खाद्य तथा व्यापार कम्पनीले माग्यो  विभिन्न तहका लागि आवेदन (सूचनासहित)

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले पाँचौ तहको बरिष्ठ सहायकदेखि नवौं तहको सह विभागीय प्रवन्धक गरी खुलातर्फ ६० कर्मचारी माग गरेको छ ।
यस्तै कम्पनीले आन्तरिक परीक्षातर्फ ७,कार्यक्षमताबाट हुने बढुवातर्फ १५ र जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट ५ जनाका लागि दरखास्त खुलाएको छ ।

कम्पनीले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ ।

तोकिएको दस्तुर तिरेर माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ २५ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

बारा र लमजुङ दुई जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा अरु पनि हेरफेरकाे सुचीमा

काठमाडौँ । दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा भएको छ । गृह मन्त्रालयले लमजुङ र बाराका प्रजिअलाई गृह मन्त्रालयमा तानेर त्यहाँ नयाँ प्रजिअ खटाएको हो ।

गृहबाट सम्पत्ति न्युजलाई प्राप्त जानकारी अनुसार लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई मन्त्रालयमा सरुवा गरेर उमाकान्त अधिकारीलाई लमजुङको सिडिओ बनाई पठाइएको बताइएको छ। उनी त्यहाँ मन्त्रालयको कन्ट्रोलमा कार्यरत थिए । त्यसैगरी बारामा जनताको मन जित्ने गरि काम गरिरहेका प्रजिअ नवराज सापकोटालाई गृहमा तानेर केही दिनअघि मात्रै स्याङ्जाबाट मन्त्रालय आएका शशिधर घिमिरेलाई पठाइएको छ ।

लमजुङका प्रजिअको अवधि पुगिसकेको र बारामा भने माफियाको दबाब थेग्न नसकेर मन्त्रालयले बाध्य भएर सरुवा गरेको जानकारी प्राप्त भएको छ । प्रजिअ सापकोटाले बारा गए सगै त्यहाका तस्कर मात्रै होइन बिरगंज बाट कम भन्सार गराएर सामान भित्र्याउने गिरोहलाई निरुत्साहित मात्रै गराएनन, राजस्व बढाउने सरकारको लक्ष्य लाई भरपुर सहयोग गरिरहेका थिए। त्यस्तै प्रजिअ सापकोटाले बर्षौ देखि अपराधमा संलग्न सार्प सुटर लाई पक्राउ गराउन सफल भएका थिए। दैनिक जस्तो बिना भन्सार भित्र्याउने समान पक्राउ गराउन र जनताको सुरक्षामा ध्यान केन्द्रित प्रजिअ काम गर्दागर्दै एकाएक सरुवामा परेका छ्न।उनी यसअघि रोल्पा जिल्लामा दुई वर्ष प्रजिअको भुमिकामा सापकोटा कार्यरत थिए।

त्यस्तै मन्त्रालयको कन्ट्रोल हेर्दै आएका उपसचिव अधिकारी प्रजिअ भई गएसँगै त्यहाँ मन्त्रालयमै कार्यरत वरिष्ठ उपसचिवलाई खटाउने तयारी भइरहेको छ ।बाकी कतिपय जिल्लाका प्रजिअहरु पनि हेरफेरको सुचीमा रहेको बताइएको छ।

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ ।सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित बडामहाराजाधिराजको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिने कार्यक्रम छ ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गर्नुभएको थियो ।

उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । विसं १७७९ मा जन्मनुभएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गर्नुभएको थियो । उहाँले आफ्नो शासनकालमा दिनुभएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत  दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उहाँले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिनुभएको थियो ।

पछिल्ला वर्षमा उहाँको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुन: सुरु गरेको छ । उहाँको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट महानुभावले शुभकामना सन्देश दिनुभएको छ ।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । राष्ट्रनिर्माताले त्यसबेला दिनुभएको अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै कैयौँ सङ्घसंस्थाले विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका छन् । उहाँको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको हो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १४६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कस्तो छ तपाईंको आजको राशिफल ?

