आज बुधबार विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ८१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ०० पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

दशैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ

काठमाडौँ । दशैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दशैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् ।

काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार हवाई यातायाततर्फ सार्वजनिक यातायात जस्तो ठ्याक्कै यो दिन टिकट खुल्ने भन्ने व्यवस्था नरहेकाले यात्रुले सस्तो दरका सबै टिकट काटिसकेका छन् । उनले भने, “बुद्ध एयरको सुर्खेत र तुम्लिङटारको टिकट दसैँसम्मलाई नै प्याक भइसकेको छ । अन्य गन्तव्यतर्फ दसैँसम्मका २० प्रतिशत टिकट बाँकी नै छन् ।”

अग्रिम टिकट काट्नेले सस्तो र तुरुन्तै टिकट काटेर उड्न चाहनेले महँगो टिकट लिन सक्ने भएकाले महिना दिन पहिलेदेखि नै दशैँका टिकट लिनेसमेत रहेको उनले बताए । दसैँका बेला राजधानीबाट बाहिरिने उडान भरिभराउ भए पनि राजधानी फर्किने उडानको टिकट लिनेको सङ्ख्या भने न्यून रहेको उनले बताए । अहिले राजधानी फर्किनेले टिकट सस्तो दरमा पाइरहेको समेत उनको भनाइ छ ।

त्यस्तै यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दशैँ लक्षित यती एयरका ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेका छन् । दशैँपछि राजधानी फर्कने यात्रुले अहिले नै अग्रिम टिकट काट्न थालेकाले दशैँपछि समेत राजधानी फर्कन अहिलेकै अवस्था रहने उनले बताए ।

अहिले अन्तर्राष्ट्रियतर्फ मात्रै ४० हाराहारीमा उडान थप गरिएकाले बढ्दो एयर ट्राफिकका कारण जहाजको उडान समय खर्चसमेत बढ्न गएको उनको भनाइ छ । हाल भैरहवा, पोखरा, जनकपुर, विराटनगर, धनगढीलगायतका गन्तव्यका उडानमा बढी चाप रहेको उनले बताए ।

बुद्ध एयरका अनुसार घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दशैँका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपियाँ रहेको छ । उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार रुपियाँ रहेको छ । त्यस्तै सुर्खेतको महँगो भाडादर १४ हजार १६८, काठमाडौँदेखि सबैभन्दा नजिकको सिमरा र भरतपुरमध्ये सिमराको महँगो भाडा दर चार हजार नौ सय रुपियाँ छ भने भरतपुरको अधिकतम भाडा चार हजार ६१ रुपियाँ रहेको छ ।गाेरखापत्रबाट

बुटवल उद्योग वाणिज्य सङ्घमा अर्याल

लुम्बिनी । बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । सङ्घको सोमबार सम्पन्न निर्वाचनमा उनले सात सय ७६ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठले छ सय ८९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, उद्योगतर्फको उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका हुन् । सङ्घको वरिष्ठ उपाध्यक्षमा यसअघि नै टङ्कप्रसाद गैरे र वाणिज्यतर्फको उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचन समितिका अनुसार महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषध्यक्षमा वसन्तप्रसाद ढकाल, सचिवमा प्रतीक पोखरेल चयन भएका छन् । यस्तै सहकोषध्यक्षमा धनकुमारी खनाल, एकमात्र पद एशोसिएट सदस्यमा बालकृष्ण पौडेल विजयी भएका छन् ।

मतगणना परिणामअनुसार उद्योगतर्फ सदस्यमा दीपकप्रसाद चापागाईँ, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्यतर्फ सदस्यमा गणेशप्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टीकाराम बन्जाडे विजयी भएका छन् ।

खुलातर्फ सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।

सङ्घको यही असोज १९ गते ७०औँ साधारणसभा तथा २५औँ अधिवेशन भएको थियो । अधिवेशनअन्तर्गत सोमबार मतदान हुँदा एक हजार पाँच सय पाँच मत खसेको थियो । सङ्घमा करिब एक हजार सात सय सदस्य मतदाता छन् ।

अरिङ्गालले टोकेर दुई बालिकाको ज्यान गयाे

जाजरकोट । कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।

टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो ।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएको प्रमुख बस्नेत बताए । उनीहरुलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको थियो । अरिङ्गालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए ।

इजरायल–हमास युद्धमा हाल सम्म कति जना मारिए, कस्तो छ अवस्था ?

