नेपाल-श्रीलङ्काको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा

कोलम्बो । नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडौंमा हुने भएको छ । आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५ र ६ गतेका लागि बैठक तय भएको छ ।

यद्यपि यो बैठक गत वर्षको वैशाखमा श्रीलङ्काले आयोजना गर्नुपर्ने थियो । श्रीलङ्का सरकारको आसयको आधारमा नेपालले काठमाडौँमा बैठक आयोजना गर्न लागेको हो ।
 
बैठकमा नेपाल र श्रीलङ्काबीच रहिआएको बहुआयामिक सम्बन्धका विविध विषयमा छलफल हुने यहाँस्थित नेपाली राजदूत वासुदेव मिश्रले जानकारी दिए । उनका अनुसार कूटनीतिक एवं व्यापारिक, सांस्कृतिक, शैक्षिक सम्बन्ध कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा बैठकमा व्यापक छलफल हुनेछ ।

कोभिड–१९ महामारीपछि नेपालबाट श्रीलङ्का आउने र श्रीलङ्काबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको उल्लेख गर्दै राजदूतले मिश्रले नेपाली पर्यटकका लागि श्रीलङ्का मुख्य गन्तव्य हुनसक्ने बताए । नेपाल र श्रीलङ्काबीचमा छोटो हवाई दूरी र खानपिन एवं रहनसहन मिल्ने भएकाले पनि श्रीलङ्का नेपालीका लागि उपयुक्त र श्रीलङ्कनका लागि पनि नेपाल उपयुक्त पर्यटकीय गन्तव्य हुने उनको भनाइ छ ।

द्विपक्षीय सम्बन्ध

नेपाल र श्रीलङ्काबीच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीचको सम्बन्ध सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहिआएको छ । आगामी वर्षदेखि नेपाल र श्रीलङ्काका बीचमा नयाँ अध्याय सुरु हुने राजदूत मिश्रको विश्वास छ । नेपाल र श्रीलङ्का सम्पर्क एवं सम्बन्ध विस्तारका लागि विश्वविद्यालयका भाइस चान्स्लर, प्राध्यापक र सरकारका उच्च पदस्थ अधिकारी र सरकारी एवं अन्य गैरसरकारी निकायका प्रमुखसँगको छलफल घनिभूत बनाएको राजदूत मित्रले जानकारी दिए ।

श्रीलङ्कामा ४२ देशका कूटनीतिक नियोग रहेका छन् भने अरु १२/१५ वटा अन्तर्राष्ट्रिय संस्थाका कार्यालय रहेका छन् ।

नेपालले सन् १९७५ मा कोलम्बोमा महावाणिज्य दूतावास स्थापना गरेको थियो भने सन् १९९५ मा कोलम्बोमा नेपाली दूतावास स्थापना गरेको थियो । त्यसैगरी श्रीलङ्काको काठमाडौँमा सन् १९९३ देखि आवासीय दूतावास रहिआएको छ । सन् २०१७ मा नेपाल र श्रीलङ्काले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्ष मनाएका थिए ।

नेपाल र श्रीलङ्का दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य हुन् र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य पनि हुन् ।

उच्चस्तरीय भ्रमण

उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्‍याएको बताउँदै आगामी दिनमा पनि दुई देशबीचमा उच्चस्तरीय भ्रमणले निरन्तरता पाउने राजदूत मिश्रको बुझाइ छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चौथो बिमस्टेक शिखर सम्मेलनमा २०१८ मा नेपालको भ्रमण गरेका थिए ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१७ मेमा क्यान्डीमा आयोजित अन्तर्राष्ट्रिय वेसाक दिवसको समापन समारोहमा सहभागी हुन श्रीलङ्काको भ्रमण गरेकी थिइन् भने त्यसैगरी १८औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन श्रीलङ्काका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेले नोभेम्बर २०१४ मा नेपाल भ्रमण गरेका थिए ।

अब हुने विदेशमन्त्रीस्तरीय बैठकले सबै किसिमका ढोका खोल्ने विश्वास व्यक्त गर्दै राजदूत मिश्रले आगामी दिनमा कार्यकारीस्तरको भ्रमण हुने विश्वास व्यक्त गरे  ।

द्विपक्षीय व्यापारका सम्भावना

नेपालले श्रीलङ्कामा ऊन, कपडा निर्यात गर्दै आएको छ भने  श्रीलङ्काबाट कफी, अनाज, विविध रासायनिक उत्पादन, तेल र चिकित्सा वा शल्य चिकित्सा उपकरण आदि रहेका छन् ।

