आज तरकारी र फलफूलको मूल्य कति छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जस का अनुसार भारतीय गोलभेडाको औसत मूल्य प्रतिकेजी ३२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ५०  रुपैयाँ २० पैसा, रातो आलु ६२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ ७५ पैसा, मुडेको रातो आलु ४६ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ, सुकेको प्याज ७३ रुपैयाँ ८० पैसा, लोकल गाजर १०५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९६ रुपैयाँ, लोकल बन्दा, सेतो मूला, लाम्चो भन्टा र परवर ४५ रुपैयाँ, रातो मूला ७५ रुपैयाँ, तने बोडी ११६ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, मटरकोशा २१० रुपैयाँ, सिमी ६५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, तितो करेला ६४ रुपैयाँ, भटमासकोशा, लौका, डल्लो हरियो फर्सी, सखरखण्ड, पिंडालू, अमला र हरियो तरबुजा ६६ रुपैयाँ ६७ पैसा, घिरौला १०५ रुपैयाँ, झिगूनी ५५ रुपैयाँ, भिण्डी ८४ रुपैयाँ, स्कूस १३ रुपैयाँ, रायोको साग ११५ रुपैयाँ, हरियो प्याज ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ ३२८ रुपैयाँ, कुरीलो ५५० रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, ब्रोकाउली २३५ रुपैयाँ, चुकुन्दर ६५ रुपैयाँ, सजिवन १९० रुपैयाँ, सेलरी ३५० रुपैयाँ, पुदीना ५५० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, कागती २०० रुपैयाँ, लोकल काक्रो ८६ रुपैयाँ, किवि ३०० रुपैयाँ, शरीफा १७५ रुपैयाँ र अकबरे खुर्सानी र अभोकाडो २५० रुपैयाँ र अदुवा १४४ रुपैयाँ तोकिएको छ । 

काठमाडौँ विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन

काठमाडौं । नेपालमा शिल्पकलाको पठनपाठन सुरुआत भएको छ । काठमाडौँ विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो ।

बिहीवारदेखि सुरु भएको उक्त शिक्षा नेपालमा पहिलो भएको काठमाडौँ विद्यश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा मनिष पोखरेलले दाबी गरे ।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले आफूहरुले केही नयाँ काम नगरेको तर पुर्खा र समुदायले गरेको कलालाई नै केही नयाँपन दिन खोजेका बताए । उनले रैथाने कला, परम्परागत कला, ज्ञान र सीपलाई जोडेर अगाडि बढ्ने प्रयास गरेको बताए। उनका अनुसार उक्त कोर्स चार वर्षे रहेको छ । उनका अनुसार बीस विद्यार्थी यसपालि भर्ना भएका छन् ।

कक्षा शुभारम्भका क्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा काठमाडौँ विश्वविद्यालयले शिल्पकलाको पठनपाठन सुरु गरेर कला क्षेत्रको विकासमा योगदान दिएको छ भने ।

उनले प्रदेश सरकारले पनि कलाको विकासमा प्राथमिकता दिएको उल्लेख गर्दै हस्तकला विधेयक प्रदेश संसद्मा टेबल गरिएको जानकारी र्दिए ।

सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिल्प तथा डिजाइन कलामा स्नातक पठाइ सुरु हुनु ललितकला क्षेत्रकै लागि उपलब्धिको कुरा भएको उल्लेख गर्दै यसले ललितकलाको शिर उँचो हुने छ भने ।

उनले ललितकला विकासका लागि प्रतिष्ठानले कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिरहेका बेला प्राज्ञिक क्षेत्रमै परम्परागत कलाको शिक्षा प्रदान हुनु महत्वपूर्ण भएको बताए । 

म्याद थप नगरिँदा करार सेवाका स्वास्थ्यकर्मीले तलब पाएनन्

कञ्चनपुर । दसैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तल  पाएका छैनन् । स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन ।

“म्याद थपका लागि वडा कार्यालयमा जाँदा नगरपालिकामा जान भन्छन”, चौध वर्षदेखि करार पदमा कार्यत स्वास्थ्यकर्मी बसन्त धामीले भने, “नगरपालिका गए वडा कार्यालय जान भन्छन्, म्याद थपका लागि अन्यौलता छाएको छ ।”