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच भएको युद्धमा दुवैतर्फ गरी हालसम्म १५ सयभन्दा बढी मानिस मारिएका छन् ।

स्रोतका अनुसार युद्धका क्रममा ९ सय इजरायली मारिएका छन् भने ६८० प्यालेस्टिनीको मृत्यु भएको छ । लडाकु समूहले इजरायली सेनाका अधिकारीहरूसहित एकसय भन्दा बढीलाई बन्धक बनाएर राखेको दाबी गरेको छ ।

सो समूहले इजरायलले गाजाका मानिसहरूलाई निशाना बनाएमा बन्धक बनाइएका सबैलाई मारिदिने चेतावनी पनि दिएको छ ।

इजरायलले भने युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ । इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्न आदेश दिएको समाचार संस्था सीएनएनले जनाएको छ ।

यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रमणमा कम्तिमा ११ जना अमेरिकी नागरिक मारिएको र केहीलाई बन्धक बनाएको जानकारी गराएका छन् ।

सांसद र सदन भारदारी सभाजस्तो छ : अध्यक्ष साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्छन् । उनले युवा र विद्यार्थीलाई विदेश पलायन होइन, डाँडाकाँडा, नदीको धाप र गाउँलाई सुन्दर सहर बनाउँदै समृद्ध राष्ट्र निर्माण अभियानमा जुटेर गौरव गर्न आह्वान गरे ।

पूर्वमन्त्री साहले भने, “देश छाडेर भाग्ने महान् जस्तो, यहीँ बसेर धर्तीको सेवा गर्ने अपमानित र लाछीजस्तो देखियो, त्यसलाई बदल्न जरुरी छ । यो धर्तीमा बस्न पाएकामा गौरव गर्नुस् ।”

जनतामा आशा र उत्साह जागृत गराएमा पहाड बनिरहेको नदी धापलाई सहरमा परिणत गरेको उदाहरण आफ्नो निर्वाचन क्षेत्र भएको दाबी गर्दै उनले भने, “विदेश भाग्ने तिमीहरू गल्ती गर्दैछौँ, हामी मुलुकलाई सुन्दर बनाएर देखाउँछौँ, कायर र कमजोर होइनौँ, हामी महान् छौँ ।”

वाग्मती र बकैया नदीबाट प्रभावित रौतहटको धाप क्षेत्रबाट आफूले राजनीति सुरु गरेको समय कयौँले घर र खेती छाडेर सहर पसेको घटना स्मरण गराउँदै पूर्वसहरी विकासमन्त्री साहले अहिले त्यो ठाउँ सुन्दर गाउँ र नमूनामा बस्तीमा परिणत भएको दाबी गरे ।

जनतामा आशा र भरोसा दिँदै रौतहटको अभियान देशभर फैलाउन आवश्यक रहेको बताउँदै नेता साहले सही र गलत व्यवहार र तथ्यले परीक्षण गरी नेपाल बनाउने अभियानमा सरिक हुन युवापुस्तालाई सुझाव दिए। उनी भन्छन्, “नेपालमा अहिले भइरहेको अभ्यास संसदीय व्यवस्था नभई पार्टीका नेताको हालीमुहाली हो । सांसद र सदन भारदारी सभाजस्तो छ ।”

सांसदको काम भनेको ताली बजाउने र एस वा नोमा सीमित रहेको बताउँदै अध्यक्ष साहले भन्छन्, “नेताहरूले शासन गरिहनुभएको छ, उहाँहरूको स्तरमा जे हुन्छ, सदनमा त्यसलाई ल्याएर औपचारिकता दिने र पारित गर्नेमात्र काम हुन्छ ।”

नेता साहसँग मधेसी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव, नेकपा (माओवादी)को केन्दीय सदस्य, तत्कालीन नेकपाको मधेस प्रदेश अध्यक्ष र नेकपा (एमाले) स्थायी समिति सदस्य भई काम गरेको अनुभव छ । सांसद साहले मुुलुकमा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनका क्रममा नौ वर्ष भूमिगत र एक वर्ष बेपत्ता जीवन बिताएका साहले कानुन, न्याय तथा संसदीय मामिला र सहरी विकास मन्त्रालयको नेतृत्वसमेत सम्हालेका थिए ।

