सडक दुर्घटनापछि बीपी राजमार्ग अवरुद्ध, आक्रोशित स्थानीयले बस जलाए

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको छ ।

बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् ।

प्रदेश लोक सेवा अयोग बागमतीले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौँडाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगको हेटौँडास्थित कार्यालयले सोमवार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो।

आयोगले प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ रिक्त पद पदपूर्तिका लागि आवेदन मागेको हो।

आयोगले ज्येष्ठता तथा कार्य सम्पादनको मूल्याङ्कनबाट हुने बढुवा तथा खुलातर्फको दरखास्त आह्वान गरिएको जनाएको छ।

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बिहान सवा आठ बजे बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले मृत्यु हुनेमा मोटरसाइकलमा सवार दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई र अर्को एक जना पुरुष रहेको जानकारी दिनुभयो । मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।

गएको छु म तिम्रो हातमा…………..

गएको छु म तिम्रो हातमा स्पर्श गर्दै

मनलाई अनेक तरङ्गमा धकेल्दै

नदीले किनारामा पुगेर छाल हान्दा

पुरा गर्न खोजेको छु मनका सबै इच्छा

तिम्रो नजिक हुन म आतुर छु

केही कुरा मनमा छ आनन्द मानेको छु

तिम्रो मिठो हाँसोमा मनलाई भुलाउँछु

तिम्रो बोलिले मनलाई खुसी बनाउँछु

तिम्रो बारेमा केही शब्द लेख्न खोजेको छु

अनेक शब्दले सम्बोधन गर्न खोजेको छु

समुन्द्र जस्तै शान्त मन गरी अक्षरहरू कोर्दै छु

छरिएको मनलाई एकीकृत गर्न खोजेको छु

अदालतको आदेश पछि यमुनामाईमा यादव, दुर्गा भगवतीमा ठाकुर हाजिर

रौतहट ९ पुस। प्रहरीको सुरक्षाको बीचमा स्थानिय यमुनामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ओमप्रकाश यादव आइतवार हाजिर भएका छन् । उता दुर्गा भगवती गाउँपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा आईतवार परमानन्द ठाकुर हाजिर भएका हुन्।
पुनरावेदन अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय रौतहटको सहयोगमा झण्डै दुईसाता पछि प्रमुख प्रशासकिय अधिकृतको रुपमा यादव हाजिर भएका हुन्।
गत मङ्सिर २२ गतेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यमुनामाईको प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवको ठाउँमा ओम प्रकाश यादवलाइ जिम्मेवारी दिएको थियो। मन्त्रालयको पत्र सहित हाजिर हुनगएका यादवलाई गाउँपालिका अध्यक्ष मोहम्मद सऊदले हाजिर नगराउने भन्दै मन्त्रालयको नाउँमा पत्र दिएर यादव लाई फिर्ता पठाएपछि उनी उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजमा लिखित उजूरी दिएका थिए। आईतवार कार्यालयमा हाजिर हुन गएका यादवलाई गाउँपालिका अध्यक्षका समर्थकले कार्यालयका मुख्य गेटमा बसेर अवरोध गरेका थिए ।
३ नम्बर वड़ाका वड़ा अध्यक्ष शेख सगीर , वड़ा नम्बर २ का वड़ा अध्यक्ष सीताराम यादव र वड़ा अध्यक्ष नन्दलाल यादवका समर्थकले प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर हुन नदिने पक्षमा उभिएर विरोध प्रदर्शन गरेका थिए ।
उता वड़ा अध्यक्ष अश्विनी राय यादवका पक्षले सुरक्षाकर्मीको सहारामा यादवलाई हाजिर गराएका हुन् ।
हाजिर हुने क्रममा दुवै पक्षका समर्थक विच हल्का धक्कामुक्की समेत भएपनि कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । यसरी पालिका भित्र जनप्रतिनिधि र कर्मचारी बिभाजन गरि तामझाम साथ प्रशासकिय अधिकृत हाजिर भएको दृश्यले पकै पनि जनमानसमा नराम्रो सन्देश गएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटकपटक प्रमुख प्रशासकीय अधिकृत फेरिरहेको कारण यमुनामाई गाँउपालिका जस्तै अन्य दुई पालिकाको जनप्रतिनिधि बिच बिवाद उत्पन्न भएको छ। प्रमुख प्रशासकीय अधिकृतकै विषय लिएर बृन्दाबन नगरपालिका र फतुवा विजापुर नगरपालिकामा जनप्रतिनिधि विच लामो समय देखि बिबाद देखिएको छ। यसैबीच दुर्गा भगवती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा परमानन्द पाठक हाजिर भएको छ ।
ठाकुर लाई पालिका प्रमुख शम्भु सिंहले स्वागत तथा सम्मान गर्दै प्रमुखको रुपमा हाजिर गराएका हुन्।

