बन कार्यलय रौतहटद्वारा सैयौंफिट अबैधकाठ र  दर्जनबढी तस्कर पक्राउ

रौतहट २३  मंसीर। डिविजन बन कार्यलय रौतहटले सैयौं क्युबिफिट सालको अबैध काठ बरामद गर्नुका साथै दर्जनबढी तस्कर पक्राउ गरेका छन्। बन गस्ती टोलीले सक्रियता बढाए संगै तस्करहरुले पनि नयाँ नयाँ युक्ती निकालेर साल जातको काठ अवैध रूपमा कटानी गरेर तस्करी गर्ने गरेको पाइएको छ। हेर्दा पत्यारै नलाग्ने किसिमको चार पाँच फिट सम्म मोटाई भएको सालको गुलिया काठ तस्करहरुले साईकलमै ढुवानी गर्ने गरेको देखिएको छ। दुई दिन अघिमात्र सशस्त्र वन सुरक्षा गस्ती टोलीले रौतहट स्थित बलेरी खोर जंगल बाट त्यस्तै किसिमले तस्करहरुले ढुवानी गर्न लागेको दुर्इवटा साईकल जोडेर लोड गरिएको विशाल सालको गुलिया काठ बरामद गरेको छ। राष्ट्रीय बनमा तस्कर समूह प्रवेश गरेको बिशेष सूचनाको आधारमा गएको सुरक्षा टोलीले नया प्रविधी बाट चोर्दै गरेको उक्त साईकल सहितको गुलिया काठ बरामद गरिएको डिवीजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताएका छन्।

 डिविजन प्रमुख मिश्रको सक्रियतामा डिवीजन बन कार्यलय चन्द्रनिगाहपुर तथा मातहतको सब डिवीजन कार्यालयहरु बाट खटिगएको गस्ती टोलीले सो संगै सैयौं क्यूफिट सालको काठ बरामद गर्नुका साथै  दर्जन बढी तस्करलाई पक्राउ गरेको हो।

रौतहट स्थित राष्ट्रीय तथा बिभिन्न साझेदारी बन बाट अबैध रुपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र बन सुरक्षा टोलीले गत साउन १५ यता ३९७ क्यूफीट सालको काठ बरामद गरेको छ।

सो अवधिमा काठ तस्करी र अबैध सिकारमा संलग्न १५ जना तस्कर लाई पक्राउ गर्नुका साथै काठ तस्करीमा प्रयोग गरीएको पिकअप भ्यान १ थान, ट्याक्टर १ थान, टायर गाडा २ थान, मोटरसाइकल १ थान र साईकल १४ थान बरामद भएको डिवीजन प्रमुख मिश्रले जानकारी दिएका छन्।

त्यसैगरी पक्राउ परेका तस्करलाई कानुनी कारवाही गरी जरिबाना स्वरूप ६ लाख,१३ हजार १२० रुपैया राजश्व संकलन गरिएको डिवीजन बन कार्यालय रौतहटका सहायक अधिकृत राजेश साहले बताएका छन्।

गत असोज १ गते डिवीजन बन कार्यलय रौतहटको प्रमुखको रुपमा कार्यभार सम्हाले देखि जिल्लामा तुलनात्मक रुपमा काठको चोरी तस्करीमा कामी आएको स्थानीयहरुले बताएका छन्। सञ्जय मिश्रा

