कात्तिक २ गते बिहीबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ, तर शुभ र नयाँ कार्यको योजना बन्नेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कुनै कुराले मन निक्कै प्रसन्न हुन सक्छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ, तर स्वास्थ्यप्रति सजग रहनुहोला ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर मिल्नेछ । जोशजाँगर पनि बढ्नेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । आफूले अरुलाई प्रभावित पारेर काम बन्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यप्रति सजग रहनुहोला ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।

परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन ।

आज सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेर एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नार्क कार्यकारी निर्देशक भट्टराई अन्तर्राष्ट्रिय धान सम्मेलनमा सहभागि

काठमाडौं । फिलिपिन्सको मनिलामा अन्तर्राष्ट्रिय धान सम्मेलन सूरु भएको छ । सो सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई सहभागि भएका छन् ।

१६ देखी १९ अक्टोबरसम्म चल्ने सो अन्तर्राष्ट्रिय धान सम्मेलनमा नेपाल, भारत, चीन सहितका बिभिन्न देशका १७ सय भन्दा बढी अनुसन्धानकर्ताहरु र ९७ जना मुख्य वक्ताहरु सहभागि भएका छन् । सो सम्मेलनमा धान उत्पादनको अनुसन्धानमा लामो समय काम गरेका बैज्ञानिक एवं धान बिज्ञ, नीति निर्माताका साथै निजि क्षेत्रको समेत सहभागि रहेको छ । सम्मेलनमा विश्वमा धानको उत्पादनमा वृद्धि, वर्तमान विश्वमा धान खेतीमा आइपरेका समस्या र तिनका समाधानका बारेमा अनुसन्धानकर्ताहरुले कार्यपत्र पेश गरिहेका छन् ।

उक्त समेलनमा नार्कका कार्यकारी निर्देशक डा. भट्टराईले नेपाललाई कसरी धानमा आत्मनिर्भर बनाउन सकिन्छ, यसको लागि समस्या के छन् र अन्तर्राष्ट्रिय समुहको सहयोग किन आवश्यक छ भन्ने बारे कार्यपत्र प्रस्तुत गरेका छन् ।

यसका साथै सम्मेलनमा विभिन्न चरणको छलफलमा सहभागि हुदै नेपाललाई धानमा आत्मनिर्भर बनाउन धान सम्बन्धि अन्तर्राष्ट्रिय संस्थाहरुसंग हुने सहकार्यको बारेमा समेत विशेष छलफल जारी रहेको छ । सम्मेलनमा धानका विविध विषयका ४२ वटा प्लेनरी सेसनमा अनुसन्धानकर्ताहरुले कार्यपत्र प्रस्तुत गरी विस्तृत छलफल पश्चात् विश्वको धान उत्पादनमा आवश्यक अनुसन्धानका प्राथमिकताहरु तोक्ने काम हुनेछ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा। कालिकाप्रसाद उपाध्यायका अनुसार विश्वको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानले एसिया र अफ्रिकी मुलुकहरुमा रहेको खाद्यसंकट टार्न यो सम्मेलन सार्थक हुने आशा गर्न सकिन्छ । उनले नेपालमा पनि मुख्य बालीको रुपमा रहेको धानमा विश्वका विभिन्न अनुसन्धानकर्ताहरुले विकास गरेका प्रविधिलाई अवलम्बन गरी फाइदा लिन सकिने बताए ।

नेपालमा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र अन्य अनुसन्धान केन्द्रहरुबाट उत्पादनशील प्रविधिहरु विकास गरिएको तर तिनलाई किसानसम्म पुर्याउने बलियो संयञ्त्र नहुँदा अनुसन्धानका कतिपय उपलब्धिहरु उपयोगमा आउन नसकेको पनि उनले बताए ।

मन्त्री भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूत बीच शिष्टचार भेटघाट

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूत हृयुरो जेभियर गोबीबीच शिष्टचार भेटघाट भएको छ ।
मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत गोबीबीच भेटघाट भएको हो ।
भेटमा मन्त्री भुसालले नेपाल र अर्जेन्टिना बीचको सम्बन्ध सद्भाव, मित्रता र आपसी समझदारीमा आधारित रहेको स्मरण गरे ।
“आजको भेटले दुई देशबीचको द्धिपक्षीय सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने ठूलो अवसर रहेको छ”, मन्त्री भुसालले भेटमा भने ।
मन्त्री भुसालले नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले अर्जेन्टिनाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुनेमा चर्चा गरे ।

