बालविवाह अन्त्य गर्न लाइसेन्सको व्यवस्था गर्नुपर्छ: आरजु राणा


काठमाडौं। प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापित आरजु राणा देउवाले बालविवाह अन्त्यका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताएकी छन्।

बालविवाह अन्त्यविरुद्ध विभिन्न ६ वटा प्रदेशका १६ जिल्लामा अभियान चलाउँदै आएको वर्ल्ड भिजन नेपालले काठमाडौंमा बिहीबार गरेको कार्यक्रममा बोल्दै उनले सामाजिक सचेतनाका साथै कानुनी प्रबन्ध गरेर बालविवाह नियन्त्रण गर्नुपर्ने बताइन्।

बालबालिकालाई किशोरावस्थामा आउने परिवर्तनबारे सचेत गराउने, अभिभावकलाई बालविवाह गर्दा हुँदा बच्चाले भोग्नुपर्ने शारीरिक तथा मानसिक समस्याबारे सचेत गराउनुपर्ने भन्दै देउवाले कानुनी रुपमा वडाबाट अनुमति लिएर विवाह गर्ने प्रबन्ध गरेमा बालविवाह नियन्त्रण हुने बताइन्।

नेपालमा १५ वर्षमुनिको बालविवाह ८ प्रतिशत र १८ मुनि वर्षमुनिको बालविवाह ३३ प्रतिशत रहेको छ।
देउवाले सन् २०३० सम्म नेपालले बालविवाह अन्त्य गर्नुपर्ने लक्ष्य हासिल गर्न सामाजिक र कानुनी प्रबन्ध गर्नुपर्ने जोड दिइन्।
बालविवाह गर्ने परिवारलाई सरकारी सुविधाबाट वञ्चित गर्ने विकल्पमा पनि जानुपर्ने उनले बताइन्। यसमा सरकारसँग समन्वय गरेर कार्यान्वयनमा ल्याउन सभापति देउवाले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिलाई अनुरोध गरेकी छन्।

जलवायु परिवर्तन कम गर्न नेपालले बाँस खेती गर्नुपर्छ : विश्व खाद्य तथा कृषि सङ्गठन

काठमाण्डौ – विश्व खाद्य तथा कृषि सङ्गठनले जलवायु परिवर्तनको असर कम गर्न नेपालले बाँस खेती गर्नुपर्ने सुझाव दिएको छ।बिहीबार वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँग भेटवार्तामा सङ्गठनका प्रमुख क्यु दोङ युले जैविक विविधताको संरक्षण गर्न, भूक्षय रोक्नुका साथै जलवायु परिवर्तनको असर कम गर्न बाँस खेती विकल्प हुनसक्ने सुझाव दिनुभएको हो । उहाँले नेपालमा खेती नगरिएका र बाँझो जमिनको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

प्रमुख युले नेपालमा बाँस खेतीको सम्भावना धेरै रहेकाले राष्ट्रिय कार्यक्रम नै बनाएर अघि बढ्न सुझाव दिनुभयो । स्थानीय तथा प्रदेश सरकारले कृषि वनको कार्यक्रमलाई बढावा दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

भेटमा वन तथा वातावरणमन्त्री महतोले खाद्य, जल, ऊर्जा, वन र जैविक विविधतालाई एकीकृत रूपमा अगाडि बढाउने कार्यक्रम नेपालजस्ता बहुआयामिक जोखिम भएका देशमा आवश्यक रहेको बताउनुभयो ।
विश्व खाद्य तथा कृषि सङ्गठनका प्रमुख यु नेतृत्वको टोली तीन दिने भ्रमणका लागि काठमाण्डौ आएको हो । प्रतिनिधि मण्डलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालसँग भेट गरिसकेको छ । विश्व खाद्य कार्यक्रमले बिहीबार दिउँसो भविष्यको स्मार्ट बाली सम्बन्धी नीति संवाद गर्दैछ ।
विश्व खाद्य कार्यक्रमले नेपालमा सन् १९५१ देखि काम गर्दै आएको छ । यो नेपालमा काम गर्ने संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको पहिलो नियोग हो । विश्व खाद्य कार्यक्रमले नेपालमा खाद्य र पोषण सुरक्षा, दिगो प्राकृतिक स्रोत व्यवस्थापन, दिगो कृषि र ग्रामीण विकासमा काम गरिरहेको छ ।

