आज कात्तिक २९ गते बुधबार यस्तो छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिले मन दुखाउन सक्नेछ, सचेत रहनुहोला, तर पनि उमङ्ग र उत्साह यथावत रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा मन जानेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तबाट अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रमाइलो गरिनेछ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आदर्श व्यक्तिसँग भेटघाट हुनेछ । मनोरञ्जनात्मक कार्यमा सरिक भइनेछ । शुभ र नयाँ कार्यको चर्चा चल्नेछ, तर समान सामान हराउन पनि सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह पनि रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमूल्य वस्तु हात पर्नसक्छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमणीय र सुखद् यात्राको योग छ । प्रभावकारी बोलीले कार्य सफल हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

आज भाइटीका, १० : ५१ बजे शुभ साइत

नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

‘बिहान १०ः५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन’
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए । 

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व  फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् भट्टराईले बताए। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

‘राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्छ’
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।  लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको धर्मशास्त्रविद् अधिकारीले सुनाए । 

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेल रोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । 

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला गरिने 
दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।  बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए । यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम रहेको जनाइएको छ ।

खञ्जनेश्वर महादेवमा भक्तजन
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिए । 

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हाम फाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जय बागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”–उनले भने । 

विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । आठ वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि २०७७ सालसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछिदेखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् ।

