सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न साझा प्रयास आवश्यक छ ः सचिव डा. रेग्मी

काठमाडौँ । सार्वजनिक खरिदको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज आफ्नो १७औँ स्थापना दिवस मनाउँदै छ ।

खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउनेलगायतको उद्देश्यले विसं २०६४ भदौ ३ गते कार्यालयको स्थापना भएको हो ।

कार्यालय स्थापनापछिको अवधिमा नेपालमा भएका सार्वजनिक खरिदका धेरै महत्त्वपूर्ण कार्यमध्ये रु २० लाखभन्दा बढीका सबै सार्वजनिक खरिदमा विद्युतीय खरिद प्रणालीको अवलम्बन महत्त्वपूर्ण उपलब्धि रहेको कार्यालयका सचिव डा। दामोदर रेग्मी बताउछन् ।

सबै संवैधानिक अङ्ग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा सोअन्तर्गतका अन्य जुनसुकै सरकारी निकाय वा कार्यालय, नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको संस्थानमा यो व्यवस्था लागू भएको छ ।

कम्पनी, बैंक वा समिति वा प्रचलित कानुनबमोजिम सार्वजनिकस्तरमा स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्रले सार्वजनिक खरिदसम्बन्धी कानुन पालना गर्नुपर्छ ।

परिषद् र यस्तै प्रकृतिका अन्य सङ्गठित संस्था, नेपाल सरकारद्वारा सञ्चालित वा नेपाल सरकारको पूर्ण वा अधिकांश अनुदानप्राप्त विश्वविद्यालय, महाविद्यालय, अनुसन्धान केन्द्र र यस्तै प्रकृतिका अन्य प्राज्ञिक वा शैक्षिक संस्था, सबै स्थानीय निकायमा रु २० लाखभन्दा वढीको खरिदमा बोलपत्र प्रणाली र विद्युतीय खरिद प्रणाली अनिवार्यरूपमा अवलम्बन गर्नुपर्ने हुन्छ ।

सार्वजनिक खरिद सार्वजनिक वित्त व्यवस्थापन सुधारको मूल एजेन्डा रहेकाले सोहीअनुरुप अगाडि बढ्ने प्रयास गरिरहेको सचिव डा रेग्मी बताउनुहुन्छ । खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्नेमात्र नभई विकास निर्माणका काममा समेत तीव्रता आउने भएकाले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्त्वपूर्ण पाटोका रूपमा लिई सुधारका आवश्यक काम अघि बढाइएको छ ।

साना खरिदमा पनि खरिदको लामो प्रक्रियालाई न्यूनीकरण गर्ने, इपिसी मोडलको खरिदमा प्रस्ताव पेस गर्ने अवधिलाई बढाउनुपर्ने तथा प्राविधिक मूल्याङ्कनको भारलाई बढाइ गुणस्तरयुक्त वस्तु र सेवाको प्राप्ति तथा गुणस्तरयुक्त निर्माणको सुनिश्चितताका लागि सार्वजनिक खरिद ऐनलाई समसामयिक बनाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ ।

आगामी दिनमा सार्वजनिक निकायले खरिद कारबाही सञ्चालन गर्न प्रयोग गर्नुपर्ने बाँकी आवश्यक स्टयान्डर्ड बिडिङ डकुमेन्ट, स्टयान्डर्ड प्रिक्वालिफिकेसन डकुमेन्ट, स्टयान्डर्ड कन्ट्रयाक्ट डकुमेन्ट तयार गर्ने सोच अघि सारेको छ ।

सबै निकायको खरिद प्रतिस्पर्धी क्षमताको वृद्धि र खरिद तत्परताको विकासजस्ता विषयलाई मूल प्राथमिकता दिई सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न साझा प्रयास परिचालन गरिने उनले बताए । कार्यालयले निर्माण व्यवसायी, कार्यालयका पूर्व सचिव र विभिन्न निकायका खरिद एकाइ प्रमुख र सम्बद्ध सरोकारवालाको सहभागितामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम राखेको छ ।

भदौ १० गतेदेखि आईपीओ निष्काशन गर्दै माण्डु हाइड्रोपावर

माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाँट नभएको ७९ लाख ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये २८ हजार ८५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। कम्पनीले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँडफाँट गरेको हो।

यस निष्काशनमा न्युनतम १० कितात र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले यस अघि नै  आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसको छ । 

माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । 

अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग

बाजुरा । पहिरोका कारण दुई महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ । सुदूरपश्चिम प्रदेशको गौरवको रुपमा सडक रहेको छ ।

दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले मार्तडीबाट कोल्टी आवतजावत गर्न र बडीमालिका नगरपालिका(७ का स्थानीयलाई आवतजावत गर्न समस्या भएपछि सडकको पहिरो पन्छाउन र बाटो मर्मतमा सेना जुटेको जानकारी दिए ।