जापानमा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, ५२ जना बेपत्ता


काठमाडौं । सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बिहीबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरी भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलिभिजनले जनाएको छ ।

मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, बाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक/एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

क्षेत्रीय सरकारले भूकम्प तथा अन्य आठ प्रकोपसँग सम्बन्धित मृत्युको समेत पुष्टि गरेको छ । भूकम्पको जोखिबाट बाचेका तर आर्थिक विपन्नताका कारण भूकम्पपछिको शारीरिक र मानसिक पिडा तथा चोटपटकले गर्दा मृत्युवरण गरेको सरकार क्षेत्रीय सरकारले जनाएको छ ।

बम्जनलाई सर्लाही जिल्ला अदालतमा दुई वटा मुद्दा चलाउने तयारी


काठमाडौं। काठमाडौंबाट पक्राउ परेका कथित ‘तपस्वी’ रामबहादुर बम्जनलाई बिहीबार सर्लाही जिल्ला अदालतमा उपस्थित गराइँदै छ । हत्या, बलात्कार र बेपत्ता आरोपमा पक्राउ परेका बम्जनलाई बुधबार मध्यरातमा सर्लाही सदरमुकाम मलङ्गवा पुर्याईएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवती बेपत्ता पारेको र यौन शोषण गरेको आरोपमा दुई वटा छुट्टाछुट्टै मुद्दा चलाउने तयारी गरेको छ । हाल जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखिएका बम्जनलाई अदालत खुलेपछि जिल्ला अदालत सर्लाहीमा पेश गर्ने तयारी छ ।

बम्जनमाथि २०७५ पुस १८ मा सर्लाहीको साविक कर्मैया गाविस वडा नम्बर–२ र हाल बागमती नगरपालिका–१२ की २८ वर्षीया रीता बोटेलाई बाराको हलखोरिया बनबाट गायब पारेको आरोपमा सर्लाही प्रहरीले अनुसन्धान गरी मिसिल बारा जिल्ला अदालतमा पठाइसकेको छ। घटना बारामा भएकाले यस मुद्दामा बम्जनलाई बारा जिल्ला अदालतमा पनि पेश गरिने छ।

२०७६ माघ २३ मा सर्लाहीको पत्थरकोटस्थित जंगलमा १४ वर्षीय बालिकामाथि यौन सन्तुष्टि प्राप्त गर्ने र यौन शोषण गर्ने गरेको निवेदन प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले पक्राउ गरेका बम्जन २०७१ साउनदेखि प्रहरीको फरार सूचीमा थिए । बुढानीलकण्ठबाट पक्राउ परेका बम्जनको घरबाट प्रहरीले १७ देशको मुद्रासहित ठूलोमात्रामा रकम बरामद गरेको छ। तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपैयाँ र १७ देशका मुद्रा बुधबारका नेपाली विनिमय दर अनुसार ३० लाख ९२ हजार चार सय ६ रुयैयाँ बरामद गरेको सिआईबीले जनाएको छ ।

सिआईबीले बम्जनको घरबाट मोटरसाइकलको क्लुबुक ३ थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, विभिन्न ब्राण्डका पेनड्राइभ २० थान, सोनी लेखिएको भ्वाइस रेकर्डर १ थान, विभिन्न ब्राण्डका मेमोरीकार्ड २ थान, ल्यापटप २ थान, विभिन्न ब्राण्डका मोबाईल १४ थान र ५ थान आई–प्याड र ट्याबहरु बरामद गरेको छ ।

निजी अस्पताललाई पुनः स्वास्थ्य बीमामा समेट्ने तयारी


काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई पुनः सेवा प्रदायक संस्थाको रुपमा समेट्ने भएको छ ।

