भोलिदेखि एमडिएमएस कार्यान्वयनमा ल्याउने

नेपाल दूरसञ्चार प्राधिकरणले भोलिदेखि रोकिएको एमडिएमएस कार्यान्वयनमा ल्याउने भएको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएसमा) दर्ता नभएको करिब ५० लाख फोन मध्य पहिलो चरण आईफोन लगाएत महङ्गा फोन ब्लल गरेर सो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

यसअघि अर्थमन्त्रालय र सञ्चार मन्त्रालयले अनुमति नदिँदा दर्ता नभएका ५० लाख हाराहारी फोन ब्लक गर्न प्राधिकरण पछि हट्दै आएको थियो । गत जेठबाटै लागू गर्ने भनेपनि पटक पटक विवादमा फस्दा एमडिएमएस लागू हुन सकेको थिएन ।

शेयर बजारमा २१.४६ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २१.४६ अंकले घटेर एक हजार ८ सय २६ दशमलब २३ विन्दुमा बन्द भएको हो ।    

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ। यस दिन २८९ स्टकको ३९ हजार ३२२ पटकको कारोबारमा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँ बराबरको ३५ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

  नेप्सेका अनुसार आज कारोबार भएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६.९७ प्रतिशतले बढेर प्रतिकित्ता ६१४ रुपैयाँ पुगेको छ । यस्तै आज तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयरमूल्य पनि ५.४७ प्रतिशतले बढेर प्रतिकित्ता ७११.९० रुपैयाँ पुगेको छ ।  

आइतबार हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ४ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।    

  १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.११ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।      

तत्कालीन सचिव अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेश बुटवलका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आरोप पत्रमा अधिकारीसँगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी पनि भ्रष्टाचारमा संलग्न भएको उल्लेख छ।

आर्थिक वर्ष २०७५/७६ मा किसानलाई स्पेसिफिकेशन र सम्झौता विपरीत कम क्षमता र गुणस्तर नभएको मिनिटिलर तथा अन्य यन्त्र उपकरण वितरण गरेर भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालत काठमाडौँमा आइतबार आरोपपत्र दायर गरेको हो।

तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीले सम्झौता बमोजिम खरिद सम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन समेत नगरी–नगराई भुक्तानी सम्बन्धी टिप्पणी सदर गरी सम्झौता बमोजिम गुणस्तर र ब्रान्डको वितरण गर्नुपर्ने यन्त्र उपकरणभन्दा कम गुणस्तरको र फरक ब्रान्डको मिनिटिलर खरिद र आपूर्तिकर्तालाई भुक्तानी गरेको पाइएको छ।

तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवालीले सम्झौता बमोजिम खरिद सम्बन्धी कागजात संलग्न भए-नभएको एवं सम्झौता बमोजिम गुणस्तर र ब्रान्डको यन्त्र उपकरण रहे-नरहेको अध्ययन नगरी सम्झौतामा उल्लेख भएबमोजिम गुणस्तर र ब्रान्डभन्दा कम गुणस्तर र फरक ब्रान्डको यन्त्र उपकरण आपूर्तिकर्तालाई भुक्तानीको लागि टिप्पणी सिफारिस गरेको आरोप पत्रमा उल्लेख छ।

आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीले सम्झौतामा उल्लेख भएबमोजिम गुणस्तर र ब्रान्डको वितरण गर्नुपर्ने मिनिटिलर खरिद नगरी कम गुणस्तर र ब्रान्डको मिनिटिलर वितरण गरी, सम्झौता बमोजिम नै मिनिटिलर खरिद र वितरण गरेको भनी भुक्तानी माग गरेको पाइएको हो।

त्यस्तै, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले सम्झौता बमोजिम खरिद सम्बन्धी कागजात संलग्न भए-नभएको एवं सम्झौता बमोजिम गुणस्तर र ब्रान्डको यन्त्र उपकरण रहे-नरहेको अध्ययन नै नगरी फरक ब्रान्ड र कम गुणस्तरको यन्त्र उपकरण आपूर्तिकर्ताले पेश गरेको कागजात जस्ताको तस्तै भुक्तानीको लागि टिप्पणी पेश गरेको अभियोग छ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापकमाको भूमीकामा : पौडेल 