बाला चतुर्दशीको अवसरमा जंगलसहिया पशुपतीमा मेला सुरु

रौतहट २३ मंसीर। रौतहटको उत्तरीभेग गुजरा नगरपालिका ३ जंगलसहिया स्थित पशुपति मन्दिरमा बाला चतुर्दशीको अवसरमा शुरु भएको मेलाको उदघाटन गरीएको छ।
पशुपती मन्दिर अगाडी आयोजित बिशेष समारोहका प्रमुख अतिथि गुजराकी उपमेयर रतना लामाले गएराती विधिवत रुपमा मेलाको उदघाटन गरेका हुन् । मेला समितिको पहलमा बाला चतुर्दशीको अवसर पारेर पशुपती मन्दिरमा सुक्रबारदेखि चारदिने मेला सुरु भएको हो ।
लामो समय देखि हरेक बर्ष लाग्दै आइरहेको मेला यस वर्ष पनि भव्यताका साथ लागि रहेकाले पशुपती मन्दिरमा लाखबत्ती बाल्न आउन भक्ताजनहरुलाई आउन आयोजकले आग्रह गरेको छ ।
भक्तजन तथा मेला भर्न आउनेहरुको मनोरञ्जनको लागि पशुपति मन्दिर परिसरमा सरसफाइ पश्चात् स्टेज निर्माण गरि शुक्रवार बेलुकी देखि सांस्कृतिक कार्यक्रम सुरुभएको आयोजक समितिका अध्यक्ष उमेश कुमार शाहीले जानकारी दिएका छन।
मेलामा आउनेहरुको लागि खानेपानी, शौचालय,विद्युत तथा सुरक्षाको समेत व्यवस्थापन गरिएको मेला आयोजकले जनाएको छ ।
यसै वर्ष दिवंगत अथवा निधन भएका पित्री तथा आफन्तको परिवारका मानिसहरु रौतहट, बारा, सर्लाही, पर्सा, सिन्धुली लगायत टाढा टाढाबाट जंगलसहिया पशुपति मन्दिरमा आएर लाखबत्ती बालेर सतबिज छर्ने गर्दछन् ।
जंगलसहिया स्थित उक्त पशुपति मन्दिरमा लाखबत्ती बालेर सतबिज छर्नाले दिवंगत आत्माले शान्ति पाउने जनविश्वास रहिआएको छ ।
कोरोना कालमा असुरक्षाको कारण लगातार दुईबर्ष पशुपती स्थानमा मेला लाग्न सकेको थिएन। अवस्था सहज भएसँगै गतबर्ष देखि बाला चतुर्दशीको अवसरमा भव्यरुपमा मेलाको आयोजना हुँदै आएको स्थानीयहरूले जानकारी दिएका छन्। सञ्जय मिश्रा

