आजको विनिमयदर : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौ, ११  भदौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ तथा युरोपियन युरो एकको खरिद दर १४२.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.१७ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८४ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ आज भदौ ११ गते सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ बढी सचेत रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

ललितपुर नापी र मालपोतका अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ललितपुरको साविक टीकाथली–६ स्थित कित्ता नम्बर १६९९ र १७०१ को जग्गा कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल कायम गरेको आरोपमा नापी र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।आरोप पत्र दायर गरिएकाहरूमा नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरी र सर्वेक्षक लोकेन्द्र सिंह धामी, मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल र खरिदार युवराज कटुवाल तथा राउसाई होल्डिङ्स प्रा.लि. ललितपुर–२ सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठ छन् । तोकिएको न्यूनतम् मापदण्डभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने कानूनी व्यवस्थाविपरीत कम क्षेत्रफलका कित्ताहरू कित्ताकाट गरी सो तथ्यलाई ढाकछोप गर्ने उद्देश्यले नक्सा र फिल्डमा नभए तापनि कित्ता नं. १६९९ र कित्ता नं. १७०१ मा टायल चेकबाट बढी कायम गरी टायल चेक गरी बढाएको उनीहरूमाथि अभियोग छ । अख्तियारले सरकारी कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको कसुरमा कैद र जरिवानाको माग दाबी लिएको छ।

ललिता निवास जग्गा प्रकरणमा संलग्न २९० जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ — ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोजन गर्ने निर्णय गरी अदालत गएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर सरकारी वकिलले किर्तेमा मात्र मुद्दा चलाएको हो । ब्युरोले दुवै मुद्दा चलाउन राय दिएको थियो । तर संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा चलाउने निर्णय गरेको हो ।

नेप्सेमा २०.५४ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २०.५४ अंकले घटेर एक हजार ९ सय ९३ दशमलब ३८ विन्दुमा बन्द भएको हो ।    

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

  त्यस्तै, आज एक अर्ब २६ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९५ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६ प्रतिशत बढेको छ। कारोबारमा आएको मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.६३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य ६.३० प्रतिशत घटेको छ।

आज मकर जितुमाया शुरी हाइड्रोपावर कम्पनी लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी एशियन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड ४६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।       

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाले आइतबार पनि पालो पाएन

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो ।बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।

सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए । सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए ।

सन्दीपले जिल्ला अदालतमा कागज गर्दै ‘बयानका दिन कुनै शुभचिन्तकले आफूलाई त्यो कागजात दिएकाले प्रमाण हुने ठाँनी पेस गरेको’ जवाफ दिएका थिए । थप कागजात मगाउन नपर्ने भएपछि जिल्ला अदालतले आइतबार नै पेशी तोकेको थियो ।