काठमाडौं । दोश्रो पुनर्बीमा कम्पनीको रुपमा उदाएको हिमालयन रि इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापकमा प्रमुख कार्यकारी अधिकृतको भूमीकामा उपासना पौडेल कार्यरत छिन् । यसै वर्षको असोज १५ गते प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी पौडेलको बीमा क्षेत्रमा १० वर्षभन्दा बढी र उत्पादन तथा दुरसञ्चार क्षेत्रमा ३ वर्षको कार्यानुभव रहेको छ । पौडेलले दिल्ली युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) मा स्नातकोत्तर गरेकी छिन् ।

उनी नेपालको बीमा उद्योगमा सानै उमेर र महिला कर्मचारीका रुपमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत समेत हुन् । हिमालयन रि आउनु अघि उनले युनाइटेड इन्स्योरेन्सको सीईओको रूपमा काम गरेकी थिन् ।

त्यस्तै नायब प्रमूख कार्यकारी अधिकृतमा मुकेश कुमार कपूर कार्यरत छन् । कपूरको नेपाल तथा भारतको बीमा क्षेत्रमा ३८ वर्षको कार्यानुभव रहेको छ ।

त्यस्तै कम्पनीको कार्यकारी निर्देशकमा मनिष कुमार र दीपक कुमार श्रेष्ठ कार्यरत छन् ।

प्रति साधारण शेयर अंकित मूल्य रु.१००मा प्रिमियम बापत रु. १०६ थप गरी प्रति शेयर रु.२०६मा हिमालयन रि इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमामा गएका नेपालीमा  कार्तिक २१ गते देखि आईपीओ  निष्कासन गर्दै छ । दोश्रो चरणमा सर्वसाधारणलाई निष्कासन  गर्ने छ ।

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद बढी

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । कात्तिक १९ गते विहान १० बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल बैंकको चुक्तापूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

बैंकले यस वर्ष गत वर्षको तुलनामा कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत वर्ष बैंकले ३ प्रतिशत बोनस शेयर र कर समेत १० दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

इजरायलमा घटनामा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो

काठमाडौं। दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ।

गए राति फ्लाई दुबईको विमानमार्फत ११:३० बजे डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए।

उहाँले भन्नुभयो, “इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ ।

इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको छ । बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको छ ।” दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

आक्रमणमा परि डोटी लामीखाल-८ का पदम थापा, सल्यान सारदा-३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । 

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन छन् । केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्दार गरी नेपाल ल्याएको थियो ।

डोटी लामीखाल-८ का पदम थापा, डोटी पचनाली-३ का राजन फुलारा र सल्यान सारदा-३ का प्रवेश भण्डारीको शव आज दिउँसो १२ बजेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने तयारी भएको सहसचिव आरणले जानकारी दिनुभयो ।

के हो मुलुकी देवानी संहिता २०७४

काठमाडाैं । मुलुकी देवानी संहिता २०७४ साल असोज ९ गते पारित भएको हो । मुलुकी देवानी संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनहरू पनि संसद् बाट पारित भएका हुन्। २०७४ साल असोज ३० गते प्रमाणीकरण भएका यी ऐनहरू २०७५ साल भाद्र १ गते देखि लागू भएका हुन् । यी ऐनहरूले देशमा कानूनी व्यवस्था कायम राखी नैतिकता, शिष्टाचार, सदाचार र सुविधा कायम राख्ने साथै आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा न्यायिक व्यवस्था गरेर विभिन्न जातजाति, वर्ण र समुदायबीच सद्भावपूर्ण सम्बन्ध कायम राख्ने लक्ष्य लिएका छन् । मुलुकी देवानी संहितामा ६ भाग र ७२१ दफाहरू छन् ।