यसअघि सरकारले आर्थिक २०८०र८१ को बजेटमार्फत बीमा कार्यक्रमलाई पुनर्संरचनाको आवश्यकता भएको भन्दै ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालमा मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । उक्त घोषणासँगै निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएका थिए ।

निजी अस्पताल तथा मेडिकल कलेजले बीमितको उपचार गरेवापत फर्जी बिल पेश गर्ने गरेको तथा बीमितको सुविधा थैली सक्ने हिसाबले मनपरी स्वास्थ्य परीक्षण गरेको भन्दै निजी अस्पतालसँग सम्झौता बन्द गर्नुपरेको सरकारको तर्क थियो ।

तर हालै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष बनेका डा. गुणराज लोहनीले तत्कालिन समयमा स्वास्थ्य बीमा बोर्डको नेतृत्वले सरकारलाई बुझाउन नसक्दा र अनुगमनमा भएको कमजोरीका कारण निजी अस्पतालमा सेवा बन्द गरिएको भन्दै अब सुरु गर्ने बताए ।

डा.लोहनीले सेवाप्रदायक संस्थालाई बीमितको उपचारवापत समान मूल्य तिर्ने व्यवस्थ ागर्ने र बीमाको नजरमा सरकारी र निजी अस्पताललाई एकै नजरबाट हेर्ने बताए ।

‘कुनै सेवा वीर अस्पतालमा २० हजार र नर्भिक अस्पतालमा पनि २० हजारमै पाइन्छ । समान मूल्य तिर्दा बोर्डका लागि सरकारी र निजी भन्ने हुँदैन’, डा. लोहनीले भने, ‘बीमाले नेपालमा निजी स्वास्थ्य संस्था छैन भनेर प्रमाणित गर्न खोजेको हो । तर यो विषय सरकारलाई बुझाउन सकिएको छैन ।’

यसभन्दा अगाडि सेवाप्रदायक संस्थाले गरेको बदमासीको अनुगमन प्रक्रियामा बोर्डको कमजोरीकै कारण यस्तो अवस्था आएको उनको भनाइ थियो ।

जनस्वास्थ्यविज्ञले सरकारी स्वास्थ्य संस्थाबाट सेवाको सुनिश्चितता गर्न नसक्ने र निजी क्षेत्रलाई पनि निषेध गर्दा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारितामा प्रश्न उठ्ने धारणा राखेका थिए ।

बोर्डले कुनै संस्थाले बदमासी गरेको पुष्टि भए कारबाही गर्नुपर्ने, तर निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा बन्द गर्दा बीमित थप मर्कामा पर्ने उनीहरुको भनाइ थियो ।

अधिंकाश निजी क्षेत्रले सेवा बन्द गर्दा बिमित मर्कामा परेको गुनासो बढेपछि पुनः समेट्ने निर्णय गरेको बोर्डको भनाइ छ ।

‘निजी स्वास्थ्य संस्थाले बीमा बोर्डसँग पनि पैसा लिए, बीमितसँग पनि लिए । बोर्डले अनुगमन गर्न सकेन । निजी सेवा प्रदायकले बदमासी गर्दा बोर्ड त्यहाँ पुग्न सकेन, बोर्ड पनि बदमासीमै मिसिन पुग्यो’, डा. लोहनीले भने ।

अहिले स्वास्थ्य बीमा गरेकाहरुलाई सरकारी अस्पतालले मात्रै सेवा दिन नसक्ने उल्लेख गर्दै उनले अनुगमन प्रक्रिया बलियो बनाउने र निजी अस्पताललाई पनि समेट्दै जाने बताए ।

‘उदाहरणका लागि विराटनगरमा स्वास्थ्य बीमा गर्ने मानिस कति छन् रु त्यहाँ सरकारी अस्पतालले कति धान्न सक्छ हेर्छौं । सरकारी अस्पतालले धान्न नसकेको अवस्थामा निजी स्वास्थ्य संस्थालाई समेट्दै लैजान्छौं’, डा. लोहनीले भने ।

