वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई काठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उहाँका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाइ प्रतिष्ठित मार्केटमा मासिक रु.दुई लाख तलबमा काम लगाइदिने जनाउँदै पीडितहरूबाट रु. पाँच लाख ४५ हजार ठगी गरेको, सुनुवारले एक जनालाई क्रोएसिया पठाइ फुड प्याकिङमा मासिक रु. एक लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु. दुई लाख ठगी गरेको, खड्काले एक जनालाई कुवेत पठाइ बाइक राइडरमा मासिक रु. ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु. एक लाख ९४ हजार ठगी गरेका आरोपमा पक्राउ गरिएको हो ।

यसैगरी गुरुङले एक जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मासिक रु एक लाख तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रु. तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.पौडेल नियुक्त

चितवन । भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा। शिवजी पौडेल नियुक्त भएका छन् ।

अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा.कृष्णसागर शर्मा र डा।प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । उनीहरूमध्ये अस्पताल सञ्चालक समितिले डा.पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा.अनिलविक्रम कार्कीले जानकारी दिए । उनका अनुसार आइतबार साँझ उपसमितिले सिफारिस गरेका मध्येबाट डा.पौडेललाई आज बिहान सञ्चालक समितिले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
अस्पताल सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि डा।मदन उपाध्याय, डा.प्रदीप ज्ञवाली र डा.दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो । सोही उपसमितिले तीन जनाको नाम सिफारिस गरेको हो । डा.उपाध्याय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि, डा.ज्ञवाली स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव र डा.विश्वकर्मा सञ्चालक सदस्य छन् ।

अस्पतालको नियमावलीमा सिफारिस समितिमा मन्त्रालयको प्रतिनिधि, काउन्सिलको सदस्य सचिव पदेन उपसमितिको सदस्य हुने व्यवस्था छ । डा.पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिष्ट’ छन् । उनी नेपाल मेडिकल काउन्सिलका उपाध्यक्षसमेत छन् ।

निवर्तमान कार्यकारी निर्देशक डा.देजकुमार गौतमको कार्यकाल गत चैत २५ गते समाप्त भएपछि अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त रहेको थियो । अस्पताल कार्यसञ्चालन तथा व्यवस्थापन नियमावली, २०६६ अनुसार कार्यकारी निर्देशकको काम अध्यक्षको निर्देशनमा अस्पतालको दैनिक प्रशासन सञ्चालन गर्ने रहेको छ । कार्यकारी पद रिक्त हुँदा कर्मचारीलाई तलब खुवाउनदेखि दैनिक कार्य सञ्चालन गर्न समस्या भएपछि सञ्चालक समितिले अत्यावश्यक कामका लागि आर्थिक अधिकार अध्यक्ष डा.विजयराज न्यौपानेलाई दिएको थियो ।

सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन पाकिस्तान गएका छन् ।

सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनी एसिया कप खेल्नका लागि पाकिस्तान गएका हुन् ।

एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।

विनोद शर्मा पौडेल सर्वोच्चको न्यायाधीशमा सिफारिस

काठमाडौं । विनोद शर्मा पौडेललाई न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । अघिल्लो बर्षको भदौमा पनि उनको नाम न्यायाधीशमा सिफारिस भएको थियो ।

त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति हुन पाएका थिएनन्। तर आइतबार बसेको न्यायपरिषद बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

‘आज न्यायपरिषदको बैठक थियो, परिसरले उहाँको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो’, कार्कीले भने, ‘अब उहाँको नाम संसदिय सुनुवाइ समितिमा पठाइनेछ ।’
गतवर्ष सर्वोच्च अदालतमा सिफारिस भएदेखि नै शर्मा सर्वोच्च अदालतमै काजमा छन् । उनको सिफारिसबारे निर्णय हुन नसकेपछि पुराना मुद्दाको टुंग्याउने काममा संलग्न थिए । सिफारिस हुनुअघि उनी उच्च अदालत जनकपुरका कामू मुख्य न्यायाधीश थिए ।

चुनाव सम्पन्न भएको नौ महिनापछि प्रतिनिधि सभाका समितिलेआज पूर्णता पाउँदै

काठमाडौं । हिजो समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता भएपछि । प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिले चुनाव सम्पन्न भएको नौ महिना पछि आज पूर्णता पाउने भएका छन् ।

आज सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको छ ।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि चुनाव हुनेछ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज सभापति घोषणासँगै सपथ ग्रहणको काम पनि हुनेछ ।

