सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौं– सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल (भट्टराई) उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। 

न्यायपरिषद्को आइतवार बसेको बैठकले कुँवरलाई न्यायाधीश बनाउने निर्णय गरेको हो । सर्वोच्चकै रजिस्ट्रार निर्मला पौडेल भट्टराई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिश भएकी छन् ।कुँवरलाई यसअघि पाटनकै न्यायाधीशमा सिफारिश गरिए पनि उनले अस्वीकार गरेका थिए ।

यसअघि दीपककुमार कार्की सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश भएका बेला पनि कुँवर उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका थिए। त्यतिबेला उनले उच्च अदालतको न्यायाधीश पद अस्वीकार गरेका थिए।

यसपटक भने कुँवरकै सहमतिमा उनलाई उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिस गरिएको हो। 

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारहरुलाई उच्च अदालतको मुख्य न्यायाधीश सिफारिस गर्ने अभ्यास थियो। यसअघि नहकुल सुवेदी, राजन भट्टराइ र नृपध्वज निरौला सर्वोच्चको मुख्य रजिष्ट्रारबाट उच्च अदालतको न्यायाधीश भएकोमा सुवेदी र निरौला सिधै मुख्य न्यायाधीशमा सिफारिस भएका थिए।

लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए, शपथ आजै

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्र र आफ्नै दल नेपाली काँग्रेसबाट थप १–१ जनालाई मन्त्री बनाएका हुन् । माओवादी केन्द्रबाट कृष्णा केसी र काँग्रेसबाट रोज राणा भनेर चिनिने सरोज थापा मन्त्री नियुक्त भएका छन् ।

शुक्रवार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । नवनियुक्त दुई मन्त्रीको आजै शपथको तयारी भएको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिनुभयो ।

केसीले खानेपानी, ग्रामीण तथा सहरी विकास र थापाले पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको छ ।

लुम्बिनी प्रदेश सरकार गठन भएको आठ महिनापछि मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गएको वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको विवादका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको थिएन ।

दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । बाँकी एक मन्त्रालय वन तथा वातावरण मुख्यमन्त्री आफैँले राख्नुहुनेछ । 

आठ अर्ब ७४ करोड विद्युत् महसुल नतिर्ने चार ठूला उद्योगको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेको भन्दै चार उद्योगको लाइन काटेपछि उद्योगी व्यवसायी छलफलमा जुटेका छन् ।

देश लोडसेडिङको चरम मारमा रहेका वेला ६१ उद्योगले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युतकाे २१ अर्ब ८८ करोड बक्यौता छ, प्रधानमन्त्रीको निर्देशनलगत्तै विद्युत् प्राधिकरणले बक्यौता उठाउन आक्रामक पहल थालेको छ

बक्यौता महसुल उठाउन नेपाल विद्युत् प्राधिकरण आक्रामक बनेको छ । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेका जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको शुक्रबार काटेको छ । यी उद्योगहरूको आठ अर्ब ७४ करोड महसुल बक्यौता थियो । 

गत भदौमा प्राधिकरणलाई उद्योगको लाइन नकाट्न भनेका प्रधानमन्त्रीले अहिले लाइन काटेर भए पनि महशुल असुल गर्न भनेपछि प्राधिकरणले चार उद्योगको लाइन काटेको हो । प्राधिकरणले उद्योगको लाइन काटेपछि बसेको उद्योगी व्यवसायीको बैठकले प्रधानमन्त्रीलाई फेरि भेटेर निष्कर्षमा पुग्ने बताएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले भने, ‘विद्युत नियमन आयोगले केही निर्णय गरेको छ । डेडिकेटेट र ट्रंक लाइनको सम्बन्धमा । त्यो निर्णय गर्नुभन्दा अगाडिको परिस्थिति एउटा, निर्णयपछिको अवस्थामा केही विषय छ । र लोडसेडिङ हटिसकेपछिको एउटा अवस्था छ । त्यो अवस्थाअनुसार नै हामी छलफल गरेर एउटा निर्क्यौल गर्छौं भनेर प्रधानमन्त्रीज्यूले आश्वासन दिनु भएको हो । तर अहिले के कसरी भयो भन्ने विषयमा हामी प्रधानमन्त्री जीसँग छलफल गर्ने तयारीमा छौँ ।’

