भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार छैन :प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय परराष्ट्रमन्त्री नेपाल आएका बेला भएका सम्झौताबारे धेरै तनाव लिनुपर्ने अवस्था नरहेको प्रस्टीकरण दिएका छन् । बुधवार संसद्को कानुन समितिको बैठकमा नेपाल-भारत सम्झौताबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले चाहेको बेला यस्ता सम्झौताहरू गर्न सक्ने प्रस्ट पारे ।‘त्यसकारण यो परिस्थितिमा यो सम्झौताबारे धेरै तनाव लिनुपर्ने स्थिति छैन । नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिनसक्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले हालै भारतसँग भएको सम्झौतामा भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार समेत नभएको बताए ।
भारतीय विदेशमन्त्री डा.एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सिधै समुदायमा सञ्चालन गर्न सक्ने लगायतका चार बुँदे सम्झौताको आलोचना भएपछि प्रधानमन्त्रीले प्रस्ट पारेका हुन्

नतिजा दिने योजना छनोट गर्न सचिब दङ्गालको सुझाव

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालले सार्वजनिक निकायले कुनै पनि आयोजना तथा कार्यक्रमहरू छनौट गर्दा कार्यान्वयन योग्य र नतिजा दिने गरी छनौट गर्नुपर्ने बताएका छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई आइतबार सुर्खेतमा सम्बोधन गर्दै सचिव दंगालले आयोगमा उजुरी पर्दैमा कोही डराउन नपर्ने तर कार्य सम्पादन गर्दा ऐन कानुनको पालना गर्दै स्वच्छ र पारदर्शी ढङ्गबाट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।

आयोगले आफ्नो वार्षिक प्रतिवेदन मार्फत र पटक पटक समयमा  दिएका सुझावहरू सबै निकायले पालना गर्नुपर्ने कुरामा जोड दिँदै उनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका महत्त्वपूर्ण रहने बताए । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि बन्न बाँकी आवश्यक कानुनहरू बन्नुपर्ने, कानुनहरूमा समयानुकूल परिवर्तन गर्नुपर्ने, जन पक्षीय कानुनहरू निर्माण गर्नुपर्ने बताए । सुशासन प्रवर्द्धनमा जनप्रतिनिधि र कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले राष्ट्रसेवक कर्मचारीहरूले सेवा प्रवाहमा ढिलासुस्ती, लापरबाही र मोलाहिजा नगरी चुस्त दुरुस्त, छिटो छरितो र पारदर्शी रूपमा कार्य सम्पादन गरेमा भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतका कार्यालय प्रमुख माधव प्रसाद पोखरेलले कार्यपत्र प्रस्तुत गरे । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका महान्यायाधिवक्ता गङ्गा प्रसाद पौडेलले आयोगको समग्र विवरण सहितको कार्यपत्र प्रस्तुत गरे ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मङ्गल बहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जी.सी., जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला बि.क., उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण बहादुर बि।सी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, प्रदेश सरकारका सचिवहरू, सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका कार्यालयका प्रमुखहरू लगायतको उपस्थिति रहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

दुई सचिवको सरुवा संचारमा सुवेदी, वित्त आयोगमा राउत

काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ । मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रामकृष्ण सुवेदीको सरुवा गरेको हो । 

राउतलाई आयोग र सुवेदीलाई सञ्चार मन्त्रालयमा सरुवा गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयको स्रोतबाट जनाएको छ । 

सचिव राउत चैत १४ गते मधेस प्रदेशको प्रमुख सचिवबाट सञ्चार मन्त्रालयमा सरुवा भई आएका थिए । नेपाल टेलिकमको नयाँ बिलिङ ठेक्का, आइएसपीलगायतका विषयमा जोडिएका समस्याहरु चरम उत्कर्षमा पुगिरहेका बेला सचिव राउतको सरुवा भएको हो । बिभिन्न थरिका स्वार्थ समुहहरूको चलखेल रहँदै आएको र चौतर्फी आलोचनाको सामना खेपी रहेको बेला मन्त्रालयबाट १० महिनामै सचिव सरुवा हुनु परेको मन्त्रालय स्रोत ले सम्पत्ति न्युजलाई बताएको छ । 

सञ्चारबाहेक गृह सहित अन्य केही मन्त्रालयका सचिवहरूको सरुवा हुने चर्चा रहे पनि यस पटकलाइ भने दुई सचिवको मात्रै निर्णय भएको समाचार स्राेतले बताएकाे छ।  

कोरोनाको नयाँ भेरियन्ट पुष्टिपछि सबै विमानस्थल र एयरलाइन्समा स्वास्थ्य मापदण्ड पालना गर्न सर्कुलर


कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमानस्थल र एयरलाइन्समा स्वास्थ्य मापदण्ड पालना गर्न सर्कुलर गरेको छ ।
प्राधिकरणको मंगलबार बसेको बैठकले नेपालमा पनि कोरोना ओमिक्रोनको शव भेरियन्ट जे एन पुष्टि भएकाले स्वास्थ्य मापदण्ड पालनाका लागि आवश्यक निर्णय गरेको हो । संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि जनस्वास्थ्यका सबै मापदण्डहरू जस्तै भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन० पालना गर्न–गराउनुहुन प्राधिकरणले सम्पूर्ण विमानस्थलहरू, सम्बद्ध एयरलाइन्स तथा विमानस्थलस्थित अन्य निकायहरूलाई सर्कुलर गरेको प्रबन्धक विनोद कुमार पन्तले जानकारी दिए ।

१४० भाषामा गाएर युवतीले राखिन् विश्व कीर्तिमान


एक भारतीय युवतीले विभिन्न १४० वटा भाषामा गीत गाएर विश्व कीर्तिमान कायम गरेकी छिन् ।
भारतको केरालामा बस्ने सुचेता सतीशले यूएईको दुबईमा आयोजित एक कन्सर्टका क्रममा अविश्वसनीय ढंगले करिब १२ दर्जन भिन्नभिन्न प्रकारका भाषामा गीत गाउँदै विश्वमा सर्वाधिक भाषामा गीत गाउने व्यक्तिको रुपमा गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भइन् ।एक भारतीय युवतीले विभिन्न १४० वटा भाषामा गीत गाएर विश्व कीर्तिमान कायम गरेकी छिन् ।
भारतको केरालामा बस्ने सुचेता सतीशले यूएईको दुबईमा आयोजित एक कन्सर्टका क्रममा अविश्वसनीय ढंगले करिब १२ दर्जन भिन्नभिन्न प्रकारका भाषामा गीत गाउँदै विश्वमा सर्वाधिक भाषामा गीत गाउने व्यक्तिको रुपमा गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भइन् ।
गिनिज वर्ल्ड रेकर्डस्ले पनि उनको विश्व कीर्तिमानलाई आधिकारिता प्रदान गरेको छ ।
गिनिज वल्र्ड रेकर्डस्का अनुसार दुबईस्थित भारतीय वाणिज्य दूतावासको सभाहलमा जलवायु परिवर्तनसँग सम्बन्धित जागरुकता बढाउनका लागि उनले १४० भाषामा सांगीतिक प्रस्तुति दिइन् ।
उनको १४० संख्या यसकारण छनोट गरेकी छिन् किनकि उक्त संख्या दुबईमा कोप २८ शिखर सम्मेलनमा सहभागी १४० देशको प्रतिनिधित्व गर्ने संख्या थियो ।
सुचिताले त्यस क्रममा करिब ९ घण्टा गीत गाएकी थिइन् ।

बलात्कार मुद्दामा दोषी ठहर सन्दीपमाथि आज सजाय तोकिने

काठमाडौँ- बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथिको सजाय आज तोकिने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो।

तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर दुबै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था रहेकाले आज सोही अनुरूप गर्न लागिएको छ।

पीडित गौशाला–२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो।

दर्जनौँ कर्मचारी सहसचिव र उपसचिवमा बढुवा, २१९ जनाको सरुवा (सूचीसहित)

काठमाडौँ । न्याय सेवा आयोगले दर्जनौं कर्मचारीलाई सहसचिव र उपसचिवमा बढुवा गरेको छ । भने आयोगले २१९ जना कर्मचारीको सरुवा गरेको छ । मंगलबार बसेको आयोगको बैठकले कानुन, न्याय र सरकारी वकिल समूहका राज राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो ।

आयोगले न्याय समूहका उपसचिव वा सो सरहका पदमा १४ जनाको बढुवा गरेको छ भने कानुन समूहका तीन जना र सरकारी वकिल समूहका ६ जनलाई उपसचिव सरहमा बढुवा गरेको छ ।

उच्च अदालत पोखरा, दिपायल, विराटनगरसँगै जिल्ला अदालतहरू सिन्धुपाल्चोक, महोत्तरी, नुवाकोट लगायत कार्यालयहरूमा न्याय सेवाका कर्मचारी सरुवा गरेको हो ।

कानून, न्याय र सरकारी वकिल समूहका कर्मचारीहरुलाई ज्येष्ठता र कार्य सम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनका आधार बढुवा गरेको हो ।

