इन्जिनियरिङ अध्ययन संस्थानका स्थगित प्रवेश परीक्षा कार्तिक १४ देखि सञ्चालन हुने (सुचनासहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका स्थगित प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि हुने भएका छन ।

शैक्षिक सत्र २०८०।०८१ मा स्नातक तह (बि.ई.बि.आर्क)को गत भदौ २५ देखि सञ्चालन हुनुपर्ने प्रवेश परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डका पदाधिकारी लगायत पुलचोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएपछि स्थगित भएको थियो ।

इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डको तर्फबाट जारी सूचनामा असोज २२ गतेदेखि २४ गतेसम्म अनलाइन मार्फत प्रवेश परीक्षा फारम भर्न सकिने छ । फारम भर्न छुटेका विद्यार्थीका लागि उक्त व्यवस्था गरिएको हो । यस पटक पहिलो पटक पोखरामा पनि परीक्षा हुने बोर्डले जनाएको छ । 

इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको असोज १९ गतेको निर्णय अनुसार (४ वर्षको) धरौटी सहित नियमित तर्फ ५६ हजार ७ सय रुपैयाँ, पूर्ण शुल्कीय तर्फ ४ लाख ९० हजार रुपैयाँ र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ । सरोकारवाला निकायबिच भएको छलफल अनुसार नयाँ शुल्क निर्धारण परीक्षा सञ्चालन गर्ने सहमति भएको बोर्डका एक अधिकारीले जानकारी दिए । यसअघि शुल्क वृद्धिको विषयलाई लिएर विवाद भएपछि परीक्षा अनिश्चित बनेको थियो । 

कोशी प्रदेशमा एक साताभित्र सरकार गठनको आह्वान

काठमाडौँ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेका हुन् ।

“कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पदबाट राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ”, प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई स्थायित्व दिन अन्य दललाई सरकार गठनमा सहयोग गर्ने बताएका छन् । प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा पेश गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सङ्घीयतामाथिको नकारात्मक धारणा मेट्न तथा यसलाई जीवन्त राख्न अब गठन हुने सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले आफ्नो दलसँग बहुमत सदस्य नभएकाले सरकार गठनका निम्ति दाबी पेश नगर्ने प्रष्ट गर्दै छोटो समयका लागि भए पनि दुईपटक सरकारको नेतृत्व गरेकाले अब अन्य राजनीतिक दललाई सहयोग गर्ने बताए ।

कोशीमा चौथोपटक पनि ढल्यो सरकार

विराटनगर । सर्वोच्च अदालतको परमादेशपछि ३० दिनअघि दोहोरिएर दोस्रो पटक मुख्यमन्त्री बनेका कोशी प्रदेशका चौथौ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो ।

प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको र एमाले सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउनुभयो । उहाँले कसैको स्पष्ट बहुमत नभएको अवस्थामा मिलीजुली सरकार बनाउनु नै अन्तिम विकल्प भएको दाबी पनि गर्नुभयो ।

प्रदेशसभाको दोस्रो कार्यकालमा दुई पटक मुख्यमन्त्री हुने अवसर पाएकोमा खुसी व्यक्त उहाँले आफू प्रदेशको सर्वोच्च कार्यकारी प्रमुखको भूमिकामा रहँदा प्रदेशको आर्थिक समृद्धिमा लागि परेको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसद्वारा द्वन्द्व थप चर्किन नदिन आग्रह

काठमाडाैं ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायलमाथि हमासले गरेको आक्रमणपछि द्वन्द्व बढ्न नदिन मध्यपूर्वमा कूटनीतिक प्रयास गर्न आग्रह गरेका छन् ।

“संयुक्त राष्ट्रसङ्घको महासचिवका हैसियतमा मैले द्वन्द्व थप चर्किनबाट रोक्नका लागि सबै कूटनीतिक प्रयास गर्न आग्रह गर्दछु,” गुटेर्रेसले भने, दुई राष्ट्रको द्वन्द्व समाधान गरी शान्ति हासिल गर्न वार्ता नै उत्तम माध्यम हो ।”