प्राधिकरणका अनुसार ६१ उद्योगको २२ अर्ब रुपैयाँभन्दा बढी बक्यौता छ । २०७७ सालमा यो रकम १६ अर्ब भए पनि जरिवानासमेत जोड्दा अहिले २२ अर्ब नाघेको हो । प्राधिकरण र उद्योगबीच ७७ सालदेखिनै बक्यौता सम्बन्धमा विमती छ । प्राधिकरणले उक्त रकम तिर्नैपर्ने बताउँदै आएको छ भने उद्योगी भने तिर्न नपर्ने दाबी गर्छन् ।

लोडसेडिङको समयमा प्राधिकरणले प्रचलित दरभन्दा ६५ प्रतिशत महँगोमा उद्योगलाई चौबिसै घन्टा विद्युत उपलब्ध गराउने गरी डेडिकेटेड र ट्रंक लाइन दिएको थियो । पछि २०७५ वैशाख ३१ मा सरकारले उद्योगको लोडसेडिङसमेत अन्य भएको घोषणा गरे पनि प्राधिकरणले २०७७ असारसम्म नै बिल पठाइरह्यो । सो अवधिको बिल तिर्ने नतिर्ने विषयमा उत्पन्न विवाद अझै समाधान भएको छैन ।

पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार, एक जना पक्राउ

काठमाडौँ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गर्ने एक जना पक्राउ परेका छन्।

पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले मकैको खोया प्रहार गरेका हुन् । सभापति लामिछाने बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको थियो। 

खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘घटना हेर्दा शङ्कास्पद देखिन्छ । सभापति रवि लामिछानेले उजुरी दिनुभएको छैन । हामीले प्रहरीको तर्फबाट अनुसन्धान गरिरहेका छौँ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको प्रतिक्रिया दिए ।

यस्तो छ तपाईंको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका काम पुनः सुरु हुन सक्छन्। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आर्थिक कारोबार भने कमजोर रहनसक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र धर्मकर्ममा मन जानेछ। अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मालसामान हराउन सक्छ। सानातिना समस्यामा अल्झनुपर्नेछ। क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापार भने सामान्य नै हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ। पारिवारिक जमघटको वातावरण बन्ला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ, तर धार्मिक तथा रमाइलो यात्राको योग पनि छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। लाभदायक र फाइदा मूलक योजना बनिनेछन्।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ । रमाइलो र यादगार यात्रा पनि हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सहकर्मीबाट विरोध आउन सक्छ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। साँझमा मन प्रसन्न रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ।

 ६६२ जना प्रहरी वरिष्ठ हवल्दार असईमा बढुवा (सूचीसहित) 

काठमाडौँ । नेपाल प्रहरीका ६६२ जना प्रहरी वरिष्ठ हवल्दार असईमा बढुवा भएका छन् ।

नेपाल प्रहरीले आफ्ना ६६२ जना वरिष्ठ हवल्दारहरूलाई सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफारिस गरेको छ।

बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा पदपूर्तिका लागि उनीहरूलाई बढुवा सिफारिस गरेको हो।

नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि दरखास्त आव्हान भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरवार, काठमाडौँमा दरखास्त दिन भनिएको छ ।

लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ ।

सूचना अनुसार दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा स्नातकोत्तर गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

आवश्यक योग्यता, अनुभव, पेस गर्नु पर्ने कागजातलगायत विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.moics.gov.np मा प्रकाशन गरिएको छ । 

बाल यौन दुव्र्यवहार मुद्दामा पक्राउ परेका छोटु मुसहर फरार

सिरहा । बाल यौन दुव्र्यवहार मुद्दामा पक्राउ परेका ३५ बर्षिय छोटु सदाय मुसहर सिरहा सदरमुकाम बाट फरार भएका छन् ।
३५ बर्षिय सदाय बाल यौन दुव्र्यवहारको मुद्दामा पक्राउ परेका थिए । शुक्रबार म्याद थपको लागि जिल्ला अदालत सिरहा लगिदै गर्दा इप्रका प्रहरी लहानको गाडी बाट हाम फालेर फरार भएको हो ।
फरार सदायले सरकारी वकिल कार्यालय नजिक रोकिराखेको गाडी बाट हथकडी लगाएको अबस्थामा हाम फालेर फरार भएका छन् ।

राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी [सूचनासहित]

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

बैंकले आज सूचना सार्वजनिक गर्दै विभिन्न प्रशासनिक तथा प्राविधिक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएको उल्लेख गर्दै ती जनशक्तिको माग गरेको जनाएको छ । जसमा प्रशासन तर्फ ५० र प्राविधिक तर्फ १७ जनाका लागि दरखास्त आव्हान गरेको हो ।

सबै पदमा गरी राष्ट्र बैंकले ६७ जना कर्मचारी माग गरेको छ। रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ। अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ।

राष्ट्रपति पौडेल र श्रीलंकाका विदेशमन्त्री साब्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा उनीहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसअघि श्रीलंकाका पूर्व अर्थमन्त्रीसमेत रहेका साब्रीले समकक्षी एनपी साउदलगायतसँग शिष्टाचार भेट गरिसकेका छन् ।

सशस्त्रद्वारा २८ लाखबढीको अबैध कपडाबरामद, तस्कर फरार

रौतहट ६ पुस। रौतहटको छुट्टाछुट्टै दुई स्थान बाट सशस्त्र प्रहरीको टोलीले २८ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय कपड़ा बरामद गरेको छ। तर दुवै स्थानमा अबैधरुपमा त्यत्रो ठूलो परिमाणको कपडा भित्रयाउने तस्कर भने पक्राउ पर्न सकेका छैनन्।
सशस्त्र प्रहरीको टोलीले बिहीवार चन्द्रपुर नगरपालिका ९ चेतनगरस्थित एउटा घरबाट १३ लाख ४१ हजार ४ सय २० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र सुरक्षा बेस मटीऔँन सन्तपुर र जिल्ला भन्सार कार्यालय गौरबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा १२ बोरा विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीका डीआईजी, सहायक प्रवक्ता शैलेन्द्र थापाले बताएका थिए। त्यस्तै दुईदिन अघि सशस्त्र प्रहरी बल नेपाल ११ गण हेक्वा रौतहटले १५ लाख बढीको अबैध लत्ताकपडाहरु बरामद गरेको थियो।
विशेष सूचनाको आधारमा गण बाट गएको टोलीले बौधिमाई नगरपालिका ७ स्थित रौतहट बाराको सीमानामा रहेको अरुवा खोला पुल नजिकै टहरामा वेवारिसे अवस्थामा रहेको उक्त कपडा बरामद गरेको एस्पी माधव रेग्मीले बताएका थिए।
बरामद लत्ताकपडाहरु राजश्व अनुसन्धान कार्यालय पथलैया र जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सार्वजनिक गरेको थियो।
तस्करहरुको समूहले भारतीय बजार बाट रातिराती ठूलो परिमाणमा अबैध रुपमा भित्रयाएको कपडा लुकाई छिपाई रौतहटको बिभिन्न स्थानमा राख्ने गर्दछन। पछि आफ्नो सुबिधा अनुसार जिल्लाको बिभिन्न बजारमा पुर्याउने गर्द छन्।
यसरी बौधिमाई र चन्द्रपुरमा त्यत्रो ठूलो परिमाणको कपडा अबैध भण्डारण बारे सशस्त्र प्रहरीले सूचना सुराकी पाएर कपडा बरामद गर्छन् तर तस्कर बारे जानकारी नहुनु अथवा जानीजानी भगाएको भन्नेमा स्थानीयहरूले शंका गरिरहेका छन्।
पछिल्लो समय रौतहटमा भारतीय कपडा मात्र नभई किराना, कस्मेटिक्स , हार्डवेयर, लगायत अनेकौं किसिमका सामानको तस्करी बढेको छ। तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रायः असफल भएका छन्।

आगामी डेढ वर्षभित्र देशलाई विद्युतीकरण घोषणा गर्ने : प्रधानमन्त्री

सुनसरी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइसकेको बताएकाे छ । शुक्रबार (आज) सुनसरीस्थित इनरूवा सबस्टेसन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने दावी गरे। 

विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको जिकिर गरे।  उनले देशभित्र उत्पादित विद्युत् यही खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपत वृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्बाट पारित गरेको स्पष्ट पारे ।

‘नेपाल सरकारको दिशानिर्देश,नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको उर्जा क्षेत्रले फड्को मारिरहेको छ ,’प्रधानमन्त्रीले भने, घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन,प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरु भइरहेका छन् ।’

करिब एक सय सहकारी कालोसूचीमा (सुचिसहित)

काठमाडौं ।अधिकांश सहकारीले निक्षेपकर्तालाई ठग्ने प्रवृत्ति बढेसँगै बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा पर्ने सहकारी संस्था पनि बढ्न थालेका छन्। झण्डै बैंकहरु कै हाराहारीमा कारोबार गर्दै आएका सहकारीहरु एकपछि अर्को गर्दै धरासयी बन्दै गएका छन् । केहि सहकारी संस्थाहरुले बचतकर्ताको बिल्लबाठ बनाएका छन् भने केहि सञ्चालकहरु जेलसम्म पुगेका छन् ।   

चालू आर्थिक वर्षको पाँच महिनाको कर्जा सूचना केन्द्रको तथ्यांक हेर्ने हो भने यसरी कालोसूचीमा पर्ने सहकारीको संख्या करिब एक सयको हाराहारीमा छ । चालू आवको साउनदेखि मंसिर महिनासम्मको पाँच महिनाको अवधिमा ९२ वटा सहकारी संस्था कालोसूचीमा परेका छन् ।  

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार कालोसूचीमा परेका सहकारीहरुमा बहुउद्देश्यीय, कृषि र बचत तथा ऋण सहकारी संस्था रहेका छन् । चालू आवको पहिलो महिना साउनमा ३६ वटा सहकारी कालोसूचीमा परेका छन् । त्यस्तै, भदौ महिनामा १६ वटा, असोजमा १६ वटा, कात्तिकमा १२ वटा, मंसिरमा १२ वटा सहकारी कालोसूचीमा परेका छन् ।

सुचि:-

सुन तस्करीमा एयरपोर्ट भन्सार प्रमुख पाण्डे नै संलग्न

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाउने कर्मचारी राज्यको निम्ति काम गर्न जाने भन्दा नेताको लागी रकम जम्मा गर्दिन र आफुले सकेसम्म असुल्ने निति अन्तर्गत एयरपोर्ट भित्रका सरकारी निकायमा जाने गरेको बताइन्छ। कर्मचारीको सेटिङ र मन्त्री र नेताको आडमा हुने सुन तस्करी रोकिन सकेको छैन।
देश टाट पल्टाउन कसरी काम हुन्छ भन्ने सन्दर्भ जान्नको निम्ति एयरपोर्ट भन्सारको गतिविधि नियाल्दा छर्लङ्ग हुन्छ। नेपाल सरकारका सहसचिव झलकराम अधिकारीलाई प्रयोग गरेर कुस्त कमाएका गिरोहले तस्करी धन्दा बाहिर आए संगै उनलाई कार्वाहीको नाटक गर्दै हाल डेन्टिङ पेन्टिङ का साथ मन्त्रालयमा सुरक्षित राखिएको छ। झलकलाई अलग गर्दै त्यो भन्दा बढी मन्त्री र नेताको सेवामा हजिर हुने शर्तमा एयर पोर्ट पुगेका अधिकास कर्मचारी कमाउन ब्यस्त छन्। तर उनीहरुलाई के हेक्का छैन भने उनीहरुले गरेका हरेक कर्तुत आमजनताले नियालेर बसेका छन्। देशलाई सेवा गर्नुपर्ने राष्ट्रसेवक कर्मचारीले केहि निश्चित ब्याक्तिप्रति बफादार बन्छन् र देश कंगाल बन्दै जाने ब्याक्ति धनी बनाउदै जाने कुकर्म गर्ने लाई देशले श्रीलंकाको अवस्था सामना गर्नुपर्यो भने निशान को बन्लान हरेकले हिसाबकिताब सुरक्षित राखेका छन् यो बिषयमा बेलैमा ध्यानाकर्षण हुन जरुरी छ।