भारतीय सुरक्षाकर्मीको कारण बेटी रोटीको सम्बन्ध प्रभावीत

रौतहट २१ मंसीर। रौतहट संग जोडिएको साना नाकाहरुमा तैनाथ भारतीय सुरक्षाकर्मी एसएसबिको ज्यादतीको कारण दुई देशबीच सदियौं देखि चलेको बेटी रोटीको सम्बन्ध प्रभावित भईरहेको छ।
एसएसबीले सदियौं देखि चलिआएको व्यवहारको वास्ता नगरी बिभिन्न बहानामा सीमाक्षेत्रमा आवतजावत गर्ने नेपाली लाई अनावश्यक दुःख दिने गरेको कारण बेटी रोटीको सम्बन्ध प्रभावित बनेको हो।
पछिल्लो समय भारतीय सुरक्षाकर्मीले सीमाक्षेत्रमा आवतजावत गर्ने नेपालीलाई रोकेर पहिचान खुल्ने कागज देखाउन भन्दै दुःख दिरहेका छन भने नेपाली नम्बरको मोटरसाइकलमा समेत कडाई गरेको छ। भनसुन गरेपछि ढीलो गरी मोटरसाइकल जेनतेन जान दिएपनि गौर बैरगनिया नाका बाहेक ससाना नाका बाट चारचक्के गाडी आउजाउमा पूर्णरूपमा रोक लगाउँदा सीमाक्षेत्रमा बसोबास गर्ने हजारौँ नेपालीलाई शास्ती खेप्नु परेको छ।
भारतीय सीमामा संग जोडिएको नेपाली गाउँका मानिसहरूको सम्पूर्ण ब्यवहार भारत संग जोडिएको हुन्छ। उनीहरूको प्रायः सम्पूर्ण नातागोता आफन्त, भारतमै रहेका छन भने अधिकांशले छोरा छोरीको बिहेवारी पनि भारतमै गर्नेगरेको पाईन्छ।
सीमावर्ती ईशनाथ नगरपालिका ६ घिउरा गाउँका रामाज्ञा ठाकुर लोहारको एकाछोरा र दुइछोरीको बिहे सीमापारी भारतीय गाउँमै गरेका छन। त्यस्तै उनकै टोलका चन्द्रिका दुबेले पनि पाँच छोरा छोरी मध्ये तीन चारजनाको बिहेवारी भारतीय गाउँमै गरेका छन।
ई दुईजना उदाहरण मात्र हुन्। रौतहटको सीमावर्ती बौधिमाई, ईशनाथ, राजपुर, परोहा, गौर, राजदेवी नगरपालिकाको हजारौँ परिवारको छोरा छोरीको वारिपारी बिहेवारी भएको छ।
नेकपा माओवादी ईशनाथ नगर कमिटी सदस्य रामाज्ञा ठाकुरका अनुसार रौतहट स्थित २८ किलोमिटर लामो भारतीय सिमाना संग जोडिएको नेपाली गाउँका प्रायः सबै मानिस भारतीय बजार माथिनै निर्भर रहेका छन।
घरको लागि दैनिक उपभोग्य वस्तु, कपडा, देखि खेती किसानको लागि चाहिने बीउ, मलखाद लागायतका सामग्री भारतीय बजार बाट नै ल्याउने गर्दछन्। जिल्ला सदरमुकाम गौर २०!३० किलोमिटर टाढा र सीमापारी भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन ५ किलोमिटर भित्रै परेकाले पनि यहाँका मानिसको घर परिवारमा कसैलाई कुनै बिरामी हुँदा समेत उपचारको लागि भारतीय डाक्टर माथि निर्भर रहेको समाजसेवी ठाकुरले बताएका छन। वारिपारी बिच हजारौँ परिवारको सम्बन्ध भएकाले दैनिकजसो दर्जनौं छोरी बुहारी वारिपारी गर्नुपर्ने चलन रहर र बाध्यता रहेको छ।
सीमावर्ती नेपाली हजारौं परिवारको यो दैनिकी चलिनै आएको थियो।
यस्तो चलन र दैनिकी रौतहटको मात्र नभई
नेपालको तराई मधेश र भारतको बिहार उत्तरप्रदेश बीच सदियौं देखि रोटीबेटीको सम्बन्ध रहेको छ।
कोरोना महामारी पछि सधैंको जस्तो गाडी मोटरसाइकल तथा अन्य सवारीसाधन आवतावतमा कुनै समस्या थिएन, सीमाक्षेत्रका मानिस सहजरुपमा वारुपारी आउने गरेका थिए। तर झण्डै पछिल्लो समय भारतीय सिमानामा खटिएका एसएसबीले चारपांग्रे सवारीसाधन आउजाउमा रोक लगाएका छन।
माथिको आदेश भन्दै उनीहरुले रौतहटको सदरमुकाम गौर हुँदै भारतीय बजार बरागिनिया अथवा वीरगंज हुँदै रक्सौल भएर मात्र आउनजान दिएका छन।
तकहिले काहीँ नेपाल-भारत सीमा क्षेत्रबाट आवतआवत गर्दा भारतीय सुरक्षाकर्मीहरुले परिचय खुल्ने कागजात माग्न थालेका छन् ।
यसरी भारतीय सुरक्षाकर्मीले गाडी आउजाउमा रोक लगाएपछि मात्र ५ किलोमिटर पारीको गाउँ पुग्न ४०!५९ किलोमिटर टाढाको घुमाउरो बाटो जानुपर्ने हजारौं परिवारको बाध्यता भएको पत्रकार उपाध्यायले गुनासो गरेका छन।
केही महिना अघि एकजना पाकिस्तानी महिला सीमा हैदर महोत्तरीको भिठामोड नाका हुँदै भारत उत्तरप्रदेशको नोयडा पुगेपछि सीमामा तैनाथ भारतीय सशस्त्र सीमा सुरक्षा बल -एसएसबी)ले नाकामा कडाइ गरेको हो ।
मधेश प्रदेशसँग सीमा जोडिएका सबै नाकाहरुमा भारतीय एसएसबीले सीमा क्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधारकार्ड खोज्न थालेका छन् । पहिचान खुल्ने कागजात नदेखाउँदा उनीहरुले सीमा क्षेत्रमा आवतजावत गर्न रोक लगाउने गरेको स्थानीय बताउँछन् । यसअघि नेपाल-भारत सीमा क्षेत्रबाट अर्को देशमा प्रवेश गर्दा यात्रुले कागजात प्रमाण देखाउने व्यवस्था थिएन ।
अहिले भारतीय बजार जाँदा सिमानामा रहेका एसएसबीले परिचय खुल्ने प्रमाण मागिरहेका छन्, स्थानीय पत्रकार आदर्श उपाध्यायले भने, ‘यसअघि कहिले पनि यसरी नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र चेकजाँच गरिएको थिएन । अहिले निकै कडाइ गरिएको छ ।भारतका मिडिया रिपोर्ट अनुसार पाकिस्तानी नागरिक सीमा र भारतीय नागरिक सचिन १० मार्चदेखि १७ मार्चसम्म काठमाडौंमा थिए । त्यसपछि उनी स्थलमार्ग हुँदै नोयडा पुगेका थिए।
पाकिस्तानी नागरिक सीमा मधेश प्रदेश भएरै गएपछि नेपाल बाट जाने चार पाङ्ग्रे सवारी साधन आउजाउमा भारतीय सुरक्षाकर्मीले कडाई गरेको छ।
रौतहटका सिडियो धर्मेन्द्र कुमार मिश्र संग प्रतिक्रिया लिँदा उक्त समस्या बारे आजमात्र थाहा भएकाले अब बस्ने भारतीय सुरक्षाकर्मी संगको संयुक्त बैठकमा छलफलको माध्यमले समस्या समाधानको पहल गर्ने विश्वास दिलाएका छन्।
झण्डै ९ महिना देखि सीमाक्षेत्रका मानिसको समस्या बारे कुनै जनप्रतिनिधि, तथा कुनै पनि दलका नेताले राज्यस्तर सम्म आवाज उठाउन नसकेको कारण भारत सरकारको ध्यनाकर्षण हुनसकेको छैन। सञ्जय मिश्रा