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो। शनिबार हमास र इजरायली पक्षबाट भएका आक्रमणहरूमा सयौँ व्यक्ति हताहत भएका छन् । हमासको आक्रमणको विश्वव्यापी आलोचना भएको छ भने इरानले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेको छ ।

हमास आक्रमण : गाजापट्टी क्षेत्रमा दुवैतर्फका गरि कम्तीमा ३०० जनाको मृत्यु

काठमाडाैं ।  इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को रकेट आक्रमण र घुसपैठका क्रममा शनिबार बिहानदेखि कम्तीमा १०० इजरायलीको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् । आक्रमणमा कम्तीमा ७०० इजरायली नागरिक घाइते भएको जनाइएको छ ।

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । यसअघि प्राप्त जानकारीमा गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली अधिकारीले पुष्टि गरेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताएका थिए ।

यसैबीच, गाजाबाट प्राप्त समाचार अनुसार इजरायली हवाई आक्रमणमा कम्तीमा १९८ जनाको मृत्यु हुनुका साथै एक हजार ६१० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

“गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु भएको छ भने एक हजार ६१० जना घाइते भएका छन्,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । हमासले यसअघि गरेको रकेट आक्रमणको जवाफमा इजरायली हवाई आक्रमण गरिएको हो ।

इजरायलमा भएको आक्रमणमा ९ नेपाली घाइते

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको भीषण आक्रमणमा नेपाली पनि परेका छन् । हमास लडाकुहरु इजरायली भूमिमा पसेर आक्रमण गर्दा एक सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी शनिबार ९ जना नेपाली घाइते भएका छन् । इजरायलको गाजा क्षेत्रनजिकै शनिबार बिहानदेखि शुरू भएको इजरायली सेना र हमासको लडाइँको क्रममा नेपाली नागरिकहरू कार्यरत रहेको कृषि फर्ममा आक्रमण हुँदा त्यहाँ कार्यरत नेपालीहरू घाइते भएको बताइएको छ ।

इजरायलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता अर्जुन घिमिरेका अनुसार नेपाल र इजरायलबीच भएको सरकार–सरकारबीच सम्झौताअनुसार कृषि क्षेत्रमा काम गर्न गएका नेपालीहरू आक्रमणमा परेका हुन् । उहाँले घाइतेका बारेमा यकिन जानकारी लिने प्रयास भइरहेको बताउनुभएको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत ती घाइते नेपालीहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ । इजरायलमा अहिले करिब दुई हजार नेपाली कृषि क्षेत्रमा कार्यरत रहेको बताइएको छ ।

यसैबीच भारतीय सञ्चार माध्यमका अनुसार हमासको लडाकु समूहले १७ जना नेपालीलाई बन्धक बनाएको छ । तर, इजरायलस्थित नेपाली दूतावासले यसको पुष्टि गरेको छैन ।

यता, नेपालमा उक्त घटनापछि परराष्ट्र मन्त्री एनपी साउदले उच्च अधिकारीसँग बैठक गर्दै इजरायलमा रहेका नेपाली सुरक्षाको बारेमा छलफल गरेको मन्त्रालयले जानकारी दिएको छ ।

हमासले इजरायली भूमिमा रकेटबाट आक्रमण गरेपछि इजरायली सरकारले युद्धको घोषणा गरेको छ । अहिले दुवैतर्फ गोलावारुद हानाहानको अवस्था रहेको छ । यो समाचार तयार पार्दासम्म ४० जनाभन्दा बढी इजरायली नागरिक मारिएको दाबी गरिएको छ । उक्त आक्रमणमा परी दुवै पक्षका १ हजारभन्दा बढी मानिस घाइते भएको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न भएको हो ।

