चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिएका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन्।

उनले दुग्धजन्य पदार्थ बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी) का महाप्रवन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताए। संस्थानको ऋण बढाउने तर किसानको भुक्तानी समेत नदिएकाले जिम्मेवारबाट हटाएको उनको भनाइ थियो।

उनले चैतभित्रमा किसानहरुको दुग्धको भुक्तानी दिन निर्देशन गरेको भन्दै अहिले डिडिसीको मात्रै नभएर प्राइभेट क्षेत्रबाट पनि किसानहरुले भुक्तानी नपाएको समस्या रहेको जानकारी दिए। उनले धान उत्पादनको धेरै महत्व रहेकाले तराईमा सिंचाई सुविधा पुर्‍याउन आवश्यक रहेको बताए। उनले तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको बताए।

उनले कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टर मध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती भएको र ६८ प्रतिशत हिस्सा तराईमा भए पनि १७ प्रतिशत मात्रै बालीमा सिंचाई हुने गरेको बताए।
मन्त्री भुसालले तराईमा खाद्यन्न उत्पादन वृद्धिको लागिचुरे फेदीबाट पूर्वपश्चिम नहर बनाएर नदि प्रणाली जोड्नुको विकल्प नभएको बताए। नदी प्रणाली जोड्न नसके तराई मधेस मरुभूमि हुने उनले दाबी गरे।

नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन मन्त्री रेखा शर्माको निर्देशन


काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरुको विस्तार र मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन निर्देशन दिएकी छन् । उनले सेवा विस्तारमात्रै गरेर नहुने भन्दै त्यसको गुणस्तरलाई समेत प्रभावकारी बनाउन निर्देशन दिइन् ।

बुधवार मन्त्रालयमा नेपाल टेलिकमबाट रुकुम पूर्वको रुकुमकोट र रुकुम पश्चिमको मुसीकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिङ्क पुर्‍याएर फाइबर टु द होम (एफटिटिएच) सेवाको भर्चुअलरुपमा शुभारम्भ गर्दै उनले टेलिकमले सेवा विस्तारसँगै आफ्नो सेवाको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताइन् । मन्त्री शर्माले टेलिकमले आफ्ना सम्पूर्ण सेवाहरुको मर्मत सम्भारलाई पनि चुस्त बताउनुपर्ने बताइन् ।

‘सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ । प्रविधिको क्षेत्रमा आधारभुत पूर्वाधार भनेकै दूरसञ्चार रहेछ । सूचना र प्रविधिका विविध क्षेत्रमा, विविध आयाममा विकास गर्छु भन्दै गर्दा यदि दुरसञ्चार विकास भएन भने सम्भव नहुने रहेछ, मन्त्री शर्माले भनिन्, त्यसकारण यसमा हामीले विशेष ध्यान दिनु आवश्यक छ । फाइबर टु द होमको जुन सेवा विस्तार भइरहेको छ, तर गुणस्तर कायम गर्नु हाम्रोलागि चुनौतीको विषय हो । त्यसकारण नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुको गुणस्तर चुस्त दुरुस्त बनाउनुपर्छ ।

मन्त्री शर्माका अनुसार फाइवर टु द होमु सेवा हालसम्म देशका ७४ वटा जिल्लामा पुगिसकेको भन्दै बाँकी रहेका हुम्ला र डोल्पा जिल्लामा यसै आर्थिक वर्षभित्र पुर्‍याइसक्ने तयारी रहेको छ ।

राम बहादुर बम्जन पक्राउ परेपछि उनका समर्थकले गरे विरोध प्रदर्शन

काठमाडौं। ‘लिटिल बुद्ध’ को नामले चिनिएका रामबहादुर बम्जन पक्राउ परेपछि उनका समर्थकहरूले विरोध प्रदर्शन गरेका छन्।

बम्जनलाई हिजो केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०को टोलीले प्रकाउ गरेपश्चात् उनका समर्थकहरूले आज सीआईबीको कार्यालय अगाडि विरोध गरेका हुन्।

बालयौन दुराचार र बलात्कार आरोपी रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो।

