एनसेलको शेयर खरिदबिक्रीमा संसदीय समितिको प्रवेश, होला त कानुनी कारबाही ?

काठमाडौं । मलेसियाको लगानी कम्पनी आजियाटाले एनसेलको शेयर बिक्री गरेको प्रकरणले संसदमा प्रवेश पाएको छ । सार्वजनिक लेखा समितिको प्रवेशले अब एनसेल प्रकरण थप विवादमा तानिएको छ । एनसेल शेयर खरिदबिक्रीबारे छलफल गर्न बुधबार (भोलि) दिउँसो २ बजे प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठक बस्न लागेको हो ।

समितिको सचिवालयले भोलिको बैठकमा शेयर बिक्रीबारे प्रारम्भिक छलफल हुने जानकारी दिएको छ । आजियाटाले गत साता एनसेलमा रहेको आफ्नो शेयर ६ अर्ब ६५ करोड रुपैयाँमा बेचेको जनाएको थियो । एनसेलमा २० प्रतिशत शेयर हिस्सा राखेका गैरआवासीय नेपाली सतीशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले आजियाटाको शेयर किनेको जनाएको हो ।

यसरी शेयर बिक्री हुँदा नेपालको कानूनी प्रकृया पालना र कर छली भए/नभएकोबारे संसदीय समितिले छलफल गर्ने बताइएको छ । प्रारम्भिक छलफल पछि एक उपसमिति बनाएर एनसेल शेयर किनबेच प्रकरण छानबिन गर्ने पनि लेखा समितिको तयारी छ ।

आजियाटाले एनसेलमा रहेको स्वामित्व बेचेको खबर बाहिरिए लगत्तै लेखा समितिले नियामक निकाय दूरसञ्‍चार प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र आन्तरिक राजस्व विभागसँग सोधखोज गरेको थियो । समितिले ती निकायमा एनसेलको शेयर बिक्रीबारे ९ वटा प्रश्न पठाएको छ । मलेसियाली कम्पनी अजियाटा युकेले वि.सं. २०७२ चैत २९ गते रेनोल्ड्स होल्डिङमा रहेको युरोपेली कम्पनी टेलियाको ८० प्रतिशत शेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरी एनसेलमा प्रवेश गरेको थियो ।

त्यतिखेर नेपालको दूरसञ्‍चार प्राधिकरण र कर नियामकलाई जानकारी नै नदिई शेयर किनबेच गरी ५७ अर्ब ९० करोड पूँजीगत लाभकर छली गरेको थाहा भएको थियो । नेपालको अदालतले लाभकर बापतको रकम तिर्नुपर्ने फैसला गरेपछि आजियाटा अन्तरराष्ट्रिय मध्यस्थकर्ताकहाँ गएको थियो । मध्यस्थकर्ताले समेत लाभकर तिर्नुपर्ने फैसला गरेपछि आजियाटाले कर तिरेको थियो ।

पछिल्लो शेयर बिक्रीमा पनि पहिलेकै परिमाणमा लाभकर छली भएको हुनसक्ने आशंका छ ।

नेप्सेमा रोकिएन गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । नेप्से परिसूचक निरन्तर सातौँ कारोबार दिन घटेर बन्द भएको छ। गत साताको सोमबारदेखि घट्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से १०.१० अंकले घटेर एक हजार ८ सय ३७ दशमलब ७१ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६१ कम्पनीकोे शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।      

नेप्सेका अनुसार सिंगटी हाइड्रो इनर्जीको शेयरमूलय आज १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रुपैयाँ पुगेको छ । साथै सिभिल बैंक डिभेञ्चर २०८८ को शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.३६ प्रतिशतले बढेर प्रतिकित्ता ९९९ रुपैयाँ पुगेको छ ।       

बिशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९.५३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार माउन्टेन इनर्जि नेपाल लिमिटेडको भएको छ । आज यस बैंकको ३६ करोड २९ लाख बराबरको कारोबार भएको छ ।   

१३ उपसमूहमध्ये यस दिन जीवन बीमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५७ प्रतिशत घटेको छ। यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

