आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं । सरकारले इजरायलमा हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई जनही १० लाख दिनेसमेत निर्णय गरेको शर्माले जानकारी दिइन् ।

शनिबारबाट सुरु भएको हमास समूहको आक्रमणमा परेर हालसम्म १० जना नेपालीसहित सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् भने हजारौं नागरिकहरु प्रभावित भएका छन् ।

आजदेखि दसैँका लागि अग्रीम टिकट बुकिङ खुला

काठमाडौँ । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्रिम टिकट बुकिङ खुला गरेको हो । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । नयाँ बसपार्कमा गत वर्षहरुका तुलनामा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

परिवारका चार सदस्यलाई लिएर दार्चुला जान लाग्नुभएका दीपक रावल बिहान ३ बजे ललितपुरबाट टिकट काट्नका लागि नयाँ बसपार्क आइपुगे । आगामी कात्तिक २ गते दार्चुला जानका लागि नयाँबसपार्क आइपुगेका रावलले बिहान ८ः३० बजेसम्म टिकट पाएका छैनन् । “दार्चुला जाने बस थोरै भएकाले टिकट पाउन समस्या भएको छ, दसैँको समयमा त बस थप्नुपरो नि”, उनी भन्छन् । काठमाडौँबाट दार्चुलाको भाडादर रु रु चार हजार छ सय छ ।

यस्तै, काठमाडौँबाट धनगढीका लागि टिकट लिन नयाँबसपार्क आउनुभएका देवराज ओझा पनि टिकट काट्ने पर्खाइमा छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित युनिभर्सल कलेजमा सुपरभाइजरका रुपमा कार्यरत ओझालाई काठमाडौँदेखि धनगढीसम्म पाँच जनाको टिकट चाहिएको छ । उनी बिहान ५ बजेदेखि नै लाइनमा छन् ।

सरकारले अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाइदिएको भए घरमै बसेर टिकट काट्न पाइन्थ्यो, नयाँबसपार्कमा भीडभाड हुँदैनथ्यो, अनलाइनमार्फत टिकट काट्न सकिन्छ भन्छन् तर सधैँ दसैँ लागेपछि नयाँबसपार्क धाउनुपर्छ”, उनी भन्छन् ।

धनगढीकै कपिल ओझा काठमाडौँदेखि धनगढीको हवाई भाडा ज्यादै महँगो भएकाले बसको टिकट काट्न आएको बताउँछन् । “बस व्यवसायी र वायुसेवा कम्पनीले दसैँको समयमा यात्रुलाई अफर दिनुको साटो झन टिकट बढाउने गरेका छन्, यो राम्रो कुरा होइन”, उनी भन्छन् । काठमाडौँदेखि धनगढीको बस भाडा रु दुई हजार सात सय रहेको छ ।

यस्तै, काठमाडौँदेखि अर्घाखाँचीको सन्धीखर्क जानका लागि कक्षा १२ मा अध्ययनरत छात्र विवेक श्रेष्ठ पनि बिहानै नयाँ बसपार्क आएका छन् । १ गतेदेखि ४ गतेसम्मको जुन दिनको टिकट पाए पनि काट्ने मनस्थितिका साथ बसपार्क आएका श्रेष्ठ लिभरपुल कलेजमा अध्ययरत छन् ।

यस्तै, पूर्वको ताप्लेजुङ जानका लागि दीपकुमार लिम्बू बिहानै टिकट काट्न नयाँ बसपार्क आएका छन् । उनले एक घण्टा लाइन बसेर सहजै टिकट लिए । काठमाडौँदेखि देशको पश्चिम क्षेत्रभन्दा पूर्व क्षेत्रमा जाने यात्रुले तुलनात्मक रुपमा सहजरुपमा टिकट पाएका छन् । पूर्व क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनलाई पूर्व यातायात व्यवस्थापन प्रालिमार्फत टिकट लिने व्यवस्था मिलाइएको छ । पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक सुनिल कुँवर पूर्व जाने यात्रुको सहायताका लागि एउटै व्यवस्थापन निर्माण गरी यात्रुलाई सेवा प्रदान गरिएको बताउँछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्छन् । “राजमार्ग बिग्रिएको कारण काठमाडौँ आउजान सार्वजनिक सवारी साधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उनी भन्छन् । सरकारले दसैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट खुला गर्ने तयारी गरेको छ । हरेक वर्ष दसैँ मनाउनका लागि सङ्घीय राजधानी काठमाडौँबाट २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दसैँमा घर जाने यात्रुको सहयोगको लागि काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्ष १३ स्थानमा राख्नेगरी तयारी भइरहेको बताउँछन् । “अहिलेको अवस्थामा सात स्थानमा राखिसकेका छौँ, १३ स्थानमा राख्छौँ, आवश्यक परे अन्य स्थानमा समेत थप गर्न सकिन्छ”, उनी भन्छन् । उनी यात्रु सहायता कक्षमार्फत यात्रुको समस्या सम्बोधन गरिने बताउँछन् ।

यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ । जसबाट अहिले अग्रिम टिकट वितरण भइरहेको छ ।

सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ । काठमाडौँ महानगरपालिका–२६ गोँगबु विष्णुमती खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६८ भन्दा बढी जिल्लामा दैनिक एक हजार हाराहारीमा सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दैैै आएका छन् ।

पहिरोमा जेसिबी पुरिँदा चालकको मृत्यु

लुम्बिनी । पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा२क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हमास आक्रमण : ११ सय भन्दा बढीको ज्यान गयो

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा ११ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेपछि हालसम्म दुवैतर्फ गरी यतिका मानिसहरुले ज्यान गुमाएका हुन् ।

इजरायलले यो आक्रमणमा अहिलेसम्म आफ्ना ७०० बढी नागरिकको मृत्यु भएको बताएको छ भने प्यालेस्टाइनीहरूले गाजामा आफ्ना ४१३ भन्दा बढी नागरिकको मृत्यु भएको बताएको बीबीसीले जनाएको छ । दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ ।

आइतबार रातिसमेत प्यालेस्टिनी क्षेत्र गाजाबाट दक्षिणी इजरायलमा रकेट प्रहार भएको बताइएको छ ।

अमेरिकाले यो आक्रमणमा आफ्ना नागरिकको पनि ज्यान गएको बताउँदै हतियार र सैन्य सहयोगको घोषणा गरेको छ । नेपालसहित अन्य धेरै देशले इजरायलमा आफ्ना नागरिकको समेत मृत्यु भएको बताएका छन् । 

नेपाली चेली मेनुकाले रुवाईन् ‘इन्डियन आइडल’ का निर्णायकहरुलाई

काठमाडौं । नेपाली चेली मेनुका पौडेलले ‘इन्डियन आइडल’को मञ्चमा मच्चाएकी छिन् । गायिका मेनुका पौडेल दुबै आँखा देख्दिनन् । तर, यसले उनको करिअर र जीवन शैलीमा ठूलो प्रभाव पारेको छैन । किनकी, उनी आम मानिसहरुका लागि प्रेरणाको श्रोत हुन् । गायन कलामा आफूलाई अगाडि बढाइरहेकी मेनुकाले केही बर्ष अगाडि ‘सारेगमप’मा आफूलाई उभ्याएकी थिइन् । यो शोमा पनि उनले दर्शक र निर्णायकको साथ पाइन् ।

उनै, मेनुका अहिले भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल १४’को मञ्चमा पुगेकी छिन् । साई बाबाको दर्शन गरेर रियालिटी शोमा पुगेकी मेनुकाको प्रतिभाले तिन निर्णायकहरुको दिल मात्र जितेन, उनीहरुको आँखाबाट आँशु झर्यो । मेनुकाले गीत गाउँदा गाउँदै चर्चित गायिका श्रेया घोषाल रुन थालिन् । संगीतकार तथा गायक विशाल डड्लानीले पनि आँशु थाम्न सकेनन् ।

मेनुकाले सुरुवातमै भनिन्–‘म सबै कुरा आफै गर्छु । म गायनको साथै खाना पकाउँछु, सपिङ गर्छु, एक्लै घुम्छु । जो सामान्य मानिस गर्छन्, म सबै गर्छु । मैले बालापनदेखि नै यो कुरा सिकेकी छु कि, मानिसले सबै कुरा आफै गर्नुपर्छ ।’ मेनुकाले यसो भन्दै गर्दा निर्णायकहरुले ताली बजाए ।

मेनुकाले आफूलाई ड्राइभिङ गर्ने ठूलो सौख भएपनि त्यो पुरा गर्न नसकेको बताइन् । उनले भनिन्–‘भगवान्ले मलाई यति धेरै हिम्मत दिनु भएको छ । सबैको आर्शिवाद म माथि छ भने मैले गर्न नै पर्छ ।’

यसपछि मेनुकाले ‘तुम्हारे विना हमरा कौन नही’ बोलको गीत गाइन् । यो गीत मेनुकाले गाउँदै गर्दा निर्णायकहरु रुन थालिसकेका थिए । मेनुकाले गीत गाइसकेपछि केही समय स्तब्ध भएका निर्णायकहरुले सिटबाट उठेर उनको सम्मान गरे ।

यसपछि, विशालले भने–‘हामी जुन चिजको पूजा गर्छौ, उसलाई आज अगाडि देखेका छौं । म म्युजिकलाई पूजा गर्छु, त्यो तिमी हौं । तिमीले दिल निकालेर अगाडि राखिदिएका छौं ।’ विशालले आफूले अबदेखि मेनुकाका कारण म्युजिकको धार नै परिवर्तन गर्ने सुनाए ।

