आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादशैंको नवरात्र अन्तर्गत आज चौथो दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको आज विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो ।

कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।​ नवरात्रको पहिलो दिन असोज २८ गते दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।

त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।

चौँथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् ।

पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

आज विदेशी मुद्राको नेपाली मूल्य कति छ ?

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४० रुपैयाँ ५१ पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८७ पैसा र बिक्री दर १६२ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

गैरीगाउँको भ्याली बाबा पेट्रोल पम्प सिल

काठमाडौँ । काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गरेको छ । प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो ।

सो क्रममा गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको छ । अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न अधिकारीले बताएका छन् ।

चेकजाँच गर्दा लिटरमा परिमाण कम गरेर ठगेको पाइएकाले सिल गरेको ती अधिकारीले बताए । त्यसअघि नयाँ बानेश्वरको थ्री ब्रदर्स पेट्रोल पम्पमा पनि अनुगमन गरिएको थियो ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ८९ कम्पनीको ३८ लाख १३ हजार दुई सय ३३ कित्ता शेयर ४५ हजार चार सय ५६ पटक किनबेच हुँदा रू एक अर्ब ८४ लाख ३७ हजार आठ सय ६० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २७, निर्जीवन बीमा समूह शून्य दशमलव ५३ र व्यापार समूह एक दशमलव २५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक एक दशमलव ३० र बैंकिङ समूहको उपसूचक एक दशमलव १० प्रतिशतले बढेको छ ।

आज एनआइबिएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ३५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ह्याथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आठ दशमलव ५३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको रू चार करोड ६२ लाख ६९ हजार दुई सय ४८ बराबरको एक लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर किनबेच भएको छ ।

आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

बेइजिङ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ¬स्थित नेपाली दूतावासको अवलोकनका क्रममा मुलुकको समृद्धिका लागि आर्थिक कूटनीति महत्वपूर्ण रहेको बताए।

“नेपाल आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेको छ । यसलाई सही ढङ्गले पूरा गर्न सकिएन भने राजनीतिक उपलब्धि खतरामा पर्ने अवस्था आइपर्न सक्छ, यसकारण हरहालतमा समृद्धिको कार्यभारलाई पूरा गर्नुपर्छ”, उनले भने, “यसका निम्ति दूतावासले आर्थिक कूटनीतिलाई पनि परिचालन गर्नुपर्छ ।”

दूतावासले चीन र नेपालबीच रहिआएका परम्परागत असल सम्बन्धलाई अझ सुदृढ बनाउँदै मुलुकको समृद्धि र आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन योगदान पुर्‍याउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । उनले वर्तमान सरकारले समृद्धि, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता राखेको उल्लेख गरे ।

    
स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने तथा कूटनीतिलाई सन्तुलनका आधारमा अगाडि बढाउने काममा वर्तमान सरकार तुलनात्मक रुपले सफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार सुशासनको स्थापना, अर्थतन्त्रमा देखिएका समस्या समाधान तथा आर्थिक विकासको प्रक्रियालाई तीव्र बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताए । उनले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले दुई देशका उच्च नेतृत्वबाट भएको भ्रमणबाट दुई देशबीच विश्वासको वातावरण बनेको बताए ।

“नेपाल र चीनबीचको जनस्तरका साथै द्विपक्षीय सम्बन्ध बजबुद भएको छ, दुई देशबीच भएका सम्झौता र समझदारी कार्यान्वयनले गति लिने विश्वास छ”, उनले भने ।


सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ दूतावासमा आयोजित दिवाभोजमा सहभागी भएका थिए । कार्यक्रममा दूतावासका कर्मचारीलगायतको उपस्थिति थियो । 

चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू २३ अर्ब ५० करोडले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ३६ अर्ब ८४ करोडले घाटामा थियो ।

त्यस्तै, गत भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति रू ५३ अर्ब ६१ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू २० अर्ब ८१ करोडले घाटामा थियो ।

