मंगलबारदेखि निर्वाचन आचार संहिता लागू हुने

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म अचार संहिता जारी गर्ने निर्णय गरेको हो ।

यो अवधिमा कुनै सार्वजनिक स्रोत साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नपाइने आयोगले जनाएको छ। सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचन सम्बन्धी भेला वा प्रचार गर्न पनि नपाइने आयोगले आइतबार जारी गरेको सूचनामा जनाइएको छ।

आयोगका अनुसार आचार संहिताले कुनै दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको सामग्री उत्पादन तथा प्रयोग गर्न समेत रोक लगाइएको छ।

‘निर्वाचनलाई प्रभाव पार्ने विद्युतीय सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्न वा सेयर गर्न समेत हुँदैन। केन्द्र, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत र साधान प्रयोग गर्न पाउने छैनन्,’ आयोगले भनेको छ।

यसैगरी निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने आयोगले जनाएको छ।

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।प्रचण्डले निर्माण व्यवसायी (ठेकेदार)लाई तत्काल ६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएका छन्‌ । 

निर्माण व्यवसायीसँग अर्थमन्त्री डा प्रकाशरण महत, भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा वैकुण्ठ अर्याल, अर्थ सचिव डा कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकालसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई तिर्नुपर्ने रकम तत्काल भुक्तानीका निम्ति प्रक्रिया थाल्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले गत आर्थिक वर्षको रु एक अर्ब ७१ करोड र चालु आवको अहिलेसम्मको  दायित्व रु छ अर्ब ३० तत्काल निकासा दिन अर्थमन्त्रीलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

निर्माण व्यवसायीलाई उक्त रकम भुक्तानी भएपछि विकास निर्माणका कामले गति लिने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ ।

नेप्सेमा ३१.६२ अंकको वृद्धि, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार झिनो अंक घटेर बन्द भएको नेप्से, यस दिन साढे १ प्रतिशत बढेर बन्द भएको छ। आज नेप्से ३१.६२ अंकले बढेर दुई हजार २० दशमलव ६२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये २११ कम्पनीको शेयरमूल्य बढेको छ भने ३३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ५ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै, आज १० कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतको वृद्धि भएको छ भने ५ कम्पनीको शेयरमूल्यमा ८ प्रतिशतको वृद्धि भएको छ ।

त्यस्तै, मेगा म्युचरअल फण्ड–१ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.५३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्यारेन्स कम्पनी लिमिटेड प्रमोटर शेयरको भएको छ । आज यस कम्पनीको ३५ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.५८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेको हो।

राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले साढे तीन लाख खर्च गर्न पाउने

काठमाडौँ । यहि  माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले साढे तीन लाख रुपैयाँ सम्म खर्च गर्ने पाउने भएका छन् । निर्वाचन आयोगले उमेद्द्वारको लागि  निर्वाचन खर्चको हद तोकेको हो ।

हरेक उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ सम्म खर्च गर्न सक्ने गरी हद तोकेको आयोगले जानकारी दिएको छ।

आगामी २० फागुनमा राष्ट्रिय सभाका खाली हुने २० मध्ये १९ सिटका लागि ११ माघमा ९ देखि ३ बजेसम्म मतदान हुनेछ । एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन्। निर्वाचन आयोगले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि ५१ उम्मेदवार कायम गरेको छ ।

त्यस्तो खर्च गर्दा उम्मेदवारले बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नु पर्ने छ । त्यसैगरी निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम सहितको विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।

निर्वाचनको क्रममा भएको यस्तो खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने हुन्छ । निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारी सजायको भागिदार बन्नुपर्ने हुन्छ ।

