एकीकृत समाजवादी काठमाडौंको सचिवालय बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौं जिल्ला कमिटीको सचिवालय बैठक लैनचौरमा सम्पन्न भएको छ ।

जिल्ला कमिटीका अध्यक्ष एलपी श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो बैठकले काठमाडौंमा बसोबास भएका केन्द्रीय सदस्य एवं निकायका सदस्य र आयोगका सदस्यहरूसंग आउँदो ३० मंसिरमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यसैगरी काठमाडौंमा बसोबास गर्ने केन्द्रीय परिषद एवं बागमती प्रदेश कमिटी सदस्य र बिभागका सदस्यहरूसंग ७ पुसमा र सम्पर्क मञ्चका पदाधिकारीसंग १४ पुसमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको एकीकृत समाजवादी काठमाडौंका प्रचार विभाग प्रमुख एवं प्रवक्ता कृतु भण्डारीले बताईन् ।

यसैगरी क्षेत्रीय समन्वय कमिटीहरुको बैठक, काठमाडौं महानगर कमिटी, नगर कमिटीको, स्थानीय एवं संघीय जनप्रतिनिधि र निर्वाचनमा उम्मेदवार भएकाको बैठक गर्ने निर्णय भएको छ । यस्तै जिल्ला स्तरीय जबसका बैठक समेत बस्ने निर्णय भएको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा काठमाण्डौं जिल्ला कमिटीका सह–ईन्चार्ज कुसुम कुमार कार्कीले तयार पारेको नागरिकका एजेन्डा र आगामी कार्यभार बारे विशेष छलफल चलाउने निर्णय भएको छ ।

पार्टी सदस्यता नविकरण तथा बितरण अभियानको रुपमा अगाडी बढाउँनुका साथै जिल्ला स्थित समाजवादी मोर्चाको बैठक र एजेण्डाको बारेमा समेत बैठकमा छलफल भएको छ ।

बैठकमा पार्टीका उप–महासचिव तथा बागमति प्रदेशका ईन्चार्ज गंगालाल तुलाधर, स्थायी कमिटीका सदस्य तथा बागमति प्रदेश अध्यक्ष साबित्रा भुषाल, पोलिटब्युरो सदस्य एवं बागमति प्रदेश सभा सदस्य तथा काठमाण्डौं ईन्चार्ज वसन्त मानन्धर, सहइन्चार्ज एवं पोलिटव्यूरो सदस्य प्रभा बज्राचार्य, गोपाल बराल, टहल खड्का, केन्द्रीय सदस्यहरु कुसुम कुमार कार्की, मिना ज्ञावली, शिव कुमारी खनाल, गंभिरलाल श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

व्यवसायिक बाख्रापालन बारे नार्कद्धारा किसानलाई तालिम

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले किसानहरुलाई व्यावसायिक बाख्रापालन कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण थालेको छ । बाख्रापालन पेशालाई व्यावसायिक रुपमै कसरी अगाडि बढाउँने र राम्रो आम्दानी गर्ने भन्ने बारेमा नार्कले किसानहरुलाई प्रशिक्षण दिइरहेको छ ।

तनहुँको बन्दीपुरमा राष्ट्रिय स्तरको व्यवसायिक बाख्रापालन सम्बन्धि आवासीय तालिम भइरहेको छ । नार्क अन्तर्गतको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले आठ दिने व्यवसायिक बाख्रापालन सम्बन्धि आवासीय तालिम सञ्चालन गरेको छ । सो तालिममा सातै प्रदेशका २० जना किसानहरु सहभागि रहेका छन् ।

नार्कका योजना तथा समन्वय निर्देशक डा। लुमानिधि पाण्डेले तालिमको उद्धघाटन गर्दै यो कार्यक्रम बाख्रा पालन व्यवसायमा संलग्न व्यावसायिक किसानका लागि निकै महत्वपुर्ण भएको बताए । तालिम पश्चात व्यवसायिक बाख्रापालनका लागि किसानलाई थप ज्ञान प्राप्त भई बाख्रापालनलाई थप व्यवस्थित बनाउँन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेलले नार्कद्धारा विकास गरिएका नवीनतम प्रविधिहरुको समेत जानकारी समावेस गरी तालिम दिने काम भइरहेको बताए । यो तालिम प्राप्त कृषक आफ्नो समाजको लागि व्यावसायिक कृषकको प्रतिनिधिको साथ साथै दिशा निर्देशकको रुपमा समेत काम गर्ने विश्वास उनले व्यक्त गरे ।