सो सडकखण्डको जिल्लीमा सडकमाथिबाट लगातार पहिरो खस्दा सर्वसाधारणले आवतजात गर्न समस्या भोग्दै आएका छन् । पहिरोका कारण मार्तडी(कोल्टी सडकमा सञ्चालन हुँदै आएका सवारीसाधनसमेत ठप्प छन् । सडकमार्ग अवरुद्ध हुँदा सबैभन्दा बढी बिरामीलाई सास्ती भएको छ । पहिरो पन्छाउन वडा नं. ७ का सर्वसाधारण समेत सहभागी भएका छन् ।

सडकको छेउछाउमा ‘ग्याविन’ तारसहित पर्खाल लगाउने काम गरिएको छ । पहिरोसँगै सडकमा बग्ने पानीलाई पाइपबाट व्यवस्थापन गरेर अन्यत्र निकासा गरिएको छ ।

बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनः निर्माण थालियो

म्याग्दी । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनः निर्माण थालिएको छ ।

समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस र बासको समस्या भएको छ । घरसहित बन्दोबस्तका सामान खोलाले बगाएपछि समस्यामा परेका कागबेनीवासीको सहयोगका लागि गण्डकी प्रदेश सरकार, विभिन्न दातृ निकाय र मनकारी व्यक्ति जुटिरहेका छन् भने मुस्ताङवासीले विपद्मा परेका कागबेनीवासीको व्यवस्थापन र पुनः निर्माणमा श्रमदान गरिरहेका छन् ।

गण्डकी प्रदेश सरकारले बाढीपीडित बनेका नागरिकलाई राहत सामग्रीसहित उद्धार, उपचार र पुनः स्थापनाको काम गर्न सुरु गरेको छ । घरबारविहीन भएका कागबेनीवासीको दैनिकी असहज बनेपछि भत्किएको संरचना व्यवस्थित गर्न मेसिन, उपकरण तथा सवारीसाधनका लागि प्रदेश सरकारले इन्धनलगायतका सामग्री पठाएर काम गरिरहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले जानकारी दिए ।

त्यसैगरी प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने, बाढीपहिरो क्षेत्रमा हुनसक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भू–संरक्षणलगायतका काम गरिरहेको उनले बताए । कागबेनीको पुनःनिर्माणका लागि मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, फरक–फरक स्थानीय तह, जिल्ला समन्वय समितिलगायतले काम गरिरहेका अध्यक्ष गुरुङले जानकारी दिए ।

स्थानीय नागरिकसँगै सुरक्षाकर्मी पनि कागबेनीवासीको पुनःस्थापनाका लागि दैनिकरूपमा खटिरहेका छन् । स्थानीय जनप्रतिनिधिसहित सांसद बसेर बाढीपीडितका लागि गर्न सकिने विकल्पको बारेमा योजना बनाउने र सोहीअनुरुप अघि बढ्ने काम भइरहेका उनले जानकारी दिए ।

राहत तथा उद्धारमा आ–आफ्नो तह र तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारमातहतका निकायलगायत सबै सरकारी तथा गैरसरकारी सङ्घसंस्था, देश–विदेशमा रहेका नेपालीहरूमा अनुरोध गरिएको छ ।

आर्थिक सहयोगका लागि वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको प्रभु बैंकमा रहेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता’को खाता नं २०८०१५१४१२७००२२१ मा रकम जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

बाढीले कागबेनीका २९ घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ । दुईपाङ्ग्रे १६ र चारपाङ्ग्रे दुईवटा गरी १८ सवारीसाधन, एउटा एक्स्काभेटर, कागबेनी–माथिल्लो मुस्ताङ जोड्ने एउटा मोटरेबल पक्की पुल, कागबेनी–तिरी जोड्ने एउटा झोलुङ्गे पुल, तीनवटा काठेपुल, एउटा सानो पक्की पुल, नौवटा गोठसहित करिब ३२ वटा चौपाया बाढीमा बगेका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

यसैगरी गाउँपालिकाको ४ नं वडाको वडा कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा आवास क्षेत्रसमेत बगाएको छ ।

संसद् बैठकअघि सभामुखले सत्तारुढ र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गर्ने

काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

त्यसका लागि सभामुख घिमिरेले आइतबार बिहान बिहान ११ बजे सिंहदरबारमा प्रमुख सचेतकहरूलाई बोलाएका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । त्यसअघि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि नेताहरूलाई सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

छलफलका लागि सत्तापक्षबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ ।

तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार सदन अवरोध गर्दै आएको छ । एमालेको माग अनुसार सत्तापक्ष आयोग गठन गर्न तयार छैन । जसका कारण लामो समयदेखि संसद् बन्धक जस्तै बन्दै आएको छ ।

गण्डकी प्रदेश सभामा प्रश्नोत्तरको अभ्यास सुरु, सांसदहरूले गरे प्रशंसा

गण्डकी । गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सभाको बैठकलाई सम्बोधन गरे । गण्डकी प्रदेश सभामा प्रदेश सभा सदस्यहरूले सोधेका प्रश्नको उनले जवाफ दिएका थिए।