एमके ग्रुपको रिटेलर मिट सम्पन्न, नयाँ उत्पादन लन्च

काठमाडौं – एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ । एमके ग्रुपको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलको आयोजनामा सो रिटेलर मिट सम्पन्न भएको हो ।
सो अवसरमा हालै उत्पादन प्रारम्भ गरिएको पेपर क्लच एसेम्बली, क्लच एन्ड ब्रेक लिभर तथा योक, नन–एस्बेस्टस ब्रेक शु र क्लच भेरिएटर लन्च गरियो ।
देशभरका रिटेलर सहभागी सो कार्यक्रममा एमके क्लचका म्यानेजिङ डाइरेक्टर नितिन भण्डारीले एमके ग्रुप र यसका उत्पादन वारेमा जानकारी प्रस्तुत गरेका थिए । एमके क्लचका एक्सपोर्ट्स हेड योगेश काल्रा तथा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव हमालले सहभागीहरुलाई स्वागत गर्दै सवारी साधनमा प्रयोग गरिने विभिन्न पार्ट्स गुणस्तरीय हुनु पर्ने र सबै रिटेलरहरुले गुणस्तरीय सामग्री उपलब्ध गराउनका लागि भूमिका खेल्नु पर्ने बताए ।
सो अवसरमा रिटेलरहरुका लागि नयाँ स्किम समेत सार्वजनिक गरिएको थियो । सो स्किम अन्तर्गत एमकेका उत्पादन खरिद गर्ने रिटेलरहरुले हाल पाइरहेको छुट भन्दा थप ५ प्रतिशत छुट प्रदान गरिने बताइएको छ ।
सन् १९५९ मा रबर पार्ट्स र ग्यास्केट उत्पादनबाट शुरु भएको एमके ग्रुपको व्यवसाय हालको अवस्थामा आइपुगेको हो । सन् १९६४ मा रबर क्लच प्लेट, सन् १९७६ मा ब्रेक शु, सन् २०१२ मा क्लच एसेम्बली र सेन्ट्रिफ्युगल एसेम्बली, सन् २०१४ मा पेपर क्लच प्लेट हुँदै सन् २०२३ मा ह्यान्ड लिभर र योक उत्पादन कार्य समेत शुरु भएको छ ।
एमके ग्रुप अन्तर्गत हाल एमके अटो क्लच कम्पनी, एमके लाइड अटो क्लच इन्डष्ट्रिज, भीएनजी अटोमोटिभ्स, भीएनजी ब्रेक्स तथा भण्डारी फोर्ज एन्ड अलोय कास्ट कम्पनी छन् । उत्तरी भारतका विभिन्न ६ स्थानमा एमके ग्रुपका अत्याधुनिक क्लच एन्ड ब्रेक म्यानुफ्याक्चरिङ प्लान्ट छन् ।
सवारी साधनमा प्रयोग गरिने लिभर र योक, क्लच भेरिएटर, इनर क्लच एसेम्बलिज, कम्प्लिट क्लच एसेम्बलिज, ब्रेक शु, क्लच प्लेट, डिस्क ब्रेक प्याड र पेपर फ्रिक्सन प्लेटका लागि एमके ब्रान्ड लोकप्रिय मानिन्छ । दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारी साधनका लागि आवश्यक अटोमोटिभ क्लच र ब्रेक उत्पादक कम्पनीको रुपमा लोकप्रिय एमकेले आफूलाई ‘लिडर इन फ्रिक्सन टेक्नोलोजी’ दावी गर्छ ।

ढुसी परेको कोक बेच्नेलाई महानगरले तिरायो डेढ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो ।
उत्पादन कम्पनीले एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एकठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो ।

महानगरका निरीक्षण अधिकृत डा। अवधेश झा भन्छन्, ‘कोकाकोलामा चिनी, पानी र कार्बनडाइअक्साइड हुन्छ, हामीले निरीक्षण गर्दा भेटिएको कोकमा कार्बनडाइअक्साइ उडिसकेकोले ढुसी लागेको थियो । लिकेज भएकोले ढुसी परेको हो ।’

उत्पादन गर्दा भन्दा पनि वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको उनले बताए ।

कोशी प्रदेश बजेट शून्यताको अवस्थामा

कोशी । तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेश आइतबार निष्क्रिय भएपछि प्रदेश बजेट शून्यतामा गएको हो ।

तत्कालिन सत्ता साझेदार दल माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसदको बजेट अधिवेशन अन्त्य गरेर बजेट अध्यादेश ल्याएका थिए । त्यसपछि विश्वासको मत पाउन नसकेर उनी पदमुक्त भए ।
उद्धव थापा नेतृत्वको पछिल्लो सरकारले विश्वासको मत लिँदा सभाध्यक्षको मत प्रयोग गर्नु असंवैधानिक भन्दै एमालेले दिएको रिटमा सर्वोच्चले सुनुवाइ गर्दै सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न अन्तरिम आदेश दिएको छ ।

सोही कारण सरकारलाई अर्को बजेट ल्याउन समस्या परेको हो । कार्की मुख्यमन्त्री हुँदा ल्याएको बजेट अध्यादेश १४ असारमा प्रदेशसभा टेबुल भएको थियो । ६० दिनभित्र अर्थात आइतबारसम्म प्रतिस्थापन विधेयक नल्याएका कारण अध्यादेश निष्क्रिय भएको हो ।

थापा नेतृत्वको सरकारले गत बुधबार प्रदेशसभाको अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन खोजेको थियो । तर अदालतले दीर्घकालीन असरको निर्णय नगर्नू भनेकाले रोकिएको हो ।

बजेट शून्यताको स्थिति आएपछि बजेट ल्याउन मिल्ने कि नमिल्ने भनी प्रश्न गर्दै अदालत जाने तयारी भएको आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बताए ।