आठ दिनसम्म चल्ने यो तालिममा प्रत्येक प्रदेशबाट कम्तिमा २ जनाका दरले किसानहरुलाई सहभागिता गराइएको कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य बताए । तालिमको समापन मंगलबार हुदैछ ।

मेयर र उपमेयर समर्थकबीच कार्यालयमै कुटाकुटः वीरगन्ज महानगरपालिका

वीरगन्ज।  वीरगन्ज महानगरपालिका मेयर र उपमेयरका सचिवालय समर्थकहरुबीच कुटाकुट भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत बस्ने कार्यालयको विषयलाई लिएर विवाद उत्पन्न हुँदा मेयर राजेशमान सिंह र उपमेयर इम्तेयाज आलमको सचिवालयका समर्थहरुबीच कुटाकुट भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठामा ताल्चा लगाएर आफ्नो सचिवालय बनाउने तयारी उपमेयरको सचिवालयले गरेको थियो ।तर, मंगलबार अचानक केही वडाअध्यक्षहरुसहितको टोलीले प्रमुख प्रशासकीय अधिकृत त्यो कोठामा लगाइएको ताल्चा फुटाएर पञ्जीकरण शाखाको सामान लैजान लागेका थिए ।यही क्रममा विवाद उत्पन्न भएपछि मेयर र उपमेयर सचिवालयका समर्थकबीच कुटाकुट भएको प्रत्यक्षदर्शी बताउँछन् ।

महानगर परिसरको दक्षिणपट्टिको भवनको नवनिर्मित तेस्रो तल्लामा केही दिन अगाडि मेयर राजेशमान सिंहको कार्यालय सरेको थियो । मेयर सिंहको कार्यालय सरेपछि उनको पुरानो खाली भएको कार्यालयमा कार्यकारी अधिकृतको कार्यालय सारिएको थियो । यसअघि कार्यकारी अधिकृतको कार्यालय उपमेयरको कार्यालयसँग टाँसिएको थियो ।

कर्मचारीका अनुसार कार्यकारी अधिकृतको कार्यालय सरेपछि खाली भएको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा बनाउने योजना रहेको थियो । हाल पञ्जीकरण शाखा साँघुरो कोठामा सञ्चालित रहेको छ । कर्मचारी स्रोतका अनुसार उपमेयर इम्तियाज आलमको सचिवालयले कार्यकारी अधिकृत सरेपछि खाली रहेको कोठालाई आफूले प्रयोग गर्ने बताएका थिए ।

‘खाली कोठामा ताला नै झुन्ड्याइएको थियो,’ नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारी भन्छन्, ‘मंगलबार ताला खोलाएर पञ्जीकरण शाखा बनाउने विषयमा विवाद भएको हो ।’ पञ्जीकरण शाखाका लागि कोठा दिन नमान्दा मेयर र उपमेयरका समर्थकबीच घम्साघम्सी भएको थियो । विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा ओइरिएका थिए । प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले महानगरकोस्थित सामान्य रहेको बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए ।

सेयर बजार पुनः लयमा फर्कियो

काठमाडौं । सोमबारको सामान्य करेक्सनपछि शेयर बजारले पुनः सकारात्मक लय समातेको छ। मंगलबार नेप्से सूचकमा आकर्षक बृद्धि देखिएको छ। शेयरबजार परिसूचक नेप्से आज (मंगलबार) ३६.८६ अंकले बढेको छ । परिसूचक १९८५.४४ बिन्दुमा पुगेको छ । कारोबार रकम पनि झण्डै ४ अर्ब रुपैयाँ पुगेको छ ।

आज २१४ कम्पनीको शेयरमूल्य बढ्दा २४ कम्पनीका लगानीकर्ताले गुमाए । चार कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो । ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यसदिन ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। मंगलबार बोटलर्स नेपाल, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर सिमेन्टको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ।