बेलुकी ८ बजेपछि मदिरा बिक्री बन्दगर्न एस्पी श्रेष्ठको निर्देशन

रौतहट २९ पुस। रौतहट प्रहरी प्रमुख एस्पी महेन्द्र कुमार श्रेष्ठले बेलुकी ८ बजेपछि मदिरा बिक्री वितरण नगर्न अर्थात मदिरा पसल बन्द गर्न निर्देशन दिएका छन्। त्यसैगरी सम्पूर्ण मदिरा पसल दिउँसो १२ बजे पछि मात्र खोल्न पाउने गरी ब्यवस्था मिलाउन एस्पी श्रेष्ठले प्रहरीलाई निर्देशन दिएका हुन्। ईलाका प्रहरी कार्यालय कटहरियाको प्राङ्गणमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रमका प्रमुख अतिथी एस्पी श्रेष्ठले देशको कर्णधार बालबालिकाको उज्ज्वल भविष्यको लागि अभिभावक स्वयं पनि आआफ्नो छोरा छोरीको निगरानी गर्नुपर्ने बिचार राखेका थिए।
पछिल्लो समय कटहरिया क्षेत्रमा अत्यधिक बालबालिका लागुऔषध गाँजाको प्रयोग गरिरहेको प्रती चिन्ता ब्यक्त गर्दै नियन्त्रणको लागि प्रहरीलाई निर्देशन दिएका थिए। उनले महिलालाई कुट गर्ने जस्ता महिला हिंसाको निन्दनीय घटना बढिरहेकाले जाहेरि आएमा कडा कानुनी कार्वाही गर्ने चेतावनी दिएका थिए। एस्पी श्रेष्ठले आफ्नो कार्यकालमा कम्तीमा जिल्लाको ८० स्थानमा सिसिटिभि क्यमरा जडान गर्ने लक्ष्य रहेको बताएका थिए।
सातदशक अघी स्थापना ईलाका प्रहरी कार्यालय कटहरियाको भवन निर्माण हुन नसक्नुमा जग्गा नाममा नहुनु मुख्य कारण रहेको छ।
तथापि जग्गा प्रहरी कार्यालयको नाउँमा ल्याउन जनप्रतिनिधि तथा समाजसेवीले पहल गर्नुपर्ने सुझाव दिएका थिए। एस्पी महेन्द्र कुमार श्रेष्ठले जग्गाधनीले उमाशंकर साह लाई माला लगाई , दोसाला ओढाएर सम्मान गरेका थिए। त्यस्तै ईलाका प्रहरी कार्यालय कटहरियामा जनशक्ति थप गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा मेयर अजयप्रकाश जैसवालले प्रहरी कार्यालयको भवन निर्माणका लागि नगरपालिका बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
ईलाका प्रहरी कार्यालय कटहरियाको प्रमुखको रूपमा केहीदिन अघि मात्र आएका बरिष्ठ सई अरुण कुमार सिंहको सक्रियतामा शौचालय मर्मत, भान्सा ब्यारेक रंगरोगन, प्रतिक्षालय रंगरोगन, थाना प्राङ्गण सरसफाई करेसाबारीको सुरुवात को निरीक्षण गर्दै उनले सराहना गरेका थिए।
सनिवार साँझ सम्पन्न सार्वजनिक सुनवाई कार्यक्रममा एसपी महेन्द्र कुमार श्रेष्ठ, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी, ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनाल, कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जयसवाल,उपप्रमुख रिता देवी यादव, पूर्व मेयर सियाराम कुशवाहा , वडा अध्यक्षहरु सर्फलाल गुप्ता, श्यामा कान्त यादव, समिस बिक्रम साह, रुपेश यादव, ब्यापारी नसरुदिन अन्सारी, कांग्रेस नेता बाल्मीकी यादव, उमेश यादव, जग्गाधनी उमाशंकर साह,लगायतको सहभागिता रहेको थियो।
ईलाका प्रहरी कार्यालय कटहरियाली ओगटेको १७ कठा जग्गा मध्ये करिब ८ कठा जग्गा साह दाजुभाईको नाउँमा रहेको छ। स्थानीय चन्दा सहयोग बाट भवन निर्माण भएपछि तत्कालीन प्रहरी संगठन प्रमुख आईजिपी खडगजित बरालले २०२९ सालमा ईलाका प्रहरी कार्यालय कटहरियाको उदघाटन गरेका थिए।

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडाैं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