बीमा बोर्डको तथ्यांक अनुसार कार्यक्रम बन्द गर्नु अगाडि सम्झौता भएका ५२ निजी स्वास्थ्य संस्था बोर्डमा थिए र बीमा कार्यक्रममा उनीहरुको योगदान ३० प्रतिशत हाराहारी थियो ।

गौशाला–२६ को तस्बिर सार्वजनिक गर्नेलाई रास्वपाले गर्यो कारबाही


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ ।

सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो । सापकोटाले गौशाला–२६ (परिवर्तित नाम)को तस्बिर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै यस मामिलामा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय फैसला गरेको थियो ।

बढ्यो चाकुको व्यापार, व्यवसायी भन्छन्- दैनिक डेढ लाखसम्मको बेच्दैछौं


काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको टोखामा चाकु बनाउन भ्याइनभ्याइ छ । काठमाडौंको टोखा चाकुका लागि प्रसिद्ध शहर हो । टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् ।

जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ । माघे संक्रान्तिमा चाकुको माग बढ्ने भएकाले चाकु बनाउने कामलाई उद्यमीहरुले तिब्रता दिएका हुन् ।

चाकु बनाउन पहिला उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ । हिजो आज टोखामा तराइबाट खरिद गरी ल्याइएको सख्खरबाट चाकु बनाइन्छ ।

सख्खरलाई करिब तीन घण्टा सम्म पकाउने, करिब आधा घण्टा सम्म चिस्याउने र राम्रोसँग तन्काएर ताडनुपर्छ । जसले गर्दा चाकुको रंग रातो हुन्छ भने खानको लागि पनि नरम र स्वादिलो हुन्छ । उद्यमीहरुका अनुसार ५० केजी चाकु बनाउन करिब ५ घण्टा लाग्छ ।

चाकु उत्पादनमा टोखा प्रसिद्ध भएको कारण मानिसहरु चाकु किन्नका लागि टोखा सम्म पुग्ने गर्छन् । टोखाको चाकु सबैभन्दा धेरै उपत्यकामै बिक्री हुने गर्छ भने विदेशबाट समेत माग आउने गरेको व्यवसायीहरु बताउँछन् । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यहाँ उत्पादित चाकु जापान र अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ ।

टोखाका उद्योगमा हाल सादा चाकुू मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।टोखा नगरपालिकाले आर्थिक वर्ष २०७९र८० को वार्षिक नीति तथा कार्यक्रममा टोखाको चाकु ब्राण्डिङ गर्ने योजना अघि सारेको थियो ।

चाकु व्यवसायी हुछे नारायण श्रेष्ठले पोहोरको भन्दा यसपाला व्यापार राम्रो भएको बताए । दिनको डेढलाख सम्म व्यापार हुने उनको भनाइ छ ।

मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु

काठमाडौ। मोटरसाइकल दुर्घटनामा परि एक दम्पतीको ज्यान गएको छ । कुइने कर्णाली चिसापानी सडक खण्ड अन्तर्गत कैलालीको कर्णाली चिसापानीमा पर्ने पितमारी नजिक बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको ज्यान गएको छ ।

दुर्घटनामा परी बर्दिया ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँका दम्पती ३८ वर्षीय खगेन्द्रप्रसाद ढकाल र ३४ वर्षीय महेश्वरी तिमिल्सिना ढकालको ज्यान गएको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीले जनाएको छ ।