आज बजारमा सनराइज ब्लुचिप फण्ड, सीवाइसी लघुवित्त र छिमेक लघुवित्तका शेयरधनीले प्रतिकित्ता शेयरमा क्रमशः ५९, १३ र ३६ रुपैयाँ गुमाएका छन्‌ । सबैभन्दा बढी शिवम् सिमेन्टको १८ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सोनापुर मिनरलको सबैभन्दा धेरै ४ लाख २९ हजार ८२७ कित्ता शेयर किनबेच भयो ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेपछि कारोबारको पहिलो दिन आइतबार १११ अंकले बढेको नेप्सेमा सोमबार भने २० अंकले घटेको थियो ।

सहायतामा ढिलाइ गर्दा पुटिनको सपना पूरा हुनेछ:जेलेन्स्की

एजेनसी । सैन्य र आर्थिक सहयोगको अनिश्चितता जारी रहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिका पुगेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनकै निमन्त्रणमा जेलेन्स्की अमेरिका पुगेका हुन् । 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार युक्रेनको रक्षाका लागि निरन्तर अमेरिकी समर्थनको महत्त्व र युक्रेनले सामना गर्ने जटिलताबारे छलफल गर्न बाइडेनले जेलेन्स्कीलाई अमेरिका आमन्त्रित गरेका हुन् ।

जेलेन्स्कीको अमेरिका भ्रमण यस्तो समयमा भइरहेको छ, जतिबेला अमेरिकी सिनेटले युक्रेनलाई आर्थिक सहयोग गर्न अस्वीकार गरिदिएको छ । केही समयअगाडि सिनेटमा भएको मतदानमा विपक्षी रिपब्लिन पार्टीका सिनेटरहरूले अमेरिकाले सीमा सुरक्षामा बजेट खर्च गर्नुपर्ने भन्दै युक्रेनलाई गर्ने भनेको सहयोगको विपक्षमा भोट गरेका थिए ।

जेलेन्स्कीले अमेरिकी समकक्षी बाइडेन र अमेरिकी सभामुखलाई भेट्ने कार्यक्रम छ । त्यसअघि सोमबार नै अमेरिका पुगेका जेलेन्स्कीले वासिङ्टन पुगेर नेसनल डिफेन्स युनिभर्सिटीमा अमेरिकी सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै अमेरिका र अन्य देशबाट हतियार सहयोग नपाएको खण्डमा आफूहरूले युद्ध हार्ने बताएका छन् ।

उनले अमेरिकालाई सहयोग गर्न आह्वान गर्दै भनेका छन्, ‘अमेरिकाले सैन्य समर्थन जारी राख्न ढिलाइ गर्नुहुन्न । रूसी आक्रमणलाई पराजित गर्न मद्दत गर्न असफल हुनुले युरोपको लोकतन्त्रलाई ध्वस्त पार्नेछ र यस कार्यले रुस र पुटिनको सपना पूरा हुनेछ ।

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन्। 

भन्सार विभागमा महानिर्देशक रहेका पाैडेललाई अर्थमन्त्री डा. प्रकाशशरण महतले  नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् ।

पौडेलले यसअघि धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, र तत्कालीन बीमा समितिको सञ्चालक समिति सदस्य भएर पनि काम गरिसकेका छन् ।

एनसेलरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ । एनसेलरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ हुने भएको छ । एनसेल अजियाटाविरुद्ध सांसद डा.अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यकः ओली

काठमाडौँ । सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढङ्गले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको जिकिर गरेका छन् ।

उनले देश विकास र दिगो रक्षाको लागि देशभक्त, सुशासन, शान्ति, विकासप्रेमी र जनताका समस्या हेर्न एमालको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताए । उनले एमालेलाई आन्तरिक र बाह्य शक्तिहरू मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पूरा नभएको बताए ।

उनले अब एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै अब लोकप्रिय मात्रै नभएर बहुमत सहितको सरकार बनाएर बलियो शक्ति बन्ने बताए । उनले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पंक्तिलाई अगाडि बढ्न आग्रह गरे । एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै वैकल्पिक शक्ति नरहेको स्पष्ट भयो । एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडकलगायतका विकासमा काम गरेको सबैलाई थाहै छ’, ओलीले भने ।

