कोशी र बागमती प्रदेशका केही स्थानमा वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । विभागका मौसमविद् गोविन्द झाले नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताए ।

“तर पनि हिजो र आजको जस्तो लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ, पूर्वमा मात्रै अलिकति बाँकी छ, अब भोलिदेखि भारी वर्षा भने हुन्न”, उनले बुधबार भने । उनले राति भने केही ठाउँमा भारी वर्षा हुनसक्ने बताए ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

वर्षाका कारण त्यस क्षेत्रबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

विदेशी लगानी भित्र्याउन ‘अटोमेटिक रुट’

काठमाडौं । प्रक्रियागत झन्झटका कारण विदेशी लगानी आकर्षित हुन नसकेको गुनासो आइरहेका बेला सरकारले ५० करोड रूपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत गर्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको दफा ४२ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट विदेशी लगानीलाई स्वीकृत गर्ने नीतिगत व्यवस्था गरेको हो । अब विश्वको जुनसुकै मुलुकबाट लगानीकर्ताले अनलाइन आवेदन दिएपछि अनलाइनबाटै लगानीको प्रारम्भिक स्वीकृति पाउनेछन् ।

विदेशी लगानीलाई सहजीकरण गर्न र स्वचालित रूपमा स्वीकृत गर्न नयाँ व्यवस्था गरिएको उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले बताए । ‘विदेशी लगानीकर्ताले ५० करोड रूपैयाँसम्म लगानी गर्न विदेशबाटै आवेदन दिन सक्छन्,’ उनले भने, ‘लगानीकर्ताले स्वचालित रूपमा अनलाइन प्रणालीबाट नै प्रि–अप्रुभल पाउँछन् ।’

नीतिगत व्यवस्था भए पनि ‘सफ्टवेयर’ बनाउने काम बाँकी रहेको गौतमले बताए । ‘लगानीकर्ताले आवश्यक कागजात अनलाइनमा अपलोड गर्छन्,’ उनले भने, ‘अनलाइनबाटै अटोमेटिक रूपमा लगानी स्वीकृति पाउनेछन् ।’

यो प्रणाली विकासका लागि आवश्यक पूर्वाधार निर्माण गरिने विभागले जनाएको छ । विदेशी लगानी ल्याउन सरकारले गरेको यो कानुनी व्यवस्था स्वागतयोग्य रहेको प्रतिक्रिया निजी क्षेत्रको छ ।

नीतिगत व्यवस्था गरे पनि कार्यान्वयन पक्ष महत्त्वपूर्ण रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘लगानी आकर्षित गर्न नीतिगत सुधार भएको छ,’ उनले भने, ‘अब सही अर्थमा निर्णय कार्यान्वयन हुनुपर्छ ।’

राजपत्रमा सोमबार प्रकाशित भई मंगलबारदेखि कार्यान्वयनमा आएको यो व्यवस्थाका लागि अनलाइन प्रणालीको विकास गर्न भने बाँकी छ । सरकारले लगानीकर्ताको सहजताका लागि एकल बिन्दु सेवा केन्द्र स्थापना गरेर काम गर्दै आएको भए पनि अझै प्रभावकारी रूपमा सेवा दिन नसकेको गुनासो छ । यो समाचार नागरिक दैनिकमा छ ।

आजकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्द्धामा विजय प्राप्त गर्ने दिन हो, मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँके÷ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । बाध्यतामा खुम्चनुपर्ने समय हो, आर्थिक दृष्टिले पनि कमजोर समय देखिन्छ । कुनै लाभमूलक काम छ भने लापरवाही गर्नु हुँदैन । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरे÷बुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरे÷रङ्गीबिरङ्गी र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
भर्खरै चिनजान भएको मित्रको वा हाई प्रोफाइल व्यक्तिको सहयोग जुट्नेछ । विलासिताका सामग्री र सुखसुविधाका वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ । नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरे÷बुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ दैत्यगुरवे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
नियम÷कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । असहाय र दुःखीको सहयोग गर्दा मनमा छुट्टै सन्तुष्टिको आभास हुनेछ, घरमा सम्पर्क भएको छैन भने सम्पर्क गरी बृद्धबृद्धाको आशीर्वचन लिनुहोला । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । आज ७० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलपूजितायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । लेनदेनको कारोबार, उठ्ती वा रिनसापटीको विषयले चिन्ता बढाउन सक्छ, आज घरपरिवारका विषयमा चासो राखी सम्पर्क गर्नु ठीक हुन्छ । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । आज ३५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । बुद्धि र विवेकको सन्तुलन कायम राख्न नसकिने पेचिलो समय छ, कुनै कुरामा दुविधा उत्पन्न भएमा सिनियर स्टाफको सल्लाह लिनु बेस हुन्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । आज ०५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ । पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वाचस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । 

आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु हुँदै

काठमाडौँ । आजदेखि आइसीसी एकदिवसीय विश्वकप शुरु हुँदैछन् । क्रिकेट विश्वकपको आज पहिलो दिन गत विश्वकपको फाइनल खेलेका इङग्ल्याण्ड र न्यूजील्याण्ड भिड्दैछन् । यो खेल दिउँसाे २: १५ बजेदेखि अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।  

भारतमा आयोजना भइरहेको यो विश्वकपमा विश्वका १० देशले भाग लिएका छन् । आजदेखि शुरु भएर फाइनल खेल नोभेम्बर १९ मा  सकिनेछ । नेपाल भने यस विश्वकपमा छनौट हुन असफल भएको छ ।

विश्वकप खेल्ने देशमा आयोजक भारतसहित पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रीका, इङल्याण्ड, न्यूजील्याण्ड, बंगलादेश, अफगानिस्तान सिधै छनौट भएका हुन् भने श्रीलंका र नेदरल्याण्डस विश्वकप क्वालिफायरमार्फत छनौट भएर विश्वकप खेल्दैछन् ।

१० देशले समुह चरणमा एक अर्का विरुद्ध एक एक पटक खेल्नेछन् । समुह चरणको खेलपछि शिर्ष चार देश सेमिफाइनलमा खेल्नेछन् । समुह चरणमा कुल ४५ खेल हुनेछन् । यो विश्वकप भारतका १० स्टेडियममा हुँदैछ । जसमा अहमदावादमा फाइनलसहित ५ खेल हुनेछन् भने बैंगलोर, चेन्नई, दिल्ली, धर्मशाला, कोलकोता, लखनउ, पुने र मुम्बईमा ५-५ खेल हुनेछन् । त्यस्तै हैदरावादको राजीवगान्धी क्रिकेट मैदानमा ३ खेल हुनेछन् । त्यसैगरी कोलकोताको इडेन गार्डेन र मुम्बईको वान्खडे स्टेडियममा सेमिफाइनल खेल हुनेछन् ।

विश्वकप २०२३ को विजेता टोलीले ४ मिलियन अर्थात ४० लाख डलर अमेरिकी डलर पाउने आइसीसीले घोषणा गरेको छ । विश्वकपको उपविजेताले पनि २ मिलियन अर्थात २० लाख डलर पुरस्कार पाउने भएको छ । यति मात्र होइन, विश्वकपको सेमिफाइनल पुग्ने टोलीमाथि पनि पैसाको वर्षा हुनेछ । सेमिफाइनलमा पुगेर पराजित हुने दुई देशले ८-८ लाख डलर रकम पाउने छन् । त्यसैगरी समुह चरणबाट बाहिरिने हरेक देश (कुल ६ देश) ले एक एक लाख डलर रकम आइसीसीले दिने बताएको छ ।

आज विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ ४९ पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ५६ पैसा र बिक्री दर १४० रुपैयाँ १९ पैसा रहेको छ । 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्नेछन् ।

सो अघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सुचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, पूर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । 

