देवाहि गोनाहिका पूर्व मेयर र सहयोगीले पाए सफाई

रौतहट ६ माघ । रौतहटको देवाहि गोनाहिका पूर्व मेयर धर्मेन्द्र पटेल दुईबर्ष पछि विशेष अदालत काठमाण्डु बाट सफाई पाएका छन्। उनी संगै सहयोगीको रूपमा रहेका अशोक पटेल समेत सफाई पाएका छन्।

शुक्रवार न्यायाधीश खुशी प्रसाद थारु, तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको संयुक्त ईजलासले पूर्व मेयर पटेल र उनका सहयोगी लाई भ्रष्टाचार मुद्दा बाट सफाई दिएको हो।

२०७८ फागुन १५ गते तत्कालीन मेयर धर्मेन्द्र पटेल नगरपालिकामा आफ्नै कार्यकक्ष बाट पक्राउ परेका थिए।

उनलाई दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको थियो। देवाहि गोनाहि नगरपालिका वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई र उनका स्वकीय सचिव अशोक पटेल लगायत चारजना पक्राउ गरेको थियो। पक्राउ पछि लगत्तै उनी अख्तियार द्वारा निलम्बित भएका थिए। पटेल निलम्बित भएकै कारण गत स्थानिय निकायको निर्वाचनमा उनी उमेदवारी बाट वञ्चित भएका थिए। उनको स्थानमा उनको श्रीमति चुनाव लडेपनि पराजित भएकी थिइन्।

निजि क्षेत्रलाई स्वदेशी बस्तु खरिदका लागि जोडदिन मुख्यसचिव डाक्टर अर्यालको आग्रह

काठमाडौँ । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डाक्टर बैकुण्ठ अर्यालले स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न आग्रह गर्नु भएको छ । राजधानीमा बिहीबार आयोजित स्वदेशी मिट एन्ड ग्रिटमा परिसंघले आयोजना गरेको कार्यक्रममा मुख्यसचिव अर्यालले यस्तो आग्रह गर्नुभएको हो ।
परिसंघले स्वदेशी अभियानमा आबद्ध उद्योगका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नेलगायत गतिविधि सञ्चालन गरिरहेको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सो कार्यक्रम बताए ।

स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि वार्षिक बजेटमा नीतिगत सुझाव दिने, आन्तरिक एवं बाह्यय सञ्जालमा स्वदेशी वस्तु तथा सेवाको पहुँच बढाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य, बिजनेश टू बिजनेस (बीटूबी) पोर्टल सञ्चालनलगायत कार्य गरिरहेको उनको भनाइ छ ।सरकारी एवं सार्वजनिक संस्थानलाई स्वदेशी वस्तु खरिदका लागि आवश्यक वातावरण बनाउन नेपाल सरकारका उच्च अधिकारी हरुको जोड रहेको सो कार्यक्रममा निजी क्षेत्रलाई समेत स्वदेशी वस्तु खरिद गर्न लगाउनुपर्ने मा सहभागिहरुको जोड थियो। मेक इन नेपाल स्वदेशी अभियानलाई सरकारले सुरुवातदेखि नै स्वामित्व लिएको जनाएइको छ । स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्न परिसंघले उठाइरहेको जग्गाको हदबन्दी, कानुन संशोधनलगायत विषयलाई प्राथमिकतामा राखेको बताएको छ।

२० प्रतिशत महँगो भए पनि स्वदेशी सामान खरिद गर्नुपर्ने निर्देशिका अन्तिम चरणमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बताए । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकार लागिरहेको र परिसंघका नीतिगत सुझाव मननयोग्य रहेको उनको भनाइ रहेको थियो ।

एक वर्षमा सात पटक लोकसेवा पास गर्ने एक नारीको सफलताको भित्र रहस्य के?

