सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आगामी शुक्रबार बाँडफाँट गरिने भएको छ ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालयमा सो आईपीओ बाँडफाँट हुनेछ।

इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो।

बिक्री प्रबन्धकका अनुसार इन्स्योरेन्सको आईपीओमा मागभन्दा २.३२ गुणा बढी आवेदन परेको छ। माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड गरिनेछ। उक्त कम्पनीको आईपीओका लागि १५ लाख ७७ हजार ७ सय ४४ जनाले ४ अर्ब २६ करोड १९ लाख १९ हजार ७ सय रुपियाँ १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका छन् । यस अनुसार ७ लाख ६८ हजार जनाले मात्र इन्स्योरेन्सको शेयर प्राप्त गर्न सक्नेछन्।

काँग्रेस प्रदेश सभापतिको पोखरा भेला स्थगित

गण्डकी । नेपाली काँग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ ।

नेपाली काँग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको थियो । भेला हालका लागि स्थगित भएको र आगामी कार्यक्रम अर्को सूचना प्रकाशन गरी जानकारी गराइने नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी दिए ।

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा गर्न लागिएको भेलाको पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम थियो ।

कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा असम्भव ःअध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताएका छन् ।

युएई र साउदी अरबको भ्रमणबाट आज स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग भने, ‘कतिपय ठाउँमा जिम्मेवार व्यक्तिले सभामुख र एउटा मन्त्री लिने र राप्रपाले अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने टुङ्गो लाग्यो भन्ने जस्ता प्रचार भए । प्रक्रियाको हिसाबले नै अब राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण नै समाप्त भइसकेको छ । त्यो झुट कुरा हो ।’

संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसेर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको अध्यक्ष लिङ्देनले बताए । उनले भने, ‘अहिलेको अवस्थामा सभामुख फालाफाल छ । सभामुख लिन कसैसँग कुनै सहमति आवश्यक पनि छैन, हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेनको सहमति भएको होइन ।’

उनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोड्न नमिल्ने जिकिर गरे । उनले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव आएको समेत जानकारी गराए। उनले भने, “सभामुख र मन्त्री प्राथमिकताको विषय होइन । हामीले अहिले चाह्यौँ भने सत्ता गठबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था छ ।”

अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको र आफूहरूको दलको हैसियतअनुसार समिति सभापति लिएको स्पष्ट पारे । पुस १० को गठबन्धनमै पनि बागमती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अङ्कगणितलाई हेरेर आफूहरूले नलिएको उनको कथन छ ।

यसैगरी अध्यक्ष लिङ्देनले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसङ्ख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको टिप्पणी पनि गरे । उनले बहुसङ्ख्यक नेपाली जनताको आस्थामा चोट पुग्नेगरी भइरहेको क्रियाकलापमा सरकारी उदासीनता चिन्ताको विषय हो भने । उनले भने, ‘धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सबै धर्मलाई बराबरी सम्मानसहितको हिन्दूराष्ट्र देशको आवश्यकता हो ।’

प्रधानमन्त्री नै संलग्न भएको पाइए पनि भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारमा प्रधानमन्त्री नै संलग्न भएको पाइए सजायका लागि तयार हुनुपर्ने बताएका छन् ।

सांसद अशिम शाहले भुटानी शरणार्थी, ललिता निवास प्रकरण, गौर घटना लगायतका विषयमा सरकारले कुनै पनि चासो नदिई उल्टो दोषीलाई जोगाउन लागि परेको भन्दै मुलुकमा सुशासन कायम होला भनेर प्रश्न गरेका थिए ।

जसको जवाफमा प्रधानमन्त्री दाहालले भने, ‘मेरो नेतृत्वमा सरकार बनेदेखि सुशासन कायमका लागि प्रयासरत रहेको छु। सरकारले आफ्नो कुर्सी जोगाउनका लागि मात्रै ध्यान दिएको सोच्नु गलत हो।’