१० औं विश्व माटो दिवस बिभिन्न कार्यक्रम गरी सम्पन्न

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘विश्व माटो दिवस २०२३’ बिभिन्न कार्यक्रम गरी मनाएको छ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित १६ मंसिरदेखि १९ मंसिरसम्म चार दिन बिभिन्न कार्यक्रम गरी विश्व माटो दिवस मनाएको हो ।

‘विश्व माटो दिवस २०२३’ को अवसरमा नार्कद्वारा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपञ्छी विकास मन्त्री डा।बेदुराम भुसालले विश्वव्यापी रुपमा माटो विग्रदै गएको वर्तमान अवस्थामा नेपालको माटो स्वस्थ राख्न सरोकारवाला सबै लाग्नुपर्ने बताएका छन् ।

नदी नालामा बगेर गइरहेको प्रांगारिक पदार्थलाई खेतबारीमा सिंचाई गरी माटोको उर्वराशक्ति बढाउने किसिमको कार्यक्रम आवश्यक रहेको मन्त्री भुसालले बताए ।

धर्तीमातालाई बचाऔं भन्ने विश्वव्यापी नारालाई नेपालको माटो बचाउने सन्दर्भमा पनि लागु गर्न जरुरी रहेको उनले बताए । नेपालका बैज्ञानिकहरुले माटोको मलिलोपना बढाउन सम्बद्ध सबै सरोकारवालासँग समन्वय गरी उपयुक्त प्रविधिको विकास गर्न जरुरी रहेको मन्त्री भुसालले बताए ।

कार्यक्रममा कृषिका सचिव डा।गोविन्दप्रसाद शर्माले जीवनको उद्गम माटो र पानीबाटै हुने भएकाले यसको जगेर्ना गर्न हामी सबै जुटनुपर्ने बताए । माटो परीक्षणका तथ्यांकहरु विश्वसनीय बनाउन प्रयोगशालाहरुले आफ्नो कार्यक्रम विस्तार गर्नुपर्ने बताए । माटो संरक्षणका लागि एउटा बृहत परियोजनाको आवश्यकता रहेको पनि उनले बताए ।

कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले माटो दिवस मनाउने क्रममा धेरै संस्थाहरुको बीचको सहकार्यबाट कार्यक्रम सम्पन्न हुनु सराहनीय रहेको बताए । प्रदेश स्तरमा पनि यस्तै कार्यक्रम सञ्चालन भइरहेकोमा तिनलाई अझै व्यापक बनाउनुपर्ने बताए । माटोको उर्वराशक्ति बढाउने प्रयासहरु बढाउँदै लैजानुपर्ने उनले बताए ।

नार्कका कार्यकारी निर्देशक डा।ध्रुवराज भट्टराईले स्थानीय स्तरमै माटो दिवस मनाउँन र स्थानीय सरकारसँग माटो जोगाउँने सन्देश दिन संघीय सरकारले पहल गर्नुपर्ने आवश्यकता औंल्याए । माटो दिवस मनाउन सहयोग गर्ने सबै संघसंस्थालाई उनले धन्यावाद दिदै आगामी कार्यक्रमहरुमा पनि यस्तै सहकार्य हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा माटो संरक्षण एवं व्यवस्थापनमा उत्कृष्ट ठहरिएका दुई किसानलाई सम्मान गरिएको छ । देशैभरीबाट ३ हजार ४ सय ७५ जना किसानका माटोका नमुना संकलन गरी देशका बिभिन्न प्रयोगशालामा जाँचेर प्राप्त माटो परीक्षण प्रतिवेदनका आधारमा उत्कृष्ट ठहरिएका रुकुम जिल्ला मुसिकोट नगरपालिका ८ का कृष्णबहादुर खड्का र दांग जिल्ला लमही नगरपालिका २ का प्रेम चौधरीलाई जनही १० हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका बैज्ञानिक नविन रावलले बताए ।

यस्तै कार्यक्रममा नेपालको माटोको वर्तमान अवस्थाको बारेमा केन्द्र प्रमुख डा। श्रीप्रसाद विष्टले कार्यपत्र प्रस्तुत गरेका थिए । बायोचारको प्रयोगबाट माटोमा सुधार बारे डा।नमिन्द्र दाहाल, माटोमा पानीको भण्डारण सम्बन्धी डा।खेमराज दाहालले कार्यपत्र पेश गरेका थिए ।