उनीहरु अछामबाट कुइने चिसापानी हुँदै बर्दियाको ठाकुरबाबा नगरपालिका- १ भुरीगाउँ घरतर्फ आउँदै गरेका थिए । भे.१३ प.१०७४ नम्बरको मोटरसाइकल सवार दम्पती चिसापानी सडक खण्ड अन्तर्गत पर्ने पितमारी नजिक सडकदेखि झन्डै ३ सय मिटर तल नदी किनारको खोँचमा खसेका थिए । मोटरसाइकलसहित खोँचमा खसेका दम्पतीलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्काल प्रहरी पुग्दा मोटरसाइकल दुर्घटनामा परेको र नदी किनारको खोँचमा दुई जनालाई गम्भीर घाइते अवस्थामा देखेपछि प्रहरी र स्थानीयले उद्धार गरी नदीमा रबर बोटको सहायताबाट राति १० बजे चिसापानी पुल नजिक ल्याएर अस्पताल पुर्याइएको थियो । दुर्घटनामा गम्भीर घाइते दुवै जना पति पत्नीलाई अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

नेपालको मत्स्य अनुसन्धानमा सहकार्य गर्न नार्क र यूएसडीएका पदाधिकारी तयार


काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का पदाधिकारी र संयुक्त राज्य अमेरिकाको कृषि विभाग (यूएसडीए) का प्रतिनिधिका बीचमा मत्स्य अनुसन्धानका विविध बिषयमा सहकार्य गर्ने ’दयगतमा छलफल भएको छ ।

नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा भएको छलफलमा दुबै पक्षका बीचमा मत्स्य अनुसन्धानका विविध बिषयलाई कसरी प्रभावकारी रुपमा अगाडी बढाउँने भन्ने ’दयगतमा छलफल भएको छ ।

सो छलफलमा नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले मत्स्य अनुसन्धानमा नार्कले गरेको प्रगति र थप अनुसन्धान गर्नुपर्ने बिषयका ’दयगतमा जानकारी गराएका थिए । उनले नेपालमा पहाडी र उच्च पहाडी भेगमा चिसो पानीमा गरिने अनुसन्धानका लागि छुट्टाछुट्टै अनुसन्धान केन्द्रहरु रहेको तर गर्मी ठाउँमा मत्स्य अनुसन्धानको छुटै कार्यालय नरहेको हुँदा हाल कपिलवस्तुको बाणगंगामा नयाँ मत्स्य अनुसन्धान केन्द्रको स्थापनाका लागि काम भइरहेको बताए । उनले गर्मी र चिसो दुबै वातावरणमा मत्स्य अनुसन्धानमा सहकार्य गर्न नार्क तयार रहेको पनि बताए ।

यूएसडीएको तर्फबाट जोना ब्राउनले नेपालमा मत्स्य अनुसन्धान तथा विकासमा सहकार्य गर्न चाहेको र सहकार्यका बिषयहरु छलफलको चरणमा रहेको बताइन् । उनले नेपालमा माछा उत्पादन र खपतको प्रचुर सम्भावनालाई विचार गरी एक परियोजना मार्फत् सहकार्य अगाडी बढाउँन चाहेको बताइन् । उनले अनुसन्धानको प्रतिफललाई विस्तार गर्न निजी र सरकारी क्षेत्रको सहकार्यमा जोड दिइन् ।

लुथर्न वल्र्ड रिलिफका चिफ अफ पार्टी डा.मनजुरुल करिमले मत्स्य अनुसन्धानबाट प्राप्त नतिजालाई देशका अन्य क्षेत्रमा विस्तार गर्न नार्कसंगै सहकार्य गरी अगाडी बढनुपर्ने आवश्यक्ता औल्याए ।

सहभागिहरुले धान खेतमा माछापालनको सम्भाव्यता ’दयगतमा पनि छलफल गरेका थिए । नार्कका पूर्व कार्यकारी निर्देशक डा.टेकबहादुर गुरुङ्गले नेपाल माछा उत्पादनका लागि उपयुक्त ठाउँ भएको र विगतमा रेन्बो ट्राउट, टिलापिया जस्ता विशेष वातावरण चाहिने माछाहरुमा पनि सफलताका साथ अनुसन्धान गरी प्रविधि विकास भएको बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायका अनुसार छलफलमा नार्कका पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा.दोजराज खनाल, लुथन वल्र्ड रिलिफका प्रतिनिधि नारायण ज्ञवाली, राष्ट्रिय किट विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा.अजय श्रीरत्न बज्राचार्य, राष्ट्रिय विउविजन अनुसन्धान केन्द्रका प्रमुख डा.पल्लवी सिंह, राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख डा.कृष्णहरी घिमिरे, बैज्ञानिकद्धय समय गैरे, किशोर भण्डारी लगायतको सहभागिता रहेको थियो ।