बम्जनलाई आजै जिल्ला अदालत सर्लाहीमा उपस्थित गराएर म्याद थपिने केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न संसदीय समितिमा सुझाव


काठमाडौं( प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले देशभरका सामुदायिक विद्यालयमा कार्यरत ४० हजार विद्यालय कर्मचारीलाई सङ्घीय सरकारका दरबन्दीमा राखी सङ्घीय सरकारबाट सेवा सुविधा दिन माग गरेको छ।

विद्यालय शिक्षा विधेयकमाथि सरोकार भएका संस्थाका प्रतिनिधिसँग सुझाव लिने क्रममा आज आयोजित बैठकमा सङ्घका अध्यक्ष शशीकुमार केसीले सामुदायिक विद्यालयका कर्मचारीको पद, श्रेणी र तह निर्धारण गरी हालसम्म कार्यरत सबै खालका कर्मचारीको समायोजन गरी प्रक्रिया पूरा गरी स्थायी गरिनुपर्ने माग गरे।

विधेयकको दफा १०८ मा ‘यो ऐन प्रारम्भ हुँदामा बखतसम्म कार्यरत रहेका विद्यालय कर्मचारी स्वतः दरबन्दीमा समायोजन हुनेछन् र ऐन प्रारम्भ भएपछि विद्यालय कर्मचारीको दरबन्दीको प्रबन्ध गरिने’ भनी थप गरिनुपर्ने तथा शिक्षक सेवा आयोगले लिने परीक्षामा कार्यरत कर्मचारी आन्तरिक परीक्षाबाट स्थायी गरिनुपर्ने व्यवस्था राख्न आग्रह गरे।

अध्यक्ष केसीले सोही दफामा उपदफा ४ थप गरी सर्वोच्च अदालतको बमोजिमको सर्भिल ल कार्यान्वयन हुने उल्लेख हुनुपर्ने, कार्यालय सहायक (नासु, खरिदार) कुन तह हो भन्ने स्पष्ट हुनुपर्ने, कार्यालय सहयोगीको तह स्पष्ट हुनुपर्ने, उमेर हद पुगेर सेवाबाट अवकाश भएका विद्यालय कर्मचारीको सेवा अवधि गणना गरी उपदानको व्यवस्था हुनुपर्ने र परीक्षा नदिइ अवकाश लिन चाहने वा परीक्षामा अनुत्तीर्ण भएमा उपदानको व्यवस्था गरिनुपर्नेमा जोड दिए।

विधेयकको दफा १०९ मा सुविधासहित सेवाबाट बिदा हुने विद्यालय कर्मचारीले सञ्चित, बिरामी, घर बिदा र औषधि उपचार खर्च तथा उपदान बापतको रकम प्रचलित कानुनबमोजिम पाउनेछ भन्ने उल्लेख हुनुपर्ने तथा सोही दफाको १.१. मा थप गरी विद्यालय कर्मचारीलाई हालसम्म कुनै पनि सेवा सुविधा उपलब्ध नभएकाले लामो अवधिदेखि कार्यरत कर्मचारीलाई मर्का पर्न जाने हुँदा २० वर्षे मापदण्ड हटाउनुपर्ने सङ्घको माग रहेको छ।

सुर्तीजन्य पदार्थको बेचबिखन रोक्ने विराटनगर महानगरको निर्णयविरूद्ध अदालतको अन्तरिम आदेश


विराटनगर। सुर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउने विराटनगर महानगरको निर्णयविरूद्ध उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ।

सार्वजनिक स्थानमा वा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐनविपरीत हुनेमा बाहेक सुर्तीजन्य पदार्थ गैरकानुनी रूपमा जफत नगर्न–नगराउन भन्दै उच्च अदालतले महानगरविरूद्ध अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीशद्वय गणेशप्रसाद बराल र ममता खनालको इजलासले पुस २३ गते सोमबार अन्तरिम आदेश जारी गरेपछि महानगरले साउन १ देखि लगाएको सुर्तीजन्य पदार्थमाथिको रोक खुला हुने भएको छ।

