आजदेखि राष्ट्र बैंकले नयाँ नाेट सटही गर्ने

काठमाडाैं । दसैं र तिहारलाई लक्षीत गरी राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) गर्ने भएको छ ।

यसका लागि  बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गरिसकेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नोट बाँड्ने तयारी रहेको  राष्ट्र बैंकले जनाएकाे छ ।

यो वर्ष प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गरिने र सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक-एक बन्डल नयाँ नोट सटही गर्न पाउने छन् ।

इजरायलमा निधन भएकामध्ये पाँच नेपालीको शव प्राप्त

काठमाडौँ ।  गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ ।

इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार निधन भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव प्राप्त भएको हो ।

सो घटनामा निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको र उपलब्ध संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी अझै तीव्र पारिएको विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणमा घाइते भएका चार जनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका (एकजना नेपाल पुगिसकेका र एकजना दूतावासको हेरचाहमा रहेका) छन् भने दुईजना अस्पतालमा उपचाररत छन् ।

कुन देशको विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस्

काठमाडाैं । असाेज २९ गते साेमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १३९ रुपैयाँ ७२ पैसा र बिक्री दर १४० रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ४४ पैसा र बिक्री दर १६२ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो ।
 
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६५ कामय भएको छ । 

यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७१ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६८ तोकिएको छ ।
 
यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर एक सय ८० तथा डिजेलको मूल्य प्रतिलिटर  एक सय ७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ७२ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८३ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ७३ थियो ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर रु ११.१८ र रु ५।०३ ले घटेर आएकाले पेट्रोलियम पदार्थ मूल्य घटाइएको हो ।

चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन् ।

मन्त्री निवास पुल्चोकमा आज नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ज्ञापनपत्र बुझ्दै उहाँले निगमको जहाज थपेर भाडादरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन् । दसैँअघि नै औपचारिकरूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री किरातीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन दस वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको औंँल्याए ।

निगमले आन्तरिक उडानका लागि तीन वटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारी गरेको छ । ती जहाज निगमको आन्तरिक स्रोतबाटै खरिद गर्नेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमले जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्वीनअटर जहाज मात्रै छन् । ती जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्दै आएका छन् । पर्यटनमन्त्री किरातीले आजैदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसँैभरी सञ्चालन गर्ने जानकारी दिए । उनले चाडवाडका बेला हुने कालोबजारी नियन्त्रण गर्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल र समन्वय गर्ने पनि बताए ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको टोलीले चाडबाडका बेलामा हुने भाडादरमा हुने कालोबजारीलाई नियन्त्रण गर्न र सहुलियत भाडादरको व्यवस्था गर्न माग गर्दै पर्यटनमन्त्रीलाई ज्ञापन बुझाएको हो । देशका केही हिमाली जिल्लामा पुग्न हवाई यतायात मात्र विकल्पको रुपमा रहे पनि सरोकारवालाको कमजोरीले आम सर्वसाधरण हप्तौँ दिनसम्म विमानस्थल धाउनुपर्ने परिस्थिति रहेको भन्दै नेविसङ्घले चाडबाडका बेला सडकको पहुँच नभएका विशेषगरी हिमाली तथा दुर्गम जिल्लामा जनताको आवश्यकतालाई मध्यनजर गर्दै हवाई यातायातलाई सहज र सर्वसुलभ बनाउन माग गरेको छ ।

‘दसैँ, तिहार, छठलगायत चाडपर्वका बेला आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समेत स्वेच्छचारी ढङ्गले हवाई टिकटको मूल्य निर्धारण गरिएको हुँदा तत्काल त्यस विषयमा अनुगमन गर्दै सुक्ष्म निगरानीसमेत गर्न पर्यटनमन्त्री समक्ष अनुरोध गर्दछौँ’ ज्ञापनपत्रमा भनिएको छ ।

एसिसी प्रिमियर कप क्रिकेट: नेपालले बहराइनलाई हरायो

काठमाडौँ । मलेसियामा जारी उन्नाइस  वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।

बहराइनले जितका लागि ७८ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले ११ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥र्यो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो ।

नेपालको जितमा देव खनाल र अर्जुन कुमालले समान ३२÷ ३२ रनको योगदान दिए । देवले २७ बलमा चार चौका र एक छक्काको मद्दतमा अविजित ३२ जोडेका हुन् । त्यसैगरी अर्जुन ३१ बलमा ५ चौकासहित ३२ रनमा आउट भए । ओपनर दीपक बोहराले चार रन जोडे ।