म्याद थपकै किचलोका कारण २७ करार पदमा कार्यरत स्वास्थ्यकर्मीले गत साउन महिनादेखि तलब पाएका छैनन् । “काम गर म्याद थप भइहाल्छ भन्छन, बिना तलब कति दिन काम गर्न सकिन्छ”, उनले भने, “नगर प्रमुखलाई यसबारे अवगत गराउँदा आफूलाई यसबारे जानकारी नभएकाले कार्यालय प्रमुखलाई भन्नुपर्ने जवाफ दिएर उम्कन खोज्छन ।”

नगरपालिकाका वडामा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र करारमा कार्यरत स्वास्थ्यकर्मीले सञ्चालन गर्दै आएका छन् । “कोरोना महामारीका बेला बिना तलब तीन महिना बढी काम गरेका छौँ”, स्वास्थ्यकर्मी वीरेन्द्र विष्टले भने, “हाम्रो योगदानको कदर नगरी म्याद थप गरिएको छैन, दसैँमा तलब नपाइदा निकै खल्लो महसुस गरिरहेका छौँ ।”

म्याद थप भएर तलब पठाएको सन्देश कुन बेला मोबाइलमा आउँछ भनेर पर्खेर बसेको उल्लेख गर्दै उनले म्याद थपको सम्झौता नभएकाले तलब नपाइने बताइएपछि निकै निरास भएको बताए ।  शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमानन्द भट्टले करारमा तीन तरिकाले स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा कर्मचारी भर्ना गरिएको बताए ।

“केही स्वास्थ्यकर्मी नगरपालिकाबाट नियुक्त गरिएका छन्”, उनले भने, “केही वडा कार्यालय र केही स्वास्थ्य चौकी व्यवस्थापन समितिबाट नियुक्त गरिएका छन ।” उनका अनुसार नगरपालिकाबाट नियुक्त गरिएकालाई सोझै र व्यवस्थापन समितिबाट नियुक्त भएकालाई स्वास्थ्य चौकीमा उपलव्ध गराइने अनुदानबाट तलबको व्यवस्था गरिँदै आएको छ । वडाबाट नियुक्त भएकालाई वडाबाटै तलब दिइँदै आएको छ ।

करारमा कार्यत स्वास्थ्यकर्मीको म्याद थपका लागि केहीको सम्बन्धित कार्यालयबाट सिफारिस आए पनि केहीको अझै सिफारिस आउन नसक्दा तलब दिन नसकिएको उनको भनाइ रहेको छ । “नगरबाटै करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मीको नियुक्ति पत्र दिनुपर्छ भनेर नगरपालिकामा पत्राचार गरेका छौँ”, वडा नं ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, “कार्यपालिका बैठकमा पनि सबैलाई एकै ठाउबाट नगरबाटै नियुक्ति दिनुपर्छ भनेर छलफल भएको हो, अहिले आएर करारमा कार्यरत स्वास्थ्यकर्मीलाई नियुक्ति नदिएर अन्यौलता सिजर्ना गर्ने कार्य हुदैछ ।”

करारमा कार्यरत स्वास्थ्यकर्मीले तह गत रुपमा तलबको व्यवस्था नहुदा न्यून तलबमा कार्य गर्दै आएका छन । अहेव पदमा कार्यरतले रु १५ हजारदेखि रु १८ पाँच सय तलबमा कार्य गर्दै आएका छन । “खटाइएका काममा लगनशीलतका साथ काम गर्दै आएका छौँ”, स्वास्थ्यकर्मी दिलबहादुर धामीले भने, तलबमा विभेद गरिएको छ, करार सम्झौताको म्याद थप गरी तहगतरुपमा तलबको व्यवस्था गरिनुपर्छ ।” दसैँलगायतका चाडपर्व सहजरुपमा मनाउने वातावरण सृजना गरी म्याद थप गरी तलब उपलब्ध गराइनुपर्ने उनले उल्लेख गरे । 

