तीनवटा जहाज खरिद प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका लागि तीनवटा जहाज किन्ने तयारी थालेको छ। लगातार घाटामा गएको निगमलाई उकास्न तीनवटा जहाज आवश्यक परेको भन्दै सरकारले त्यस्तो तयारी अघि बढाएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले निगमका लागि तीनवटा जहाज खरिद प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग प्रस्ताव मागेका थिए । मन्त्रालयले सो प्रस्ताव एक साताअघि मन्त्रिपरिषद्मा पठाएको छ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रधानमन्त्री दाहाल अमेरिका तथा चीन भ्रमणमा जानुअघि सिंहदरबार पुगेर तीनवटा विमान खरिद गर्नुपर्ने प्रस्ताव गरेका थिए। सोही प्रस्तावका आधारमा पर्यटनमन्त्री सुदन किरातीलाई प्रधानमन्त्रीले जहाज खरिदको प्रस्ताव ल्याउन निर्देशन दिएका थिए। सोहीबमोजिम मन्त्रालयले जहाज खरिदको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो।

एयरबस ३२० र वाइडबडी ए ३३० जहाज खरिदमा लिएको ऋणको किस्ता र ब्याज समयमा भुक्तानी गर्न नसकिरहेका बेला सरकारले थप तीनवटा जहाज खरिद गरेर अन्तर्राष्ट्रिय उडानमा लगाउने तयारी गरेको हो। मन्त्रालयले दुई साताअघि जहाज खरिद गर्ने विषयमा औपचारिक रूपमा छलफल गरेको स्रोतको दाबी छ। प्रधानमन्त्री कार्यालयले समेत जहाज खरिद गर्ने विषयमा राय मागेको थियो।

मन्त्रालयले नेपालको प्रचलित कानुनअनुसार निगमबाट प्रक्रिया अघि बढाउन मिल्ने राय दिएको थियो। ‘विमान खरिदको विषयमा हामीलाई राय मागिएको थियो। मन्त्रालयमा छलफल गरेर प्रचलित कानुनअनुसार नेपाल वायुसेवा निगमबाटै खरिद गर्न मिल्ने र प्रक्रिया पनि उतैबाट अघि बढाउन सकिने राय दिएका थियौं,’ मन्त्रालयका एक उच्च अधिकारीले भने।

उनका अनुसार निगमका कार्यकारी अध्यक्ष अधिकारीले जहाज किन्ने विषयमा प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गरेका थिए। करिब तीन साताअघि निगमका कार्यकारी अध्यक्ष अधिकारीले प्रधानमन्त्री दाहाल र पर्यटनमन्त्री किरातीलाई राखेर निगमको वर्तमान अवस्था र दायित्वबारे ब्रिफिङ गर्दै तीनवटा जहाज खरिद गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

प्रधानमन्त्रीले त्यसै दिन जहाज खरिद गर्न सरकार तयार रहेको बताउँदै खरिद प्रस्ताव पठाउन मन्त्रीलाई निर्देशन दिएको स्रोतको भनाइ छ। सरकारले राष्ट्रबैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा बनेको नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति २०८० को प्रतिवेदनले दिएको रिपोर्टमा सोल्टी होटलको सेयर बेचेर जहाज किन्न सुझाएको थियो। यो समाचार नागरिक दैनिकमा छ ।

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी भूकम्प

काठमाडौँ। सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो ।

केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउँछन् । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उनले भने ।

पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

यस्ताे छ आजकाे माैसम

काठमाडाैं ।  नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

एमाले गण्डकी प्रदेशको अध्यक्षमा शर्मा विजयी

गण्डकी । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।

शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त गरे । म्याग्दीका शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्षको भूमिकामा थिए ।

यस्तै पाँच सय ३४ मतसहित उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी हुँदा उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले तीन सय ७२ मत प्राप्त गरे । सचिवमा धनञ्जय दवाडीले पाँच सय २० ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी रश्मी आचार्यले तीन सय ६७ मत पाएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।

उपसचिवमा चार सय ९९ मतसहित दामबहादुर विक विजयी हुँदा उनका प्रतिस्पर्धी सन्तोष रावलले तीन सय ९७ मत प्राप्त गरे । उपसचिव महिलातर्फ पाँच सय ३१ मत ल्याएर मञ्जु गुरुङ विजयी भइन् भने उनका प्रतिस्पर्धी मीना गुरुङले तीन सय ६५ मत प्राप्त गरिन् ।

बिहीबार भएको मतदानमा कुल नौ सय सात प्रतिनिधिमध्ये आठ सय ९६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत थापामगरले जानकारी दिए । अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’बाट एक सय ६५ उम्मेदवार निर्वाचित भएका छन् ।

विदेशी मुद्राको विनिमय दर यस्ताे छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ ४९ पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ५६ पैसा र बिक्री दर १४० रुपैयाँ १९ पैसा रहेको छ । 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ आजदेखि निष्काशन खुला

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज साउन ४ गते विहीबारदेखि पहिलो चरणको आईपीओ निष्काशन गरेको छ । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