बहराइनका अन्स ओबैद सैइदले तीन विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले  सर्वाधिक ३४ रनको योगदान दिए । उनले ७७ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३४ रन बनाएका हुन्  । त्यसबाहेक बहराइका अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बहराइनका कप्तान सीफे रमेशलले छ रन जोडे भने आयन ओबैद सैइदले तीन रन जोडे । सार्थक वैद्दराजु दुई रनमा आउट भए । बलिङतर्फ नेपालका दिपेश कँडेल एक्लैले छ विकेट लिए भने दुर्गेस गुप्ताले चार विकेट विकेट लिए  ।  नेपालले अब आगामी कात्तिक २ गते साउदी अरेवियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिसी एसिया कप खेल्न पाउनेछन् । 

इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन

बेइजिङ । चीनले गाजामा इजराइलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजराइली सरकारले बन्द गर्नुपर्ने बताएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ ।

इजराइलले गाजामा  हमास लडाकूहरूमाथि जमिन आक्रमण गर्ने तयारी गरेको देखिएका बेला विदेशमन्त्री वाङले शनिबार साउदी अरेबियाका आफ्ना समकक्षी राजकुमार फैजल बिन फरहानलाई फोन गरेर उक्त टिप्पणी गरेको छन् । “इजराइलको कदम आत्मरक्षाका दायराभन्दाा बाहिर गएका छन्”, वाङलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ, “इजराइलले संयुक्त राष्ट्रसङ्घका महासचिव र अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई गम्भीरतापूर्वक सुन्नुपर्छ र गाजाका नागरिकमाथि सामूहिक सजाय बन्द गर्नुपर्छ ।” वाङको उक्त टिप्पणी चीनले हालसम्म व्यक्त गरेको टिप्पणी मध्येकै कडा हो ।

उत्तरी गाजामा रहेको १० लाखभन्दा बढी सर्वसाधारणलाई अपेक्षित आक्रमण हुनुभन्दा अगाडि नै भाग्न आदेश दिइएको छ । सर्वसाधारणको बाध्यकारी बहिर्गमनले मानवीय सङ्कट निम्तिनने भन्दै सहायताकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । 

अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प

काबुल । अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार छ दशमलव तीन म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको आमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक भूकम्प गएको हो ।

ग्रिनविच मिनटाइमअनुसार तीन बजेर ३६ मिनेटमा हेरात सहरभन्दा ३३ किलोमिटर टाढा भूकम्प गएको हो । यही असोज २० गते (अक्टोबर ७) हेरातको सोही भागमा छ दशमलव तीन म्याग्निच्युडको शक्तिशाली भूकम्प र आठ वटा परकम्प गएको थियो । उक्त भूकम्पले ग्रामीण घरहरू ध्वस्त पारेको थियो भने एक हजारभन्दा बढीको मृत्यु र सयाँै घाइते भएका थिए ।

हजारौँ भयभित बासिन्दा बिना आश्रय रहन बाध्य भएको र स्वयंसेवकहरूले बाँचेकाहरूको खोजी गरिरहेका बेला सोही तीव्रताको अर्को भूकम्प जाँदा एक जनाको मृत्यु र एक सय ३० जना घाइते भएका थिए ।

भूकम्पमा परी मर्नेहरूमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको युनिसेफले बुधबार बताएको थियो । भूकम्पबाट १२ हजारभन्दा बढी नागरिक प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सन् २०२१ मा अफगानिस्तानको सत्तामा आएको तालिबान अधिकारीहरूका लागि ठूलो मात्रामा आश्रयको व्यवस्था गर्न चुनौती हुने छ । तालिबानको अन्तर्राष्ट्रिय दातृ संस्थाहरूको सम्बन्ध खराब छ ।

नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने बताएका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आर्थिक र मौद्रिक नीतिमा दातृ निकायसँग नेपालको दृष्टिकोण मिल्नैपर्छ भन्ने नरहेको बताएका हुन् ।