  • कसरी हुन्छ सुन तस्करी

सुन तस्कर गर्न अर्थ ,गृह ,श्रम र पर्यटन मन्त्रालयबाट परिचालन गरिएका कर्मचारी र नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट वितरण हुने ‘अल एरिया पास’ दुरुपयोग हुने गरेको खुलेको छ । गत २१ मंसिरमा भएको १४ किलो सुन तस्करी पनि सोही पास दुरुपयोग भएको खुलेको छ । क्यानले विमानस्थलभित्र काम गर्ने कर्मचारीलाई कार्यक्षेत्र प्रवेश गर्न विशेष पासको व्यवस्था गरेको छ । यसका लागि उसले १३ कार्यक्षेत्र निर्धारण गरेको छ ।

पासवाहक कर्मचारी तोकिएको क्षेत्रबाहेकमा प्रवेश गर्न पाउँदैनन् । यदि गरिहाले पासवाहक कर्मचारीलाई गैरसैनिक हवाई उडान ऐन, २०१५ अनुसार कारबाही हुन्छ । तर, क्यानले केही विशेष कर्मचारीका लागि यस्तो पास बनाएको छ, जुन लिएर पासवाहक १३ वटै कार्यक्षेत्रमा विनारोकतोक जान सक्छ । १४ किलो सुन तस्करीमा सोही पास दुरुपयोग भएर भएको हो भनिए पनि सो कार्यमा विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले सुन तस्करीमा कमिसनमा लोभिएर सो धन्धालाई पक्ष पोषण गर्दै आएको बताइन्छ ।

उनलाई साथ दिने क्यानबाट उपलब्ध गराउने ‘अल एरिया पास’को प्रयोग गराउने पाण्डेको सेटिङ नै मुख्य कारण हो भनिन्छ ।‘क्यानले विमानस्थलका कर्मचारीलाई कार्यक्षेत्र अनुसार विशेष पास उपलब्ध गराउँछ । तर, केही कर्मचारीले ‘अल एरिया पास’ पाएका हुन्छन् । सुन तस्करीमा संलग्न हुनेले यही पास दुरुपयोग गरेको अनुसन्धानबाट समेत खुलेको छ,’ उनले भने । भन्सार कार्यालयका अनुसार १४ किलो सुन तस्करीमा पक्राउ परेका शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, रमेश देउला, लेखबहादुर तामाङ र अनिल श्रेष्ठसँग ‘अल एरिया पास’ थियो । उनिहरुले भन्सार प्रमुख पाण्डे संग बारम्बार भेटने गरेको पाण्डे सचिवालयका एक कर्मचारीले सम्पत्ति न्युज लाई बताए ।समाचार श्रोतका अनुसार बस्नेत विमानस्थलका ‘प्लम्बर’ हुन् ।

विमानस्थलभित्र धारा तथा शौचालयसम्बन्धी सबै काम उनीमार्फत हुँदै आएको थियो । सोही कारण उनलाई क्यानले उक्त पास उपलब्ध गराएको थियो । जसले गर्दा उनी विमानस्थल भित्रको सबै कार्यक्षेत्रमा विनारोकतोक आउजाउ गर्न सक्थे । तिनै बस्नेत लाई भन्सार प्रमुख पाण्डेले साथ दिएका कारण सुन तस्करी नरोकिएको बताइन्छ। प्राप्त जानकारी अनुसार अन्तर्राष्ट्रिय उडानको ‘अराइभल’ कक्षमा प्रवेश गर्नुअघि नजिकै एउटा सुविधासम्पन्न शौचालय छ । सुन बोकेर आउने भरिया (चन्द्रबहादुर गुरुङ र कृष्णबहादुर श्रेष्ठ) ‘अराइभल’को परीक्षण कक्षमा प्रवेश गर्नुअघि सीधै शौचालय जान्थे । बोकेर आएको सुन उनीहरूले शौचालयको ‘डस्बिन’मा हालिदिन्थे । र, ‘अराइभल’को परीक्षण कक्षमा प्रवेश गरी सजिलै बाहिरिन्थे ।