उनले भने, ‘सरकारमा भएको बेलामा दुनियाँले रोक्दारोक्दै पनि एमालेले गरेका कामबाट स्पष्ट हुन्छ कि अब यो देशमा कुनै वैकल्पिक शक्ति छैन । एमालेलाई आन्तरिक र बाह्य शक्तिहरू मिलेर सरकारबाट हटाए । हाम्रो पार्टी फुटाए । पार्टीलाई कमजोर पार्ने मात्रै होइन धुलो चटाउँछौं र भित्तामा टासिदिन्छौं भने पार्टी चक्नाचुर हुन्छ भने तर त्यो उनीहरूको सपना थियो । एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको छ । अब लोकप्रिय पार्टी मात्रै भएर पुगेन । यस लोकप्रिय र देशभक्त, सुशासन, शान्ति, विकासप्रेमी र जनताका समस्या हेर्ने पार्टीको एकल बहुमतको सरकार नभइ देशलाई स्थायी रुपमा दिगो रुपमा रक्षा गर्न र अगाडि बढाउन सकिँदैन ।’

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बजार उच्च अंकले बढेपनि यस दिन अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजार घट्न पुगेको हो। आज नेप्से १५.४० अंकले घटेर एक हजार ९ सय ४८ दशमलब ५७ विन्दुमा बन्द भएको हो ।                   

त्यस्तै, आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज चार अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ८१ कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था, दोल्ती पावर कम्पनी लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र हाथवे इनभेष्टमेन्ट नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।         

त्यस्तै, समता लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.१५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्य एण्ड वेल कम्पनी लिमिटेडको भएको छ । आज यस बैंकको २५ करोड १५ लाख बराबरको कारोबार भएको छ ।   

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपससमूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०९ प्रतिशत घटेको छ।

आईपीओमा १० कित्ते नीति हटाउने तयारी, बन्यो समिति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण शेयर (आईपीओ)को १० कित्ते नीति हटाउने तयारी गरेको छ । जसका लागि बोर्डले सोमबार १० कित्ते नीति पुनरावलोकन भन्दै समिति नै बनाएको हाे । 

सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठका अनुसार १० कित्ते नीति पुनरावलोकनको लागि बोर्ड सदस्य प्रविण कुमार झाको संयोजकत्वमा समिति गठन गरिएको छ । साथै, समितिमा बोर्ड सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक समेत रहेका मुक्ति श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी सदस्य रहेका छन् ।

आईपीओमा न्यूनतम १० कित्ते नीति सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न समितिले अध्ययन गरेर यथावत राख्ने की हटाउने भनेर सुझाव पेश गर्नेछ । सोही सुझाव अनुरुप बोर्डले निर्णय गर्ने प्रवक्ता श्रेष्ठ बताउँछन् । उनका अनुसार विभिन्न कम्पनी तथा लगानीकर्ताहरूले यो व्यवस्था हटाउनु पर्ने माग गर्दै आएका छन् । सोही मागलाई सम्बोधन गर्न अध्ययनका लागि समिति गठन गरिएको उनको भनाइ छ ।

‘१० कित्ते नीतिले पुँजी बजारमा कम्पनीको सेयर मूल्य बढेन, सेयर छरिएर कम्पनीको मूल्य वास्तविक हुन सकेन, सप्लाइ १० कित्ता मात्रै भएपछि माग धेरै हुन थाल्यो, सप्लाइ कम भएपछि प्रतिस्पर्धी मूल्य बन्दैन,’ विज्ञहरूले दिएको सुझावलाई उदृत गर्दै उनले भने ।

१० कित्ते नीति हुनु अगाडि आईपीओमा समानुपातिक व्यवस्था थियो । आवेदन दिएको आधारमा सबै लगानीकर्तालाई समानुपातिक रुपमा सेयर बाँडफाँट गरिँदै आएको थियो । साथै, १० कित्ते नीतिले जस्तो सुकै कम्पनीको सेयर बिक्ने र कमजोर कम्पनी पनि बजारमा आउन उत्साहित हुन थालेको उनको भनाइ छ ।