भारतीय मूर्तिलाई विस्थापित गराउँदै नेपालगञ्जका मूर्तिकार

राँझा । नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् ।

नेपालगञ्ज–८ का छोटु केवटलाई अहिले मूर्र्ति बनाउन भ्याइनभ्याइ छ । नगरभवन सामुन्नेमा अस्थायी टहरा निर्माण गरेर उनले एक महिनादेखि मूर्तिको काम गर्दै आउनुभएको छ । घटस्थापनाको दिनसम्म माग आएका सबै मूर्र्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उनले बताए ।

“तीस पैतीस जति मूर्र्ति तयारी अवस्थामा छन् अरु त्यत्ति तयारी हुँदैछ, अहिले कामले भ्याइनभ्याइ छ”, कलाकार केवटले भने “आजभोलि मूर्र्ति किन्न भारत जानुपर्दैन नेपालगञ्जमै ठाउँठाउँमा बन्ने गरेका छन् ।”

उनका अनुसार, सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्र्ति बनाउने गरिन्छ । तर मूर्तिको सजावटका सामग्री भने भारतीय बजारबाटै आयात गरिन्छ । दसैँको समयमा केही मूर्र्ति बनाउन अर्डर आउँछ भने केही आफैँ बनाएर बिक्री गर्ने गरिएको छ ।

बाँकेको जानकी गाउँपालिका–६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटोसँगै बित्छ । दिनरात उहाँ माटोबाट भगवान्का विभिन्न आकृति बनाउन व्यस्त छन् । नेपालगञ्ज–कोहलपुर सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवानकाे आकृति भरिभराउ छन् । सानै उमेरदेखि मूर्र्ति बनाउने काम गर्दै आउनुभएका उहाँको यो पुख्र्यौली पेसा हो ।  

बाँकेको जानकी गाउँपालिकाबाहेक सदरमुकाम नेपालगञ्जमा पनि तीन चार ठाउँमा व्यावसायिक रुपमा माटोबाट भगवान््को मूर्र्ति बनाएर बिक्री वितरण हुने गरेको छ । दसैँ नजिकिँदै जाँदा मूर्र्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले माटोको मूर्र्ति बनाउन भ्याइनभ्याइ छ । तराईमा–दसैँको बेला घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोबाट बनेका भगवान्को मूृर्तिमा पूजा गर्ने चलन छ ।

“पहिला घरमा सानो–सानो मूर्र्ति बनाउँथ्यौँ पछि ठूलो बनाउन लागेँ । दुर्गा मातालगायत सबै प्रकारको मूर्र्ति बनाउने गरेको छु”, हरिजनले भने, “नवरात्रको बेला सिजन हो । पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ । मेहनत धेरै छ ।”

उनका अनुसार रु २० देखि २५ हजारको एउटा मूर्र्ति बिक्री गर्दा रु चारदेखि पाँच हजारसम्म नाफा हुने गर्दछ । हरिजनले आफूजस्तै अन्य छ जनालाई रोजगारीसमेत दिनुभएको छ । उनीहरुले रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–८ रानी तलाउ नजिकै मूर्र्ति बनाउँदै आएका सन्दीपकुमार वंशकारले डेढ महिनाअघिदेखि माटोबाट तयार पारिएका देवीदेवताको आकृतिमा यतिबेला रङरोगन गर्न भ्याइनभ्याइ भएको बताए ।

उनका अनुसार, यतिबेला कालीगढ मूर्तिरुमा देवदेवीका बाहन र उनीहरुले प्रयोग गर्ने अस्त्रको रङरोगनमा व्यस्त छन् । दुर्गा, लक्ष्मी, गणेश, कार्तिके, बाघ, मुसा, राँगा, सर्प र देवीदेवताका मूर्र्ति तयार भएका छन ।

दुर्गा भगवती, बाघ, भैँसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिकेलगायतका मूर्ति बानउनका लागी एक महिना अगाडि बुक गर्ने गरेको वंशकारले जानकारी दिए । मूर्र्तिको लागि चाहिने औजार र सजावटका सामग्री भारती बजार रुपैडिहाबाट खरिद गरी ल्याउने गरिएको छ । बाँकेको सदरमुकाम नेपालगञ्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दसैँको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूर्र्तिको माग बढ्दै गएको पाइएको छ ।