आगामी दिनमा हुने विदेशमन्त्री स्तरीय बैठकमा व्यापार, वित्त, कृषि, उद्योग र पूर्वाधारको विकास, विज्ञान तथा प्रविधि, लगानी र आपसी हितका विषयमा विचार विमर्श हुनेछ ।

राजदूत मिश्रका अनुसार आगामी दिनमा नेपालबाट मौसमी फलफूल, तरकारी एवं मिनिरल वाटर श्रीलङ्का ल्याउन सकिनेछ भने श्रीलङ्काबाट नरिवल तेल, औषधीजन्य सामग्री नेपाल लैजान सकिन्छ ।

सन् १९७९ अप्रिलमा द्विपक्षीय व्यापार सम्झौतामा हस्ताक्षर भए पनि दुई देशबीचको व्यापारको मात्रा न्यून रहेको छ ।

नेपाल र श्रीलङ्का

दुई देशबीच तुलना गर्दा नेपालभन्दा आर्थिक हिसाबले श्रीलङ्का नेपालभन्दा माथि देखिन्छ । प्रतिव्यक्ति आय, अर्थतन्त्रको आकार पनि नेपालको भन्दा बृहत् रहेको राजदूत मित्रले बताउनुभयो । त्यसो त वैदेशिक ऋण पनि नेपालको भन्दा श्रीलङ्काको बढी रहेको छ । उनले भने, “ऋण धेरै भयो भन्दैमा त्यो देशको आर्थिक अवस्था नराम्रो छ भन्ने हुँदैन, ऋण त परिचालन गर्ने हो, जहाँबाट उत्पादनका लागि पैदा गर्ने उत्साह पैदा गर्छ ।”

नेपाल–श्रीलङ्काको साझा विन्दु पहिल्याउनका लागि धेरै प्रयास भइरहेका छन् । श्रीलङ्काको समाजसँग भिज्ने र त्यहाँ रहेका कूटनीतिक नियोगसँग सम्पर्ग बढाउन आफू लागि परेको उल्लेख गर्दै उनले आगामी वर्षदेखि नेपालका लागि प्रतिफल दिने विश्वास व्यक्त गरे । 

पोखराको प्याराग्लाइडिङ : पुन : तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी

कास्की । पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकामा पछिल्लो समय पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो । पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावपानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ ।

अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुङ्गा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा रहेको छ । सुरुवातदेखि नै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित बनाउने गरेको थियो ।

मान्द्रेढुङ्गाबाट उडान सञ्चालन गर्दा पर्यटक आकर्षित हुन सकेका थिएनन् भने प्याराग्लाइडिङ गर्नेको सङ्ख्यासमेत घटेको छ । नेपाल हवाई खेलकुद संस्था(ना)ले मान्द्रेढुङ्गाबाट हुँदै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा क्षेत्र विस्तार गरी बाहाकोट र तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ गर्ने निर्णय भएको जनाएको छ ।

नाको बुधबार पोखरामा आयोजना गरिएको २० औँ वार्षिक साधारणसभामा नागरिक उड्डयन प्राधिकरण(क्यान)का विज्ञको सहयोग लिई प्याराग्लाइडिङ उडान क्षेत्र र अवतरण क्षेत्र विस्तार गर्न लागिएको नाका अध्यक्ष सुनिल भट्टराईले बताए ।

क्यानले लामो प्राविधक अध्ययनपछि तोरीपानीसम्म उडानलाई क्षेत्र विस्तार गर्न सहमति दिएको उनले बताए । अध्यक्ष भट्टराईले भने, “मान्द्रेढुङ्गा क्षेत्र विस्तार गरी बाहाकोटबाट उडानको निर्णय भइसकेको छ । उक्त क्षेत्रको एआइपी प्रकाशित भएसँगै पूर्ववत् स्थानबाट प्याराग्लाइडिङ सञ्चालन गर्छौं ।”

पोखरामा दुई दशकअघिदेिख  प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । पर्यटकीय सहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन् । पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्दछन् ।

नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले प्याराग्लाइडिङमा सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । पोखराको पहिचानलाई देश विदेशमा स्थापित गर्न प्याराग्लाइडिङले ठूलो योगदान गरेको उनको भनाइ छ ।