पर्वको समय खानेपानीको आपूर्ति नहुँदा कार्यालयमा तालाबन्दी

रौतहट २८ कार्तिक। रौतहटको कटहरिया नगरपालिका स्थित पर्वको समय नियमित खानेपानीको आपूर्ति नहुँदा आक्रोसित स्थानीयहरूले खानेपानीको कार्यालयमा तालाबन्दी गरेका छन्।
मंगलवार बिहान बहादुरपुर गाउँ बाट दर्जनौंको संख्यामा गएका उपभोक्ताहरुले कटहरिया ५ स्थित खानेपानीको कार्यालयमा तालाबन्दी गरेका हुन।
वर्षभरी जेनतेन गरेपनि दशैं दीपावली र हाल छठ पर्वको मुखमा पनि नियमित खानेपानी आपूर्ति नहुँदा ठूलो समस्या भएको उपभोक्ताहरु बताउँ छन्।
सप्लाई बन्द हुँदा सैयौं उपभोक्ता सुद्व पानीको सट्टा अशुद्ध अर्थात मात्र २०१२५ फिट गहिराई भएको ट्युवेलको आर्नेसिक युक्त पानी खान बाध्य भएको एकजना उपभोक्ता कटहरिया ५ का दीनानाथ जैसवालले बताएका छन्।
खानेपानीको आपूर्ति नियमित हुने ग्यारेन्टी नभए सम्म ताला नखोलिने बहादुरपुरका उपभोक्ताहरुले बताएका छन।
लामोसमय देखि विद्युत महसुल नबुझाएको कारण नेपाल बिद्युत प्राधिकरण मौलापुर शाखाको टोलीले दुईसाता अघि
खानेपानी उपभोक्ता समिति र कटहरिया नगरपालिकाको विधुतको मीटरनै खोलेर लागेको थियो।नेपाल विद्युत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवका अनुसार नगरपालिका माथि करिब ४ लाख र खानेपानी उपभोक्ता समिति माथि १६ लाख रुपैयाँ विद्युत महसुल बक्यौता रहेकाले मिटर खोलेर ल्याईएको थियौं। नगरपालिकाले आवश्यक रकम बुझाएर विधुत मीटर लागिसकेको छ तर खानेपानी आयोजनाको नाउँको रकम हालसम्म नबुझाएका मीटर अफिसमै रहेको प्रमुख यादवले जानकारी दिएका छन्।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले कटहरिया नगरपालिकाले पानीको महसुल निःशुल्क घोषणा गरेको तर विधुत महसुल नबुझाएको कारण समस्या भएको बताएका छन्। पूर्व मेयर सियाराम कुशवाहाको पालामा नगरपालिका बाट खानेपानीको विधुत महशुल बापत एकपटक विधुत प्राधिकरणको कार्यालय मौलापुरमा २० लाख रुपैयाँ बुझाएको थियो।
पुनः विद्युत महशुल बुझाउन तथा खानेपानीमा कार्यरत कर्मचारीको तलब दिन पूर्व मेयर कुशवाहाले खानेपानीको नाउँमा छुट्याएको २५ लाख रुपैयाँ बर्तमान मेयर अजयप्रकाश जैसवालले उक्त रकम अन्य शीर्षकमा खर्च गरेको कारण अहिले ठूलो समस्या भएको अध्यक्ष साहले बताएका छन्।
नगरपालिका संग पटकपटक माग गर्दा पनि खानेपानी लाई रकम नदिएको कारण एकातर्फ प्राधिकरणले विद्युत मीटर खोलेर लागेका छन भने अर्को तर्फ त्यहाँ कार्यरत कर्मचारीहरुको झण्डै ८ लाख रुपैयाँ तलब बितरण गर्न नसक्दा उनीहरूले काम बन्द गर्ने चेतावनी दिइरहेको अध्यक्ष योगेन्द्र साहले जानकारी दिएका छन्।
तेस्रो साना सहरी तथा खानेपानी आयोजना ईटहरीको पहलमा नेपाल सरकार नगरविकास कोषको ८५ प्रतिशतले झण्डै ४ करोड र स्थानियतहको १५ प्रतिशतले करिब ६० लाख लगानीमा कटहरिया ५ स्थित २०७७ साल देखि खानेपानी आयोजना सञ्चालनमा आएको थियो। हाल कटहरिया ४ र ५ वडा अन्तर्गत १६ सय घरमा पानीको धारा जोडिएको छ।नगरविकास कोष संग पूर्व मेयर कुशवाहाको पालामा कटहरिया नगरपालिकाको भएको सम्झौताको कुनै पनि बुन्दा बर्तमान मेयर अजयप्रकाश जैसवालको पालामा कार्वान्यान भएको छैन। नगरपालिकाले कोषलाई बुझाउनुपर्ने मासिक दुईलाख रुपैया बुझाईएको छैन। लागतको ब्याजका साथै निर्माण गर्ने ठेकदार कम्पनीको पनि झण्डै २० लाख रुपैयाँ तिर्नुपर्ने कटहरिया नगरपालिकाले नबुझाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले गुनासो गरेका छन्।
मेयर अजयप्रकाश जैसवालले खानेपानीमा विद्युत लाईन नहुँदाको समय जर्नेटर बाट पानी सप्लाई गर्न दैनिक डिजल उपलब्ध गराउँदै आएको बताएका छन्। कार्यालय खुल्ना साथ विद्युत प्राधिकरण मौलापुरमा एकमुष्ट ५ लाख रुपैयाँ बुझाएर विद्युत लाईन जोडाउने र बाँकी रकम क्रमशः बुझाउँदै जाने मेयर जैसवालले प्रतिबद्धता जनाएका छन्। सञ्जय मिश्रा

गरुडाका मेयर द्वारा सैयौं ब्रतालुलाई छठ पर्व सामग्री बितरण

रौतहटको मध्यभाग गरुडा नगर पालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले प्रत्येक वर्षझैं यसपटक पनि लोक आस्थाको पर्व छठ पर्व गर्ने सैयौं ब्रतालु लाई लुगा कपडा सहित ब्रत सामग्री बितरण गरेका छन्।
गरुडा ८ जिङगडिया स्थित आज एक समारोहका बिच मेयर जैसवालले १५१ जना स्थानिय ब्रातालु महिलालाई जनही एक एक थान छठ पर्वमा प्रयोग हुने बाँसको दौरा, सुपली र साडी पेटीकोट, चोलो सहितको सेट वितरण गरेका हुन।
यसरी छठ पर्वको अवसरमा आफू निर्वाचित हुनु अघि देखिनै ब्रतालु लाई कपडा सहित अन्य सामग्री बितरण गर्दै आएकाले मेयर बनेपछि पनि सोही कार्यलाई निरन्तरता दिएको उनले बताएका छन्।
यसरी ब्रतालुलाई कपडा तथा आवश्यक सामग्री बितरण कार्य गरुडा नगरपालिकाको सबै वडामा भइरहेको मेयर जैसवालले जानकारी दिएका छन्।