प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा उनीहरूले गंगादेवी गाउँपालिका–२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी योजना निर्माण गर्दा अनियमितता गरेको थियो । अख्तियारले चार लाख ६६ हजार ४८८ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उक्त उजुरीमाथि अनुसन्धान हुँदा अख्तियारले १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) यादव, योजना अधिकृत (सहायक पाँचौँ) कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सब इन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेतविरुद्ध मुद्दा दायर भएको हो।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी, कोषाध्यक्ष चन्द्रकुमारी डाँगी, तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नम्बर २का तत्कालीन वडाध्यक्ष भुपाल दमाईं, वडा सदस्य टिका विक, तत्कालीन वडा सदस्य गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरुद्ध मुद्दा दायर छ।

झुट्टा बिल भरपाई गरी ४ लाख ६६ हजार ४८८ रुपैयाँ बढी भुक्तानी लिएर हानिनोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ।

उक्त रकम बिगो कायम गरी अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र जरिवानाको मागदाबी गरेको छ।

नेप्सेमा सामान्य अंककाे सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज नेप्से ९.२४ अंकले बढेर एक हजार ९ सय ६७ दशमलब ९७ विन्दुमा बन्द भएको हो ।       

त्यस्तै, आज एक अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १७४ कम्पनीको शेयरमूल्य बढेको छ भने ५२ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्से सामान्य बढेपनि यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य यस दिन २७ रुपैयाँ ६० पैसा बढेर ३०३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर र इन्फिनिटी लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको समता लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ६.६१ प्रतिशत घटेको छ।

आज समता घरेलु लघुवित्त वित्तीय संस्थाका  लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ६ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।           

कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ६ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ । नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय जनाको सहभागिता रहने छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुहुने उक्त सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्रा डा श्रीराम शर्माले जानकारी दिए । उनका अनुसार सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायत देशबाट विज्ञको सहभागिता रहने छ ।

यही असोज १९ गतेसम्म चल्ने सो सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल हुने बताइएको छ ।

मुख्य गरी उक्त सम्मेलनले नीति निर्माणमा सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् प्रा डा शर्माले जानकारी दिए । उनका अनुसार प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालका रहने छन् । नेपाल चट्याङको उच्च जोखिम मुलकुमा पर्छ । अनुसन्धान भएका मुलुकमध्ये चट्याङको चौथो जोखिम मुलुकमा रहेको प्रा डा शर्माले बताए । औषतमा वार्षिक झण्डै एक सय जनाले चट्याङबाट ज्यान गुमाउने र तीन सयभन्दा बढी घाइते हुने गरेका छन् ।

गीत–सङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गीत–सङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य भएको बताएका छन् । मङ्गलबार यहाँ आयोजित एक समारोहमा ‘रातो टिकी’ साङ्गीतिक श्रव्यदृश्य सार्वजनिक गर्दै उनले गीत–सङ्गीत समाजलाई बदल्ने अस्त्रका रूपमा प्रयोग हुनसक्ने बताए ।

श्रव्यदृश्य हेरेपछि उपप्रधानमन्त्री खड्काले सम्पूर्ण निर्माण समूहलाई गीत–सङ्गीतका माध्यमले समाजलाई सकारात्मक सोच प्रवाह गरेको भन्दै बधाई दिए । उनले भने, ‘श्रीमानको मृत्यु भएपछि आफ्नो जीवन खुसीले बाँच्न पाउने महिलाको अधिकारलाई श्रव्यदृश्यमा देखाइएको छ । उमेर हुँदै पति गुमाउँदा बाँकी जीवन ती महिलाको उमेर भएको, आफ्नो जीवन आफ्नो खुसीले बाँच्न पाउने हक, आफ्नो जीवन अन्य महिलाको जस्तै गरी बाँच्न पाउने हकबारे प्रष्ट सन्देश श्रव्यदृश्यमा छ । हाम्रो संस्कार, संस्कृति, परम्परा, त्यसले विगतमा छेकबार लगाए पनि अहिले समाज परिवर्तनशील छ, यसलाई श्रव्यदृश्यमा राम्रोसँग देखाइएको छ ।’