ती सबै व्यवस्था मानवजीवन साथै उद्यमहरू र अरू सङ्गठनहरूका क्रियाकलापसँग धेरै नजिक छन् । यसका केही प्रावधान मुलुकी ऐन र अरू कानूनबमोजिम छन् भने केही नयाँ प्रावधान अन्य देशका कानूनी प्रावधानहरूको अध्ययनबाट मिलाएर थपिएका छन्। देवानी संहिताको भाग ६ मा निजी अन्तर्राष्ट्रिय कानूनसम्बन्धी व्यवस्था राखिएको छ। यसले नेपाली र विदेशी नागरिकबिचका सम्बन्ध, जस्तै विवाह, लेनदेन आदिका बारेमा र बहुराष्ट्रिय सम्बन्ध जोडिएका मामिलामा कस्ता कानूनको प्रयोग गर्ने भन्ने बारेमा व्यवस्था गरेको छ।

जापान सरकारले (जाईका मार्फत) सन् २००९ देखि नेपालको मुलुकी देवानी संहिता बनाउन सहयोग गरेको थियो । नेपाली कार्यदल सदस्यहरूले नेपाल र जापानमा धेरै छलफल गरेपछि यी कानूनी व्यवस्था यस ढाँचामा ल्याइएका हुन् ।

बेलाबेलामा श्रव्यदृश्य सञ्चारसाधनबाट पनि बैठकहरू भए जसमा जापानी कानून प्राध्यापकहरूसँग दफाबार छलफल गरिएको थियो । जापानी विज्ञहरूले सल्लाहकार समूहका सदस्यका रूपमा निरन्तर सल्लाह दिएका थिए ।

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । विश्वकप छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाएर १८४ रन जोड्यो ।

नेपालका गुल्शन झाले ५४ र कप्तान रोहित पौडेलले ५२ रन बनाए । ६० रनमा ४ विकेट गुमाएको अवस्थामा रोहित र गुल्शनबीच ७८ रनको साझेदारी भएको थियो ।

गुल्शन झा २५ बलमा चार छक्का र ५ चौकासहित ५४ रन बनाएर आउट भए । रोहितले ३७ बलमा २ छक्का र ५ चौका हिर्काए । नेपालले अन्तिम ओभरमा २४ रन जोडेको थियो ।

नेपालका कुशल भुर्तेल ३१, सन्दीप जोरा १० रन बनाएर आउट भए । करन केसीले ६ बलमा २ छक्का र एक चौकासहित २० रनमा अविजित रहे ।

आसिफ शेखले ६ र कुशल मल्लले ३ रनमात्र जोड्न सके । विवेक यादबले १ रन मात्र बनाए । ओमानका बिलाल खानले ३ विकेट लिए । अकिब इल्यासले पनि २ विकेट हात पारे ।

नेपालले अन्तिम १० ओभरमा एक सय २४ रन जोड्यो भने अन्तिम ५ ओभरमा मात्र ७४ रन थपेको थियो।

नेपाल र दक्षिण कोरियाका कृषि मन्त्रीद्धारा संयुक्तरुपमा नार्कको अवलोकन

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कृषि अनुसन्धान लगायतका गतिविधि बारेमा नेपाल र दक्षिण कोरियाका कृषि मन्त्रीले अवलोकन गरेका छन् ।

नार्कको केन्द्रीय कार्यालय खुमलटार ललिपुरमा आज नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र दक्षिण कोरियाका कृषि, खाद्य तथा ग्रामिण सुरक्षामन्त्री चुङ्ग हवानकेउनले नार्कको कार्यालयमा पुगेर अवलोकन गरेका छन् ।

कृषि मन्त्री डा. भुसालले सो क्रममा नेपाल र दक्षिण कोरिया सरकारका बीचमा कृषि अनुन्धान, अध्ययन तथा पुर्वाधार विकासमा सहाकार्य हुने र त्यसका लागि कोरिया सरकारको सकारात्मक धारणा एवं पहलका लागि धन्यावाद दिएका छन् ।