सरकारले भुटानी शरणार्थी लगायत अन्य प्रक्रियाको बारेमा सरकारले जोड दिएर दोषीलाई कारबाही गर्नका लागि अदालतमा भएका मुद्दाका लागि आवश्यक पर्ने सहयोग गरिरहेको पनि उनले प्रस्ट पारे।

सार्वजनिक सुशासन कायम गर्न र मुलुकमा भ्रष्टाचार अन्त्यका लागि पनि सरकार प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले अनुसन्धानको क्रममा प्रधानमन्त्री नै पनि यदि संलग्न भएको भेटिएको अवस्थामा सजायको लागि तयार रहेको पनि स्पष्ट पारे।

देश परिवर्तनका लागि पहिले माओवादी रूपान्तरण गर्नैपर्छ ःअध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।

माओवादीको उपत्यका विशेष प्रदेश समितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताए ।

उनले भने, “देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको सुरुवात गरिएको छ । यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ । जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरुवात गर्नेछ ।” उनले सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाएको उल्लेख गर्दै यो अभियान नरोकिने स्पष्ट पारे ।

“नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन”, अध्यक्ष प्रचण्डले भने, “भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र भएर जान्छ । हामीविरूद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।” मुलुकको समृद्धिका लागि गुणात्मक विकासको खाँचो औँल्याउँदै उहाँले विकासको मोडल फेर्नुपर्ने बताए ।

“परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन । यसमा गुणात्मक रूपान्तरण जरुरी छ”, उनले भने, “असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ । अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौँ ।”

सरकारले मुलुक र जनताको हितमा विभिन्न कदम अगाडि बढाएको उल्लेख गर्दै उनले अब छिट्टै जनताले त्यसको प्रतिफल लिन पाउने बताए । उनले भने, “कूटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरु भएको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन । यी कामलाई तपाईहरूले जनताको बीचमा लैजानुस् ।”

उपत्यका विशेष प्रदेशमा इन्चार्ज वर्षमान पुनले सरकार र पार्टीका कामलाई व्यवस्थित गर्दै पार्टी रूपान्तरण अभियानमा जुट्नु अहिलेको आवश्यकता भएको बताए । पार्टीभित्र मतभेद, आलोचना भए पनि गुटगत राजनीति गर्न नपाइने भन्दै उनले गुटबन्दी गर्नेलाई अनुशासनको कारबाही हुने बताए। “अब पार्टी पार्टीका रुपमा, सङ्गठन सङ्गठनका रुपमा चल्छन्”, उनले भने ।

एसिया कप ः नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ ।

नेपाली क्रिकेट टोली एक दिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको । नेपाल र पाकिस्तानबीच बुधबार पहिलो भेट हुनेछ । एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन् । गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।
एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ । दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्नेछ । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेको छ ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले सार्वजनिक सेवामा जनताको सहज पहुँच विस्तार गर्ने, विकास निर्माण प्रक्रियालाई गति दिन सरकार प्रतिबद्ध रहेको बताए ।

दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएको र सोही दिशामा क्रियाशील रहेको स्पष्ट पारे । सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको उनको कथन छ ।

उनले सरकारले अर्थतन्त्रको सकारात्मक सुधारका लागि सरकारले आवश्यक पहलकदमी लिएको र त्यसको सकारात्मक प्रभाव देखा परेको जानकारी दिए । केन्द्रीय बैंकले सोमबार मात्रै चालु पूँजी कर्जा मार्गदर्शनमा संशोधन गरी उद्योग व्यवसाय क्षेत्रका सकारात्मक प्रभाव पार्ने उनले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले निकट भविष्यमा हुन लागेको चीन भ्रमणका क्रममा दुई देशका बीचका सहकार्यलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई थप सहज बनाउने र नयाँ नाका खोल्ने लगायतका विषयमा महत्त्वपूर्ण छलफल हुने र निष्कर्षमा पुर्‍याउने बताए । प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशको राजधानीको विस्तार र विकासका लागि सरोकारवालासँग थप छलफल गरेर निर्णय हुने उल्लेख गरे ।