नार्क, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफ.ए.ओ), अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्र, नेपाल विउ तथा मल परियोजना, रिड परियोजना, फेन्सेप परियोजना लगायतको संयुक्त सहकार्यमा विश्व माटो दिवस मनाइएको हो ।

‘विश्व माटो दिवसमा सामेल होऔं र दिगो भविष्यको लागि यो अमुल्य श्रोतको संरक्षण गर्न प्रतिबद्ध बनौं’ भन्ने आह्वान गर्दै विश्व माटो दिवसको अवसरमा चार दिनसम्म बिभिन्न कार्यक्रम गरिएको थियो । माटो सुधारका उपायबारे प्रचार प्रसार, माटोको निशुल्क जाँच शिविर, विद्यार्थीलाई माटो परिक्षण, स्वच्छ माटो किन आवश्यक छ भन्ने बारेमा जानकारी गराउनुका साथै जाँच प्रक्रियामा विद्यार्थीलाई समेत सहभागि गराउँदै माटो दिवश मनाइएको थियो ।

माटो विज्ञान अनुसन्धान केन्द्रले १६ मंसीर (२ डिसेम्बर) मा टेलिभिजनमा माटोको उर्वराशक्तिको महत्व, संरक्षण र सुधार बारे बहस कार्यक्रमको शुभारम्भ गर्दै प्रचारप्रसार गर्नुका साथै १७ र १८ मंसिरमा भक्तपुरको खोपासीमा किसानको निशुल्क माटो परीक्षण गर्ने कार्यक्रम समेत गरेको केन्द्रका प्रमुख डा।श्रीप्रसाद विष्टले जानकारी दिए । दुई दिनसम्ममा खोपासीका ६० भन्दा बढी किसानको माटो निशुल्क परीक्षण गरिएको थियो ।

खोपासी, भक्तपुरमा किसानको निशुल्क माटो परिक्षण गर्दा त्यहाँका विद्यार्थीलाई समेत त्यसमा संलग्न गराउने कार्यक्रम भयो । केन्द्रका बैज्ञानिक डा।रोशनबाबु ओझाका अनुसार विद्यार्थीलाई माटो परीक्षण गर्ने तरिका र स्वच्छ माटो किन आवश्यक छ भन्ने बारेमा जानकारी गराउने र जाँच प्रक्रियामा सहभागि गराइएको हो । साथै विद्यार्थीहरुलाई माटोको नमुना संकलन विधि समेत सिकाउने काम भएको उनले बताए ।

विश्वभर बिद्यमान रहेको माटोको दिगो उर्वराशक्ति व्यवस्थापन सम्बन्धि विषयलाई विश्वस्तर मै एकताबद्ध रुपमा सम्बोधन गर्ने र यस सम्बन्धमा व्यापक जनचेतना अभिबृद्धि गर्ने मूल ध्येयका साथ संसारभरी विश्व माटो दिवस डिसेम्बर ५ का दिन मनाउँने गरिन्छ ।

खाद्य तथा कृषि संगठन (एफ.ए.ओ.)को सिफारिसमा संयुुक्त राष्ट्र संघको ६८औं महासभाको निर्णयले सन २०१३ देखि डिसेम्बर ५ का दिनबाट यो दिवस मनाउन सुरु गरिएको हो । यस बर्षको विश्व माटो दिवस १० औं विश्व माटो दिवस हो । नेपालमा भने सन २०१४ डिसेम्बर ५ का दिन काभ्रेको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवात गरी विश्व माटो दिवस मनाउन सुरु गरिएको हो ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले चारदिनसम्म बिभिन्न कार्यक्रम गरी विश्व माटो दिवस सफलतापूर्वक मनाइएको छ ।

नार्कको पुनर्संरचना प्रतिवेदन छिट्टै कार्यान्वयन हुने मन्त्री भुसालको प्रतिवद्धता