त्यसअघि नै सुन आएको सूचना ‘प्लम्बर’ बस्नेतकहाँ पुगिसक्थ्यो । विमानस्थलको ‘प्लम्बर’बाट अवकाश पाएको केही वर्षअघि मात्रै सोही पदमा करारमा नियुक्त भएका उनी सरासर शौचालय पुग्थे । डस्बिनमा सुन भए–नभएको यकिन गर्थे । र, सूचना क्यानका अर्का कर्मचारी श्रेष्ठलाई दिन्थे ।

श्रेष्ठ विमानस्थलको एसी टेक्निसियन हुन् । उनलाई पनि क्यानले ‘अल एरिया पास’ उपलब्ध गराएको थियो । करारमा कार्यरत उनी विनारोकतोक विमानस्थलको सबै कार्यक्षेत्रमा आउजाउ गर्न सक्थे । सुन आएको सूचनापछि उनी सोही पास लिएर शौचालय पुग्थे । डस्बिनको रेकी गर्थे । र, सुन भरिएको डस्बिन लिन विमानस्थलकै सरसफाइ कर्मचारीलाई पठाउँथे ।

सरसफाइ कर्मचारीले डस्बिन विमानस्थलको भिआइपी कक्षमा लिएर आउँथे । भिआइपी कक्षको ‘एक्सरे’ जाँच कक्षमा कार्यरत लेखबहादुर तामाङले डस्बिन चेकजाँच नै नगरी बाहिर पठाउँथे । उक्त सुन देउला र श्रेष्ठले बुझ्थे । सुनलाई विमानस्थलबाट उनीहरूले नै बाहिर निकाल्थे । र, विमानस्थलको गेटबाहिर कुरी बसेका अर्का भरिया दिलबहादुर गुरुङलाई बुझाउँथे । भन्सार कार्यालयका अनुसार सोही तवरबाट उनीहरूले एक वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्दै आएका थिए । गत २१ मंसिरमा बरामद १४ किलो सुन सोही तरिका अपनाएर गरेको अनुसन्धानबाट खुलेको बताइए पनि पाण्डेको कर्तुत ढाकछोप गरिएको छ।
‘यिनीहरूले विगतदेखि नै ‘अल एरिया पास’ को दुरुपयोग गरेर सुन तस्करी गर्दै आएको देखिन्छ । सबै घटनामा सुन तस्कर गर्ने यिनीहरूको तरिका एउटै देखिन्छ । जस्तो, चन्द्रबहादुर र कृष्णबहादुरले सुन बोकेर ल्याउँथे । विमानस्थलको शौचालयको डस्बिनमा स्टोर गर्थे ।

विमानस्थलको प्लम्बर, एसी प्राविधिक र सरसफाइमा कार्यरत कर्मचारीको मिलेमतोमा सुन बाहिरिन्थ्यो, र गन्तव्यमा पुग्थ्यो । यिनीहरूले सोही तरिका अपनाएर एक वर्षदेखि सुन तस्करी गर्दै आएको अनुसन्धानबाट देखिन्छ,’ तर ठुलो भाग खान पुगेका एयरपोर्ट भन्सार प्रमुख पाण्डेले यो बीचमा ठुलै रकम जम्मा गरिसकेको समाचार श्रोतले बताएको छ। पाण्डे यस अघि पनि पटकपटक बिबादमा आएका कर्मचारी हुन। सहकारी बिभागको रजिस्ट्रार हुँदा करोडौं कुम्लाएको आरोप उनलाई लाग्ने गरेको छ।

सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

काठमाडौँ । सर्वोच्च अदालतमा नियुक्त ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन्।

संसदीय सुनुवाइ समितिले बुधबार उनीहरूको नाम अनुमोदन गरी राष्ट्रपति कार्यालयमा पठाएको थियो। राष्ट्रपति कार्यालयले बुधबार नै उनीहरूलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको सूचना जारी गरेको थियो।

न्यायपरिषद्‍को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो। न्यायपरिषद्ले मंसिर ५ गते ६ जना न्यायाधीशको नाम सिफारिस गरी संसदीय अनुमोदनका लागि पठाएको थियो।

सुवेदी, मुसलमान, पौडेल र ढुंगाना उच्च अदालतका न्यायाधीश हुन्। पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन्।सर्वोच्चमा अझै एक न्यायाधीश पद रिक्त छ। सर्वोच्चमा २१ न्यायाधीशको दरबन्दी छ।