“हामीले अवलम्बन गर्ने नीति र उहाँहरूको बुझाइ एउटै नहुन सक्छ । हामी आफ्नो विशिष्ट खालको नीति लिएर अगाडि बढ्नेमा उनिहरू पनि सहमत छन् ”, मन्त्री डा महतले भने  । दातृ निकाय र विकास साझेदारहरूले मौद्रिक नीतिमा हस्तक्षेप गरेको र नेपालको परिवेश नसुहाउने व्यवस्था जबर्जस्ती लागू गर्न खोजेको भन्ने आरोप निजी क्षेत्रले लगाउँदै आएको छ । चालु पुँजी कर्जा मार्गदर्शनलगायत व्यवस्थामा आईएमएफ हाबी भएको निजी क्षेत्रको बुझाइ छ । तर अर्थमन्त्री महतले भने कुनै पनि निर्णय नेपालको अवस्था र प्रकृति सुहाउँदो हुने भएकाले दातृ निकायले दिने सबै सुझाव र सर्त कार्यान्वयन गर्नैपर्छ भन्ने बाध्यता नरहने स्पष्ट पारेका छन् ।

सहुलियतपूर्ण कर्जाका लागि विश्व बैंक र आईएमएफको संयुक्त वार्षिक बैठकमा नेपालले आफ्ना आधार प्रस्तुत गरेको अर्थमन्त्री महतको भनाइ छ । त्यस्तै, गरिबी निवारणका क्षेत्रमा लगानी गर्ने र नयाँ खालका वित्तीय लगानीका उपकरण पहिचान गरेर लगानी गर्नेबारे छलफल भएको उनले बताए । माथिल्लो अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले लगानी गर्न चाहेकोमा त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल भएको जनाइएको छ ।

अर्थतन्त्री महतले नेपालको अर्थतन्त्रलाई गति दिने विषयमा थप कुनै प्रयास थाल्नुपर्ने आवश्यकता महसुस भएमा सरकारले त्यसको निर्णय लिनसक्ने पनि बताए । केही दिनअघिमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक अवस्था सुधारका लागि सरकारले उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बताएका थिए । यस्तो संयन्त्रबारे सरकारले कसरी तयारी गरिरहेको छ ? भन्ने राससको प्रश्नको अर्थमन्त्री महतले अवस्था र परिवेश हेरेर निर्णय दिने बताएका हुन् । त्यस्तै अर्थतन्त्रमा अहिले देखिएको समस्या तत्काल देखिएको नभई लामो समयदेखिका समस्या थपिँदै गएर यस्तो अवस्थामा पुगेको अर्थमन्त्री महतको भनाइ छ ।

“अहिले देखिएका समस्या तत्काल सिर्जित होइनन् र यी समस्या एकै झट्कामा समाधान पनि हुँदैन । क्रमशः सुधारका प्रयासका नतिजा देखिँदै गएका छन् । आर्थिक क्षेत्रलाई थप गति दिन के गर्ने भनेर सरकार लागिरहेको छ”, अर्थमन्त्री डा महतले भने ।

अर्थमन्त्री विश्व बैंकको र नेपाल राष्ट्र बैंकका गभर्नर आईएमएफको पदेन गभर्नर रहने व्यवस्था छ । यी बैठकमा वर्षभरिको कार्यसम्पादनमा देखिएका समस्या तथा हासिल भएका प्रगतिको समीक्षा गरी आगामी वर्षको रणनीतिका विषयमा प्रतिनिधि मुलुकबीच छलफल भएको छ ।

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिने

विराटनगर ।  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथसँगै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शनिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीको शपथग्रहण दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा हुन लागेको हो । मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गरेका थिए । उनलाई गठबन्धन दलले मुख्यमन्त्रीका लागि समर्थन गरेका थिए । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्ट कांग्रेसको शेखर कोइराला पक्षका केही सांसदहरु तथा नेकपा एमालेका सांसदहरुको समर्थनमा कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । 

दुवैजनाको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले सनाखतका लागि शनिबार बोलाएका थिए । त्यस क्रममा कार्कीका पक्षमा बहुमत सांसद देखिएपछि उनैलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । कार्कीको पक्षमा कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले कार्कीले हस्ताक्षर गरेका थिए ।

सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली

मङ्गलबारे । भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कविहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन् ।

पछिल्लो समय उनीहरुले परिवारका सदस्यसँग फोन तथा सामाजिक सञ्जालमा कुरा भएको जनाइएको छ । इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएसँगै परिवारमा समेत खुसीयाली छाएको छ । परिवारसँग सम्पर्क गरेको जानकारी प्राप्त भएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए ।

उनले सम्पर्कविहीन भएका सबैजना स्वदेश फर्किदै गरेको पनि परिवारका सदस्यबाट जानकारी प्राप्त भएको बताए । बाढी आएपछि नेपाली बसोबास गर्ने स्थल तथा आसपासमा विद्युत्समेत कटौती भएको थियो । विद्युत् नहुँदा टेलिफोन तथा अन्य सञ्चारका साधनसमेत अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ ।