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

यही मङ्सिर २५ गते सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीको तीन महिने अभियानको समीक्षा सहित समसामयिक राजनीति लगायत विषयमा छलफल गर्न उक्त बैठक आह्वान गरिएको हो।

बालेनको चेतावनी– औषधि पसलहरुमा धेरै कमजोरी देखिए, सुधार नभए बन्द गरिन्छ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका धेरै औषधि पसल मापदण्ड विपरीत रञ्चालमा रहेको जनाउँदै ती पसललाई मापदण्डमा आउन १० दिनको समय दिएको छ । कामपा स्वास्थ्य विभागले आज सार्वजनिक सूचना जारी गर्दै सो समय दिएको हो ।

महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरुमा अनधिकृत व्यक्तिहरुबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको गुनासो आइरहेको बालेनले उल्लेख गरेका छन्।

यस्तै, नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुनअनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख राख्ने नगरिएको, गुड फार्मेसी प्राक्टिस (जीपीपी)अनुसार औषधि पसल व्यवस्थापन नगरिएको भन्ने गुनासो आएको पनि बालेनको भनाइ छ। 

नागरिकको गुनासोपछि अनुगमन गर्दा औषधि बिक्री वितरणमा धेरै कमजोरीहरु देखिएको बालेनले उल्लेख गरेका छन्। कमजोरीहरु सुधार गरी, प्रचलित कानुन तथा नियमहरुको पालना गरी औषधि बिक्री वितरण गर्न मंसिर २९ गतेसम्मको अल्टिमेटमा दिइएको पनि बालेनले जनाएका छन्। 