गएको चैत २८ मा विराटनगर महानगरले सार्वजनिक सूचना गर्दै साउन १ देखि सुर्तीजन्य पदार्थ, गुट्खाजन्य पदार्थ बेचबिखनमा रोक लगाएको थियो। साउनयता महानगर क्षेत्रमा सुर्तीजन्य पदार्थहरु उपलब्ध रहे पनि खुला रूपमा बेचबिखन रोकिएको थियो।

महानगरको यस्तो निर्णयले पेशा व्यवसायमा असर पुगेको भन्दै श्रीराम टोबाको उद्योग प्रालिका तर्फबाट पुस ८ मा बलराम अधिकारीले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए।

अधिकारीले महानगरको निर्णयले पेशा व्यवसायमा असर परेको, उत्पादन गर्न दिने तर बेचबिखन गर्न नदिने निर्णय गलत भएको भन्दै त्यसविरुद्ध उत्प्रेषण, परमादेश र प्रतिषेध लगायत उपयुक्त आदेश गरिपाउँ भन्दै रिट दायर गरेका थिए।

सोही रिट उपर अदालतले अन्तरिम आदेश जारी गरेको हो। रिटको टुंगो नलागेसम्म सुर्तीजन्य पदार्थ गैरकानुनी रुपमा जफत नगर्न नगराउन पनि अदालतले आदेश दिएको छ।

‘सार्वजनिक स्थानमा वा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐन विपरित हुनेमा बाहेक प्रस्तुत रिट निवेदनको टुंगो नलागेसम्म निवदेक कम्पनीले उत्पादन गरेका सुर्तीजन्य पदार्थ गैरकानुनी रूपमा जफत नगर्नू नगराउनू भनी विपक्षी मध्यका विराटनगर महानगरपालिकाको नाममा उच्च अदालत नियमावली २०७३ नियम ४२ १ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ,’ अदालतको अन्तरिम आदेशमा भनिएको छ।

उच्च अदालतले निवेदकको पेशा व्यवसाय गर्ने हकमा असर परेको नदेखिएको ठहर पनि गरेको छ।

माओवादीको स्थायी कमिटी बैठक पुष २८ गते, यस्तो छ छलफलको एजेण्डा


काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

विधान मस्यौदा, नेताहरुको कार्यविभाजन र जनतासँग माओवादी अभियानको समिक्षा गर्न यही पुष २८ गते शनिबार स्थायी कमिटी बैठक बोलाईएको हो ।

माओवादीको विधान अधिवेशनको लागि नेताहरुले तयारी तिव्र पारेका छन् ।

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, सातै प्रदेशका प्रमुख फेरिए (नामावलीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक(डिआइजी) को सरुवा भएको छ। 

सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्। कोसीमा चन्द्रकुवेर खापुङ, मधेशमा यज्ञविनोद पोख्रेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूपश्चिममा रवीन्द्र केसी प्रदेश प्रहरी प्रमुखका रूपमा आउनेछन्।

तीन वटा फरक फरक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट


काठमाडौँ।साताको चौथो कारोबार दिन बुधबार तीन वटा अलग–अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनी छन् । धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिनदेखि सोमबारदेखि हिमालयन रि–इन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

बुधवार कम्पनीको सेयर १० प्रतिशतले बढेर ४११.५० रुपैयाँमा पुगेको छ। मार्केट डेप्थमा कम्पनीको ३० लाख ८४ हजारभन्दा बढी कित्ता सेयर खरिद अर्डर छ भने बिक्री अर्डर शून्य छ ।

यसैगरी, कारोबार भने ३ अर्ब ६० करोड रुपैयाँभन्दा माथि भएको छ ।

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बैठक बुधवार दिउँसो ३ बजेका लागि बोलाएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीले तय गरेका उम्मेदवार र त्यसपछि पार्टीमा देखिएको असन्तुष्टिका साथै पार्टी विधानबारे छलफल हुनेछ । नेकपा एकीकृत समाजवादीमा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटप्रति असन्तुष्टि देखिएको छ ।

उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टीबाट राजीनामाको घोषणा नै गरेका छन् । ‘समग्रमा राष्ट्रियसभाको जुन परिकल्पना गरिएको थियो । दलहरू त्यो भन्दा विपरीत १८० डिग्रीमा गएका छन् । यसले हाम्रो पार्टीमा मात्रै होइन हरेक पार्टीमा असन्तुष्टि देखिएको छ’, खनालले सम्पत्ती न्युजसँग भने, ‘हाम्रो पार्टीमा देखिएको असन्तुष्टिबारे सचिवालय बैठकमा छलफल हुन्छ ।’

नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनसँगको भागबन्डामा माघ ११ मा हुने १९ राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई सिट पाएको छ । त्यसमा सो पार्टीले बागमती प्रदेशको दलित कोटामा घनश्याम रिजाल (दोलखा) र कर्णाली प्रदेश महिला कोटामा सावित्री मल्ल (दैलेख )लाई उम्मेदवार बनाएको छ ।

कर्मचारी सञ्चयकोषले दिने स्वास्थ्य उपचार सुविधा अब सञ्चयकर्ताको दम्पतीले नै पाउने


कर्मचारी सञ्चयकोषले यस अघि सञ्चयकर्तालाई मात्रै दिने गरेको स्वास्थ्य उपचार सुविधा अब सञ्चयकर्ताको दम्पतीले नै पाउने गरि व्यवस्था गरेको छ ।

फागुन १ गतेदेखि लागू हुने गरि कोषले सञ्चयकर्ताको पति वा पत्निलाईसमेत उपचार सुविधा समावेश गरेको जानकारी दिएको हो । कोषले साधारण रोगको हकमा प्रत्येक वर्ष बढिमा रु. १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा रु. १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

यसैगरी सोही मितिदेखि लागू हुने गरी सञ्चयकर्ताले उपचार गराउने अस्पतालहरुको सूची तयार गरिएको र सो सूचीमा उल्लिखित अस्पतालहरुमा उपचार गराएको हकमा मात्र स्वास्थ्य उपचार सुविधा उपलब्ध गराईने पनि जनाइएको छ । स्वास्थ्य उपचार सुविधा कोशी प्रदेशका १५, मधेश प्रदेशका ९, बाग्मती प्रदेशका ६०, गण्डकी प्रदेशका १५, लुम्बिनी प्रदेशका १६, कर्णाली प्रदेशका २ र सुदूरपश्चिम प्रदेशका तीन अस्पतालबाट लिन सकिनेछ ।

बर्लिनाले ट्यालेन्टमा नेपालका यि पाँच फिल्मकर्मी छानिए

काठमाडौं– बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको बर्लिनाले ट्यालेन्टमा नेपालका पाँच फिल्मकर्मी छनोट भएका छन्।

विश्वप्रसिद्ध यो फेस्टिभलले आज विश्वभरका २ सय २ फिल्म फिल्ममेकरको नाम सार्वजनिक गरेको हो।

जसमा फिल्म ‘रेड सुटकेश’का निर्देशक फिडेल देवकोटा, प्रोडक्सन डिजाइनर राम लाल खड्का, साउण्ड डिजाइनर उत्तम न्यौपाने, अभिनेत्री गौमाया गुरुङ र स्क्रिनराइटर राजन कठेत छनोट भएको जानकारी दिएको हो।

उक्त ट्यालेन्टका लागि१ सय ३१ देशबाट ३ हजार ८ सय ३२ जनाले आवेदन दिएका थिए।

राम बहादुर बमजनको आश्रमबाट ४ बेपत्ता, निवासबाट ३ करोड बढी रुपैयाँ र १४ मोवाइल बरामद


काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रामबहादुर बमजनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जनाएको छ ।

उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरी प्राप्त भएको केन्द्रीय अनुसन्धान ब्युराका प्रवत्ता नवराज अधिकारीले जानकारी दिए ।

अनुयायी बेपत्ता पारेको आरोप लागेका बमजनलाई मँगलबार साँझ सिआइबीले बुढानिलकण्ठको हात्तिगौँडाबाट पक्राउ गरेको थियो ।