नेपालको बाजुरामा जैतुन खेती रहेको बताउँदै यसमा सहकार्य गर्न सकिनेमा उनले जोड दिएका थिए ।
भेटमा गैरआवसीय राजदूत गोबीले कृषिमा दुवै देशको परिवेश मिल्ने बताउँदै व्यवसायिक रुपमा सहकार्य गर्न सकिनेमा जोड दिए ।
विशेष गरी नेपालको डेरी क्षेत्र, खाद्य सुरक्षा क्षेत्र, जैतुन उत्पादन र प्रशोधनमा सहयोग गर्न सकिनेमा उनले विश्वास दिलाए । साथै आगामी दिनमा आपसी समन्वयबाट अरु थप कार्य अगाडि बढाउन सकिनेमा जोड दिएका थिए ।

दसैँमा चङ्गा उडाउने संस्कृति हरायो

रामपुर । दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।

विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम बढाउने गरेको लेखनाथ शर्मा मरासिनी बताउँछन् ।

“चाडपर्वमा सबैसँग जमघट हुने, गाउँघरदेखि टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चङ्गा बनाएर कसले माथि पुर्‍याउने भन्दै अकाशमा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो, अहिले त चङ्गा उडाउने गरेको देखिनै छोडयो”, उनले भने ।

खुला आकाशमा चङ्गा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो । नयाँ पुस्तामाझ दसैँमा चङ¬्गा उडाउने संस्कृतिबारे जानकारी नै छैन । पुरानो संस्कृतिलाई अनुशरण गर्दै हिजोआज भने केही विद्यालयमा तल्ला कक्षामा पढ्ने साना–साना बालबालिकालाई दसैँका बेला चङ्गा बनाएर देखाउन थालिएको छ ।

खुला आकाशमा चङ्गा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो । मनोरञ्जन मात्रै नभई परिवारमा खुसुी, साथीभाइबीचको सम्बन्ध प्रगाढ बनाउने गरेको सुदीप गैरे बताउँछन् । हिजोआज बढ्दो सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रुपमा चङ्गा उडाएर मनोरञ्जन लिने चलन कतै देखिँदैन । यस्ता पुराना संस्कृति लोप हुन पुगेका छन् ।

दसैँमा महँगीको मार

काठमाडौं । कलङ्कीस्थित एक फर्निचरमा कार्यरत रामप्यारी गुरुङलाई दसैँ आएपछि अर्को तनाव थपिन्छ। फर्निचर उद्योगमा काम गरेर गुरुङले कमाएको मासिक १७ हजार रुपियाँले आफू र तीन साना छोराछोरीको खाना, स्वास्थ्य उपचार, शिक्षा र कोठा भाडालगायतको खर्च पु¥याउनै सकस छ ।

नजिकिँदो दसैँले उनलाई झनै सकस बनाएको छ । त्यसो त गएको साउनदेखि गुरुङले यसअघि पाउँदै आएको १५ हजार तलबमा दुई हजार बढेर मासिक १७ हजार रुपियाँ पुगेको छ । “तलब दुई हजार बढेर के गर्नु रु” उनी भन्छन्, “महँगी तीन वर्षको बिचमा तीन गुुना बढेको छ । थोरै कमाइले कसरी छोराछोरीको माग पूरा गर्नु र खै ।”

गुरुङको यो भोगाइले न्यून आय भएका नागरिकको अहिलेको जटिल अवस्था स्पष्ट देखाएको छ। चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि गुरुङ जस्ता थोरै कमाइ हुनेको दिनचर्या झनै कठिन भएको छ । न्यून आय भएका किसान तथा दैनिक मजदुरी गर्ने श्रमिकका लागि चाडपर्व सधैँ ठुलो सङ्कट लिएर आउने गर्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन : उपाध्यक्ष भुसाल

पाटन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले जनताबाट अलग भएर रुपान्तरणका काम गर्न नसकिने बताएकी छिन् ।