आयोजना अतिप्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर १ का वासिन्दाहरुको लागि ५ लाख ७१ ह्जार ४ सय ३० कित्ता, आयोजना प्रभावित अत्तरगया २, ३, ४ र ५ नम्बर वडा र नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ का वासिन्दाहरुको लागि २ लाख ८५ हजार ७ सय २० कित्ता र रसुवा जिल्लाको अन्य क्षेत्रका वासिन्दाहरुको लागि १ लाख ४२ हजार ८ सय ५० कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरुको लागि १ लाख ५० हजार कित्ता निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । 

उक्त कम्पनीको आईपीओका लागि आयोजना प्रभावितहरुको छिटोमा साउन १८ गते र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेकाहरुले भने साउन १८ गतेसम्ममात्रै आवेदन दिन पाउने छन् । 

शेयर बजारमा दाेहाेराे अंककाे गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज ११.०४ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ९२ विन्दुमा बन्द भएको हो ।        

त्यस्तै, आज एक अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ कम्पनीकोे शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बराही हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.३० प्रतिशतले बढेर प्रतिकित्ता ५०२.८० रुपैयाँ पुगेको छ । यस्तै, आज इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि ८.२६ प्रतिशतले बढेर प्रतिकित्ता ३७८.९० रुपैयाँ पुगेको छ ।    

आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.९४ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ४ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।      

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। बिहीबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत घटेको छ। अन्य उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

    

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उनीहरुले एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।

हरिजन २०७० सालको संविधासभा सदस्य र यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुन् । उनीहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए । पिछडिएका तथा उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहेको बताए । पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने अध्यक्ष दाहालको भनाइ छ ।

भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औँ बैठकलाई आज सम्बोधन गर्दै उनले भने, “अहिले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देश गर्दछौँ । हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद पनि दिन चाहन्छौँ ।”

प्रधानमन्त्री दाहालले सो अवसरमा प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताए । उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनःस्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने पनि प्रतिबद्धता व्यक्त गरे ।

प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको उल्लेख गर्दै उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनःस्थापना तथा पुनःनिर्माणमा कुनै कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।

माओवादीले ९ बुँदेको जवाफ नदिएसम्म वार्तामा नबस्ने नेपाल समाजवादी पाटीको अडान

काठमाडौं । माओवादीले ९ बुँदेको जवाफ नदिएसम्म वार्तामा नबस्ने नेपाल समाजवादी पार्टी(नेसपा)ले अडान लिएको छ ।

स्रोतका अनुसार माओवादी केन्द्र लगायत अन्य समाजवादी पार्टीसँग एकता गर्नका लागि वार्ता कमिटीलाई तुस्त दुरुस्त बनाउने निर्णय भएको छ । यसअघि पार्टी एकताका लागि पठाएको ९ बुँदे आधार प्रस्तावको माओवादीले जवाफ नदिएसम्म वार्तामा नबस्ने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

‘पार्टी एकताका लागि माओवादीलाई ९ बुँदे आधार पत्र पठाएका छौं । त्यसको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय भएको छ’, स्रोतले भन्यो, ‘माओवादीले पठाएको पत्र पार्टी विभाजन गर्ने, अन्तरद्वन्द्वमा फसाउने गरी षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।’

यसैगरी पर्टी सुदृढीकरण र संगठन निर्माणका लागि जारी ६ महिने अभियानलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ । यसअघि दुई दिनसम्म बसेको कार्यकारीणी बैठकमा दुई पक्षबीच पार्टी एकताको सम्बन्धमा मतभेद भएपछि निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो । माओवादीले भदौ ३० मा अध्यक्ष डा. बाबुरामलाई बाइपास गरी अर्का अध्यक्ष महिन्द्रराय यादवलाई पत्र पठाएपछि नेसपाभित्र आन्तरिक विवाद उत्पन्न भएको छ ।

यस्तै, आगामी वैशाखमा महाधिवेशन गर्ने नेसपाले निर्णय गरेको छ । बुधबार राति अबेर सकिएको बैठकले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको थप तयारीबारे निर्णय लिन नेसपाले छठलगत्तै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष दुर्गा सोबले जानकारी दिइन् ।

चितवनमा चलचित्र अवार्ड

चितवन । चितवनमा चलचित्र अवार्ड हुने भएको छ । ‘लक्की मिडिया हाउस’को आयोजनामा यही असोज २५ गते उक्त कार्यक्रम हुन लागेको हो । आयोजक संस्थाले जिल्लामा पहिलोपटक चलचित्र अवार्ड गर्न लागेको हो ।

‘लक्की फिल्मी अवार्ड, २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो । नेपाली सिने जगत्को संरक्षण र जगेर्ना गर्न मोफसलबाटै अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक तथा मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले जानकारी दिए ।

‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ नाराका साथ आयोजना गर्न लागिएको उक्त अवार्डमा विभिन्न १० विधामा मनोनयनको काम सम्पन्न भएको छ । दश विधामा उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र रहेका छन् । ती विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