न्यायाधीश गिरीकी पत्नीले गरिन् सर्वोच्च परिसरमा आत्मदाह प्रयास

काठमाडौँ । न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्।

न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी छन् । श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी गिरीले न्यायको माग गर्दै आत्मदाहको प्रयास गरेकी हुन् ।

‘न्याय कि मृत्यु ? बलात्कारी न्यायाधीश भुवन गिरीलाई थुनामा राख’ लेखिएको सेतो टिसर्ट लगाएकी उनले शरीरमा ज्वलनशील पर्दाथ खन्याएर आत्मदाहको प्रयास गरेको बताइएको छ ।

आगो सल्काउन खोज्दा उनलाई प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको छ । वेहोस भएकी गिरीलाई प्रहरीले उपचारका लागि अस्पताल तर्फ लगेको छ ।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो।

४ सिडिओ र १२ प्रहरीमाथि कारबाही (सुचिसहित)

काठमाडौं । मानव अधिकार उल्लंघनको घटनामा संलग्न चार प्रमुख जिल्ला अधिकारी र १२ प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढेको छ । आयोगले व्यक्तिलाई गैर कानुनी थुनामा राख्ने चार जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) र १२ प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढेको छ । एक व्यक्तिलाई पटकपटक पक्राउ गरी गैरकानुनी हिरासतमा थुनामा राखेको आधारमा राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसका आधारमा कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

उदयपुर, खोटाङ, सिरहा र सोलुखुम्बुका तत्कालिन सिडिओ र प्रहरीमाथि विभागीय कारबाही हुन लागेको हो । सिरहाका तत्कालिन सिडिओ सरोज प्रसाद गुरागाई, खोटाङका तत्कालिन सिडिओ शालिकराम शर्मा पौडेल, उदयपुरका दीपक पहाडी र सोलुखुम्बुकी रमा आचार्यमाथि विभागीय कारबाही हुने भएको छ ।

त्यस्तै, सिरहाका तत्कालिन एसपी उमा चतुर्वेदी, खोटाङका डिएसपी नारायण चिमोरिया, सोलुखुम्बुका डिएसपी टेकुनन्द इवा लिम्बु, जिप्रका खोटाङका इन्सपेक्टर गोविन्द शाह, सोलेखुम्बुका इन्सपेक्टर महेन्द्र दर्नाल, सिराहका इन्सपेक्टर दीपेन्द्र श्रेष्ठ पनि कारबाहीमा पर्ने भएका छन् । उयदपुरका सई श्याम राउत, सोलुखुम्बुका असई असई नवराज दाहाल, उदयपुरका असइ ऋषी खनाल, खोटाङका असइ राजन नेपाल, सिरहाका असइ रामकुमार यादब र उदयपुरका हवल्दार भुवनसिंह कार्कीमाथि कारबाही हुने भएको हो ।

आयोगले खोटाङको हलेसी तुवाचन्द्र नगरपालिका-२ डिकुवाका सुदिप शर्मा भनिने चक्र बहादुर खत्रीलाई पटक पटक गैर कानुनी थुनामा राख्ने सिडिओहरूलाई विभागीय कारबाहीका लागि सरकार समक्ष सिफारिस गरेको हो ।

२०६६ र २०७७ सालमा उनीहरुले ६ पटक खत्रीलाई पक्राउ गरेका थिए । अभियोगबिना नै पक्राउ गरेर थुनेको भन्दै आयोगले त्यसमा सिडिओ र प्रहरीको गल्ती रहेको ठहर गरेको हो । उनीहरुमाथि कारबाही गर्न आयोगले फेरि सरकारलाई ताकेता गरेपछि प्रधानमन्त्री कार्यालयले गृहलाई पत्राचार गरेको हो । खत्रीलाई एक लाख क्षतीपुर्ती दिन पनि प्रधानमन्त्री कार्यालयले सिफारिस गरेको छ ।