विशालले मेनुकाले दिलबाट गाएको बताए । यति भन्दै गर्दा उनी रोएका थिए । यसपछि, श्रेयाले भनिन्–‘तिमी भित्र के छ भन्ने तिमीलाई महशुश छैन । भगवान्ले के दिनुभएको छ भन्ने तिमीलाई थाहा छैन । इन्डियन आइडलको मञ्चमा आजसम्म कसैले यति दिलबाट खाएको मलाई थाहा छैन । मैले ईश्वर तिम्रो स्वरमा देख्न पाएँ । यसका लागि इन्डियन आइडलको मञ्च धन्य छ ।’

मेनुकाले तिनै जना निर्णायकको हातबाट ‘गोल्डेन माइक’ पाइन् । मेनुकाले स्टेजमा श्रेयासँग गीत गाउने चाहना व्यक्त गरिन् । श्रेयाले ‘मोही रंग दो लाल’ बोलको गीत मेनुकासँग गाइन् । मेनुकाले यो गीत गाउँदै गर्दा श्रेया फेरि भावूक बनिन् । श्रेयाकै गीत मेनुकाले हुबहु गाइदिइन् । जसले, निर्णायकहरुलाई अचम्मित र भावुक बनाइदियो ।

मेनुकाले ‘इन्डियन आइडल १४’को मञ्चमा निर्णायकको मन गज्जबले जितेकी छिन् । साथमा, उनले आम मानिसहरुमा हिम्मत पनि भरेकी छिन् । एक नेपाली चेलीको यो हिम्मतले सामाजिक संजालमा पनि निकै चर्चा पाइरहेको छ । मेनुकाको साहस र हिम्मतले सबैको मन हर्षित बनाएको छ ।

इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त

काठमाडौँ । पूर्वमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले इजरायलमा भएको हिंसात्मक हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज एक विज्ञप्ति प्रकाशन गरी सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विषय अध्ययन गर्न गएका विद्यार्थी आतङ्ककारीको हिंसात्मक आक्रमणमा परी दुःखद् मृत्यु भएको समाचारले आफू स्तब्ध भएको भन्दै निधन भएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जलि र उनीहरुका परिवारमा समवेदना व्यक्त गरेका हुन् ।

सो घटनामा डोटीका राजन फुलारा र पदम थापासहित अधिकांश सुदूरपश्चिमका गरी १० जनाको निधन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । साथै एकजना सम्पर्कविहीन हुनुका साथै अरु चार जना घाइते भई उपचाररात रहेका छन् ।

सांसद आलेले मृतकका परिवारलाई आवश्यक क्षतिपूर्तिका साथै इजरायलमा सम्पर्कविहीन रहेकाको खोजी गर्न, त्यहाँ रहेका थप विद्यार्थी एवं सबै नेपालीको आवश्यक सुरक्षाको प्रबन्ध गर्न र नेपाल फर्किन चाहनेलाई सुरक्षितरुपमा स्वदेश फर्काउने व्यवस्था गर्न नेपाल सरकारसमक्ष आग्रह गरे ।

दक्षिणी इजरायलको किबुज भन्ने स्थानमा गत शनिबार त्यहाँको आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी नेपाली विद्यार्थीसहित सयौँ इजरायलीको ज्यान गएको छ ।

इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह

चितवन । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्व विद्यालयबाट ‘कृषि कार्य अध्ययन कार्यक्रम’मार्फत इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ । आफ्नो विश्व विद्यालयबाट इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको जानकारी दिँदै विश्वविद्यालयले उनीहरुलाई स्थानान्तरण गर्न अनुरोध गरेको छ ।

विश्व विद्यालयले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित इजरायली राजदूतावास एवं इजरायलस्थित नेपाली राजदूतावाससँग विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ ।

कृषि विश्व विद्यालय रजिष्टारको कार्यालय, रामपुरले आइतबार विज्ञप्ति जारी गर्दै यहाँबाट सन् २०२२ र सन् २०२३ मा गएका सम्पूर्ण विद्यार्थीलाई हाललाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आवश्यक सहयोगका सम्बन्धमा पहल भइरहेको जनाएको छ । विद्यार्थीसँग नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै विश्व विद्यालयले सुरक्षाका उपाय अपनाउन र सजक रहन उनीहरुलाई अनुरोध गरेको छ ।

कृषि कार्य अध्ययन कार्यक्रममार्फत यहाँबाट सन् २०२३ मा एक सय १३ र सन् २०२२ मा ६ विद्यार्थी भएका विश्व विद्यालयले  जनाएको छ । “हालसम्म हामीलाई प्राप्त सूचनाअनुसार विश्व विद्यालयका सबै विद्यार्थी इजरायलमा सकुशल छन्”, विज्ञप्तिमा उल्लेख छ। इजरायलमा भएको आतङ्ककारी हमलाप्रति विश्व विद्यालयले खेद प्रकट गरेको छ ।