पार्टीले अवलम्बन गरेको वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण स्थानीय तहसम्म स्थापित गर्ने अभियानले ध्येय राखेको छ । अभियानका यस क्रममा विभिन्न जिल्लामा २८ सभा र सम्मेलन सम्पन्न भएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, छिन्नमस्त, अर्नाह, भगवान्पुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दिबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगन्ज, हेटौँडा, चितवनमा ठूला सभा सम्पन्न भएका छन् ।

अभियान अहिले लुम्बिनी प्रदेशमा पुगेको छ । पार्टीका शीर्षनेताहरूले सम्बोधन गरेको अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तक्र्रिया, कोणसभा तथा ठूला आमसभासमेत गरिएका छन् ।

यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुने अभियानले आज मणिग्राम र बुटवलमा सभा अयोजना हुँदैछन् । अभियानक्रममा आर्थिक, राजनीतिक, सामाजिक सुरक्षाका विषयमा जनतासँग सुझाव सङ्कलन गरिएको छन् । ती सुझावलाई समाजवादी नीति निर्माणमा समावेश गरिने उपमहासचिव खतिवडाले जानकारी दिए ।

नागरिकबाट पार्टीको नेतृत्व चयन हुने व्यवस्था हुनुपर्छ : युवानेता पौडेल

रामपुर । नेपाली कांग्रेसका युवानेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताएका छन् । उनले भने,“ पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा अगाडि बढाउन सक्षम, योग्य नेतृत्व चयन गर्ने अधिकार आमनागरिकमा दिनुपर्छ ।”

नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले आमनागरिकबाट नेतृत्व चयन गर्ने व्यवस्था लागू भयो भने पार्टीभित्र हुने गुटबन्दीको अन्त्य हुने विश्वास व्यक्त गरे ।

उनले भने, “देशको महत्त्पूर्ण कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस पार्टी अहिले कांग्रेसको पहिचानभन्दा पनि कांग्रेसभित्र गुटको पहिचान रहेको छ । नेपाली समाजको पार्टी रहेको कांग्रेस प्रतिस्पर्धामा खुला ढङ्गले उत्रनुपर्छ । ”

कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जिल्लाका सबै वडा र पालिकामा भेला सम्पन्न गरिसकेको जानकारी गराउनुहँुदै पार्टीमा योगदान गरेका ज्येष्ठ सदस्यलाई सम्मान, पार्टी सुदृढीकरण, सामाजिक कार्य र हितका विभिन्न कार्यमा पार्टीले महत्त्वपूर्ण काम गरेको बताए ।

जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

धनुषा । जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताए ।

सञ्चालक रायले भने, “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियाँै । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।”

तुइन तर्ने क्रममा डोरी चुँडिदा नदीमा खसेर एक जना बेपत्ता

काठमाडौं । हुम्लामा तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् ।

स्रोतका अनुसार हुलाको सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चे घाटमा शनिबार तुइन तर्ने क्रममा तुईन तान्ने डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदिमा खसि बेपत्ता भएका हुन् ।

तर्ने क्रममा तुइन चुँडिएपछि मुगु जिल्ला सोरु गाउँपालिका–५ नेर गाउँका नेपाली बेपत्ता भएको स्रोतले बताएको छ ।

कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थान तिर जाने क्रममा शनिबार साँझ ६ बजे ल्याप्चेमा रहेको तुईनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएका हुन् । यस घटनाबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा रहेको छ । 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३० पैसा र बिक्री दर १६३ रुपैयाँ ०४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

होटलमा बालमजुदरको प्रयोग नगर्न निर्देश

गोरखा । मनकामना मन्दिर आसपासका क्षेत्रमा रहेका होटलमा बालमजदुरको प्रयोग भएको पाइएको छ । धार्मिक पर्यटकको अत्यधिक चाप रहने मनकामना क्षेत्रका केही होटलमा गरिएको अनुगमनका क्रममा सो कार्य भेटिइएको हो ।