गत असार मसान्तसम्ममा रू १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति तीन दशमलव नौ प्रतिशतले बढेर भदौ मसान्तसम्ममा रू १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रू १४ खर्ब ६ अर्ब ५२ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रू एक खर्ब ९३ अर्ब ५९ करोड रहेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले १२ दशमलव छ महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

गत भदौ मसान्तसम्ममा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २९ दशमलव सात, ८६ र २६ दशमलव दुई प्रतिशत रहेको छ ।


पछिल्लो दुई महिनामा आयात पाँच दशमलव एक प्रतिशतले, निर्यात सात दशमलव आठ प्रतिशतले र कूल वस्तु व्यापार घाटा चार दशमलव सात प्रतिशतले घटेको छ ।

भदौ मसान्तसम्ममा सरकारको कूल बजेच खर्च रू एक खर्ब ३१ अर्ब १४ करोड र राजस्व परिचालन रू एक खर्ब ४१ अर्ब आठ करोड रहेको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय शून्य दशमलव पाँच प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १२ प्रतिशतले बढेको छ ।
  
त्यस्तै, यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन शून्य दशमव एक प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव सात प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव दुई प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार प्रतिशत छ ।

एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाबाट लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आ.ब २०७९/८० का लागि १० ५ बोनस शेयर र १०.५३ ५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्दि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकको साधारण सभाले आ.ब २०८०/८१ को लागि श्री एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

सहुलियत पसलमै छैन चिनी

लेखनाथ । पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुगे । तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्‍यो ।

“उपभोक्तालाई लक्षित गरी काठमाडौँमा सहुलियत पसलबाट चिनी बिक्री भइरहेको समाचार हेरेर पोखराको साल्ट ट्रेडिङले पनि बिक्री गरेको होला भन्दै आएको हुँ तर यहाँ चामल, नून, तेल र साबुन मात्र बिक्री भइरहेको रहेछ, मलाई चिनी चाहिएको हो”, क्षत्रीले भने, “बजारमा चिनी खरिद गर्दा व्यापारीले प्रतिकेजी रु एक सय ३० लिने गरेका छन् ।”

बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि सर्वसाधारणको दैनिकी कष्टकर हुँदै आएको उनको भनाइ छ । सहुलियत दरमा खाद्यवस्तुको बिक्री गर्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पोखरा र साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनी लिमिटेड पोखराको बिक्री केन्द्रले यसवर्ष चिनी नभएका कारण बिक्री गरिएको छैन । “सरकारले काठमाडौँ बाहिरका जिल्लामा पनि चिनी बिक्री केन्द्र राखेको भए आम उपभोक्ताले सहुलियत दरमा चिनी किन्न पाउने थिए, किन त्यसो नगरेको होला ?”, क्षत्रीले प्रश्न गरे ।

साल्ट टे«डिङ कर्पोरेशन कम्पनी लिमिटेड पोखराका प्रमुख वासुदेव उपाध्यायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दसैँमा चिनी आयात हुन नसकेको र दसैँपछि लगत्तै सहुलियत दरको चिनी बिक्री केन्द्रमा आइपुग्ने बताए ।

“दसैँमा उपभोक्तालाई सहुलियत दरमा चामल, तोरीको खाने तेल, नुहाउने साबुन र नून सहुलियत दरका दिएका छौँ”, उनले भने, “सधैँ झैँ यसवर्ष पनि साल्ट ट्रेडिङको कार्यालय पृथ्वीचोकबाट उपभोग्य सामान बिक्री भइरहेका छन् ।”

प्रमुख उपाध्यायका अनुसार साल्ट ट्रेडिङले २५ केजी तौल भएको जिरा मसिनो चामलको बोरालाई बजार भाउभन्दा रु पाँच सय सस्तोमा रु दुई हजार एक सयमा बिक्री गरिएको छ । त्यस्तै २५ केजीको सोना चामल प्रतिबोरामा रु दुई सय ५० छुट गरी रु एक हजार सात सय ५० मा बिक्री गरिएको छ । त्यस्तै नूनमा रु दुई सहुलियत दिइएको छ भने सन्तुर साबुनमा रु १० र बजार भाउ रु चार सय २५ रहेको शान्ति तोरीको तेल प्रतिलिटर रु तीन सय ७० मा बिक्री  गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय पोखराका सूचना अधिकारी रञ्जना केसीले यसवर्ष चिनी नभएका कारण पोखराबाट स्टिम जिरा चामल बिक्री गरिएको जानकारी दिए ।