रोकियो ‘स्मार्ट’चालक अनुमतिपत्र छपाइ

काठमाडौं । कार्ड सकिएपछि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइको काम रोकिएको छ। अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक ३ सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। अहिले आकस्मिक रूपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको तीन साताभन्दा बढी भएको विभागले जनाएको छ।

नियमित रूपमा हुने छपाइ रोकिएपछि विभागका लागि छाप्नुपर्ने अनुमतिपत्रको संख्या भने बढिरहेको छ। थप कार्ड खरिदका लागि ठेक्काको तयारी अघि बढाइएको प्रवक्ता पनेरूले बताए।

आज केही प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । कोशी, मधेश र  गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।  कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

श्री भोलेनाथको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । पुराना वा तामेलीमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति छ । अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ । भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
कुटुम्ब वा चेलीबेटीसँग सम्पर्क हुनेछ, अचानक कुनै पैसा हात पर्ने सम्भावना रहेको छ, लगानीमा रहेको रकम पनि फिर्ता हुनसक्छ । खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ । आफ्नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकि राम्रो वचनको मूल्य धेरै हुन्छ, तर दुर्वचन मूल्यहीन हुन्छ, तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्नसक्छ । अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कमलायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । स्वनिर्णयमा गरेका काममा सफलता मिल्ने दिन भए पनि कुनै महत्त्वकाङ्क्षी काम गर्दै हुनुहुन्छ भने जानकार व्यक्तिको सुझाव ग्रहण गर्नुहोला । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
खर्चमा बृद्धि हुनाले बजेट डगमगाउने समय हो, आर्थिक तनावले पतिपत्नीका बीचमा सुलह नहुने गरी विवाद चुलिन सक्छ, सचेत भएर व्यवहार गर्नुहोला । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो, साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ गर्नु हुँदैन । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःपशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको÷नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ । अनुकूल स्थानान्तरणको योग छ, सम्बद्ध निकायमा कुरा राख्न अनुकूल समय छ । त्यस्तै बढुवा हुनुछ भने ठीक ढंगले तैयारी गर्नुहोला । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ÷सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
कर्मप्रतिको निष्ठाभावमा बृद्धि हुनेछ । हाकिम, गुरुजन वा ठूलो मान्छेसँग उठबस गर्न पाइने छ, घरपरिवारबाट पनि शुभ समाचार प्राप्त हुनेछ । कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷घिउरङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शशिशेखराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् । कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सुधाकराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु होला । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । दिमाग बोझिलो बन्ने भएकाले ससाना कुरामा समेत विवादको परिस्थिति बन्नसक्छ, त्यसैले महत्त्वहीन र बेकारका काममा शक्ति र समय खर्च गर्नुहुँदैन । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । गृहस्थी जीवन र पारिवारिक सुखको आत्मिक अनुभूति प्राप्त हुनेछ । पतिपत्नीले एकआपसमा एउटा सुखद अनुभूति साझा गर्ने दिन हो । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ साम्बसदाशिवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, कलहबाट टाढिएको जाती हुन्छ । अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अश्विनीकुमाराभ्यां नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
ईर्ष्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । मन प्रेमिल बन्ने समय हो । नयाँ÷नयाँ विषय र काम प्रति जागरुकता बढ्नुका साथै रचनात्मक र सीपमूलक काममा सफलता मिल्नेछ । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं सरस्वत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

हुलाक टिकट नेपालमै छापिने, हुलाक सेवा विभाग र जनक शिक्षा सामग्री केन्द्रबिच सहमति

काठमाडौँ  । हुलाक टिकट अब नेपालमै छापिने भएको छ । हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबिच सहमति भएको छ ।

विभागका महानिर्देशक प्रदीपराज अधिकारीले टिकट छाप्न विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको बताउँदै भन्नुभयो, “सुरक्षासाथ नेपालमै छाप्न सक्ने प्रकाशनगृहको खोजी हुँदा जनक शिक्षा उपयुक्त देखियो । मतपत्र, राजस्वका स्टिकरलगायत त्यहीँ छापिने रहेछन् । निजी छापाखानाले सुरक्षाका साथ छाप्न सक्ने देखिएन । सरकारी निकाय पनि भएकाले जनक शिक्षालाई यसको जिम्मेवारी दिने सहमति ग¥यौँ । स्वदेशी संस्थालाई प्रवर्धन गर्नु पर्छ । यतिका लागि विदेश जानुपर्ने आवश्यकता छैन ।”

