काँग्रेसले बिपी साहित्य महोत्सव गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले बिपी साहित्य महोत्सव गर्ने भएको छ। यही भदौ २४ गतेदेखि २६ गतेसम्म बिपी साहित्य महोत्सव गरिने काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।
साहित्य महोत्सव केन्द्रीय कार्यालय सानेपामा हुनेछ। काँग्रेस केन्द्रीय कार्यालय र नेपाली लेखक सङ्घको संयोजनमा साहित्य महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा सम्भाषण र सत्रहरू हुनेछ। मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेस, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, युवा स्रष्टामा बिपी पठन र परिवारले बुझेका बिपी कार्यक्रम हुनेछ।

साथै कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनी पनि हुनेछ।

संसदीय समिति सभापतिहरूको शपथ ग्रहण साढे ४ बजे हुने

काठमाडौँ । प्रतिनिधि सभाको संसदीय समितिका सभापतिहरूको शपथ अपराह्न साढे साढे ४ बजे हुने भएको छ । कृषि समितिको हलमा सभापतिहरूको शपथको कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

१० मध्ये ९ समितिको सभापतिमा सर्वसम्मत चयन भइसकेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनतम पार्टीका अब्दुश खान र रास्वपाका गणेश पराजुलीबीच अहिले चुनाव हुँदैछ ।
निर्वाचन भएलगत्तै सभापतिहरूको शपथ तय कार्यक्रम तय भएको हो । जनमतका खानलाई सत्ता र प्रमुख प्रतिपक्षी दल सबैको समर्थन छ ।

नेपाली सेनाका मेजर बेपत्ता

काठमाडौं । डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित आइतबार रातीदेखि सम्पर्कविहीन भएका छन् । गुल्मपति पण्डित सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरीको टोली खोजीका लागि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारीले भूमिश्वर पोख्रेलले पुष्टि गरेका हुन् ।

‘बडीगार्डलाई छाडेर एक्लै निस्किनुभएको र हिजोदेखि सम्पर्कमा नआएको खबरपछि खोजीमा टोली परिचालन गरेका छौं । डोल्पामा नेटवर्कको समस्या भएकाले खोजीमा जटिलता रहेको छ,’ प्रजिअ पोख्रेलले भने ।

 तीन वटै सुरक्षा निकाय सम्मिलित डीएसपीको नेतृत्वमा बेपत्ता मेजर खोजी थालिएको छ ।

गण्डकीमा दुई नमुना पशुपक्षी अस्पताल बन्दै

गण्डकी । पशुपक्षीको उपचारमा स्तरीय सेवा दिन कास्की र तनहुँमा नमुना पशुपक्षी अस्पताल भवन निर्माण भइरहेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा बनिरहेका ती अस्पताल भवनको भौतिक निर्माण यसै वर्षभित्र सक्ने लक्ष्य लिइएको छ ।

कास्कीको पोखरा–१२ माटेपानी र तनहुँको दमौलीमा प्रदेशस्तरीय नमुना पशुपक्षी अस्पताल बन्न लागेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । पशुपक्षीमा लाग्ने रोगको निदान र उपचारका लागि आधुनिक पूर्वाधारसहितको अस्पताल निर्माण हुने मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गृष्म न्यौपानेले बताए ।

“अहिले भइरहेका भवन अस्पतालको संरचना अनुरुप छैनन्, त्यसले सेवा प्रवाहमा पनि जटिलता निम्त्याइरहेको छ”, उनले भने, “पशुपक्षीको उपचारमा चाहिने आवश्यक पूर्वाधारसहितका अस्पताल भवन बन्दैछन्, अस्पतालले दिने सेवा पनि सोही अनुसार विस्तार हुँदै जान्छ ।”

मन्त्रालयका अनुसार कास्कीमा रहने अस्पतालको लागत रु पाँच करोड ५४ लाख ४८ हजार र तनहुँको रु पाँच करोड ५४ लाख ६५ हजार रहेको छ । कास्कीमा निर्माणाधीन अस्पतालका लागि गत आवमा रु. तीन करोड २५ लाख बजेट विनियोजन गरिएकामा रु. दुई करोड ३२ लाख ९७ हजार खर्च भएको जनाइएको छ ।

तनहुँको अस्पताल भवनका लागि गत आवमा रु. तीन करोड ५० लाख बजेट विनियोजन भएकामा जम्मा रु. ६० लाख २७ हजार खर्च भएको मन्त्रालयले जनाएको छ । कास्की अस्पताल भवनमा हालसम्म रु.चार करोड ९६ लाख ९५ हजार र तनहुँमा रु. तीन करोड ४० लाख ८२ हजार खर्च भइसकेको छ ।

कास्कीमा आउँदो कात्तिक १० गतेसम्म र तनहुँमा आउँदो पुस ११ गतेसम्म निर्माण सक्ने गरी म्याद थप भएको महाशाखा प्रमुख डा न्यौपानले बताए । भवन बनेपछि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर अस्पतालको सेवा सुरु गरिने कास्कीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले बताए ।

“एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला, शल्यक्रिया, दूध परीक्षणलगायत पशुपक्षीको उपचारमा स्तरीय सेवा दिने गरी नमुना अस्पताल बनाउन लागिएको हो”, उनले भने, “स्वास्थ्य पूर्वाधार,उपकरणदेखि जनशक्तिसम्मको व्यवस्थापन सोही अनुसार गर्न लागिएको छ ।” नमुना अस्पताल बनेपछि पशुपक्षीमा देखिने जटिल प्रकृतिका रोगको निदान र प्रयोगशाला परीक्षणका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने केन्द्रका प्रमुख पाण्डेले उल्लेख गरे ।

“अत्याधुनिक प्रविधि र उपकरण नहुँदा कुनै बेला अनुमानका भरमा पनि उपचार गर्नुपर्ने अवस्था थियो, अब पशुपक्षीको उपचार पद्धतीमा पनि गुणात्मक परिवर्तन ल्याउने गरी अस्पतालको पूर्वाधार बन्दैछ”, उनले भने, “पशुपक्षीमा बेलाबेला फैलने गरेको महामारीजन्य रोगको उपचार, नियन्त्रण र रोकथामका लागि पनि यो अस्पतालबाट ठूलो टेवा पुग्छ ।”

अहिले कास्कीको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमा दुई जना मात्र पशु चिकित्सकको दरबन्दी छ । नमुना अस्पताल बनेपछि विशेषज्ञसहितको जनशक्ति थप्नुपर्ने अवस्था रहेको केन्द्रले जनाएको छ ।

टीकापुरको जग्गा कण्डमा आफु मुछिएपछि आफ्नो बचाउ पक्षमा ः आरजु

काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफूले टीकापुरमा जग्गा खरिद गरेको भन्दै त्यसमा विवाद नभएको जिकिर गरेकी छन् । प्रतिकठ्ठा १५ हजार रुपैयाँका दरले ५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको उनको तर्क छ ।

टिकापुर जग्गा अनियमितता प्रकरणमा गरेको अनुसन्धानका क्रममा टिकापुर विकास समितिका नाममा बाँडिएको जग्गामध्ये आरजुको नाममा ३ कठ्ठा ७ धुर जग्गा फेला परेको थियो । अनियमित रुपमा बाँडिएको जग्गा अनुसन्धानका क्रममा आरजु राणादेखि नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीसम्म मुछिएको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।
यो विषयमा मात्र उजुरी परेको भन्दै उनले भनेकी छन्, ‘त्योभन्दा पहिले पनि उजुरी परेको थियो, के–के गरेर मिलाए, बन्द भयो । अहिले उजुरी चाहिँ नेपाली कांग्रेसकै साथीहरुले खोलाएको हो ।’ अहिले रेशम चौधरीको पनि नाम आएको भन्दै उनको हकमा कहिले किनेको हो भन्ने थाहा नभएको उनी बताएकी छन् ।

‘मेरो नामको जग्गाको विषयमा पहिल्यैदेखि सम्पत्ति विवरणमा पनि उल्लेख छ, यसमा कैफियत छैन’, आरजुले भनेकी छन् । प्राप्त गरेको कागजातहरुमा आरजुले १३ वैशाख २०५४ मा टिकापुर विकास समितिमा दिएको निवेदनका आधारमा त्यसको दुई दिनपछि ३ कठ्ठा ७ धुर जग्गा लिएको देखिन्छ । आफ्नो बचाउको पक्षमा तर्कहरु खण्डन गर्दै आफुलाई बचाउने प्रयासमा रहेकी छिन् यतिबेला आरजु ।

वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाइ प्रतिष्ठित मार्केटमा मासिक रु दुई लाख तलबमा काम लगाइदिने जनाउँदै  पीडितहरुबाट रु पाँच लाख ४५ हजार ठगी गरेको, सुनुवारले एक जनालाई क्रोएसिया पठाइ फुड प्याकिङमा मासिक रु एक लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु दुई लाख ठगी गरेको, खड्काले एक जनालाई कुँवेत पठाइ बाइक राइडरमा मासिक रु ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु एक लाख ९४ हजार ठगी गरेका आरोपमा पक्राउ गरिएको हो।

यसैगरी गुरुङले एक जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक रु एक लाख तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रु तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए।

अब सर्वोच्च अदालतमा सुशासन कायम हुनेमा प्रधानन्यायाधीश श्रेष्ठ ः आसावादी

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुधारको प्रक्रिया अघि बढेको बताएका छन् ।

सोमबार स्वचालित पेशी तारेख प्रणालीको सुरुवात गर्दै उनले अब कर्मचारी र सेवाग्राही निश्चिन्त हुने बताएका हुन् ।

‘यसले कर्मचारीहरुलाई निश्चिन्तता हुने, सेवाग्राहीहरुलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडि बढेको जस्तो लाग्दछ । पेशी व्यवस्थापन कडी हो यो । तारेखसम्म सुधार ग¥यौँ हामीले । अब सायद हाम्रो कर्मचारी साथीहरुले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला’, उनले भने ।

पेशी तारिख अब प्रविधिमा आवद्ध भएकाले सुशासन कायम गर्न पनि यसले मद्दत गर्ने प्रधानन्यायाधीश श्रेष्ठले बताए । उनले स्वचालित पेशी तारिख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको पनि जानकारी दिए ।

अदालतकै कर्मचारीले सफ्टवेयर विकास गरेको भन्दै उनले यो प्रणालीलाई काठमाडौं जिल्ला अदालत हुँदै अन्य अदालतमा पनि लागू गरिने बताए ।

अब सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाइने

काठमाडौं महानगरपालिकाले गरेको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने भएको छ । महानगरको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै कार्यान्वयनको बाटो खुलेको हो ।

काठमाडौं महानगरपालिले बहुतले आवासीय एवम् व्यावसायिक भवनहरुमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने निर्णय गरेको थियो । तर त्यसविरुद्ध कम्पलेक्स डेभलपर लिजर एशोसिएनले महानगरविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो ।

त्यो रिटमाथि २२ साउनमा सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको थियो । अदालतले ३० साउनसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङस्थलहरुमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालीन आदेशमा दिएको थियो ।

उक्त आदेशमा ३० साउनमा दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

दुवै पक्षलाई छलफलमा बोलाइसकेपछि अदालतले महानगरको पक्षमा अन्तरिम आदेश दिएको हो ।

काठमाडौं महानगरले आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले व्यापारिक भवनहरुले पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेको हो । आर्थिक ऐन अनुसार आफ्नो सेवाग्राही भन्दा बाहेक अन्यसँग भने पार्किङ शुल्क लिन महानगरपालिकाले रोक लगाएको छैन ।

भुटानको ड्रुक एयरले पारोबाट पोखरा उडान गर्ने

काठमाडौं । भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।

ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अुनसार यो जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ न्यारोबडी जहाजले उडान गर्नेछ ।

नयाँ विमानस्थलमा उडान सुरु हुन केही समय लाग्ने भएको र अब भने क्रमशः उडानहरु आउने थालेको उनले बताए । पोखरामा ड्रुक एयर आउने सुखदः विषय हो, उनले भने, यसले आगामी दिनमा थप जहाजहरु आउने बाटो खुल्ने छ ।’

चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको उनले बताए । ‘पोखरामा अब नियमित उडान हुनेछ भन्ने विश्वास हाम्रो छ ।’

अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।

अन्य उडान भने आन्तरिक मात्र भइरहेका छन् । अर्को नयाँ विमानस्थल भैरहवाबाट भने नेपाल एयरलाइन्सले तीन गन्तब्यमा उडान थालेको छ ।

जथाभाबी निर्माण सामाग्री सडकमा छोड्नेलाई अब जरिवाना

काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगर प्रहरीले काठमाडौं महानगरपालिका–९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै जरिवाना तिराएको हो ।

स्थानीय रामकुमार थापालाई महानगरपालिकाले प्रशासनिक दण्ड जरिवाना स्वरुप रकम तिराइएको जनाएको छ ।

यसअघि महानगरपालिकाले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने लगायतमा पनि जरिवाना गर्दै आएको छ ।

चीनमा बाढीको वितण्ड

काठमाडौं । चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ ।

जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी छ।’

बाढीले हाम्रो धानबाली पूरै नष्ट गर्‍यो । चार दशकको यस अवधिसम्म पहिलोपटक यस्तो भएको हो ।

बाढीका कारण त्यहाँ कुनै मानवीय क्षति भने हुन पाएन । वुनचाङ क्षेत्रका बासिन्दालाई पहिले नै सतर्क गराइएको थियो । उनीहरु समथर भूभागबाट उचाइतर्फ स्थानान्तरण भएका थिए ।

बाली विनास हुँदा वुनचाङ मात्रै नभएर समग्र राष्ट्रले नै कठिन परिस्थिति व्यहोर्न सक्ने आकलन गरिएको छ । चीनको दक्षिण पूर्वी प्रान्त हिलोज्याङमा बाढीले धेरै क्षति पुर्‍याएकोले खाद्य आपूर्ति श्रृंखलामै असर पुग्ने बताइएको छ । वुनचाङमा मात्रै ४० प्रतिशत धानबालीमा बाढीले क्षति पुर्‍याएको छ । यस बखत हरियाली हुनुपर्ने फाँट उजाड छन् ।

बाढीमा ८१ जनाले ज्यान गुमाएका छन् । बाँचेकाहरुलाई राज्यले सहायता गरिरहेको छ । यो वितण्डाको आर्थिक असर भने अत्यधिक नै छ । कोरोनाकालपछि अर्थतन्त्र सुधारमा अग्रसर चीनलाई यसले धक्का पुर्‍याउने जानकारहरुको मत छ । दशक यताको तथ्यांक हेर्दा चीनले गर्मीयाममा मासिक ६ देखि आठ पटक बाढी बेहोर्थ्यो । तर गत वर्षको तथ्यांक हेर्ने यो भने यो संख्या १३० पुगेको छ । जुलाइ र अगस्टमा मात्रै ८२ पटक बाढी आएको छ ।

जलवायु परिवर्तनबारे चिनियाँ विज्ञ झाओ लि भन्छिन्, ‘तापमानमा उच्च वृद्धि नै बढी बाढीको कारक हो । तापमान उच्च हुँदा वाष्पीकरण ज्यादा हुन्छ । वातावरणमा आर्द्रता बढ्दा अझ धेरै वर्षा तथा आँधी तुफानको संभावना हुन्छ।’

राष्ट्रसंघको मापदण्ड अनुसार ग्रीन पिसले चीनमा गरेको अनुसन्धान अनुसार यो शताब्दीमा चीनमा गर्मीयाम एक महिना लम्बिने छ र बाढीको संख्या पनि बढ्नेछ । बेइजिङ र सांघाइले सबैभन्दा बढी तापक्रमको सामना गर्नेछन् ।

चीनको जल तथा मौसम विज्ञान निकाय अनुसार सन् १९९० दशकको मध्यतिरबाटै चीनमा तापमान वृद्धि सुरु भएको थियो । यति हुँदा पनि मानिसहरुले नचेत्दा अहिलेको स्थिति आएको वातावरणविद् झाओ बताउँछन् । ‘चीनले अझै खराबस्थितिको सामना गर्नै बाँकी छ । सय वर्षयताकै ठूलो वितण्डता चीनले देख्नेछ’, उनी भन्छन् ।

बाढीको दिशा बदल्नका लागि प्राविधिकहरुले पूर्वाधार निर्माण गरिरहेका छन् । तर त्यसले समेत काम नगर्न सक्ने झाओको चिन्ता छ । बाढीले हाल पुर्‍याएको क्षतिको नोक्सान पूर्तिका लागि १० वर्ष लाग्ने स्थानीय व्यवसायी झाङ बताउँछन् । ‘सरकारले हामीलाई क्षतिपूर्ति देला वा नदेला निश्चित छैन तर यो नोक्सानको पूर्तिका लागि एक दशक लाग्नेछ’, उनले भने ।

गत जूनमा चीनको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि थियो । चीनमा एक महिनाको परिमाणको वर्षात् २४ घण्टामै भएको छ । ‘यस वर्षको गर्मीयाम चीनका लागि निकै कठिन छ । र जहिलेसम्म कार्बनडाइअक्साइडको परिमाण न्यूनीकरण हुँदैन चीनले झनै खराब परिस्थिति व्यहोर्दै जाने छ’, प्राध्यापक कस्केड तोलेस्को भन्छन् ।

घना आवादी र विश्वकै प्रमुख अर्थतन्त्र मध्ये एक रहेको चीनमा धेरै उद्योगहरु छन् । ती उद्योगबाट उत्सर्जन हुने हानिकारक ग्यासकै कारण चीनले खराब परिस्थितिको सामना गरिरहेको प्राध्यापक कस्केड बताउँछन् ।

चीनले कहिले लामो खडेरी त कहिले अप्रत्याशित बाढीको सामना गरिरहेको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि काम नगरेमा अझै खराब परिस्थिति निम्तिन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

प्रधानमन्त्री महासभामा सहभागी हुन प्रतिनिधिमण्डल सहितको सूची तय

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घ (यूएन)को ७८ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधि मण्डलको मुख्य कार्यसूची तय भएको छ ।

आगामी ३० भदौमा प्रधानमन्त्री प्रचण्डसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने छन् भने न्यूयोर्कमा रहुन्जेल नेपालको प्रतिनिधिमण्डलले यूएनका मुख्य कार्यक्रमहरूमा महत्त्वपूर्ण सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालले संयुक्त राष्ट्र संघमा सहभागी हुने कार्यक्रमको सूची तयार भइसकेको र प्रतिनिधिमण्डलको सूची टुङ्गो लगाउने अन्तिम तयारी भइरहेको बताइएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल न्यूयोर्क जाने तय भएपनि त्यसमा को–को सहभागी हुने भन्ने टुङ्गो लगाउने काम भइरहेको हो ।

नेपालले संयुक्त राष्ट्र सङ्घको महासभामा विशेष गरी दिगो विकासका लक्ष्य (एसडीजी) सम्बन्धी समिटमा सहभागिता जनाउने, यही वर्षदेखि आफू अध्यक्ष रहेको अतिकम विकसित राष्ट्रहरू (एलडीसी) को अध्यक्षता गरेर कार्यक्रम सञ्चालन गर्ने, वाणिज्य विकास र क्लाइमेट चेन्जमा नेपालले भोगिरहेका समस्या र यसको समाधानका विषयमा हुने क्लाइमेट एम्बिसन समिटमा महत्त्वपूर्ण सहभागिता जनाउने विषयलाई प्राथमिकतामा राखेको छ ।

यस्तै नेपालले महामारीको रोकथाम, पूर्वतयारी र समाधान, विश्वव्यापी स्वास्थ्यसम्बन्धी समस्या, क्षयरोग सम्बन्धी लडाईँ सम्बन्धी कार्यक्रममा सहभागिता जनाउने छ । यस्तै लामो समयदेखि नेपाल अध्यक्ष रहेको सार्क मन्त्रीस्तरीय र अन्य विभिन्न मुलुकबाट प्रस्ताव भएका तथा नेपालले प्रस्ताव गरेका साइड लाइन वार्तामा सहभागी हुने गृहकार्य भएको छ ।

यूएन महासभामा सहभागी हुने प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल ३० भदौमा प्रस्थान गर्नेछ भने १ र २ असोजदेखि संयुक्त राष्ट्र सङ्घका कार्यक्रममा सहभागी हुनेछ । यस्तै प्रधानमन्त्रीले ३ असोजमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नेछन् ।

चार वर्षपछि नेपालले प्रधानमन्त्रीस्तरको सहभागिता जनाउँदै छ । प्रधानमन्त्री प्रचण्ड उक्त महासभामा भाग लिएर त्यहाँबाट चीन भ्रमणमा जाने तय भएको छ ।

प्रधानमन्त्री नेतृत्वमा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्र सङ्घको महासभामा परराष्ट्रमन्त्री एनपी साउदसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता हुने भए पनि को(को सहभागी हुने भन्ने अझै टुङ्गो लागिसकेको छैन ।

भोलिदेखि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भोलि भदौ १२ गते देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो ।

भैरहवाबाट हरेक मङ्गलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण गर्नेछ । तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि चेक इन गर्दा कै बखत गन्तव्य सम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट लिन सक्नेछन् ।

सम्झौताविना मालिका गाउँपालिकामा नदीजन्य वस्तुको उत्खनन्

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताविनै नदीजन्य वस्तुको उत्खनन् भएको छ ।

मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने नियम छ । कानुनी व्यवस्था विपरीत म्याग्दी नदीबाट बर्खा याममा बालुवा उत्खनन गरेका हुन् ।

तोलावाङ, पतेनी, रानीवासा, कमेरे, इल्पु, भारवाङ लगायत क्षेत्रमा ठेक्का सम्झौताविनै बालुवा उत्खनन् भएको गाउँपालिकाका जनप्रतिनिधिले नै बताएका छन् । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले केही व्यक्तिहरूले ठेक्का सम्झौता नै नगरीकन बालुवा उत्खनन गरेको गुनासो आएको र उनीहरूलाई जरिवाना तिराइएको बताए ।

‘हाम्रो पालिकाको क्षेत्रमा नदीजन्य वस्तुको उत्खनन र निकासीका लागि गत वर्ष भएको सम्झौता अवधि सकिएको छ । नयाँ आवको ठेक्का आह्वान भएको छैन’, उनले भने, ‘सम्झौताविनै बालुवा उत्खननमा प्रयोग भएका डोजर र ढुवानी गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएर जरिवाना तिराएका छौँ ।’

नदीबाट निकालेर भण्डारण गरिएका बालुवाको केही दिनमै अनुगमन गरेर जफत र लिलामी गर्ने तयारी गरेको पनि अध्यक्ष गर्बुजाले बताए । स्थानीय तहको प्रमुख आम्दानीको स्रोत रहेको नदीजन्य वस्तुको अवैध उत्खनन र चोरी निकाशीले गाउँपालिकाले राजस्व गुमाउने जोखिम छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घ दरवाङ एकाइका अध्यक्ष लेकबहादुर पुनले हालै गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा ठेक्का सम्झौताविनै उत्खनन् गर्ने र ठेक्का आह्वान गर्दा सहभागी नहुने प्रवृत्ति देखिएको विषयमा प्रश्न उठाएका थिए ।

अवैध हिसाबले बालुवा उत्खनन गरेर वर्खामा थुपार्ने र हिउँदमा गाउँपालिकाले ठेक्का आह्वान गर्दा ठेक्का नै नपर्ने समस्या देखिएको हो । गत वर्ष मालिका गाउँपालिकाले नदीजन्य वस्तुको उत्खनन र निकासीको ठेक्का लगाउन चार पटकसम्म सूचना प्रकाशन गरेको थियो । रु.बीस लाख बढीमा छ वटा बगर ठेक्का लागेको थियो ।

बर्खामा बाढीले बगाएर ल्याएको बालुवा थुपार्न नदीभित्र खाडल बनाएका छन् । छोटो समयमा धेरै, कम लागतमा बढी गहिराइमा पुगेर बालुवा निकाल्न पाइने लोभले कानुनले नदिए पनि डोजर प्रयोग गरेका छन् । हिउँदमा ठेक्का लिँदा बगरमा बालुवा कम हुने हुँदा ‘सेटिङ’ मिलाएर वर्खामा डोजर प्रयोग गरेर निकाल्ने, जरिवाना तिर्ने र लिलामीको प्रक्रियाबाट सकार्ने घुमाउरो विधि प्रयोग गरेको पाइएको छ । बालुवा निकाल्नेले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायसँग ‘सेटिङ’ गरेको स्थानीयको गुनासो छ ।

नदी उत्खननमा संलग्न दुई जनालाई यस वर्ष रु.४५ हजार जरिवाना तिराइएको र उपाध्यक्षको नेतृत्वमा अनुगमन समितिले प्रतिवेदन दिएपछि थप जरिवाना गरिने प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए । ठेक्का सम्झौतामा मजदुर परिचालन गरेर उत्खनन् गर्ने भनिए पनि व्यवहारमा ‘डोजर’को प्रयोग हुने गरेको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी

काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा मन्त्रीहरु, मूख्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरुसहित राष्ट्रिय योजना आयोगका पदाधिकारी उपस्थित छन् । यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति छ ।

बैठकको सुरुवातमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् । बैठकले विकास निर्माण र मन्त्रालयगत समस्याहरू समाधानमा महत्वपूर्ण निर्णयहरू लिनेछ ।