमार पाण्डेय गृहमन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि मन्त्री, जनमतका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्री छन् ।

सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएका लोसपाका नेता सन्तोषकुमार पाण्डेले भदौ १० अगाडि नै सरकारलाई पूर्णता दिने गरी गृहकार्य भइरहेको बताए । ‘सरकारले ल्याएको निजामती कर्मचारी र स्वास्थ्य सम्बन्धी विधेयकलाई सदनबाट पास गर्ने र त्यसलगतै सरकारलाई पूर्णता दिने तयारी छ, मलाई लाग्छ भदौ १० अगाडि नै यो काम हुन्छ,’ उनले भने ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले पनि मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको जानकारी दिए । पूर्वसहमति अनुसार माओवादीले तीन जनाको नाम (धनबहादुर मास्की, दिपेन्द्रकुमार पुनमगर र कृष्ण केसी०को नाम सिफारिस गरेको थियो । त्यसअनुुसार मास्की अर्थमन्त्री बनिसकेका छन् । माओवादीले थप दुई मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ ।

तर कांग्रेसले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको माओवादी नेता इन्द्रजित चौधरी बताउँछन् । ‘हाम्रोमा कुनै समस्या छैन, कांग्रेसभित्र कुरा मिल्न बाँकी रहेको बुझिन्छ,’ उनले भने, ‘सबै मिलाएर भदौ महिनाभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने कुरा छ ।’

कांग्रेसलाई मुख्यमन्त्रीसहित चार जना मन्त्रालय दिने सहमती भएको सो पार्टीका नेताहरु बताउँछन् । कांग्रेसबाट मुख्यमन्त्री चौधरी र स्वास्थ्य मन्त्री राजु खनाल मात्र छन् । नेताहरुको भनाइ अनुसार कांग्रेसबाट अझै तीन जनाको नाम पठाउनुपर्नेछ । तर मन्त्रीका आकांक्षी धेरै भएकाले टुंगोे लगाउन ढिलाइ भएको कांग्रेसका एक प्रदेश सभा सांसदले बताए ।

मन्त्रालय फुटाएर भागबन्डा

सरकारमा सहभागी सत्तारुढ दललाई भागबन्डा मिलाउन मन्त्रालय फुटाउनुपर्ने हुन्छ । आवश्यक परे मन्त्रालय फुटाउनेसमेत तयारीमा मुख्यमन्त्री चौधरी छन् । सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेय तत्काल ४ जना मन्त्री थपेर ११ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिने बताउँछन् ।

प्रदेशमा हाल तीनवटा मन्त्रालय खाली छन् । खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । यी मन्त्रालय हाल मुख्यमन्त्री चौधरीले सम्हाल्दै आएका छन् ।

स्रोतका अनुसार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र शहरी विकास मन्त्रालयबाट दुईवटा नयाँ मन्त्रालय सिर्जना गर्न सकिनेछ । समीकरण मिल्ने मन्त्रालयहरुलाई एक ठाउँमा ल्याउने रणनीतिमा सरकार छ ।

संसदीय समिति पनि नेतृत्वविहीन

लुम्बिनी प्रदेश सरकार विस्तारमा भइरहेको ढिलाइले प्रदेशसभाको विषयगत समितिको सभापति चयन गर्ने काम पनि प्रभावित भएको छ । सत्तारूढ दलहरूबीचमा मन्त्रालय बाँडफाँटको विषयमा कुरा नमिल्दा त्यसको प्रभाव संसदको विषयगत समितिको सभापति चयनमा समस्या परेको हो ।

सत्तारूढ दलभित्र मन्त्रालय र विषयगत समितिको सभापति चयनलाई सँगसँगै टुंग्याउन खोजेपछि सभापति चयनको प्रक्रिया नटुंगिएको जनाइएको छ । २०७४ सालको प्रदेशसभा नियमावलीमा सभापतिको निर्वाचन नभएको अवस्थामा ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक बस्ने, बैठक बसेको एक महिनाभित्र सभापतिको निर्वाचन गर्ने प्रावधान थियो ।

तर, २०७९ सालमा बनेको प्रदेशसभा नियमावलीमा सभापति चयन नहुँदासम्म ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्ने उल्लेख भएकाले बैठक बस्न कुनै समस्या नरहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।

प्रदेशसभामा गठन भएका ६ समितिमध्ये अहिलेसम्म जम्मा तीनवटा समितिको मात्र बैठक बसेको छ । हालै सामाजिक विकास समिति, प्रदेश मामिला तथा कानुन समिति र अर्थ समितिको बैठक बसेको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेशसभामा सार्वजनिक लेखा समिति, भौतिक पूर्वाधार तथा विकास समिति, कृषि वन तथा वातावरण समितिको बैठक अझै बस्न सकेको छैन ।