एक मात्र प्रस्ताव दर्ता भएका समितिमा समर्थक सदस्यले बोलिसकेपछि सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।

दुई वटा प्रस्ताव दर्ता भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि दर्ता क्रमअनुसार समर्थक सदस्यले बोलिसकेपछि दुई वटै प्रस्तावमाथि छलफल हुनेछ ।

त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ ।

यस्तै अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी परेको छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको चुनाव भएको नौ महिनापछि संसदीय समितिले पूर्णता पाउन लागेको हो ।

बजेट शून्यतामा गएपछि प्रदेशभर कर उठाउन समस्या

काठमाडौं । कोशी प्रदेश आजदेखि बजेट शून्यतामा गएको छ । बजेट शून्यतामा गएपछि प्रदेशभर कर उठाउन समस्या भएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा नआएपछि शून्यतामा गएको हो । बजेट कार्यान्वयन गर्नुपर्ने अवधि हिजो सकिएको छ ।
हिजोसम्म प्रदेश सभाबाट पारित भइ त्यो अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइनुपर्ने थियो । तर वर्तमान प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरिसकेको छ ।

सर्वोच्चले ‘दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न’ पुनः आदेश दिएपछि अध्यादेशमार्फत नै बजेट ल्याउने तयारीमा रहेको सरकार निर्णयविहीन भएको छ ।

संविधानमा बजेटविहीनताको अवस्था परिकल्पना नगरिए पनि कोशी प्रदेशको राजनीतिक परिस्थितिका कारण यस्तो स्थिति उत्पन्न भएको हो ।

गएको जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत बजेट ल्याएका थिए ।

प्रतिस्थापन विधेयक ल्याएर सदनबाट बजेट पारित गर्ने सरकारको योजना थियो ।

तर, मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको सभाध्यक्ष गरेका कांग्रेस सांसद इसराइल मन्सुरी समेतको मत जोडेर भदौ ४ गते विश्वासको मत लिएपछि कार्की रिट लिएर सर्वोच्च अदालत पुगे।

सर्वोच्चले ‘दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न’ पुनः आदेश दिएपछि अध्यादेशमार्फत नै बजेट ल्याउने तयारीमा रहेको सरकार निर्णयविहीन भएको छ ।

अब, कसरी अघि बढ्ने भन्ने विषयमा अलमलमा परेपछि सरकारले सर्वोच्चलाई सोध्ने तयारी गरेको छ ।

एमसीसी सम्झौता मंगलबारदेखि कार्यान्वयनमा आउने

काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मंगलबादेखि कार्यान्वयनमा आउनेछ। एमसीसी कार्यावधि कार्यान्वयनमा प्रवेश गरेको दिनदेखि पाँच वर्ष अवधीको हुने छ।

एमसीसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए)ले मंगलबारदेखि एमसिसी कार्यान्वयनमा जाने जनाएको छ। एमसीए नेपालका अनुसार एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका आयोजनालाई कार्यान्वयन चरणमा प्रवेश गराउनुपूर्व नेपाल सरकारले पूरा गर्नुपर्ने अधिकांश पूर्वशर्त पूरा गरेको छ।

पूरा भएका पूर्वशर्तहरूमा विद्युत् प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको, विद्युत् नियमन आयोग ऐन लागू गरी आयोग गठन भएको, कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको, नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि भारत सरकारसँगको सहमतिमा योजना तर्जुमा भएको र संसदबाट कम्प्याक्टको अनुमोदन भएको छ।

६ वटा प्राथमिक पूर्वसर्तमध्ये छैटौँ वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति तथा जग्गा अधिग्रहण र रुख कटानी पूरा हुन बाँकी छ। यस विषयमा सन्तोषजनक प्रगति भएकाले एमसीसीको केन्द्रीय कार्यालयले कार्यान्वयनमा जान असर नपर्ने दाबी गरेको छ। काम थालेपछि पनि यो काम पूरा गर्न सकिने अनुमति एमसीए नेपालले प्राप्त गरेको जनाएको छ।

६ वटा प्राथमिक पूर्वसर्तमध्ये छैटौँ वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति तथा जग्गा अधिग्रहण र रुख कटानी पूरा हुन बाँकी छ। यस विषयमा सन्तोषजनक प्रगति भएकाले एमसीसीको केन्द्रीय कार्यालयले कार्यान्वयनमा जान असर नपर्ने दाबी गरेको छ। काम थालेपछि पनि यो काम पूरा गर्न सकिने अनुमति एमसीए नेपालले प्राप्त गरेको जनाएको छ।