बाँकेमा माटोबाट मूर्र्ति बनाउने मूर्र्तिकार सङ्गठित हुन सकेका छैनन् । यसका कारण मूर्र्तिको दर मूल्यमा पनि एकरुपता छैन । “सबैले आ–आफ्नै तरिकाले मूर्र्ति बिक्री गर्ने गरेका छौंँ, चिने जानेको नियमित ग्राहकसँग छुट गर्ने पनि गरिएको छ”, नेपालगञ्ज–७ फुल्टेक्राका मूर्तिकार मुकेश गुप्ताले भने, “धेरैजसो रेगुलर ग्राहक छन् तर चिनेको आधारमा एकजनालाई छुट गर्दा धेरैजनासँग घाटा खानुपरेको छ ।”

हस्तकलाको क्षेत्रमा लागेका व्यक्तिलाई सरकारी निकायले चासो नदिएकोमा मूर्र्तिकारको गुनासो छ । “आफैँ सीप सिकेरै यहाँसम्म आएका छौँ”, उनले भने, “आवश्यक सीप र नयाँ प्रविधिका बारेमा जानकारी गराउने हो भने अझै राम्रो गर्न सक्ने छौँ ।”

आजकाे माैसम यस्ताे रहनेछ

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरुमा र कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रहरूमा वर्षाका कारण हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

काठमाडौँ । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए ।

उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।

“इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गर्नुभएकोमा दुई सय ५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ ।”

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गर्नुभएका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए । यस घटनामा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएको एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेका मन्त्री साउदले जानकारी दिए । “आक्रमणमा परी सम्पर्कबिहीन भएका विपिन जोशीको खोजी निरन्तर जारी छ”, उनले भने, “यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौँ ।”

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए । “कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ । त्यसैले उहाँहरुको परिवार तथा आफन्तलाई केही समय धैर्यधारणा गर्र्न म अनुरोध गर्दछु”, उनले भने ।

हाल तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुटेका नेपालीहरुलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनको भनाइ छ ।

परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकको उद्धार गर्न साथ दिइ ऐक्यवद्धता जनाउनुहुने सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरु, इजरायल सरकार तथा नेपाल सरकार, इजरायलको नेपालस्थित राजदूतावास र नेपालको इजरायलस्थित राजदूतावास जस्ता निकायहरु र विमान चालकदलका सदस्यलाई पनि धन्यवाद दिए ।

आजै उद्धार गरी नेपाल ल्याइएका नागरिकहरुलाई विभिन्न गन्तव्यमा पु¥याउनका लागि विमानस्थलमा नेपाल प्रहरी तीन वटा बसहरु तयारी अवस्थामा राखिएको थियो ।

कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडाैं । असाेज २६ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४१ रुपैयाँ १४ पैसा र बिक्री दर १४१ रुपैयाँ ७८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४१ पैसा र बिक्री दर १६४ रुपैयाँ १४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

दसैँको छुट बजारमा यसरी मच्चाइन्छ लुट

काठमाडौँ । दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ । सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भिड छ । दसैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि भएकाले सबै वर्गका नागरिकको बजारमा भिड लाग्छ ।

लत्ताकपडा र जुत्ताचप्पल लगायतका सामान बिक्री गर्ने व्यापारी चाडपर्वमा सबै वर्गका व्यक्तिले आफ्ना परिवार वा छोराछोरीका लागि नयाँ कपडा र जुत्ता किन्ने चलन पहिलेदेखि नै भएकाले त्यस्ता वर्गलाई केही राहत पुगोस् भनेर छुटको व्यवस्था गरेको दाबी गर्छन् । असन चोकको कुर्र्ता, टप्स, सारी पसलमा काम गर्ने एक कर्मचारीले नाम नभन्ने सर्तमा भने, “दसैँअगाडि एक हजारमा बिक्री गर्दै आएको कुर्ता अहिले प्रतिपिस आठ सय रुपियाँ बढाई एक हजार आठ सय रुपियाँ पु¥याएर प्रतिपिस २० प्रतिशत छुट भनिएको छ । यो मात्रै होइन, सारी, टप्स र वान पिस पनि त्यस्तै छ ।” “बालबालिकाका कपडामा त अझ पहिलेभन्दा दोब्बरभन्दा बढी मूल्य वृद्धि गरिएको छ । ती सामान ‘फिक्स’ मूल्य भनेर सेलमा राखिएको छ, उपभोक्ता भने सेल भनेपछि फ्री पाए जस्तै गरी भिड लागेर पानी पिउन पनि पाइँदैन,” उनले थपे । यस्तै कालीमाटी रोडमा जुत्ताचप्पल पसलमा काम गर्ने विनोद न्यौपानेले सकेसम्म सेल भनेर बिक्रीमा राखेको पसलमा सामान नकिन्न सल्लाह दिए ।