कुमारी बैंकले घटायो ब्याजदर


काठमाडौं : कुमारी बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले प्रकाशित गरेको सूचनामा पुस महिनाको तुलनामा ब्याजदर घटाइएको उल्लेख छ।

अब बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८ दशमलव ११ प्रतिशत ब्याज दिने छ भने न्यूनतम ६ दशमलव ५० प्रतिशत ब्याज दिने छ।

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९ दशमलव ३१ प्रतिशत ब्याज दिएको थियो।

बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८ दशमलव ११ प्रतिशतका दरले ब्याज दिनेछ।

त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने छ। पुसमा महिनामा संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत थियो।

अनलाइन क्यासिनो गेम खेलाउने ३ व्यक्ती पक्राउ


काठमाडौं। क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसनमार्फत हारजित हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका-७ घर भएका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका-११ हिरापुर घर भएका २५ वर्षीय निशान गौतमलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार विभिन्न खेलहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखेर रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

वीरगन्जका मेयरविरुद्ध उजुरी, प्रशासनमा बोलाउने तयारी

पर्सा ।‘नक्कली’ बाबु बनेर झुटो विवरण पेस गर्दै एक किशोरीलाई वंशजको नागरिकता दिलाएको विषयमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध सामूहिक उजुरी परेको छ ।
सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा १६ जनाले उजुरी दिएका हुन् । सिंहले जन्म दर्ता लगायत सम्पूर्ण कागजपत्रहरू झुटो बनाएर २०७५ साल साउन १३ गते रुविना श्रेष्ठलाई वंशजको नागरिकता दिलाएको आरोप छ ।
किशोरीको नागरिकतामा बाबुको नाम राजेशमान सिंह र नागरिकता नम्बर १६०३१८८१७ खुलाइएको छ । सोही नागरिकता नम्बर सिंहले २०४५ साल वैशाख ६ गते जारी भएको नागरिकतामा उल्लेख छ ।

किशोरीको नागरिकतामा आमाको नाम भने खुलाइएको छैन । ‘नागरिकता ऐन विरुद्ध आपराधिक कार्य गरेकोले उजुरी उपर अनुसन्धान गरी रुविना श्रेष्ठले लिनु भएको नागरिकता, राहदानी खारेज गरी दुवै विपक्षीलाई हदैसम्मको दण्ड सजाय हुने गरी कारबाही गरी पाऊँ’ प्रशासनमा बुझाइएको उजुरीमा उल्लेख छ ।

रुविना श्रेष्ठले विवादित नागरिकताका आधारमा स्थानीय प्रशासनबाट २०७९ साउन २४ गते राहदानी निकाल्न सफल भएको देखिएको उजुरीमा उल्लेख छ ।

सिंहले नक्कली बावु बनेर नागरिकता प्राप्त गरेकी किशोरी हाल अध्ययनको सिलसिलामा अष्ट्रेलिया रहेको बताइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले महानगर प्रमुख विरुद्ध सामूहिक उजुरी आएकोले २०७५ सालमा रुविना श्रेष्ठलाई के आधारमा नागरिकता जारी गरिएको थियो, सो कागजपत्र खोज्ने काम भइरहेको जानकारी दिए ।

‘हाम्रो रेर्कडमा के के कागजपत्र छन्, नागरिकता जारी गर्दा क–कस्ले सनाखत गरेका थिए सम्पूर्ण कागजपत्र खोज्ने काम भइसकेको छ,’ भुसालले भने, ‘अव उहाँले रुविना श्रेष्ठलाई छोरी प्रमाणित गर्नुभयो भने खासै समस्या नहोला, होईन भने अरुको छोरीलाई आफ्नो बनाएर नागरिकता दिनु भएको हो भने नागरिकता ऐन अनुसार यो विषय अदालतमा जान्छ, र कानुन अनुसार कारबाही अगाडी बढ्छ ।’