काठमाडौ ।निरन्तरताको मेहनतको जगमाराेल्पाकि २१ वर्षिय खुशी बुढामगरले ७ पटक लोकसेवा आयोगमा नाम निकाल्न्न सफल भएकि छन।
परिवर्तन गाउँपालिका – ४ कि खुशी नायव पशु स्वास्थ प्राविधिकको रुपमा कुशे गाउँपालिका जाजरकोटको कृषि विकास शाखा हुदै हाल नवलपरासीकाे बर्दघाट नगरपालिका नवलपरासीमा मत्स्य प्राविधिक पदमा कार्यरत छिन् ।

उनले यहि वर्षमा मात्रै ७ पटक लोकसेवा पास गरेकि हुन। राप्ती टेक्निकल कलेज लालमटिया दाङबाट ३ वर्षे पशुविज्ञान पढदै म २०७९ देखि लाेक सेवामा प्रवेश गरेकि खुशीकाे झन खुशी र सफलता बढदै गयाे।

खुशीले सुरुमा बैशाखमा कर्णाली प्रदेशले लिएको परीक्षाको पाँचौं तह लिखितमा नाम निकालेकी थिइन् । त्यसपछि जेठमा कर्णाली प्रदेशकै चौथो तहमा नाम निकालेर कुशे गाउँपालिका जाजरकोटमा सेवारत भइन। त्यसपछि लुम्बिनी प्रदेशको पाँचौं तहमा र लुम्बिनीकै स्थानीय तहको परीक्षामा पनि सफल भइन। पाचौंपटक उनले सुदूरपश्चिममा पाँचौं तहमा नाम निकालेकी थिइन् । यस्तै छैठौंपटक कोशीको चौथो तह र सातौं पटक संघमा नाम निकाल्न सफल भएकि हुन। यद्यपि संघीय लोकसेवाकाे आगामी ९ गते अन्तर्वार्ता बाँकी छ। त्यसमा पनि सफल हुनेमा विश्वस्त छिन।

राेल्पाकाे ग्रामीण क्षेत्रकाे सामान्य परिवारकि खुशीका बुवाआमा कृषक हुन। उनिहरुकाे भाइबहिनीहरुमा ६ दिदिबहिनी छन भने एक दाइ छन। जेठी स्थायी शिक्षक,माईली र साईली करार शिक्षक,त्यसपछिकाे दिदि प्रदेशको करार, त्यसपछिको दाई र दिदी निजामती तर्फको स्थानिय तहमा स्थायी जागिरे छन। ७ भाईबहिनी मध्ये ४ जना स्थायी जागिरे भइसकेका छन। उनकाे बाल्यकाल देखिकाे शिक्षण अवस्था मध्यम रहेको उनकाे परिवार स्राेतले जनाएको छ। कक्षा पहिलाे नभए पनि मेहनती र जेहेन्दार विद्यार्थीकाे छवि उनिमा थियाे भने एसइई भने उनले प्रथम श्रेणीमा उतिर्ण गरेकि छन।कोशिश गर्नेहरू कहिले हार्दैनन भन्ने यथार्थलाई उनले प्रमाणित गर्दिएकी छिन।

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ४० पैसा र बिक्री दर १४५ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले युगाण्डामा उठाएका दर्जन एजेन्डामा के छन्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू (नाम) को १९ औं शिखर सम्मेलनमा एक दर्जन एजेन्डा उठाएका छन् । युगान्डाको राजधानी कम्पालामा शुक्रबार शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावदेखि नामको अबको लक्ष्यसम्म, कोभिड–१९ जस्ता नयाँ चुनौतीहरू थपिएको, दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न प्रयास भइरहेको, विश्वव्यापी वित्तीय सुधार आवश्यक तथा राजनीतिक संवाद र कूटनीतिमार्फत शान्ति र सुरक्षा गरिनुपर्ने बताएका हुन् ।