टिकटको प्रचलन थाल्दा नेपालमै टिकट छापिने गरेको विभागका पदाधिकारीहरू बताउँछन् । प्रविधि परिवर्तन हुँदै गएपछि छपाइका लागि विदेश पठाउन थालियो । टेन्डर प्रक्रिया अनुसार छाप्दा भारत, इन्डोनेसिया, बेलायतलगायतका मुलुकमा छपाइ हुन्थ्यो । यसरी छाप्दा विभागका पदाधिकारी हरेक वर्ष दुई तीन पटक ती मुलुकमा निरीक्षणमा जाने गरेका थिए । उहाँले भन्नुभयो, “स्वदेशमै हुलाक टिकट छाप्न थालियो भने निरीक्षणका लागि विदेश जानु पनि परेन । त्यसो हुँदा राज्यको रकम बचत पनि हुने छ ।”

विदेशमा छपाइ हुँदा प्रति टिकट सरदर एक रुपियाँ खर्च हुन्थ्यो । जनक शिक्षाले प्रति टिकट ९५ पैसामा छपाइ गरिदिने प्रस्ताव दिएको छ । विभागसँग स्टक सकिने अवस्थामा रहेको १० रुपियाँ दरको हुलाक टिकट पहिले छपाइ गरिने छ । विभागले एक रुपियाँ र पाँच रुपियाँ दरका पनि हुलाक टिकट छाप्ने गरेको छ । सुरुमा के कति परिमाणमा हुलाक टिकट छपाइको जिम्मा दिने भन्नेबारे टुङ्गो लागिसकेको छैन ।

जनक शिक्षाले आफ्नो परिसरमा रहेको सेक्युरिटी प्रेसमा हुलाक टिकट छपाइ गर्ने भएको छ । छपाइका व्रmममा सुरक्षार्थ नेपाली सेनालाई परिचालन गरिने छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को प्रश्नपत्र, मतपत्रलगायत छाप्दा नेपाली सेनाका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि सुरक्षार्थ खटाउने गरिएको छ ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले हुलाक टिकट छपाइका लागि कार्यादेश पाउन बाँकी रहेको बताउँदै भन्नुभयो, “पहिलो पटक हुलाक टिकट छाप्ने जिम्मेवारी पाउँदै छौँ । यो छाप्न जटिल भए पनि सक्छौँ ।” यसका लागि आवश्यक पर्ने गमसहितको कागज विदेशबाट नै आयात गर्नुपर्ने हुन्छ । टिकटमा ससाना प्वाल पार्न विशेष खालको मेसिन आवश्यक पर्ने भएकाले त्यस्तो मेसिन पनि विदेशबाट झिकाउनुपर्ने हुन्छ ।

जनक शिक्षासँग सेक्युरिटी प्रेसमा दुई वटा अत्याधुनिक जापानी प्रविधिको छपाइ मेसिन छ । चार रङको छपाइ गर्ने सो मेसिनको प्रयोग गरी विगत चार वर्षदेखि अन्तःशुल्कको स्टिकर छाप्ने गरिएको छ ।  गोरखापत्र दैनिकमा समाचार छ । 

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडाैं । असाेज २२ गते साेमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४० रुपैयाँ ७१ पैसा र बिक्री दर १४१ रुपैयाँ ३४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ६७ पैसा र बिक्री दर १६३ रुपैयाँ ४० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुन्छ : मुख्यसचिव डा. अर्याल

काठमाडौ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए । साथै उनले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ विक्रि वितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी ढँगले हुनुपर्नेमा जोड दिए ।
नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा मासु, लत्ताकपडाको मूल्यमा अस्वाभाविक मूल्य बृद्धि हुनुका साथै कृत्रिम अभाव सिर्जना भईरहेको अवस्थालाई मध्यनजर गर्दै आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित एक कार्यक्रमको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले सो कुरा बताएका हुन् ।
बजारमा मूल्य बृद्धि, अखाद्य पदार्थको मिसावट र म्याद गुज्रेका खाद्य सामाग्रीहरुको विगविगी रहेको भन्दै मुख्य सचिव अर्यालले बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलगायत सबै निकायहरुले नियमित बजार अनुगमनमा ध्यान दिनुपर्ने बताए ।
कालाबजारी र विचौलियाहरुका कारण पछिल्लो समय चीनी लगायतका खाद्य पदार्थहरुमा अस्वाभाविक रुपमा मूल्यबृद्धि भएको प्रति इंगित गर्दै मुख्यसचिव अर्यालले अधिकार प्राप्त प्रशासनिक जगत् उपभोक्ता हित प्रवद्र्धनमा कठोर भएर लाग्न निर्देशन समेत दिए ।
मुख्यसचिव अर्यालले बजार मूल्यलाई नियन्त्रण गर्न नेपाल सरकारका निकायहरु जिम्मेवार भएर लागेको जानकारी गराए । उनले भने, ‘साल्ट टेडिङ्ग कर्पोरेशन र खाद्य व्यवस्था कम्पनी लिमिटेडले बजारमा उपभोग्य सामान विक्रि वितरण गरेको छ । हाल बजारमा रु. १५० पर्ने चीनीलाई सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा रु. ९७ मा उपलब्ध गराएका छौँ ।’
चाडपर्वको समयमा आम उपभोक्तालाई सुपथ मूल्यमा अत्यावश्यक उपभोग्य बस्तु उपलब्ध गराउन जरुरी भएको भन्दै उनले साल्ट टेडिङ्ग कर्पोरेशन र खाद्य व्यवस्था कम्पनीलाई देशभर नै सुपथ मूल्य पसलको पहुँच बनाउन निर्देशन दिएको समेत जानकारी गराए ।
उपभोक्ता स्वयम् सचेत बनेमा उपभोक्ता हित संरक्षण विपरितका गतिविधिमा कमी आउनेमा विश्वस्त हुँदै आफूँ बजारमा नठगिनका लागि सबै उपभोक्तालाई उपभोग्य बस्तुको मूल्य र एक्सपाएर मितिका विषयमा सँधै सचेत रहन सुझाव समेत दिए ।