“आगामी दिनमा यहाँ प्याराग्लाइडिङका गतिविधि अझ वृद्धि हुँदै जाहोस् । यसलाई सुरक्षित बनाउनेतर्फ ध्यान पुग्नुपर्दछ, विकासका लागि क्यानको तर्फबाट सहयोग गर्नेछौँ”, प्रमुख श्रेष्ठले भने । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्याराग्लाइडिङले पोखराको समृद्धिमा योगदान गरेकाले यसलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताए । “प्याराग्लाइडिङको राम्रोसँग नियमन, अनुगमन र व्यवस्थापन गरी पोखराको ब्राण्डका रुपमा सधँै स्थापित गर्नु आवश्यक छ ।” उनले भने ।

हवाई खेलकुदको माध्यउमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने गरी विसं २०५९ मा नेपाल हवाई खेलकुद संस्थाको स्थापना गरिएको थियो । सुरुवातमा सात वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनीबाट संस्था सुरु गरिएकामा हाल ६२ व्यावसायिक कम्पनी रहेका छन् ।

त्यसैगरी कम्पनीअन्तर्गत तीन सय ९९ प्याराग्लाइडिङ पाइलट क्रियाशील रहेको नाका निर्वतमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । 

मृतावस्थामा गैँडा फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए । उनले भने, “जुधेर गैँडा मरेको हो ।” चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ । 

इजरायल–हमास युद्धमा २४ सयभन्दा बढीको ज्यान गयाे

काठमाडौं । गत शनिबारदेखि जारी इजरायल–हमास युद्ध आज छैठौं दिनसम्म पनि जारी रहेकने छ ।  गत शनिबार बिहान हमासले अप्रत्याशित रूपमा हमला गरेपछि युद्धको अवस्थाको घोषणा गरी इजरायल पनि प्रत्याक्रमणमा उत्रिएपछि दोहोरो युद्ध जारी रहेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई पक्षबीचको जारी भिडन्तमा अहिलेसम्म  २४ सयभन्दा बढी जनाको मृत्यु भइसकेको छ । हमासको हमलाबाट इजरायलमा १२०० जनाको मृत्यु भएको छ भने गाजा पट्टीमा इजरायली वायुसेनाको गोलाबारीमा १२०० सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा ठूलो संख्यामा महिला र बालबालिका रहेका छन् भने जरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो सेनाले हमासको नामनिशानै  मेटाउने चेतावनी दिएका छन् ।

शनिबारमा युद्धमा परेर १० जना नेपाली नागरिकहरुको पनि ज्यान गएको छ भने एकजना अझै हराइरहेका छन् । 

इजरायल उड्यो परराष्ट्रमन्त्री साउदसहितको टोली

काठमाडौं । युद्धग्रस्त इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोली नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे इजरायल प्रस्थान गरेको हो ।

जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने छ । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने निर्णय पनि गरेको छ ।

इजरायलमा मृत्यु भएका १० नेपालीको शव भने तत्काल नआउने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी हमलामा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल आइपुग्न अझै केही समय लाग्ने जनाएको छ ।

आजको राशीफल

मेष :  चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। हल्लाको पछि लाग्दा अलमल हुनेछ। तापनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा अलमल हुनेछ।

वृष :  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मिथुन :  का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थिति अलि संघर्षपूर्ण रहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मिहिनेत परे पनि कर्मफल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ।

कर्कट :  हि, हु, हे, हो, डा, डि, डु, डे, डो

निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउनलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। 

सिंह :  मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समय फुर्सदिलो रहनाले भेटघाटको अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान-सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कन्या :  टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खर्च लागे पनि प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।

 तुला :  र, रि, रु, रे, रो, ता, ति, तु, ते

 दैनिक काममा उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा रकम बाहिरिन सक्छ। उधाराे व्यापारले रकम अड्किन सक्छ। किनमेलमा पनि अधिक खर्च हुन सक्छ।

वृश्चिक :  तो, ना, नि, नु, ने, नो, या, यि, यु

 आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामकाे जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जाेखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।

  धनु :  ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

 परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय त्यति प्रतिकूल भने छैन। शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ।

मकर :  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

 मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। कामकाे चाप बढ्ने समय छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। उधाराेमा व्यापार गर्नुपर्ला। आफ्नाे सूचना बाहिरिन स्क्छ, सजग रहनुहाेला। धेरै फाइदा नभए पनि मिहिनेत गर्दा आंशिक लाभ उठाउन भने सफल भइनेछ।

कुम्भ :  गु, गे, गो, सा, सि, सु, से, सो, द

काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ।

 मीन :  दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ। कामका लागि निकै दौडधुप गर्नुपर्ला। स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला।

आजको मौसम कस्ताे रहनेछ ?