नेपालको परराष्ट्र नीति असंलग्नतामा आधारित रहेको, संक्रमणकालीन न्याय समाधानको बाटोमा रहेको, इजरायल–प्यालेस्टाइन दुई राज्य स्थापना गरी समाधान गरिनुपर्ने र कम विकसित मुलुकहरू (एलडीसी) लाई सहयोग बढाउन आह्वान तथा युक्रेन र गाजामा द्वन्द्वको अवस्था रहेको र नामले संयुक्त राष्ट्रसंघले भूमिका खेल्नुपर्ने विषय सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले बताए । १९ औं शिखर सम्मेलनमा प्रधानमन्त्रीले सन् १९५५ को बाङडुङको अफ्रिका–एसिया सम्मेलनबाट थालिएको असंलग्न आन्दोलन (नाम) ले लामो यात्रा तय गरेको बताए ।

नामले विश्वका धेरै देशका राजनीतिक स्वतन्त्रता, स्वतन्त्रता, उपनिवेशीकरण र सार्वभौमसत्ता प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भने, ‘यो हाम्रो गरिमा, गौरव, ऐक्यबद्धता र सहयोगका लागि आशाको किरण बनेको छ । नामले न्यायोचित, समतामूलक, समावेशी, शान्तिपूर्ण र समृद्ध विश्व व्यवस्थाका लागि संघर्ष जारी राखे पनि आजको संसार अन्याय, असमानता, विभाजन, विभेद र बहिष्कारले भरिएको छ ।’

प्रधानमन्त्री दाहालले संरक्षणवाद, हिंसात्मक अतिवाद तथा युद्ध र द्वन्द्व बढ्दै गएको बारेमा चिन्ता व्यक्त गरे । साथै, उनले सैन्य खर्च र हतियारको दौड बढिरहेको पनि उल्लेख गरे । उनले पछिल्लो शिखर सम्मेलनदेखि नै कोभिड–१९ महामारीका कारण लाखौं मानिसको मृत्यु, विपन्नता, विस्थापन र विपन्नतालगायतका ठूला चुनौतीहरू मानवतामा परेको बताए । दाहालले असंलग्नताको मूल्य र सिद्धान्तप्रति नेपालको पुनः प्रतिबद्धता रहेको प्रस्ट पारे ।

नेपालका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कम्पाला गएका प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र मौसम परिवर्तनलाई महत्त्वपूर्ण रूपमा उठाएका छन् । ‘हिमालहरू विश्व जनसंख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशत घर हो,’ दाहालले सम्बोधनमा भने, ‘यी हिमालहरूले सबै जीवित प्राणीहरूलाई विश्वव्यापी सेवाहरू प्रदान गर्दछ तर हिमालहरूले ठूलो समस्या भोगिरहेका छन् । नेपालले हिमाल, जैविक विविधता, हिमाली भूगर्भ र त्यहाँ बसोबास गर्ने मानिसको संरक्षणका लागि वकालत गर्दै आएको छ ।’ नेपालले हिमालयमा जलवायु परिवर्तनको विनाशकारी प्रभावले डरलाग्दो दरमा हिउँ पग्लने र यसले अर्बौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाका रूपमा देखिएको उल्लेख गरे ।

