श्रीलंकाको क्रिकेट बोर्ड बर्खास्त

कोलम्बो : श्रीलंकाको राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरिएको छ। भारतमा जारी विश्वकपमा भारतसँग लज्जास्पद् पराजय व्यहोरेपछि खेलकुदमन्त्री रणसिंघेले क्रिकेट बोर्डलाई बर्खास्त गरेका हुन्।

विश्वकपमा ५५ रनमा अल आउट हुँदै बाहिरिएपछि श्रीलङ्कन क्रिकेट बोर्डलाई विघटन गरिएको हो । उक्त खेलमा श्रीलंका  ३ सय दुई रनले पराजित भएको थियो। भारतसँग लज्जास्पद हार भोगेपछि श्रीलङ्कन क्रिकेट बोर्डका अध्यक्ष शम्मी सिल्भाले अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

अध्यक्ष सिल्भाले राजीनामा दिने घोषणा गरेपछि खेलमन्त्री रोशन रणसिन्धेले बोर्ड नै विघटन गरेका हुन् । श्रीलङ्कन क्रिकेट बोर्ड विघटन गरेपछि मन्त्री रणसिन्धेले पूर्व विश्वकप विजेता कप्तान अर्जुन रणतुंगाको अध्यक्षतामा सात सदस्यीय अन्तरिम समिति नियुक्ति गरेका छन्। बोर्डको विघटन गर्नुअघि अध्यक्ष शिल्भाको राजीनामाको माग गर्दै बोर्ड परिसरमा श्रीलंकन क्रिकेट समर्थकहरुले प्रदर्शन गरेका थिए ।

राष्ट्रपतिको युरोप भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन्। भूकम्पका कारण देशको परिस्थिति अनुकुल नरहेको भन्दै राष्ट्रपति पौडेलले फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्थगित गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। 

पेरिसमा आयोजना हुने ‘पेरिस पीस फोरम’मा उनी बुधबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको थियो। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको युरोप भ्रमणलाई स्वीकृति दिएको थियो। 

राष्ट्रपति पौडेल कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने र मंसीर १ गते स्वदेश फर्किने कार्यक्रम तय भएको थियो। 

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

बिराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । नेकपा एमाले कोशी प्रदेशले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत कायम राख्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।

सोमबार बसेको दलको बैठकले मन्त्रीले राजीनामा दिए पनि विश्वासको मत भने कायम राख्ने निर्णय दिएको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

तर केन्द्रमा जस्तै गठबन्धनबाट सरकार विस्तार गरेपछि असन्तुष्ट एमाले शनिबार सरकारबाट बाहिरिसकेको छ। अब आजबाट हामी प्रतिपक्षमा बस्नेछौँ, भण्डारीले भने, ‘विश्वासको मतमा भने हाललाई समर्थन कायम राख्ने निर्णय गरेका छौँ।’

कोशीमा एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका कार्की संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

नेकपा एमालेकाे सहयाेगमा कांग्रेसभित्र विद्रोह गरेर केदार कार्की २७ असाेजमा मुख्यमन्त्री बनेका थिए । २८ असाेजमा शपथ ग्रहण गरेका उनले साेही दिन एमालेबाट राम राना र कांग्रेस विद्राेही समूहबाट सम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

१ कात्तिकका विश्वासको मत लिएका कार्कीले शुक्रबार माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाएका थिए ।

मुख्यमन्त्री कार्कीले गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको थियाे ।

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, सोमबार बढेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनमा ५२.४४ अ.क घटेको नेप्से, आज २१.३० अंकले बढेर एक हजार ८ सय ४७ दशमलब ५४ विन्दुमा बन्द भएको हो ।         

त्यस्तै, आज नेप्सेमा सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेको छैन । यसदिन ९३ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६५.८० रुपैयाँ पुगेको छ । यस्तै आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य पनि ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता ७५३ रुपैयाँ पुगेको छ ।   

आइतबार लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ४.२८ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ६ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।             

१३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रधानाध्यापकले गरे विद्यालयमै झुन्डिएर आत्महत्या

सिरहाको गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

विद्यालयको निर्माणाधीन तेस्रो तलाको सभाहलमा झुन्डिएको अवस्थामा आइतबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। मिर्चैया नगरपालिका–६ निवासी प्रधानाध्यापक साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो। खेजीको क्रममा शिक्षक साह विद्यालयमै झुन्डिएको अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