उनी विसं २०६२/६३ को जनआन्दोलनपछि लगातार संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् । जनप्रतिनिधि कानुन निर्माणबाहेकका कार्यमा संलग्न हुनुहुन्न भन्नेहरू अयोग्य र बेइमान भएको तर्क प्रस्तुत गर्दै उनले दलीय प्रणाली भएको मुलुकमा संसद्ले बजेट र नीति तथा कार्यक्रम बनाउँछ भने सरकारको कार्यान्वयन गर्ने जिम्मेवारी भएको स्पष्ट गरे ।

अध्यक्ष साहले भने, “हामी नागरिक सर्वोच्चतालाई सम्मान गर्छौँ, कुन कार्यक्रम कहाँ आवश्यक र प्रभावकारी छ भनेर हेर्ने काम सदन र सांसदकै हो, त्यो उनीहरूले नगरे कसले गर्छ त ।” जनताका प्रतिनिधिको सर्वोच्चता र निर्वाचित व्यक्तिको नेतृत्व कायम गर्दै कानुन निर्माणमा सांसदलाई पूर्णरूपमा स्वतन्त्रता प्रदान गर्नुपर्नेमा विधेयकका हरेक दफा र शब्दमा दलको ह्वीप लाग्ने प्रवृत्तिले गुणस्तरीय कानुन निर्माण हुन नसकेको उनले भनाइ प्रस्तुत गरे ।

चुनावमा कुन उम्मेदवार निर्वाचित हुन्छ भनी पहिले नै आकलन गरिने विषयले जनसहभागिता र निर्वाचन प्रणालीको निष्पक्षतामाथि प्रश्न उठिरहेको बताउँदै अध्यक्ष साहले नेता विशेषको खल्तीबाट नाम राख्ने समानुपातिकले लोकतन्त्रकै खिल्ली उडाएको विचार प्रकट गरे ।

विगतमा मदन भण्डारी र कृष्णप्रसाद भट्टराईबीचको उम्मेदवारीलाई स्वस्थ्य प्रतिस्पर्धा र असल लोकतान्त्रिक अभ्यासका रूपमा लिन सकिने उदाहरण प्रस्तुत गर्दै उनले भने, “मिलेर लड्नुपर्छ, सबै नेता जित्नुपर्छ अनि लुट्नुपर्छ भन्ने सोच लोकतन्त्र हुनै सक्दैन ।”

प्रतिनिधिसभाको गएको निर्वाचनमा ठूलो दलका उम्मेदवारलाई पराजित गरी आफू विजयी भएको घटनालाई अपवादका रूपमा लिएको बताउँदै उनले प्रणाली स्थापित नभएसम्म लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा प्रस्तुत गरे ।

पूर्वमन्त्री साह भन्छन्, “प्रतिस्पर्धा, पारदर्शी, जवाफदेहिता र निष्पक्षता भएमा मात्र लोकतन्त्र हुन्छ, त्यो कुनै अहिले हामीले अभ्यास गरिरहेका छैनौँ, भ्रष्टाचार बढेको छ, सुशासन कमजोर छ अनि कसरी लोकतन्त्र हुन्छ, यो केवल दलतन्त्रमात्र हो ।”

निर्वाचन प्रणालीसँगै राज्य व्यवस्था, मूल नेतृत्व र संरचना नै ठीक नभएको बताउँदै उनले भने, “जबसम्म राज्यका सबै मेसिनरी ठीक हुन्न, तबसम्म राम्रो परिणाम दिन सकिन्न ।” अहिले दल र नेतामा मात्र सीमित यथास्थितिवादी शाससन व्यवस्था रहेको विचार प्रकट गर्दै अध्यक्ष साहले आफूहरूले जनताको नेतृत्वसहित अग्रगामी र रुपान्तरणकारी शासन व्यवस्था चाहेको भनाइ प्रस्तुत गरे ।