‘हिमाली पर्यावरण, हिमाली सभ्यता र जैविक विविधताको संरक्षण गर्नॅ हाम्रो साझा हितमा छ । यसका लागि म नामका साथीहरूलाई हाम्रो आह्वान गर्दछु,’ दाहालले अपिल गरे । दाहालले नेपालको संक्रमणकालीन न्याय समाधानतर्फ उन्मुख भएको पनि जानकारी दिए । उनले नेपालकै अनुसार, आफ्नै शैलीमा, स्वदेशमै विकसित शान्ति प्रक्रियाको निष्कर्षमा पुगेको पनि अन्तर्राष्ट्रिय समुदायलाई नामको मञ्चलाई जानकारी दिए । ‘हामी संक्रमणकालीन न्यायलाई सदाका लागि समाधान गरेर दिगो शान्ति सुनिश्चित गर्न कटिबद्ध छौं,’ उनले भने । दाहालले कम विकसित मुलुकहरू (एलडीसी) को अध्यक्ष राष्ट्रको हैसियतमा अल्पविकसित मुलुकहरूलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न सहयोग गर्नका लागि अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरे । प्रधानमन्त्री दाहालले विशेष परिस्थितिमा रहेका देशहरूलाई आफ्नो विकासको दृष्टिकोण र लक्ष्यहरू प्राप्त गर्न, वित्त सुरक्षित गर्न, सक्षम बनाउन ‘ग्लोबल फाइनान्सियल आर्किटेक्चर’ लाई सुधार गर्नुपर्ने भनाइ राखे । उनले ती देशहरूलाई विकासमा न्याय प्रदान गर्न, विकसित देशहरूले ढिलाइ नगरी आफ्नो वित्तीय प्रतिबद्धता पूरा गर्ने बताए ।

प्रधानमन्त्री दाहालले नामको अबको लक्ष्य दिगो विकास (एसडीजी) को २०३० एजेन्डा र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमत गर्नका लागि विकासका लक्ष्यहरू समयमै प्राप्त गरी आफ्नो सदस्यहरूको आर्थिक विकास र समृद्धिमा जोड दिनुपर्ने उल्लेख गरे । उनले अहिलेको विश्वमा गेम चेन्जर बनेको विज्ञान, प्रविधि र नवप्रवर्तनमा विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई सम्बोधन गर्न नामले उच्च प्राथमिकता दिनुपर्ने धारणा राखे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले राजनीतिक संवाद र कूटनीतिको माध्यमबाट शान्ति र सुरक्षाको दिगो समाधान खोज्ने समाधान खोज्ने समय अहिले भएको बताए । उनले पुरानो र नयाँ द्वन्द्वको नतिजाले अफ्रिकी क्षेत्रलाई मात्र नभई सम्पूर्ण विश्वलाई, विशेष गरी ग्लोबल साउथलाई घेरेको उल्लेख गरे । उनले भने, ‘सबैका लागि सम्मान र मर्यादाका साथ राजनीतिक संवाद र कूटनीतिमार्फत शान्ति र सुरक्षाको दिगो समाधान खोज्ने यो समय हो ।’

यस्तो छ माघ ६ गते शनिबार तपाईँको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट पनि आउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अनावश्यक यात्रा हुनसक्छ । पारिवारिक झमेला रहला । राजनैतिक कार्यमा व्यवधान आउनेछ, तर बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

अति बिकट र दुर्गममा टेलिकमको सेवा बिस्तार हुदै पुग्नुपर्छ : सचिव सुवेदी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सञ्चार क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहेको भन्दै अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने सरकारको अवधारणा कार्यान्वयनमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सोह्रौँ वार्षिक साधारणसभाको अवसरमा आज आयोजित कार्यक्रममा सोह्रौँ वार्षिक प्रतिवेदन पेस गर्दै सञ्चालक समितिका अध्यक्ष समेत रहेका सचिव सुवेदीले विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रम परिलक्षित गरिरहेको बताए।साधारण सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकममध्येबाट प्रतिशेयर रु. ४० का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारण सभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीको उपस्थिति थियो । सभाले आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरुउपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

साधारण सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०८०/८१ का लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेशकुमार गुरागाईँलाई लेखापरीक्षक नियुक्त गर्नाका साथै पारिश्रमिक तोकेको छ । त्यसैगरी, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकका रूपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन् ।

समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवातर्फको बजार हिस्सा सात दशमलव ८२ प्रतिशतले वृद्धि भई ६१ दशमलव ५१ प्रतिशत पुगेको अध्यक्ष सुवेदीले बताए । “आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बीच कम्पनीले कूल रु. ४४ दशमलव ४२ अर्ब आम्दानी गरी रु. सात दशमलव ९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ”, उनले भने।