सो पार्टीको ललितपुर महानगर कमिटीले विजया दशमी, नेपाल संवत्, शुभ दीपालवी तथा छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले समाज विकासको क्रमसँगै मानिसमा विकास भएको चेतनाका आधारमा विभिन्न सांस्कृतिक परम्परा सिर्जना भएको बताइन् । उनले समाजको अगुवामा समयसापेक्ष रूपमा जनताको चाहानाअनुसार नेतृत्व गर्ने चिन्तन, व्यवहार र रुपान्तरण आवश्यक रहेकामा जोड दिइन् ।

“समाजलाई साथमा लिएर अगुवाइ गर्दै परिवर्तनको काम गर्नुपर्ने आवश्यकता छ, हामीले प्राप्त उपलब्धि, सामना गरेका चुनौतीहरूलाई आत्मसान गर्दै रुपान्तरणका लागि सुझाव ल्याउनुपर्ने छ, यसका लागि जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन, पार्टीको रुपान्तरणका लागि हामीले अभियानलाई परिमार्जन गरेर जानुपर्ने हुन्छ, हामी पहिला आफू रुपान्तरण हुने र अनि पार्टीलाई रुपान्तरण गर्ने यात्रामा लागेका छौँ”, उपाध्यक्ष भुसालले भनिन् ।

उनले नियमित रूपमा समितिका बैठक बसेर समस्याको पहिचान गर्दै इतिहासको विरासतलाई वर्तमानसँग जोडेर भविष्यको निर्माण गर्ने गरी नयाँ पार्टी निर्माण गर्न निरन्तरता र गुणात्मकता कायम गर्ने गरी रुपान्तरणको अभियानमा लाग्न आग्रह गरीन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले विजया दशमी, नेपाल संवत्, शुभ दीपालवी तथा छठ पर्व एउटा जात वा वर्ग विशेषको मात्रै चाड पर्व नभएको धारणा राखिन् । “यी पर्वहरू एउटा जात वा वर्ग विशेषको मात्रै चाड पर्व हैन, सबैको हो, तसर्थ यी पर्वहरूलाई किसान, श्रमिकको सम्मान गर्ने, कामको सम्मान गर्ने पर्वका रूपमा हामीले विकास गर्नुपर्छ, हिजो बेठीक भएका कुराहरूलाई भत्काउने, ठीक भएकालाई बनाउने काम यो चाडले दिनेछ”, उनले भनिन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहालले तीनमहिने अभियानले पार्टीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरीन् । उनले जनताले माग गरेको रुपान्तरणलाई सम्बोधन गर्न पार्टीलाई पनि रुपान्तरण गरेर जानु आवश्यक रहेको धारणा राखिन् । चाडपर्वले भेटघाटको वातावरण बनाउने हुँदा पार्टीको पुनःनिर्माणका लागि पुराना व्यक्तिहरूलाई ऊर्जाशील बनाउन लाग्नुपर्ने र तत्कालीन जनमुक्ति सेनाका पूर्वलडाकुलाई पनि पार्टीमा क्रियाशील बनाइनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य राजकाजी महर्जन, बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले शुभकामना मन्तव्य राखेकि थिइन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज भएको मतदानमा उनले दुई तिहाईभन्दा बढी मत पाएका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ को उपनियम ४ बमोजिम कोशी प्रदेशसभा मुख्यमन्त्री कार्कीले विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मत विभाजनको आधारमा मुख्यमन्त्री कार्की पक्षमा ८६ र प्रतिपक्षमा राप्रपाका पाँच मत परेको थियो ।

मुख्यमन्त्री कार्कीका पक्षधर नेपाली कांग्रेस आठ जनासहित २९, नेकपा (एमाले)का ३९ जना, नेकपा (माओवादी केन्द्र)का १३ जना, नेकपा (एकीकृत समाजवादी)का चार जना र जसपाका एक सहित ८६ जनाले विश्वासको मत दिएको उपसभामुख सिर्जना दनुवारले घोषणा गरिन् ।

विश्वासको मतको प्रस्ताव पेश गर्दा छलफलमा भाग लिँदै एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार निर्माण गर्दा संविधानको सबै धारा प्रयोग भइ अहिलेको अवस्थामा आएको बताए । मिलेर काम गर्न तथा सङ्घीयतालाई बलियो बनाउन अहिलेको विकल्प नै उत्तम भएको बताउँदै उनले सहमति, सहकार्य र एकताको संस्कृतिलाई बचाउन नै आफ्नो पार्टीले विश्वासको मत दिने स्पष्ट पारे ।

कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापा, एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, माओवादी केन्द्र संसदीय दलकातर्फबाट दुर्गा चापागाईँ राजनीतिक स्थिरता र विकासका लागि यो सरकारलाई विश्वासको मत दिने बताएका थिए ।

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो पार्टी विश्वासको मतको विपक्षमा रहने बताए । उनले सरकारको राम्रा कामका समर्थन र नराम्रो कामको आलोचनासहित जनतामाझमा जाने प्रतिक्रिया दिए ।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री कार्कीले सुशासन र समृद्धिलाई सँगसँगै लैजान विश्वासको मतको कदर गर्ने बताए । उनले प्रदेशलाई विकासमा नमुना बनाउन विश्वासको मतलाई विश्वासघात नगर्ने विश्वास दिलाए ।

अर्को सूचना जारी नभएसम्म प्रदेश सभाको बैठक स्थगन भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् ।

ठूलो रकमसहित विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुनचन्द ठकुरीले जानकारी दिए।

उनका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका छोदेन भारतको दलैलास्थित धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक चन्द ठकुरीले बताए । छोदेनबाट प्रहरीले बरामद गरेको रकम नेपाली रु ३१ लाख ५० हजार बराबर रहेको जनाइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मलेलनमा सहभागी

बेइजिङ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएका छन् । चिनियाँ समकक्षी एवं सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठले आज यहाँ आयोजित बीआरएफ शिखर सम्मेलनको उद्घाटन सत्रमा नेपाल सरकारका तर्फबाट सहभागिता जनाएको हो ।

राजधानी बेइजिङमा आयोजित सो समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले मुख्य सम्बोधन गरेका छन् । सम्मलेनलाई सम्बोधन गर्दै राष्ट्रपति सी ले १० वर्षयता ‘बेल्ट एन्ड रोड’अन्तर्गतका कार्यक्रमले प्रशस्त उपलब्धि हासिल गरेको उल्लेख गरेका छन् ।

राष्ट्रपति सीलगायत विभिन्न मुलुकका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखले उद्घाटन सम्बोधन गरेको यस सम्मेलनमा सहभागी हुने आउने एक सय ३० भन्दा बढी मुलुकका प्रतिनिधिलाई चीनले स्वागत गरेको बताइएको छ ।

सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठसँगै चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठसमेत सहभागी छन् ।उपप्रधानमन्त्री श्रेष्ठले आजै आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

ढिलासुस्तीले थलिए सडक योजना

म्याग्दी । म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत आठ किलोमिटर दूरीको लाम्पाटा–दरवाङ खण्ड २०७८ जेठ महिनामा कालोपत्र गर्ने लक्ष्यसहित २०७६ जेठमा ठेक्का सम्झौता भएको थियो । बिरुवा–क्याराभान जेभीले रु २२ करोड ५७ लाखमा ठेक्का लिएको यो सडकको हालसम्मको भौतिक प्रगति ६९ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पश्चिम म्याग्दीको ‘लाइफलाइन’ हो ।

तीन खण्डमा सञ्चालित यो सडकको बेनी–सिम खण्डको १२।५ किलोमिटर दूरीको सडक पनि पाँच वर्षको अवधिमा गत वर्ष कालोपत्र सकिएको थियो । २०७६ मा नै ठेक्का सम्झौता भएको म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती सडकको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत रहेको सो योजना कार्यान्वयन गरिरहेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले बताए ।

लक्ष्यअनुसार काम भएको भए सो सडक २०७८ सालमै सम्पन्न हुने थियो । म्याग्दीको बेनी–दरवाङ र गलेश्वर–पिप्ले–भगवतीमात्र नभएर गण्डकी प्रदेशमा सञ्चालन भएका अधिकांश सडक र सडक पुलसम्बन्धी योजना ढिलासुस्तीले प्रभावित भएका छन् ।