मुलुकमा अहिले भइरहेको राज्य सञ्ञ्चालनको अभ्यास र ढाँचाप्रति जनताको आलोचना रहेको बताउँदै पूर्वमन्त्री साहले त्यसैको परिणाम युवा विद्यार्थीको विदेश पलायन भएको टिप्पणी गरे । समाजमा रहेको आक्रोश बेलाबखत सदनमा पनि देखिने गरेको घटना सुनाउँदै पूर्वकानुनमन्त्री साहले त्यो मौलाउँदो दण्डहीनता र नेतृत्वप्रति कमजोर विश्वासको नतिजा भएको विचार प्रकट गरे ।

हिजोको राज्यव्यवस्था दमनकारी रहेकामा अहिलेको समग्र चरित्र लुटकारी र भगौडा देखिएको आरोप लगाउँदै उहाँले नेपालमा अवसर लिने र सम्पत्ति कमाएर विदेशमा थुपार्ने प्रवृत्ति मौलाउँदो रहेको प्रतिक्रिया दिए । उनले भने, “जनतालाई निराश बनाएर देश कहिल्यै बन्दैन, नागरिकलाई उत्साहित तुल्याउनुपर्छ, बदमासीलाई दण्डित गर्नुपर्छ, अनि मात्र मुलुक बन्छ, विकास हुन्छ, समृद्धि ल्याउन सकिन्छ ।”

समाजवादी मोर्चाले जिल्ला तहमा सन्देशसभा गर्दै

कास्की । समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ ।

मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई जनाको प्रतिनिधित्व हुनेगरी असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी सन्देशसभा गर्ने निर्णय गरेको हो ।

समाजवादी मोर्चामा सत्तारूढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा रहेका छन्। जिल्लास्तरीय सन्देशसभाको व्यवस्थापनका लागि गोरखा, स्याङ्जा, म्याग्दी र मनाङको जिम्मेवारी माओवादी केन्द्रलाई दिइएको छ ।

यसैगरी, कास्की, मुस्ताङ र पर्वत एकीकृत समावादी, नवलपुर र लमजुङ जनता समाजवादी पार्टी तथा बागलुङ र तनहुँ जिल्लाको सन्देशसभा व्यवस्थापनको जिम्मेवारी नेकपालाई तोकिएको मोर्चाका प्रदेश संयोजक एवं नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताइन् ।

उनका अनुसार बैठकले मोर्चाका शीर्षनेताहरूको उपस्थितिमा गत भदौ १५ गते पोखरामा आयोजना गरिएको प्रदेशस्तरीय सन्देशसभाको समीक्षालगायतका विषयमा छलफल गरिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको उनले बताइन् ।

संयोजक गुरुङले भनिन्, ‘संघीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मूल उद्देश्यले मोर्चा गठन गरिएको हो। मोर्चालाई प्रदेश हुँदै जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्छौं। सरकारले गरिरहेका कामका बारेमा जनतालाई प्रशिक्षित गर्ने र जनताबाट सुझाव लिने काम गरिरहेका छौं ।’

बैठकले इजरायलको गाजा क्षेत्रमा भएको द्वन्द्वमा परी नेपाली विद्यार्थीको निधन भएकामा दुःख व्यक्त गरेको छ। साथै विद्रोहीहरूको आक्रमणमा घाइते, बेपत्ता भएका र युद्धग्रस्त क्षेत्रमा अप्ठ्यारो अवस्थामा परेका नेपालीहरूको शीघ्र उद्धार र राहतका लागि सरकारसँग मागसमेत गरेको छ ।

मोर्चाको गण्डकी प्रदेश समितिमा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङसहित ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य छन्। एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चामा रहेका छन् ।

यसैगरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी रहेका छन् । मोर्चा समितिको अध्यक्षता आलोपालो प्रणालीअन्तर्गत हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गुरुङले गरेका छन् ।

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

काठमाडौं । वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ ।

नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै गण्डकी प्रदेश विजयी भएको हो ।

प्रतियोगितामा प्रथम भएसँगै गण्डकी प्रदेशले रु पाँच लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो टिम नेपाल पुलिस क्लबले रु दुई लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र हासिल गरेको छ ।