बेपत्ता भएकामध्य बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला रहेका छन ।

बमजनको निवासबाट ३ करोड ३४ लाख ७५ हजार ५ सय रुपैयाँ र ३० लाख ९२ हजार ६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको सिआइबीले जनाएको छ ।

त्यस्तै बमजनबाट प्रहरीले १४ थान मोबाइल, ५ थान आइप्याड र २० वटा पेन्ड्राइभ पनि बरामद गरेकोछ । बमजनले प्रयोग गर्ने २ वटा गाडी र ४ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ ।

बमजनमाथि थप अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ ।

सुन र चाँदी दुवै सस्तो


नेपालमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ सय र चाँदी ५ रुपैयाँ सस्तो भएको हो।

यसअनुसार बुधबार छापावाल सुन १ लाख १८ हजार ५ सय र तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँ मूल्यमा कारोबार भएको छ।

गोंगबु बिनायक अस्पताल जनताको उपचारमा सक्रिय

काठमाडौँको गोंगबुस्थित रहेको विनायक अस्पताल तथा प्रसुतिगृह प्रा.ली.ले आफ्नो २७ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा वार्षिक साधारणसभा भएको थियो । २० गते सम्पन्न साधारणसभाले बिभिन्न पेसामा उद्कृष्ट सेवा गर्ने कर्मचारीलाई नगद सहित सम्मान गरेको थियो । करिव ४ करोड लगानीबाट सुरु भएको अस्पतालको सम्पति अहिले करिव ३९ करोड पुगेको भन्दै करिव ५ बर्षमा यस अस्पतालले आफ्नो सम्पति एक अर्व पुर्याउने लक्ष्य राखेको छ । अरिकल इभेन्ट पा।ली। महाराजगन्जमा भएको वार्षिक साधारणसभामा आफ्नो मन्तब्य राख्ने अधिकाँश संचालक समितिमा रहेका सदस्यहरुले व्यवस्थापनको उच्च प्रशंसा गरेका थिए ।

बि.स. २०५२ सालमा यो अस्पताल चावहिलमा स्थापना भएको थियो । बि.स.२०६१ सालमा गोंगबुमा सारिएको थियो । यो अस्पताल अहिलेसम्म भाडामा रहेको भवनमा भएपनि अब भने आफ्नो नयाँ भवन निर्माण गरेर सात बर्षभित्र सर्ने तयारीमा रहेको छ । करिव ५ बर्ष अगाडी नै अस्पतालले गोंगबुमा २ रोपनी जग्गा खरिद गरिसकेको छ भने अहिले ४ बर्षको लागि जग्गा भाडामा दिएकोले छिट्टै नै भवन निर्माण गर्ने तयारी भैरहेको छ । अस्पताल ८ तलाको बन्नेछ । करिव २० करोड लगानीमा बन्ने उक्त भवनमा २ तला अण्डरग्राउन पार्किङ हुनेछ । अब नयाँ भवन बनेपछि यो अस्पताल अहिलेभन्दा थप शशक्त र सुविधासम्पन्न बन्नेछ । आइसीयु र भेन्टिलेटरसहित आबस्यक अन्य सुबिधा पनि थपिने छन् । प्रबन्ध निर्देशक केपी लामीछानेले सबैको साथ र सहयोग लिई अस्पतालको उदेश्य र लक्ष्य हासिल गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नवराज लामिछानेले गरेका थिए । अहिले विनायक अस्पतालमा एक्स रे,भिडियो एक्स रे सेवासंगै सिटिस्क्यान सेवा पनि उपलब्ध भएको छ । द्धम् भिडियो एक्स रे सेवा समेत यस अस्पतालमा उपलब्ध छ । यस बाट गर्भवती महिलाहरुको पेटमा रहेको बच्चाको अवस्था, बच्चा चलेको लाइभ देख्न र बच्चाको अनुहार स्पष्ट देख्न तथा फोटो, भिडियो लिन समेत सकिनेछ ।