प्रदेशसभा बैठकलाई गएको बुधबार भएको सम्बोधनपछि त्यसमा आधारित भएर मुख्यमन्त्रीलाई प्रदेश सभा सदस्यले प्रश्न गरेका थिए र उनले प्रत्येक प्रश्नको जवाफ दिएका थिए। प्रश्न गण्डकी प्रदेश क्षेत्रका थिए र अधिकांश विकास निर्माण एवं प्रदेशको चासोका विषयहरू नै थिए ।

गण्डकी प्रदेश सभाको यो कार्यकाल दोस्रो हो । यसअघि अघिल्लो प्रदेशसभामा यसरी मुख्यमन्त्री तथा मन्त्रीसँग प्रदेश सभाका सदस्यको सवालजवाफ अर्थात् प्रश्नोत्तर हुने गरेको थिएन । प्रदेशसभा नियमावली, २०८० मा भएको प्रावधानअनुसार बुधबार विभिन्न नौ जना सदस्यले राखेका प्रश्नको मुख्यमन्त्री पाण्डेले जवाफ दिएका हुन् । योसँगै गण्डकी प्रदेशमा पनि अब सङ्घीय संसद्मा प्रधानमन्त्री र मन्त्रीसँग सांसदले गर्ने गरेको सवाल–जवाफको अभ्यास मुख्यमन्त्री र प्रदेशसभा सदस्यका बीचमा पनि सुरु भएको हो ।

उक्त नियमावलीको परिच्छेद ९ मा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ । उक्त परिच्छेदको ५६ मा मुख्यमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले सामान्यतया प्रत्येक महिनाको पहिलो हप्ताको कुनै दिनको बैठकको पहिलो एक घन्टा निर्धारण गरिने विषय उल्लेख गरिएको छ । यस नियमअन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा १० जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने उल्लेख गरिएको छ ।

बुधबार प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठक, देवका पहारी, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, यशोदा रिमाल, लक्ष्मणबहादुर पाण्डे, सीताकुुमारी सुन्दास, गोविन्दबहादुर नेपाली र पद्मा जिसी गरी नौ जनाले विभिन्न समसामयिक विषयमा प्रश्न गरेका थिए।

मुख्यमन्त्रीको सम्बोधनमाथि पहिलो प्रश्न गर्दै प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले कालीगण्डकीमाथि उत्खनन भइरहेको भन्दै त्यसलाई रोक्न आग्रह गरे । उनले कालीगण्डकीमा पाइने शालिग्राम शिलालाई गैरकानुनीरूपले लैजाने काम पनि रोक्न आग्रह गरे । आफूले विगतदेखि नै बागलुङ र पर्वत जिल्लाका प्रहरी तथा प्रशासनलाई कालीकण्डकी नदीको दोहनजस्तो गैरकानुनी काम रोक्न बारम्बार आग्रह गरेको तर पनि प्रशासन र सरोकारवालाले त्यसमा ध्यान नदिने गरेकाले प्रदेशसभाको ध्यान त्यसतर्फ तत्कालै जानुपर्ने बताए ।

उक्त प्रश्नको जवाफ दिँदै पाण्डेले भने मुख्यमन्त्री पाण्डेले “कालीगण्डकीको अवैध उत्खनन भयो । यो अवैध छ । स्टेअडर छ । अवैध उत्खनन भए रोक्छौँ”, मुख्यमन्त्री पाण्डेले थपे, “जे भूूगर्भविद्हरूले अध्ययनमा देखाउनुुभएको छ । मानवबस्तीलाई जोगाउन समस्याको समाधान गर्न सरकार तयार छ ।”

प्रदेशसभा नियमावली, २०८० मा भएको व्यवस्थाअनुसार नै गण्डकी प्रदेशसभामा प्रश्नोत्तरको अभ्यास सुरु भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल बताउछिन्। नियमावलीको परिच्छेद ८ मा प्रदेश सरकारको कार्यक्षेत्र एवं उत्तरदायित्वभित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमा बैठकमा प्रश्न सोध्न सकिने उल्लेख गरिएको छ । सभाको अधिवेशन प्रारम्भ भएपछि प्रश्न दर्ता गर्न सकिने र त्यस्तो प्रश्न संविधान तथा प्रचलित कानुनको भावना एवं संसदीय मर्यादा एवं अभ्यासको प्रतिकूल हुन नहुने नियमावलीमा भनिएको छ ।