प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्दै खेलकुद क्षेत्रको विकासमा सरकार ध्यान दिनुपर्दछ भने ।

महासचिव चन्दले इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन उच्च प्राथमिकताका साथ काम गर्न सरकारलाई आग्रह गरे । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घका अध्यक्ष जयनन्द चन्दले वीरजङ्गको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको बताए । यही असोज १८ देखि सुरु भएको उक्त प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकी थिइन् ।

विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाडौँ । विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ ।

त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्ररित गर्ने बताउँछन् ।

मानसिक स्वास्थ्यबारे उनी भन्छन्,“जो व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्छ र दैनिक जीवनमा आउने तनावलाई त्यो क्षमताले व्यवस्थापन गरेर आफ्नो जीवनमा सकारात्मक किसिमको भूमिका निर्वाह गर्छ भने त्यो स्थिति नै मानसिक स्वास्थ्य र ‘मेन्टल वेयल विङ हो’ ।”

उनका अनुसार मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वस्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ । “युद्ध, अशान्ति, आर्थिक सङ्कट, बेरोजगारी र कतिपय सम्बन्धले मानिसमा निरासा, रिस, द्वेषलगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव पर्न सक्छ”, डा ओझा भन्छन्, “व्यक्ति आफूले यस्ता तनाब बहन गर्ने क्षमताको वृद्धि गर्नुपर्छ । आफू प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्छ ।”

दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उनको सुझाव छ । उहाँका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेशनलाई कम गर्न सकिने उनी बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणेन्द्र बरालले बताए । उतनका अनुसार मानसिक स्वास्थ्यमा बढ्दो सचेतना तुलनात्मकरूपमा बढे पनि यसको उपचारमा पहँुच बढाउन चुनौती छ ।

“सरकारी स्वास्थ्य संस्थामा मनोचिकित्सकहरू कम हुनुहुन्छ । त्यसमा पनि उहाँहरू सहरकेन्द्रित हुनुहुन्छ”, शाखा प्रमुख डा बरालले भन्छन्, “दूरदराजका २२ जिल्लामा महिनामा एकपटक मनोचिकित्सकले मानसिक स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ ।” सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको छ ।

संयुक्त राष्ट्रस¬ङ्घको दिगो विकास लक्ष्य ९२०१६–२०३००मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एकतिहाइले कम गर्ने लक्ष्य छ ।

चोभार सुक्खा बन्दरगाहमा बढ्यो चहलपहल

काठमाडौँ । चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि इलेक्ट्रिक सवारीसाधन आउन सुरु भएको छ । चोभार सुक्खा बन्दरगाहमा सुरु अवस्थामा कन्टेनराइज्ड कार्गो मात्र आउने गरेकामा गत असारबाट चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनसमेत आउन सुरु गरेको हो ।

हालसम्म साङ्ग्रिला मोटर्स प्रालि, जि‍ओ अटोमोबाइल्स प्रालिलगायत अन्य कम्पनीका पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँच पासका लागि आइसकेका इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

आयातकर्ताले गत शनिबारदेखि इलेक्ट्रिक गाडीसमेत भन्सार जाँच पासका लागि चोभार ल्याउन सुरु गरेका छन् । नेपाल मोटर्स प्राइभेट लिमिटेडले चार वटा इलेक्ट्रिक कार कन्टेनरमा राखी चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो । उक्त गाडीहरू भन्सार जाँच पासका लागि वीरगन्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो ।

चोभार भन्सार कार्यालयबाट भन्सार जाँच पास प्रक्रिया व्यवस्थित भएपछि सवारीसाधन चोभार आउन थालेका हुन् । आगामी दिनमा अझै थप सवारी चोभार आउने जानकारी आयातकर्ताले गराएका छन् ।

कार्यकारी निर्देशक श्री आशिष गजुरेलले चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कन्टेनराइज्ड मालवस्तु एवं नयाँ सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि ल्याउन आयातकर्तासँग पटक पटक छलफल भएको जानकारी दिए ।

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँच पासका लागि आउने मालवाहक सवारीसाधन एवं नयाँ सवारीसाधनका लागि प्रवेश निःशुल्क गर्नुका साथै पार्किङ एवं गोदाम शुल्कसमेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री