प्रदेशसभाकी सूचना अधिकारी सम्झना सुवेदीले संसदीय समितिहरूको बैठक बिजनेसको आधारमा बस्ने गरेको बताइन् ।
संसदीय समितिका सभापति सर्वसम्मत रूपमा चयन गर्ने प्रयासस्वरुप प्रतिपक्षलाई पनि सहमतिमा ल्याउन पहल भइरहेको सत्तारूढ गठबन्धनका नेताहरूको भनाइ छ । त्यही कारणले गर्दा सभापति चयनमा केही ढिला हुन गएको भनाइ छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमसेनाले सभापतिमा धेरै विषय मिलेकाले सर्वसम्मत रूपमा चयन गर्ने गरी छलफल गरिरहेको बताए । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले निजामती कर्मचारी विधेयक टुंगोमा पुर्याएपछि संसदीय समितिका सभापति चयन हुने बताए ।

ठूला तीन दललाई दुई(दुईवटा समितिको सभापति दिनेबारेमा छलफल भएको स्रोतले बताएको छ । प्रतिपक्ष दल एमालेलाई सार्वजनिक लेखा समितिसहित अन्य एउटा समितिको सभापति तथा नेपाली कांग्रेस र माओवादीलाई दुई(दुई वटा समितिको सभापति दिनेगरी छलफल अघि बढे पनि सहमति हुन सकेको छैन ।

उत्तरी गोरखाको गुम्दामा आलु मेला सुरु

गोरखा । आलुको पकेट क्षेत्र मानिने उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ गुम्दामा आलु मेला सुरु भएको छ । एकता युवा क्लवको आयोजनामा शनिबारदेखि मेला सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले एक कार्यक्रमका बीच मेलाको उद्घाटन गरेका छन् । उत्पादित आलुको बजार व्यवस्थापनसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले केही वर्षदेखि मेला आयोजना गर्दै आएको क्लबका उपाध्यक्ष मितिराज गुरुङले बताए । ‘यो समय आलु उत्पादन हुने बेला हो, फेरि भेडीगोठ गएकाहरु पनि अहिले गाउँ झरेका हुन्छन्,’ उनले भने, ‘सबै जमघट भएर रमाइलो गर्ने र उत्पादित आलु बिक्री गर्न पनि सहज हुने भनेर मेला गर्दै आएका छौ ।’

भदौ ५ गतेसम्म चल्ने मेलामा आलुसँगै आलुका विभिन्न परिकारहरु बेच्न राखिएको उनले जानकारी दिए । गुरुङका अनुसार मेला अवधिभर आलु खानेसहित विभिन्न प्रतियोगिता समेत संचालन हुने छन् ।

मेलामा पुरुष र महिला भलिबल, लोक नृत्य प्रतियोगिता, मूर्ति नाँच, सटपुट, तीर हान्ने, हाँडी फुटाईलगायतका प्रतियोगिता राखिएको छ । विजेताहरुलाई नगदसहित आलु पुरस्कार दिइने आयोजकको भनाइ छ ।

मेलामा आलुसँगै आलुका विभिन्न परिकारहरु राखिएका छन् । हस्तकला प्रदर्शनी समेत रहेको आयोजकले जनाएको छ । आलु र हस्तकला प्रदर्शनीमा राख्ने पाँच उत्कृष्ट किसानलाई नगद सहित सम्मान समेत गरिने गुरुङले जानकारी दिए ।

स्थानीय स्तरमा उत्पादन भएको आलुको प्रवर्द्धन र प्रचारप्रसारमा समेत मेलाले सहयोग पुग्ने आयोजकको अपेक्षा छ । मेलाको अवलकोनका लागी सौरपानी, बारपाक, उहिया, केरौजा लगायतका स्थानीय आउने बताइएको छ ।

राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । संसद अवरोधबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दैछन् । छलफल आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुँदैछ ।

संसदको अवरोध खुलाउने पहल अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले पहल गर्दै आएका छन् । तर दलहरुबीच सहमति नजुटेकाले आज दिउँसो १ बजे बोलाइएको संसद बैठक पनि बस्ने नबस्ने अनिश्चित छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । सोही प्रकरणपछि नेकपा एमालेले १० साउनदेखि संसदमा अवरोध गर्दै आएको छ ।

रैब पर्व मनाउँदै थारु समुदाय

काठमाडौं । पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् ।पश्चिम नेपालका थारु समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँ छन् ।

यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन र रैब पर्व वा बडका अटवारी का रुपमा मनाउने गरिन्छ । यस वर्ष बडका अट्वारी भने भदौ ३१ गते परेको छ।