‘नेपालको कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको र आउँने दिनमा समेत सहयोग रहने प्रतिबद्धता आएकोमा नेपालले त्यसलाई सदुपयोग गर्नेछ’ कृषि मन्त्री भसालले भने, ‘हिजो (बिहिबार) मात्रै हामीले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छौं । त्यसले नेपालको कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।’

दक्षिण कोरियाका कृषि मन्त्री हवानकेउनले नेपालमा धान, तरकारी, दुग्ध उत्पादन वृद्धि र कृषि उपजमा सहकार्य हुने बताए । नेपाल र दक्षिण कोरियाको मौसम पनि एकै किसिमको रहेको बताउँदै उनले नेपालको कृषि अनुसन्धान र दक्षिण कोरियाको कृषि अनुसन्धानबाट दुबै देशका कृषक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

‘हामी कृषि अनुसन्धान, यहाँको धान, तरकारी, दुग्ध लगायतको उत्पादन बृद्धिमा सहकार्य गर्दै अगाडी बढनेछौं । नेपालसंग सहकार्य गर्न पाउँदा हामी खुशी छौं’ मन्त्री हवानकेउनले भने, ‘दुबै देशको मौसम पनि एकै किसिमको छ । यहाँको बिउँको संचितिकरण र त्यसको जर्गेनामा समेत हामी सहकार्य गर्न चाहन्छौं ।’

बिहिबार मात्रै नेपाल र दक्षिण कोरियाबीच कृषि क्षेत्रमा सहकार्यसम्बन्धी द्विपक्षीय समझदारी भएको छ । नेपाल र दक्षिण कोरियाका कृषि मन्त्रीका बीच समझदारी पत्रमा हस्ताक्षर भईसकेको छ । त्यसबाट नेपालको कृषि अनुसन्धानमा फाईदा पुग्ने विश्वास लिईएको छ । कृषि क्षेत्रको अध्ययन, अनुसन्धान तथा पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारी भएको हो ।

शुक्रबार खुमलटार पुगेको टोलीलाई नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले नार्कबाट हुने कृषि अनुसन्धानका साथै विविध पक्ष बारेमा जानकारी गराएका छन् । नेपालमा नार्कले कृषि अनुसन्धान क्षेत्रमा गरिरहेको अनुसन्धानले कृषकहरु लाभान्वित भएको बताउँदै उनले दक्षिण कोरिया सरकारबाट हुने थप सहयोगले यहाँको कृषि अनुसन्धानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय जीनबैंकका प्रमुख डा. बालकृष्ण जोशीले नेपालको जैविक विविधता एवं बिउँविजनको संचितिकरणको बारेमा जानकारी गराए । धान, गहुँ, मकै, कोदो लगायतका बिउँविजनको कसरी जीनबैंकले जोगाउँदै आएको र नयाँ जातका बिउँ लगायतका बारेमा जोशीले जानकारी दिए ।

सोही अवसरमा दक्षिण कोरिया सरकारको सहयोगमा उन्नत जातको गाई, नेपालका बिभिन्न प्रजातिका गाईको समेत दुबै मन्त्रीले अवलोकन गरेका छन् ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले हालैका दशकहरूमा दक्षिण कोरियाले कृषि अनुसन्धान र विकासमा गरेको प्रगतिबाट नेपालले सिक्नुसक्ने थुप्रै बिषय रहेको र नेपालमा रहेको कृषि जैविक विविधताको उपयोगबाट कोरियाले पनि लाभ लिनसक्ने हुनाले दुई देशका कृषि मन्त्रीहरूको यो अवलोकन महत्वपूर्ण रहेको बताए ।

सो अवसरमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङ, कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेल, नार्कका अनुसन्धानकर्ता, अधिकारीहरु, हेफर ईन्टरनेशनका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

भूकम्पमा ज्यान गुमाएका परिवारलाई २ लाख रुपैयाँ दिने सरकारको निर्णय

सरकारले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पमा परी ज्यान गुमाएकाका प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् ।

यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो ।

कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने ट्रेड युनियनहरुको घोषणा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । विभिन्न सातबुँदे माग राखेर आन्दोलनरत कर्मचारीले आफ्नो चासो सम्बोधन गर्न उदासीनता प्रकट गरेको भन्दै घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् ।

सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घले आज, भोलि र पर्सि तीन दिन कार्यकारी निर्देशक, उप कार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरूलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् ।

आज कात्तिक १९ गते ११ः१५ बजेदेखि १२ः१५ बजेसम्म, भोलि कात्तिक २० गते ११ः१५ बजेदेखि १२ः४५ बजेसम्म र पर्सि ११ः१५ बजेदेखि १ः१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गर्ने कर्मचारीहरूले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा उल्लेख छ ।

प्राधिकरणले गत असोज ३० गते विभिन्न पदका आठ तहदेखि दुई तहसम्मका २९७ जना कर्मचारीहरूको सरुवा गरेको थियो । उक्त सरुवाबाट नै ट्रेड युनियनहरू रुष्ट बन्दै आएका थिए ।

संस्थागत उन्नति र कर्मचारीको हक हितका लागि भन्दै यही कात्तिक १२ गते पहिलो ध्यानाकर्षण पत्र बुझाएका नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरूले कात्तिक १४ गते दोस्रो पटक सात बुँदे सहित तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । तर व्यवस्थापनसँगको वार्ताबाट निष्कर्षमा पुग्ने वातावरण नबनेको भन्दै कार्यकारी निर्देशक घिसिङसहित कार्यालय प्रमुखहरूलाई कार्यालय प्रवेशमा निषेध गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

कर्मचारी युनियनहरूले आफूले उठाएका जायज माग सम्बोधन गर्न आग्रह गर्दै २२ गतेपछि थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

जाजरकोट भूकम्पका घाइतेको नि:शुल्क उपचार गर्ने सरकारको निर्णय 

काठमाडौँ । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिनुभयो ।

उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो ।

औषधि कारखानामा आगलागी हुँदा सातजनाको मृत्यु

एजेन्सी। भारतको पश्चिमी राज्य महाराष्ट्रको एक औषधि कारखानामा भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

आगलागीमा परी कैयौँ व्यक्ति हराइरहेको बताइएको छ । महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १७७ किलोमिटर दक्षिणमा पर्ने रायगढ जिल्लामा रहेको महाराष्ट्र औद्योगिक विकास निगम (एमआईडीसी) महाडमा रहेको ब्लु जेट हेल्थकेयर कारखानामा शुक्रबार विस्फोट भएपछि आगलागी भएको थियो ।

यस घटनापछि अधिकारीहरूले अग्नि नियन्त्रक विभागका अधिकारीहरू र राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) का कर्मचारीहरूलाई उद्धार कार्यका लागि घटनास्थलमा पठाएका थिए ।

“आज बिहानसम्म सात जनाको शव निकालिएको छ”, एक अधिकारीले भने, “घाइते भएका सात जनालाई अस्पताल भर्ना गरिएको छ । यसबाहेक बेपत्ताको खोजी कार्य जारी छ ।” अनुसार विस्फोटको समयमा औषधि कारखानामा करिब दुई दर्जन मानिस उपस्थित थिए । घटनाको सम्बन्धमा अनुसन्धान शुरू भइसकेको प्रहरीले जनाएको छ ।

अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला । जुम्लाको हिमा गाउँपालिका १ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन्  ।

मृत्यु हुनेमा हिमा १ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका १ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा १ बड्कीमा दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटना

बागलुङ। कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ । उक्त गाडीलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ ।

बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिए ।

रुकुमपूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरूङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग ११ प ८१५७ नम्बरको मोटरसाइकलसँग एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

मोटरसाइकलमा तीनजना सवार थिए । मोटरसाइकल अनियन्त्रित भएर गाडीमा ठोक्किएको थियो । मोटरसाइकल चालक बागलुङको निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्रीका १८ वर्षीय विमल खत्रीलाई थप उपचारका लागि पोखरा पठाइएको सूचना अधिकारी केसीको भनाइ छ ।