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९३ पैसा र बिक्री दर १६३ रुपैयाँ ६७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ १६पैसा र बिक्री दर १४२ रुपैयाँ ८० पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा र क्यानाडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चक्कू प्रहारबाट घाईते रौतहटका युवक राहुलको मृत्यु

रौतहट २७ कार्तिक। रौतहट स्थित चक्कू प्रहार बाट एकजना युवकको मृत्यु भएको छ। चक्कु प्रहार बाट गम्भीर घाइतेभएका स्थानिय राजदेवी नगर पालिका ६ का २० वर्षीय राहुल साहको उपचारको क्रममा आज बिहान एल एस न्युरो होस्पिटल बिरगंजमा मृत्यु भएको हो।
गत शुक्रबार नेमधारी बासुदेब नमुना माध्यमिक बिद्यालय मुडवालबाले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो।
सोही कार्यक्रम हेर्न गएका नागेन्द्र साह तेलीका छोरा राहुल साह तेली र सोही ठाउँका उमेश साह बानियाको २० वर्षीय छोरा राहुल गुप्ता बीच बिवाद भएको थियो। बिद्यालय कम्पाउन्ड बाहिरै भएको बिवादमा राहुल गुप्ताले राहुल साहको पेट तथा छातीमा ३ पटक छुरा प्रहार गरी घाईते बनाएको थियो।
घाइते भएको अवस्थामा पनि राहुल साहले आरोपि राहुल गुप्तालाई लाइ समातेर बिद्यालय प्रशासनको जिम्मा लगाएको स्थानिय सञ्चारकर्मी राकेश यादवले बताएका छन्।
लगत्तै घाईते युवालाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि एलएस न्यूरो अस्पताल बिरगंज लगिएकोमा आज बिहान ५ बजे उपचारको क्रममा मृत्यु भएको मृतक का काका राकेश साहले बताएका छन्।
मृत्युको खबर पछि घटनामा संलग्न मनिष गुप्ता, राजन साह सहित पीडकका घर परिवारका अन्य सदस्य समेत सम्पर्क बिहिन भएका छन्।
काठमाडौँमा अध्यन गरिरहेका मृतक राहुल साह दीपावली तथा छठ पर्व मनाउन घर आएका थिए। त्यस्तै आरोपि राहुल गुप्ता पनि गौर स्थित गौरी शंकर यादव क्याम्पसमा कक्षा ११ मा अध्यनरत रहेका थिए।आरोपी गुप्ता यस अघिपनि गाँउकै एकजना युवकलाइ मर्नासन्न हुनेगरि कुटपिट गर्दा ९० हजार रुपैयाँ जरिवाना गरिएको स्थानीयहरुले बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी दामोदर केसीले घटनाका मुख्य आरोपी राहुल गुप्ता नियन्त्रणमा रहेको अन्य आरोपिको खोज तलाश तथा थप अनुसन्धान भैरहेको बताएका छन्। सञ्जय मिश्रा

कृषि विकास बैंक द्वाराभूकम्पपीडितहरुकालागि प्रधानमन्त्री दाहाललाई ५० लाखको चेक हस्तान्तरण

काठमाडौं । कृषिविकास बैंक लि.द्वाराभूकम्पपीडितहरुकालागि प्रधानमन्त्री दाहाललाई ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।

कर्णालीप्रदेश, जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्पजाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ । राष्ट्रियविपदको यस दुःखदघडीमा खोज, उद्धार र राहतकालागि भूकम्पबाट पीडित एवं प्रभावितकालागि सहायतास्वरुप कृषिविकास बैंक लि.द्वारा भूकम्प पीडितहरुकालागि प्रधानमन्त्री दाहाललाई ५० लाखको चेक हस्तान्तरण गरेका छन् । उक्त चेक कृषिविकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्रीज्यूलाई हस्तान्तरणगर्नु भएकाे छ । साथै कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो ।
कृषिविकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विगतमा पनिभूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकमजम्मा गरेको थियो ।