 बिहानै विद्यालय पुगेका शिक्षक साह किन झुन्डिएको भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पर्साका तत्कालीन मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । आयोगले उनीहरुविरुद्ध त्यसको दोब्बर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेसन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियम अनुसार दाखिला नगरी हिनामिना गरेको आयोगको दाबी छ ।

तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रले २ करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ हिनामिना गरेको आरोपमा उनीविरुद्ध आयोगले त्यसको दोब्बर जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै तत्कालीन मालपोत अधिकृतहरु भुपबहादुर बोगटीले १ करोड ४९ लाख ६९ हजार १ सय ३५ रुपैयाँ, गोपालबहादुर ढुंगानाले ३५ लाख ४५ हजार ९५० रुपैयाँ, तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्यालले १६ लाख ८१ हजार ६०० रुपैयाँ र  चन्द्रबहादुर भण्डारीले २ लाख ४४ हजार ४६२ रुपैयाँ हिनामिना गरेको आयोगकाे दाबी छ ।

यस्तै, आयोगले तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

तिवारीले १ करोड ४१ लाख ४७ हजार १७१ रुपैयाँ र उपाध्यायले ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ हिनामिना गरेको दाबीसहित त्यसको दोब्बर जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

एकै दिन नार्कका २४ कार्यालयको त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तरगतको बिभिन्न कार्यालयहरुको आर्थिक बर्ष २०८०÷०८१ को प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी आज सम्पन्न भएको छ ।

वागमती प्रदेश (काठमाडौं उपत्यका) स्थित बिभिन्न कार्यालयहरुको प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको हो । नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आजै तीन सत्रमा कार्यक्रम आयोजना भएको थियो ।

राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान तथा राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान खुमलटार, ललितपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा काठमाडौं उपत्यकाका २४ वटा कार्यालयहरुले आफ्नो तीन महिने त्रैमासिक प्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा पहिलो त्रैमासिकमा सम्पन्न भएका चालु र पुँजीगत कार्यक्रमहरु, वितिय प्रगति, बेरुजुको अवस्था लगायतका बिषयहरु समेटिएका थिए । गोष्ठीको अध्यक्षता नार्कका योजना तथा समन्वय निर्देशक डा।लुमानिधि पाण्डेले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक पाण्डेले मन्त्रालय र नार्कका निर्देशनहरुको पालना गर्दै सम्पूर्ण कार्यक्रम र बजेटको खर्च यथासमयमा नै सम्पन्न गर्न निर्देशन दिए । खर्च हुन नसक्ने रकमलाई समयमै अभ्यर्पण गरी बजेट व्यवस्थापन र परिचालनमा ध्यानदिनुपर्ने आवश्यक रहेको बताए ।

यसैगरी गोष्ठीमा नार्कका पशु तथा मत्सय अनुसन्धान निर्देशक डा. दोजराज खनाल, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक विनेशमान साखः, राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. स्वयमप्रकाश श्रेष्ठ, आर्थिक प्रशासन निर्देशक मनसकुमार कँडेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नार्कका बिभिन्न अनुसन्धान केन्द्रका प्रमुखहरु, कार्यक्रम संयोजकहरु, महाशाखा प्रमुखहरु, बैज्ञानिकहरु, योजना अधिकृत तथा प्राविधिकहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई नार्कका अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा. सुधा सापकोटाले स्वागत तथा कार्यक्रमको उदेश्य बारेमा प्रकाश पारेकी थिइन् ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले पहिलो त्रैमासिकमा भएको कार्यक्रम र खर्चलाई हेर्दा उपत्यका भित्रका कार्यालयहरुको प्रगति सन्तोषजनक रहेको बताए । उपत्यका बाहिरका कार्यालयहरुको त्रैमासिक प्रगति समिक्षा सोमबार भर्चुअल माध्यमबाट सातै प्रदेशमा एकैसाथ हुने उनले बताए ।

युवा संघले भुकम्पमा घाइते भएका बिरामीका लागि रक्तदान गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको कार्यालय कमिटीको बैठक आज काठमाडौंमा सम्पन्न भएको छ ।
संघका संयोजक कृष्ण विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

युवा संघ नेपालले कार्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दू बनाएर गएको भूकम्पमा परि विभिन्न जिल्लामा ज्यान गुमाउनु भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग र राहतकार्यमा जुट्न जिम्मेवारी तोक्दै विभिन्न निर्णयहरु गरेको छ ।