‘सर्वोच्चले अस्ति अन्तरिम आदेश जारी गर्‍यो, १५ गते पेशी राखेर नीतिगत निर्णय नगर्नू भनिदियो’, उनले भने, ‘नीतिगत निर्णयभित्र बजेट भाषण पर्छ कि पर्दैन भनेर लेखिएको छैन, हामीले गर्न मिल्ने कि नमिल्ने भनेर सोध्न जान लागेको हो ।’

सरकारविरुद्धको रिटमा छिटो निर्णय दिन निवेदन गर्न लागिएको उनले बताए । मन्त्री गौतमका अनुसार उपसभामुखलाई बैठक सञ्चालनका लागि आदेश माग गर्ने पनि तयारी भएको छ ।

‘अदालतले बैठक सञ्चालन गर्नु भनोस् न जिम्मेवार मान्छेलाई, अहिले त कार्यबाहक सभामुखको जिम्मेवारीमा सृजना दनुवार हुनुहुन्छ’, उनले भने, ‘उहाँलाई बैठक सञ्चालनका लागि पनि त भन्नुपर्‍यो अदालतले ।’

भदौ ४ गते उपसभामुखसहित नेकपा एमाले र प्रतिपक्षी दलका १० जना ज्येष्ठ र अध्यक्ष मण्डलका सदस्य सांसद विदामा बसेपछि मुख्यमन्त्री उद्धव थापाले बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीको पनि मत लिएर विश्वासको मत पाएका थिए ।

गाई काटेको अभियोगमा तीन जना पक्राउ

तनहुँ। प्रहरीले गाई काटेको आरोपमा तीन जनालाई पक्राउ गरेकाे छ ।

शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौबताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१० वटा समितिको सभापतिमा ११ जनाको उम्मेदवारी ः एकमा प्रतिस्पर्धा

काठमाडौँ । संसद्का विषयगत समितिका सभापतिमा विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार हुने समिति सभापतिको निर्वाचनका लागि विभिन्न दलका सांसदहरूले आइतबार उम्मेदवारी दर्ता गरेका हुन् । जसअनुसार कांग्रेसले तीन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । त्यसमध्ये सांसद आरजु राणा र रामहरि खतिवडाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसकै सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।
राणाको प्रस्तावकमा कांग्रेसका वीरबहादुर बलायर र समर्थकमा सुर्यप्रसाद ढकाल तथा माओवादीको रुपासोशी चौधरी रहेका छन् । खतिवडाको प्रस्तावकमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू र समर्थकमा माओवादीका हितराज पाण्डे तथा एमालेका बलराम अधिकारी रहेका छन् । चालिसेको प्रस्तावकमा कांग्रेसकै दीपक खड्का, र समर्थकमा एमालेका पदम गिरी र माओवादीका छिरिङ डन्डुल लामा छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईवटा समितिको सभापतिमा उम्मेदवारी दिएको छ । सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समिति र किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । पोखरेलको प्रस्तावकमा कांग्रेसका राजन केसी र समर्थकमा एमालेका दामोदर भण्डारी छन् । साहको प्रस्तावकमा कांग्रेसकी शान्ति विक र समर्थकमा एमालेका आश्मा कुमारी चौधरी रहेकी छन् ।

माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा र जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । सुवेदीको प्रस्तावकमा माओवादीकै पूर्णबहादुर घर्ती र समर्थकमा एमालेका महेशकुमार बर्तौला, कांग्रेसका रमेश लेखक र राप्रपाका ध्रुवबहादूर प्रधान छन् ।

एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा माओवादीका ज्ञानु बस्नेत सुवेदी छन् । जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् । खानको प्रस्तावकमा कांग्रेसकी रमा कोइराला र समर्थकमा पनि कांग्रेसकै सपना राजभण्डारी रहेकी छन् । पराजुलीको प्रस्तावकमा रास्वपाकै डोलप्रसाद अर्याल र समर्थकमा असिम साह रहेका छन् ।

१० मध्ये यो उद्योग समितिमा मात्रै २ जनाको उम्मेदवारी परेको छ । यो समितिमा खान र पराजुलीको प्रतिस्पर्धा हुने भएको छ भने बाँकीमा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ ।