मेष : स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

वृष : आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।सामाजिक क्षेत्र सबल छ। शिक्षामा उन्नति हुनेछ। परिवारबाट खुशी मिल्नेछ।

मिथुन : दैनिकी सामान्य राम्रो छ। परिवारमा शंका उपशंका उठ्न सक्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नुपरेमा गति सीमित गर्नुपर्छ। दुर्घटनाको जोखिम हुने योग भएकाले यात्रामा सावधानी अपनाउनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ।

सिंह : दिन सामान्य राम्रो छ। परिवारमा एक्लै निर्णय गर्न खोज्दा समस्या हुनसक्छ। शिक्षाको क्षेत्रबाट उपलब्धि प्राप्त हुनेछ।

कन्या : अचानक चिट्ठा पर्ने सम्भावना देखिन्छ। आफूले आफूलाई सुधार गर्नुपर्ने दिन हो। बोली वचनमा ख्याल गरेमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध राम्रो छ।

तुला : समय राम्रो छ। प्रतिस्पर्धा गर्नेहरु सूर्य उदयपछिको अध्यारो भागेजस्तै हराउने देखिन्छ। बन्धुबाट सहयोग हुनेछ। शिक्षाको लगानीले फाइदा दिनेछ।

वृश्चिक : दैनिकी सामान्य छ। पश्चिम तर्फको यात्रा नगर्नु राम्रो। तीव्र गति आजको लागि राम्रो नहुन सक्छ। परिवारको साथ भने निरन्तर पाउने योग रहेको छ। प्रेम सम्बन्धमा उत्साह मिल्नेछ।

धनु : स्वास्थ्य र शिक्षा क्षेत्र राम्रो छ। वैदेशिक क्षेत्रको लगानीबाट प्रगति हुनेछ। गोपनीयता खोलिएमा परिवारमा समस्या हुनसक्छ। जसले गर्दा परिवारको साथ नमिल्न सक्ने देखिन्छ।

मकर : समय सामान्य राम्रो छ। बन्धुसँगको भेटले दिन रामाइलो हुनेछ। आफूले नजानेकै कारण धन खर्च हुने योग छ। परिवारमा विश्वास गुम्ने देखिन्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

कुम्भ : आर्थिक क्षेत्र सबल छ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा मन जाने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ।

राजतन्त्र इतिहास भइसक्यो, अब सम्भव छैन पूर्वप्रधानमन्त्री नेपाल


टीकापुर । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास भइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् ।

टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै नेपालले राजतन्त्र फर्काउन केही व्यक्तिले खुट्टा उचालिरहेको बताउँदै त्यो सम्भव नभएको दाबी गरेका हुन् ।

‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ ’ नेपालले भने, ‘केही मान्छेले खुट्टा उचालिरहेका छन् । राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन । ’

नेपालले फेरि दास बनाउने कुरा स्वीकार नहुने बताउदै बरू अहिलेकै व्यवस्थामा रहेर विकल्प खोज्न सकिने बताए ।

माओवादीको केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउन प्रस्ताव

नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीको आकार घटाउने भएको छ।पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ।

उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले गरेको यो प्रस्तावमा शनिबारदेखि बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने विधान मस्यौदा समितिका सदस्य गणेश साहले जानकारी दिए।

माओवादीमा अहिले ७ सयभन्दा धेरै केन्द्रीय सदस्यहरू छन्। गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले केन्द्रीय कमिटी घटाएर दुई अंकको बनाउने बताएका थिए।

यस्तै समितिले प्रदेश, जिल्ला, पालिका र वडा समितिहरूलाई कार्यकारिणी बनाउने प्रस्ताव गरेको छ।