संघले रक्तदान कार्यक्रमका लागि सुर्खेत, बाँके(नेपालगन्ज र काठमाडौं उपत्यकामा गर्ने र कर्णाली प्रदेश कमिटी अध्यक्ष अनिल बोगटीको संयोजकत्वमा प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु रहने गरि भुकम्प प्रभावित भूगोलको स्थलगत अध्ययन सहित पार्टी कमिटीसङ समन्वय गरि प्रभावकारी कार्यक्रम तय गर्ने महत्वपूर्ण निर्णयहरु भएको संघका कार्यलय प्रमुख नरेश गिरीले बताए ।

भूकम्पमा परी एकसय चालीस भन्दा बढीले ज्यान गुमाएका र दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।

छठपर्व अघिनै कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता वितरणको प्रयास हुँदै : कार्यवाहक मेयर खातुन

रौतहट २० कार्तिक।
प्रमुख प्रशासकीय अधिकृत बिहिन वनेको रौतहटको फतुवा बिजयपुर नगरपालिकाको उपमेयर अम्बेया खातुनले हिन्दूहरूको लोकपर्व छठ अघिनै कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रयासमा रहेको बताएकी छन्।
कार्यवाहक मेयर खातुन र वडा अध्यक्ष संगै कार्यपालिका सदस्य बीच तालमेल नमिलेको कारण खटाइएका प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्न नपाउँदा नगरपालिका प्रमुख विहीन बनेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते उपसचिव सुरेन्द्र प्रधानलाई त्यहाँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपनी जनप्रतिनिधि बिच बिवादको कारण प्रधानले हाजिर गर्न पाएनन्।
प्रधानको सरुवा चिठीमा गत असोज २८ गते दर्ता गरेपछि निमित प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव जिम्मेवारीबाट मुक्त भएका थिए।
कार्यवाहक मेयर अमबेय खातुन उपसचिव सुरेन्द्र प्रधानलाई हाजिर गराउने पक्षमा छन् भने वडाअध्यक्षहरु पुरानो हाकिम शम्भु यादव लाई हाजिर गराउने पक्षमा छन् ।
उपसचिव प्रधान पहिलेनै कार्यरत रहि कोरोना कालमा बिभिन्न शीर्षकको लाखौं रकम अनियमितता गरेको आरोप लागेको छ।
उता पहिलेका प्रमुख शम्भु यादव र तत्कालिन मेयर सँगै केही कांग्रेस नेताहरुको ईशारामा करोडौं रुपैयाँ अनियमितता भएको उपमेयर खातुन पक्षको दाबी छ।
तत्कालीन मेयर गोपाल राय यादव अख्तिारद्वारा लालबकैया नदीको टेन्डरमा दोषी ठहर भएपछि निलम्बित भएदेखि नै जनप्रतिनिधि बीच सहमति नहुँदा हालसम्म नगरसभा समेत हुन सकेको छैन।
असार १० गते भित्र हुनुपर्ने नगरसभा हालसम्म पनि नहुँदा फतुवा विजयपुरमा कार्यरत शिक्षक सहित झण्डै ३५० कर्मचारीले तलब पाएका छैनन् भने लोकपर्व छठको मुखमा सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा सैयौं वृद्ध वृद्धा एकल महिला लगायत कठिनाईमा परेका छन।
यसैबीच कार्यवाहक मेयर अम्बेया खातुनले लोकपर्व छठ अघिनै कर्मचारीको तलब तथा सामाजिक सुरक्षा भत्ता वितरण बारे कोष तथा लेखा नियन्त्रण कार्यालय गौरमा पहल भइरहेको बताएकी छन्।

कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख राजन कुमार फुयाँलले हालसम्म नगर तथा गाउँसभा नहुँदा फतुवाबिजयपुर, बौध्दिमाई नगरपालिका र यमुनामाई गाउपालिकाका कर्मचारीहरु तलब पाउनबाट वञ्चित भएका छन् भने सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन।

१५ लाख कुईन्टल बढी उँखु क्रसिङ गर्ने लक्ष्य सहित बाबा बैजुनाथ सुगर मिल्स सञ्चालनमा