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले औषधी पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा त्यस्ता औषधि पसलहरु बन्द गर्ने सम्मको कारबाही गरिने चेतावनी दिएका छन्।  

बालेनले सामाजिक सञ्जालमा लेखेको सन्देश: 
हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौँ। यस महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाईंहरूलाई थाहा नै छ। तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ। 

काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ। 

यसका साथै नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुनअनुसार बिक्री वितरण नगरिएको र उक्त औषधिहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, Good Pharmacy Practice (GPP) अनुसार औषधि पसल व्यवस्थापन नगरिएको, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिइ सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको छ। काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ। त्यसैले हामीले यही महिना (मंसिर)को २९ गते भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ।

अतः माथि उल्लेख भए अनुसारको समयभित्र काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भइ काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्ने सम्मको कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारी गराउन चाहन्छौँ। 

यदि यस्तो भए गरेको पाइएमा काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को  निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्कमार्फत् महानगरपालिकालाई जानकारी दिन समेत अनुरोध गर्न चाहन्छौँ।

१५ जना उपसचिव सहसचिव पदमा बढुवाका लागि सिफारिस ( सुचिसहित)

काठमाडौँ । १५ जना उपसचिवहरूलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत पाटनका दुई न्यायाधीशबीच राय बाझिएको छ । पुर्पक्षका लागि थुनामा रहेको बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेसी तोकेको हो । 

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बालकृष्ण खाणसँग धरौट माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा दुई न्यायाधीशको राय बाझिएपछि उनको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश भएको थियो । 

मंसिर १५ गते शुक्रबार भएको आदेशमा उच्च अदालत पाटनले ९ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । त्यसैगरी ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।

त्यसैगरी लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंक कुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै रिहा गर्ने आदेश दिएको थियो ।

नेप्सेमा सामान्य अंक सुधार, एक अर्ब १४ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकको सुधार भएर बन्द भएको छ । पछिल्लो ७ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, बुधबार सामान्य अंक बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ३.३३ अंक बढेर १८४१.०४ विन्दुमा पुगेको छ।

 त्यस्तै, आज कारोबार रकम भने घटेको छ । एक अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १२१ कम्पनीको शेयरमूल्य बढेको छ भने १०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । १३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ८५८ रुपैयाँ पुगेको छ । साथै विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा ८.७ प्रतिशतले बढेर प्रतिकित्ता ६१६ रुपैयाँ पुगेको छ ।       

त्यस्तै, सिंगटी हाइड्रो इनर्जि लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९.१३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । आज यस बैंकको ७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।   

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.७० प्रतिशत घटेको छ।

वडाध्यक्षसहित मित्रमिलन सहकारीका ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी

कास्की । रकम हिनामिना गरेको आरोप लागेका ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पोखरा महानगरपालिका– ९ नयाँबजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिना गरेको आरोप लागेका ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पक्राउ पुर्जी जारी हुनेमा संस्थाका अध्यक्ष रमण पौडेलदेखि पोखरा महानगरपालिका २१ का अध्यक्ष दीपकप्रसाद सुवेदी, संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी छन्। साथै सञ्चालक समितिका पदाधिकारी र सदस्य, लेखा समिति, कानुनी सल्लाहकारलगायत छन्। अध्यक्ष पौडेल र सिइओ अधिकारी ४ कात्तिकदेखि नै कास्की प्रहरी हिरासतमा छन्। पक्राउ पुर्जी जारी भएका ३० जनामध्ये तीनजना पक्राउ परेका छन् भने अन्यको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ।

एक बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि परेको उजुरीपछि पौडेल र अधिकारी पक्राउ परेका हुन्। यसअघि सहकारीका बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै १२ कात्तिकमा गण्डकी प्रदेश सरकारअन्तर्गतको सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका थिए।

 ५ किलो सुनसहित १ जना पक्राउ

काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ५ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ ।

प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पाण्डेसँग बरामद भएको सुन अहिले जोख्ने काम भइरहेको छ। 

जाजरकोट भूकम्पमा ‘मुस्किलले बाँचेका’हरू के भन्छन्?