मुलुकको पश्चिमी भेगमा अझै पनि संस्कार, संस्कृति, परम्पराका रूपमा यस्तो प्रचलन रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले समाजलाई बदल्न जरुरी रहेको जिकिर गरे । श्रव्यदृश्यमार्फत समाजलाई बदल्ने कुरा देखाएकामा उनले सम्पूर्ण समूहलाई आगामी दिनमा पनि यस्तै सन्देशमूलक काम गर्न आग्रह गरे ।

गीतमा अभिनय गरेका अभिनेता राजेश हमाल हाल देश बाहिर रहेकाले उनले श्रव्यदृश्यमार्फत सन्देश पठाएका थिए । उनले भने, ‘गीत–सङ्गीतमार्फत दिइने सन्देशलाई हेरेर बुझ्न र मनन गर्न सबैमा आग्रह गर्दछु ।’ ‘रातो टिकी’ गीतमा कृष्ण विक, मेलिना राई र रेखा जोशीको स्वर दिएकी छन् । सुरेश अधिकारीले रचना गरेको उक्त गीतमा उनकै सङ्गीत रहेको छ । गीतको श्रव्यदृश्यमा अभिनेता हमालसँगै दिलीप रायमाझी, केकी अधिकारी र नीता ढुङ्गानाले अभिनय गरेका छन।

फड्के समूहको कथक नृत्यको प्रस्तुति शुभारम्भ

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँ तथा सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा भारतकी प्रतिष्ठित कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा तीन सदस्य समूहद्वारा ‘कथक नृत्य वाचन’ कार्यक्रम मङ्गलबार काठमाडौँबाट शुभारम्भ गरिएको छ ।

विगत ३५ वर्षदेखि शास्त्रीय नृत्यको कथक विधामा सक्रिय रहेकी नृत्य कलाकार फड्केको समूहद्वारा भगवान् शिव, कृष्ण, दुर्गा, पशुपतिनाथ र तीन तालमा आधारित छ कथक नृत्यको प्रस्तुति भएको थियो । उनलाई युवा कलाकार सुरवी सिन्त्रे र रसिका गाङ्गलले नृत्यमा साथ दिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले सांस्कृतिक आदान–प्रदानमार्फत नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘यस्ता कार्यक्रममा यसमा आफ्नो भविष्य खोजिरहनुभएकालाई प्रेरणा दिन्छ, अगाडि बढ्न मद्दत गर्छ ।’

नृत्य गुरू फड्केको समूहले नेपालका तीन स्थानमा प्रस्तुति दिने कार्यक्रमअनुसार दोस्रो प्रस्तुति आज विराटनगरस्थित आरोहण गुरुकुलमा र तेस्रो प्रस्तुति यही असोज १९ गते पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा रहने छ । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रष्तिष्ठानका उपकुलपति, सदस्यसचिव, प्राज्ञ परिषद् सदस्य, सभा सदस्य, पूर्व पदाधिकारी, भारतीय दूतावासका प्रतिनिधि एवं सङ्गीत, नृत्य, नाटक क्षेत्रका विशिष्ट स्रष्टा, सर्जक, कलाकार र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

कतार एयरको जहाज ‘ओभरसुट’

काठमाडौँ । कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ”, विमानस्थलका एक उच्च अधिकारीले भने ।

यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

रातिको समयमा पनि कोशी, मधेस र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

काठमाडौँ । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ ।

चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केहीबेरअघि सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तीमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । “पहिलो सहभागितामै आफ्नो देशलाई पदक दिलाउन सफल भएका छौँ”, नेपाली महिला कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले चीनको हाङझाउबाट रासससित कुरा गर्दै भने, “महिला कबड्डी टोलीले विश्वमा नेपालको इज्जत बढाएको छ, जारी एसियाली खेलकुदमा मुलुकलाई पदकविहीन हुनबाट जोगाउन सफल भयौँ ।” सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदकमा मात्र सीमित नरहने उनको भनाइ थियो ।

नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाल र इरानसित पराजित भएको बङ्गलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो ।

यस्तै महिला कबड्डीतर्फ समूह ‘ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । नेपालले अब समूह ‘ए’को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ ।

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङ । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

मलेखु । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ ।

सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए । घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ ।