एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

मोरङ । नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षपदमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान यहाँ सार्वजनिक गरिएको मतपरिणामअनुसार उनले पाँच सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गरेका हुन् ।

यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्र्षा राजवंशी र देवान राई निर्वाचित भएका छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ ।

सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर, कसलाई कति बिगो ?

काठमाडौं । आवश्यक पूर्वाधार तयार नभई अस्वाभाविक लागतमा नेसनल पेमेन्ट गेटवे (एनपिजी) खरिद गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले बहालवाला सचिव मधुकुमार मरासिनी, पूर्वसचिव सञ्जय शर्मा, नेपाल टेलिकमका हालका प्रबन्ध निर्देशक सुनील पौडललगायत नौ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायरसँगै सार्वजनिक पदधारण गरेका बहालवाला कर्मचारी स्वतः निलम्बनमा परेका छन् । छ वर्षअघि खरिद भएको प्रणाली अहिलेसम्म प्रयोगमा नआएको अभियोगपत्रमा उल्लेख छ ।

नीति तथा कार्यक्रममा समावेश नभएको, राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रले बजेट माग नगरेको, नियमित चरणमा कुनै कार्य पूरा नगरी फास्ट ट्र्याकमा काम गरेर राज्यकोषमा हानि पु-याएको अभियोग पत्रमा उल्लेख छ ।

अख्तियारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवं राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणीता उपाध्याय, तत्कालीन उपनिर्देशकरकार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल, केन्द्रका उपनिर्देशक सफल श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं अर्थ मन्त्रालयका तत्कालीन बजेट महाशाखा प्रमुख मरासिनी, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो ।

त्यस्तै केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा र कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध मुद्दा दायर भएको हो । आवश्यक कानुनी प्रक्रियासमेत पूरा नगरी भुक्तानी गरेको अभियोग पनि अख्तियारको छ ।

सार्वजनिक खरिद नियमावलीअनुसार खरिद योजना तयार नभएको, लागत अनुमान स्वीकृतिमा झुटो विवरण तयार भएको, अन्तर्राष्ट्रिय आशयपत्र माग गर्दा टिप्पणीमार्फत स्वीकृत गराइएको अभियोग पत्रमा उल्लेख छ ।

अख्तियारले सात जनालाई जनही २३ करोड २७ लाख ५८ हजार ७७ रुपियाँ बिगो कायम गरेको छ । सञ्जय शर्मा, प्रणीता उपाध्याय, सुनील पौडेल, रामबहादुर बुढा, रमेश पोखरेल, रामशरण गायक, मधुकुमार मरासिनीलाई उक्त बिगो कायम गरेको हो । यस्तै बिगो अनुसारकै जरिवानाको पनि माग गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

बचतकर्ताको रु चार करोड ६१ लाख बचत फिर्ता भएन

म्याग्दी । यहाँस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ ।

ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो । बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी सात महिनादेखि बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिवशिखर सहकारीविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

“सहकारी विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा २०८० असार १७ गतेदेखि अनुसन्धान थालिएको थियो”, उनले भने, “मुुद्दा दर्ता भएको ९० दिनभित्र अनुसन्धानको सबै प्रक्रिया पूरा गरेर सरकारी वकिलमार्फत जिल्ला अदालत म्याग्दीमा मुद्दा अघि बढेको छ ।”

भक्तपुरको मध्यपुुरथिमि नगरपालिका–३ कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुुनासो गरेका छन् । सहकारीले २०७९ बैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो । सुरुआतमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत सङ्कलन गरेको सहकारीले छ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो । बेनीको न्यूरोडमा करिब रु छ करोडमा सात आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो ।

सो सहकारीको बेनी शाखामा एक हजार चार सय ८४ जनाको रु छ करोड १० लाख बचत रहेकामा दुई सय ८२ जनाले मात्र उजुरी गरेका हुन् । निक्षेप फिर्ता नगरेको जनाउँदै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारी संस्थाविरुद्ध उजुरी पर्ने क्रम बढेको छ ।

आजकाे माैसम कस्ताे रहनेछ ?

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बताइएको छ ।

आजको बैठकमा ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ ।

विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज असाेज १६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १३९ रुपैयाँ ६६ पैसा र बिक्री दर १४० रुपैयाँ २९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १२ पैसा र बिक्री दर १६१ रुपैयाँ ८५ पैसा रहेको छ । 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

‘ओलीतन्त्र’ विरुद्ध एमाले कार्यकर्ता !

काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशनमा आन्तरिक लोकतन्त्रको खोजी भएको छ । एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।

चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनपछि पार्टीभित्र प्रतिस्पर्धा गर्ने सम्भावना निकै न्यून बनेको थियो । १०औं महाधिवेशनपछि बनेका जिल्ला कमिटी प्रदेश संरचनाको नेतृत्वमा मनोनयनको विधि अपनाएर आन्तरिक प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा अनेरास्ववियुबाहेक प्रायः सबै जनवर्गीय संगठनको नेतृत्व छनोट गर्दा पनि सर्वसम्मतको बाटो अपनाएर प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो ।

प्रदेश अधिवेशनमा पनि पार्टी अध्यक्ष ओलीले सकेसम्म प्रतिस्पर्धालाई भन्दा सर्वसम्मतको विधि अपनाउन निर्देशन दिएका थिए । तर लुम्बिनी प्रदेशमा त्यो विधि उल्लंघन भई आन्तरिक प्रतिस्पर्धा सुरु भयो । भदौ १५ देखि १८ सम्म भएको प्रदेश अधिवेशनमा प्रस्टसँग दुई जनाबीच प्रतिस्पर्धा भयो ।

पाल्पाका पूर्वसांसद एवं सोही प्रदेशका निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालबीच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । पार्टीको मूल नेतृत्व ओली र महासचिव शंकर पोखरेलको साथ रिजाललाई भए पनि कँडेलले जित हात पारेका थिए ।

लुम्बिनीले त्यस किसिमको प्रतिस्पर्धालाई औपचारिक रूप दिएपछि वाग्मती प्रदेश, कोसी प्रदेश र कर्णाली प्रदेशमा पनि आन्तरिक प्रतिस्पर्धा भयो । वाग्मतीमा पार्टीको मूल नेतृत्वले चाहेको उम्मेदवारले जित्ने वातावरण तयार नहुँदासम्म निर्वाचन प्रक्रिया नै अघि बढाइएन ।

‘सकेसम्म पार्टीको मूल नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत बनाउन नसके निर्वाचन हुँदा पनि उनको पक्षमा माहोल नबन्दासम्म निर्वाचनको प्रक्रिया नै अघि नबढाउने अघोषित नीति लिन थालियो,’ एमालेका एक पदाधिकारीले भने । उनका अनुसार वाग्मतीमा पनि यही अवस्था आयो । यो समाचार नागरिक दैनिकमा छ ।

एसियाड क्रिकेटमा आज नेपाल र भारतले खेल्ने

काठमाडाैं । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल र भारत आज भिड्दैछन् ।

नेपाली समय अनुसार बिहान पौने ७ बजे दुवै टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ ।  समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल क्वाटरफाइनल प्रवेश गरेको हो । भारतले सिधैं अन्तिम ८ मा स्थान पाएको थियो । 

नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्समाथि शानदार जितसहित  नकआउट चरणमा स्थान बनाएको हो । चीनमा नेपाल उत्कृष्ट लयमा देखिन्छ । 

कुशल मल्ल, कप्तान रोहित पौडेलसहितका खेलाडी उत्कृष्ट फर्ममा देखिन्छन् । अघिल्लो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमलाई हान्जाओको पिचले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । 

युवा स्टार खेलाडीलाई समावेश गर्दै एसियन गेम्समा पठाएको भारतले स्वर्ण पदकलाई मुख्य लक्ष्य बनाएको छ । पछिल्लो संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा उम्दा प्रदर्शन गरेका खेलाडीलाई भारतले टिममा स्थान दिएको छ । 

दुवै टिम जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने योजनामा हुनेछन् । नेपालले समूह चरणका दुवै खेलमा २ सयभन्दा बढी रन बनाएकाले भारतविरुद्ध उत्कृष्ट ब्याटिङको अपेक्षा गरिएको छ । 

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

एजेन्सी ।  विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टूले भने, “चीनसँग उल्लेखनीय शक्ति छ । आधारभूत उत्पादनमा मात्र नभई नवीन उत्पादनलाई आविस्कार गर्दैछ यस प्रकारको मानव क्षमता चीनमा सिर्जना भइरहेको छ र यसले उत्पादनमा चीनको बृहङ्गम क्षमता देखाएको छ ।”

चीनले छोटो अवधिमा कसरी विकासलाई गति दिन सकिन्छ भनेर मात्र नसोचेको याोभन्दा माथि उठेर विकासको राम्रो गुणस्तर सुनिश्चित गर्ने योजना बनाएको उनले उल्लेख गरे ।

उनले भने,“चीनले कसरी विकास गर्ने भन्नेभन्दा पनि चीनले कति विकास गर्न लागेको छ भन्ने प्रश्न कम रोचक छैन ।” अर्थशास्त्रीहरूको विश्लेषणअनुसार, यस वर्ष पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ ।

सन् २०२३ मा चीनको अर्थतन्त्र ५.१ प्रतिशतमा स्थिर रहने अनुमान गरिएको छ तर सन् २०२३ को उत्तरार्द्धमा यसमा सामान्य कमी हुने र  सन् २०२४ मा ४.५ प्रतिशत रहने अनुमान प्रतिवेदनमा गरिएको  छ । विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका उपाध्यक्ष मानुएला भी फेरोले भन्नुभयो, “पूर्वी एशिया र प्रशान्त क्षेत्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको र गतिशील क्षेत्रमध्ये एक हो ।”

फेरोले भने, “मध्यावधिमा उच्च आर्थिक वृद्धिलाई कायम राख्न औद्योगिक प्रतिस्पर्धात्मकता कायम राख्न, व्यापारिक साझेदारहरूलाई विविधीकरण गर्न र सेवा क्षेत्रको उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने क्षमतालाई उजागर गर्न सुधारको आवश्यकता पर्नेछ ।”

आज श्री गणेशको प्रिय दिन, यी राशिहरूको चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 


कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ, आज कुनै कुनै समयमा तपाईं अरु वेलाभन्दा अलि बढी कठोर भएको महसुस हुनेछ । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ । विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्थ्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरे÷बुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ दैत्यगुरवे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
मन केन्द्रित हुनेछैन, एकोहोरिने तथा खिन्नता बढ्ने कमजोर समय छ, कुनै यात्राको कार्यक्रम छ भने पनि निरस रहने छ । कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कालभैरवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ । रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धनदाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकाय र सामाजिक क्षेत्रका काममा खट्नुपर्ने हुन्छ । चिताएका काममा सफलता मिल्नेछ । थप मिहिनेत गर्न हौसला प्राप्त हुनेछ, कुनै नयाँ काम थालनी गर्ने हो भने सिनियर्सको सहयोग लिएमा सफल भइने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । आर्थिक क्षेत्र सामान्य नै रहने देखिन्छ । हाँके÷ताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । धार्मिक÷सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरे÷बुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ । आज ०५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ । ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पर्द्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूर्णतया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ । लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरणीसुताय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । नयाँ ज्ञान सिक्ने मौका छ, धैर्य एवं लगनशील बन्नसके हाँके÷ताकेको काममा सफलता मिल्नेछ, दिगो लगानीबाट फाइदा हुने दिन हो । आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शारदादेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । घरबाट शुभकार्यको समाचार आउनसक्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भ्रामरीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरात्मजाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।  

सचिव मधु मरासिनी र टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नेसनल पेमेन्ट गेटवे प्रकरणमा  वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन अध्यक्ष  सञ्जय शर्मा र कार्यकारी निर्देशक प्रणिता उपाध्यायसमेत ९ जनाविरुद्ध सोमबार विशेष अदालतमा अभियोग पत्र दायर गरेको हाे।

नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख ५८ हजार घोटाला भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका तत्कालीन उपनिर्देशक–कार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रबन्ध–निर्देशक सुनील पौडेल, केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकसमेतको मिलेमतोमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले उनीहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। 