काठमाडौं महानगरले ४ हजारलाई साइबर सुरक्षा सम्बन्धी तीन महिने अनलाइन तालिम दिँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चार हजार व्यक्तिलाई साइबर सुरक्षा सम्बन्धी निःशुल्क तालिम दिने भएको छ । माघ २ गतेदेखि महानगरले चार हजारलाई तीन महिनाको अनलाइन तालिम दिने भएको हो ।  ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य रहेको भन्दै २ माघबाट तालिम सुरु गर्ने महानगरले जनाएको छ ।

काठमाडौं महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गरेर तालिम दिने जनाएको छ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार यो सहकार्यबाट पाँच करोड रुपैयाँको छात्रवृत्ति प्रदान हुनेछ ।

उनका अनुसार साइवर सुरक्षा सिप रोजगारमूलक शिक्षा हो । यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सिपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिन्छ । ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेसाकर्मीहरुलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ ।’

साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइनेछ ।

प्रोग्रामिङ्ग, नेटवर्किङ् र डाटा भण्डारणका लागि क्लाउडका आधारभूत पक्ष सिकाइनेछ भने यस्ता प्रणालीलाई सुरक्षा गर्ने प्रणाली विकास, वेभ एप्लिकेसन डिभलपमेन्ट, सुशासन, जोखिम न्युनीकरणको अनुपालना, तथ्याङ्क विश्लेषण र व्यापार कला यस्ता प्रणाली सञ्चालन हुने प्लेटफर्म, यस्ता प्लेटफर्महरुको उपयोग र दुरुपयोगजस्ता विषय तालिममा राखिएका छन् । 

महानगरले दाबी गरेको अनुसार नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरुले देखाएका छन् । यसप्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिनेछ ।

झाका अनुसार इन्टरनेटमा व्यक्तिको पहुँच बढे जत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ । स्मार्ट फोन चलाउने सर्वसाधारणमा पनि इन्टरनेटमा आधारित सुरक्षा चाहिएको छ । तर, अहिलेसम्म व्यक्तिमा यो सचेतना आइसकेको छैन ।

झाले भने, ‘व्यक्तिका व्यक्तिगत सूचनाहरु थाहा नपाइ अरुले दुरुपयोग गरिरहेको हुन सक्छ । कहिलेकाही सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ । इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नु पर्नेछ । हामीले यसको थालनी गरेका हौं ।’

साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइनेछ ।

प्रोग्रामिङ्ग, नेटवर्किङ् र डाटा भण्डारणका लागि क्लाउडका आधारभूत पक्ष सिकाइने झाले बताए । यस्ता प्रणालीलाई सुरक्षा गर्ने प्रणाली विकास, वेभ एप्लिकेसन डिभलपमेन्ट, सुशासन, जोखिम न्युनीकरणको अनुपालना, तथ्याङ्क विश्लेषण र व्यापार कला जस्ता प्रणाली सञ्चालन हुने प्लेटर्फम, यस्ता प्लेटर्फमहरुको उपयोग र दुरुपयोगजस्ता विषय तालिममा राखिएका छन् ।

यदी तपाई पनि काठमाडौं महानगरपालिकाको साइबर सुरक्षा तालिममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी फर्म भर्नुहोस् ।

भन्सार कार्यालय र व्यापारीहरूबीच विवाद हुँदा रसुवाका भन्सार कार्यालय चार दिनदेखि बन्द

रसुवा । भन्सार कार्यालय र व्यापारीहरूबीच मालवस्तुको भ्यालुएसन एन्ड डेक्लेयरेसनमा विवाद भएपछि चार दिन देखि रसुवा भन्सार कार्यालय बन्द भएको छ ।