रुविना श्रेष्ठको नाममा २०७५ साल साउन १३ गते पहिलो पटक षड् कुमार पोखरेलले नागरिकता जारी गरेका छन् भने दोस्रो पटक प्रतिलिपि नागरिकता २०७६ साल फागुन ८ गते विनय कुमार श्रीवास्तवले जारी गरेका छन् । श्रीवास्तव अहिले पनि जिल्ला प्रशासन कार्यालय पर्साको नागरिकता फाँटमै कार्यरत छन् । प्रमुख जिल्ला अधिकारी भुसालले केही दिनभित्र महानगरप्रमुख सिंहलाई बोलाएर सोधीखोजी गर्ने जानकारी दिए । महानगरको हिउँदे नगरसभा चलिरहेकोले तत्काल नबोलाइएको उनको भनाइ छ ।

हजारको नक्कली नोटसहित माछापोखरीबाट एक युवती पक्राउ


काठमाडौं । एक हजार रुपैयाँ दरका नक्कली नोटसहित काठमाडौंको बालाजुस्थित माछापोखरी चोकबाट एकजना पक्राउ परेकी छन् । बुधबार दिउँसो प्रहरीले काभ्रेको नमोबुद्ध नगरपालका–१० की २५ वर्षीया मनीषा न्यौपानेलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौंकै तारकेश्वर नगरपालिका–५, लोलाङमा बस्दै आएकी उनलाई एक हजार दरका पाँचथान नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा औषधि किन्ने क्रममा नक्कली नोटको कारोबार भएको सूचना प्रहरीले पाएको थियो । सोही आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई ती नोटसहित पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

बोतलको पानी सोचेभन्दा पनि खराब १ लिटरमा भेटियो २ लाख ४० हजार प्लास्टिकका कण


काठमाडौं। बजारमा पाइने बोतलको पानी जति खराब मानिन्छ, त्योभन्दा सयौं गुणा खराब हुने गरेको तथ्य वैज्ञानिक खोजबाट पत्ता लागेको छ। वैज्ञानिकहरुले गरेको एक अध्ययनअनुसार प्लास्टिकको बोतलमा प्याक गरिएको पानीमा प्लास्टिकका स–साना लाखौं कणहरु पाइन्छन्।

‘प्रोसिडिङ्ग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज’मा प्रकाशित यो खोजका लागि वैज्ञानिकहरुले नयाँ प्रविधिको प्रयोग गरेका बताइएको छ। हालै मात्र पत्ता लागेको यो प्रविधिको माध्यमबाट वैज्ञानिकहरुले प्लास्टिकको बोतलमा आउने पानीमा हुने प्लास्टिकका कणहरुको गणना गरे। गणनाका क्रममा १ लिटर पानीमा औसतमा २ लाख ४० हजार प्लास्टिकका कण भेटियो।

वैज्ञानिकहरुले अलग–अलग कम्पनीको पानी जाँच गरेका थिए। अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले प्लास्टिकको बोतलमा प्याक गरिने पानीमा पहिलेको अनुमानभन्दा धेरै गुणा बढी प्लास्टिकको कण पाइएको बताएका छन्, जुन चिन्ताको विषय भएको उनीहरुले उल्लेख गरेका छन्।

कोलम्बिया विश्वविद्यालयमा जिओक्यामेस्ट्रीका एसोसिएट प्रोफेसर बाइजान यानले भने, ‘यदि मानिसहरु बोतलबन्द पानीमा नानोप्लास्टिक हुने विषयलाई लिएर चिन्तित छन् भने उनीहरुले नल (धारा)को पानीलाई विकल्प सोच्नु पूर्ण रुपमा जायज हो। तर हामी बोतलबन्द पानी पिउनै हुँदैन भनेर भन्न सक्ने अवस्थामा छैनौँ। किनकि डिहाइड्रेशन ९निर्जलीकरण०को खतरा नानोप्लास्टिकको सम्भावित खतराभन्दा कयौं गुणा ठूलो हो।’