प्राधिकरणले काट्यो थप दुई उद्योगको बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ। बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो।

लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ तिर्न बाँकी छ भने सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिरेको छैन।

प्राधिकरणले यसअघि पनि बक्यौता नतिर्ने चार उद्योगको बिजुली काटेको थियो। जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको पनि बिजुली काटेको हो।

तत्कालीन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं :  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक पोखरी निर्माणमा अनियमितता गर्ने तत्कालीन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

धनुषाको हंसपुर नगरपालिका -१  भगवानपट्टीमा रहेको कित्ता नम्बर ३३० को सार्वजनिक पोखरीलाई वडा नम्बर १ का वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा छानबिन हुँदा तत्कालीन नगरपालिका -१ का वडाअध्यक्ष कामेश्वर कापर,तत्कालीन प्रशासकीय अधिकृत केशव कुमार अधिकारी,ठेकेदार मदन कुमार झा र नवीन कुमार चौधरीले  ५ लाख ५५ हजार रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

सार्वजनिक पोखरी ठेक्कामा लगाएवापत दोस्रो वर्षको रकम ५ लाख ५५ हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष कापरले आफैंसँग राखेको पाइएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

त्यस्तै ठेकेदारहरुले नियमित किस्ता हंसपुर नगरपालिकामा दाखिला नगर्दा पनि निरन्तर किस्ता दिएको भनी वडाध्यक्ष कापरले हंसपुर नगरपालिकाको लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरेको भन्ने गलत व्यहोरा बनाएको अख्तियारको भनाइ छ ।

ठेकेदार मदनकुमार झा र नवीनकुमार चौधरीले उक्त पोखरी ठेक्कामा लिएवापतको रकम नबुझाई नगरपालिकालाई हानिनोक्सानी पुर्‍याएको अख्तियारको भनाइ छ ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले नगरकार्यपालिकाको बैठकले निर्णयमा नगरेको कुरा गरेको भनी सरकारी कागज सच्याएको जनाएको छ ।

धारामा पानी नआउने तर बिल आउने समस्या अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ताहरू दिक्दार भएकाले त्यस्तो समस्या तुरून्त हल गर्न निर्देशन दिएका छन्। आइतबार बिहान सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफललाई निर्देशित गर्दै प्रधानमन्त्रीले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘धारामा पानी नआउने तर बिल चाहिँ आइरहने समस्या के हो? यसबाट उपभोक्ताहरू दिक्दार छन्। त्यसैले कहाँ–कहाँ त्यस्तो समस्या छ, जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनुस् र आगामी दिनमा त्यस्तो समस्या आउन नदिन योजनावद्ध रूपमा काम गर्नुस्।,

मेलम्चीको काम तीव्रतामा नै भइरहेको मैले बुझेको छु। १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्‍याउने योजनासहित सहित २८ दिनको कम्प्याक्ट कार्ययोजना निर्माण भई अहिले दुईसिफ्टमा काम भइरहेको छ” प्रधानमन्त्रीले भन्नुभयो, “एक महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याइन्छ। यसैअनुरूप खानेपानी मन्त्रालयको नेतृत्व र सबै टिमले विशेष चासो दिएर काम गर्नुहोला।’