थाइराइड तथा ब्रेस्टको भिडियो एक्स रे पनि यसबाट हुन्छ । यो अत्याधुनीक सुबिधा सम्पन्न भिडियो एक्स रे सेवा हो । समय सापेक्ष र नयाँ प्रविधिको प्रयोग गरेर सुरक्षित रुपमा आमा र बच्चाको स्वास्थ स्थितिको जानकारी दिने र सम्भाव्य जोखिमबाट सतर्क गराउने तथा उचित उपचारको मार्गदर्शन गराउने भएकाले गर्भावस्थामा अल्ट्रासाउन्डको अत्यन्त उच्च महत्त्व रहेको छ। साथै यसमा इको (बिशेष मुटु हेर्ने) सुबिधा पनि रहेको छ । पछिल्लो समय प्रबन्ध निर्देशकमा केपी लामिछाने नेतृत्वमा आएपछि दिनप्रतिदिन विनायक अस्पतालको मुहार फेरिँदो अबस्थामा छ । विनायक अस्पतालमा हाल ५ आइसीयु र ३ भेन्टिलेटर रहेकोमा यसलाई पनि बिस्तार गर्ने योजना अस्पताल प्रसाशनले बनाएको छ । बिनायकले आधुनिक सुबिधासंम्पन्न ओपीडी सेवा थप गरेको छ । अब विनायकमा क्याबिनसहितको सुविधायुक्त रुममा आरामदायी रुपमा उपचार गर्न पाइने भएको छ । यस क्याबिनमा टेलीफोन,टेलिभिजन, इन्टरनेट,सोफा, आरामदायी बेड देखि तातो-चिसो पानी समेत उपलब्ध छन् । यस अस्पतालले अहिले एउटा मात्र रहेको (अपरेसन थ्रिएटर) बिस्तार गरि दुईवटा बनाएको छ । यस सुविधाले अब अपरेसन गर्दा पालो पर्खनुपर्ने बाध्यताको अन्त्य भएको छ । यस अस्पतालले स्पाइनल (घाँटीको पछाडिको भाग) को समेत उपचार गरिरहेको छ ।

यस अस्पतालमा डाक्टर ५५-६० जनाले सेवा दिईरहेका छन् भने डाक्टर,नर्स र अन्य कर्मचारीसहित करिव १२०-१३० जनाले सेवा दिइरहेका छन्। विनायकमा क्याबिनसहितको सुविधायुक्त रुममा आरामदायी रुपमा उपचार गर्न पाइनेछ । अस्पतालले २ वटा डिलक्स क्याबिनसहित ११ वटा क्याबिन संचालनमा ल्याएको छ । यस क्याबिनमा टेलीफोन, टेलिभिजन, इन्टरनेट, सोफा, आरामदायी बेड देखि तातो-चिसो पानी समेत उपलब्ध हुनेछन । अहिले अस्पतालले दाँतसम्बन्धि सम्पूर्ण उपचार गर्ने भएको छ ।अस्पतालले गरिब असाय जनताको निशुल्क उपचार गर्दै आइरहेको निर्देशक पशुपति लामिछानेले सम्पत्ति न्युज लाई बताए ।

इन्जिनियरिङ लाइसेन्स परीक्षाको आवेदन खुल्यो, अनलाइनबाटै फाराम भर्न सकिने

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाको लागि आवेदन खुलाएको छ ।एक सूचना जारी गर्दै परिषद्ले अनलाइन आवेदन खुलाएको हो ।

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ (पहिलो संशोधन ऐन, २०७९) को व्यवस्था बमोजिम परिषद्ले आवेदन माग गरेको हो ।

यसअन्तर्गत २५०० रुपैयाँ तिरेर आगामी पुस २९ गतेदेखि फागुन ६ गतेसम्म र दोब्बर दस्तुर बुझाएर फागुन १३ गतेसम्म आवेदन दिन सकिने छ ।

परीक्षाको मिति तथा अन्य जानकारी हेर्न यहाँ र आवेदन फाराम भर्न यहाँ क्लिक गर्नुहोस् ।