अर्थ मन्त्रालयका तत्कालीन बजेट महाशाखा प्रमुख मरासिनीले नीति तथा कार्यक्रममा समावेश नभएको तथा केन्द्रले बजेट नै माग नगरेको नेसनल पेमेन्ट गेटवे खरिद शीर्षकमा अन्तरमन्त्रालय बजेट प्रणाली (एलएमबिआइएस) बजेट प्रविष्टिका नियमित चरणहरूमा पर्ने कुनै पनि कार्य नगरी तथा सोसम्बन्धी तयारीको आवश्यक कागजातसमेत समावेश नगरी आफूमातहत तथा माथिल्लो निकाय तथा अधिकारीलाई जानकारी नदिई २५ करोड रकम बजेट सिलिङभन्दा बाहिर गई विनियोजन गरी बजेट (रातो किताब) मा समावेश राएका थिए। 

अर्थले दिएका बजेटबाट केन्द्रले नेसनल पेमेन्ट गेटवे खरिद गरी सञ्चालन गरेको थियो । यो विषय विशुद्ध प्राविधिक विषय मात्र नभई बैंकिङ कारोबारसम्बन्धी ‘बिजनेस डिटेल’को ज्ञान हुनुपर्ने, कानुनी प्रावधान आवश्यक हुने, सरोकारवालासँग आवश्यक समन्वयसमेत अनिवार्य हुनुपर्नेमा यी विषयको निर्क्याेल नगरिएको आरोपपत्रमा उल्लेख छ। 

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७ बमोजिम गुरुयोजना तयार गर्नुपर्ने, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ बमोजिम खरिद योजना तयार गरी सार्वजनिक निकायको प्रमुखको स्वीकृति लिई गर्नुपर्नेलगायतका अनिवार्य गर्नुपर्ने कार्यहरूसमेत नगरिएको भेटिएको छ। 

लागत अनुमान स्वीकृत भएको भनी झुट्टा विवरण राखी अन्तर्राष्ट्रिय आसयपत्र माग गर्दा टिप्पणीमार्फत तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा केन्द्रका अध्यक्ष शर्माबाट स्वीकृत गरिएको थियो। 

‘नेसनल पेमेन्ट गेटवे हालसम्म पनि सञ्चालनमा ल्याइएको छैन । पूर्ण रूपमा सञ्चालनमा ल्याउन सक्ने अवस्थासमेत नरहेकाले प्रतिवादीहरूले आफ्नो ओहोदाको कर्तव्य पालना गर्दा नेपाल सरकार/सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही तथा बदनियत गरी २३ करोड २७ लाख ५८ हजार ७७ हानिनोक्सानी गरे–गराइएको पुष्टि भएको छ,’ आरोपपत्रमा भनिएको छ। 

आज बागमती प्रदेशसभा बैठक बस्दै

मकवानपुर ।  बागमती प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो २ बजे प्रदेशसभा बैठक बस्ने भएकाे हाे ।

आइतबार दुई पटक सञ्चालन भएको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।

संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरू गरिएको छ । सो विधेयकमाथि आजको बैठकमा पनि छलफल जारी रहने जनाइएको छ । 

स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने बताएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउन सबैले सामूहिक रुपमा काम गर्नु पर्ने बताए ।

गण्डकी प्रदेशमा गत साता लमजुङ र पोखराको मनिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको घटना अप्रिय भएको मुख्यमन्त्री पाण्डेले बताए ।

“पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता बढ्दै गएको छ । अस्पताल तोडफोड गर्न अनि चिकित्सकमाथि हातपात गर्न पाइँदैन”, मुख्यमन्त्री पाण्डेले भने, “चिकित्सकबाट कमजोरी नै हुन्न भन्ने छैन्, कमजोरी हुनसक्छ । चिकित्सकले सबैलाई बचाउन सक्दथे भने सबै चिकित्सक बाँच्थे होला नि ।”

स्वास्थ्य क्षेत्रमा लाग्ने स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिने उनले बताए । उनले भने, “यो पेसामा लाग्ने सबैको सुरक्षाको जिम्मा सरकारको हो । त्यो हामी लिन्छौँ ।” प्रदेशको स्वास्थ्य क्षेत्रमा समस्या रहेको औंल्याउँदै समाधानको पाटो खोज्नु सबैको सामूहिक दायित्व रहेकामा जोड उनले जोड दिए ।

आफ्नो पालामा ३६५ श्यया सङ्ख्यालाई बढाएर ७३५ बनाएरै छाड्ने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाए । क्यान्सर पीडितका लागि भरतपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर सहुलियत उपचारको प्रक्रियाअघि बढेको उनले बताए ।