नियमावलीको नियम ४८ मा प्रश्न गर्न नपाइने विषय उल्लेख गरिएको छ । जसअनुसार संविधान वा प्रचलित कानुनबाट प्रकाशन निषेध गरिएको विषय, स्वभावतः गोप्य रहने कुरा वा प्रकाशन गर्दा राष्ट्रिय हितविपरीत हुन जाने मन्त्रिपरिषद्को कुनै निर्णय वा कारबाही, सभा वा कुनै समितिको निर्णयको आलोचना गरिएको विषयमा प्रश्न गर्न नपाइने उल्लेख छ । त्यस्तै चालु अधिवेशनमा छलफलद्वारा स्पष्ट भइसकेको विषय, प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रचारको लागि कुनै व्यक्ति वा संस्थाको नाम आदि भएको विषयमा पनि प्रश्न गर्न नपाइने भनिएको छ ।

लोकतान्त्रिक व्यवस्थालाई अझै प्रभावकारी बनाउन यो अभ्यास महत्त्वपूर्ण भएको प्रवक्ता अर्यालले बताउनुभयो । यो व्यवस्थासँगै प्रदेशसभामा कुनै पनि महत्त्वपूर्ण विषय एवं सम्बोधनमाथि प्रश्न गर्न सकिने र त्यसको सम्बन्धित मुख्यमन्त्री वा मन्त्रीले जवाफ दिनुपर्ने परिपाटी थालनी भएको छ ।

सरकार मुख्यमन्त्री एवं मन्त्रीसँग गरिने प्रत्यक्ष प्रश्नोत्तरले प्रदेशसभाको गरिमालाई अझै उचो बनाउने प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठक बताउछन् । यो दोस्रो कार्यकाल भए पनि मुलुक प्रादेशिक सरकारको अभ्यासमै छ र प्रारम्भिक चरणमा गरिएका यस्ता अभ्यासले आगामी दिनमा देशमा प्रदेश सरकारको महत्व र आवश्यकतालाई पूर्ति गर्नुका साथै सङ्घीय सरकारले जस्तै यसले पनि पूर्णरूपमा आफ्नो संसदीय अभ्यासलाई अघि बढाउन सक्ने धारणा राखे ।

“यो प्रश्नोत्तरको व्यवस्थाले कार्यपालिकालाई व्यवस्थापिकाप्रति थप जिम्मेवार बनाउन पनि विशिष्ट भूमिका खेल्दछ”, उखले भखे, “यो अभ्यास प्रत्येक प्रदेशसभा सदस्यलाई आफ्ना मतदाता, आम सर्वसाधारण एवं समाज र राष्ट्रका सन्दर्भमा नागरिकका आवश्यकता र चासोका विषय उठाउने र प्रदेश सरकारका प्रमुखबाटै जनताले आफ्ना सरोकारका विषयमा जवाफ प्राप्त गर्न पाउने एक पारदर्शी अवसरका रूपमा पनि स्थापित हुनेछ ।”

नियमावलीले व्यवस्था गरेअनुसार आगामी दिनमा प्रश्नोत्तरको कार्यलाई नियमितरूपमा सञ्चालन गरिने गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले बताए। यो व्यवस्थाले प्रदेशसभाको गरिमालाई पनि उचो बनाउन थप सहयोग गर्ने बताउँदै उनले सम्बन्धित मन्त्रीलाई पनि यसले जिम्मेवार बनाउने बताए । “यसले सम्बन्धित मन्त्रीलाई बोल्ने क्रममा तयारी गरेर आउनका लागि पनि जिम्मेवार बनाएको छ”, उनले भने । यसबाट मन्त्री तथा प्रदेशसभा सदस्यहरू आफ्ना चासो र आवश्यकताका विषयमा अद्यावधिक रहने, जानकारी राख्ने र नागरिकलाई जवाफ दिनुपर्छ भन्ने जिम्मेवारीको बोध गराउने सभामुखले बताए।

नियमावलीले प्रश्नोत्तरका लागि तीन दिनअघि टिपाउनुपर्ने व्यवस्थासँगै वक्तव्यका सन्दर्भमा तत्काल पनि सोध्न सकिने प्रावधान पनि राखेको उनले जानकारी गराए ।

जलविरे झरनाबाट २८ लाख राजस्व सङ्कलन

भरतपुर । जलविरे झरना चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढेको सो झरना पछिल्लो समय गाउँपालिकाको चिनारीसमेत बन्दै गइरहेको छ ।

झरना गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ । झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९ र ८० मा रु २८ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यहाँ प्रवेश गर्ने पर्यटकबाट रु ५० शुल्क लिने गरिएको छ । स्थानीय र विद्यार्थीलाई रु २० लिने गरेको गाउँपालिकाले जनाएको छ ।

यहाँ झरनासँगै अन्य पर्यटकीय गतिविधि पनि हुने गरेका छन् । क्यानोनिङ ९छाँगावरोहण० र क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र बाहिरी देशका समेत पर्यटक यहाँ आउने गरेका छन् । विदेशीका लागि क्यानोनिङ प्रतिव्यक्ति रु पाँच सय, वनभोजको रु एक हजारदेखि तीन हजारसम्म र फिल्म सुटिङको रु तीन हजारदेखि पाँच हजारसम्म लिने गरिएको छ ।

जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरणका कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको बताए । उनले दैनिक एक सयदेखि डेढ सयसम्म पर्यटक यहाँ घुम्न आउने गरेको जानकारी दिए । “नयाँ वर्षका दिन पन्ध्र सय जना आएको तथ्याङ्क छ”, उनले भने, “जाडोको समयमा पनि विभिन्न जिल्लाबाट भ्रमण टोली आउने गरेका छन् ।” उनले यस वर्ष झन् धेरै पर्यटक जलविरे झरनामा घुम्न आउने अनुमान गरिएको बताए । विकास समितिले झरना र यहाँ भइरहेका विकास निर्माणको रेखदेख, पर्यटकका समस्या समाधान र गुनासो सुन्ने काम गरिरहेको उनले बताए ।

पर्यटक यहाँ स्वतःस्फूर्तरूपमा आउँछन् । भारतबाट समेत आनन्द लिन यहाँ पर्यटक आउने गरेका छन् । जुनसुकै समयमा पुग्ने पर्यटक सो झरना हेरेपछि मन्त्रमुग्ध हुन्छन् । झरनामाथि रहेको गाउँ याकराङमा होमस्टे ९घरबास०को समेत व्यवस्था रहेको समितिका अध्यक्ष गुरुङले बताए ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको एक सय दुई मिटर लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ । झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायतका जिल्लाबाट पर्यटक आउँछन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गर्ने लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन् । विसं २०६९ देखि पर्यटन विकास सुरु भएको यहाँ पछिल्लो समय पूर्वाधार निर्माणले पनि फड्को मारेको छ ।

झरना पुग्ने सडक निर्माणसँगै शौचालय, गोलघर, चेन्जिङ रुम र तलाउ निर्माण गरिएको छ । अन्य भौतिक संरचना र झरनाको सौन्दर्यकरणका काम भइरहेका छन् । यस्तै प्रदेश सरकारको सहयोगमा सिँढी, रेलिङ र पौडीपोखरी निर्माण गरिएको छ । यस वर्ष झरनाको विकासका लागि रु ३५ लाख बजेट विनियोजन भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । “झरनाको प्राकृतिकस्वरुप नबिग्रने गरी जिपलाइन अथवा साइक्लिङ निर्माणको तयारी गरेका छौँ”, गुरुङले भने, “पर्यटकीय गतिविधि बढाउने अन्य संरचना पनि निर्माण गर्ने योजनामा छौँ ।”

यस वर्ष गाउँपालिकाले झरनाको सरसफाइमा विशेष ध्यान दिने अध्यक्ष गुरुङले बताए । “सरसफाइका लागि कर्मचारीको व्यवस्था गरेका छौँ, झरनासम्म खानेपानी र विद्युत्को समेत व्यवस्था गर्दैछौँ”, उनले भने । झरना नजिकै तीनवटा सटर निर्माण गरिएको छ । त्यहाँ जाने पर्यटकले खाजा खानका लागि सहज हुनेछ । उहाँले झरनाबाट गाउँपालिकाले आम्दानीभन्दा पनि प्राकृतिक स्रोतको संरक्षण र त्यसको व्यवस्थापनमा जोड दिने बताए ।

उनले झरना क्षेत्रमा कोसेली घरसमेत निर्माणको तयारीमा रहेको जानकारी दिए । “इच्छाकामनामा उत्पादन भएका वस्तु कोसेली घरमा राखिने छ । यहाँ आउने पर्यटकले स्थानीय उत्पादन घर लैजान पाउनुहुनेछ”, उनले भने । यहाँ झरनाकै कारण होटल बढेका छन् भने व्यवसाय पनि बढेको अध्यक्ष गुरुङको भनाइ थियो ।

यस्तो छ आज २०८० भाद्र ३ गते आइतबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनु होला । जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला, साँझमा शुभ समाचार भने मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

सुन तस्करीमा पक्राउ परेका चिनियासँग भेटियो भारतीय आधार कार्ड

काठमाडौँ । हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिए। तीन जना चिनियासँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागरिकता फेला परेको पनि उनले बताए ।

हालसम्म उनीहरूसहित २३ जनालाई सुन तस्करी प्रकरणमा पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबीले० अनुसन्धान गरिरहेको छ । गत साउन ३ गते ठीक एक महिनाअघि राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक सु बरामद गरेको थियो । दुई हप्ताको अनुसन्धानपछि थप अनुसन्धानका लागि विभागले प्रहरीको सिआइबीलाई हस्तान्तरण गरेको थियो ।

सोनापुर सिमेन्टको आईपीओ स्थानीयद्वारा बहिष्कार

काठमाडौं । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले साउन २९ गतेदेखि पहिलो चरणको आइपीओ बिक्री खुला गरेका थिए । कम्पनीले साउन २९ गतेदेखि आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरेका थिए ।

विद्युत् महसुल नतिर्ने, अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन् गरेर राजस्व छली गर्नेलगायतका काण्ड गर्दै आएको सोनापुर सिमेन्टको उत्पादक सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयरलाई उद्योग प्रभावित क्षेत्रका बासिन्दाले वहिष्कार गरेका छन् ।

विभिन्न ९ वटा बैंकको ऋण तिर्नका लागि उद्योगले गत सोमबारदेखि महँगो प्रिमियम मूल्यमा सेयर बिक्री खुल्ला गरेको थियो । तर, एक साताको अवधिमा उद्योग प्रभावित क्षेत्रका ५१ जनाले मात्रै कम्पनीको सेयर खरिदका लागि आवेदन दिएका छन् । दाङ र रोल्पाका उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि सय रुपियाँमा १२५ रुपियाँ प्रिमियम मूल्य थपेर कुल २२५ रुपियाँ मूल्यमा १५ लाख ३७ हजार ५२९ कित्ता सेयर बिक्री खुलाएको थियो । तर, शनिवारसम्म ७ हजार १८० कित्ताका लागि मात्रै आवेदन परेको सीडीएस एन्ड क्लियरिङको तथ्यांक छ । गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी प्रतिकित्ता ७ रुपियाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपियाँ ८१ पैसा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नियमक निकायसँगको मिलेमतोमा सर्वसाधारण लगानीकर्तालाई ठगी गर्ने प्रवृत्ति बढिरहेका बेला लगानीकर्ता सचेत हुँदा खराब मनसाय भएका कम्पनी समस्यामा पर्दै आएका छन् । उद्योगले सेयर बिक्री प्राप्त रकमबाट प्राइम कमर्सियल बैंकको ३७ करोड ७९ लाख, नबिल बैंकको ८ करोड ४१ लाख, सिटिजन्स बैंक इन्टरनेसनलको ५ करोड ३२ लाख, माछापुच्छ«े बैंकको १ करोड २८ लाख, सिद्धार्थ बैंकको ४ करोड ८१ लाख, कुमारी बैंकको १३ करोड १८ लाख, लक्ष्मी सनराइज बैंकको ९३ लाख ९३ हजार, ग्लोबल आईएमई बैंकको १६ करोड ११ लाख र प्रभु बैंकको १२ करोड ११ लाख रुपियाँ ऋण भुक्तानी गर्ने योजना बनाएको छ ।

उद्योगको वित्तीय एवम् सार्वजनिक छविसमेत राम्रो नभएको र स्थानीयबासीलाई दुःख दिँदै आएको हुँदा उनीहरूले सेयर खरिद गर्न इच्छा नदेखाएको स्थानीयको भनाइ छ । व्यापार ठप्प भएपछि ऋण तिर्न गलत तथ्यांक देखाएर महँगोमा सेयर बिक्री केही उद्योगहरू उद्यत भएका छन् । सोनापुर सिमेन्टकोे स्वच्छ व्यवसाय गर्ने उद्देश्य नदेखिएको ७५ करोड रुपियाँ हुँदासम्म विद्युत् महसुल बक्यौता नतिर्नुले स्पष्ट गर्दछ ।

प्राध्यापक उपकुलपति गिरीले जतिबेला मन लाग्यो त्यतिबेला मनपरी तवरले प्रतिष्ठानको खाताको पैसा चलाउने गरेको खुलासा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घेराउ हालेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ‘किर्ते’ प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पीए र ड्राइभरको नाममा ५६ लाख पेश्की लिएको खुलासा भएको छ । विशेष अदालतको चक्कर काटिरहेका ‘किर्ते’ प्राध्यापक गिरीले पीए र ड्राइभर लगायतको नाममा ५६ लाख ४० हजार पेश्की लिएको स्वास्थ्य लाइभले फेला पारेको हो ।

‘किर्ते’ प्राध्यापक गिरीलाई करोडौं कमिसनले पनि नपुगेर प्रतिष्ठानको नियमविपरीत गिरीले आफ्नो पीएको नाममा लाखौँ पेश्की लिएको समेत खुलासा भएको हो । जतिबेला मन लाग्यो त्यतिबेला मनपरी तवरले प्रतिष्ठानको खाताको पैसा चलाउने गरेका गिरीले आफ्ना पीए मनोज घिमिरेको नाममा एकै दिन दश लाखसम्म पेश्की लिने गरेको र हालसम्म पनि निजको नाममा ५६ लाख ४० हजार पेश्की रहेको देखिएको छ । गिरी अख्तियारको फन्दामा परेपछि जागिर छोडेर घर बसेका मनोज घिमिरेले आफूलाई गिरीले ठूलो समस्यामा पारेको बताउने गरेको वीपीका अधिकारीहरू सुनाउँछन् । उनले अहिलेसम्म उक्त पैसा तिरेका छैनन् ।