हालैका वर्षहरुमा खाद्य पदार्थमा माइक्रोप्लास्टिकको उपलब्धतालाई लिएर संसारभर नै चिन्ता बढेको छ। प्लास्टिकका यी कण नदी तथा महासागरदेखि उच्च पहाडमा जम्ने हिउँ (बरफ)मा पनि पाइएका छन्। यस्तै प्रकारले माइक्रोप्लास्टिक पिउने पानी र खानामा पुगिरहेको छ।

५ मिलिमिटरभन्दा पनि सानो टुक्रालाई माइक्रोप्लास्टिक भनिन्छ। यस्तै एक माइक्रोमिटर ९१ मिटर प्लास्टिकको अर्बौं टुक्रा०लाई नानोप्लास्टिक भनिन्छ। यी कणहरु यति साना हुन्छन् कि मानिसको पाचन तन्त्र र फोक्सोमा समेत प्रवेश गर्न सक्नछन्। पाचन तन्त्र र फोक्सोबाट नानोप्लास्टिकका कणहरुले रगतमा मिसिएर मस्तिष्क तथा हृदय समेत सबै अंगलाई प्रभावित गर्न सक्छन्।

प्लेसेन्टा (गर्भावस्थाको समयमा पाठेघरमा विकसित हुने अंग) बाट यी कणहरु गर्भमा रहेको बच्चको शरीरमा पनि पुग्न सक्छन्।

इकोसिस्टम र मानवीय स्वास्थ्यमा प्लास्टिकका यी कणहरुले कस्तोखाले असर पुर्‍याउँछन् भन्ने विषयमा अझे विस्तृत अध्ययन भएको छैन। यद्यपि सुरुवाती अध्ययनहरुबाट पत्ता लागेअनुसार प्लास्टिकका कणबाट मानिसमा ग्यास्ट्रिकको समस्याका साथै बच्चाहरु जन्मिँदा शारीरिक समस्याहरु देखिन सक्छन्।

लाइसेन्सको लागि प्रयोग हुने ६ लाख कार्ड आज आउँदै, माघदेखि छपाइ फेरि सुरू हुने

काठमाडौं। चालक अनुमति पत्र स्मार्ट लाइसेन्स छपाइको लागि प्रयोग हुने कार्ड सकिएपछि करिब ८ महिनादेखि लाइसेन्स छपाइको काम रोकिएको छ।

आगामी माघको पहिलो सातादेखि भने लाइसेन्स छपाइको काम पुनः सुरू हुने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले बताए।

उनका अनुसार लाइसेन्स छपाइको लागि प्रयोग हुने यस्तो कार्ड बिहीबार नेपाल आइपुग्दैछ।

‘कार्ड सकिएर करिब ८ महिनादेखि छपाइ रोकिएको थियो। आज कार्ड आइपुग्छ। एक साताको परीक्षणपछि माघको पहिलो सातादेखि लाइसेन्स छाप्न थाल्छौं,’ उनले भने।

यस्तो कार्ड छाप्न गत फागुनमा सरकार र जर्मनी कम्पनी मुहेल्बर आइडी सेवा जिएमबिएचसँग सम्झौता भएको थियो।

कम्पनीले १४ लाख ९८ हजार ८० डलरमा १२ लाख कार्ड छाप्ने ठेक्का पाएको हो।

पहिलो चरणमा कम्पनीले ६ लाख कार्ड हवाई कार्गो गरेर पठाएको छ। बाँकी ६ लाख दोस्रो चरणमा ४५ दिनपछि नेपाल आइपुग्ने महानिर्देशक रिजालले बताए।

कार्ड आइपुगेसँगै विभागले दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने गरी तयारी गरिरहेको छ।