पाँच जना नेपालीहरु गएको यही असोज १६ गतेदेखि नै सम्पर्कविहीन भएका थिए । सोही दिन सिक्किमको उत्तरी भेगको हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षापछि गएको पहिरो र टिस्टा नदीमा बाढी आउँदा धनजनको क्षति भएको थियो ।

दसैँलाई खसीबोका आजदेखि भित्रिँदै

काठमाडौँ । नेपालीको महान् पर्व विजयादशमी सुरु भएसँगै दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउने भएका छन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्छन् ।

चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् । सामान्य अवस्थामा करिब दुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जाने उनको भनाइ छ । उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने उनको भनाइ छ ।

दसैँमा उपत्यकामा यो वर्ष ४५ देखि ५० हजार रुपियाँको हाराहारीमा खसीबोका र च्याङ्ग्रा गरेर खपत हुने व्यवसायीको अनुमान छ । हाल बजारमा प्रतिकेजी जिउँदो खसी प्रतिकेजी ६६० देखि ६८० रुपियाँसम्म पर्छ । गैरकानुनी तवरबाट व्यापारीले भारतबाट खसीबोका ल्याउने गरेको थापाको भनाइ छ ।

दसैँमा सबैले अधिक मासुको उपभोग गर्ने भएकाले पनि उपत्यकामा धेरै खसीबोका बिक्री हुने गर्छ । देशका विभिन्न स्थानमा हुने स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले छिमेकी मुलुक भारत र चीनको तिब्बतबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गर्छन् । भारतबाट गैरकानुनी ढङ्गले पनि खसीबोका भित्रिने गरेको व्यवसायीको भनाइ छ ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्न लागेको छ । कम्पनीले विभिन्न जिल्लामा खसीबोकाको खरिद प्रक्रियासमेत सुरु गरिसकेकाले आइबार वा सोमबारसम्म उपत्यकामा आइपुग्ने जनाएको छ । खसीबोका आएको भोलिपल्टबाट बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । आठ करोड ३६ लाख रुपियाँ खसीबोका खरिद गर्नका लागि छुट्याएको कम्पनीले जनाएको छ । गोरखापत्रबाट

पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख

काठमाडौं । मुलुकमा वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने पूर्वाधार रहे पनि सरकारले क्षमताको एक तिहाइ कम पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। सरकारले सन् २०२३ मा १० लाख मात्र पर्यटक भित्राउने लक्ष्य राखेकाले होटल व्यवसायीहरू उत्साहित हुन नसकेको बताइरहेका छन्।

‘हामी ३५ लाख पर्यटकलाई सेवा दिन तयार छौं तर सरकार १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भन्दै रमाएर बसेको छ।’ होटल एसोसियसन नेपाल ९हान० का अध्यक्ष विनायक शाहले भने, ‘मुलुकमा पर्यटकलाई सेवा दिन सक्ने क्षमता बढेर कहाँ पुगिसक्यो सरकार भने कोभिड महामारीअघिको पूर्वाधारमा आधारित भई तय गरिएको लक्ष्य बोकेर बसेको छ।’ उनले थपे, ‘यसरी हाम्रो व्यवसाय कसरी चल्छरु’ अध्यक्ष शाहले यो महिना यति पर्यटक आए, कोभिडअघिको जति पुग्न लाग्यो भनेर खुसी भएर बस्ने समय नभएको बताए। उनले अहिले होटल व्यवसायीहरूले वार्षिक ३५ लाख पर्यटकलाई उनीहरूले भनेजस्तै उत्कृष्ट सेवा, सुविधा दिन सक्ने क्षमता वृद्धि गरिसक्दा पनि सरकारले पर्यटनक्षेत्रको आधारभूत अध्ययन गरी त्यसअनुरूपको नीति तथा कार्ययोजना बनाउन नसकेको आरोप लगाए।