छिमेकी मुलुक चीनबाट दुई हप्ता अघि रसुवा भन्सार यार्डमा आएका गाडी रसुवा भन्सार कार्यालयले चेकजाँच गरिसकेपछि भन्सार विभागबाट गएको टोलीले चेकजाँच गरिसकेका तीन ओटा गाडीलाई रिचेक गराइ जरिवाना तिराउन खोजेपछि चार दिन देखि रसुवा भन्सार बन्द भएको छ । भन्सार प्रशासनले व्यापारीहरूलाई अनावश्यक दुख दिएको, वस्तुको जथाभावी मूल्यांकन गरेको, अनावश्यक डेक्लेयरेसन गरी जरिवाना तोकेको र तोक्ने गरेको, सरकारका एकै प्रकृतिका विभिन्न निकायहरूले दुखः दिने गरेकोले त्यसको अन्त्यको माग गर्दै भन्सार कार्यालय ठप्प पारिएको व्यापारीहरूले बताएका छन् ।

भन्सारले सामान्य ज्याकेटलाई छालाको ज्याकेट र चिल्ड्रे प्यान्टीलाई ठुलो मानिसले लगाउने वस्तु भनी जरिवाना डेक्लेयर गरेपछि भन्सार प्रशासन र व्यापारीबीच विवाद उत्कर्षमा पुगेको हो । नर्मल ज्याकेटको मूल्यांकन ५ देखि ७ डलरसम्म छ । त्यस्तै चिल्ड्रेन प्यान्टीको मूल्यांकन ठुलो मान्छेले लगाउने भन्दा २० प्रतिशतले कम हुन्छ ।

भन्सारको व्यवहारले केही महिनायता निकै ठूलो आर्थिक नोक्सानी बेहोरे पनि आफूहरूको सुनुवाइ कतै नभएको व्यापारीहरूको गुनासो छ । व्यापारी भन्छन्, ‘भन्सार कर्मचारीलाई जे लाग्छ सामानको मूल्य त्यही हुने गरेको छ ।’ मूल्यांकनका आधार र कानुनी प्रावधानलाई बेवास्ता गरेर कर्मचारीको मनोमानी हावी हुँदै गएकाले आफूहरूले बाध्य भएर काम बन्द गर्नुपरेको गुनासो व्यापारीको रहेको छ । रसुवाका भन्सार प्रमुख रामप्रसाद पाठकले कडाइ गरेको भनेर प्रज्ञापन पत्र नभरेको व्यापारी बताए । पाठकको कार्यशैलीलाई लिएर नेपाली उद्योगी तथा व्यवसायीहरुमात्रै नभएर कर्मचारीहरु पनि खुशी छैनन् । भन्सार विभागका एक कर्मचारीका अनुसार भन्सार प्रमुख पाठक व्यापारीलाई आवश्कयताभन्दा बढी दुःख दिएको गुनासो आउने गरेको स्वीकारे ।

अर्थमन्त्री डा. महतकी पत्नी बिना महतले लेनादेनाका आधारमा रसुवा भन्सार प्रमुख बनेका हुन् पाठक  । प्रमुख पाठक  इश्वर गुभाजु र बुद्धराज बस्नेतको सामान यार्डमै खोलेर मिलाइदिएको, प्रतिकन्टेनर ५० हजारका दरले असुलउपर गरेको, क्यारिङवालासँग मिलेर अर्थमन्त्रीलाई पैसा बुझाउनुपर्छ भन्दै उठाइरहेको बिषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरमा ल्याएको समाचार स्रोतले बताएको छ ।

भालुबाङमा बस दुर्घटना : मृतक १२ मध्ये ८ जनाको सनाखत

हेटौंडा । दाङको भालुबाङमा बस दुर्घटनामा परि मुत्यु भएका १२ मध्ये ८ जनाको सनाखत भएको छ । बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति पुलबाट खस्दा मकवानपुरका एक युवासहित १२ जनाको मृत्यु भएको थियो । 

मृत्यु हुनेहरूमा मकवानपुरका ३९ बर्षीय सौरभ विष्ट, बाँके जिल्ला बस्ने वर्ष ६० का कुसुम बस्नेत, काठमाडौँ चन्द्रागिरि बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुन बहादुर रावत, बाँकेका वर्ष ३०का रामवरण हरिजन, रुकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी २३ जना घाइते छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। घाइतेहरूमध्ये ७ जना बुटवल, १४ जना कोहलपुर र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको उनले बताए।