केन्द्रीय विभागहरू घटाउने र एउटा विभागमा बढीमा १५ जना सदस्य राख्ने सहमति विधान मस्यौदा समितिले गरेको साहले जानकारी दिए।
बैठकमा पदाधिकारी र पार्टीले सरकारमा पठाउने मन्त्रीहरूको कार्यकाल दुईभन्दा बढी बनाउन नहुने विषयमा छलफल भए पनि उक्त विषय मस्यौदामा नराखिएको साहले बताए।
माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ। सम्मेलनअघि पार्टीले तयार पारेको विधान मस्यौदाबारे देशव्यापी छलफल गर्ने उक्त पार्टीले जनाएको छ।

विदेशीहरूलाई आकर्षित गर्न साउदी अरबले ल्यायो नयाँ भिसा योजना


काठमाडौं। साउदी अरबले बिहीबार नयाँ भिसा कार्यक्रम लन्च गरेको छ । तेलमाथि अर्थतन्त्रको निर्भरतालाई कम गरेर अर्थतन्त्रमा विविधीकरण गर्ने सरकारी योजना अनुसार विदेशी दक्ष कामदारहरू र लगानी आकर्षित गर्न नयाँ कार्यक्रम ल्याइएको हो ।

‘रोजगारीको नयाँ अवसर सृजना अनि ज्ञान स्थानान्तरणमार्फत देशको आर्थिक रूपान्तरणलाई डोर्‍याउन यो पहल लक्षित छ,’ विज्ञप्तिमा भनिएको छ । पाँच नयाँ प्रिमियम कार्यक्रम विशेष गरी स्वास्थ्य हेरचाह, खेलकुद र रियल स्टेट समेत पेसाकर्मीहरूका लागि लक्षित गरेर ल्याइएको छ ।

यी भिसामा साउदी अरब आउनेले व्यवसाय गर्ने, आफ्नो स्वामित्वमा घर जग्गा किन्ने र भिसा बाहक एवम् उसका परिवारका सदस्यको लागि वर्क पर्मिट लिने जस्ता अवसरहरू पाउनेछन् । सन् २०३० सम्ममा तेलमाथि साउदी अर्थतन्त्रको निर्भरता कम गरेर आर्थिक कायापलट गर्ने क्राउन प्रिन्स मोहम्मद बिल सलमानको भिजन २०३० अन्तर्गत यो कदम चालिएको हो ।

यसमा प्रत्यक्ष लगानी अन्तर्गत अर्बौ डलर विदेशी लगानी भित्र्याउने योजना पनि छ । खाडी क्षेत्रको व्यापार र व्यावसायिक हब योजनासहत साउदी र संयुक्त अरब इमिरेट्सबिच प्रतिस्पर्धा चर्किएकै बेला साउदीले नयाँ भिसा कार्यक्रम ल्याएको हो । हालैका वर्षमा युएईका अधिकारीहरूले विश्वभरबाट अति धनाढ्यहरूलाई युएईमा भित्र्याउन सुनौलो भिसा प्रणाली ल्याउने पहलहरू गरेका थिए।

भ्रष्टाचार मुद्दामा प्रहरी सहायक निरीक्षक भण्डारी पक्राउ

काठमाडौं । प्रहरी चौकी खडैया, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार भण्डारीले सेवाग्राहीसँग आठ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

कृषि प्रयोजनका लागि ल्याइएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस माग गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

शेयर बजार सामान्य घट्यो, ७ वटा कम्पनीको शेयरमा भने सकारात्मक सर्किट


काठमाण्डौ–लगातार तीन दिनसम्म बढेको शेयर बजार आज भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ६२ अङ्कले घटेर दुई हजार ८८ दशमलव ९९ विन्दुमा झरेको छ।
आज जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।
बजार घटेको दिन आज सात वटा कम्पनीको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै एबीआई बैंकको ऋणपत्र २०८९ साढे नौ प्रतिशतले घटेको छ ।
आज दुई करोड २१ लाख ३२ हजार कित्ता शेयर चार अर्ब ३० करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर शेयर २३ करोड ८५ लाख रुपैयाँमा कारोबार किनबेच भइरहेको छ ।

प्रधानमन्त्री नआएपछि माधव नेपाल र रञ्जिता श्रेष्ठले गरे नाउपा महाधिवेशनको उद्घाटन