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को पुनर्संरचना गर्ने बिषयमा गठित सुझाव उपसमितिले तयार गरेको प्रतिवेदन कृषि तथा पशुपञ्छी विकास मन्त्री डा.बेदुराम भुसाललाई बुझाएको छ ।

बुझाइएको प्रतिवेदनमा कृषि अनुसन्धान सेवा, मानित विश्वविद्यालय, कृषि अनुसन्धान सचिवको व्यवस्था गर्नुपर्ने लगायतका बिषयहरु समेटिएका छन् ।

प्रतिवेदन बुझ्दै मन्त्री भुसालले नार्कलाई नेपालको कृषि अनुसन्धान प्रणालीको नेतृत्वदायी संस्थाको रुपमा विकास गर्न प्रतिवेदनमा दिइएका सुझावहरुको अध्ययन गरी कार्यान्वयन गर्ने प्रबिद्धता व्यक्त गरे ।

उपसमितिका सदस्य रहेका प्रा।डा।दुर्गामणि गौतमले समितिलाई दिइएको समयमा केही समय थपेर विस्तृत र गहन छलफल तथा अध्ययनबाट यो प्रतिवेदन तयार गरिएको बताए । उनले यो प्रतिवेदनमा नार्कमा काम गर्ने कर्मचारीहरुको भावनालाई पूर्णतया आत्मसात गरिएको र प्रतिवेदन कार्यान्वयन भएमा नार्कले अहिले भोगिरहेका प्रायः समस्याहरुको समाधान हुने बताए ।

सरकारको कृषि विकासको नीतिमा कृषि अनुसन्धानलाई उपेक्षा गरिएको कारणले सिर्जित यावत समस्याहरुको समाधान यो प्रतिवेदन मार्फत् गर्न खोजिएको उनले बताए । यसबाट कर्मचारी प्रशासन, कर्मचारीहरुको नियुक्ति, सरुवा बढुवा, बृत्ति बिकास लगायतका समस्याहरु समाधान हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

गौतमले नार्कमा विषय बिशेषज्ञको स्थायित्व, बिषयगत अनुसन्धान केन्द्रहरुको विकेन्द्रीकरण, कार्यकारी निर्देशकलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण र विश्वविद्यालयसंग नार्कको समन्वयमा ध्यान दिनुपर्ने कुरा बताए ।

नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले प्रतिवेदनमा कार्यान्वयनको शिलसिलामा नार्कको कार्यकारी निर्देशकलाई कृषि मन्त्रालयको अनुसन्धान सचिव स्वतः हुने व्यवस्था गर्नुपर्ने बताए । नेपाल सरकारले निजामती कर्मचारीहरुलाई तोकेका सबै प्रकारका सेवासुविधाहरुको सुनिश्चितता पनि यस प्रतिवेदनको कार्यान्वयन पछि हुने उनले बताए । नार्कमा अध्ययन अध्यापन र नार्कका केही अनुसन्धान केन्द्रहरुलाई स्थानीय सरकारमा काम गर्ने प्राविधिकहरुका लागि तालीम केन्द्रको रुपमा विकास गनुपर्ने खाँचो औंल्याए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले नार्कलाई यसको उदेश्य अनुरुप नियमनकारी एवं समन्वयकारी निकायको रुपमा अनुसन्धान, प्रसार र शिक्षालाई प्रभावकारी ढंगले सञ्चालन गर्न सक्ने मोडेल तयार गर्न लामो समयदेखि प्रयास भइरहेको र अहिलेको प्रतिवेदनलाई कार्यान्वयन गरेमा यसले त्यो उद्देश्य पूरा गर्न सक्षम हुने बताए ।

नार्कको पुर्नसंरचनाका लागि गठन भएको सुझाव उपसमितिको संयोजकमा नार्कका पूर्व कार्यकारी निर्देशक डा.टेकबहादुर गुरुङ, सदस्यहरुमा प्रा.डा. दुर्गामणि गौतम, कृषि मन्त्रालयका सहसचिव शबनम सिवाकोटी, नार्कका पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा।दोजराज खनाल र नार्कका प्रशासन निर्देशक नविनप्रकाश पौडेल रहेका थिए ।