सहकारीविरुद्ध प्रहरीमा उजुरीका चाङ, श्री लालीगुराँस सहकारीका सीईओ फरार

काठमाडौं । नियमन गर्ने राज्यसंयन्त्रको अकर्मण्यताका कारण सहकारी संस्थामा लाखौँ सर्वसाधारणको अर्बौँ निक्षेप जोखिममा परेको छ । एकपछि अर्काे सहकारी समस्यामा पर्दा प्रहरीमा उजुरीको चाङ लागेको छ भने सञ्चालक फरार हुन थालेका छन् । 

त्यस्तै ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको छ । संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको नेतृत्वमा सहकारीमा करोडौँ हिनामिना हुँदा पनि नियामक निकाय मौन जस्तै छ ।

सहकारीका संचालकहरुले बचतकर्ताको रकम हिनामिना गरेको विषयमा पटक पटक उजुरी पर्दा पनि सहकारी विभागले छलफल मात्रै गराएर उन्मुक्ति दिने गरेको छ । सहकारी विभागका उच्च अधिकारीहरु भण्डारीको संरक्षणकर्ताको रुपमा देखिएका छन् ।

दियोपोस्टलाई प्राप्त कागजात अनुसार रजमान तामाङ्गले उक्त सहकारीमा पटक पटक गरि ३१ लाख रुपैयाँभन्दा बढी बचत गरेका थिए । जितपुर सिमारा बारा घर भएका तामाङ्गको उक्त बचत रकम फिर्ताका लागि पटक पटक अनुरोध गर्दा पनि सहकारीले दिन सकेन । पीडित तामाङ्गले आफ्नो रकम फिर्ता पाउन माग गर्दै सहकारी विभागमा समेत उजुरी दिए । उनको उजुरीको विषयमा २०८० असार ३१ गते विभागका रजिष्टारको नेतृत्वमा छलफल भयो ।

छलफलमा सहकारीको संचालक समितिका सचिव समेत रहेका सुरेन्द्र भण्डारी समेत सहभागी थिए । उनीहरुबीचको छलफलमा ९० दिन भित्र बचत रकम फिर्ता गर्ने सहमति भएको थियो । सहमतिमा भण्डारीले हस्ताक्षर गरेका छन् । तर, चार महिना वित्न लाग्दा समेत सहकारीले बचत रकम फिर्ता गर्न सकेको छैन ।

पीडित बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन पटक पटक कोशिस गरेका छन् । तर, सहकारीले विभिन्न बहाना बनाएर झुलाउने गरेको छ । ९० दिन भित्र बचत रकम फिर्ता नदिए कारबाही गर्नुपर्ने सहकारी विभाग समेत मौन छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीले सहकारीको बचतकर्ताको रकम हिनामिना गरि घरजग्गाको धन्दामा लगानी गरेका कारण अहिले सहकारी समेत टाट पल्टिएको हो । सहकारीको रकमबाट खरिद भएका विभिन्न सम्पत्ति समेत यतिबेला उनले सब्बुसिंह भण्डारी नामक एक महिलाको नाममा पास गरेर लुकाइरहेका छन् ।

पुल्चोकस्थित सहकारीको स्वामित्व रहेको जय लालीगुराँस ईन्भेष्टमेन्ट लेखिएको भवन पनि सुटुक्क सब्बु सिंहको नाममा पास गरिएको छ ।

विभागमै उजुरी परे कारबाही गर्छौं : टोलराज उपाध्याय

विभागका सुचना अधिकारी टोलराज उपाध्यायका अनुसार सहकारीलाई पटक पटक छलफल गराइएको छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र पीडित पक्षलाई बोलाएर छलफल भएको उनको भनाई छ । ‘विभागममा छलफल भएको हो । यदि सहमति अनुसार रकम फिर्ता नपाएको भए पीडित पक्षले थप निवेदन विभागलाई दिनु भयो भने हामीले कारबाहीका लागि सिआइबी लगायत निकायलाई पत्राचार गर्ने कुरा हुन्छ । हाम्रोमा निवेदन नआएसम्म पीडितले रकम फिर्ता पाए नपाएको थाहा हुने कुरा भएन,’ उनले भने,‘यदि सहमति अनुसार रकम नपाएको भए विभागमै उजुरी दिएपछि समस्याग्रस्त घोषणा गर्ने वा सिआइबीलाई कारबाहीका लागि पत्राचार गर्ने कुरा हुन्छ ।’