कैलाली । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन सुरु भएको छ ।

कैलालीको टीकापुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नाउपा अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरेका हुन् ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन उद्घाटन गर्ने बताए पनि उनी नआएपछि नेपाल र श्रेष्ठले उद्घाटन गरेका हुन् ।
महाधिवेशनमा माधव नेपालबाहेक प्रमुख पार्टीका शीर्ष नेता आएनन् ।आज सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

लुम्बिनी प्रदेशमा आफ्नै गाडीबाट’ट्रायल’ दिन पाउने व्यवस्था लागू हुने

काठमाण्डौ – लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा आफ्नै गाडीबाट ‘ट्रायल’ दिन पाउने व्यवस्था लागू हुने भएको छ । सेवाग्राहीले आफ्नै गाडी तथा मोटरसाइकल प्रयोग गरेर ‘ट्रायल’ परीक्षा दिन माग गरेअनुसार यो व्यवस्था लागू गर्न यातायात कार्यालयहरूलाई निर्देशन दिएको लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको श्रम तथा यातायात व्यवस्था महाशाखा प्रमुख राजेन्द्रप्रसाद पन्थीका अनुसार अब सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ दिने क्रममा प्रयोग हुने गाडी स्वेच्छाले प्रयोग गर्न सक्नेछन् । बुधबार लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयका प्रमुखहरूसँगको छलफलमा उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले सेवाग्राहीलाई उनीहरूकै गाडी प्रयोग गर्नका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो ।

अब निजी गाडीले नै ‘ट्रायल’ दिन पाउने तर गाडी जाँच गरेर स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको महाशाखा प्रमुख पन्थीले बताउनुभयो । लाइसेन्स परीक्षा सञ्चालनसम्बन्धीको जिम्मेवारी अहिले पूर्णरूपमा प्रदेश मन्त्रालयअन्तर्गत छ । अहिले लाइसेन्सको लिखित परीक्षामा पास हुन १०० पूर्णाङ्कमा ६० अङ्क ल्याउनुपर्छ रु ट्रायुल परीक्षामा ७० अङ्क कटाए मात्रै पनि पास भइन्छ ।

गौशाला २६ को तस्वीर भन्दै सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन

काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक भएपछि यसप्रति प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।

ब्यूरोका एसपी पशुपति रायका अनुसार, यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेकहरुको खोजी भइरहेको छ ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

‘विद्युतीय माध्यमबाट ती तस्वीरहरु सार्वजनिक गराइएकाले ब्यूरोले यो विषयलाई नोटिसमा लिएको हो’, एसपी रायले भने ।

जिल्ला अदालत काठमाडौंले १३ पुसमा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तीन वर्षभन्दा भन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्था अनुसार बुधबारको मिति तोकिएको थियो ।

५ भदौ, २०७५ मा बन्द प्रशिक्षणमा रहेका बेला क्रिकेटर सन्दीप लामिछाने ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर पीडित (गौशाला २६) लाई भेटेका थिए । सन्दीपले पीडितलाई नगरकोट घुमाएर फर्किएपछि सिनामंगलस्थित एक होटलमा बास बसेको र त्यसक्रममा बलात्कार गरेको भन्दै पीडित गौशाला २६ ले जाहेरी दिएकी थिइन् ।

दश हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका


चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई रु छ करोड ३७ लाख अनुदान दिन लागेको हो । उनीहरुले दुई करोड १० लाख लिटर दूध बिक्री गरेबापत यो अनुदान पाउने छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दूधमा अनुदान दिन थालिएको हो । उनका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो । त्यसपछिका दुई वर्ष प्रतिलिटर रु एक र त्यसपछिका योसहित तेस्रो वर्ष प्रतिलिटर रु तीन अनुदान दिइँदै छ । गत वर्षको दूधको अनुदान रकम यो वर्ष दिइँदै छ । बजेटमा रु पाँच करोड ५० लाख दूधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पूरक बजेटमार्फत रु ८७ लाख थप गरिएको प्रमुख दाहालले जानकारी दिइन् । उनका अनुसार यति ठूलो रकम दूधमा अनुदान दिने स्थानीय तह भरतपुर हो ।