टिकटक प्रतिबन्ध माथिको मुद्दामा आजबाट सुनुवाइ शुरू

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ ।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको समयसिमा सकिए पछि मंगलबारबाट सुनवाइ शुरू गर्न लागेको हो ।

यसअघि २७ कात्तिककाे मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सद्‍भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै नेपालमा टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । 

त्यसको लगत्तै उक्त कार्य अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको बताउँदै सरोकारवालाहरूले रिट दायर गरेका हुन् । 

बैंक ब्याज फिर्ता र सहकारीहरुको ऋण मिनाहाको लागि आमजनता पार्टीले जनकपुरमा प्रदर्शन गर्ने

रौतहट १९ मंसीर। आम जनता पार्टी (आजपा) ले बिभिन्न माग गर्दै २० मंसिरमा मधेस प्रदेशको जनकपुरधाममा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आजपा मधेस प्रदेश कमिटीको सोमवार जनकपुरधाममा बसेको बैठकले प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरुलाई सहुलियत कर्जा दिनुपर्ने माग गर्दै प्रदर्शन गर्न लागेको हो । मधेसमा भईरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई जनकारवाही गर्ने अभियान समेत चलाउने निर्णय गरेकोछ ।
मधेस प्रदेश सरकारमा सहभागि मन्त्री, सांसदहरुले सरकारी योजना र बजेटको खरिद बिक्री गर्दै भ्रष्टाचारलाई बढावा दिइरहेको प्रवक्ता साहको आरोप छ। त्यसैले त्यस्ता भ्रष्टाचारीलाई जनकारवाही गर्नुपर्ने निर्णय समेत बैठकले गरेको उनले बताए ।
पार्टी अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले बैठकलाई सम्बोधन गर्दै नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गराउँन अब सडक संघर्षको बिकल्प नभएको बताए । किसान, सर्वसधारणहरुले बैंकबाट ऋण पाउँन नसक्नु तर लुटेरा बर्गले सजिलै ऋण पाउँनुमा बैंकहरुको दोषी रहेको आरोप लगाएका थिए।
लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरुलाई सहुलियत कर्जा दिनुपर्ने भन्दै भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही समातेर सरकारलाई बुझाउँनुपर्ने उनको भनाई रहेको छ। बैठकमा पार्टी महासचिव उपेन्द्र साह, प्रदेश कमिटि अध्यक्ष उमेश कुशवाहा लगायतको उपस्थिति रहेको थियो। सञ्जय मिश्रा

नेपाल–भारत सीमाना छुट्याउने ४८४ सीमास्तम्भको मर्मत सम्भार र रंगरोगन सुरू

पूर्वका ४८४ सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगनको कार्य आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले नेपाल–भारत सीमा नाका छुट्टाउने सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगनको कार्य झापाको मेचीनगर–७ स्थित सतीघट्टाबाट शुभारम्भ गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेशका डीआइजी अञ्जनीकुमार पोखरेल, कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजेश बास्तोला, भारतीय सीमा सुरक्षा बल ४१ बटालियनका नविनकुमार रायले सोमबार बिहान एक संक्षिप्त कार्यक्रमका बीच ९१/१ पिलरको रंगरोगन गर्दै मर्मत कार्यको शुभारम्भ गरेका हुन् ।

नेपाल भारत बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को पाँचौं बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमा स्तम्भहरु भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरु सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भए बमोजिम अहिले मर्मतको कार्य भइरहेको छ।

यता सीमा पिलर मर्मत सम्भार र रंगरोगन शुभारम्भ कार्यक्रममा राष्ट्रिय अनुसन्धान निर्देशक दीपक भारती, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

त्रिवि शिक्षण अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालका कर्मचारीहरू आन्दोलित भएका छन्। यस अघि प्राप्त गर्दै आएको सुविधा कटौती गरेपछि उनीहरू आन्दोलित भएका हुन्।

त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ शिक्षण अस्पताल इकाई समितिले अस्पातलमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी लगायत अन्यको यस अघि प्राप्त गर्दै आएको सुविधा कटौती गरेपछि उनीहरू आन्दोलित भएका हुन्।