जाजरकोट । तापक्रम जतिजति ओर्लंदै छ, जाजरकोट भूकम्पपीडितहरूको जनजीवन उतिउति कष्टप्रद बन्दै छ । लेकाली भेगमा चिसो बढ्न थालेपछि भूकम्प प्रभावितको दैनिकी कष्टपूर्ण बितेको छ । भूकम्पले घर भत्किएपछि न्यानोको पर्खाइमा बसेका नागरिक सरकारले अस्थायी आवासका लागि दिने रकम समयमा नपाउँदा बिचल्लीमा परेका छन् ।

भूकम्प प्रभावित क्षेत्रका दीर्घरोगी, सुत्केरी, बालबालिका गरी हालसम्म २२ जनाको मृत्यु भइसकेको छ । समयमै अस्थायी टहरा निर्माणका गर्न नसके मृत्युको संख्या बढ्ने पीडितहरूले बताएका छन् ।

‘भूकम्पपछि जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका ३५ हजारभन्दा बढी परिवार त्रिपालमुनि छन् । सरकारले अहिलेसम्म एक परिवारका लागि एउटा–एउटा त्रिपाल र कम्बल मात्र उपलब्ध गराउन सकेको छ । भत्किएको घरभित्रै लत्ताकपडा पुरिएका र खास गरी कमजोर आर्थिक अवस्था भएका परिवारले न्यानोका लागि आफैं थप बन्दोबस्त मिलाउन सकेका छैनन् । उनीहरूलाई चिसिँदो रात कटाउन मुस्किल पर्दै गएको छ । त्रिपालले सिरेटो छल्न सक्दैन, अझ राति सुतेका बेला शीत चुहिन्छ । जीउलाई न्यानो पार्न पर्याप्त लत्ताकपडा छैनन् ।

सोमबार बिहानदेखिको सिमसिमे पानीले भूकम्प प्रभावित क्षेत्रका स्थानीयलाई बिचल्लीमा पारेको छ । लेकाली भेगमा हिउँ परेपछि लेकदेखि तलका बस्तीमा चिसो ह्वात्तै बढ्दा पीडितलाई झन् पीडा थपिएको छ । विगत वर्षमा हिमपात भए पनि घरभित्र आगो बालेर बसेका नागरिकहरू त्रिपालमुनि आगो बाल्न नमिल्ने हुनाले खुला आकाशमा खाना पकाउँदै आएका छन् । पीडितले आगो ताप्ने त परको कुरा हो खानासमेत पकाएर खान पाउने अवस्था छैन । कुशे गाउँपालिका–८ की विपना शर्माले अत्यधिक चिसो बढेकाले सुत्केरी, गर्भवती महिला, बालबालिका, दीर्घरोगी तथा ज्येष्ठ नागरिक समस्यामा परेको जानकारी दिनुभयो ।

‘खाना र नाना जसोतसो जुटाउने थियौं घर नभएपछि चिसोबाट ज्यान बचाउन गाह्रो छ । घरभित्रको सबै सामान पुरियो राहतले भोक मेटाए पनि शीत, जाडो, हिमपातलाई छेक्न सकेको छैन’, नलगाड नगरपालिका–१ का हीरालाल पुनले भन्नुभयो– ‘सरकारले घर बनाइदेला भन्दै एक महिना बित्यो, सबै सामान घरभित्र पुरियो, घर बनाउन सक्ने अवस्था छैन, घर बनाइदिएपछि न्यानो बनाउने जोहो हामी आफैं गर्छौं ।’

सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको खाताबाट भेरी नगरपालिका, बारेकोट गाउँपालिका, छेडागाड नगरपालिका, कुशे गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको खातामा रकम जम्मा भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । भेरी नगरपालिका–४ का वडाअध्यक्ष वसन्तप्रसाद शर्माले १३ वटै वडामा भएको क्षतिको विवरण स्थानीय विपद् व्यवस्थापन समितिमा आइनपुगेकाले अस्थायी आवासका लागि सरकारले दिने ५० हजार माग गर्न नसकेको बताउनुभयो । बुधबारसम्म सबै विवरण स्थानीय विपद् व्यवस्थापन समितिमा आइपुगेपछि तत्काल जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

विद्युत प्राधिकरण मौलापुर द्वारा पोल तार ब्यवस्थित गरिँदै

रौतहट २० मंसीर। नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाको सक्रियतामा विद्युतको पोल र अव्यवस्थित तारहरु ब्यवस्थित गर्न सुरु गरिएको छ। केही समय अघि कटहरिया २ जमुनियाका समाजसेवी मनोज कुमार साह, वडा अध्यक्ष हरेन्द्र साह लगायत जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिमंडलले विद्युत पोल तार ब्यवस्थित गर्नुपर्ने माग गर्दै मौलापुर शाखामा ३ बुंदे सुझावपत्र बुझाएको थियो। लगत्तै नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवको सक्रियतामा अव्यवस्थित विद्युत पोल र तारहरु ब्यवस्थित गर्न सुरू गरिएको छ।
कटहरिया २ जमुनिया टोल मुल बाटोको ठाउँ ठाँउमा बाङ्गिएको पोल झुन्डिएर रहेको ,तार विधुत प्राधिकरण मौलपुरको अग्रसरतामा व्यवस्थापन गरिएको छ । अब दिन्हु ठुला गाडीहरू आवतजावतमा हुनेगरेको समस्या समाधान हुनुका साथै नागरिक लाई करेन्ट लागेर ज्यान गुमाउने जोखिम हटेको छ।
विद्युत प्राधिकरण मौलापुरले क्रमश भसेढवा, हथियाही, बिर्ती, कटहरिया, पोखरिया, बगही, फतेपुर र डुमरियामा ठाउँ ठाउँमा झुन्डिएको पोलतार व्यवस्थापन गराउन सुरु गरेको देखिएको छ।
आउँदा दिनमा विद्युत महशुल तिर्न सबैको पाएक पर्ने कटहरिया बजारमा महशुल काउन्टर स्थापना तथा व्यवस्थापन गर्न सबैले आआफ्नो ठाउ बाट पहल गर्नुपर्ने माग भइरहेको समाजसेवी मनाेजले बताएका छन्। सञ्जय मिश्रा

बिभिन्न दलका नेता आजपामा प्रवेश, आज जनकपुरमा प्रदर्शन

रौतहट २० मंसीर। रौतहटको उतरिभेग चन्द्रपुर स्थित विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता कार्यकर्ताहरु आम जनता पार्टीमा प्रवेश गरेकाछन् । चन्द्रपुर ५ स्थित मंगलवार आयोजित भेट्घाट कार्यक्रमको अवसरमा जनमत पार्टीको वडा अध्यक्ष प्रत्यासी वालकुमारी चौधरी, जसपा वडा अध्यक्ष प्रत्यासी बद्री प्रसाद यादव, राम प्रसाद साह तथा नेपाली काँग्रेसका नेवालाल साह, वुनिलाल वैठा लगायतका दर्जनौ नेता कार्यकर्ताहरु आमजनता पार्टीका प्रवेश गरेका हुन । नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष पूर्व मन्त्री प्रभु साह टिका र माला लगाई स्वागत गरेका थिए।
यसैबीच आम जनता पार्टीले बिभिन्न माग गर्दै २० आज मधेस प्रदेशको जनकपुरधाममा प्रदर्शन गर्दैछ। नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरुलाई सहुलियत कर्जा दिनुपर्ने माग गर्दै प्रदर्शन गर्न लागेको हो । मधेसमा भईरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई जनकारवाही गर्ने अभियान समेत चलाउने पार्टीले निर्णय गरेकोछ ।
मधेस प्रदेश सरकारमा सहभागि मन्त्री, सांसदहरुले सरकारी योजना र बजेटको खरिद बिक्री गर्दै भ्रष्टाचारलाई बढावा दिइरहेको प्रवक्ता साहको आरोप छ। त्यसैले त्यस्ता भ्रष्टाचारीलाई जनकारवाही गर्नुपर्ने निर्णय समेत बैठकले गरेको पार्टी प्रवक्ता चन्द्रभूषण साहले बताए ।सञ्जय मिश्रा

