विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ ८७ पैसा र बिक्री दर १४० रुपैयाँ ५० पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८२ पैसा र बिक्री दर १६२ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

राटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ भने आइतबार लिने छन् ।

सांसदहरुको हस्ताक्षरको प्रमाणिकरण सकिएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको दोस्रो कार्यकालकाे पाँचौ मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीलाई कांग्रेसका ८ जना र एमालेका ३९ जना सांसदले सर्मथन गरेका छन्

नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौला निलम्बित

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई निलम्बन गरेको छ। निर्देशक बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको हो।

बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो।

‘नेपाल सरकार मन्त्रिपरिषदको यही २४ गतेको निर्णय अनुसार कार्यकारी निर्देशक पदमा राखिरहँदा तपाईंउपर लगाइएको आरोपको प्रमाण नष्ट गर्न सक्ने र तपाईंको गैरजिम्मेवारीपूर्ण काम कारबाहीले स्वास्थ्य बीमा बोर्डलाई हानी नोक्सानीसमेत गर्न सक्ने देखिएको हुँदा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम बढीमा ३ महिनाका लागि कार्यकारी निर्देशक पदबाट आजैका मितिदेखि लागू हुने गरी निलम्बन गरिएको बेहोरा निर्णयानुसार अनुरोध छ’, मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।

मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त

काठमाडौँ । मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र हुनुहुन्थ्यो । हेलिकप्टरान आगलागी भएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलार्ई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको हो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो ।

हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री दाहाल चितवनमा

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  गृहजिल्ला चितवन आइपुगेका छन्  ।

भरतपुर महानगरपालिका प्रमुख एवं प्रधानमन्त्री पुत्री रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा रहँदा भोलि आइतबार तीनवटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री दाहाल आइतबार साँझ चितवन बस्ने वा फर्किने टुङ्गो लागिनसकेको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गरनेछन् ।

शारदानगरको सो आयोजना रु ५५ करोड हाराहारीमा निर्माण गरिएको हो । आयोजनाबाट चार हजार घरपरिवारलाई खानेपानी सुविधा हुनेछ । सङ्घीय खानेपानी तथा ढल आयोजना चितवनका प्रमुख सुन्दर सुवेदीका अनुसार भरतपुर वडा नं ११ को जखडिमाई खानेपानी आयोजनाले तीन हजार पाँच सय परिवारलाई खानेपानी सुविधा दिनेछ । यो आयोजना रु २५ करोडको लागतमा निर्माण गरिएको हो ।

यसैगरी, भरतपुर महानगरपालिका–२६ दिव्यनगरको खानेपानी आयोजना रु १० करोडको लागतमा निर्माण गरिएको हो । यो आयोजनाबाट एक हजार सात सय परिवार लाभान्वित हुनेछन् ।

 मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब

कर्णाली । एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्रा डा पदमलाल देवकोटा र रजिष्ट्रार सह–प्रा डा ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत आव २०६८/६९ मा रु ८३ लाख ९८ हजार तथा आव २०७८/७९ सम्ममा रु एक अर्ब १२ करोड ५७ लाख पुगेको बताए ।

“यसमा असुलउपर र सैद्धान्तिक एवं प्रक्रियागत बेरुजु परेको छ”, रजिष्ट्रार पौडेलले भने । वीरबहादुर पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । उनले असुलउपर गर्ने बेरुजुमा रु ६३ लाख ६६ हजार ९६४ मा केही प्रतिशत मात्र असुल भएको बताए । रजिष्ट्रार पौडेलका अनुसार रु १२ करोड ४० लाख ५१ हजार बेरुजु सम्परीक्षण गरिएको छ । अझै करिब रु एक अर्ब बेरुजु विश्वविद्यालयले फछ्र्योट गर्न बाँकी छ ।

आर्थिक वर्ष २०७५/७६ मा उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार डा महेन्द्रकुमार मल्लको पदावधिमा सबैभन्दा बढी रु ४० करोड ५९ लाख ६० हजार (३६.०४) प्रतिशत बेरुजु आएको उनले बताए । यहाँ असुलउपर गर्नुपर्ने बेरुजु पनि रहेको उनको भनाइ थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले करिब १३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेकोजस्तो गरेर सामाजिक सञ्जाल तथा समाचार माध्यमबाट आएपछि त्यसको भ्रम हटाउन पत्रकार सम्मेलन कार्यक्रम गरिएको बताए ।

विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौँ । जारी आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीचको वहुप्रतिक्षीत भिडन्त आज हुँदैछ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ । भारत र पाकिस्तानबिचको दिवा-रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । यी दुवै राष्ट्रले पहिलो संस्करणदेखि नै एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । यी दुवै राष्ट्रको विश्वकपमा यो १३औँ सहभागिता हो । भारत र पाकिस्तान दुवै एकदिवसीय विश्वकपको पूर्वविजेता पनि हुन् ।