राष्ट्रिय गौरवका आयोजनालाई थप गति दिन सरकारले आफ्ना संयन्त्रलाई पूर्णरुपमा परिचालित गरेको जानकारी दिँदै उनले ती आयोजना यथाशीघ्र सम्पन्न गर्न जोड दिएको बताए । प्रतिनिधिसभाको बैठक जारी छ ।

रेशमलाई कानुन बमोजिम माफी दिएको हो ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा अदालतले दोषी ठहर गरेका रेशम चौधरीलाई कानुन बमोजिम रिहा गरिएको बताएका छन् । ​मङ्गलवार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले संविधानमा भएको व्यवस्था बमोजिम नै चौधरीलाई गणतन्त्र दिवसका दिन माफी दिइएको बताएका हुन् ।

‘सरकार मानव अधिकारको रक्षाका लागि निरन्तर प्रतिबद्ध छ। सरकारले अदालतको निर्णयको सम्मान गर्दै कार्यान्वयनमा तदारुकताका साथ पहल गर्दै आइरहेको छ। संविधानको धारा २७६ मा राष्ट्रपतिले कानुन बमोजिम माफी मिनाहा गर्न सक्ने व्यवस्थाको जानकारी हामी सबैलाई छ। रेशम चौधरीले गृहमार्फत राष्ट्रपतिलाई निवेदन दिएकोमा महान्यायाधीवक्ता कार्यालयको रायका आधारमा प्रचलित कानुन बमोजिम उनलाई माफी गर्नका लागि सिफारिस गरिएको हो,’ उनले भने।

०७२ मा थरूहट प्रदर्शनकारीबाट डेढ वर्षे बालक र ८ जना सुरक्षाकर्मी मारिएका थिए। उक्त घटनामा सर्वोच्च अदालत, कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले चौधरीलाई दोषी ठहर गरेको थियो। तर, सरकारले गणतन्त्र दिवसका अवसरमा चौधरीलाई आम माफी दिएको थियो ।

सरकार विधिको शासनमा पूर्ण प्रतिबद्ध छ ःप्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विधिको शासनमा पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले समाजिक सद्भावमा खलबल पार्ने र एक अर्काको संस्कृति र धर्म विरुद्ध हुने दोषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन नसक्ने बताएका छन् ।

सांसद ईश्वरी देवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने,‘सरकार विधिको शासनमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट गर्दछु । ’

उनले नेपालको राष्ट्रियता बलियो भएको बताएका छन् । सामाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि कार्य हुन नदिन सरकार दृढ र स्पष्ट भएको उनको भनाई छ ।

लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्रायो ‘गारवेज ट्रक’

गोलबजार । लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिए ।

फोहर सङ्कलन गर्न ट्याक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नं. १ देखि १० सम्मका फोहर ती ट्रकमा सङ्कलन हुने र बिस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहर सङ्कलन गरिने उनले बताए ।

नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहर सङ्कलनका लागि ट्रक जान सक्ने बताए ।

स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी नगरपालिका

चितवन । खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१ स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ ।

कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती शिक्षक खटाइने नगरपालिकाले जनाएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँले भने, ‘ स्वयंसेवक शिक्षक परिचालनबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनेमा हामी विश्वस्त छौँ ।’ ती शिक्षकले अन्य शिक्षक सरह हप्तामा कम्तीमा २८ कक्षा पढाउनुपर्ने हुन्छ ।

खैरहनीमा वि.सं २०७६ यता विषयगत, कक्षागत र विद्यार्थी सङ्ख्या धेरै भएर शिक्षक अपुग भएको विद्यालयमा स्वयंसेवक शिक्षकलाई खटाउँदै आएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट नै खर्च हुने गरी स्वयंसेवक शिक्षकको व्यवस्थापन गरिएको हो ।

स्वयंसेवक शिक्षकका लागि यस वर्ष नगरपालिकाले रु. ८८ लाख २५ हजार बजेट विनियोजन गरेको उनले जानकारी दिए । स्वयंसेवक शिक्षकको नियुक्ति पाउनेमा बालविकासतर्फ ११, प्राथमिक तह (कक्षा १–५) का २५, आधारभूत तह (कक्षा ६–८)मा गणित र विज्ञान विषयका चार र मावि तहको नेपाली विषयको एकजना रहेका छन् ।

स्वयंसेवक शिक्षकका लागि आवेदन दिएका दुई सय ७२ मध्ये दुई सय ६८ जना सूचीकृत भएका थिए । यसमध्येबाट योग्यताक्रमका आधारमा ४१ जना छनोट गरिएको हो । सुत्केरी बिदा र वैदेशिक यात्रामा गएका बेला रिक्त हुने स्थानमा स्वयंसेवक शिक्षक नै खटाइने छ ।

ललिता निवास प्रकरणमा आज पनि जिल्ला अदालतमा बयान हुँदै

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौँ जिल्ला अदालतमा हुने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लगाएर अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार मुद्दा दर्ता गरेको हो ।

सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय दिएपनि सरकारी वकिलले भने पश्चातदर्शी कानुन लगाउन नमिल्ने जनाउँदै किर्तेमा मुद्दा चलाएको हो ।

सोमबार उक्त प्रकरणमा थुनामा रहेका मध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान न्यायाधीश भोलानाथ ढकालको रोहबरमा भएको छ । आज (मंगलबार) चार जनाको बयान लिन काठमाडौं जिल्ला अदालतले तयारी गरेको छ ।

ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिनामा चार पूर्वमन्त्री, सञ्चारसचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सहसचिव सुशील वैद्यसहित सरकारी वकिल कार्यालयले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको छ । ललिता निवास जग्गा प्रकरणमा १८ जना थुनामा छन् ।

संसदीय समिति निर्वाचनले दलहरूबीच बढायो हार्दिकता

काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिको सभापति पदको यस पटकको निर्वाचनले दलहरूबीचको द्वन्द्व र प्रतिस्पर्धालाई अन्त्य गर्दै हार्दिकता प्रदान गरेको छ।

पछिल्लो सुन प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संसदीय छानबिन समिति गठन गर्ने कि नगर्ने भन्नेमा विवादसँगै लामो समयसम्म सदन अवरुद्ध भई देखिएको चिसोपनलाई सभापति निर्वाचनले हटाउन सफल भएको छ।

नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले संसदीय समितिको निर्वाचनमा दलहरूबीच देखिएको सहमतिले देश र जनहितका राष्ट्रिय मुद्दा सहकार्यका साथ अघि बढ्न सकिन्छ भन्ने स्पष्ट सङ्केत गरेको प्रतिक्रिया दिए।

उनले भने, ‘सदनमा औसत उपस्थिति सङ्ख्याका आधारमा समितिको नेतृत्व चयनमा भएको सहमतिले संसदमा राजनीतिक स्थायित्व भई ऐन, कानुन निर्माणमा सहज हुने अपेक्षा गर्न सकिन्छ।’

दल विभाजन भई एक–अर्काप्रति सार्वजनिकरूपमै कटाक्ष गरिरहेका नेकपा ९एमाले० र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्षद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई निर्वाचनकै क्रममा सँगै आसन ग्रहण गर्ने मौका मात्र नभई कानेखुसी गर्नेसम्मको अवसर प्रदान गरेको छ।

मुलुकमा लोकतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहयात्री नेपाली कांग्रेस, एमाले र माओवादीलाई संसदीय अभ्यासमा भने कडा प्रतिस्पर्धी भूमिकाबाट एक–अर्कालाई सघाउने स्वर्णिम अवसर पनि यसै निर्वाचनले प्रदान गरेको छ।

समिति नेतृत्वको भागवण्डामा सहमति बनेपछि प्रमुख दलहरूले नै एक–अर्काका उम्मेदवारको प्रस्तावक र समर्थक भएर मित्र–मिलनको लोभ लाग्दो अभ्यास गरेको देखियो। समिति बैठकमा ज्येष्ठ सदस्यले तत्तत् समितिका उम्मेदवार निर्विरोध भएको घोषणा गर्नासाथ फरक दलका सदस्यले हार्दिकताकासाथ हतार–हतार अङ्कमाल गर्दै खादा ओढाएर हात मिलाएको दृश्य रोचक देखिन्थ्यो।