सोही कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले सरकार र निजी अस्पतालबीच समन्वय हुनुपर्ने बताए । उनले जो पीडित छ पहिला उसैको उपचार निःशुल्क गरिदिन आग्रह गरे ।

उनले भने, “गाडी चढेर सुट लगाएर आउनेलाई गरिबको छुट नदिई एकपटक आफू गरिब निमुखा भएर हेरेर गरिबले पाउने सेवा सुविधा दिनुपर्दछ ।”

सोमबारसम्म चल्ने समीक्षामा प्रदेशको ११ वटै जिल्लाको स्वास्थ्य प्रमुख पोखरा आएका छन् । उनीहरूले आफ्नो प्रतिवेदन पेस गरी त्यसमा छलफल गरिने आयोजकले जानकारी दिएको छ ।

शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने

काठमाडौं । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ ।

महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले सहमति दिएको छ । राहत दरबन्दीमा रहेका ४१ हजार ३ सय ४४ शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्दा र कर्मचारी सञ्चय कोषको हुन आउने दायित्व करिब १५ अर्ब १५ करोड रहने छ ।

त्यसमा २१ हजार २ सय १५ प्रावि शिक्षक, ९ हजार ४ सय ३४ निमावि, ६ हजार ७ सय ५१ जना मावि र ३ हजार ९ सय ४४ जना उमावि शिक्षक छन् । त्यसै गरी कुल दरबन्दीको प्रत्येक एक दशकमा करिब ४० प्रतिशत शिक्षक बढुवा गर्दा बजेट वृद्धि गर्नुपर्ने अवस्था आउने छ ।

मन्त्रालयले उक्त शीर्षकमा करिब १ अर्ब १२ करोड रुपियाँ थप भार पर्ने अनुमान गरिएको छ । जनआन्दोलन घाइने तथा द्वन्द्वपीडित शिक्षकहरूको उपदान तथा निवृत्तिभरण शीर्षकमा ३० करोड खर्च हुने अनुमान छ । सो प्रकृतिका करिब ५ सय शिक्षक कार्यरत छन् ।

उनीहरूलाई जनही ६ लाखको दरले बजेट विनियोजन गर्नुपर्ने छ । शिक्षा मन्त्रालयका योजना महाशाखाका प्रमुख डा। हरि लम्सालले विधेयक कार्यान्वयन गर्न र महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब बजेट लाग्ने बताउनुभयो ।

उहाँका अनुसार सम्झौता कार्यान्वयन गर्दा बजेट बढेको हो । तथ्यांकअनुसार २७ हजार ८ सय ९० विद्यालय कार्यालय सहयोगीको प्रथमस्तरको तलब उपलब्ध गराउन करिब ८ अर्ब ९५ करोड रुपियाँ अनुमान गरिएको छ । ७ हजार १ सय ७८ विद्यालय कर्मचारी कार्यरत छन् ।

उनीहरूलाई खरिदार स्तरको विद्यालय सहायकमा परिणत गरी तलब व्यवस्था गर्न लागेको हो । महासंघसँग भएको सम्झौतामा सबैलाई स्थायी कर्मचारीका रूपमा नियुक्ति दिइने उल्लेख छ । ३० हजार ४ सय ८८ बालविकास केन्द्रका सहजकर्ताको न्यूनतम पारिश्रमिक प्रावि शिक्षकसरह उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार बालविकास केन्द्रका सहजकर्ताका लागि १३ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । हाल देशभरका बालविकास सहजकर्ताको तलब करिब १० देखि १४ हजार रुपियाँ मात्र छ । त्यस्तै, ३ सय ३८ जना ५ वर्ष पूरा गरेका मावि तह प्रथम श्रेणीको शिक्षकलाई विशिष्ट श्रेणीमा बढुवा गर्न थप बजेट व्यवस्था गर्नुपर्छ । उक्त शीर्षकमा ८ करोड ८३ लाख रुपियाँ थप भार पर्ने भएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४० रुपैयाँ १५ पैसा र बिक्री दर १४० रुपैयाँ ७९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७३ पैसा र बिक्री दर १६२ रुपैयाँ ४६ पैसा रहेको छ ।

 कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।