सम्झौता कार्यान्वयनमा जानुअघि नै नेपाल सरकार र एमसीसीबीच गत जेठ १४ गते आदानप्रदान गरिएको कार्यान्वयन पत्र अनुसार नेपाल सरकारले एमसीसी कम्प्याक्टमा आफ्नो लगानी ६.७० करोड अमेरिकी डलर थपेको हो। सुरुवाती सम्झौतामा एमसीसीका तर्फबाट ५० करोड डलर अनुदान र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने सहमति भएको थियो।

सरकारकातर्फबाट थप गरिएको लगानी एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत विद्युत् प्रसारण आयोजनाका लागि उपयोग गरिने एमसीए नेपालले जनाएको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत तीन वटा सबस्टेसन निर्माण हुने छन्।

२०७८ साल फागुनमा अमेरिकी अनुदान सम्झौता एमसीसी सदनबाट अनुमोदन भएको थियो। तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित प्रमुख प्रतिपक्षी दल एमाले भने उक्त मतदान प्रक्रियामा सहभागी भएको थिएन।

इतिहास बोकेको जुम्लाको सिँजामा ऐतिहासिक केदारनाथ महोत्सव सुरु

जुम्ला । इतिहास बोकेको जुम्लाको सिँजामा ऐतिहासिक केदारनाथ महोत्सव सुरु भएको छ । महोत्सवको आयोजना सिँजा गाउँपालिकाले गरेको हो । सिँजा गाउँपालिकाले वडा नम्बर ४ मा रहेको केदारनाथको बुदवुदीमा महोत्सव शुरु गरेको हो । महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले गरेका छन् ।

मन्त्री बिसीले सिँजाको केदारनाथको भूगोलमा आएर अवलोकन गर्न पाउँदा खुशी लागेको बताउँदै कर्णाली सरकारले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमलाई प्रथामिकता दिने बताए । उनले सिँजाको सस्कृति र इतिहासलाई बचाउन र विश्वसामु पुर्याउन यस क्षेत्रमा पूर्वाधार आवश्यक रहेकोमा जोड दिए ।

मन्त्री बिसीले जुम्लाको कला, संस्कृति र ऐतिहासिकता झल्काउने यस धार्मिक महोत्सवबाट कर्णालीलाई मष्टो सँस्कृतिको प्रवर्द्धन गर्ने सिकाइ हुने भन्दै सिँजा गाउँपालिकालाई आमन्त्रणका लागि विशेष धन्यवाद दिँदै केदारनाथको डिपिआर बनाएमा प्रदेश सरकारले सहयोग गर्ने बताए।

महोत्सवका विशिष्ट अतिथि कर्णाली सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले जुम्लाको उत्पादनले कर्णालीको पहिचान भइरहेको भन्दै यहाँको रैथानेवाली मार्सीधान, चिनु, कागुनु, स्याउ, सिमी उत्पादन गुणस्तर भएमा व्यापारको व्यवस्था कर्णाली सरकारले गर्ने बताए।

उनले सिँजा सभ्यता भित्र यहाँको रैथाने बाली र कृषि क्षेत्र पनि पर्ने भएकाले कृषि उत्पादन र पर्यटनमा ठूलो सहयोग पुग्ने बताए ।

हिजोबाट शुरु भएको महोत्सव तीन दिन चल्ने छ । पहिलो पटक स्थानीय सरकार आयोजक बनेर शुरु गरिएको महोत्सवमा त्यहाँ वर माग्ने, गौजो काट्ने र एकादशीका दिनमा भारा नुहाएर अन्य मन्दिरमा लिने यहाँको महत्व छ ।

महोत्सवमा करिब ५ हजार बढीको संख्यामा महोत्सवमा सहभागी भएका सिँजा गाउँपालिकाले जनाएको छ । महोत्सवमा स्थानीय रैथाने वाली, स्याउ, राडिपाखी, स्थानीय उत्पादनका खानाहरु राखिएका छन् ।

महोत्सवमा खस सँस्कृति प्रमुख नाच देउडा, धामी नाच, आधुनिक नाच, खस सस्कृतिको नाटक सहित इन्द्रेणीको टिमको मनोरञ्जन झल्काइएको थियो ।

महोत्सवमा जुम्ला जिल्लाका पालिकाका प्रमुख उपप्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी सहित कार्यालय प्रमुख र संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।

अपर तामाकोशी हाइड्रोपावरको १५औं साधारण सभाको अवसर पारेर नाफा,नोक्सान,नगद प्रवाह गरी कार्यक्रम सम्पन्न

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको साधारण सभा बुधबार सम्पन्न भएको थियो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत कम्पनीको आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८र७९ को नाफार नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गरेको छ ।

त्यस्तै सभाले लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९ र ८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ।

साधारणसभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आर्थिक वर्ष २०७८ र ७९ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले भदौ १८ गतेदेखि हकप्रद निष्काशन गर्दै छ । कम्पनीले १ः१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका जोशीको एकल उम्नेदवारी

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका सांसद प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा माननिय भानुभक्त जोशीको मात्र उम्मेदवारी परेपछी निर्वाचित हुने निश्चित भएको छ।

सोमबार ३ बजे हुने समितिको सभापति चयन गर्ने निर्वाचनका आज आव्हान गरिएको उम्मेद्धारी दर्ता कार्यक्रममा जोशीको मात्रै उम्मेद्धारी परेपछि उनले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति भन्ने निश्चित भएको हो ।

सांसद जोशी गत मंसिरमा सम्पन्न संघीय संसदको निर्वाचनमा बझाङ क्षेत्र नं. १ बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्धार बनि विजयी भएका थिए ।

भोली हुने विभिन्न १० समितिको सभापतिहरुको निर्वाचनमा ९ वटा समितिमा एकल उम्मेद्धारी परेको छ भने एउटा समितिमा भने दुई जनाको उम्मेद्धारी परेको छ।

नेपाली कांग्रेसको तर्फबाट राज्य व्यवस्था समितिमा रामहरि खतिवडा, कृषि सहकारी तथा वातावरणमा डा. आरजु राणा देउवा र अर्थ समितिमा सन्तोष चालिसेको एकल उम्मेद्धारी परेको छ।

त्यसैगरी एमालेबाट महिला समिति किरण साह र लेखा समितिमा ऋषिकेश पोखरेल, माओवादीबाट कानून न्याय तथा मानव अधिकार समितिको सभापतिमा विमला सुवेदी, राप्रपाका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएका छन्।

जसपाका राजकिशोर यादवलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति बन्न एकल उम्मेद्धारी परेको छ। यता जनमतका अब्दुल खानले उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका छन्। सोही समितिको सभापतिको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको पनि उम्मेदवारी परेको छ।

समाजवादी प्रेस संगठन, नेपालको दोस्रो पदाधिकारीको बैठक सम्पन्न

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन, नेपालले दोस्रो स्थापना दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पत्रकारलाई सुशासनको पक्षमा कलम चलाउन आग्रह गरेका छन् । समाजवादी प्रेस संगठन नेपालको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपाल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुशासनको प्रत्याभूति नभएसम्म अग्रगमनको पक्षमा सोचेजस्तो काम नहुने बताए ।

अध्यक्ष नेपालले युवालाई शिक्षा मात्र नभइ सीप सिकाउन जरुरी रहेको बताए । कृषि, जल, जमिन तथा खनिजमा आधारित उद्योगको नेपालमा प्रचुर सम्भावना रहेको उनले बताए । अध्यक्ष नेपालले नेकपा एसलाई आम जनतामा आधारित पार्टी बनाउन लागिपरेको दाबी गरे ।

साथै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा दक्षिणपन्थी चलखेलका कारण अस्थिरता बढेको बताए । दक्षिणपन्थीको भण्डाफोर गर्दै जानुपर्ने बताए । पार्टी पत्रकारिताको वकालत गर्दै नेता खनालले वर्गीय समाजमा वर्गभन्दा माथि कोही नहुने बताए । दक्षिणपन्थी भड्काउबाट खण्डन आलोचना गर्दै कम्युनिष्टरुको पराधिन हुँदै गएको बताउँदै उनले यथार्थ कुरा उठाउन समाजवादी पत्रकार आगाडि आउनुपर्ने बताए । व्यवस्थाको एक मात्र विकल्प समाजवाद भएको उनको भनाइ थियो ।

समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठ, नेकपा एसका केन्द्रीय सदस्य प्रेमल कुमार खनाल, राष्ट्रपतिका प्रेस सल्लाहकार किरन पोखरेल, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, वरिष्ठ पत्रकार दिनेस डीसी, नेपाल पत्रकार महासंघका सचिव गोविन्द प्रसाद चौलागाईं, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनी, जनसंगठन पत्रकार संघ नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा, प्रेस सेन्टर नेपालका उपाध्यक्ष दिपेन्द्र राउत, श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जेसी, सञ्चारिका समूहका अध्यक्ष तुमखेवा लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