सडक निर्माणमा भएको ढिलासुस्तीका कारण यातयातका साधन सञ्चालन गर्न समस्याका साथै दुुर्घटनाको जोखिम बढेको गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । “निर्माण सामग्रीको व्यवस्थापनदेखि स्थानीय स्तरमा सबै सहजीकरण गरिदिँदासमेत निर्माण व्यवसायीले बेवास्ता गरेका छन्,” उनले भने “योजनाको समयसँगै लागत मात्र बढेको छैन । जनताले हैरानी खेप्न बाध्य छन् ।”

विसं २०७६ असार १६ गते रु २३ करोड ३८ लाख ८७ हजार दुई सय ४५ मा ठेक्का सम्झौता भएको ९।९४२ किलोमिटर दूरीको गोरखाको राधाकृष्ण मन्दिर–कमलटार–पौवाटार–विरुवाटार–मिलनचोक–मजुुवा सडक स्तरोन्नतिको काम २०७८ असार १६ गते सम्पन्न गर्ने लक्ष्य थियो ।  

आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न एमएस अमर कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको यो सडकको हालसम्मको भौतिक प्रगति ५०।१० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुुवेदीले बताए । “पछिल्लो दुुई वर्षयता काम नभएको यो सडकका ठेकेदारलाई पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि धरौटी जफत गर्ने प्रक्रिया थालेका छौँ,” उनले भने “ठेक्का ओगटेर बस्ने, सुुस्त रुपमा काम गर्ने र योजनालाई वर्षौंसम्म पूरा नगर्ने समस्या चुनौति बनेको छ ।”

नारेश्वर–पाणिनी–चौतारा–निवेल–ताकुुकोट १० किलोमिटर दूरीको सडक प्रिमिक्स प्रविधिको कालोपत्र गर्न एम/एस अमर/गणेश जेभी काठमाडौँले २०७८ साल असार २९ गते रु २३ करोड ७५ लाख ५७ हजार आठ सय दुईमा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०८० असार २५ गतेसम्मको ठेक्का सम्झौताको म्याद रहेको यो योजनाको हालसम्मको भौतिक प्रगति १७ र वित्तीय प्रगति १५।८५ प्रतिशत छ । २०७७ साल साउन १४ गते ८।६३८ किलोमिटर दूरीको घ्याम्पेसाल–पञ्चकुुवा–देउराली–ताकुुकोत सडक अक्सपाल्ट प्रविधिको कालोपत्र गर्न एम÷एस÷विरुवा–वाइवा/लामा जेभीले रु २९ करोड ७७ लाख २० हजार नौ सय ४६ मा ठेक्का लिएको थियो । २०७९ साउन ६ गते म्याद सकिएको थियो । यो योजनाको दोस्रो पटक थपिएको म्याद पनि गत असार १४ गते सकिएको छ । हालसम्म ५९ प्रतिशतमात्र भौतिक प्रगति भएको छ ।

विसं २०७३ असार २० मा क्याराभान कन्स्ट्रक्सनले ठेक्का लिएको मनाङको नासों गाउँपालिकामा निर्माणाधीन दूधखोला पक्की पुलको भौतिक प्रगति ३० प्रतिशत छ । तत्कालीन जिविसले ठेक्का लगाएर सङ्घीय सरकारबाट हस्तान्तरण भएको यो पुल निर्माणमा भएको ढिलाइले वर्षायाममा सवारी आवतजावत बन्द हुने गरेको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत सञ्चालित ४७ वटा योजना समस्याग्रस्त छन् । १७ वटा योजनाका निर्माण व्यवसायी निर्माणस्थलमै नरहेका पूर्वाधार विकास महाशाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीले बताए ।

पर्वतको मिलचोक–सल्यान–घाहाखेत–धारापानी–ठोटनेरी सडक, स्याङ्जाको मिर्मी–बिर्घा–रानीघाट, वालिङ–काफलडाँडा–रोग्दी–रामपुर सडक, मनाङको दूधखोला र मस्र्याङ्दी नदी पुल र गोरखाको नारेश्वर–पाणिनी–ताकुकोट सडक (दोस्रो खण्ड)लाई मन्त्रालयले समस्याग्रस्त योजनाको सूचीमा राखेको छ । तनहुँको भानुमार्ग–चन्द्रवती–पोखरीछाप–कुन्छाफेँदी जोड्ने सडक, दुलेगौँडा–हर्कपुर मार्ग, रिसिङ–भिरकोट, कृष्ण मार्ग (देउराली–केलादीघाट), नवलपुरको मकुन्दुपुर–अहाले–रतनुपर हुँदै बुलिङटार जोड्ने सडक, चिसापानी पक्की पुल, कास्कीको बेगनास भञ्ज्याङ–आनन्दज्योति सडक, फुर्सेखोला–मट्टीखान सडकका निर्माण व्यवसायी पनि सम्पर्कमा छैनन् ।