वीर अस्पतालको खाद्यान्न र अन्य खर्च नरोक्न सर्वोच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले वीर अस्पतालमा आवश्यक बजेट नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

शुक्रवार न्यायधिश हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको इजलासले वीर अस्पतालमा आवश्यक बजेट नरोक्न आदेश जारी गरेको हो।

अधिवक्ता बिमल पोखरेलले गत पुस १६ मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालय विरुद्ध मुद्दा दर्ता गरेका थिए।

तीन साता अघि वीर अस्पतालमा नियमित खाद्यान्न, अक्सिजन र मर्मत सामाग्रीको लागि आवश्यक बजेट चालु आर्थिक वर्षमा कटौती भएपछि सङ्कट परेको विषयमा सञ्चार माध्यममा प्रकाशित भएको थियो। यसको साथै गत वर्षको भन्दा बजेट कटौती भएकोले अन्य व्यवस्थापनमा समेत हम्मे परेको अस्पतालले जनाएको थियो।

अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा वीर अस्पतालका लागि ३३ वर्ष देखि दिइँदै आएको विरामीको खाना र खाजाको खर्च कटौती संविधानको मौलिक हकविरुद्ध रहेको दाबी गरेकाे थियाे ।

छ लाख चालक अनुमतिपत्र नेपाल आइसक्यो : यातायात व्यवस्था विभाग

काठमाडौँ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ। विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ।

विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो। सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा छ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए।

प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ । बैंकको सबै प्रक्रिया पुर्‍याएपछि आएको कार्डको ल्याब टेष्ट गराइन्छ । उनले भने, “हामीले सम्झौता गर्दा खोजेको गुणस्तर छ कि छैन भनेर जाँच्न नेपाल आइपुगेको कार्डको ल्याब टेष्ट गर्छौं र त्यसको रिपोर्ट आइसकेपछि मात्र वितरण प्रक्रिया सुरु गर्छौं ।” 

विभागले कार्ड पाउने बित्तिकै नियमित छपाइको सुरुआत हुने निर्देशक पनेरुले प्रतिबद्धता जनाए। उनले बाँकी रहेको छ लाख कार्ड पनि ४५ दिनभित्रमा सम्झौता भएको कम्पनीबाट आइपुग्ने जानकारी दिए । “चालु आवमा कार्ड खरिद र मास प्रिन्टर खरिदका लागि बजेट छुट्याएका छौँ । सोअनुरूप हामीले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा दुई कम्पनीले बोलपत्र हाल्नुभएको छ”, पनेरुले भने, “त्यसको प्राविधिक मूल्याङ्कनको काम भइरहेको छ । त्यो सम्भव भयो भने १५ लाख ६० हजार कार्ड र एक मासप्रिन्टर तथा कार्ड छाप्दा प्रयोग हुने पर्सलाइजेसन सिस्टमको सफ्टवेयर बनाउने काम पनि हुन्छ । यी तीन कार्य लागि हामीले उक्त टेन्डर गरेका छौ।”

कार्डको अभावमा रोकिएको छ छपाइ

निर्देशक पनेरुका अनुसार स्मार्ट कार्डको अभावमा नियमित प्रिन्ट यतिबेला रोकिएको छ। सन् २०२२ को जुलाईदेखि कार्ड वितरण गर्न नसकिएको उनले जानकारी दिए। उनले कार्डको अभावमा करिब १४ लाख छापेर गरी वितरण गर्न बाँकी रहेको बताउँदै भने, ‘कार्ड नेपालमा नपाइने भएर यस्तो अवस्था आएको हो।’