 काठमाडौँ उपत्यकामा अहिले दैनिक २५ करोड लिटरको खानेपानी माग रहेको बताउँदै उनले भने, ‘हामीले मेलम्ची बाहेकका अन्य स्रोतको पनि पहिचान गरी कार्य गर्नुछ। अहिले मकवानपुरस्थित सिस्नेरी खोलाबाट ११ करोड लिटर पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्नका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । यस कार्यलाई पनि मन्त्रालले तीव्र्रता दिनुहुनेछ। पहाडी तथा हिमाली क्षेत्रहरुमा महिलाहरूले घरदेखि टाढाबाट गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने अवस्था छ। यसबाट महिलाहरूमा आङ खस्ने समस्या देखिएको अवस्था छ। यसलाई सम्बोधन गर्ने प्रस्ताव ल्याउनुस् ।’

पहाडी तथा हिमाली क्षेत्रहरुमा महिलाहरूले घरदेखि टाढाबाट गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने अवस्था रहेको र यसबाट महिलाहरूमा आङ खस्ने समस्या देखिएकोमा यसलाई सम्बोधन गर्न प्रस्ताव ल्याउनसमेत प्रधानमन्त्री प्रचण्डले अनुरोध गरेका छन्। 

बैठकमा खानेपानी मन्त्री महेन्द्र राय यादवले खानेपानी आयोजनाहरूमा संरचनागत सुधार जरूरी रहेको बताउँदै सार्वजनिक खरिद नियमावलीको सरलीकरण, कानुनी समस्याहरूको सम्बोधन गरी खानेपानी आयोजना निर्माणमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय समुदायलाई आकर्षित गर्नुपर्ने बताए। 

उनले चुरेमा रिजर्भ ट्यांकी बनाएर चुरे क्षेत्रको रिचार्ज गर्नुपर्ने बताउँदै काठमाडौंमा रहेका ढुंगेधाराबाट खेर गइरहेको खानेपानीको सदुपयोग गर्नुपर्नेमा जोड दिए। त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थलहरू कामयावी हुन नसकेको बताउँदै आगामी दिनमा आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने बताए। 

उनले खम्बा विद्रोह देखाएर पर्यटकका लागि निषेधित क्षेत्र गरिएकोमा त्यसको समाधान खोज्नुपर्ने, भैरहवा र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि कुटनीतिक पहल लिनुपर्नेमा जोड दिए।

बागमतीको बगरमा अबैध रुपमा ढुंगा भण्डारण

रौतहट,। रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित बागमती नदी किनारामा हजारौं घनमिटर ढुंगा उत्खनन गरेर भण्डार गरिएको छ ।
चन्द्रपुर नगरपालिकाले बागमती नदी ठेक्का हालसम्म नलगाएको अवस्थामा उत्खनन गरेर भण्डार गरिएको सयौं घनमिटर ढुंगा सम्बन्धित निकायले नियन्त्रणमा लिनु पर्ने स्थानीय वासिन्दाले माग गरेका छन् । अवैद्य रुपमा नदीबाट उत्खनन गरेर बागमती किनाराको दोभान सामुदायिक वन क्षेत्रमा भण्डार गरिएको ढुंगा संकलनकर्ताहरुले विभिन्न स्थानमा लगि विक्री वितरण समेत गर्दै आएका छन् ।

चन्द्रपुर नगरपालिकाले बागमती ठेक्का नलगाएकै अवस्थामा भण्डारकर्ताहरुले रौतहट जिल्लाका विभिन्न स्थानमा लगेर ढुंगा विक्री वितरण गर्दै आएका छन् । उनीहरुले ढुंगा विक्री गर्न जिल्लाको दक्षिणी भेगमा लैजादा सर्लाहीको बागमती नगरपालिकाको ढुंगा हो भन्दै लाने गरेका छन् । नियम विपरित संकलन गरेर राखिएको ढुंगा नगरपालिकाले जफत गर्नुपर्ने स्थानीयको माग रहेको छ । सो स्थानबाट धमाधम ढुंगा निकासी गरि विक्री वितरण हुदा समेत सम्बन्धित निकायको ध्यान जान नसकेको एक स्थानीय बासिन्दाले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए ।

डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत सुरेश महतोले अवैध रुपमा बागमतीमा उत्खनन गरेर भण्डार गरी राखेको ढुंगाको विषयमा आफुहरुले अनुसन्धान अगाडि बढाएको जानकारी दिए । सो ढुंगा कसको हो भनि आफुहरुले अनुसन्धान गरिरहेको र त्यसको विषयमा आफुहरुले चाडै निर्णय लिने वन अधिकृत महतोको भनाई रहेको छ ।
वागमतीमा केही ट्रेक्टर संचालक र ढुंगा माफियाको संलग्नतामा बागमती किनाराबाट अवैद्य रुपमा उत्खनन गरि सामुदायिक वनको क्षेत्रमा भण्डार गरिएको ढुंगा उनीहरुले सर्लाहीको हो भन्दै चन्द्रपुर नगरपालिकालाई तिर्नुपर्ने राजस्व समेत नतिरी विक्री वितरण गर्दै आएका छन् ।

शेयर बजारमा २१.०३ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि सुरु भएको करेक्सनले यस दिन पनि निरन्तरता दिएको हो। आज नेप्से २१.०३ अंकले घटेर दुई हजार ८८ दशमलब ७ विन्दुमा बन्द भएको हो ।                          

त्यस्तै, आज ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने १६१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ९ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने २ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । 

त्यस्तै, ज्योती विकास बैंक बोण्ड २०८७, नेपाल रिपब्लिक मिडिया कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको ३० करोड ४३ लाख बराबरको कारोबार भएको छ ।      

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.८९ प्रतिशत घटेको छ।

युवाहरू देशमा नबस्नु ठूलो चुनौती : ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको बताउनु भएको छ । सो यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको बताउँदै अध्यक्ष ओलीले अनेक खालका गलत भाष्यलाई उक्त यात्राले चिर्ने काम गरेको समेत बताउनु भयो ।

 ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताएका छन्। ‘सबैभन्दा ठूलो चुनौती युवाहरू देशमा नबस्ने र जनसंख्या नै बसाइँ सर्ने,’ ओलीले भने, ‘युवाहरू नभएपछि अरु के गरेर बस्ने त्यहाँ ? खेती नभएपछि वन भइहाल्छ।’ उनले पार्टीका सभामा पनि युवाहरूको उपस्थिति ४० प्रतिशत मात्रै देखिएको बताए। ‘हाम्रा सभाहरूमा पनि युवाहरूको संख्या ४० प्रतिशत हो कि जस्तो। युवाहरू कमै देखिने,’ उनले भने।

उनले मध्यपहाडमा विकास, बाटो, खानेपानी पनि पुर्‍याइए पनि बसाइँसराइ भइरहेको बताए। मध्यपहाडमा अहिले भइरहेको गतिविधि रोक्न नसके देशको भविष्य नै अफ्ठ्यारोमा पर्ने बताए। ‘बसाइँ सर्दै जाने, त्यहाँको कारोबार कम हुँदै जाने हो भने देशको भविष्य अफ्ठ्यारोमा पर्ने देखिन्छ,’ उनले भने।

तथापि, मानिसहरू आशावादी रहेको उनले बताए। कृषिको आधुनिकरण र व्यवसायिकता कसरी गर्न सक्ने भन्ने छलफल गरिएको जानकारी दिए। ओलीले नेपालको विकासमा छिमेकीले अवरोध गर्नु दुखद्‌ भएको पनि बताए।

‘हाम्रो विकास हामीले निर्वाध ढंगले गर्न पाउनुपर्छ। कालो बिरालोले होस् कि सेतो बिरालोले होस् विकास गर्नुपर्छ,’ ओलीले भने। ओलीले छिमेकीसँग सुमधुर सम्बन्ध राख्नुपर्ने पनि बताए। तर, प्राथमिकता र आवश्यकताका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ।