संसद्को पूर्वाधार विकास समितिको सभापतिमा भने राप्रपाका दीपक सिंहले उम्मेदवारी दर्ता गरेका छन् । सिंहको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा एमालेका प्रेमलाल महर्जन रहेका छन् ।

अवैध संरचनामा महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रमा नक्सा विपरीत बनेका संरचनाहरू भत्काउने कामलाई कायम राखेको छ । सोहीअनुसार अनामनगर क्षेत्रको धोबी खोला छेउमा रहेका घरहरूको नक्साविपरीतका संरचनाहरूमा आइतबार महानगरले डोजर चलाएको हो ।
मेयर बालेन्द्र शाह महानगरको मेयरमा निर्वाचित भएसँगै महानगरले अवैध संरचना हटाउने कार्यलाई प्राथमिकतामा राखेको छ । महानगरले यसअघि काठमाडौँका विभिन्न स्थानमा अवैध संरचना हटाउने अभियान चलाइसकेको छ ।

ललिता निवास जग्गा प्रकरणः किर्ते मुद्दा चलाउने जिम्मा सरकारी वकिललाई

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने प्रकरणमा लिखत कर्ते मुद्दाको अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ।

ललिता निवास प्रकरणमा २९० जनामाथि सरकारी छाप र दस्तखत किर्तेमा मुद्दा चलाउनका माग गर्दै काठमाण्डू जिल्ला अदालतमा अभियोगपत्र पेस भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

जिल्ला सरकारी वकिल कार्यालयले आइतवार उक्त अभियोग पत्र अदालतमा पेस गरेको उनीहरूले जानकारी दिए।अदालतका सूचना अधिकारी दीपक दाहालले भने, “अहिले हामीले अभियोग पत्र प्राप्त गरेका छौँ। उहाँहरूले पेस गर्नु भएको छ। यहाँ रुजु गर्ने काम जारी छ।”

“रुजु गरिसकेर आजै हामी दर्ता गर्दैछौँ।”अधिकारीहरूका अनुसार प्रतिवादीहरूमा केही बहालवाला उच्च अधिकारीहरूसहित पूर्व मन्त्री, पूर्व सचिव तथा उच्च अधिकारीहरू एवं अन्य व्यक्ति पनि छन्। ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई सयभन्दा बढी मानिसमाथि किर्ते र सङ्गठित अपराधमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

तर जिल्ला सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा अघि बढाउने निर्णय गरेको बताइएको छ। करिब दुई महिना लगाएर ललिता निवास जग्गा हिनामिना प्रकरणमा किर्ते र सङ्गठित अपराधबारे दोस्रो चरणको अनुसन्धान गरेको प्रहरीले उक्त सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा विभिन्न चरणमा संलग्न भएका भनिएका पूर्व मन्त्रीहरू सहित २३८ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।

“ललिता निवासको अनुसन्धान सकिएको छ र प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएका छौँ। अब त्यहीँबाट अभियोजन हुने भएर अन्तिम कतिलाई गर्ने भन्ने सरकारी वकिल कार्यालयबाटै हुन्छ,” आचार्यले त्यस बेला भनेका थिए।

ललिता निवासको जग्गा व्यक्तिगत नाममा दर्ताको प्रक्रियामा संलग्न भएको आरोप लागेका तात्कालीन भौतिक योजना मन्त्री विजयकुमार गच्छदार तथा तात्कालिक भूमिसुधार मन्त्रीहरू डम्बरकुमार श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साह विरुद्ध भने किर्ते र सङ्गठित अपराधमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको थियो।

कतिपयले त्यसले सर्वोच्च अदालतले गरेको एउटा निर्णयको अवहेलना समेत भएको बताउँदै आएका छन्। उक्त मामिलामा केही व्यक्तिहरू पक्राउसमेत परेका छन्। पक्राउ परेका केही व्यक्तिहरू भने धरौटीमा रिहा भएका छन्।
ललिता निवास नेपाली कांग्रेसका नेता सुवर्ण शम्शेरको दरबार हो। तर सरकारले विसं २०२१ मा हदबन्दी लागु गरेपछि सरकारले ललिता निवासको ठूलो क्षेत्रफल अधिग्रहण गरेको थियो।

