काठमाडौं । २०७२ असार २८ मा नेपालगन्ज उपमहानगरपालिका–८ का चेतन मानन्धरको दिनदाहाडै हत्या भयो। ‘केही कुरा गर्नुछ’ भनेर नेपालगन्जको धम्बोझी चोकदेखि दक्षिण सुर्खेत रोडमा रहेको स्वस्तिक कटेजनजिकै बोलाएर रिगल भनिने योगराज ढकालको समूहले उनलाई लखेटी–लखेटी खुँडा प्रहार गरेर हत्या गरेको थियो।
ढकाललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय पनि सुनायो। तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले उनको कैद मिनाहा गरे। अहिले राष्ट्रपति यसैकारण विवादमा तानिए, पीडितले न्याय मारेको महसुस गरे।
पछिल्लो समय आममाफीका लागि सरकारको सिफारिसमा यस्तै व्यक्तिको प्राथमिकतामा परे। अनि, राष्ट्रपतिले पनि आँखा चिम्लिएर जे आयो त्यसलाई नै स्विकार गरे, माफी दिए। सरकारले चाहेका शक्तिको दुरुपयोगमा छुट्न थाले। यसरी गम्भिर अपराधमा संलग्नलाई आममाफी दिएर संविधानकै अपमान भएको भन्दै आचोलना भइरहेको छ। विज्ञ भन्छन्, ‘यो शक्तिको दुरुपयोग हो। राष्ट्रपति पदको अपमान हो।’ सरकारले गर्ने यस्ता निर्णयले कानुनी शासनको धज्जी उडाएको छ। राजनीतिक संरक्षण पाएमा जे गरेपनि हुन्छ भन्ने प्रवृत्ति झांगिने भएको छ।
के गर्थे हत्यामा संलग्न ढकाल ?
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको आड पाएका ढकालको बाँके(नेपालगन्ज)मा रजगज नै थियो। ठेक्कापट्टा, अबैध असुलीलगायतको धन्दामा ढकाल संरक्षणमा हुने गरेका थियो। ठूला–ठूला ठेक्कापट्टा ढकालको चाहानाविपरित कसैले पनि पाउँदैनन् थिए। प्रक्रिया त देखाउने दाँत मात्रै बनेको थियो।
ढकालसँग सत्ताशक्तिको आडमा प्रहरी प्रशासनको थर्कमान हुन्थे। उनलाई कोइरालाको बडिगाडको रूपमा चिनिने गरेको थियो। सत्ता, शक्तिको आडमा उनले जे गरे पनि छुट जस्तै थियो। हत्यामा संलग्न भएको बेला ढकाल तरुण दलका नेतासमेत थिए। त्यो समय प्रधानमन्त्री सुशील कोइराला नै थिए।
आममाफीले दियो पीडितलाई पीडा
आममाफी पाएर जेलबाट छुटेपछि ढकाललाई कांग्रेस र तरुण दलका नेताहरूले भव्य स्वागत गरेका थिए। श्रीमानको हत्यारालाई रिगललाई उन्मुक्ति दिएको विरोधमा भारती मानन्धर सर्वोच्च अदालतमा रिटसमेत दाहेर गरिसकेकी छन्। उनले आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीका विरुद्ध रिले अनशन बसेकी छन्।
भारती मानन्धरले पत्रकार सम्मेलन नै गरेर एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारेका भन्दै पीडा पोखेकी छन्।
घट्ना घटेको ८ वर्ष भइसक्दा पनि अझैं उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताएकी छन्। श्रीमान्को हत्यापछि डिप्रेसनको औषधि खाँदै आएकी उनलाई आममाफीले झनै पीडा दिएको छ। ‘घटना भएको आज आठ वर्ष भयो। तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन। डिप्रेसनको औषधि अझै पनि चलिरहेको छ।’ उनले पत्रकार सम्मेलनमा भनिन्, ‘मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी बिर्सन सक्छु ?’
आफूले लामो कानुनी लडाइँबाट रिगललाई कारगार पुर्याएको बताउँदै उनले पीडित परिवारको सहमतिबिना राष्ट्रपतिलाई आममाफी दिने अधिकार हुन नहुने बताईन्। उनले राष्ट्रपतिलाई ‘आममाफी भनेको के हो ? तपाईँलाई त्यो अधिकार कसले दियो ?’ भन्दै प्रश्नसमेत गरिन्।
‘राष्ट्रपतिलाई म सोध्न चाहन्छु– आममाफी भनेको के हो ? जसरी त्यत्रो महिना संघर्ष गरेर हामीले उसलाई कारागार पुर्याएको हो, त्यसैगरी आममाफी दिने वा नदिने हामीलाई अधिकार हुनुपर्ने हो। आममाफीको जवाफ मलाई चाहियो,’ उनले भनिन्। हत्यारालाई आममाफी हुने हो भने राज्यले आफूलाई पनि हतियार दिनुपर्ने उनको माग छ। आममाफी मिल्ने हो भने आफू पनि मार्नका लागि तयार रहेको उनको भनाइ छ। ‘त्यसो हुन्छ भने हामी पीडित छौं, हामीलाई पनि हतियार देउ। हामी पनि मारेर बस्छौं, आममाफी मिल्छ भने,’ उनले भनिन्।
कांग्रेसकै एक समूहले भने अहिले यो विषयमा विमति राखिरहेको छ। हालै भएको केन्द्रीय समितिकै बैठकमा नै कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले यो विषय उठाएका थिए। तर, उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बचाउ गर्दैै कानुन प्रक्रिया पुर्याएर नै ढकाललाई आममाफी दिएको बताएका थिए। उता प्रतिपक्ष दल एमाले लगायतका विपक्षहरूले भने ढकालको आममाफीको विषयमा सरकारको चर्को अलोचना गरिरहेका छन्।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली संसद्मा नै ढकालको आममाफीको चर्को आलोचना गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अपराधीलाई उन्मुक्ति दिएको भन्दै सरकारको आलोचना गरेका छन्। पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी राजनीतिक आडमा अपराधीलाई आममाफी दिने कार्य देशको लागि घातक हुने बताए। उनले यसले दण्डहिनता, अनुशासनहिनताका साथै मुलुक अपराध अझ बढाउँदै लाने बताए । अन्नपुर्ण पोष्ट दैनिकबाट ।