पीडित भन्छन्,‘थप उजुरी दिएका छौँ, तर विभागले कुनै कारबाही गरेन’

यता पीडित परिवारका आफन्त भने थप उजुरी दिँदा पनि विभागले कुनै कारबाही नगरेको बताउँछन् । ‘हामीले ९० दिन भित्र बचत रकम नपाएपछि थप उजुरी दिएका थियौँ । तर, विभागका अधिकारीले उजुरी संख्या नपुगेको भन्दै फिर्ता पठाएको छ,’ उनले भने,‘पीडित भनेको संख्यामा गणना हुने विषय हो र । कति जना पीडित खोज्न जाउँ ?’

बचतकर्ताको रकम कुम्ल्याएर सुरेन्द्र भण्डारी सम्पर्क विहिन

पीडित बचतकर्ताहरुले सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलाई पटक पटक सम्पर्क गरेका छन् । तर, उनको फोन कहिल्यै नउठेको उनीहरुको गुनासो छ । ‘बचतकर्ताको सम्पर्कबाट उहाँ भाग्नु भएको छ,’ ती पीडितले विभागमा उजुरी गरेपछि मात्रै देखिनुहुन्छ । फोन गर्दा कहिल्यै उठ्दैन ।’

हिमालयन रिइन्स्योरेन्सद्वारा भूकम्प प्रभावितलाई ३५ लाख बराबरको राहत सामग्री सहयोग

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले भूकम्प प्रभावितका लागि राहत सामग्री प्रदान गरेको छ ।

कम्पनीले ३५ लाख रुपैयाँ बराबरको १ हजार ८७८ थान त्रिपाल र २ हजार कम्बलसहित राहतका सामग्री उपलब्ध गराएको जनाएको छ ।
‘१ हजार ८७८ थान त्रिपाल रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालय मुसिकोट पुगिसकेको छ भने कम्बलहरु पश्चिम रुकुमको जिल्ला प्रशासन कार्यालय पुग्ने क्रममा छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हालै नेपालको पश्चिमी क्षेत्रमा गएको विनाशकारी भूकम्पपछि प्रभावित समुदायलाई सहयोग गर्न प्रभावकारी रुपमा कार्य गरिरहेको कम्पनीले जनाएको छ ।

फतुवा विजयपुरको सबै वडाको लिस्ट न आउँदा सामाजिक सुरक्षा भत्ता निकासामा ढिलाई

रौतहट ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको सबै वडाको लिस्ट उपलब्ध नहुँदा सामाजिक सुरक्षा भत्ता निकासा गर्नमा ढिलाई भइरहेको जानकारी प्राप्त भएको छ।
११ वटा वडा मध्ये आज बिहीवार सम्म सामाजिक सुरक्षा भत्ता पाउने आश्रितको लिस्ट मात्र २ वडाको आएको र नौ वटा वडाको आउन नसकेकाले निकासा हुन नसकेको कार्यवाहक मेयर अम्बेया खातुनले बताउनु भयो।
अहिले सम्म वडा ७ र ११ को लिस्ट आएको तथा बाँकी ९ वटा वडाको लिस्ट आउन नसकेको कारण हिन्दूहरूको चाँडपर्वको समयमा पनि सामाजिक सुरक्षा भत्ता निकासा हुन नसकेकाले बितरणमा समेत ढिलाई भएको मेयर खातुनले जानकारी दिनुभयो।
उहाँले बाँकी रहेका वडाहरुको सामाजिक सुरक्षा पाउने सेवाग्राहीको
लिस्ट अबिलम्ब पठाउन वडा अध्यक्षहरुलाई आग्रह गरेकी छन्।
लालबकैया नदीको टेन्डरको मुद्दामा दोषी ठहर भएपछि फतुवा विजयपुरको तत्कालीन मेयर गोपाल राय यादव लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वर्ष कैद र १५ लाख जरिवाना गरेपछि उनको पद रिक्त भएको थियो।
मेयरको पद रिक्त भएपछि फतुवा विजयपुरमा कार्यवाहक मेयर अम्बेया खातुन र वडा अध्यक्षहरु बीच आपसी तालमेल नहुँदा गत असारमा हुनुपर्ने नगरसभा हालसम्म पनि नभएको कारण नगरको सम्पूर्ण कारोबार ठप्प भएको छ।
मन्त्रालय बाट चिठी बोकेर आएका प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान जनप्रतिनिधि बीच कुरा नमिलेको कारण हाजिर हुनसकेका छैनन्। फतुवा विजयपुरको शिक्षक कर्मचारी गरी झन्डै तीनसय ५० जनाले तलब पाएका छैनन् भने पर्वको मुखमा सामाजिक सुरक्षा भत्ता वितरण अन्यौल बनेको छ।