‘भारतले सहयोग गरोस् कि चीनले गरोस्। अमेरिकाले गरोस् कि राम्ररी नेपाललाई हित हुने, नेपालका प्राथमिकता, आवश्यकता,’ उनले भने, ‘जसले बढी ऋण लिन्छ त्यो दिने। जसले बढी अनुदान दिन्छ त्यो लिने।’

ओलीले छिमेकीले चित्त दुखाउँछ कि दुखाउँदैन भनेर सत्ता केन्द्रित भएर हेर्न नहुने बताए। ‘छिमेकीले चित्त दुखाउँछ कि दुखाउँदैन भनेर पहिले नै डराउनुहुँदैन। सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो,’ ओलीले भने।

उच्च अदालतमा स्वचालित पेशी व्यवस्थापन सुरु

काठमाडौं । सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ ।

पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले यसको शुभारम्भ गरेका हुन् । ‘यो एउटा सुखद क्षण हो,’ अब भनसुन, आग्रह गरेर पेशी तारेख तय नहुने भन्दै प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘न्यायिक प्रशासनिक कामकाबारहीमा सरलता त दिन्छ नै, यसप्रति सबैको विश्वास सबैले अपनाउँछन् ।’

प्रधानन्यायाधीश श्रेष्ठले सो प्रणालीको आज बिहान ११ बजे पाटन उच्च अदालतबाट शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएको थियो।

सर्वोच्च अदालतमा भने गत भदौ ११ गतेदेखि नै स्वचालित पेसी प्रणाली सुरु गरेको थियो। यो प्रणालीबाट सकारात्मक परिणाम देखिएपछि सबै उच्च अदालतहरूमा प्रणाली लागू गर्न लागिएको सर्वोच्च प्रशासनले जनाएको छ।

यो प्रणालीले अदालतका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै लैजाने विश्वास गरिएको छ । स्वचालित प्रणाली लागू भएपछि महिनौँसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ।

तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागू गर्न सुझाव दिएको थियो ।

भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।

उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको प्रजिअ श्रेष्ठले बताइन् । उनी मृत फेला परेको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो ।

घले समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

काठमाडौं । १४ केजी सुनसहित पक्राउ परेको गरोहले १ सय ३८ केजी सुन नेपाल भित्र्याइसकेको छानबिन समितिले निष्कर्ष निकालेको छ । २२ मंसिरमा दुबईबाट काठमाडौँ आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए ।

घटनाबारे छानबिन गर्न भन्सार कार्यालयले बनाएको समितिले गरेको अनुसन्धानका क्रममा मीनबहादुरले दुबईमा रहेका अङ्कित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको चाँजोपाँजो मिलाएका थिए ।

छानबिन समितिले भनेको छ, ‘पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।’

मीनबहादुर र चन्द्रका साथै कृष्णकुमार श्रेष्ठले दुबईबाट सुन लिएर आउने गरेका थिए । एयरपोर्टमा सेटिङ मिलाउन भने डीबी भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको छ ।

एयरपोर्टबाट सुन निकाल्न नागरिक उड्डयन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिको निष्कर्ष छ ।

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डेय नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंकको आज शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको सिइओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो । उनी ४ वर्षको लागि नियुक्त भएका हुन् ।

सीईओ छनोटका लागि परेको आवेदनमध्येबाट पाण्डेसहित पाँच जनाको नाम सर्ट लिस्टमा परेको थियो । सो सर्ट लिस्टबाट समेत समितिले तीन जनाको नाम सिफारिस गरेकोमा बैंक सञ्चालक समितिले  पाण्डेलाई सीईओ नियुक्त गरेको हो ।
पाण्डेसहित नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलको नाम अन्तिम तीनमा परेको थियो ।
नवनियुक्त सीईओ पाण्डे तत्कालीन भिवोर विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मार्फत बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेसँग नेपाल राष्ट्र बैंक र अन्य २० वटाको संयुक्त लगानीमा खोलिएको नेशनल बैंकिङ इन्स्टिच्यूटमा एकेडेमिकमा डाइरेक्टरको भूमिकामा रहेर काम गरिसकेको अनुभव छ ।