उनले भने, “सेल भनेका ठाउँमा धेरै ठुलो खेल हुन्छ । त्यसमा उपभोक्ता सचेत हुनु पर्छ कि गुणस्तरमा समस्या हुन्छ, मूल्यमा गडबड, त्यसैले सकेसम्म त्यस्तोमा सचेत हुनु पर्छ ।” भृकुटीमण्डपमा राखिएको जुत्ताचप्पलको छुट मेलामा छोराछोरीसहित उत्साहित भएर जुत्ता किन्न आउनुभएकी लता अधिकारी जुत्तै नकिनी निराश भएर निस्किए । मेलामा छुटमा जुत्ता पाइन्छ भन्ने समाचार सुनेर आएकी उनले आक्रोशित हुँदै भने, “जुत्ता मेलामा के को छु्ट हुनु रु छुटका नाममा लुट रहेछ नि, न राम्रो छ न सस्तो । बजारमा सजिलै एक हजार दुई रुपियाँमा पाइने जुत्ता यहाँ दुई हजार पाँच सय रुपियाँ तोकेर २० प्रतिशत छुट भनेर झुक्याइएको छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरियामा सिधा उडान गर्ने भनेको सात वर्ष बितिसक्दा पनि आलटाल हुँदै आएको छ । नागरिक उड्डयन प्राधिकरणलाई दक्षिण कोरियाको सिभिल एभिएसन अथोरिटीले सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्न पटकपटक ताकेता गरे पनि बेवास्ता गर्दा आलटाल भएको हो ।

’उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट(मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ तर यहाँको नागरिक उड्डयन प्राधिकरणले समय नदिँदा सात वर्षदेखि नै आलटाल हुँदै आएको हो,’ स्रोतले भन्यो ।

समयमै सेफ्टी अडिट भएको भए दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा वायुसेवा निगमको सिधा उडान भइसक्ने अवस्थामा प्राधिकरणकै कमजोरीले सात वर्षसम्म उडान हुन नसकेको स्रोतको दाबी छ ।

पछिल्लोपटक कोरियाको सिभिल एभिएसनले नागरिक उड्डयन प्राधिकरणलाई अक्टोबर १६ देखि २० मा नेपाल आउने र सेफ्टी अडिट गर्ने प्रस्ताव गरेको थियो । त्यसलाई प्राधिकरणले घुमाउरो भाषामा अस्वीकार गरेका छ । यो समाचार नागरिक दैनिकमा छ ।

सन्दीपले गरे त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने घोषणा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने बताएका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले  सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ ।  आफू कठिन परिस्थितिबाट गुज्रिरहेको खेलमा सहभागी हुन नसक्ने सन्दीपले जानकारी दिए  ।उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ । परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु ।  अर्को भेट नभएसम्म सबैलाई धन्यवाद ।’ 

आज यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रङ्गीबिरङ्गी÷छिरबिरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नागदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नैराश्य र एकोहोरोपन बढ्नसक्छ, कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्ने दिन हो । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो । याद गर्नुहोला, अवसर आए पनि हतारको कामले लतरपतर हुनसक्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शुं शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गं गणपतये नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँके÷ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वैभवलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ । मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । सरकारी वा प्रशासनिक समस्या हल हुनेछन्, व्यक्तिगत प्रतिष्ठा र धनधान्यमा पनि बृद्धि हुनेछ, तर अहङ्कार र आडम्बरबाट जोगिनु बेस हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कवये नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । लक्ष्य र उद्देश्यको मूल्याङ्कन र परिमार्जन गर्ने समय हो, नयाँ काम सुरु गर्ने हो भने पहिले योजना बनाउनुहोस्, अनिमात्र प्रयास गर्नुहोला । कुनै प्रस्तावउपर विचार÷विमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अद्भूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रै समय छ, तर पनि आर्थिक पक्ष र घरायसी वातावरणमा केही उतारचढाव देखा पर्नसक्छ । आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अनन्ताय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । आज ३५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ । आज ०५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धर्मराजाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