रौतहट २० कार्तिक।
जिल्लामैं ठूलो उद्योगको रूपमा रहेको स्थानीय कटहरिया नगरपालिका ९ डुमरिया स्थित बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इनड्रस्टिज सञ्चालमा आएको छ। आईतवार विधिवत रुपमा मिलको डोंगा पूजा गरिएको पछि आजदेखि चिनिमिल सञ्चालनमा आएको हो। ब्राहमण द्वारा हिन्दू परम्परा अनुसार मन्त्रोच्चारण सहित मिलका निर्देशक अभय प्रकाश जैसवाल दम्पतीले दोंगा पूजा गरेका थिए।
शुभ साईत अनुसार विधिवत डोंगा पुजा पश्चात आजैदेखि मिल सञ्चालनमा आएको छ। उद्योग सञ्चालन गर्नुअघि प्रत्येक सिजनमा दोंगा पूजा गर्ने प्रचलन रहेको छ। उखु क्रसिङ गर्नु अघि खरिद गरिएको उंखु राख्ने ठाउँलाई मिल्सको भाषामा डोंगा भन्ने गर्दछन्। पूर्ण बिधि विधान अनुसार डोंगालाई पुजा गरेर मिल सञ्चालन गरेमा वर्षभरि बिना बाधा राम्ररी सञ्चालन हुने धार्मिक मान्यता रहेको पाइन्छ। मिल सञ्चालनको क्रममा आईतवार सब भन्दा पहिले मिलमा उँखु ल्याएका कटहरिया ३ का एकजना किसान सोगारथ बैठा लाई निर्देशक अभय प्रकाश जैसवालले दोसाला ओढाएर सम्मान गरेका थिए।
बाबा बैजुनाथ चिनिमिल सञ्चालन भएदेखि नै घाटा बेहोर्दै आएपनि यस पटक १५ लाख कुईन्तल भन्दा बढी उँखु क्रसिङ गर्ने लक्ष्य सहित सञ्चालन गरिएको चिनिमिल सञ्चालन समितिका अध्यक्ष बैजु बाबराले बताएका छन। उनले बिबिध कारणले गतवर्ष मात्र सातलाख कुईन्टल क्रसिङ गरी बन्द भएको थियो । गत वर्ष क्रसिङ भएको उँखु बापतको किसानलाई सम्पूर्ण भुक्तानी भइसकेको उनले बताएका छन। नेपाल सरकारले दिँदैआएको अनुदानको केही बक्यौता रकम केहीदिन भित्रै भुक्तानी गराउने प्रक्रिया अगाडि बढाइएको अध्यक्ष बाबराले जानकारी दिएका छन। साथै यस सिजनमा उखु खेती गर्ने किसानको सुविधाको सुबिधा स्वरूप मिलले मलखाद , बीउ तथा ऋण स्वरूप खेती अनुसारको केही रकम समेत दिने योजना रहेको छ। समयमा उँखुको भुक्तानी नपाएर विगतमा उँखु खेती गर्न छोडिसकेका दर्जनौं किसानहरु मिलले नियमित भुक्तानी दिनथाले पछि पुनः उँखु खेती गर्नाथालेको उनले बताए। यस सिजनमा पनि मिलमा चालान हुने उँखुको निर्धारित समयभित्र भुक्तानी तालिका अनुसार भुक्तानी दिने योजना अनुसार मिल सञ्चालन गरिएको अध्यक्ष बाबराले प्रतिबद्धता जनाएका छन् ।
बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डस्ट्रीज कटहरिया ९ डुमरियाका जिएम सियाराम साहले मिल सञ्चालनको पहिलो चरण आजदेखि उँखु ल्याउन किसानलाई चालान पुर्जी वितरण सुरुभएको बताएका छन। यस सिजनमा लक्ष्य अनुसारको उँखु ल्याउनको लागि रौतहटका साथै छिमेकी जिल्लाहरू बारा र सर्लाहीका किसान तथा स्थानिय प्रशासन संग सहमतिको लागि पहल भइरहेको जिएम साहले जानकारी दिएका छन। लक्ष्य अनुरुप उँखु क्रसिङ गर्नसकेमा व्यवसायिक दृष्टिकोणले सञ्चालन गरिएको चीनी मिल कुनै पनि हालतमा घाटामा नजाने जिएम साहले विश्वास ब्यक्त गरेका छन। रौतहट स्थित सब भन्दा ठूलो उद्योगको रूपमा रहेको श्रीराम सुगर मिल्स गरुडा ले पछिल्ला वर्षहरूमा उँखु बापतको भुक्तानी वर्षौसम्म पनि नदिँदा आर्जित भएका यहाँका किसानहरू उँखु खेती गर्न छोडेका थिए। बिगतमा १५ देखि २० लाख कुईन्टल उँखु उत्पादन हुने रौतहटमा पाँच लाख कुईन्टल भन्दा पनि कम उत्पादन भइरहेको थियो। तर दुईबर्ष अघि श्रीराम सुगर मिल बन्द भएपछि बाबा बैजुनाथ सुगर मिल कटहरियाको पहलमा जिल्लाका किसानहरु पुनः उँखु खेती सुरु गरेका छन। किसानले मिलमा चालान गर्ने उँखुको भुक्तानी समयमा मिलले दिने र सरकारले दिने अनुदान समयमा दिने हो भने फेरि पनि रौतहटमा वर्षेनी २० लाख कुईन्टल उँखु उत्पादन गर्नु ठूलो विषय नभएको किसालाहरुको ठम्याई रहेको छ।