आजको दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ ।यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता जनविश्वास छ ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद् भुलाइ चौधरी बताउँछन् ।

यो पर्वमा थारुहरुले बिहानै नजिकैको तलाउ, पोखरी वा खोलामा स्नान गरी प्रकृति र कूल देवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् ।

यसैगरी धार्मिक मान्यता अनुसार बालबच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बाली(नालीमा रोग–व्याधी नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाउने चलन रहँदै आएको छ ।

पेस्तोलसहित सर्लाहीबाट २ जना पक्राउ

काठमाडौँ । सर्लाहीमा दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका–६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो ।

उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका–६ हुँदै भारतबाट नेपाल आउँदै थिए ।

चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि उनीहरू पक्राउ पेका हुन् । उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ ।

बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।

समाजवादी मोर्चाको बैठक आज

काठमाडौँ । समाजवादी मोर्चाको बैठक आइतबार नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

आइतबार साँझ बस्ने बैठकमा मोर्चा आबद्ध चार दलका शीर्षनेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए।

मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्। मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो।

मोर्चाको नेतृत्व अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।

विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न माग

काठमाडौँ । विज्ञ सरोकारवालाको राय–सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई समृद्ध बनाइनुपर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको १८औँ स्थापना दिवसका अवसरमा आयोजित प्राध्यापक बहस चौतारीको ५९औँ प्रस्तुति ‘विद्यालय शिक्षा विधेयक, २०८०ः सरोकारवालाको चासो’ विषयक बहस कार्यक्रमका वक्ताले शिक्षा विधेयकमा व्यावसायिक र वैज्ञानिक शिक्षाको सुनिश्चित गरिनुपर्नेमा जोड दिए।

शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षक विधेयक अहिले आउन सकेन भने फेरि पनि पर धकेलिने खतरा रहेको जनाउँदै यसमा छुटेका विषयलाई समेटेर चाँडो पारित गराउनेतर्फ सबै जुट्नुपर्ने खाँचो औँल्याए । उनले विज्ञ सरोकारवालाको राय–सुझाव लिएर शिक्षासम्बन्धी ऐन, नियमावली र कार्यविधि एकै पटक बनाउँदा उपयुक्त हुने बताए । “संविधानविद, कानुनविद्सँग छलफल गरेर ऐनलाई टुङ्गोमा पुर्याउनेतर्फ प्राध्यापक बहस चौतारीले पैरवी गर्नुपर्छ”, उनले भने ।

शिक्षक भातृ सङ्गठन राख्ने कि नराख्ने भन्नेबारे राजनीतिक तहबाट स्पष्ट हुन जरुरी रहेको भन्दै शिक्षाविद् कोइरालाले शिक्षा क्षेत्रमा राजनीतिकरण गर्न नहुने धारणा राखे । उनले व्यावसायिक शिक्षा नारामै सीमित रहेको भन्दै समयसापेक्ष प्रविधिमैत्री व्यावसायिक र वैज्ञानिक शिक्षाका लागि नीतिगत सुधार गर्न जरुरी भएको उल्लेख गरे ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधारले महासङ्घसँग छलफल नगरी एकलौटी ढङ्गले शिक्षक ऐन अघि बढाइएको आरोप लगाउँदै अब बन्ने ऐनमा शिक्षाको आगामी रणनीतिक लक्ष्य र उद्देश्य स्पष्ट गरिनुपर्ने धारणा राखिन्।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष गुणराज मोक्तानले राम्रो तयारी र छलफलबिनै विधेयक आएको र कतिपय प्रावधान अव्यवहारिक रहेकाले विवादित बनेको भन्दै विधेयकमा परीक्षा मूल्याङ्कन प्रणालीको व्यवस्थालगायतका विषय समेटिनुपर्ने धारणा राखे ।

यसैबीच सङ्घको स्थापना दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सङ्घका पूर्व अध्यक्ष प्रा डा कुलप्रसाद कोइरालाले सङ्घको विधान कार्यान्वयन र शैक्षिक उन्नयनका लागि यसको भूमिकालाई थप सक्रिय र जिम्मेवारी बनाउन नियमित अधिवेशन हुन जरुरी भएको बताए । उनले विश्वविद्यालयको शैक्षिकस्तर खस्कन नदिनेतर्फ पनि प्राध्यापकहरूले ध्यान दिन जरुरी भएको उल्लेख गरे ।

सङ्घका पूर्व अध्यक्ष प्राध्यापक गुणनिधि न्यौपानेले प्राध्यापकलाई लोभ र प्रलोभनमा पारेर नेतृत्व हत्याउने प्रवृत्ति हट्नुपर्ने धारणा राखे । प्राध्यापकद्वय अर्जुनप्रसाद पोखरेल र मुरलीधर दाहालले प्रजातान्त्रिक संस्थाभित्र विधि, विधानअनुरुप संस्था चल्नुपर्ने होइन भनी प्रश्न गर्दै सङ्घको अधिवेशन तत्काल गर्न माग गरे ।

आयातित खादा र ब्याचको प्रयोगमा प्रतिबन्ध

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अतिथि सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो ।

गाउँपालिकाले स्थानीयरूपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिँदै बाहिरबाट आउने सामग्रीको प्रयोग घटाउने उद्देश्यले यो निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए ।

तत्काललाई गाउँपालिका र सोअन्तर्गतका सङ्घसंस्था, विद्यालयलगायत अन्य निकायले आयोजना गर्ने कार्यक्रममा आयातित खादा, ब्याच र माला प्रयोग नगर्ने कार्यपालिका बैठकले निर्णय गरेको प्रशासकीय अधिकृत अधिकारीले बताए ।

“हाम्रो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ”, प्रशासकीय अधिकृत अधिकारीले भने, “अतिथि सत्कार गर्नै परेमा स्थानीयस्तरमा उत्पादन हुने सामग्रीको मात्र प्रयोग गर्ने निर्णय गरेको छ । यो निर्णयको मुख्य उद्देश्य नै सार्वजनिक कार्यक्रममा प्रयोग हुने खादालगायत बाह्य सामग्रीमा रोक लगाउने हो ।”

राज्य नै आयातमा निर्भर रहेको अवस्थामा यस्ता किसिमको निर्णयले राष्ट्रिय आयातमा समेत कमी ल्याउनमा केही टेवा पुग्ने गाउँपालिकाले जनाएको छ । यो निर्णयमात्र पर्याप्त नभए पनि सबैले यस्ता बाह्य सामग्रीको प्रयोगमा कमी ल्याउन सके आयातमा कमी आउने प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।

गाउँपालिकाले यसअघि तेह्रौँ गाउँसभामा पिपलको पातमा ब्याज बनाएर वितरण गरी सुरुआत गरिसकेको प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । “कार्यक्रममा अतिथि सत्कारका लागि स्थानीय सामग्रीको प्रयोग गर्ने अभ्यासको थालनी गरेका छौँ”, उनले भने, “हुन त यो सामान्य निर्णयजस्तो देखिन्छ । तर यसले निकै ठूलो महत्त्व बोकेको छ । यो निर्णयले स्थानीय सामग्रीको प्रयोग गर्ने बानीको विकास गर्छ । सबैको सहमतिमा गाउँपालिकाबाट निर्णय गरेर लागू गरेको हौँ ।”

सार्वजनिक कार्यक्रममा अतिथि सत्कारको बहनामा धेरै तडकभडक गरिँदा अनावश्यक खर्च बढ्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए । यो निर्णयले सार्वजनिक कार्यक्रमको खर्चमा समेत कमी आउने अपेक्षा लिएको उनको भनाइ छ ।

“सार्वजनिक कार्यक्रमलाई मितव्ययी, सरल र सहज बनाउन यो निर्णय गरेका हौँ”, अध्यक्ष कुलुङले भने, “अतिथि सत्कारका लागि प्रयोग हुने बाह्य सामग्रीले धेरै खर्च हुने गरेको अवस्था छ । जुन खर्च पूर्णरूपमा अनावश्यक हो । औपचारिक कार्यक्रममा स्थानीय सामग्रीको मात्र प्रयोग गर्ने हाम्रो उद्देश्य हो ।”

यो निर्णयले कुनै पनि समुदाय, सम्प्रदाय र धर्ममाथिको सद्भावमा आँच आउन नदिने गाउँपालिकाले जनाएको छ । विशेषगरी बौद्धधर्म मान्ने सम्प्रदायलाई यो निर्णय अनिवार्य नरहेको गाउँपालिकाको भनाइ छ । बौद्ध धर्म मान्ने सम्प्रदायले खादालाई पवित्र मान्ने र अतिथि सत्कारमा प्रयोग गर्ने चलन रहेकाले उनीहरूका लागि प्रतिबन्ध नलगाइएको गाउँपालिकाले जनाएको छ ।

अन्य समुदायसँगै सङ्घसंस्थालाई पनि सम्भव भएसम्म अतिथि सत्कारका लागि आयातित वस्तुको विकल्पमा स्थानीय सामग्रीको प्रयोग गर्न अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ । यो कामले समाजमा हुने अनावश्यक तडकभडकलाई नियन्त्रण गर्नसमेत टेवा पुग्ने विश्वास लिइएको छ ।