यसको मतलब महामारीको समयमा सबै विकासका काम, कार्यक्रमहरू ठप्प हुँदा पनि पर्यटनसँग सम्बन्धित पूर्वाधारहरू धमाधम निमार्ण भइरहेका थिए भन्ने हो। छिमेकी मुलुक भारत र चीनबाट अरू मुलुकमा जाने पर्यटकको दुई प्रतिशत मात्र नेपाल भित्र्याउन सकेको भए पर्यटन व्यवसाय धरापमा पर्ने थिएन, अध्यक्ष शाहको तर्क छ। सरकारले कोभिडपछि पर्यटन क्षेत्रको अध्ययन नगरी नीति, योजना तथा कार्यक्रमहरू घोषणा गर्ने हतार गर्दा पर्यटन क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको उनले बताए। सरकारले सन् २०२३ देखि २०३३ सम्म पर्यटन दशक घोषणा गरेको छ। त्यसको नौ महिनाभन्दा बढी बितिसक्दा पनि ठोस कार्यक्रम सार्वजनिक नगरेको हुँदा पर्यटन क्षेत्रमा अपेक्षित सुधार नआएको व्यवसायीहरूको बुझाइ छ। यो समाचार नागरिक दैनिकमा छ ।

स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो

म्याग्दी । चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको हो । घरपझोङ गाउँपालिका–२ मार्फाका राजु लालचनले सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि कृषकले भनेको मूल्य र बजार दुवै पाउन थालेको बताए ।

“पहिले बोटबाट टिपेको स्याउ आफ्नै तरिकाले भण्डारण गरेर राख्दा ७० प्रतिशतभन्दा बढी कुहिएर फाल्नुपर्ने समस्या थियो”, उनले भने, “यस याममा प्रतिकिलो रु ९० देखि रु एक सयपर्ने स्याउ चिस्यान गृहमा राख्दा बेमौसममा दोब्बर बढी मूल्य पार्न सकिन्छ ।”

चिस्यान गृहमा असोजदेखि चैतसम्म स्याउ राख्दा गुणस्तर, आकार र तौलमा कुनै फरक नआउने मार्फाका अर्का कृषक विश्व लालचनको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन कार्यक्रमको ८५ प्रतिशत अनुदानमा राजुले यस वर्ष र विश्वले अघिल्लो वर्ष १०÷१० मेट्रिकटन क्षमताको चिस्यानगृह बनाएका थिए ।

रु १४ लाख लगानी भएको चिस्यानगृह बनाउन स्याउ जोनले रु ११ लाख अनुदान दिएको थियो । “असोज–कात्तिकमा व्यापारीले जति भन्यो त्यति मूल्यमा स्याउ बेच्नुपर्छ”, कृषक विश्व लालचनले भने, “चारदेखि पाँच महिना चिस्यान गृहमा राखेको स्याउ दोब्बर बढी मूल्यमा गाउँबाटै बिक्री हुन्छ ।”

चिस्यानगृह नहुँदा मुस्ताङका कृषकले घरको कोठा, चिसो ठाउँमा स्याउ थुपारेर भण्डारण गर्दथे । यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो । बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरेका थिए ।

स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन मुस्ताङमा पाँच चिस्यानगृह निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नेत्र भट्टले बताए ।

“वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन्”, उनले भने, “मुस्ताङमा प्रभावकारी भएकाले कोल्डस्टोरको माग बढी छ ।”

गत आर्थिक वर्ष २०७९–८० मा मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा हाइल्याड एग्रो फार्म र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको खिङ्गामा जिआर अर्गानिक एग्रो स्याउ फार्ममा १०–१० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको थियो ।

मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ ।

गत वर्ष मुस्ताङमा छ हजार छ सय मेट्रिकटन स्याउ उत्पादन भएको थियो । रु ५० करोड मूल्य बराबरको चार हजार छ सय २० मेट्रिकटन स्याउ म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरमा निकासी भएको थियो ।

बगैँचामा प्रतिकिलो रु एक सयदेखि रु एक सय २० का दरले स्याउ बिक्री भएको छ । रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउखेती भएको छ । मुुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउने चटारो छ ।

स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो । यसअघिको वर्षमा मङ्सिरसम्म स्याउ बोटमै हुुन्थ्यो । अहिले असोजमै सबैजसो बगैँचा रित्तिन थालेका छन् । नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैँचा नै व्यापारीलाई ठेक्का दिएका थिए ।

यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्नसक्ने अनुुमान गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका प्रमुुख प्रकाश बस्ताकोटीले बताए । “फूल खेलेर परागसेचन हुुने समयमा धेरै वर्षा हुँदा फूलबाट स्याउको दाना कम लागेको छ”, उनले भने, “यस वर्ष स्याउको फूल फुल्ने समय वैशाख, जेठ महिनामा वर्षाले स्याउ बोटमा परागसेचन (पोलिनेशन) हुन पाएन् ।”

आजदेखि बडादसैँ सुरु, ११ बजेर २९ मिनेटमा घटस्थापनाको उत्तम साइत

काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।