‘जस्तो कुनै लगानीकर्ताले १ हजार कित्ताका लागि आवेदन दिएको छ भने १० प्रतिशत सेयर बाँड्न मिल्छ भने १ सय कित्ता पाउने भयो, १ सय कित्ता आवेदन दिएको छ भने १० कित्ता, १ लाख कित्ता आवेदन दिँदा १ हजार कित्ता पाउने गरी समानुपातिक व्यवस्था थियो, थोरै कित्ता आवेदन दिने र ठूलो संख्यामा आवेदन दिने लगानीकर्तालाई छुट्टै समूह बनाएर बाँडिन्थ्यो,’ उनले भने, ‘१० कित्ता दिँदा विद्यार्थी लगायत साना लगानीकर्ताहरूले पाउँदा मुख्य लगानीकर्ताले सेयर पाएनन्, जस्तो कुनै लगानीकर्ताले १० कित्ता पाएको छ भने ५ हजार फाइदा गर्याे भने चिया चुरोटमा मात्रै खर्च हुन थाल्यो, त्यसबाट कुनै उपलब्धि भएन, अब १ सय कित्ता परेर ५० हजार फाइदा भयो भने केही उपलब्धि गर्न सक्छ ।’

सहसचिव पदमा बढुवाका लागि १५ जना उपसचिवको नाम सिफारिस ( सुचिसहित)

काठमाडौँ ।  १५ जना उपसचिवहरूलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले योग्यता क्रमका आधारमा बढुवा सिफारिस गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । 

बढुवा सिफारिसमा पर्ने उपसचिवहरूमा नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थ प्रसाद धिताल, राजेश गौतम, ऋषिराम पङ्गेनी, रामु राज उपाध्याय (कडरिया), राजकपुर चौलागाइँ, सन्तोष प्रसाद दाहाल, सूर्यबहादुर खत्री, जीवन प्रसाद दुलाल र ऋषिराज आचार्य छन् ।

अख्तियारको प्रवक्तामा सहसचिव नरहरि घिमिरे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा नरहरि घिमिरे नियुक्त भएका छन् । हालका प्रवक्ता भोला दहालको सरुवा भएसँगै उनको ठाउँमा सहसचिव घिमिरेलाई नयाँ प्रवक्ताको रुपमा तोकिएको हो ।

नवनियुक्त प्रवक्ता घिमिरेले मंसिर २५ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । साथै, प्रवक्तासँग सम्पर्क गर्नका लागि टेलिफोन ०१-५२६२२३ र मोबाइल नम्बर ९८५१२३३२८१ को व्यवस्था गरिएको छ ।

नार्क र विश्व वन्यजन्तु कोषबीच उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि समझदारी

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का बीचमा उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि समझदारीपत्रमा हस्ताक्षार भएको छ ।

नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज दुई पक्षका बीचमा यस्तो समझदारी भएको हो । समझदारीपत्रमा नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराई, योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डे र कोषका तर्फबाट कोषका नेपाल प्रतिनिधि धनश्याम गुरुङ र संरक्षण कार्यक्रमका वरिष्ठ सल्लाहकार शिवराज भट्टले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा पत्रमा हस्ताक्षर पश्चात नार्कका कार्यकारी निर्देशक डा. भट्टराईले दुबै पक्षको सामुहिक प्रयासबाट परियोजनाले तोकेको उपलब्धी समयमै हासिल गर्न सकिने बताए । यति महत्वपूर्ण बिषयमा डब्लुडब्लुएफसंग सहकार्य गर्न पाउँदा उनले खुशी व्यक्त गर्दै यसबाट देशको कृषि अनुसन्धानमा महत्वपुर्ण योगदान पुग्ने बताए ।