भारतले दुई र पाकिस्तानले एकपटक विश्वकपको उपाधि उचालेका छन् । भारतले सन् १९८३ र सन् २०११ मा विश्वकप जितेको थियो । पाकिस्तानी टोलीले भने सन् १९९२ मा विश्वकपको उपाधि चुमेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा पनि यी दुई टोली नै पहिलो र दोस्रो स्थानमा छन् । जारी विश्वकपमा हालसम्म यी दुवै राष्ट्रले दुई / दुई खेल खेलिसकेका छन् । दुवै खेलमा यी दुवै टोलीले शतप्रतिशत नतिजा निकालेका छन् ।

भारत आईसीसी वरीयताको पहिलो स्थानमा आसीन छ । पाकिस्तान वरीयताको दोस्रो स्थानमा छ । १३औँ विश्वकप सुरु हुनुअघि पाकिस्तानलाई नै पछि पार्दै भारत एकदिवसीय वरीयताको पहिलो स्थानमा उक्लिएको हो ।

लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

सोलुखुम्बु  । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ ।  ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । ​

स्राेतका अनुसार हेलिकप्टर पूर्ण रुपमा क्षति भएको छ । दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टरमा  आगलागी  भएको थियो ।  हेलिकोप्टरमा पाइलट प्रकाश सेडाई मात्र सवार थिए । उनी घाइते भएका छन् । यात्रु लिन गएको मनाङको हेलिकप्टर ७: २५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

उनलाई उद्धार गरी काठमाडौँ ल्याइएको छ । स्राेतले क्याप्टेन सेढाइँलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइ उपचारका लागि ह्याम्स अस्पताल लगिएको  जानकारी दिएकाे छ । थप विवरण आउन बाँकी छ ।

गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल

काठमाडौँ । उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा विषयगत र दुई वटा विशेष निगरानी टोली खटाएर बजार अनुगमन गरिरहेको छ ।

यही असोज १ देखि २५ गतेसम्म विभागले काठमाडौँ उपत्यकाभित्रका दैनिक उपभोग्य खाद्यान्न, माछामासु, औषधि तथा तरकारीजन्य छ सय ७९ व्यावसायिक फर्मको अनुगमन गरी एक सय ७७ फर्मलाई विभिन्न कसुरमा कारबाही गरेको छ । विभागले गैरव्यावसायिक क्रियाकलाप गर्ने ती फर्ममाथि कारबाही गरी रु ५४ लाख ६७ हजार जरिवाना तिराएको छ ।

यस्तैऽ एक सय ८५ फर्मसँग थप कागजात माग तथा दुई सय ९३ फर्मलाई व्यावसायिक सुधारका लागि निर्देशन दिएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिनुभयो । विभागले अनुगमनका क्रममा कुलेश्वरबाट जफत गरेको ७० हजार मेट्रिकन चिनी साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियत दरमा बिक्री गरिरहेको छ । उक्त चिनी साल्ट ट्रेडिङले प्रतिकिलो एक सय एक रुपैयाँ ५० पैसामा खरिद गरी सुपथ मूल्य पसलमार्फत प्रतिकिलो रु ९७ मा बिक्री गरेको हो ।

बजारमा देखिएको चिनीको अभावलाई न्यूनीकरण गरी आपूर्ति प्रणाली सहज गर्न स्वदेशी उद्योगले अन्य औद्योगिक प्रयोजनका लागि अग्रीम बिक्री सम्झौता गरिसकेको एक हजार मेट्रिक टन चिनी उपभोक्ताको सहज पहुँच पुग्ने गरी बजारमा पठाउने तयारी गरिएको विभागका महानिर्देशक चिलुवालले जानकारी दिए । चिनी सञ्चय गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने व्यवसायीको गोदामस्थल पहिचान गरी कारबाही गर्ने तथा सञ्चय गरेको चिनीलाई सहज र वास्तविक मूल्यमा बजारमा आपूर्ति गराउन निरन्तर लागि परेको विभागले जनाएको छ ।

जीराको अस्वाभाविक मूल्यवृद्धि भइरहेका सन्दर्भमा विभागले सूक्ष्म अनुगमन गरिरहेको महानिर्देशक चिलुवालको भनाइ छ । “बजारमा सहज आपूर्ति र अस्वाभाविक नाफाखोरी गर्ने प्रवृति नियन्त्रणका लागि विशेष निगरानी, सूक्ष्म सूचना विश्लेषण र सरोकार भएका अन्य निकायबाट समेत आयात, सञ्चय तथा बिक्री वितरणसम्बन्धी विवरण विभागको निगरानी टोलीबाट अध्ययन भइरहेको छ”, उनले भने ।