विधाबाहेक निर्णायक, लोकपृयलगायतका विधामा अवार्ड प्रदान गरिने कार्कीले जानकारी दिए । असोज २५ गते चितवन सिनेप्लेक्स सिजी मल, भरतपुरमा विशिष्ट चलचित्रकर्मीको साथमा भव्यरुपमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

नेता डा रिजालले भने : हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक छ

ताप्लेजुङ । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताएका छन् । ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे ।

कांग्रेस ताप्लेजुङ प्रदेश क्षेत्र (क) को क्षेत्रीय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै देशका हरेक ऐतिहासिक परिवर्तनमा पार्टीको निर्णायक भूमिका रहेको र यसलाई कायम गर्दै जाने बताए । मुलुकका हरेक कठिन परिस्थितिको सामना गर्न नेपाली कांग्रेस अग्रसर रहँदै आएको उल्लेख गर्दै उहाँले आगामी समयमा समेत मुलुक परिवर्तनमा कांग्रेसको भूमिका निर्णायक र महत्वपूर्ण हुनेमा विस्वास व्यक्त गरे ।

राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई समृद्धितर्फ अघि बढाउन पार्टीको महत्वलाई जोड दिएका नेता डा रिजालले विभिन्न विषयलाई लिएर कतिपय नेता कार्यकर्तामा देखिएका असन्तुष्टि र समस्यालाई छलफल र संवादमार्फत नै अन्त्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्यसमेत रहनुभएका ताप्लेजुङ प्रदेश क्षेत्र (ख) का सभापति खगेनसिं हाङ्गाम, प्रदेश सदस्य इन्द्र केदेम, पार्टीका जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङलगायतले आ–आफ्नो धारणा राखे ।

एसियाली खेलकुद : नेपाल पदकविहीनबाट जोगियो

काठमाडौँ । १९औँ एसियाली खेलकुदमा नेपाल पदकविहीनबाट जोगिएको छ । महिला कबड्डीतर्फ नेपालले पदक पक्का गरेको हो ।

चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । महिला कबड्डीतर्फ समूह ‘ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । नेपालले अब समूह ‘ए’को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ ।

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन् ।

हालसम्म चीन एक सय ७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित तीन सय १९ पदक प्राप्त गर्दै शीर्षस्थानमा कायमै रहेको छ । यस्तै जापान ३७ स्वर्ण, ५१ रजत र ५९ कास्यका साथ एक सय ४७ पदक प्राप्त गर्दै दोस्रो स्थानमा छ । दक्षिण कोरिया ३३ स्वर्ण, ४५ रजत, ७० कास्यसहित एक सय ४८ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । भारत १८ स्वर्ण, ३१ रजत र ३२ कास्यसहित ८१ पदकका साथ चौथो स्थानमा छ । उज्वेकिस्तान १६ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५४ पदकका साथ पाँचौँ स्थानमा छ ।

यसैगरी चाइनिज ताइपेई १३ स्वर्ण, १४ रजत र २१ कास्यसहित ४८ पदक प्राप्त गर्दै छैटौँ, थाइल्याण्ड १० स्वर्ण, १२ रजत र २४ कास्यसहित ४६ पदकका साथ सातौँ, बहराइन १० स्वर्ण, एक रजत र पाँच कास्यसहित १६ पदकका साथ आठौँ, दक्षिण कोरिया नौ स्वर्ण, १२ रजत र आठ कास्यसहित २९ पदकका साथ नवौँ तथा हङ्कङ चाइना सात स्वर्ण, १५ रजत र २८ कास्यसहित कुल ५० पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

‘टिकास उपकरण’मा समस्या देखिएपछि साउदी उडेको जहाज बीचबाटोबाटै फर्कियो

काठमाडौँ । काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ ।

गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँ अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार काठमाडौँ–दमाम उडानको उक्त जहाजको ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौँ फर्काइएको हो । पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौँ फर्काएका थिए ।

जहाज उडानको क्रममा अन्य जहाज नजिक आएमा सङ्केत गर्ने उपकरणलाई टिकास भनिन्छ । “टिकास जहाजमा जडित प्रणाली हो, यसले उडिरहेको जहाजलाई जोखिम हुन सक्ने तथा अर्को जहाजसँग ठोक्किनबाट जोगाउन पाइलटलाई निर्देशित गर्दछ”, महाप्रबन्धक तिवारीले भने । उक्त जहाजका यात्रुलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ ।

नेपाल टेलिकमले उत्तर पश्चिमी सीमा नाका टिंकरमा मोबाइल सुविधा

काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । हिजो (२०८० असोज १६) देखि मोबाइल सेवा सञ्चालनमा आए पछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् ।

चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्याएको थियो ।

पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिंकर क्षेत्रमा रहेका करिव ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् । यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरु समेत यसबाट लाभान्वित हुनेछन ्।

करिब ३ हजार ७ सय मिटरको उचाईमा अवस्थित टिंकर भारत सहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिव १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ । त्यहाँबाट करिब ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ ।

नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याएको हो ।