प्रहरीका अनुसार नमस्ते यातायातको बसमा ३६ जना सवार थिए। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाको छ।

डलरको भाउ घट्यो, कुन मुद्रा साट्दा कति रुपैयाँ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

झापामा कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ७ घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकमा शनिबार राति कार र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्व तर्फ आइरहेको बा १४ च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट गइरहेको मे १० प ७२१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल सवार दमक नगरपालिका ९ बस्ने २३ वर्षीय अनुप ढकालको उपचारका क्रममा शनिबार राति पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा मोरङको उर्लाबारी-१ का २१ वर्षीय प्रदीप बस्नेत, कार चालक बिर्तामोड नगरपालिका-३ का ५० वर्षीय अनिल कुमार साह, कारमा सवार बिर्तामोड ४ बस्ने ५३ वर्षीय जयप्रकाश साह, कारमा सवार बिर्तामोड-३ बस्ने ४४ वर्षीय रञ्जन साह, सोही स्थानका ५३ वर्षीय ललित साह र नाम वतन नखुलेका २ व्यक्ति घाइते भइ विभिन्न अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै विद्युत् प्राधिकरण

काठमाडौँ । सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ । 

प्राधिकरण सञ्चालक समितिको गत मङ्सिर २५ गते बसेको बैठकले आवश्यक निर्णय गरेको छ । सञ्चालक समितिले अर्थ मन्त्रालयबाट अधिकृत पुँजी रु तीन खर्ब कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम खुद सम्पत्ति (नेटवर्थ) को दुई गुणासम्म प्रतिशेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा हाललाई प्रस्तावित अधिकृत पुँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई शेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय भएको छ । सो निर्णय यही पुस १९ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयमा पेस गरिसकेका छन् । 

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पनि सार्वजनिक संस्थालाई थप सबल बनाउने उद्देश्यका साथ शेयर जारी गर्न लागिएको बताएका छन् । सरकारले संस्थालाई आम नागरिकको बनाउने उद्देश्यका साथ यस्तो तयारी गरेको स्पष्ट पारेको छ । यसअघि नै सरकारले नेपाल दूरसञ्चार कम्पनीको समेत शेयर सर्वसाधारणमा बिक्री गरेको थियो । 

प्राधिकरणको शेयरको प्रतिकित्ता किताबी मूल्य करिब एक सय २५  कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी शेयर निष्कासनको प्रस्ताव गरिएको छ । यस हिसाबले प्राधिकरणको शेयर किन्न चाहने सर्वसाधारणले प्रतिकित्ता रु दुई सय ५० खर्च गर्नुपर्नेछ । 

प्राधिकरणको हाल अधिकृत पुँजी रु एक खर्ब २५ अर्ब बराबर छ । सरकारको लगानीको प्राथमिकता विभिन्न क्षेत्रमा रहने हुँदा ऊर्जा क्षेत्रमा गरेको बजेट विनियोजनले मात्र प्राधिकरणको हालको पुँजीगत लगानीका लागि आवश्यक स्रोत पर्याप्त नभएको ठहर गरिएको छ । त्यसका लागि प्राधिकरणले वैकल्पिक स्रोतमार्फत लगानी जुटाउनुपर्ने अवस्था छ । 

वित्तीय व्यवस्थापनका लागि वैकल्पिक स्रोतका रूपमा विभिन्न वित्तीय उपकरण प्रयोग गर्ने तयारी गरेको छ । त्यसमा साधारण शेयर, कर्पोरेट बण्ड, डिवेन्चर, ग्रिन बण्ड आदिमार्फत स्रोत जुटाउनुपर्ने आवश्यकता रहेको प्राधिकरणको बुझाइ छ । 

हाल सहमति प्राप्त अधिकृत पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्न आवश्यक छ । प्राधिकरण ऐन २०४१ को दफा (५) मा सर्वसाधारणलाई शेयर जारी गर्न सकिने व्यवस्था रहेको छ । सोही अनुसार प्राधिकरणको शेयर जारी गर्ने प्रस्ताव गरिएको हो । 