सञ्जय मिश्रा

महसुल नतिरेपछि काटियो गण्डकीमा भौतिक मन्त्रालयको बिजुली

पोखरा । नेपाल विद्युतु प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको  विद्युत महसुल नतिरेपछि बिजुली काटिदिएको छ ।

केन्द्रले ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिदिएको हो ।

केन्द्रका अनुसार मन्त्रालयले २७ हजार ६५ रूपैयाँ बक्यौता तिर्न छ । तर, बिजुली काटिए पनि मन्त्रालयलाई भने असर परेको छैन। मन्त्रालयमा दुई फेज र तीन फेज लाइन जडान गरिएको छ ।

पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तीव्र पारेको छ ।

पोखरा वितरण केन्द्रमा हाल ५७ हजार उपभोक्ता छन् । त्यसमध्ये वितरण केन्द्रले गत साउन यता बिद्युत महसुल नबुझाउने १२ हजारबढीको लाइन काटिसकेको छ ।

वितरण केन्द्रका सूचना अधिकारी प्रदीपकुमार भुवाजीका अनुसार केन्द्रले महसुल नबुझाउने ग्राहकको लाइन काट्ने र महसुल बुझाएपछि जोड्ने गरेको छ । ‘प्राधिकरणले लाइन काट्ने र बक्यौता बुझाएपछि पुन जडान गर्ने काम निरन्तर नै हुन्छ । तर, बक्यौता लिने रकम बढ्दै गएपछि अभियान नै चलाएको हो,’ भुवाजीले भने ।

पोखरा वितरण केन्द्रले ३४ करोड बक्यौता बापतको रकम उठान बाँकी रहेको सूचना अधिकारी भुवाजीले बताए । ‘पोखरा वितरण केन्द्रबाट उठ्नुपर्ने ३४ करोड रुपैयाँमध्ये २२ करोड सरकारी निकायबाट उठ्न बाँकी हो । जसमध्ये २० लाख कास्की कारागारकै छ,’ उनले भने, ‘कास्कीमा रहेका प्रहरी कार्यालयहरुको पनि बक्यौता उठ्न बाँकी छ । अन्य रकम प्राइभेट सेक्टरको रकम हो ।’

सरकारी कार्यालयमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकाबाट उठाउन बाँकी छ । सडक बत्ती बापत पोखरा महानगरले ११ करोड रूपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।यसअघि वितरण केन्द्रले आन्तरिक राजस्व कार्यालय, जिल्ला अदालत कास्की र भूमि व्यवस्थापन कार्यालयको लाइन काटेर जडान गरिसकेको छ ।

कात्तिक २० गते सोमबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज चिन्ता हटेर मन हलुका हुनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ, तर व्यक्तिगत खुसीका लागि किनमेल र धन खर्च बढ्न पनि सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । सन्तान पक्षको मायामा कमी आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ । हरेक कार्यमा सतर्क हुनुपर्ने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारको क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लामो समयदेखि रोकिएका र अपूर्ण कामहरू पूरा हुनेछन् । रमाइलो र अविष्मरणीय यात्राको सम्भावना छ, त्यसबाट दीर्घकालिक फाइदा पनि होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । प्रशासनिक र न्यायिक कार्यमा पनि सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशन मिति परिवर्तन