तर सरकारले अधिग्रहण गरेको हालको बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी जग्गा विभिन्न मितिमा नीतिगत निर्णय गराउँदै अनधिकृत रूपमा व्यक्ति र संस्थाको नाममा कायम गरिएको पाइएको थियो। कृत्रिम मोही खडा गर्ने, गलत लिखत तयार गर्ने, सट्टाभर्ना दिने जस्ता कार्य गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा उल्लेख छ।

सरकारले ललिता निवासको जग्गा अपचलनबारे छानबिनका लागि नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

उक्त छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी र अख्तियारले थप अनुसन्धान गरेका थिए। अनुसन्धानबाट ललिता निवासको १४३ रोपनीभन्दा बढी जग्गा हिनामिना भएको र ती जग्गाहरू केही संस्था र झन्डै छ दर्जन व्यक्तिको नाममा रहेको खुलेको अधिकारीहरूको भनाइ छ।

माओवादीले राप्रपालाई छाड्यो विकास समितिको नेतृत्व, सिंह उम्मेदवार

काठमाडौं । सत्तारुढ माओवादी केन्द्र आफूले पाएको एउटा संसदीय समितिको सभापति राप्रपालाई छाडेको छ । माओवादी केन्द्र र राप्रपाबीचको सहमतिअनुसार पूर्वाधार विकास समितिको सभापतिमा दीपक सिंह उम्मेदवार बनेका छन् । माओवादीका तर्फबाट सभापतिका उम्मेदवार माधव सापकोटा चाहिँ सिंहको प्रस्तावक बनेका छन् ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागवण्डामा माओवादीले पूर्वाधार विकास र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो । माओवादी केन्द्रबाट सापकोटा पूर्वाधार विकास र विमला सुवेदी कानुन समितिको सभापतिको उम्मेदवार बन्ने तय भइसकेको थियो ।
तर राप्रपा नेताहरुले प्रधानमन्त्रीलाई भेटेर एउटा समितिको सभापति आफूले पाउनुपर्ने बताएका थिए । राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले प्रधानमन्त्री प्रचण्डलाई भेटेर संसदको पाँचौ दल भएकाले एउटा समितिको नेतृत्व पाउनुपर्ने बताए ।

प्रधानमन्त्री त्यसमा सहमत भए । राप्रपाले पूर्वाधार विकास समितिको सभापति लिने सहमति भयो । राप्रपाले मकवानपुर १ बाट निर्वाचित दीपक सिंहलाई सभापतिको उम्मेदवार बनाउने निर्णय ग¥यो । माओवादीबाट सभापतिको उम्मेदवार बन्ने तय भएका सापकोटा चाहिँ सिंहको प्रस्तावक बसेका छन् ।

सञ्चय कोषले सञ्चयकर्ताका पति वा पत्नीलाई पनि स्वास्थ्योपचार खर्च दिने

काठमाडौं । कर्मचारी सञ्चय कोषले स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तारको तयारी गरेको छ । कोषले सञ्चयकर्ताका पति वा पत्नी समेतलाई स्वास्थ्योपचार सुविधामा समेट्न लागेको हो ।

कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदी सञ्चयकर्ताले पाउँदै आएको स्वास्थ्योपचार सुविधालाई कोषको ३१ भदौको वार्षिकउत्सव समारोहबाट विस्तार गर्ने बताउँछन् ।

‘त्यसका लागि कार्यविधि बन्नुपर्छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको बजेट वक्तव्यले घोषणा गरेअनुसार सञ्चयकर्ताको दम्पतीलाई नै स्वास्थ्योपचार सुविधा उपलब्ध गराउन तयारी गरिरहेका छौं ।’

चालु आर्थिक वर्षको बजेटमा कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी समेतलाई समावेश गर्ने व्यवस्था मिलाइने उल्लेख थियो ।

हाल साधारण बिरामी भएमा सञ्चयकर्ताले अस्पतालमा भएको खर्चका आधारमा १ लाख र घातक रोग लागेमा १० लाख रुपैयाँसम्म यो योजनाबाट पाउँछन् । कोषले योजना विस्तारको घोषणा परेपछि सञ्चयकर्ताको श्रीमान वा श्रीमतीले समेत यस्तो योजनाबाट लाभ उठाउन पाउनेछन् ।

‘कहिलेदेखि कुन–कुन शर्तमा कसरी स्वास्थ्योपचार योजनामा सञ्चयकर्ताको पति वा पत्नीले पनि सुविधा पाउँछन् भन्ने तय हुन बाँकी छ,’ प्रवक्ता सुवेदीले भने ।