अर्थ समितिमा सभापतिमा सन्तोष चालिसेलाई निर्वाचित भएको घोषणा गर्नासाथ एमाले नेता सूर्य थापाले कोटको खल्तीबाट खादा झिकेर लगाइदिए भने उपाध्यक्ष विष्णु पौडेलले खुसी व्यक्त गर्दै आफ्नो मोबाइलबाट तस्बिर खिचे। सार्वजनिक लेखा, अन्तर्राष्ट्रिय, राज्य व्यवस्थालगायतका अरु समितिमा पनि यस्तै हार्दिकतासहितको रमाइला दृश्य देखियो।

मुलुकमा राजनीतिक स्थिरताका लागि भन्दै सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले आफ्नो भागमा परेको कोटा नै यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सुम्पियो। प्रारम्भमा पूर्वाधार विकास समितिमा माओवादी केन्द्रले पार्टीका युवानेता माधव सापकोटालाई अघि सारेको थियो । मुलुकको राजनीतिक स्थायित्व कायम गर्ने जनाउँदै त्यसबाट पछि हटेर राप्रपाका दीपकबहादुर सिंहलाई उम्मेदवार बनाएको घटनाले राजनीतिमा स्थायी शत्रु र मित्र हुन्न भन्ने भनाइलाई एकपटक पुष्ट्याइँ गरिदियो यस निर्वाचनले परिवर्तन र परम्परावादी शक्तिलाई सौहार्दता प्रदान गर्ने अवसर जुटाइदिएको छ।

संयोग नै भन्नुपर्छ, कानुन निर्माणको प्रमुख भूमिका रहेको न्याय तथा मानवअधिकार समितिको नेतृत्व माओवादी केन्द्र र विकास निर्माणमा प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार समितिको नेतृत्व राप्रपाले लिएको छ।

एमाले संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले निर्वाचनमा जनताबाट प्राप्त मतको हैसियतका आधारमा कानुन निर्माण गर्ने सन्दर्भमा विषयगत समितिको नेतृत्व बाँडफाँट गरेर जानुपर्छ भन्ने दलहरूबीच देखिएको मतैक्यता उच्चतम हार्दिकताको नमूना भएको बताए।

उनले भने, ‘राष्ट्र र जनहितका कतिपय विषयमा दलहरूबीच मिलेर जाऔँभन्दा सकिँदोरहेछ भन्ने असल संस्कारका रूपमा समिति नेतृत्व छनोटमा भएको सहमति र देखिएको हार्दिकतालाई लिन सकिन्छ।’

संसदीय समितिका बैठकमा न्यून उपस्थिति देखिने कतिपय पार्टीका नेताले नै बैठक सञ्चालन गर्ने अवसर पनि निर्वाचनले गरायो। सदस्यको न्यूनतम उपस्थिति सङ्ख्या (कोरम) नपुगेर निर्वाचनका लागि डाकिएको बैठक रोकिएन ।

संसदीय समितिका बैठक कोरम नपुगेर ढिलो सुरु हुने र कहिलेकाहीँ रोकिने घटना नेपालको संसदीय अभ्यासमा नयाँ होइन। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कानुन, न्याय तथा मानवअधिकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा एमाले अध्यक्ष ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको उपस्थितिले बैठकलाई ऊर्जा प्रदान गर्‍यो।

डेढ दशकअघि सभापतिको जिम्मेवारी सम्हालेको अनुभव सम्हालेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का पदेन सदस्यका रूपमा राज्य व्यवस्था समितिको बैठकमा सहभागी थिए। विषयगत समितिका रूपमा अर्थ समिति सभापतिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जसपाका राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितमा जनमत पार्टीका अब्दुल खानको चयन भएको छ।