मासिक तलबबाट १ प्रतिशत रकम कट्टा गरी उपचार कोषमा जम्मा गर्ने विषयमा गम्भीर असहमति जनाउँदै कर्मचारीहरूले पाखुरामा कालो पट्टि बाँधेर शान्ति पूर्ण विरोध प्रदर्शन गरेका छन्।

१३ किलो चरेससहित दम्पती पक्राउ

नेपालगञ्ज- कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ परेका छन्।​ लागुऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर ८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई पक्राउ गरेको हो ।

उनीहरूबाट प्रहरीले अफिम र चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेकाले जानकारी दिए । प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार प्रहरीले शनिवार राति पौने ९ बजे उनीहरूको साथबाट बा ५ प ८२१५ नम्बर जिपसहित १२ किलो ७ सय ४ ग्राम चरेस, २ किलो १ सय १६ ग्राम अफिम बरामद गरेको हो ।​ रेवन्त यसअघि पनि विस २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागुऔषध कसुरमा पक्राउ परेका थिए ।

तत्कालीन समयमा  रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर समेत गरेको थियो । साथै इलाका प्रहरी कार्यालय, कोहलपुरले २०७३ साल असार ३ गते लागुऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ​​पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। ​​लागूऔषध नियन्त्रण ऐनअनुसार उनीहरूलाई १४ देखि १५ वर्ष वा जन्मकैद र पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुनसक्नेछ।

अहिलेको सरकार चीनको सहयोग लिन डराउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् ।

सोमबार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै अध्यक्ष ओलीले चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताएका हुन् । 

उनले चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताए। उनले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताए।

उनले नेताहरू राजनीतिका मात्रै नभइ विकासका नेता हुनुपर्ने बताए। उनले विकास अरु देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेता/कार्यकर्ताहरूलाई निर्देशन दिए।

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार छ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार कायम भएको छ । आइतबार तेजाबी सुन प्रतितोला रु एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो । 

साथै चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय ४५ मा कायम भएको छ । 

विशेष अदालतका अध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार सर्वोच्च अदालत, परिसरमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

न्याय परिषद्को यही मङ्सरि ५ गते बसेको बैठकमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्ष नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो।

सो बैठकले सदस्यहरुमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका न्यायाशीश रितेन्द्र थापालाई सिफारिस गरेको थियो।

उनीहरू सबै उच्च अदालतका न्यायाधीश हुन्। विशेष अदालतमा उच्च अदालतका न्यायाधीशहरूबाट अध्यक्ष तथा सदस्य तोक्ने चलन छ।

नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । गत साताको सोमबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.४२ अंक घटेर १८४७.८१ विन्दुमा झरेको छ।

त्यस्तै, आज एक अर्ब १९ करोड ७२ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १२२ कम्पनीको शेयरमूल्य बढेको छ भने १०९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।      

नेप्सेका अनुसार समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.०६ प्रतिशतले बढेर प्रतिकित्ता १२२ रुपैयाँ पुगेको छ ।      

त्यस्तै, माउन्टेन इनर्जी नेपाल लिमिटेड र एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस बैंकको ७ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।   

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.९७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो।

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ जना बेपत्ता

एजन्सी । इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ। १२ जनाभन्दा बढी बेपत्ता भएका छन्। स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए। 

पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भनेका छन्, ‘त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन, तीमध्ये तीन जना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारेका छौँ।’

आइतबार भएको विस्फोटको भिडियो फुटेजमा ज्वालामुखीको खरानीको ठूलो बादल आकाशमा फैलिएको तथा कार तथा सडक भग्नावशेषले ढाकेको देखाइएको छ। अल जजिराका अनुसार सोमबार एउटा सानो विस्फोटका कारण उद्धारकर्मीहरूलाई आफ्नो उद्धार अभियान स्गगित गर्नुपरेको थियो।

इन्डोनेसियाको ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार आठ सय ९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ एक सय २७ सक्रिय ज्वालामुखी छन्।