काठमाडाैं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।  कोशी, मधेश, बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक  दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रहरूमा वर्षाका कारण हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

बझाङमा मध्यरातमा पुन: भूकम्पको धक्का

बझाङ । बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५।२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५।३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक भूकम्पको परकम्प गएका छन् ।

गत मङ्गलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए । साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो ।

अहिले स्थानीय खुला चौरमा जम्मा भएका छन् । सुतेको बेलामा भूकम्पको धक्का आएपछि भागदौडको स्थिति आएको खप्तडछान्ना गाउँपालिका–५ का राजेश कार्कीले बताए ।

बेनी बजारमा अतिक्रमित संरचना भत्काउन थालियो

बेनी । म्याग्दी सदरमुकाम बेनी बजारभित्रको सडकलाई अतिक्रमणमुक्त बनाउने अभियान सुरु भएको छ । बेनी नगरपालिकाले बजारभित्र सडकलाई अतिक्रमण गरी बनाइएका सडक, पेटी र अव्यवस्थित पूर्वाधार हटाउन थालेको हो ।

पटक–पटकको अनुरोध र सार्वजनिक सूचनालाई अटेर गरेपछि नगरपालिकाले बेनीको अस्पतालचोकबाट सडक मापदण्डलाई कार्यान्वयनमा ल्याउनका लागि अतिक्रमित संरचना भत्काउन सुरु गरेको छ । सडक मिचेर बनाइएका र अव्यवस्थितरूपमा बनाइएका पेटी, सिँढी भत्काउने र सडकलाई पराकिलो बनाउन काम अघि बढेको बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए ।

नगरपालिकाले डोजर लगाएरै अतिक्रमित संरचना भत्काउन थालेको छ । अतिक्रमित जग्गामा बनेका संरचना भत्काउन जनप्रतिनिधिले समन्वय गर्ने गरी डोजर र नगर प्रहरीलाई परिचालन गरिएको उनले बताए ।

बेनी बजारलाई अतिक्रमणमुक्त बनाउने अभियानअन्तर्गत नगरपालिकाका प्रमुख सुरत केसीको शिक्षामार्ग र महारानीथानमा आफ्नै लगानीसमेत रहेको माउण्ट एभरेष्ट आवासीय माविले मिचेको सडक र घरको अव्यवस्थित पेटी भत्काएर अभियान सुरु गरिएको थियो ।

नगरपालिकाले वडाका जनप्रतिनिधिसहितको टोली खटाएर करिब पाँच महिना अगाडि घरमा मोटरसाइकल लैजान सडक छेउछाउका घरधनीलाई अव्यवस्थितरूपमा बनाइएका सडकपेटी आफैँ हटाउन भनी सार्वजनिकरूपमा ‘रेडमार्क’ लगाए पनि घरधनीले अटेर गरेपछि नगरपालिका आफैँले बाध्य भएर डोजर चलाएर अव्यवस्थित सडकपेटी हटाउन सुरु गरेको नगरप्रमुख केसीले जानकारी दिए ।

बजार क्षेत्रमा साँघुरो सडक र त्यही सडक मिचेर पेटी तथा अस्थायी संरचना, पाली बनाएपछि हिँडडुल गर्न अप्ठेरो भएको थियो । सडकपेटीका कारण पैदलयात्रीलाई निकै सास्ती भएको थियो । नगरपालिकाले बजारभित्र अस्थायी र सार्वजनिक संरचनामा व्यवसाय सञ्चालन गरिरहेकालाई समेत धमाधम हटाउन थालेको छ ।

नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थितरूपमा रहेका बिजुली, केबल र इन्टरनेटका पोल तथा तारसमेत व्यवस्थित गरिसकेको छ । बेनीको वीरेन्द्रचोक, कालीपुल बसपार्क, हस्पिटलचोक, हाँडेभिर क्षेत्र तथा बेनी बजारभित्र पनि धेरै ठाउँमा मापदण्डविपरीतका संरचना छन् । नगरपालिकाले यो आर्थिक वर्षभित्र सबै संरचना हटाउने अभियानअन्तर्गत वीरेन्द्रचोकमा रहेको १५ सटर पसल तथा ट्याङ्की, बसपार्क, कालिपुल, पिपलचोकमा व्यापारिक प्रयोजनको संरचना हटाइसकेको छ ।

सशस्त्रका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त महानिरीक्षक अमेरिका प्रस्थान

काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक र नेपाल प्रहीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीसमेतले त्यसतर्फ प्रस्थान गरेका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हालेका छन् ।

यस्तै निमित्त प्रहरी महानिरीक्ष, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको तीन सदस्यीय टोली पनि सोही कार्यक्रममा भाग लिन मङ्गलबार मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । उक्त टोलीमा उनका साथमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित रहेका छन् ।

सम्मेलनमा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय–प्रहरी साझेदारी अवधारणाअनुरूप मानव बेचबिखनका पीडितको सशक्तीकरण र विश्वास अभिवृद्धिलगायत विविध विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।

यसअघि यही असोज २० गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतसहित चार सदस्यीय टोली संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको थियो । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन उनीहरू गएका हुन् ।

आज एमाले मधेस प्रदेश अधिवेशन

जनकपुरधाम । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।

उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिए । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।

सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ : सांसद तिवारी

काठमाडौँ । “मुलुकमा अहिले उठिरहेका प्रमुख एवं समसामयिक मुद्दालाई सदनमा निरन्तर प्रवेश गराउन कोसिस गरेका छौँ, तर हामीलाई समय दिइन्न, पाइनुपर्ने समय पनि घटाइन्छ, प्रश्नको जवाफ आउन्न, अहिले सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ लक्ष्मी तिवारीले सदनका नाममा राज्यको ढुकुटीबाट दैनिक रु १० लाख खर्च भए पनि त्यहाँ हुने सबै गतिविधि बजेट सक्न गरिएको नाटक मञ्चनजस्तो भान भएको प्रतिक्रिया दिइन् ।

चालु संसद् अभ्यासबारे उनी भन्छिन्, “नियत ठीक भए हामीले बोल्नै पर्दैन, उठाइएका विषयको सुनुवाइ छैन, एक दिन बैठक हुन्छ, पाँच दिन खाली, यो बीचमा जिल्ला पुग्न पनि गाह्रो छ । यहाँ बसौ विजनेस दिइन्नँ, सदन चल्दैन ।”

भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गर्दै सुशासन प्रवर्द्धनलाई मुख्य मुद्दा बनाएर छोटो राजनीति अभ्यासबाट सदनमा प्रवेश गरेको रास्वपालाई सरकारका काम र अहिले सदनमा भइरहेको अभ्यास चित्त नबुझेको सांसद तिवारीको भनाइ छ ।

सामाजिक अभियन्तासमेत रहेकी उनी १५ वर्षदेखि व्यक्तिगत तथा सङ्घसंस्थामा आबद्ध भई सामाजिक विकास, सचेतना, मानवअधिकार तथा महिला अधिकार र विविध मुद्दामा पैरवी गर्दै आएकी छिन्। आमाको नामबाट नागरिकता दिलाउने व्यवस्थाका लागि लामो समय सङ्घर्ष गरेकी उनी यतिबेला भने त्यही कानुन बनाउने प्रमुख थलो सदनमा छिन् ।

मुलुकमा भएका संविधान र कानुनको पहिले कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै नेतृ तिवारी भन्छिन्., “विद्यमान कानुन कार्यान्वयनमा जाँदा कुन जाति, भाषा, धर्म, व्यक्ति र समुदायलाई अप्ठेरो पर्यो, त्यसका आधारमा नयाँ कानुन बनाएर जान सकिन्छ, तर पहिले भइरहेका कानुन त कार्यान्वयन गरौँ ।”

संसद्मा प्रवेश पाएको विधेयक संसदीय समितिमा गहन छलफल गरी सदनमा लैजानुपर्नेमा स्वाभाविक प्रक्रियाका चरण नै उल्लङ्घन भएको आरोप लगाउँदै नेतृ तिवारीले नयाँ कानुन बनाउँदासमेत आवश्यक छलफल र बहस हुन नसकेको प्रतिक्रिया दिइन् ।

सदनमा रास्वपाका सांसदहरूले राष्ट्र, राष्ट्रियता र जनहितका मुद्दालाई प्रखररूपमा उठाइरहेको दाबी गर्दै उनले आफूहरूले जनताका आवाज उठाएकाले त्यसलाई सम्बोधन गर्नु राज्यको प्राथमिक दायित्व भएको धारणा राखिन् । पहिलोपटक सदनमा पुगेकाले अभ्यासका क्रममा आफूहरूबाट पनि कतिपय कमी–कमजोरी हुनसक्ने उल्लेख गर्दै सांसद तिवारीले प्रारम्भिक दिनको तुलनामा अहिलेसम्म आइपुग्दा अनुभवले धेरै निखारपन आएको विचार प्रकट गरिन्।

उनले भनिन्, “हामी चाहन्छौँ, जनता र देशको सर्वोत्तम हित होस्, त्यसका लागि प्राप्त हुने सबैको सहयोग, सुझाव र असल अभ्यासलाई ग्रहण गर्छौ निरन्तर आवाज उठाउँछौँ ।” भ्रष्टाचार र सुशासनका मुख्य एजेण्डा कार्यान्वयन गराउन पार्टी अडिग रही आवाज बुलन्द गरिहेको बताउँदै सांसद तिवारीले नागरिक पनि राज्यबाट प्राप्त हुने सेवा–सुविधा लिने प्रक्रियाबारे जानकार हुन आवश्यक रहेको धारणा राखिन्।

उनले एउटा जनप्रतिनिधिका रूपमा आफूले निरन्तररूपमा सामाजिक मुद्दा, मानवअधिकार, महिला अधिकार तथा न्यायका लागि आवाज उठाइरहने बताइन् । संविधानले महिलाको हक तथा अधिकारका लागि सकारात्मक व्यवस्था गरे पनि कार्यान्वयन चरणमा अझै समस्या रहेको बताउँदै नेतृ तिवारीले महिलालाई बोल्न दिइए पनि अवसरबाट बञ्चित गरिँदै आएको घटना सुनाइन्।

महिला, बालकालिका, ज्येष्ठ नागरिक र युवासमेत आधारभूत र असल शिक्षाको अभावमा जीवन नै बर्बाद हुने गलत बाटोमा संलग्न भइरहेका उदाहरण प्रस्तुत गर्दै नेतृ तिवारीले सामाजिक अभियानका माध्यमबाट पनि त्यसमा सुधार ल्याउन सकिने अनुभव सुनाइन् ।

उनले भनिन्, “देशले अवलम्बन गरेको हालको शिक्षा नीति ठीक छैन, मुलुकमै बसेर राष्ट्रसेवा गर्नेभन्दा विदेश पलायनका लागि युवा विद्यार्थीलाई प्रेरित गरिरहेको छ, यसमा व्यापक सुधारको खाँचो छ ।” जनताले विकल्पसहितको परिवर्तन खोजेकाले पुराना दलकै कारण युवाले राजनीतिमा प्रवेश पाएका प्रसङ्ग उल्लेख गर्दै उनले साँच्चिकै देश निर्माणको अभियानमा जुट्ने हो भने युग सुहाउँदो कानुन निर्माणका साथ पुरानाका अनुभव र नयाँपुस्ताको गतिलाई पक्रनुपर्ने बताइन् ।

पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक

मलेखु । चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् ।

राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढङ्गले दुईतर्फी सवारीसाधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालयसहित तीनवटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायत निकाय एक भएर अघि बढ्ने मङ्गलबार संयुक्त निर्णय गरेका छन् ।

राजमार्ग विस्तारका काम गर्ने सिलसिलामा सडक छेउकुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन विभिन्न खण्डमा रहेको खाल्डाखुल्डी तत्काल पुरी सहज बनाउन र आवश्यक स्थानमा ‘स्पिड लाइन’ सहित ट्राफिक सङ्केत, ऐना आदिको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सम्बन्धित सडक आयोजना तथा निर्माण व्यवसायीलाई निर्देश गरे ।

जिल्लाभित्रका अन्य सडकमा समेत सहज ढङ्गले आवतजावतको व्यवस्था मिलाउन सडक मर्मतसम्भारलाई तीव्रता दिई अवरुद्ध रहेका सडक तत्काल सुधार गराउन एवं सञ्चालनमा रहेका सडकको स्तरोन्नति गर्न सम्बन्धित सडक कार्यालय÷आयोजना र निर्माण व्यवसायीलाई निर्देशन दिइएको उनले बताए ।

चाडपर्वको समयमा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा असुल गर्नेलगायत गुनासो आउन नदिने गरी आवश्यक सङ्ख्यामा सवारीको व्यवस्था गर्न सम्बन्धित व्यवसायी पनि सहमत भएका छन् । चाडपर्वका समयमा मानिसको आवतजावत बढेसँगै सवारी चापसमेत वृद्धि हुने र सवारी दुर्घटना बढ्न सक्ने हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारीको नियमित प्राविधिक परीक्षण गराई चुस्त अवस्थामा राख्ने, सवारी चालक तथा सहचालकलाई अनुशिक्षण र नियमित रूपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

राजमार्गको यात्रा सुरक्षित बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न कार्यक्रमसहित नियमित जाँचलाई तीव्र बनाइरहेको छ । चालक सहचालकले मादक पदार्थ सेवन गरेर सवारी हाँकेको भेटिए अभद्र व्यवहारको मुद्दा चलाउने र बढी भाडा असुलेको फेला परे ठगी गरेको कसुरमा मुद्दा चलाइने धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

रुकुम पश्चिमकाे सल्लेमा प्रसूति कुरुवा घर सञ्चालन

रुकुम पश्चिम । रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा आएको छ । कर्णाली प्रदेशमै पहिलो पटक प्रसूति कुरुवा घर सञ्चालनमा आएको हो ।

गर्भवती तथा सुत्केरी र उनीहरुका कुरुवालाई बस्न सहज होस् भनेर अस्पताल परिसरमा कुरुवा घर निर्माण गरिएको हो । ‘वान हर्ट वल्ड वाइड’ तथा रुकुमेली समाज विकास केन्द्र र अस्पताल विकास समितिको साझेदारीमा कुरुवा घर निर्माण गरिएको वान हर्ट वल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिए । उक्त घर निर्माणमा २९ लाख ४८ हजार खर्च भएको छ । यसमा अस्पताल विकास समितिले चार लाख खर्च गरेको छ ।

“गर्भवती र तिनका कुरुवा अब निःशुल्करूपमा यहाँ बस्न पाउने छन्”, संयोजक गिरीले भने । कुरुवा घरमा चार श्ययासहित भान्साको व्यवस्था छ । गर्भवती तथा सुत्केरीलाई मापदण्डअनुसारका खानेकुराको व्यवस्था अस्पतालले गर्नेछ ।

विश्वकप क्रिकेटमा इंग्ल्यान्डद्वारा बंगलादेश १३७ रनले पराजित

एजेन्सी । साविक विजेता इंग्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । भारतमा जारी विश्वकपमा इंग्ल्यान्डले मंगलबार बंगलादेशलाई १३७ रनको फराकिलो अन्तरले हराएको हो ।  

इंग्ल्यान्डले जितका लागि दिएको ३ सय ६५ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा अलआउट हुँदै २२७ रनमै समेटिएको हो । बंगलादेशका लागि ओपनर लिटन दास र मुष्फिकर रहिमले अर्धशतकीय इनिङ खेले तर, जित निकाल्न सकेनन् । दासले सर्वाधिक ७६ रन बनाउँदा रहिमले ५१ रन जोडे । 

साथै टाउहिद हृडोयले ३९ रन जोड्दा तास्किन अहमदले १५ रन, महेदी हसनले १४ रन तथा सोरीफुल इस्लामले १२ रन बनाउनुबाहेक अन्य खेलाडी चल्न सकेनन् ।  

बलिङमा इंग्ल्याण्डका लागि रिक्की टोप्लेले सर्वाधिक ४ विकेट लिए भने क्रिस वोक्सले २ तथा स्याम करन, मार्क वुड, आदिल रशिद र लियाम लिभिङस्टोनले समान एकएक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३६४ रन बनाएको थियो । इंग्ल्याण्डका लागि डेविड मलानले सानदार शतकीय पारी खेले । उनले १०७ बलमा १६ चौका र पाँच छक्कासहित १४० रन जोडे । साथै जो रुटले ८० रन तथा जोन्नी बेरस्टोले ५२ रनको अर्धशतकीय इनिङ खेले । 

बलिङमा बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक ४ विकट लिए । सोरीफुल इस्लामले ३ तथा तस्किन अहमद र शकिब अल हसनले समान एक एक विकट लिए ।