किसानलाई दूधमा अनुदान दिएसँगै दूध उत्पादन बढेको छ । अघिल्लो वर्ष दूधमा अनुदान रु पाँच करोड १० लाख दिइएको थियो । दूधको उत्पादन बढेसँगै अनुदान रकम थपिएको हो । उनले भनिन्, “अन्य क्षेत्रसँगै कृषि र पशुपालनमा महानगरले प्राथमिकता दिएर काम गरिरहेको छ ।”

महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार सहकारीमार्फत कृषकको बैंक खातामा अनुदान रकम पुर्‍याइनेछ । अनुदान पाउने भएसँगै कृषक उत्साहित भएको उनले बताए । उनले भने,“हामीले बाँड्ने रकम ठूलो छ । धेरै कृषक यसबाट लाभान्वित हुनुभएको छ ।” कृषि र पशुपालनमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा महानगर रहेको उनले जानकारी दिए ।

महानगरका पशुसेवा शाखा प्रमुख श्यामराज देवकोटाका अनुसार सहकारी र फार्मबाट आवेदन आइसकेकाले माघको पहिलो सातादेखि अनुगमन थालिँदै छ । यससँगै प्रक्रिया अघि बढाएर वैशाखसम्ममा अनुदान रकम कृषकको खातामा पुर्‍याइने उनले बताए ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले कृषिमा अनुदानका लागि रु आठ करोड विनियोजन गरेको थियो । पूरक बजेटमार्फत रु ८७ लाख थप गरिएको हो । यससँगै महानगरपालिकाले माछा पोखरीमा विद्युत्को ५० प्रतिशत अनुदान दिँदै आएको छ । पशुचौपायलाई नाम्ले जुकाको औषधि निःशुल्क वितरण, घरमा गएर बाँझोपन परीक्षण, काउ म्याट वितरण, पशु स्वास्थ्य शिविर गर्दै आएको छ । निर्वाहमुखी कार्यक्रमअन्तर्गत, बाख्रा, बङ्गुर, कुखुरा, हाँसमा अनुदान दिँदै आएको छ ।

आइपिओ निष्कासन गर्दै बन्दीपुर केबलकार

काठमाडौं। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि आइपिओ (प्रथामिक सेयर) जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

कम्पनीले शनिबार (पुस २८) साधारण सभा बोलाएको छ।

सो साधारण सभामा नियमित एजेन्डा बाहेक विशेष प्रस्तावको रूपमा कम्पनीको आइपिओ निष्कासन गर्ने प्रस्तावलाई पारित गरी औपचारिक रूपमा अगाडि बढ्ने गरी तयारी गरेको कम्पनी सचिव रमनमान श्रेष्ठले बताए।

कम्पनीले १०० रूपैयाँ अंकित दरका ३० करोड ६० लाख रूपैयाँ बराबरको ३० लाख ६० हजार कित्ता सेयर निष्कासन गर्नेछ।

जुन कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोडको १२ प्रतिशत हो। यस अन्तर्गत २ प्रतिशत स्थानीयलाई र २ प्रतिशत प्रवासी नेपाली, म्युचुअल फण्ड, कम्पनीको कर्मचारीहरूको लागि छुटाएको सचिवले श्रेष्ठले बताए।

यस परियोजनाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ। यो परियोजना दक्षिण एसियाकै मौलिक परियोजना भएको कम्पनीको दाबी छ।

परियोजनाको लागत ३ अर्ब ५८ करोड रूपैयाँ रहेकोमा बैंक ऋण १ अर्ब ३ करोड रहेको छ।

परियोजनाअन्तर्गत हाल बन्दीपुरमा केबलकार र पाँचतारे होटल सञ्चालनको अन्तिम तयारीमा छन्। साथै परियोजनाले आगामी दिनमा बन्दीपुरमै स्काइ वाकसहितको बन्जी पनि सञ्चालनमा ल्याउने बताएको छ।