कटहरियामा तालाबन्दी पछि जनप्रतिनिधि उत्रे खबरदारीमा 

रौतहट २४ पुस। मेयर अजयप्रकाश जैसवाल माथि भ्रष्टाचारको आरोप लगाउँदै कटहरिया नगरपालिकामा तालाबन्दी गरेका जनप्रतिनिधिहरु खबरदारीमा उत्रेका छन्।

उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले सोमवार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका जनप्रतिनिधिहरु मंगलवार बिहानै देखि कार्यालयको प्राङ्गणमा बसेर खबरदारी सुरु गरेका हुन्।

खबरदारी टोलीमा उपमेयर यादव,वडा २ का अध्यक्ष भूपेन्द्र कुशवाहा,४ का अध्यक्ष चन्दन कुशवाहा,५ का अध्यक्ष सर्फलाल गुप्ता,७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापती शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्व वडा अध्यक्ष उमेश यादव, वडा प्रत्याशी हरेन्द्र यादव रहेका छन्।

जनप्रतिनिधि तथा पार्टी प्रतिनिधि कार्यालय समय बिहान १० बजे देखि साँझ ५ बजेसम्म नगरपालिकाको प्राङ्गणमा बसेका थिए। उक्त खबरदारीको क्रममा उनीहरुले सञ्चारकर्मी लाई सम्बोधन गर्दै यो कुनै पार्टीको लड़ाई नभई नगर बचाऔं अभियान भएकाले सहयोग गर्न सम्पूर्ण नागरिक तथा कर्मचारी लाई आग्रह गरेका थिए।

आफूहरुको माग सम्बोधन नभएसम्म नगरपालिकाको ताला नखोलिने बरु थप सशक्त आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका थिए।

जनप्रतिनिधिले तालाबन्दी गरेको बावजूद नगरपालिकाका अधिकांश कर्मचारी कार्यालय बाहिरै बसेर समय गुजारेका थिए।

करोडौ रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै हिसाब किताब सार्वजनिक गर्नुपर्ने माग सहित उपमेयर रिता देवी यादव सहितका जनप्रतिनिधिले मेयर जैसवालको कार्यकक्षमा तालाबन्दी गरेका छ।

निर्वाचित भएदेखिनै जनप्रतिनिधिहरु लाई झुक्याएर हस्ताक्षर गराई करोडौं रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। बिभिन्न ८ बुन्दे माग गर्दै उपमेयर यादव सहितका जनप्रतिनिधिको टोलीले कर्मचारीलाई कोठा बाहिर निकालेर छुट्टाछुट्टै फाँटहरुमा तालाबन्दी गरेको हो।

नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत देखि खट्दैआएको कर्मचारी, डोर, करार, सफाईकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने न राख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठक बाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै बिगतमा नगरक्षेत्र भित्र हैन्डपाईप जडानमा छुट्याईएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विधुत पोल खरिदको लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जमा गराई सम्झौता गर्नु पर्ने, आर्थिक बर्ष २०७९१ ०८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघ संस्था बाट आएको योजनाको प्रगती बिवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी , करार, डोर,को संख्या, नाम ठेगाना सहित, उनीहरूको तलबमानको बिवरण, तथा भुक्तानी बारे लिखित जानकारी गराउन माग गरिएको छ।

नगरपालिकाको स्वास्थ, जिनसी, प्रशासन बाहेक मेयर समेतको कार्यकक्षमा तालाबन्दी पछि उपमेयर रिता देवी यादव लगायत जनप्रतिनिधिले तालाबन्दीको कारण बारे बताएका थिए।

मेयर अजयप्रकाश जैसवालले करार कर्मचारी, डिजल पेट्रोल, कर्मचारीको खाजा लगायत बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ अनियमितता गरिरहेको आरोप लगाएका थिए। गत १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा उक्त बिषय बारे जानकारी माग्दा मेयर जैसवालले आज २३ गते हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण बिवरण पेस गर्ने बताएका थिए। १८ गतेको सूचना अनुसार आज भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जैसवाल , प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह सहित अनुपस्थित रहेको उपमेयर यादवले बताईन। एकातर्फ मेयर अधिकृत बैठकमा सहभागी नहुनु र अर्को तर्फ मेयरको मानिस हिँउदे अधिवेशनको लागि कार्यपालिका सदस्यहरुको घरघरमा निर्णय पुस्तिका लागेर हस्ताक्षर गराउन सुरुगरेकाले मेयरको नियत ठीक नरहेको उपमेयर यादवले बताईन। एकातर्फ बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ निकासा गरेर अनियमितता गरेका मेयर अजयप्रकाश जैसवालले हिँउदे अधिवेशन सकेर पुनः रकम निकासा गराउने दाउमा देखिएकाले बाध्यभएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको उपमेयर यादवाका साथै जनप्रतिनिधिहरुले बताएका छन्।