बागलुङको कुश्मिसेरा–राङखानी–नाम्दुक–बरेङ–शान्तिपुर र गलकोट–हरिचौर–हिल–तारा–रुम जोड्ने सडकको काम पनि सुस्त छ । दुवै आयोजना बहुवर्षीय हुन् । बागलुङको गलकोट हुँदै म्याग्दीको रुम जोड्ने ४० किमी सडक सडकमध्ये दश किमी कालोपत्रका लागि विसं २०७६ मा ठेक्का भएर निर्माण अघि बढेको थियो । निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले दोस्रोपटक म्याद थपिएअनुसार विसं २०७९ पुसदेखि काम सुरु गरेर आउँदो कात्तिक २५ गतेसम्ममा सक्नुपर्नेमा अझै काम सुरु हुन नगरेको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिकले बताए । रु २४ करोड ७८ लाखको ठेक्कामा बन्न लागेको उक्त खण्डमा अहिलेसम्म जम्मा ५५ प्रतिशत मात्रै भौतिक प्रगति छ ।

मनाङको मस्र्याङ्दी नदी पुल, गोरखाको नारेश्वर–पाणिनी–ताकुकोट सडक (दोस्रो खण्ड), तनहुँको भानुमार्ग–चन्द्रवती–पोखरीछाप–कुन्छाफेँदी जोड्ने सडक, दुलेगौँडा–हर्कपुर मार्ग, फुर्सेखोला–मट्टिखान सडक ठेक्काको धरौटी रकम जफत गरिएको मन्त्रालयले जनाएको छ । धेरैजसो आयोजना अलपत्र पर्नुमा निर्माण व्यवसायी व्यावसायिक बन्न नसक्नु र गैरजिम्मेवारपन प्रमुख कारण देखिएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुग्जालीले बताए ।

नदीजन्य निर्माण सामग्रीको अभाव, निर्माण व्यवसायीले पर्याप्त उपकरण र जनशक्ति परिचालन गर्न नसक्नुु, सहजीकरण तथा समन्वयको कमी, विपद्, सामाजिक र भौगोलिक कारणले पनि आयोजना निर्माणमा असर परेको उनले बताए । “गत वैशाखमा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेका ४७ वटा योजनाका ठेकेदार सम्पर्कमा थिएनन् । अहिले १७ वटामा झारेका छौँ । प्रदेशका योजनामा बजेटको अभाव छैन । काम गरेका निर्माण व्यवसायीलाई भुक्तानीको व्यवस्था मिलाएका छौँ,” मन्त्री जुग्जालीले भने, “काम हुन नसक्ने योजनालाई पहिचान गरेर व्यवसायीलाई कारबाही र निर्माणको कामलाई नयाँ प्रक्रीयाबाट अघि बढाउन अध्ययन थालेका छौँ ।”

गण्डकीका ११ जिल्लामा लामो समयदेखि निर्माण रोकिएका र ढिलासुुस्ती भएका सडक, सडक पुुल, झोलुुङ्गे पुल र भवनसम्बन्धी योजनाको समस्या पहिचान गरी त्यसलाई गति दिन मन्त्रालयले पहल थालेको जनाएको छ ।

मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले समस्याग्रस्त योजनाहरुको स्थलगत निरीक्षणका साथै प्राविधिक, निर्माण व्यवसायी, जनप्रतिनिधि, सुरक्षा अधिकारी र समुदायसँग छलफल गरेर निर्माणलाई गति दिन पहल गरिएको जानकारी दिए । मन्त्रीसहितको टोलीले गत हप्ता म्याग्दी, बाग्लुङ, पर्वत, लमजुङ, गोरखा र तनुहँका समस्याग्रस्त योजनाको स्थलगत निरीक्षण गरे । “समस्याग्रस्त आयोजना पहिचान गरेर समस्या सल्टाउन मन्त्रालय तहबाटै पहल थालेका छौँ,” सचिव पण्डितले भने, “सहजीकरण गरेर रोकिएका आयोजनाका निर्माण व्यवसायीलाई काममा फर्काउने र पूर्णता दिने मन्त्रालयको नीति छ । सहजीकरण गर्दा पनि काम नगर्ने निर्माण व्यवसायीलाई प्रक्रिया पूरा गरेर कालोसूचीमा राख्ने, ठेक्का तोड्ने र नयाँ प्रक्रियाबाट निर्माणलाई पूूर्णता दिन्छौँ ।”

एमएस विरुवा÷वाइवा÷लामा जेभीका प्रतिनिधि कमल कार्कीले कमजोर भूूगोल, मूल्यवृद्धि, ढुुङ्गा, गिट्टी र बालुवाको असहजता तथा पर्याप्त बजेटको व्यवस्था नहुँदा योजना निर्माणमा ढिलाइ भएको बताए । “हामीले जिम्मा लिएको देउराली–ताकुुकोट सडक गत जेठमा कालोपत्र गर्ने तयारी गरेका थियौँ । वर्षा छिटो सुरु भएर रोकिएको हो,” उनले भने “दसैँअघि बाँकी संरचनाको काम सक्ने र सडक मर्मत गरेर यातायात सञ्चालन सहज बनाउने तयारीमा छौँ । चालु आर्थिक वर्षभित्रै यो सडक कालोपत्र गरिसक्ने कार्ययोजना बनाएका छौँ । ठेक्का सम्झौताको म्याद थपमा देखिएको अन्यौलताले अल्मलिएका हौँ ।”

नारेश्वर–ताकुुकोट सडक आयोजनाको ठेकेदार कम्पनी अमर/गणेश जेभीका स्थलगत इञ्जिनियर सन्तोष गौतमले बर्खामा भत्किएको सडक मर्मतको तयारी गरेको र वर्षा रोकिएलगत्तै निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाए ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै

काठमाडौँ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल युएईसित खेल्ने भएको छ ।

टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा तथा युएई तीन खेलमा विजयी भएको छ । नेपाल र युएईबीचको खेल दिउँसो १ बजे सुरु हुने छ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल रहेका छन् ।

काभ्रेमा गाडी दुर्घटना: एकको मृत्यु, चारजना घाइते

काठमाडौं । काभ्रेमा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आज बिहान ६:४५ बजे जिल्लाको पनौती नगपरपालिका वडा नं ५ स्थित सुन्दरबस्तीमा काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा–प्र– ०३– ००१– ज०२९८ नं को इलेक्ट्रिक गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो ।

मोटरसाइकलाई ठक्कर दिई भाग्ने क्रमम इलेक्ट्रिक गाडी सोही स्थानको सडकको किनारको नालीमा खसेर दुर्घटना हुँदा गाडी सवार ३ जना र मोटरसाइकलमा सवार २ जना गरी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा घाइते ५ जनालाई उपचारका लागि जिल्ला स्थित धुलिखेल अस्पतालमा लगिएको थियो । घाइतेमध्ये गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १२ की २० वर्षीया रमिला बुढाथोकीलाई उपचारका क्रममा धुलिखेल अस्पतालले बिहान ७:३५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ की २३ वर्षीया पुष्पा तामाङ, लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बस्ने ५१ वर्षीय टंकप्रसाद दाहाल, मोटरसाइकलमा सवार इलाम जिल्लाको थाकथुम गाउँपालिका वडा नं ३ का ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएका छन् ।

आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएको छन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन् ।

नेपाली कांग्रेसको संस्थागत निर्णयमा विद्राह गरे आफ्नो पार्टीका ८ सहित नेकपा (एमाले)का ३९ सांसदको समर्थनमा गत शनिबार मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले नियुक्तिको ५ दिनमै प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) को १ जना सांसद छन् ।

मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा राप्रपा बाहेकका सबै दलले विश्वासको मत दिने सम्भावना रअ‍ेको छ । यदि त्यसो भएमा कार्कीको पक्षमा ८७ सांसदले विश्वासको मत दिनेछन् ।