समाजवादी प्रेस संगठन नेपालले आफनो स्थापना दिवसको अवसरमा २०८० सालदेखि वितरण हुने विभिन्न पुरस्कार स्थापना गरेको छ । जसमा साहना प्रधान महिला सश्क्तिकरण पत्रकारिता पुरस्कार रु. ५१ हजार, हृदय चन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार रु.५१ हजार, अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार रु. ५१ हजार, वीरेन्द्र साह कृयाशपल स्मृति पत्रकारिता पुरस्कार रु. ४१ हजार, डेकेन्द्र थापा साहसिक पत्रकारिता पुरस्कार रु. ४१ हजार, चन्द्र न्योपाने स्मृति पत्रकारित पुरस्कार रु. ३१ हजार, विके पाल्पाली साहित्य पत्रकारिता पुरस्कार रु. २१ हजार, उत्कृष्ट संगठन पुरस्कार रु. २१ हजार, एलवि बिश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार रु.२१ हजार र २५ लाख राशिको स्वास्थ्य उपचार कोषको स्थापना गरिएको समाजवादी प्रेस संगठन नेपालका महासचिव राम कुमार एलनले जानकारी दिए ।

भृकुटीमण्डपमा गायक नबिन पौडेलको नेतृत्वमा बृहत् साँस्कृतिक महोत्सवको आयोजना सुरुहुँदै

काठमाडाैं। लोक तथा दोहोरी गायक नबिन पौडेल भृकुटीमण्डपको खुल्ला चौरमा बृहत् जनचेतनामूलक साँस्कृतिक महोत्सव २०८० भाद्र १६ गतेका दिन शनिबार आयोजना हुने । गायक पौडेलले संचालन गर्ने स्वीकृति इभेन्ट म्यानेजमेन्टले महोत्सवको सह–आयोजकहरूमा राष्ट्रिय स्वास्थ्य कोष, नेपाल होस्टेल एसोसिएसन अफ काठमाडौं, लायन्स क्लब अफ काठमाडौं भिक्ट्री, राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल काभ्रेपलान्चोक जिल्ला समिति, सखी प्रतिष्ठान, राष्ट्रिय लोक संस्कृती संरक्षण प्रतिष्ठान नेपाल रहेका छन् ।

कार्यक्रममा करिब चार सय जना चर्चित एबम लोकप्रिय कलाकारहरु र करिब पाच हजार भन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अपेक्षा रहेको छ।

सो अबसरमा तिलगंगा आँखा अस्पतालका डाक्टरहरूबाट निःशुल्क आँखा शिबिर, कान्तिपुर डेन्टल कलेज र समाज डेन्टल कलेजबाट निःशुल्क दन्त शिबिर एवंम रक्तदान कार्यक्रम समेत सन्चालन हुनेछन्।

विभिन्न झाँकी सहित प्रस्तुत हुने कार्यक्रममा जनचेतनामूलक सडक नाटक, विषय बस्तुहरुमा आधारित दोहोरी, झाँक्री प्रस्तुती समेत रहनेछ।

लागूपदार्थ दुर्ब्यशन, सर्ने नसर्ने रोगहरु, सामाजिक सञ्जालको दुरुपयोग, सुर्तीजन्य पदार्थको नियन्त्रण, भ्रष्टाचार, सडक सुरक्षा, लैङ्गिक हिंसा एबम सुरक्षित बैदेशिक रोजगार सम्बन्धि जनचेतनामूलक सांस्कृतिक प्रस्तुतीहरु कार्यक्रममा रहनेछन् ।

आयोजक संस्थाका अध्यक्ष एबम महोत्सवका संयोजक गायक नवीन पौडेलका अनुसार गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, किर्तिपुर नगरपालिकाले सहकार्य गरेका छन्।

त्यसैगरी गरिमा बिकास बैंक, नेपाल टेलिकम, राष्ट्रिय बाणिज्य बैंक, कामना सेवा बिकास बैंक, भूगर्भ सिमेन्ट, ज्योती प्लाई, सुधार गृहहरूको छाता संगठन एफ डिडि आर, रिकभरि नेपाल, रोयल सुज, ग्रीन सिटी हस्पिटल, कान्तिपुर डेन्टल हस्पिटल, समाज डेन्टल हस्पिटल, भ्वाइस अफ चिल्ड्रेन, नमस्ते रोधी नाचघर बाफल, नगरकोट दोहोरी सांझ, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड , क्विन रोधिघर, दरबार रोधिघर, स्काइ पार्टी प्यालेस, विनायक हस्पिटल, गोधुली बैंक्वेट, स्टार अटो केयर,स्टार पार्टी प्यालेस, एन सि एग्रो टेक प्राली लगायतका संस्थाहरुको सहयोगमा यो जनचेतनामूलक कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिनेछ।

सर्वोच्चमा पनि स्वचालित प्रणालीबाट पेशी तारिख

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने भएका छन् ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आइतबार आयोजित कार्यक्रममा उनले (सोमबार)देखि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिए ।

‘पहिला सर्वोच्च अदालतमा परीक्षणका रुपमा मुद्दाको पेशी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ, परीक्षण सफल भए काठमाडौँ जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ’, प्रधानन्यायाधीश श्रेष्ठले भने । यो प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको भन्दै उहाँले यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने बताए ।

उनले न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्नका लागि आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्था वृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढिसकेको छ, न्यायाधीशको सङ्ख्या कम हुँदा न्याय सम्पादनमा कठिनाइ भइरहेको छ’, प्रधानन्यायाधीश श्रेष्ठले थपे, ‘सक्षम न्यायाधीश नियुक्ति हुनेमा विश्वास दिलाउँछु ।’

नेपालको ३१ औँ प्रधानन्यायाधीशका रुपमा श्रेष्ठ यही भदौ ४ गते नियुक्त थिए । उनले भदौ ५ गते पद तथा गोपनियताको शपथ लिएर पदबहाली गरी कार्यभार सुरु गर्नुभएको हो । मञ्चले लामो समयदेखि न्यायालय र कानुनको क्षेत्रमा कलम चलाउने पत्रकारबीच पुलको भूमिका निर्वाह गर्दै आएको छ ।

आज देखी पेसि तारीख स्वचालित प्रणालीमा

काठमाडौँ ।सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली आज देखी लागू गर्ने थालेको छ । गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो ।

  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य आज (सोमबार)देखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् ।

‘पहिला सर्वोच्च अदालतमा परीक्षणका रुपमा मुद्दाको पेशी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ, परीक्षण सफल भए काठमाडौँ जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ’, प्रधानन्यायाधीश श्रेष्ठले भने । यो प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको भन्दै उहाँले यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने बताए ।

उनले न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्नका लागि आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्थावृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढिसकेको छ, न्यायाधीशको सङ्ख्या कम हुँदा न्याय सम्पादनमा कठिनाइ भइरहेको छ’, प्रधानन्यायाधीश श्रेष्ठले थपे, ‘सक्षम न्यायाधीश नियुक्ति हुनेमा विश्वास दिलाउँछु ।’

नेपालको ३१ औँ प्रधानन्यायाधीशका रुपमा श्रेष्ठ यही भदौ ४ गते नियुक्त थिए ।उनले भदौ ५ गते पद तथा गोपनियताको शपथ लिएर पदबहाली गरी कार्यभार सुरु गर्नुभएको हो । मञ्चले लामो समयदेखि न्यायालय र कानुनको क्षेत्रमा कलम चलाउने पत्रकारबीच पुलको भूमिका निर्वाह गर्दै आएको छ ।

ललितपुर नापी र मालपोतका अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सरकारी कागजात हेरफेर एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा नापी अधिकृत राजन गिरी र सर्वेक्षक लोकेन्द्र सिंह धामी, मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल र खरिदार युवराज कटुवाल तथा राउसाई होल्डिङ्स प्रा.लि., ललितपुर- २ सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठ छन् ।

‘तोकिएको न्यूनतम् मापदण्डभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने कानूनी व्यवस्थाविपरीत कम क्षेत्रफलका कित्ताहरू कित्ताकाट गरी सो तथ्यलाई ढाकछोप गर्ने उद्देश्यले नक्सा र फिल्डमा नभए तापनि कित्ता नं. १६९९ र कित्ता नं. १७०१ मा टायल चेकबाट बढी कायम गरी टायल चेक गरी बढाएको,’ उनीहरूमाथि अभियोग छ ।

अख्तियारले सरकारी कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको कसुरमा कैद र जरिवानाको माग दाबी लिएको छ।