बीपी प्रतिष्ठानको उपकुलपतिमा “मोटो” आर्थिक चलखेल गर्दै तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपकुलपति पदमा नियुक्त गरेको आरोप लागेका गिरीले आफ्नो अढाई बर्षे कार्यकालमा बीपी प्रतिष्ठानलाई आगामी १० वर्षसम्म उठ्नै नसक्ने बनाएर गएको टिप्पणी हुन थालेको छ । ‘किर्ते’ प्राध्यापकको पगरीसहित विदावारी लिएका उनीमाथि अन्य गम्भीर अनियमितता संलग्न रहेको विषयमा अख्तियारले थप छानबिन गरिरहेको छ ।

बिराट मेडिकल कलेज स्थापनाको क्रममा सोही कलेजको सेयर होल्डर भएको नाताले डा। ज्ञानेन्द्रमान सिंह कार्की जस्तो सोझो र इमान्दार चिकित्सकलाई गुमराहमा पारेर डा. कार्कीको सही गराएर “प्राध्यापक”को उपाधि लिएका गिरीले हरेक पन्ध्र दिनमा उनलाई समेत विशेष अदालतको चक्कर लगाउने बनाएका छन् । स्मरण रहोस् “प्राध्यापक” उपाधी कुनै कलेज विशेषले वा व्यक्तिले दिने हैन कि, विश्वविध्यालयले मात्र दिन सक्दछ । ‘किर्ते’ प्राध्यापक गिरी डा. कार्कीलाई अनाहकमा फसाएको देखिन्छ ।

आफ्नो नियुक्तिको दोस्रो दिन देखिनै कमिसन र घुसखोरीको र्याकेट बनाएर कमाउ धन्दामा लागेका गिरीले देखादेखी करिब १० करोड कमिसन असुलेको प्रतिष्ठानका कर्मचारीहरू बताउँछन् ।

गिरीको २० वटा भेन्टिलेटर काण्ड

धरानका एक मेडिकल व्यवसायीका अनुसार अबको ५ वर्षमा पनि बनिसक्ने ठेगान नभएको करिव अढाई अरबको मातृशिशु भवनको आइ.सि.यु. को निमित्त आवश्यक भन्दै गत आर्थिक वर्ष २०७९ र ८० मै करिब १० करोडको २० वटा भेन्टिलेटर खरिद गरेर स्टोरमा थन्क्याइदिए । राख्ने स्थान समेत नभएको उक्त उपकरण हाल लावारिस अवस्थामा गोदाममा थन्किएका छन् ।

प्रतिष्ठानको सुद्धीकरण अभियानमा सक्रिय एक प्राध्यापक भन्छन्, ‘समान प्रकारका भेन्टिलेटरहरू एकै आर्थिक वर्षमा प्रतिगोटा योभन्दा करिब १६ लाख कममा उनैले खरिद गरेका छन्, विनाकाम र उपयोगिता नै उनले यसरी राज्यको सम्पत्ति दोहन गरेका छन्, देशका अनकौं अस्पताल भेन्टिलेटर नभएर समस्यामा छन्, हाम्रोमा राख्ने ठाउँ छैन, यो खरिदमा ३ करोड आर्थिक अनियमितता भएको छ ।’, यो विषयमा समेत अख्तियारले गिरीमाथि भ्रष्टाचार मुद्दा चलाउनु पर्ने ती प्राध्यापकको तर्क छ ।

किर्ते’ प्राध्यापकको विषयमा विशेष अदालतमा सोमबार पेशी

डा. गिरीले लेख्दै आएको ‘किर्ते’ प्राध्यापकविरुद्ध अख्तियारले हालेको भ्रष्टाचार मुद्दामा सोमबार (भोलि) विशेष अदालतमा पेशी छ । उनीविरुद्धको मुद्दा सोमबार नै फैसला हुन सक्ने विशेष अदालत उच्च स्रोतले स्वास्थ्य लाइभलाई जनायो ।

गिरीको ‘किर्ते’ प्राध्यापक मन्त्रालयले समेत प्रमाणित गरिसकेको अवस्थामा पनि अनेक जाल झेल र कानूनी दाउपेच गरेर मुद्दा जित्ने दाउमा उनले हरेक दश दिनमा विशेष अदालतमा पेशी लिईरहेका छन् । उनले अदालतमा व्यापक चलखेल गर्दै आएको दाबी गरिएको छ ।

‘गिरी केही दिन अगाडि बीपी प्रतिष्ठानमा उपचारार्थ आउँदा, चिन्ता नगर, मा केही दिनमा फर्किएर आउँछु’ भन्नुले प्रतिष्ठानमा चिन्ता छाएको एक प्राध्यापकले बताए । उनले सबै मिलिसकेको अभिव्यक्ति दिएको ती प्राध्यापकले सुनाए ।

संसद अवरुद्ध पारेर एमालेले जनतामाथि अन्याय गरेको छ: शर्मा 

नेकपा(माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा अवरोध गरेर जनतामाथि अन्याय गरेको बताएका छन् । सिन्धुलीमा शनिवार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उप महासचिव शर्माले एमालेको अवरोधका कारण संसदमा जनताको समस्याहरु उठाउन नपाइएको बताए ।‘ आज बाढी पहिरोहरुले धनजनको क्षति गरी रहेको छ । जनताको आवश्यकता र समस्याहरुका बारेमा आवाज उठाउन पाइरहेका छैनौं’ उनले भने।