चोभारस्थित एक गोदामस्थलबाट २५ हजार किलो जीरा सञ्चय भएको पाइएको र उक्त जीरा तुरुन्त बजारमा प्रवाह गर्नेगरी काम अगाडि बढाइएको विभागले जनाएको छ । विभागबाट खटिएको अनुगमन टोलीले जीरा, चिनी, पिउने पानीलगायत काठमाडौँ उपत्यकाका नौ वटा खाद्यजन्य वस्तु सञ्चय गर्ने व्यवसायीको गोदाम र व्यापारिकस्थल सिलबन्दी गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।

नियमित रुपमा बजार अनुगमन मार्फत स्वच्छ र प्रतिस्पर्धी बजार कायम गरी उपभोक्ताको हित संरक्षण कार्यमा विभाग क्रियाशील रहेको महानिर्देशक चिलुवालको भनाइ छ । बजारमा देखिने गैरव्यावसायिक क्रियाकलाप, उपभोक्ता ठगी, अनुचित व्यापारिक क्रियाकलाप, बिलबिजक जारी नगर्ने, न्यून गुणस्तरीय वस्तुको बिक्री वितरणलगायतक्रियाकलापलाई न्यूनीकरण गर्न तथा स्वच्छ बजार कायम गरी उपभोक्ताको अधिकार संरक्षण गर्न विभाग निरन्तर रुपमा क्रियाशील रहेको छ ।

विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, औषधि व्यवस्था, आन्तरिक राजस्व, नेपाल गुणस्तर तथा नापतौल, पशुसेवा र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको सहभागितामा संयुक्त बजार अनुगमन भइरहेको छ ।

गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस्ः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनःस्थापनमा मात्र नभइ मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रँदा पेसागत मूल्यमान्यताअनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा पत्रकारसँगको भेटघाटमा उहाँले पत्रकारिता जगत लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले भने, “सत्य अन्वेषण र सत्य सम्प्रेषण गर्नु सञ्चारमाध्यमको मुख्य चुनौती हो । अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पु¥याउन सक्नेतर्फ सचेत हुन आग्रह गर्दछु ।”

उनले पत्रकारिता जगतले यस्तो अवस्थामा सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउने विश्वास व्यक्त गरे ।

इजरायल आक्रमणमा बन्धक बनाइएका १३ जनाको हत्या

काठमाडौं । प्यालेस्टाइनी आतंकबादी समूह हमासले इजरायल क्षेत्रबाट अपहरण गरेका १३ जनाका हत्या गरेको छ । हमास समूहले इजरायलले अक्टोबर ७ मा आक्रमण गर्ने क्रममा १५० भन्दा मानिसहरुलाई नियन्त्रणमा लिएको थियो ।

इजरायली हवाई हमलामा अपहरणमा परेका १३ जना मारिएको हमास समूहले दाबी गरेको छ।  हमासको सैन्य समूहले पछिल्लो २४ घण्टामा विदेशीसहित १३ जना अपहरणमा रहेका बन्धक मारिएको दाबी गरेको हो।

अपहरणमा लिएका इजरायलीसहित विदेशी नागरिकलाई विभिन्‍न स्थानमा राखिएको र पाँच स्थानमा राखिएका १३ जना इजराली हवाई हमलामा मारिएको हमास समूहले दाबी गरेको छ ।

यसअघि हमास समूहले इजरायली सेनाले आक्रमण निरन्तर जारी राखेको अवस्थामा अपहरणमा लिइएका बन्धकहरुलाई लाइभ देखाएर हत्या गर्ने चेतावनी दिएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले भने : नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकको जीवनस्तर बदलिएको अनुभूति दिलाउन वर्तमान सरकार क्रियाशिल रहेको बताएका छन् ।

शुक्रबार काठमाडौको भृकुटीमण्डपमा ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ उद्घाटन गर्दै श्रेष्ठले राजनीतिक परिवर्तनपछि मुलुकमा सुशासन र समृद्धिका साथ नागरिकको जीवनस्तर बदलिएको अनुभूति दिलाउन वर्तमान सरकार क्रियाशिल रहेको बताएका हुन् । उनले सामाजिक न्यायसहितको आर्थिक समृद्धि अहिलेको राष्ट्रिय कार्यभार रहेकाले सवै मिलेर यसलाई पुरा गर्नुपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय पुँजीको विकास गर्न निजी क्षेत्रले सक्रिय भूमिका खेल्नुपर्ने र यसका लागि राज्यले आवश्यक वातावरण निर्माण गर्ने धारणा राखेका छन् ।स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धन तथा विश्वबजारमा पहुँच गराई निर्यातमा सघाउने उद्देश्यले आजदेखि राजधानीमा आयोजना गरिएको एक्स्पो असोज २९ गतेसम्म चल्नेछ । एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुँइकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्रीका स्टलहरु रहेका छन् ।एक्स्पोमा अमेरिका, क्यानडा, युरोप, चीन र भारतलगायत मुलुकबाट पाँच सयभन्दा बढी विदेशी क्रेताको सहभागिता रहेको आयोजकले जनाएको छ । 