केही होटलमा बालमजदुरको प्रयोग गरेको पाइएकाले सञ्चालकलाई होटलमा कामदारका रूपमा बालबालिका नराख्न सचेत गराइएको छ । त्यस्तै किराना पसल तथा होटलको अनुगमनका क्रममा व्यवसायीले म्याद गुज्रेको खाद्य सामग्री बिक्री वितरण गरेको समेत भेटिएको अनुगमन समितिका संयोजकसमेत रहेकी शहीद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् ।

“चाडबाड नजिकिँदै गर्दा बजार क्षेत्रमा म्याद गुज्रेका तथा अखाद्यवस्तु बिक्री–वितरण हुनसक्ने भएकाले गाउँपालिकाले बजार अनुगमनलाई तीव्र पारेको हो”, उनले भनिन्, “नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै पालिकाभित्र रहेका बजारमा रहेका होटल तथा पसलको अनुगमन गरिएको हो ।”

गाउँपालिकाको वडा नं २ र ३ को मनकामना बजारको अनुगमनका क्रममा अधिकांश होटलले मूल्यसूची नराखेको, व्यवसाय वडामा दर्ता नगरी सञ्चालन गरेको भेटिएको उपाध्यक्ष तिवारीले जानकारी दिइन् । त्यस्तै होटल तथा किराना पसलमा म्याद गुज्रिएको पेयपदार्थ कोक, फ्रुटी, फेन्टा, बियरलगायत भेटिएको उनले बताइन्।

मूल्यसूची नराखेका व्यवसायीलाई मूल्यसूची राख्न अनुगमनका क्रममा निर्देशन दिइएको छ । उनले अटेर गरे कारबाही गरिने बताइन् । उपाध्यक्ष तिवारीको नेतृत्वमा गरिएको अनुगमनका पालिका कर्मचारी, पत्रकार, स्थानीयवासीसमेतको सहभागिता रहेको थियो । गाउँपालिकाले शुक्रबारदेखि पालिकाभित्रका बजार अनुगमनलाई तीव्र पारेको छ ।

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक २०८० माथि छलफल हुने

काठमाडाैं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संङ्घीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बस्ने भएकाे हाे । बैठक दिउँसाे १ बजे बाेलाइएकाे छ । 

संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० माथि बिचार गरियोस भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 

साथै, सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नेछन् । सोही बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

आज केही प्रदेशमा हल्का वर्षा हुने

काठमाडाैं । हाल नेपालमा बङ्गलादेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । यी तीन  प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प

काठमाडौँ । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ ।

आजको भूकम्प गत मङ्गलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको छ दशमलव तीन म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन् । वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ । आजको भूकम्प मङ्गलबार गएको भूकम्पको पराकम्प रहेको उनको भनाइ छ ।

“सन् १५०५ यता त्यहाँ ठूलो भूकम्प गएको छैन । त्यसैले त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित भएको छ । दुईवटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो”, वरिष्ठ भूकम्पविद् कोइरालाले भने, “मङ्गलबार मझौला खालको भूकम्प गएकामा त्यसका पराकम्प अझै आइरहेका छन् । अझै केही दिन यस्ता पराकम्प आउन सक्छन् ।”

सुदूरपश्चिम क्षेत्रमा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठूलै भूकम्प जानसक्ने अनुमान गरिएको छ । स–साना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठूलो कम्पनको सङ्कट टर्ने कोइराला बताउँछन् । भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर यही असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो । पाँच दशमलव तीन म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रविन्दु बनाएर छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै, असोज १६ गते दिउँसो ३ बजेर १३ मिनेटमा तेस्रो, ३ बजेर ४५ मिनेटमा चौथो, ४ बजेर २८ मिनेटमा पाँचौँ, ४ बजेर ३१ मिनेटमा छैटौँ, पाँच बजेर १९ मिनेटमा सातौँ, पाँच बजेर ३८ मिनेटमा आठौँ पटक धक्का महसुस भएको थियो । असोज १७ गते राति १२ बजेर १६, १२ बजेर ५०, बिहान ४ बजेर २७ र ५ बजेर ४३ मिनेटमा भूकम्पन गएको थियो । बिहीबार राती १० बजेर ५१ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।