यस्तै कोषका नेपाल प्रतिनिधि गुरुङले १० बर्ष भित्रैमा उच्च पर्वतीय क्षेत्रमा नमुना जिन बैंक स्थापना गर्न सकिने बताए । रैथाने अनुवंश र आनुवंशिक विविधतालाई संरक्षण गरेर लैजान यो परियोजना सफल हुने विश्वास उनले व्यक्त गरे । राष्ट्रिय जिन बैंकका प्रमुख डा. बालकृष्ण जोशीले यो परियोजना कार्यान्वयन गर्दै मनाङ र मुस्ताङमा पाइने स्थानीय साँस्कृतिक, धार्मिक, प्ररम्परा र उक्त स्थानमा पाइने रैथाने कृषि अनुवंशिक स्रोतहरुको अध्ययन अनुसन्धान गरिने बताए ।

मनाङ र मुस्ताङ मध्ये उपयुक्त एक स्थानमा हिमाली जीन बैंकको रूपमा बिउबिजनको संरक्षणका लागि एउटा बीउ बैंक स्थापनाको सम्भाव्यता अध्ययन गरिने जोशीले बताए । साथै स्थानीय बालीनाली र पशुपंक्षीको पौष्टिक लगत तयार गरिने, उपयोगमा नल्याइएका र वेवास्ता गरिएका जन्तु र वनस्पतीको उपयोग बढाउन अवश्यक अनुसन्धान गिरने उनले बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले वश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा सञ्चालन हुने यो परियोजनाको सफल कार्यान्वयनले उच्च पर्वतीय कृषि अनुसन्धानमा ठूलो योगदान पुग्ने बताए । दुबै पक्षको सक्रियताबाट परियोजना कार्यान्वयनले कृषि अनुसन्धानका थप तथ्यहरू पत्ता लाग्ने र यसबाट अनुसन्धानकर्ता र कृषक समेत लाभान्वित हुने उनले बताए ।

सल्लाह नगरेको भन्दै खटाइएका कर्मचारीलाई मन्त्रालयमै फिर्ता

रौतहट २५ मंसीर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट रौतहटको यमुनामाई गाउँपालिकामा खताईएका एकजना कर्मचारीलाई हाजिरनै नगराई पुनः मन्त्रालयमै फिर्ता पठाइएको छ। मन्त्रालय बाट दुईदिन अघि २२ गते गत शुक्रवार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा काजमा खटाईएका कर्मचारी ओमप्रकाश यादव लाई हाजिरै नगराई आज आईतावार मन्त्रालय फिर्ता पठाएको हो।
यमुनामाई गाउँपालिका अध्यक्ष महमद सउदले मन्त्रालयको नाउँमा पत्रनै लेखेर कर्मचारी यादव लाई फिर्ता पठाएका छन्।
अधिकृत यादव लाई मन्त्रालय बाट कामकाज गर्न खटाइएका विषयमा गम्भीर ध्यानाकर्षण भएको छ। तिनै तहका सरकार मध्ये सबै जनता संग प्रत्यक्ष जोडिएको स्थानिय सरकारको सहमती बिना हप्तै पिच्छे प्रमुख प्रशासकीय अधिकृत फेरबदलमा पालिकाको कामकाज अवरुद्ध भई जनतामा नकारात्मक असर परिरहेका कामले मन्त्रालय बाट खताईएका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवलाई कामकाजमा खटाउन असमर्थ भएकाले उहाँलाई हाजिर नगराई फिर्ता पठाईएको गाउँपालिका अध्यक्ष महमद सउद द्वारा हसताक्षरित पत्रमा उल्लेख गरिएको छ। पछिल्लो समय सामान्य प्रशासन मन्त्रालय बाट रौतहटमा एउटै पालिकामा दुईजना सम्मलाई प्रमुख प्रशासकिय अधिकृतमा खटाईएको देखिएको छ। केही समय अघि मात्र वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधान र स्वास्थकर्मी रासनारायण पटेललाई खटाएको थियो। दुईजना अधिकृतको कारण त्यहाँको मेयर उपमेयर बीच बिवाद चर्केको थियो।
सामान्य प्रशासन मन्त्रालय जनमत पार्टीको पोल्टामा परेदेखि नै त्यहाँ कर्मचारी सरुवामा आर्थिक चलखेल सुरुभएको गुनासो सुरुभएको छ।
१० देखि १५ लाख रुपैयाँ खर्चेर कतिपय कर्मचारी पालिकाहरुको प्रमुख प्रशासकीय अधिकृत सहजै रूपमा बनिरहेको रौतहटमा ब्यापक चर्चा चलेको छ। सञ्जय मिश्रा