सुरक्षा सम्वेदनशिलतामा हामी सचेत छौं : एआइजी थापा
काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले उपत्यका सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्नका लागि सिंगो प्रहरी संगठन सम्वेदनशिल रहेको बताए । चाडपर्वको समयमा सुरक्षा सम्वेदनशिलतामा चुनौती रहने भन्दै थापाले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी गराए । चाडपर्वको बेला घर जाने यात्रुहरु ठगिने गरेको भन्दै उनले यात्रुहरुका लागि हेल्प डेस्क राख्ने बताए ।

उपभोक्ता सचेतना जरुरी छ : प्रजिअ बस्नेत
कार्यक्रममा काठमाडौ जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बजार अनुगमन प्रभावकारी बन्नका लागि उपभोक्ता सचेतना जरुरी रहेको बताए । चाडपर्वको बेला उपभोक्ता हित विपरितका कार्य बढ्ने हुँदा वाणिज्य तथा आपूर्ति हित संरक्षण विभागले दिएको अधिकारलाई प्रयोग गर्दै अनुगमनका कार्यलाई तिव्रता दिएको बताए ।
बजार अनुगमनका कार्य सबै निकायहरुले समन्वय गरेर गर्नुपर्नेमा जिकिर गरे । उनले भने वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायत सबै निकायहरु मिलेर अनुगमन गरिरहेको भएपनि स्थानीय तहहरुसँग तालमेल हुन नसकेको जानकारी गराए ।

अनुगमनका लागि बजेटको अभाव छ : प्रजिअ पण्डित
कार्यक्रममा ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बजेट र स्रोत साधनको अभावका बाबजुद पनि ललितपुरमा बजार अनुगमनको कार्य प्रभावकारी बनाउन लागि परेको बताए । वाणिज्य तथा आपूर्ति हित संरक्षण विभागसँगको सहकार्यमा यस आर्थिक वर्षमा ३३ फर्ममा अनुगमन गरेको जानकारी गराउँदै प्रजिअ पण्डितले उपभोक्ता हित विपरितका गतिविधि भएमा आफूँहरुलाई सूचना दिन अपिल गरे ।
उनले बजारका कालाबजारी, अखाद्य पदार्थको मिसावट, अस्वाभाविक मूल्यबृद्धि, पसलको दर्ता र नविकरण नभएको पाइएपनि ललितपुरका स्थानीय सरकारहरुले वेवास्ता गर्नुका साथै असहयोग समेत गर्ने गरेको आरोप लगाए ।
चाडपर्वको समयमा उपभोक्ता ठगिने कार्य बढ्ने हुँदा त्यस्ता गतिविधि रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न अपिल समेत गरे ।

बजार अनुगमनमा नागरिकको दायित्व महत्वपूर्ण हुन्छ : प्रजिअ श्रेष्ठ
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बजार अनुगमनमा नागरिकको दायित्व महत्वपूर्ण हुने बताइन् । उनले भनिन्, ‘हामी एक बस्तुको उत्पादक तथा विक्रेता भएपनि हामी सबै बस्तुको उपभोक्ता हौँ । त्यसैले हामी सबै व्यवसायी तथा व्यापारीहरुले आफ्नो धर्म र मूल्य मान्यतालाई अंगाल्नुपर्दछ । सबै नागरिकहरु जिम्मेवार र जवाफदेही हुन सकेमा अटोमेटिक नियमित बजार अनुगमन हुन्छ, यसैमा कसैको मुख ताक्नु पर्दैन ।’
बजार अनुगमनका लागि पर्याप्त स्रोत, साधन नभएपनि जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुगमन कार्यहरुलाई तीव्रता दिएको बताए । उनले जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेका काम कारबाहीलाई सकारात्मक रुपमा लिनका लागि अनुरोध समेत गरे ।
प्रजिअ श्रेष्ठले बजार अनुगमनका क्रममा फर्म दर्ता र नविकरण भए नभएको, म्याद गुज्रिएका खाद्य पदार्थ, मूल्यसूची देखि भण्डारणको अवस्थाहरुलाई प्राथमिकता दिएर अनुगमनको कार्यलाई तिव्रता दिएको बताए । उद्योग वाणिज्य संघको सहयोगमा भक्तपुर जिल्लामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त टिमले प्रहरी प्रशासनलाई लिएर अनुगमन गर्ने गरेको बताइन् ।
प्रजिअ श्रेष्ठले भक्तपुरमा २६ वटा निकायमा अनुगमन गरेको बताउँदै अनुगमनको क्रममा २ लाख बराबरको मललयायत सामाग्री जफत गरिएको, २ लाख ५२ हजार जरिवाना गरिएको जानकारी गराइन् । कारबाहीका लागि ३ वटा पसल र फर्मलाई कारबाहीको लागि सिफारिस गरिएको छ भने फर्म, पसल, मल, पानी, डेरी र मार्टहरु रहेको जानकारी गराइन् ।