निर्देशक पनेरुका अनुसार हाल विभागसँग मौजुदा प्रिन्टर एउटामात्रै रहेको छ। जसको कार्यक्षमता १६ घण्टासम्म निरन्तर चलाउँदा पनि दैनिक चारदेखि पाँच हजारभन्दा बढी प्रिन्ट गर्न सक्दैन। उनले पहिलेकै कार्ड छपाई थुप्रै बाँकी रहेको भन्दै प्रत्येक दिन पाँच हजारभन्दा बढी निवेदन आउँने गरेका बताए। ‘एउटा प्रिन्टरले आएका निवेदनका आधारमा छपाइ गर्न अवस्था छैन। जसले गर्दा कार्ड छापेर गरी वितरण गर्न ढिलाइ भएको छ’, उनले भने।

पनेरुले सोही कारणले उक्त टेन्डर गरिएको भन्दै यो महत्वपूर्ण रहेको बताए। ‘दुई वटा मेसिनबाट कार्ड छाप्न थालियो भने नियमित प्रिन्ट पनि हुन्छ र पुरानो बाँकी पनि क्रमशः घट्दै जान्छ। त्यसका लागि ४१ करोडको हाराहारीमा हामीले टेन्डर आह्वान गरेका छौँ”, उनले भने, ‘अहिले काम भइरहेको छ टेन्डर मूल्याङ्कनको काम सकेपछि प्रस्ताव खोल्छौँ। सार्वजनिक खरिद ऐन नियमअनुसार यस कार्यमा सामान्यतया पाँच महिना जति लाग्छ। त्यसपछिमात्रै नयाँ कार्ड र मास प्रिन्टर आइपुग्छ।’

छपाइ तथा वितरणको जिम्मा प्रदेशले लिनुपर्ने

यातायात व्यवस्था विभागका निर्देशक एवं प्रवक्ता पनेरुले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा कार्ड छपाइ प्रदेशस्तरबाट हुनुपर्नेमा जोड दिए। ‘यातायात व्यवस्थापनअन्तर्गत सवारी चालक अनुमतिपत्रको सबै अधिकार प्रदेशमा गइसकेको छ’, उनले भने, ‘अहिले प्रदेशमा नयाँ फार्म लिने, नवीकरण गर्ने, राजस्व सङ्कलनलगायत काम भइरहेको छ। सबै काम प्रदेशमा हुन थालेकाले चालक अनुमतिपत्र छपाइ तथा वितरणमा पनि अब प्रदेश सक्षम हुनुपर्छ।’ उनले विभागको कार्य कार्ड छाप्ने वा वितरण गर्ने नभएर नीति निर्माण गर्ने हो भन्दै प्रदेश मातहतका कार्यालय यस कार्यमा सक्षम हुनुपर्ने उनको भनाइ थियो।

चार प्रदेशले बजेट छुट्याएको छ

आव २०७९र८० मा विभागले सबै प्रदेशका मन्त्रीहरुसँग छलफल गरेको थियो। छलफलका क्रममा सबै प्रदेशले कार्ड र मेसिन खरिदका लागि बजेट विनियोजन गर्ने बताएका थिए। सोही क्रममा कोशी, मधेस, बागमती र कर्णली प्रदेशले बजेट छुट्याएका निर्देशक पनेरुले जानकारी दिए। उनका अनुसार हालसम्म कुनै पनि प्रदेशले सूचना भने आह्वान गरेका छैनन्।

निर्देशक पनेरुका अनुसार मधेस र बागमती प्रदेशले यस कार्यका लागि बढी चासो देखाएका छन्। मधेस प्रदेशले चालु आवमा स्मार्ट कार्डको छपाइ तथा वितरण गर्ने प्रतिबद्धता जनाएको उनले बताउनुभयो।