दीप आर्टस प्रेस चन्द्रपुरमा आगलागी,१ करोडको क्षति

पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित दीप आर्टस प्रिन्टिङ प्रेसमा गएराति भएको आगलागी बाट झण्डै १ करोड रुपैयाँ बराबरको क्षति भएको छ। गौर रोडमा रहेको दिप आर्ट्स प्रेसमा बुधबार राति ८ बजेर ३५ मिनेटमा अचानक भएको आगलागी बाट प्रेस पूर्ण रुपमा जलेर नष्ट भ‌एको छ । साथै तीनवटा प्रिन्टिङ मेसिन जलेर झण्डै १ करोड बराबरको क्षति भएको पीडितले जनाएको छ। प्रेसमा भएको आगलागीबाट सोही घरमा रहेका अन्य एकपसल र एक कार्यालयमा पनि क्षति पुगेको ईलाका प्रहरी कार्यालय चन्द्रनिाहपुरका प्रमुख डिएस्पी एक नारायण कोईरालाले बताएका छन।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय मिलेर चन्द्रपुर , निजगढ र हरिवन बाट आएको तीनवटा दमकलको सहायताले करिब ३ घण्टाको संघर्ष पछि आगलागी नियन्त्रणमा लिइएको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दामोदर केसीले आगलागी बाट ६० लाख रुपैयाँ बराबर क्षति भएको प्रारम्भिक अनुमान गरिएको तथा
क्षतिको एकिन विवरण लिन प्रहरी परिचालन गरिएको बताएका छन।आगलागीको कारण भने खुल्न नसकेको तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ। सञ्जय मिश्रा

तस्कर संग पैसालिएको आरोपमा असई यादव निलम्बनमा

रौतहट। सर्लाही स्थित प्रहरी चौकी संग्रामापुरका ईन्चार्ज मनोज यादव निलम्बनमा परेका छन। सीमा वारपार हुनेगरेको तस्करीमा तस्कर संग साँठगाँठ रहेको आरोपमा असई यादव निलम्बनमा परेका हुन।
असई यादव प्रहरी चौकी संग्रामपुरका इन्चार्ज रहेका थिए । तस्कर संग पैसा लिएर तस्करीको सामान सहित मोटरसाइकल र मानिस छाडेको एथेस्ट प्रमाण पुगेपछि सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालाले घटनाको छानबिनका लागि असई यादवलाई निलम्बन गरेको प्रहरीले जनाएको छ।
गत शुक्रवार दुई जना तस्करलाई सामान र मोटरसाइकल सहित नियन्त्रणमा लिएर असई मनोज यादवले ५० हजार रुपैयाँ लिएको खुलाशा भएको छ । असई यादवले तस्करलाई नियन्त्रणमा लिएर पैसा देउ नत्र मोटरसाइकल सहित भित्र थुनिदिन्छु साथै लागु औषधमा फसाइ दिन्छु भनि डराइ धम्काई उनीहरू संग रहेको नगद १० हजार र लिएको र ४० हजार रुपैयाँ स्थानीय एक जनाको खातामा जम्मा गर्न लगाएर सामान सहित मोटरसाइकल र तस्करलाई छोडेको स्रोतको दाबी छ।
असई यादवको दादागिरी बारे पीडितले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जानकारी गराएपछि एस्पी धितालले मनोजलाई झिकाएर बयान समेत लिएपछि निलम्बनको प्रकृया बढाएका थिए।
असई यादव कारवाहीबाट जोगिन बिभिन्न राजनितिक ब्यक्तित्व संग सर्लाही प्रहरी नेतृत्वलाई दवाब दिलाईरहेको प्रहरी स्रोतले जनाएको छ।