आश्रयको लापरवाहीले ५०० परिवार खानेपानी बाट वञ्चित


रौतहट २५ मंसीर । आश्रय निर्माण सेवाको लापरवाहीको कारण कटहरिया नगरक्षेत्र अन्तर्गत झण्डै पाँचसय परिवार शुद्ध खानेपानी बाट वञ्चित भएका छन्।
बाटो छेउमा ढल तथा नाला बनाउने क्रममा क्षति भएको खानेपानीको पाईप लगायतका संरचना आश्रयले मर्मत नगर्दा यहाँका पाँचसय परिवार झण्डै एकबर्ष देखि शुद्ध खानेपानी बाट वञ्चित भएका हुन्।
आश्रय निर्माण सेवाले कटहरियामा ५४ करोडको टेण्डर घटाघटमा ३४ करोडमा साकार गरी ढल तथा नाला निर्माणको क्रममा त्यस्तो लापरवाही गरेको स्थानीयले बताएका छन्।
कटहरिया नगरपालीका वडा ४ र ५ साबिक कटहरिया गाविसमा ढल तथा नाला निर्माणको लागि खानेपानी तेस्रो सानासहरी आयोजनाले दुईबर्ष अघि निकालेको ५४ करोडको टेन्डर आश्रय निर्माण सेवाले घटाघटमा ३४ करोडमा साकार गरेको थियो ।
सम्झौता अनुसार करोडौँको योजनाको काम आफैले नगरेर साधन स्रोत नभएका ससाना पेटी ठेकदार संग निर्माण गराएको कारण एकातर्फ मापदण्ड अनुसारको सामग्री प्रयोग नभएकाले ढल तथा नाला गुणस्तरहीन भएको छ भने अर्को तर्फ खानेपानीको लाखौंको संरचनामा क्षती पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। कटहरिया वडा ४ र ५ बहादुरपुर, टोलापुर, बलरामपुरमा दर्जन बढी स्थानमा खानेपानीको पाईपमा क्षति भएको थियो। क्षति भएको पाईप मर्मत नगरेको कारण करिब ५०० परिवार खानेपानी बाट १ बर्ष देखि वञ्चित भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष योगेन्द्र साहले जानकारी दिएका छन्। क्षती भएको संरचना मर्मत गर्न २४ घण्टा भित्र गर्नुपर्नेमा एकबर्ष बित्दा पनि भएन, मर्मतको लागि खानेपानी संस्थान पानीपोखरी, ईटहरी तीनवटा पत्र लेखेर तागेदा गरेको १० महिना कसैले पनि कुनै वास्ता नगरेको अध्यक्ष साहले बताएका छन्।
एसियायी विकास बैंक र कटहरिया नगरपालिकाको ३४ करोड बढिको लगानीमा वडा ४ र ५ मा एकैपटक झन्डै १६ किलोमीटर ढल तथा नाला निर्माणको योजनाको काम भैरहेको सम्भवत मधेस प्रदेश मै पहिलो हो । एशियाली विकास बैंकको करोडौँको लगानीमा पनि आश्रयले आफैले निर्माणको काम नगरी पेटी ठेकदार संग गरिएकोले अधिकांस संरचना कमजोर भएको वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताएका छन्।
आश्रय निर्माण सेवाका प्रोजेक्ट मेनेजर अजय गुप्ताले क्षति पुगेको संरचना तुरुन्तै मर्मत हुने प्रतिक्रिया दिएका छन्। तर उनले पटकपटक आश्वासन मात्र दिँदैआएको र काममा चासो नलिनेगरेको स्थानीयहरूले गुनासो गरेका छन्।
पुर्व मन्त्री प्रभु साहको पहलमा उक्त योजना स्वीकृत भएको तथा कटहरिया नगरपालिकाको पूर्व मेयर सियाराम कुशवाहाको पालामा नगरपालिकाले १५ प्रतिशत लगानी गरेपछि निर्माण सुरू भएको थियो। सञ्जय मिश्रा