कानुन, न्याय तथा मानवअधिकारमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसका डा आरजु देउवाको नेतृत्व रहेको छ। त्यस्तै महिला तथा सामाजिक मामिला समितिको नेतृत्व एमालेका किरणकुमार साह, राज्यव्यवस्था तथा सुशासनमा कांग्रेसका रामहरि खतिवडा, पूर्वाधार विकासमा राप्रपाका दीपकबहादुर सिंहको नेतृत्व छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि नेकपा एसका भानुभक्त जोशी र सार्वजनिक लेखा समिति सभापतिमा एमालेका ऋषिकेश पोखरेलको चयन भइसकेको छ ।

कांग्रेसका नेता राजेन्द्रकुमार केसीले संसदीय समितिको नेतृत्व चयनमा दलहरूबीच सहमति, सहकार्य र एकताकासाथ अघि जानुपर्छ भन्ने सन्देशले राजनीतिक स्थायित्वका लागि हार्दिकता प्रदान गरेको बताए।

उद्योग तथा वाणिज्य तथा उपभोक्ताहित समितिमा जनमत पार्टीका खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेकामा पराजुलीले मधेसलाई सघाउने आफ्नो पार्टीको जनाउँदै उम्मेदवारी फिर्ता लिई सहमतिका लागि मार्गप्रशस्त गरिदिए। प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये यसपटक दुईको नेतृत्व महिलाले सम्हाल्ने अवसर प्राप्त गरेका छन्।

अघिल्लो कार्यकालमा पवित्रा निरौला, पूर्णकुमारी सुवेदी, निरुदेवी पाल, शशि श्रेष्ठ, कल्याणीकुमारी खड्का र जयपुरी घर्तीसहित छ जनाले नेतृत्व गरेका छन्।

नेपालमा पहिलो संसद्को निर्वाचन भएको साढे छ दशक भइसकेको छ । विश्वका अन्य देशको तुलनामा नेपालको संसदीय इतिहास नयाँ होइन। यो अवधिमा नेपालको संसद्ले एकदलीय र बहुदलीय तथा एक र दुई सदनको अभ्यास गरेको अनुभव छ। नेपालको संसदीय अभ्यासमा विसं २०१५ को निर्वाचनपछि गठन भएको पहिलो संसद् करिब १८ महिना सञ्चालन भएको थियो।

‘मिनी पार्लियामेन्ट’का रूपमा रहेका संसदीय समिति उक्त कार्यकालमा नियमावलीले छवटा व्यवस्था गरेता पनि तीनवटा मात्र सञ्चालनमा आए। बाँकी दुई परिकल्पनामै सीमित रहे।

संसदीय समितिको अभ्यासलाई नियाल्दा विसं २०४८ मा सात, वि.सं २०५१, २०५६ र २०६३ मा नौ, २०६५ मा दुई विशेषसमेत गरी १०, वि.सं २०७० मा ११ थिए। विसं २०७४ देखि भने प्रतिनिधिसभा मातहत १०, संयुक्त समिति दुई र राष्ट्रियसभा मातहत चारवटा रहने व्यवस्था गरिएको छ। प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि भएको संसदीय समिति सभापति निर्वाचनले संसद् र संसदीय समितिलाई चलायमान तुल्याउने छ।

राप्रपाले गौहत्याको विरोधमा सरकारलाई ज्ञापन पत्र बुझाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

देशका विभिन्न स्थानमा राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भइरहेको जनाउँदै राप्रपाले त्यसलाई रोक्न माग गर्दै ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागिको माग गर्दै दिउँसो प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाइने जनाएको छ ।

समाजवादी मोर्चाले आज बुटवलमा घोषणासभा गर्दै

लुम्बिनी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल आउने भएका छन् । समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणसभालाई सम्बोधन गर्न उनी यहाँ आउन लागेका हुन् । सो सभालाई मोर्चामा आबद्ध अन्य चार दलका शीर्ष नेताले पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जनता समाजवादीका नेता मनिकर कार्कीले जानकारी दिए । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता कार्कीले जानकारी दिए ।