वैदेशिक रोजगारमा जानेलाई तीन दिनभित्र लाइसेन्स

निर्देशक पनेरुले सेवाग्राहीले वर्षौँसम्म कार्डका लागि कुर्नुपर्ने समस्या रहेको स्वीकार गरे। ‘यो विशेष प्रकृतिको कार्ड हुने भएकाले यसको खरिद प्रक्रिया अलिकति लामो हुन्छ। जसले गर्दा सेवाग्राहीलाई समयमा कार्ड वितरण गर्न सकिएको छैन’, उनले भने, ‘वैदेशिक रोजगारमा जानेलाई मर्का नपरोस् भनेर फास्ट प्रिन्टिङको व्यवस्था गरेका छौँ।’ विभागले जारी गरेको इमेलमा जानकारी आएपछि वैदेशिक रोजगारमा जानेलाई तीन दिनभित्रमा लाइसेन्स वितरण गरिरहेको उनले जानकारी दिए।

निर्देशक पनेरुले भने, ‘सबै प्रदेशले आफ्नो जिम्मा लिने हो भने कार्ड वितरणको समस्या सामाधान हुँदै जान्छ। प्रदेशको समस्या भनेको दक्ष जनशक्तिको अभाव, स्वीकृत दरबन्दी प्राप्त गर्न नसक्नु, खरिद प्रक्रियालगायत छन्। विभागले यी समस्या समाधानका लागि सक्दो सहयोग र सहजीकरण गर्नेछ।’हाल सबभन्दा बढी करिब ६० प्रतिशत माग बागमती र त्यसपछि क्रमशः मधेस र गण्डकी रहेको छ।

हाल सबभन्दा बढी करिब ६० प्रतिशत माग बागमती र त्यसपछि क्रमशः मधेस र गण्डकी रहेको छ ।

ललितपुरका धेरै ठाँउमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द

काठमाडौँ । आज ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने छ । 

नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ । 

लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासीलगायतका स्थानहरूमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

सातै प्रदेशमा पुग्यो राष्ट्रिय सभा निर्वाचनका लागि मतपत्र

काठमाडौं। निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याएको छ । आज (शुक्रबार)सम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरिसकेको आयोगले जानकारी दिनुभयो ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ । प्रदेशसभा सदस्यका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् ।गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङ्गको कागजमा रातो रङ्गको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्य पदका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ । मतदानका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपात्र छपाइ भएको सहायक प्रवक्ता पन्थीले बताउनुभयो ।

आयोगका अनुसार कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र छन् । लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ७५० मतपत्र र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्र छन् ।

निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरुको पदावधि २०८० फागुन २१ गते देखि ६ वर्षसम्म रहनेछ ।

धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडाैं । धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको हो ।

सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन् ।

धितोपत्र सम्बन्धी ऐन २०६३ का अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सम्मिलित सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

उक्त समितिले अध्यक्ष पदका लागि प्राप्त निवेदनबाट तीन जनाको नाम छनौटका लागि सिफारिस गर्नेछ । मन्त्रिपरिषद बैठकले सिफारिस गरिएका तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

उपसचिवमा बढुवाका लागि ४४ को नाम सिफारिस (सूचिसहित)

काठमाडौँ । उपसचिवमा बढुवाका लागि ४४ को नाम सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा रिक्त पदमा योग्यता क्रमका उमेदवारहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।

सूचि:-

आज सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार

बाठमाडाैं । आज सुनको मूल्यमा वृद्धि भएको छ। लगातार तीन दिनदेखि घटिरेहको सुनको मूल्य आज ५ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बिहीवार छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बिहीवार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। 

राजश्व छलेको अभियोगमा दुई करोड नगदसहित अग्रवाल पक्राउ

काठमाडौं। राजस्व अनुसन्धान विभागले २ करोड नगदसहित कपडा ब्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ। विभागको टोलीले बिहीबार राति अग्रवालको क्षेत्रपाटीस्थित निवासमा छापा मारेर उनलाई नगद सहित पक्राउ गरेको हो  ।

विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद सहित पक्राउ गरेको हो। हुन्डी र सुन कारोबारको आरोपमा अग्रवाललाई नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान विभागले जनाएको छ। साथै अग्रवालबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ।

विभागका अनुसार अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको छ। अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो। अग्रवालबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।