सर्वसाधारणलाई शेयर जारी गरी प्राप्त हुने रकम दीर्घकालीन लगानीका रूपमा जलाशययुक्त आयोजना निर्माण, प्रसारण तथा वितरण लाइनको विस्तार तथा सुदृढीकरण कार्यमा उपयोग गरिनेछ । प्राधिकरणसँग रहेको स्थिर सम्पत्तिको आधारलाई उपयोग गरी वित्तीय उपकरणमार्फत स्रोतको व्यवस्थापन गरी ठूला आयोजना निर्माण गर्न सकिने छ । 

शेयर जारी गर्दा प्राधिकरणको शेयर संरचनामा परिवर्तन हुनाका साथै सरकारको जोखिम तथा दायित्व कम हुने, सञ्चालक समितिमा शेयरधनीको प्रतिनिधित्व हुने भएकाले उत्तरदायित्त्व, पारदर्शिता, स्वायत्तता र सुशासनमा थप अभिवृद्धि हुनेछ । 

प्राधिकरणको अधिकृत पुँजी रु तीन खर्बको १० प्रतिशत शेयर पहिलो चरणमा सर्वसाधारणलाई जारी गर्न प्रस्ताव गरिएको छ । प्राधिकरणको आव २०७८÷७९ सम्मको शेयर पुँजी रु एक खर्ब ७५ अर्ब र सञ्चित नाफासहितको जगेडा कोष रु २७ अर्ब गरी जम्मा रु दुई खर्ब दुई अर्ब नेटवर्थ (शेयर निष्कासन प्रयोजनका लागि) रहेको छ । 

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को दफा २५ (क) बमोजिम खुद सम्पत्ति (नेटवर्थ) को अधिकतम दुई गुणासम्म प्रतिशेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न सकिने व्यवस्था छ । 

अधिकृत पुँजी रु तीन खर्ब पुर्याउने गरी अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएकाले उक्त पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने स्वीकृतिका लागि कार्यकारी निर्देशकले सञ्चालक समितिसमक्ष प्रस्ताव गरेका थिए । 

प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ’ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । 

डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । 

इक्राले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरूलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । 

क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा सङ्गठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने साङ्केतिक सूचकका रूपमा राय दिइन्छ । 

विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ । 

सरकारले विद्युत् विकासका आफ्ना कार्यक्रम कार्यान्वयन गर्न वार्षिक रूपमा बजेट विनियोजन, शेयरमा लगानी (नगद वा ब्याज–साँवा पुँजीकरण) र अन्य आवश्यक रकम/सञ्चालनमार्फत प्राधिकरणलाई सहयोग गरिरहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङका अनुसार सार्वजनिक निकायमध्ये प्राधिकरणले डबल ए प्लस क्रेटिड रेटिङ पाएकाले संस्थामा वित्तीय दायित्व बहन गर्न सक्ने उच्चतहको सुरक्षित क्षमता देखिएको छ । ‘क्रेडिट रेटिङबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो देखिएको छ । ऋण तिर्न सक्ने क्षमता देखिएको छ,’ उनले भने ।

कार्यकारी निर्देशक घिसिङका अनुसार आन्तरिक माग धान्न हिउँदका केही महिनामा हुने विद्युत् आयात प्रतिस्थापन छिट्टै हुँदै छ  । हरेक वर्ष हुने विद्युत् निर्यात वृद्धि, आन्तरिक रूपमा हुने विद्युत् खपत वृद्धि तथा प्रणालीको चुहावट नियन्त्रणमा हासिल भइरहेका सफलताले संस्थाको नाफा बढ्दै गएको देखाएको उनको भनाइ छ । 

विद्युत् उत्पादनतर्फका आयोजनाहरू निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि ठूलो पुँजी आवश्यक पर्ने छ, यसका लागि संस्थाले कमाएको नाफा र शेयर निष्कासनबाट प्राप्त हुने रकमबाट लगानीको खाडल पूरा गर्ने योजना तय गरेको छ । 