१३औं राष्ट्रिय जीनबैंक दिवस बिभिन्न कार्यक्रम सम्पन्न


काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) संघिय सरकारको कृषि क्षेत्रको प्रमुख निकाय भएकोले केन्द्र सरकारको नीति तथा कार्यक्रम अनुसार आफ्नो कार्यक्रम संचालन गर्नु पर्ने बताएका छन् ।

नार्कको अध्यक्ष समेत रहेका कृषि मन्त्री भुसालले नार्कले कृषि अनुसन्धानको क्षेत्रमा विभिन्न समस्याका बाबजुत पनि धेरै काम गरेको भएतापनि देशको आवश्यकता अनुसार अझै आफ्ना अनुसन्धान कार्यलाई अगाडि बढाउनु पर्ने आवश्यक रहेको बताए ।

त्यसैगरी गहुँ तथा अन्य बाली उत्पादनको क्षेत्रमा राम्रो भएतापनि धानको उत्पादन न्युन रहेकोले बिशेषगरी धानको उत्पादन बढाउनका लागि चैते धानको क्षेत्र विस्तार गर्न सकेमा केहि मात्रामा भए पनि उत्पादन बढाउन सकिने उनले बताए ।

चैते धानको क्षेत्र बढाएर धानको उत्पादन बढाउन सकिने बताउदै उनले त्यसका लागि मातहतका कार्यालयले योजना बनाइ कार्यान्वयन गर्नु पर्ने बताए । कृषि मन्त्रालयले आवश्यक सहयोग गर्न तयार रहेको समेत प्रतिबद्ध भुसालले व्यक्त गरे ।

नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताए ।

मन्त्री भुसालको उपस्थितिमा नार्कको केन्द्रीय कार्यालय खुमलटारमा प्रदेश कृषि अनुसन्धान र समन्वय रणनीति साथै परिषद अन्तरगत सबै प्रदेश स्थित कृषि अनुसन्धान निर्देशनालायहरुको हालको अवस्था, समस्या र समाधानका उपायबारेमा समेत छलफल भयो।

कार्यक्रममा परिषद अन्तर्गतका ६ वटा प्रदेशस्थित निर्देशनालय, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय पशु बिज्ञान अनुसन्धान प्रतिष्ठानका निर्देशकहरुले आ(आफ्नो प्रदेशको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे संक्षिप्त प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा नार्कका कार्यकारी निर्देशक डा।ध्रुवराज भट्टराई, प्रदेशस्थित निर्देशनालय, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय पशु बिज्ञान अनुसन्धान प्रतिष्ठानका निर्देशकहरु, नार्क अन्तर्गतका बिषयगत निर्देशकहरु, राष्ट्रिय कृषि प्रबिधि सूचना केन्द्रका प्रमुख, नार्क अन्तर्गतका महाशाखाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो।

अध्यक्ष तथा निर्देशकविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक, बिमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकविरूद्ध उजुरी अख्तियारमा उजुरी परेको छ । सेयर लगानीकर्ताले चारजनाविरुद्ध उजुरी दिएका हुन् । १६ लगानीकर्ताको हस्ताक्षरसहित अख्तियारमा शुक्रबार उजुरी दिएको बताइएको छ । 

लगानीकर्ता तिलक कोइरालाले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरण विरुद्द अख्तियारमा उजुरी दिने भएका छन् । कोइरालाले आज बिहान उजुरी दिने कार्यक्रम रहेकोले बिहान १०:३० बजे अख्तियारमा उपस्थित हुन आम लगानीकर्तालाई आग्रह गरेका छन् ।

बिमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरीत अख्तियारको दुरुपयोग गरी बिमा कम्पनीहरूलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको लगानीकर्ताको आरोप छ ।

बिमा ऐन २०७९ को  दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्थाविपरित अख्तियारको दुरुपयोग गरी 

सिटिजन लाइफ, सन नेपाल, आईएमई लाइफ र रिलायवल लाइफसहित चार वटा बिमा कम्पनीलाई अङ्कित मूल्यभन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिने गरी आह्वानपत्र स्वीकृत गरी कानुन विपरीतको कार्य गरेको निवेदनमा उल्लेख छ । 

बढ्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य बढेको छ । कारोबार साताको पाँचौं दिन बिहीबार बढेको सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन शुक्रबार पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।