कतहरियामा नगरको कार्यालय र खानेपानीको विधुत लाईन काटियो

रौतहट २२ कार्तिक।
रौतहटको कटहरिया नगरपालिकाको कार्यलय र खानेपानीको उपभोक्ता समितिको विद्युत लाईन काटिएको छ। लामोसमय देखि विद्युत महसुल नबुझाएको कारण नगरको कार्यालय र खानेपानी उपभोक्ता समितिको विधुत लाईन काटिएको हो।
विद्युत आपूर्ति नहुँदा पछिलो तीन दिन देखि कटहरिया नगरपालिकाको सम्पूर्ण काम अवरुद्ध भएको छ। कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले विद्युत आपूर्ति नहुँदा नगरको कार्यालयकोसम्पुर्ण कामकाज ठप्प भएको बताएका छन्।त्यसैगरी खानेपानीको विद्युत आपूर्ति नहुँदा दीपावली छठ पर्वको अवसरमा कटहरिया ४ र ५ वडाका १६ सय सेवाग्राही शुद्द खानेपानी बाट वञ्चित भएका छन्। नेपाल विद्युत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवले नगरपालिका माथि करिब ४ लाख र खानेपानी उपभोक्ता समिति माथि १६ लाख रुपैयाँ विद्युत महसुल बक्यौता रकम नबुझाउँदा मिटर खोलेर ल्याईएको बताएका छन। कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर कुमारले सिंहले मंगलवार विद्युत प्राधिकरण मौलापुरको नाउँमा तिनलाखको चेक काटेकाके आज देखि विद्युत आपूर्ति हुने बताएका छन। उता खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले कटहरिया नगरपालिकाले पानीको महसुल नगरपालिकाले निःशुल्क घोषणा गरेको तर विधुत महसुल नबुझाएको कारण समस्या भएको बताएका छन्।