झापा । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ ।

उपभोक्ता जागरण अभियान मेचीनगरले हालै गरेको अनुगमनमा मेचीनगर नगरपालिकाको प्रशासनिक कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, अस्पताललगायतका सार्वजनिकस्थलबाट एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी र गुट्खाको खुला बिक्री वितरण भइरहेको तथ्य फेला पारेको हो ।

अभियानका मेचीनगर अध्यक्ष रचना घिमिरेले अनुगमनबाट पाइएको तथ्यबारे जानकारी दिँदै मेचीनगर नगरपालिकाको मेचीनगर वडा नं ७ स्थित मुख्य प्रशासनिक कार्यालयबाट एक सय मिटरभित्रका पसल तथा घरमा सुर्तीजन्य पदार्थको निर्वाध बिक्री वितरण भइरहेको फेला पारिएको जानकारी दिइन् ।

अभियानले मेचीनगर वडा नं १० स्थित धुलाबारी माध्यमिक विद्यालय, मेचीनगर वडा नं ८ स्थित आदर्श माध्यमिक विद्यालय र मेचीनगर वडा नंं ६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालयको एक सय मिटरभित्रका पसल तथा घरको अनुगमन गरेको जनाएको छ ।

ती विद्यालयको एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी, गुट्खा र पत्रु खाना (जंक फुड)को निर्वाध बिक्री वितरण भइरहेको अभियानका कोषाध्यक्ष मीरा काफ्लेले जानकारी दिइन् ।

उपभोक्ता जागरण अभियान मेचीनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाइएको प्रतिबन्धात्मक कानुनी व्यवस्थाको कार्यान्वयन नभएको जनाउँदै सोमबार मेचीनगर नगरपालिकामा तीनबुँदे मागपत्र बुझाएको छ ।

अध्यक्ष घिमिरेले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ ले सार्वजनिकस्थलको सय मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने कानुनी व्यवस्था गरेको बताइन् । यो कानुनी व्यवस्थाको उल्लंघन गर्नेलाई रु १० हजारसम्म जरिवाना गर्न सकिने दण्डात्मक व्यवस्थासमेत ऐनले गरेको उनको भनाइ छ ।

नगरभित्रका सार्वजनिकस्थल वरिपरि कानुनले निषेधित गरेको स्थानमा सुर्तीजन्य पदार्थको छ्याप्छ्याप्ती बिक्री वितरण भएको फेला परेपछि त्यसलाई रोक्न माग गर्दै अभियानले मेचीनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष घिमिरेको नेतृत्वमा नगरपालिकाका कार्यवाहक नगरप्रमुख हृदय राजवंशीलाई बुझाइएको तीनबुँदे ज्ञापनपत्रको पहिलो बुँदामा मेचीनगरका सार्वजनिकस्थलबाट एक सय मिटरभित्रका घर तथा पसलबाट भइरहेको सुर्तीजन्य पदार्थको बिक्री वितरण अविलम्ब रोक्न माग गरिएको छ ।

विद्यालय, क्याम्पस, अस्पताल, स्वास्थ्योपचार केन्द्र, धार्मिक तथा पर्यटकीयस्थल, नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालय, वडा कार्यालयलगायतका सार्वजनिकस्थलबाट सुर्तीजन्य पदार्थको बिक्री रोकिनुपर्ने माग गरिएको सचिव निरु परियारले बताइन् ।

अभियानले मेचीनगरभित्रका विद्यालयमा दिइँदै आएको दिवा खाजामा पत्रु खाना (जंक फुड) निषेध गर्न र लागुपदार्थविरुद्ध वडा तहसम्म जागरण अभियान सञ्चालन गर्न नगरपालिकासँग माग गरेको छ ।

मेचीनगरको शिक्षा शाखा प्रमुख होमप्रसाद भण्डारीले शिक्षण संस्थाबाट सय मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउन सबै प्रधानाध्यापकलाई निर्देशन दिइने बताए ।

मेचीनगरका कार्यवाहक नगरप्रमुख राजवंशीले कानुनमा भएको व्यवस्था कसैले पनि उल्लंघन गर्न नमिल्ने हुँदा सार्वजनिकस्थल वरिपरि निषेधित वस्तुको बिक्रीमा रोक लगाउन पहल गरिने बताएका छन् ।

अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता

काठमाडौं । अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो । उनीहरू भारत, मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए ।

स्वदेश फिर्ता आएका ती नेपालीहरू भारतबाट सबै कागजपत्र मिलाएर अमेरिकातिर हिँडेका थिए । उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत् काठमाडौंमा अवतरण गराइएको छ । अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्नेमा नेपालीहरू पनि धेरै रहेका मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी कृष्ण पंगेनीले बताए ।

उनका अनुसार पदैल मार्ग मेक्सिकोको बाटो हुँदै विभिन्न दलालमार्फत नेपालीहरू अमेरिका प्रवेश गर्ने गरेका छन्। ’मानव तस्करहरूको ठूलो सञ्जाल रहेको छ । असोज १८ देखि २२ गतेसम्म दुई सय ९० जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मात्रै अमेरिकालगायत अन्य देश जान भनी हिँडेका नक्कली कागजातसहितका नेपालीहरूलाई फर्काइको छ,’ पंगेनीले भने ।

’अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले सामान्यतया सुरुमा भिसा प्राप्त गर्नुपर्छ,’ उनले भने, ’भिसा यात्रुको राहदानीमा जारी गरिन्छ । राहदानी यात्रुको नागरिकता भएको देशबाट जारी गरिने भ्रमण कागजात हो । भिसारहित यात्राका अनिवार्य सर्त पूरा गरेको खण्डमा निश्चित केही अन्तर्राष्ट्रिय यात्रुहरू भिसाविनै अमेरिकाको यात्रा गर्न योग्य हुन सक्छन् ।’

ब्युरोका अनुसार यसरी अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने नेपालीहरूको संख्या वार्षिक दुई हजारभन्दा बढी रहेको छ । नेपालको नक्कली राहदानी प्रयोग गरेर अन्य मुलुकमा मानिस पनि अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । नेपालको नक्कली रहादानी प्रयोग गरेर अन्य मुलुकका मानिस पनि अवैध तरिकाले अमेरिका प्रवेश गर्ने गरेको पाइएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असोज २३ गते) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७६ पैसा र बिक्री दर १६३ रुपैयाँ ४९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जिराको मूल्य आकासियो

काठमाडौँ । एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय रुपियाँको हाराहारीमा पुगेको छ ।

जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ । भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पाँचरछ महिनादेखि लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव आमउपभोक्तालाई पर्न गएको छ । थोक बिक्रेता सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भारतमै जिराको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको बताए ।

“भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्ने नै हो किनभने हामीकहाँ यसको खेती छैन,” उनले भने, “नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारत र आठ प्रतिशत टर्कीबाट आयात हुन्छ, बाँकी दुई प्रतिशत कतार र बेल्जियमबाट आयात हुन्छ ।”

जिरामा नेपाल भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उतारचढाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालीको भान्छामा पर्ने उनको भनाइ छ ।

स्वादका लागि मसलाका रूपमा प्रयोग गरिने जिराको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगो हुँदै गएको छ । अन्य समयको तुलनामा चाडपर्वका बेला खपत पनि धेरै हुने गर्दछ । भारतमा उत्पादन कम हुँदा मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ ।

हाल बजार माग धान्न चीनबाट समेत जिरा आउन थालेको व्यवसायीको भनाइ छ । टर्की र इरानबाट समेत जिरा आउने गरेको छ । जिरा उत्पादनमा भारत पहिलो मुलुक हो, विश्वबजारमा जिराको मूल्य अत्यधिक बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ ।

व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा विभिन्न मुलुकबाट नेपालमा ४८ करोड ५६ लाख ५० हजार रुपियाँ बराबरको जिरा आयात भएको छ । मुलुकमा जिरा उत्पादन गर्न सक्ने सम्भावना भए पनि स्थानीय उत्पादन नहुँदा आयातमै भर पर्नु परेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

आजकाे माैसम : लुम्बिनी प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने

काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। साथै, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरुका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको संभावना रहेको छ। ती क्षेत्रहरुमा वर्षाका कारण हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।