राष्ट्र बैंकका गभर्नर र संचालक लाई करोडौंको भत्ता

काठमाडौं । देशमा आर्थिक मन्दीले सबै क्षेत्र चौपट्ट भो भनिन्छ तर राष्ट्र बैकमा यस्को प्रभाव देखिदैन।ॠण तिर्न नसकेर गरिबहरु सहुलियत ब्याजको भिख मागिरहेक्स छ्न् । यस्तो अवस्थामा अरु लाई निर्देशन दिने अनि आफुहरु मस्त रहने निति राष्ट्र बैंकमा देखिएको छ। गभर्नर महाप्रसाद अधिकारीको आफू र माफिया पोस्ने नीति नै थप आर्थिक संकटको एउटा कारण बन्न पुगेकोछ।
प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपाल राष्ट्र बैंकका संचालकहरुले २ करोड बढी तलव भत्ता बुझेका छन् । बैंकको लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष ७९/८० मा संचालकहरुको तलव भत्तामा २ करोड ५ लाख ८२ हजार १ सय २६ रुपैयाँ खर्च गरेको हो।

यसमा संचालकहरुको तलव, बैठक भत्ता र अन्य भत्ता तथा सुविधा समावेश छ । राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर, अर्थ सचिव र नेपाल सरकारले तोकेका सदस्यहरु संचालक हुने व्यवस्था छ । अर्थ सचिव परिवर्तन भईरहेने हुँदा गत वर्ष ४ जना अर्थ सचिवले भत्ता बुझेका छन् । गभर्नर, र डेपुटी गभर्नरले राष्ट्र बैंकका उच्च तहको कर्मचारीको हैसियतमा तलव पनि बुझ्ने गर्छन् ।

गत वर्ष गभर्नर महाप्रसाद अधिकारीले सबैभन्दा धेरै तलव भत्ता बुझेका छन् । उनले १६ लाख ३२ हजार तलव, ४ लाख १४ हजार बैठक भत्ता र अन्य भत्ता अन्तर्गत ४० लाख ४५ हजार गरि कुल ६० लाख ५१ हजार बुझेका छन् । त्यस्तै डेपुटी गभर्नर निलम ढुंगानाले ५७ लाख २ हजार र अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले ५३ लाख भत्ता बुझेका छन् ।

हेर्नुस् कुन संचालकले कति लिए तलव , भत्ता र सेवा सुविधा ?

एकीकृत समाजवादीको महाधिवेशनको मिति सर्यो

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको महाधिवेशन सरेको छ । मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन अर्को वर्ष ३ देखि ७ जेठसम्म काठमाडौंमा गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा एसले यसअघि नेकपा एसले आउँदो १४ देखि १८ माघसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । प्रवक्ता खतिवडाका अनुसार सचिवालयको बैठकले १४ र १५ माघमा राष्ट्रिय सम्मेलन गर्नेछ ।

बैठकले २८ र २९ मंसिरमा सचिवालय बैठक बोलाउने निर्णय पनि गरेको छ । प्रवक्ता खतिवडाका अनुसार ९ पुसमा स्थायी कमिटी र १० पुसमा पोलिट्ब्युरो बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ । ११-१२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाउने बैठकले निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।