स्वच्छ र प्रतिस्पर्धी बजार निर्माणका लागि सक्रिय छौँ : महानिर्देशक चिलुवाल
वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले विभागले स्वच्छ र प्रतिस्पर्धी बजारमा निर्माणमा सक्रिय भएर लागि परेको बताए ।
नेपालीहरुको महान् पर्व विजयादशमी, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा विभागप्रति आम उपभोक्ताको जुन अपेक्षा रहेको छ, त्यो अपेक्षालाई पूरा गर्न लागि परेको उनको भनाई छ ।
उनले भने, ‘चाडपर्वको बेला उपभोग्य बस्तुको माग बढिरहँदा जुन किसिमको अभाव र मूल्यबृद्धि छ, त्यसलाई लक्षित गरेर व्यावसायिक लक्षित कार्ययोजन तयार गरेको छौँ । जसमा १० वटा अनुगमन टोली खटिएका छन् ।’
अनुगमन कार्यलाई प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयहरुलाई समेत अधिकार प्रत्यायोजन गरिएको र अनुगमन कार्य गर्न कुनै कानुनी उल्झन नरहेको बताए ।
हाल मुलुकभर ९ सय भन्दा बढी सरकारी संयन्त्रहरु बजार अनुगमनमा सक्रिय रहेको भएपनि अपेक्षित रुपमा बजार अनुगमन हुन नसकेको बताए ।
महानिर्देशक चिलुवालले बजार मूल्यलाई एकरुपता कायम गर्नका लागि विभागले छिट्टै उपभोग्य बस्तुको मूल्य समेत सार्वजनिक गर्ने बताए ।
कार्यक्रममा बोल्दै साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडका विभागीय प्रमुख ब्रजेश कुमार झाले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनका ल्याएको जानकारी गराए । पछिल्लो समय चीनीको मूल्य प्रतिकेजी १ सय ५० सम्म पुगेकोमा कर्पोरेशनले रु. ९८ मा नै उपलब्ध गराएको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईको अध्यक्षतामा आयोजना भएको हो । कार्यक्रममा बोल्दै चौलागाईंले बजार अनुगमनलाई फरक फरक निकायले फरक फरक समयमा गर्नुभन्दा एकद्वारा प्रणालीबाट गर्न सके त्यसले आशातित परिणाम दिन सक्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपभोक्ता जागरण नेपालका अध्यक्ष कृष्ण प्रसाद भण्डारी र खुद्रा व्यापार संघका अध्यक्ष देवेन्द्र श्रेष्ठले उपभोक्ताले भोग्नु परेका समस्याहरुका विषय औल्याएका थिए ।
कार्यक्रममा काठमाडौ जिल्लाका प्रहरी प्रमुख भुपेन्द्र खत्री, ललितपुरका प्रहरी सिद्धी विक्रम शाहलगायतका विभिन्न विभागका महानिर्देकहरु, नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुणस्तर विभाग, नापतौल विभागलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल प्रहरी जनपथका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पडिण्त ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवाल ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल खुद्रा व्यापार संधका अध्यक्ष देवेन्द्र श्रेष्ठ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै साल्ट ट्रेडिङ कर्पोरेशन लि.का विभागिय प्रमुख ब्रजेस कुमार झा।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपभोक्ता जागरण नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारी ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाई
कार्यक्रममा सहभागि हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, काठमाडौ, भक्तपुर र ललितपुरका प्रजिअहरु जितेन्द्र बस्नेत, रोशनीकुमारी श्रेष्ठ, रुद्रप्रसाद पण्डित, वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवाल, काठमाडौ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठ, कार्यक्रमका अध्यक्ष गोविन्दप्रसाद चौलागाई लगायतका अतिथिहरुको संयुक्त तस्वीर ।