काठमाडौं । यही कार्तिक २१ गतेबाट आईपीओ निष्काशन गर्न लागेको हिमालयन रि इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन मिति पर सार्ने निर्णय गरेको छ । कूल १० अर्ब चुक्ता पूँजी भएको हिमालयत रिमा सात अर्ब चुक्ता संस्थापकको लगानी रहेको छ ।

अब बाँकी तीन अर्ब रुपैयाँको प्रिमियम मूल्यमा आईपीओ निष्काशन यही कार्तिक २१ गतेबाट गर्ने निर्णय गरेकोमा आज एक सूचनामार्फत उक्त आईपीओ निष्काशन मिति पर सारिएको हो । नयाँ मिति अनुसार मंसिर ४ गतेबाट हिमालयन रिको प्राथमिक शेयर निष्काशन हुनेछ ।

प्रिमियम मूल्यमा निष्काशन गर्न लागिएको आईपीओमा लेखा समितिले चासो देखाउँदै तत्कालका लागि स्थगित गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएसँगै हिमालयन रि आफैले मिति पर सारेको हो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले आईपीओमा मंसिर १८ गतेसम्म लागी ‘मेरो शेयर’ अनलाइन, आस्वा सदस्य बैंक वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने जनाइएको छ ।

बैदेशिक रोजगारी अन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि ३० लाख कित्ता, आफ्ना कर्मचारीका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज कार्तिक २० गते अन्तिम दिन रहेको छ। कम्पनीले कार्तिक १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको छ।

कम्पनीले सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन गरेको छ । स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ४लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन भएको हो । यस निष्काशनमा आज कार्तिक २० गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० हजार कित्ताको लागि आवेदन दिन सकिने छ  । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा  २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । 

हालसम्म कति पर्यो आवेदन

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओमा आइतबार साँझसम्म ९८ लाख ८० हजार ४३० कित्ताका लागि आवेदन परेको छ । ८ लाख ४७ हजार ७७० जना आवेदकहरुले ९८ लाख ८० हजार ४३० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । जुन सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ४.७६ गुणा बढी हो ।

आजदेखि एमडिएमएस प्रणालीमा दर्ता नभएका फोन नचल्ने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ प्रणाली पूर्ण रूपमा लागु गर्दैछ। अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ यो प्रणाली आजदेखि लागु गर्ने भएको हो।

प्राधिकरणले कार्तिक ४ गते सूचना जारी गरि १५ दिन भित्र नेपालको दूरसञ्चार सेवा प्रदायकहरूको नेटवर्कमा आवद्ध भई दर्ता नभएका मोबाईल ह्यान्डसेटहरू प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता गराउन आग्रह गरेको थियो । यदि १५ दिन भित्र एमडिएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाईल ह्यान्डसेटहरूमा नियमानुसार मोबाईल दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको थियो । 

प्राधिकरणले दिएको १५ दिनको अवधि सकिएकोले अब प्राधिकरणले आजदेखि प्रणालीमा दर्ता नभएका मोबाइललाको नेटवर्क लक गर्ने भएको छ ।  पहिलो चरणमा महँगा  मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएको  प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । प्राधिकरणका अनुसार अब हरेक दिन केहि सय संख्यामा दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क लक हुँदै जाने छन् । 

नयाँ आईफोन १५ सिरिजबाट यो सुरु हुने प्राधिकरणले उल्लेख गरेको छ । आईफोन १५ सिरिजका करिब २५०० फोन एमडीएमएसमा दर्ता नभई सञ्चालनमा रहेको पाइएको र आज राति ९ बजे पश्चात् ति फोन नेपालभित्र चल्न छोड्ने प्राधिकरणले जनाएको छ। आईफोन १५ पछि अन्य फ्ल्यागशिप फोनहरूको पालो आउने प्राधिकरणले उल्लेख गरेको छ।

प्राधिकरणका अनुसार गत वर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् । गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइल भने प्रणालीमा स्वतः दर्ता भैसकेको छ। गत वर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेटको नेटवर्क लक गर्ने प्राधिकरणले तयारी गरेको हो।

 प्राधिकरणले सञ्चालनमा ल्याएको mdms.nta.gov.np मा गएर आफ्नो मोबाइल दर्ता भए/नभएको हेर्न सकिन्छ । व्यक्तिगत रूपमा विदेशबाट ल्याइएका मोबाइल पनि यसैमार्फत दर्ता गर्न पनि सकिन्छ ।