अपरेसनमा संलग्न महरा पक्राउ, अस्पताल सञ्चालक अझै फरार

रौतहट २२ कार्तिक।
रौतहटको गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बिर्तामा स्थित ईमर्जेन्सी जन सेवा हस्पिटलमा जथाभावी पाठ्यघरको अपरेसन गर्दा बिरामी महिलाको मृत्यु भएपछि अपरेसनमा संलग्न इन्द्रदेव महरा पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय गरुडा बाट गएको टोलीले महरा लाई सर्लाहीको हराकठवा बजार बाट मंगलवार राती पक्राउ गरेको हो।
पक्राउ महरा अहिले ईलाका प्रहरी कार्यालय गरुडाका नियन्त्रणमा रहेको डिएस्पी ओम प्रकाश खनालले बताएका छन। बिर्ता स्थित जनसेवा अस्पतालमा बिरामी महिला नुरजहा खातुनको पाठ्यघरको अपरेसनमा महराको संलग्नता रहेको डिएस्पी खनालले बताएका छन। महरा बिर्ता स्थित झोले अस्पताल जस्तै सर्लाही हरकठवा बजारमा श्रीराम अस्पताल सञ्चालन गरेको र त्यहीँ बाट पक्राउ गरिएको डिएस्पी खनालले जानकारी दिएका छन। महरा सिएमए हुन।अपरेसन गर्ने मुख्य डाक्टर तथा अस्पताल सञ्चालक गरुडा ८ का राजेन्द्र यादव भने हालसम्म फरार रहेका छन।
डाक्टरको चरम लापरवाहीका कारण बिरामी महिला
चन्द्रपुर नगरपालिका ७ बनबौहरीका ईब्राहिम सिद्विकिको ३० बर्षिय श्रीमती नुर्जहान खातुनको ज्यान गएको पीडित परिवारले बताएको छ।
पछिको समय पेट दुख्ने लगायतको समस्या हुँदा खातुनलाई उक्त अस्पतालमा चेकजाँच गराउँदा डाक्टरले पाठ्यघरको अपरेसन गर्नुपर्ने बताएका थिए। डाक्टरको सुझाव अनुसार सोमवार बिरामी खातुन लाई ईमरजेन्सी जनसेवा हस्पिटल बिर्तामा अप्रेसन गराउन लगेको थियो । सोमवार साँझ डाक्टरले खातुनको पाथ्यघरको अपरेसन गरेपछि अत्यधिक रक्तश्राव भएर उनी अत्यन्तै सिकिस्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
अचेत भएकी बिरामी खातुनलाई डाक्टरको सल्लाह अनुसार थप उपचारको लागि एम्बुलेन्स बाट वीरगंज स्थीत मेट्रो सिटी अस्पतालमा
लैजाँदा सोमवार राति डाक्टरले मृत घोषणा गरेको उनका श्रीमान इब्राहिम सिद्विकीले बताएका छन। बिरामी नुरजहाँ खातुनको मृत्यु पछि मंगलवार दिउँसो पिडित परिवार र स्थानीयहरु हस्पिटलका संचालक यादव र उपचारमा संलगन डाक्टरलाई पक्राउ गर्न माग गर्दै हस्पिटल अगाडि बिरोध प्रदर्शन गरिरहेका छन ।
घट्ना पछी हस्पिटलका संचालक राजेन्द्र यादव र अपरेसन गर्ने डक्टर हस्पिटल बन्द गरेर फरार भएका छन। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी ओम प्रकाश खनालले घटनाको पुष्टि गर्दै मृतक महिला खातुनको शव फोरेन्सिक स्वास्थ जाँचको लागि शिक्षण अस्पताल काठमाडौं पठाइएको बताएका छन।
साथै महिलाको अपरेसन गर्ने डक्टर तथा हस्पिटल सञ्चालक राजेन्द्र यादवको खोजी तथा थप अनुसन्धान भइरहेको बताएका छन। अस्पताल सञ्चालक पैसाको लोभमा परेर सीमावर्ती भारतीय बजार बाट डक्टरका सहयोगी कम्पाउन्डर लाई बोलाएर बिभिन्न प्रकारको अपरेसन गराउँदै आएको पीडित परिवारको आरोप रहेको छ। बिरामीलाई बेहोस गर्ने दक्ष जनशक्ति बिना , सुबिधा सम्पन्न अपरेसन कक्ष समेत उचित व्यवस्थापन बिना पाठ्यघरको अपरेसन गरेकाले खातुनको मृत्य भएको पीडित परिवारको भनाई छ। रौतहटमा नियमनकारी निकायको अभावमा जिल्लाको ग्रामीण क्षेत्रमा बिना सुविधाको दक्ष जनशक्ति नहुँदै दर्जनौं अस्पताल सञ्चालन गरिएको छ। सञ्जय मिश्रा

काठमाडौँ महानगरले ल्याए ‘साथी महानगर’ योजना

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विपन्न वर्गका परिवारलाई किरिया खर्चका लागि २० हजार रुपैयाँसम्म र सुत्केरी सहयोगका लागि १० हजार रुपैयाँसम्म दिने बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमा स्टाटस हाल्दै खर्चको अभावमा संस्कार छोड्नु नपरोस् भन्दै ‘साथी महानगर’ स्वर्णिम योजनाअन्तर्गत ‘भेटौंला, महानगरबासीको दुःख मेटौंला’ कार्यान्वयनमा ल्यइएको उल्लेख गरेका छन् । 

‘सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य हो,’ उनले लेखेका छन्, ‘सुत्केरी महिलालाई पोषिलो खानेकुराको अभाव नहोस् । किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्। जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस्।’

यदी कसैलाई महानगरपालिकाले प्रदान गर्ने सहयोग लिन परे आफू बस्ने वडा कार्यालय वा महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्न समेत उनले अनुरोध गरेका छन् ।