उनका अनुसार २५ केजी तौल भएको चालमको बोरा रु एक हजार नौ सय ७५ मा बिक्री भइरहेको छ । दसैँदेखि छठ पर्वसम्मका लागि पाँच सय क्वीन्टल चामल बिक्रीका लागि राखिएकोमा पोखराको पार्दीस्थित बिक्री केन्द्र र पृथ्वीचोकको बिक्री केन्द्रबाट दैनिक २० क्वीन्टल चामल बिक्री भइरहेको केसीको भनाइ छ ।

“प्रतिपरिवार दुई बोरा चामल दिएका छौँ”, केसीले भन्नुभयो, “सहुलियत पसल यही असोज १५ गतेदेखि सुरु भई मङ्सिर ३ गतेसम्म रहने छ ।” विशेष गरी दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले सञ्चालनमा ल्याएको सहुलियत पसलमा चामल खरिद गर्न दसैँसँगै सर्वसधारण उपभोक्ताको चाप बढेको उनको भनाइ छ ।

सरकारले बोलपत्रमार्फत खरिद गर्न लागेको चिनी केही हप्तामा नै बिक्री केन्द्रमा आइपुग्ने र चिनीको समेत बिक्री गर्ने उनले बताए । देशभर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४९, साल्ट ट्रेडिङ कर्पोरेशनले ३५ र दुग्ध विकास संस्थानले ११ आउटलेटबाट सहुलियत मूल्यमा सामान बिक्री गरिरहेका छन् ।

सञ्चालनमा ल्याइएका सहुलियत मूल्य पसल प्रभावकारी भएरनभएको विषयमा अनुगमन गर्न सरकारले अनुगमन समिति पनि बनाएको छ । सहुलियत पसलबाट धेरैभन्दा धेरै लाभ लिन केसीले उपभोक्तालाई आग्रह गरेका छन् । 

दुई महिनामा रु दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर रू दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव आठ ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड अमेरिकी डलर पुगेको छ ।

गत भदौ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या २८ दशमलव तीन प्रतिशतले घटेर ७४ हजार चार सय ५५ रहेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १८ दशमलव तीन प्रतिशतले घटेर ३२ हजार चार कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या ७० दशमलव छ प्रतिशतले बढेको थियो ।

फेरि बढ्यो डेंगी संक्रमण

काठमाडौं । नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजार नाघेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार जनवरी यता १६ अक्टोबरसम्म ४० हजार ६३ जना संक्रमित भएका छन् ।

अक्टोबरका १५ दिनमा मात्रै ६ हजार ४६९ जना संक्रमित थपिएको तथ्यांक छ । डेंगीबाट जुलाइयता २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो महिना गण्डकी प्रदेशका तनहुँ र कास्कीमा संक्रमण तीब्र बनिरहेको छ । गण्डकी प्रदेशमा हालसम्म आठ हजार ६०७ जना संक्रमित भएका छन् ।

त्यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ४२१ जना संक्रमित भएका छन् । सबैभन्दा धेरै सुनसरीको धरान डेंगीबाट प्रभावित भएका छन् । अब कात्तिक लागेसँगै संक्रमण दर विस्तारै घट्ने विज्ञहरु बताउँछन् । 

नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औँ प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो सङ्गठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताए। उनले कर्तव्य पालना गर्दा केही जोखिम हुने भए पनि परिणाम राम्रो आउनुको असल उदाहरण प्रहरी सङ्गठन हो भने ।  