प्राधिकरणले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले निर्माण गर्ने जलविद्युत् आयोजनाहरूसँग दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरिरहेको छ । क्रेडिट रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखिन्छ । 

इक्रा नेपालले प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत् प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत् खरिद-बिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था भएको, सहायक कम्पनीसहित करिब एक हजार एक सय मेगावाटको विद्युत् उत्पादन क्षमता भएको, सरकारले हरेक वर्ष बजेटमार्फत ऋण र शेयरमा लगानी गर्ने गरेको उल्लेख गरेको छ । 

प्रसारण तथा वितरण प्रणाली सुधार तथा विस्तारका लागि गरिएको पूँजी प्रतिबद्धताले प्राधिकरणलाई अल्पकालीन रूपमा संस्थाको नगद प्रवाहमा चाप पार्न सक्ने इक्रा नेपालले उल्लेख गरेको थियो । प्राधिकरणले गत आर्थिक वर्ष २०७९-८० मा रु १२ अर्ब ३३ करोडको खुद नाफाको प्रक्षेपण गरेको छ । प्रणालीको विद्युत् चुहावट हाल १३ प्रतिशत बराबर छ ।

यस्तो छ २९ पुष २०८०, आईतवार (आज)को राशिफल

मेष : आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । बोलीमा सरस्वती बसेकाले सबैले प्रशंसा गर्नेछन्। बोल्दा ख्याल गर्नुपर्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा विश्वासको अभाव देखिन्छ।

वृष : दिन राम्रो छ। आम्दानी हुने दिन छ। पूर्वको यात्रा गरेमा अचानक धन खर्च हुनेछ। पिउने साथीसँग संगत नगर्नु राम्रो हुन्छ। परिवारको साथमा हुने भएकाले दिन रमाइलोसँग बित्नेछ। प्रेमीसँग भेट हुनेछ।

मिथुन : दैनिकी सामान्य राम्रो छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आर्थिक उन्नति हुनेछ। मानसिक खटपटीले आफूलाई घाटा गर्नेछ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ।

कर्कट : समय राम्रो छ। गणेशको दर्शन गरेमा दिन अझ सहज हुनेछ। हरेक क्षेत्र सबल छन्। स्वदेशमै रोजगारीको विकल्प देख्न सकिन्छ। परिवारमा भने विश्वासको अभाव हुनेछ।

सिंह : समय राम्रो छ। स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्र सबल देखिन्छ। पेट सम्बन्धी समस्या देखिन सक्छ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ। परिवारको साथ मिल्नेछ।

कन्या : दैनिकी सामान्य छ। गुमेको धन र हराएका साथी भेटिने योग रहेको छ। खुट्टा तान्ने सक्रिय रहेकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ। आजको दिन विचार पुर्याएर आफूलाई सुरक्षित राख्नु राम्रो हुन्छ।

तुला : हरेक क्षेत्र अब्बल छन्। आज परोपकार गर्नु राम्रो हुन्छ। धेरै मानिसले तपाईंको प्रतिक्षा गर्नेछन्। पारिवारिक शुत्रबाट साथ र सहयोग मिल्नेछ। प्रेस सम्बन्ध सुमधुर हुनेछ।

वृश्चिक : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा आरोप प्रत्यारोप र विरोधका स्वर सुन्न सकिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

धनु : बोलीको फन्दानमा पर्ने योग रहेको छ। विचार गरेर बोल्नु राम्रो हुन्छ। कामको प्रशंसा हुनेछ। शिक्षामा सफलता मिल्नेछ।

मकर : दैनिकी राम्रो छ। अचानक धन खर्च हुने भए पनि धर्म र समाजसेवामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा भइरहेको प्रयास सफल हुनेछ। परिवारमा खटपटी हुनेछ।

कुम्भ : समय राम्रो छ। कर्मको फल मिल्नेछ। तपाईंलाई न्याय हुनेछ। पन्छीलाई दाना दिनु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

मीन : समय सामान्य छ। हरेक क्षेत्र विवादित रहे पनि शिक्षामा गरेको लगानी र श्रमबाट लाभ प्राप्त हुनेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।