२०७६ अघि साविकमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत सञ्चालन गरिएको ‘सञ्चयकर्ता औषधोपचार तथा घातक रोग योजना’लाई सञ्चयकर्ता स्वास्थोपचार योजना’मा रुपान्तरण गरेर कोषले सञ्चालन गरिरहेको छ ।

अहिले अस्पताल भर्ना भएर स्वास्थोपचार खर्च गर्दा कोषबाटै शोधभर्ना गर्न सकिने व्यवस्था छ । कोषले विगतमा सञ्चालन गरेको सञ्चयकर्ता औषधोपचार सहयोग कार्यक्रम २०७० र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना २०७५ को निरन्तरताका रुपमा यो योजना सञ्चालन गरिरहेको छ ।

सरकारले तोकिदिए बमोजिम घात रोगमा हृदयघात, मृगौला फेल, क्यान्सर, अल्जाइमर, पार्किन्सन, गम्भीर हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, लिभर ड्यामेज, प्यारालाइसिस, ब्रेन ह्यामोरेज, लङ्ग्स ट्रान्सप्लान्ट सहित १२ वटा रोग छन् ।

कोषमा कम्तीमा ६ महिना नियमित रुपमा सञ्चय कोष कट्टी रकम जम्मा गरी रहेका सञ्चयकर्तालाई यो योजनाले समेटेको छ । बिरामी भएर अस्पताल भर्ना भएको अवस्थामा कोषको नियमित सञ्चयकर्ता वा उमेर–हद वा पदावधिका कारण अवकास भएको ६ वर्षसम्म कोषबाट रकम भुक्तानी नलिएका सञ्चयकर्ताले यो योजनाबाट लाभ उठाउँदै आएका छन् ।

नेपाल सरकारबाट सञ्चालन अनुमति पाएका देशभित्र सञ्चालित अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र वा यस्तै प्रकारका अन्य स्वास्थ्य सेवा प्रदायक संस्थामा उपचार गरेको खर्चको दाबी गर्न पाइन्छ । नेपालमा उपचार हुन नसक्ने भएका कारण सम्बन्धित चिकित्सकको सिफारिसमा विदेशी अस्पतालमा उपचार गराइएको भए पनि त्यस्तो खर्च दाबी गर्न पाइने नियम छ । चिकित्सकको निजी क्लिनिकमा उपचार गरेको खर्च भने दाबी गर्न नपाइने नियम छ ।

हाल बिरामी सञ्चयकर्ताले अस्पताल भर्ना भएर उपचार गराउँदा एक आर्थिक वर्षमा बढीमा दुई पटक गरी अधिकतम १ लाख रुपैयाँसम्म शोधभर्ना पाउँछन् ।

एक वर्षमा अपरेशन शुल्कबापत ४० हजार र रोग परीक्षण शुल्क, औषधि तथा उपकरण खरिद खर्च तथा अस्पताल वेड शुल्क बापत वर्षमा ३०÷३० हजार रुपैयाँ पाउँछन् ।

घातक रोगको उपचारमा रोग पहिचानको क्रममा भएको खर्चमा बढीमा १ लाखसम्म, अस्पताल भर्ना भएर गरेको उपचार खर्चमा बढीमा ७ लाखसम्म र अस्पतालबाट डिस्चार्ज भएपछि फलोअपका क्रममा बढीमा २ लाखसम्म सोधभर्ना हुने गरेको छ । मृगौला र क्यान्सरका बिरामीले भने फलोअप (केमोथेरापी र डाइलासिस) का लागि ९ लाख रुपैयाँसम्म पाउँछन् ।

सञ्चयकर्ताको मृत्यु भएमा मृत्यु हुनु भन्दाअघि भएको उपचारको खर्च हकवालाले दावी गर्न सक्ने व्यवस्था समेत छ । कोषले हालको व्यवस्थाहरुलाई कायम राखेर सञ्चयकर्ताको पति वा पन्तीलाई कस्तो सुविधा दिने भन्ने तय गर्न कार्यविधि बनाइरहेको जनाउको छ । हाल कोषमा २७ हजार ८६२ वटा कार्यालयका ५ लाख ९८ हजार सञ्चयकर्ताहरु आवद्ध छन् ।