मुख्यमन्त्री कार्कीले पहुँचको आधारमा कुनै पनि अपराधी तथा गलत व्यक्तिलाई उन्मुक्ति दिन हुने उल्लेख गर्दै प्रदेश प्रहरीलाई बलियो र चुस्तदुरुस्त बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, “अरुलाई सुरक्षा दिने निकाय पनि सुरक्षित हुनुपर्छ, अन्यथा सेवाग्राहीले उचित लाभ र सुरक्षित महसुस गर्न सक्दैनन् ।”

कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्य सचिव डा दीपक काफ्ले र प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले प्रहरी सङ्गठनको विविध पक्षबारे चर्चा गरेका थिए । सो अवसरमा अपराध अनुसन्धानचर्फ कोशी प्रदेशमा उत्कृष्ट भएका प्रहरी सहायक निरीक्षक किरण मगरलाई रु एक लाख राशिको साधनादेवी स्मृति पुरस्कार तथा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिएको भन्दै प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराईलाई रु २५ हजार राशिको विप्लव थापा स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा सातवटै प्रदेशमध्ये व्यवस्थापनमा उत्कृष्ट भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बाँस्तोलालाई प्रहरी प्रधान कार्यालयको प्रशंसापत्र प्रादन गरिएको थियो । प्रहरी सङ्गठनमा कार्यरत प्रहरीका पढाइमा उत्कृष्ट छोराछोरीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा स्नातकोत्तरतर्फ प्रमिला खड्का, एलिजा थापा, एलिशा गौतम, एलिना शर्मा, श्रीयङ्का राई, रविना थापा, शालिनी ठाकुर तथा एसइईतर्फ सवोत्कृष्ट हुने २५ जनालाई नगद पुरस्कार प्रदान गरिएको थियो । 

घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य घटेको छ । कारोबार साताको दोश्रो दिन सोमबार घटेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन मंगलबार पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

विश्वकप फुटबलको एसिया छनोट : आज नेपाल र लाओस भिड्दै

काठमाडाैं ।  विश्वकप फुटबलको एसिया छनोटमा आज नेपालले दोस्रो लेगको खेलमा लाओसविरुद्ध खेल्दैछ ।

वियनतियानेस्थित लाओसको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए । बौनफाचन बोनकोन्गले खेलको ३३ औँ मिनेटमा गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको तेस्रो मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काएका थिए ।

दोस्रो लेगमा जित निकाल्ने टिमले समूह एचमा रहेका बहराइन र युएई तथा यमन र श्रीलंकाबीचको बिजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ । पहिलो लेगमा उत्कृष्ट प्रदर्शन गरेको लाओसले दोस्रो लेगमा घरेलु मैदानमा पाहुना टोली नेपाललाई दबाबमा राख्न खोज्नेछ । पहिलो खेलमा गोल गरेका कप्तानसमेत रहेका फरवार्ड बोनकोन्गले लाओसको टिमको नेतृत्व गर्नेछन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आक्रामक फुटबल खेल्ने बताएका छन् । अहिलेसम्म लाओससँग नहारेको नेपालले पुरानै विरासतलाई कायम राख्दै दोस्रो चरण पुग्ने लक्ष्य राखेको छ ।

आजको मौसम : हल्का वर्षाको सम्भावना, धान नकाट्न किसानलाई आग्रह

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्राधानाङ्गले जानकारी दिए ।

उहाँका अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा भोलिसम्म रहने भएकाले आज र भोलि किसानले धान नकाट्दा राम्रो हुने मौसमविद् प्राधानाङ्गले बताए ।

काठमाडौँमा अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको र काठमाडौँमा अपराह्नतिर हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् प्राधानाङ्गले जानकारी दिए ।

यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीकाे पूजा गरि मनाइँदै

काठमाडौँ । बडा दशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए ।मार्कण्डेय पुराणमा ‘चन्द्र : घण्टायां यस्या : सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उनले बताए ।नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् ।घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ ।नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ । बडादसैँ बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेषरुपमा आराधना गर्न मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।