नेप्से परिसूचकमा दाेहाेराे अंककाे गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर मार्जिन कर्जाको सीमालाई बढाएर व्यक्तिगत तर्फको ४ करोडलाई बढाएर १५ र संस्थागत तर्फको १२ करोडलाई बढाएर २० करोड बनाए पनि त्यसले शेयर बजारमा सकारात्मक प्रभाव भने पारेको देखिएन । आइतबार भएको साताको पहिलो कारोबारमा नेप्से परिसूचकमा ठूलो अंकको गिरावट देखिएसँगै यस्तो निष्कर्ष निकालिएको हो ।

शुक्रबार राष्ट्र बैंकले संशोधित परिपत्र मार्फत शेयर मार्जिन कर्जा र घरजग्गा कर्जालाई केही सहजता थपे पनि आइतबार नेप्से परिसूचक ३५ दशमलव ६७ अंकले तल झरेको छ । यो गिरावटबाट नेप्से परिसूचक १९२१ दशमलव २४ बिन्दुमा तल झरेर अडेको छ । यसरी परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने १ अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैंयाको भएको छ ।

आइतबारको कारोबारमा जम्मा १६ वटा कम्पनीको शेयर मूल्य बढ्दा २१३ वटाको घटेको छ । चार वटा कम्पनीको मूल्यमा भने कुनै हेरफेर आएको छैन ।  

आइतबार ठूलो अंकले बजार घट्दा पनि दुई वटा कम्पनीको शेयर मूल्यमा भने ९ प्रतिशत माथि बढोत्तरी देखिएको छ । यी कम्पनीहरूमा वाराही हाइड्रोपावर पब्लिक लिमिटेड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ रहेका छन् । त्यसैगरी, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिमा डीभेन्चर, २०८५ को मूल्यमा भने १० प्रतिशतको गिरावट आएको छ ।  

आइतबार शिबम सिमेन्टको सर्वाधिक बढी मूल्यको कारोबार भएको छ । यसको ६ करोड ७३ लाख ८१ हजारको कारोबार भएको हो । आइतबारको कारोबारले  शेयर लगानीकर्तामा थप निराशा बढेको देखाएको छ ।

क्रिकेट विश्वकपमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र अस्ट्रेलियाबीच खेल हुदै छ । यो खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार २: १५ बजेदेखि शुरु हुने छ । यो दुवै देशका लागि यस विश्वकपको पहिलो खेल हो ।

जारी विश्वकपको यो पाँचौँ खेल हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा जारी पछिल्लो एकदिवसीय वरीयतामा भारत पहिलो स्थानमा आसिन छ । अस्ट्रेलिया भने पछिल्लो आईसीसी वरीयताको तेस्रो स्थानमा छ । 

भारत र अस्ट्रेलियाबीच अहिलेसम्म एकदिवसीय क्रिकेटमा १४९ पटक खेल भएको छ । जसमा अस्ट्रेलियाले ८३ खेल जितेको छ भने भारतले ५६ खेल जितेको छ । त्यसैगरी १० खेलको कुनै नतिजा आएको थिएन ।

अस्ट्रेलिया क्रिकेट विश्वकपमा सबैभन्दा बढी सफल टिम हो । अस्ट्रेलियाले अहिलेसम्म सबैभन्दा बढी ५ पटक विश्वकप जितेको छ । अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो । २०१९ को विश्वकपमा अस्ट्रेलिया सेमिफाइनलबाट बाहिरिएको थियो ।

त्यसैगरी भारतले १९८३ र २०११ गरी दुई पटक विश्वकपको उपाधि जितेको थियो भने गत विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो ।

यस विश्वकपका प्रमुख दाबेदार मानिएका भारत र अस्ट्रेलियाबीचको यो भिडन्त रोचक हुने देखिएको छ ।  यो खेलअघि भारतका प्रमुख ब्याट्सम्यान शुभमन गिललाई डेंगु भएपछि उनले यो खेल गुमाउने भएका छन् । उनको ठाउमा अस्ट्रेलियाविरुद्ध इशान किसनले ओपन गर्नसक्ने बताइएको छ ।

भारतको सम्भावित ११ : १ रोहित शर्मा (कप्तान), २ इशान किशन, ३ विराट कोहली, ४ श्रेयस अय्यर/सूर्यकुमार यादव, ५ केएल राहुल (विकेटकिपर), ६ हार्दिक पाण्ड्या, ७ रविन्द्र जडेजा, ८ आर अश्विन, ९ कुलदीप यादव, १० जसप्रित बुमराह, ११ मोहम्मद सिराज ।

अष्ट्रेलियाको सम्भावित ११ : १ डेभिड वार्नर, २ मिचेल मार्स, ३ स्टिभन स्मिथ, ४ मार्नस लाबुस्चेन, ५ क्यामरुन ग्रीन, ६ एलेक्स क्यारी (विकेटकिपर), ७ ग्लेन म्याक्सवेल, ८ मिचेल स्टार्क, ९ प्याट कमिन्स (कप्तान), १० जोश हेजलवुड, ११ एडम जाम्पा ।