पूर्व अर्थमन्त्री समेत रहेका  शर्माले सुन तस्करी प्रकरणलाई राजनीतिक एजेन्डा बनाएर अनुसन्धान प्रक्रिया बिथोल्न एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको आरोप लगाए । ‘प्रतिपक्ष दलले सुन तस्कारीको मुद्दालाई राजनीतिक एजेन्डा बनाएर संसद अवरोध गर्नु उचित होइन’ उनले भने ।

उनले सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले गरी रहेको छानबिनलाई बिचैमा राखेर अर्को छानबिन गराउँदा भएका प्रमाणहरु झन नष्ट हुन सक्ने बताए ।

उनले सिआईवीले गरेको अनुसन्धान प्रक्रियाबाट निस्कनेको प्रमाणहरुमा चित्त नबुझे वा थप छानबिन गर्नु परेमा आगामी दिनहरुमा अन्य छानबिन समितिहरु बनाउन सकिने बताए ।

संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिपक्ष दलका नेताहरु, गठबन्धन दलका नेताहरु, सभामुख लगायतका निकायहरुसँग बैठक, छलफल गरिरहेको उनले बताए ।

उनले सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका उपाध्यक्ष कृष्ण बहादुर महरालाई अनुसन्धान र छानविनमा दोषी देखिए कारवाहीको दायरामा ल्याउन पार्टीले नरोक्ने बताए ।

संसदमा विधेयक पेश र पारित गर्ने खेल भने रोचक देखिन्छ । सभामुखले बैठक शुरू भएको जानकारी गराउनसाथ एमाले सांसदहरू वेलमा पुग्छन र नाराबाजी शुरू गर्छन । सभामुख विद्रोही सांसदहरूलाई संविधान र कानून सम्झाउँछन् । तर, अवरोध जारी रहन्छ । अवरोधकै बीच सभामुखले संसद्को कार्यसूची अघि बढाउँछन् । मर्यादापालकको सुरक्षाका बीच मन्त्रीहरू रोस्टममा पुग्छन र संसदमा विधेयक प्रस्तुत गर्छन् । गत भदौयता यो क्रम निरन्तर छ ।

यस्तो छ २ भाद्र २०८०, शनिवार तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । जोशजाँगर बढ्नुका साथै समयले राम्रो साथ दिनेछ । आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

विजयनगर गाउँपालिकाका- ४ का वडाध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको  विजयनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तिलकराम कंडेलसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले गाउँपालिकालाई बुझाउनुपर्ने रकम नबुझाई हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध आरोप पत्र दायर गरिएको हो ।

वडाध्यक्षले विजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्का (भाडा)बापतको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफैं हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

शंकरपुर तालको ठेक्का कार्यमा पत्थरदेईया गाउँ विकास समितिको कार्यालयका तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी र ठेकेदार सेराज महम्मदबीच सम्झौता भएकोमा ठेक्का सम्झौता बमोजिमको रकम दाखिला नभएको र हालसम्म पनि २ लाख ७० हजार रकम विजयनगर गाउँपालिकाको खातामा जम्मा हुन बाँकी नै रहेकोले ठेक्का सम्झौतामा सहीछाप गर्ने चौधरीले दुई लाख सत्तरी हजार बिगो, ठेकेदार सेराज महम्मदबाट हालसम्म पनि उक्त शंकरपुर तालको ठेक्का सम्झौता अनुसार बुझाउन बाँकी रकम २ लाख ७० हजार बिगो बमोजिम जरिवाना गरी सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

साविक पत्थरदेइया गाउँ विकास समिति वडा नं ८ हाल बिजयनगर गाउँपालिका वडा नं ४ का वडाध्यक्ष कँडेलले बिजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफै हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कँडेलले शंकरपुर तालको ठेक्काबापतको रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी छ लाख दश हजार रकम हिनामिना गरेको देखिन आएको आरोप पत्रमा जनाइएको छ ।

आयोगले वडाध्यक्ष कँडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ।दफा १७ ले निर्देश गरेवमोजिम उनलाई उल्लेखित कसुरमा बिगो छ लाख दश हजार कायम गरी जरिवाना माग गरेको छ ।

पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ६० केजी तस्करीको सुन प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ती चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको जनाएको हो ।

उनीहरुसँग चिनियाँ पासपोर्टसँगै नेपाली नागरिकता भेटिएको सीआइबीले जनाएको छ । ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सीआईबीका अनुसार टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान पक्राउ परेका छन् । चिनियाँ नागरिकका नाममा काभ्रे जिल्ला प्रशासनबाट नेपाली नागरिकता जारी भएको पाइएको अनुसन्धानमा संलग्न अधिकारीले जनाएका छन् ।