क्रूरता र कडापन देखिने छ, परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयम हुनुहोला, त्यस्तै घरमा सम्पर्क गरी आमासँग कुराकानी गरेको जाती हुन्छ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ सेतो÷चम्किलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भार्गवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

आज राष्ट्रिय सभाकाे बैठक बस्दै

काठमाडाैं । आज राष्ट्रिय सभा बैठक बस्दैछ । संङ्घीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ। बैठक बिहान ११ः३० बजे बोलाइएको छ।

संङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक बर्ष २०७९/८९को बार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन्। 

रमेशजंग रायमाझीले राष्ट्रिय सभा नियमावली, २०७५ संसोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तथा प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री अशोककुमार राइले ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०’ बैठक समक्ष प्रस्तुत गर्नेछन् । 

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधायन सम्बन्धी विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

अधिकृतविरुद्ध झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानका अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्युठानमा कार्यरत अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । प्रवक्ता दाहालका अनुसार बुढाथोकी क्षेत्रीको सर्टिफिकेट छानबिन गरी पाउँ भन्दै आयोगमा उजुरी परेको थियो । 

सोही उजुरीका आधारमा अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको पाइएको आयोगको दाबी छ ।

राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा शुरू नियुक्ति भई वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भै सरकारी लाभ तथा सुविधा लिएको देखिएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये सार्वजनिक सम्पत्ति हानि नोक्सानी र गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको

सम्बन्धी ३ मुद्दाहरूमा आयोगले सर्वोच्चमा पुनरावेदन दिएको हो । अख्तियारका अनुसार उक्त मुद्दामा डा. नरेश प्रताप केसी, हरि बहादुर हमाल र जीवन कुमार मल्ल प्रतिवादी रहेका छन् । 

यस्तै अर्को मुद्दामा हानन्द खनाल, गोले अलि धुनिया, अजिजुर्रहमान मुसलमान र पुनवासी कुरमी प्रतिवादी रहेका छन् । 

अख्तियारले आज पुनरावेदन गरेका भ्रष्टाचारसम्बन्धी मुद्दामा महेश कुमार यादव, रमेश मरीक यादव, सन्तोष कुमार रजक, सुभाष चन्द्र लाल, सुशील कुमार यादव, रम्भादेवी यादव , शिव शंकर मण्डल, रुवी गुप्ता र हरी प्रसाद मोची प्रतीबादी रहेका छन् । 

नेपालले इरानलाई जितका लागि ३५४ रनको लक्ष्य दियो

काठमाडौँ । उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ । मलेसियाको बान्गीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ३५३ रनको योगफल बनायो ।

नेपालको इनिङमा कप्तान देव खनालले सतक प्रहार गरे भने ओपनर दीपक बोहरा र दीपकप्रसाद डुम्रेले अर्धसतक बनाए । तेस्रो नम्बर क्रिजमा आएका कप्तान देवले ५०औँ बल खेल्दै १२ चौका र ४ छक्काको मद्दतमा एक सय रनको योगदान दिएका हुन् । दीपक बोहराले ५९ बलमा ६५ रन बनाए । उनले चार चौका र २ छक्का हानेका हुन् । पाँचाँै नम्बर क्रिजमा पुगेका दीपक डुम्रेले ४४ बलमा ६९ रन बनाए ।

देव र दीपकले तेस्रो विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए । दीपेश कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ र सुभास भण्डारी १८ रन जोडे । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा एसियाका विभिन्न १६ एशोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा  नेपालसहित बहराइन, साउदी अरेविया र इरान छन् भने समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन् । समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया जापान र इन्डोनोएसिया छन् । प्रतियोगिताका शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्न पाउने छन् ।