आश्रय निर्माण सेवाले स्तरीय काम नगर्दा जनप्रतिनिधि द्वारा रोक्का

रौतहट १८ मंसीर। आश्रय निर्माण सेवाले ठेक्का सम्झौता गरेको करोडौंको काम सहरी विकासको प्रमुखकै मिलोमतोमा पेटी ठेकदार मार्फत गराउँदा पूर्ण रुपमा गुणस्तरहीन काम भइरहेको पाइएपछि जनप्रतिनिधिले रोक्का गरेको छन्।
कटहरिया ५ बजार स्थित एकजना पेटी ठेकदार उपेन्द्र बैठाले सडक ढलानमा मापदण्ड विपरीत निर्माण सामाग्री प्रयोग गरेको ठहर भएपछि
वडा सदस्य वैद्यनाथ दशले निर्माणकार्य रोक्का गरेका हुन्।
सदस्य दशका अनुसार उक्त सडक ढलानमा मापदण्ड एक, डेढ तिनको ठाउँमा पेटी ठेकदार बैठाले ढुंगा, बालुवा बढी र सिमेन्ट कम प्रयोग गरेको पाईएपछि काम रोक्का गरिएको जानकारी दिएका छन्।
आश्रयले घटाघट प्रक्रियामा सबै ठेकदार भन्दा न्यूनमा साकार गरेको करोडौं लगानीको बाटो ढलान नाला निर्माण लगायतको काम आफैले नगरी पेटी मार्फत गराउँदा पूर्ण रुपमा गुणस्तरहीन काम भइरहेको छ।
रौतहटको कटहरिया र मौलापुर नगरपालिकामा मात्र आश्रयले सघन सहरी कार्यक्रमा अन्तर्गत वीरगंज बाट १० करोड भन्दा बढीको ठेक्का सम्झौता गरेको छ।
तर कटहरिया देखि मौलापुर सम्म सामान्य साधनस्रोत नभएका सानासाना ठेकदार संग निर्माणको काम गराईरहेको देखिएको छ।
मौलापुर नगरपालिका ८ सोनरनियामा नाला निर्माणको लागि शहरी विकास बाट १० करोडको ठेका सकार गरेको आश्रयले निर्माणकाम आफैले नगरी एकजना पेटी ठेकदार राजा गुप्तालाई दिएको छ।
नाला निर्माणको काममा गुप्ताले पुरै दुई नम्बरी इँटाको प्रयोग गरिरहेको छ। राजा गुप्ताले पटक पटक गुणस्तर हिन काम गर्दै आएको खबर बिभिन्न मिडियामा आउनुका साथै सामाजिक सञ्जालमा पनि भाईरल बनेको छ। दुई नम्बरी ठिकदारलाई करवाही गर्न पूर्व वडाध्यक्ष बसन्त कुमार यादवले समेत पटकपटक आवाज उठाउने गरेका छन्। तर उनको आवाज सुनिदिने अथवा स्तरीय काम गराउन सहरी विकासका कर्मचारी देखि प्रमुख सम्म कसैको ध्यान गएको छैन। त्यसैगरी कटहरियाको बिभिन्न वडाको काम पनि आश्रयले आफैले नगरी ससाना पेटी ठेकदार मार्फत गराईरहेका मापदण्ड अनुसारको हुनसकेको छैन।
सहरी विकासका प्रमुखको मिलोमतोमा नेपाल सरकारको करोडौंको लगानी बालुवामा पानी सरह बनेको छ। यसरी गुणस्तरहीन कामको नियन्त्रण गर्न कटहरिया र मौलापुर नगरपालिकाले समेत चासो न लिएको स्थानीयहरूले गुनासो गरेका छन्।
सहरी विकास कार्यालय वीरगन्जका प्रमुख बिनोद कुमार सिंहले मौलापुर र कतहरियामा भइरहेको कामको ल्याब टेस्ट गराउने र गलत ठहर भएमा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्। स्रोतका अनुसार सहरी विकासका कर्मचारीले साट देखि १० प्रतिशत पीसी लिनेगरेको कारण कामको स्तरीयता माथि वास्ता नगरेको जानकारहरुले दाबी गरेका छन्। सञ्जय मिश्रा