मासिक १० लाख भन्दा बढिको डिजल पेट्रोल खर्च, नगरको स्थायी कर्मचारीको मासिक करिब १० लाख तलब आउने स्थानमा करार देखाएर मासिक ३५ लाख तलबको नाउँमा मेयर जैसवालले लीनेगरेको उनीहरूले दाबी गरेका छन। सोमवार नगरपालिकामा तालाबन्दी पछि मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह मंगलवार कार्यालयमा अनुपस्थित देखिएका छन्। सञ्जय मिश्रा 

राप्रपा विवाद लोहनीको निर्देशन कोशी नपुग्दै विष्ट सभामुख चुनिए

काठमाडौं । कोशी प्रदेशमा सभामुख लिएको विषयलाई लिएर राप्रपामा विवाद भएको छ । प्रदेशको नेतृत्वले सभामुख लिएपछि डा। प्रकाशचन्द्र लोहनीले निर्देशक समितिको बैठक राखेर फिर्ता गर्न निर्देशन दिएका छन् ।
कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले सभामुख लिन आग्रह गर्दै आएको थियो, तर राप्रपालाई राष्ट्रियसभामा एक सिट दिनुपर्ने सर्त राख्यो । सत्ता गठबन्धनले त्यसको सुनुवाइ नगरेपछि सभामुख मात्र भए पनि लिन राप्रपा तयार भएको थियो ।२४ पुसका लागि प्रदेशसभाको बैठक पूर्व निर्धारित थियो । मंगलबार बिहानै उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढ्यो । संसदीय दलका नेता भक्ति सिटौला प्रस्तावक र राप्रपाकै प्रेमराज थामसुहाङ समर्थक बसेर अम्बरबहादुर विष्टले उम्मेदवारी दर्ता गरे ।
तर उनी सभामुख निर्वाचित नहुँदै नेता डा। प्रकाशचन्द्र लोहनीले पार्टीको निर्देशक समितिको बैठक बोलाए । मलेसिया गएका अध्यक्ष राजेन्द्र लिङ्देन आइपुगेका थिएनन् । त्यसैले महामन्त्रीहरु समेत रहेको निर्देशक समितिको बैठक उनले बोलाएका थिए ।पार्टी कार्यालयमा बसेको बैठकमा उपाध्यक्ष बुद्धिमान तामाङ, हेमजङ गुरुङ लगायतका नेताहरु थिएनन् । नेता लोहनीसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा सभामखु लिन नहुने पक्षमा थिए । बैठकले त्यही निर्णय लियो ।
‘हामी संविधान संशोधन हुनुपर्छ भनेर आन्दोलनमा जाने तयारी छौं’ निर्देशक समितिका संयोजक डा। लाहनीले भने, ‘जसको विरुद्धमा आन्दोलन गर्ने भनिएको हो, त्यसको रक्षा गर्ने पद लिन मिल्दैन ।’ उनले त्यसअनुसार प्रदेश समितिलाई लेखेर पठाउन पार्टी कार्यालयका अधिकारीहरुलाई निर्देशन दिए ।
तर निर्देशक समितिको निर्णय प्रदेशमा नपुग्दै कोशीमा प्रदेशसभा बैठक सुरु भयो । प्रस्तावक राप्रपा संसदीय दलका नेता सिटौलाले विष्टलाई सभामुख बनाउने प्रस्ताव राखे, थामसुहाङले समर्थन गरे । एक जनाको मात्र उम्मेदवारी परेकाले राप्रपा प्रदेशसभा सदस्य विष्ट सभामुखमा निर्विरोध निर्वाचित घोषणा भए ।
कोशीमा त पार्टीका प्रदेशसभा सदस्य विष्ट सभामुख निर्वाचित भइसके नि भन्ने प्रश्नमा राप्रपा नेता लोहनीले पार्टीको निर्णय विपरीत जान नमिल्ने बताए । पार्टी अध्यक्षकै नेतृत्वमा केही दिन पहिले बसेको बैठकले सभामुख पद नलिने निर्णय गरेको भन्दै उनले भने, ‘फिर्ता गर भनेका छौं । राजीनामा दिएर भने पनि गर्नुपर्छ ।’

कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी  [सूचनासहित]

कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न २४ पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ ।

आयोगले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको हो। आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ पदका लागि दरखास्त आह्वान गरेको हो।

दोस्रो युद्धविराममा विपिन जोशीको रिहाइको ठोस पहल गर्ने कतारको आश्वासन


कञ्‍चनपुर । कतारले हमास–इजरायल युद्धमा बेपत्ता पारिएका कञ्चनपुरमा विपिन जोशीको रिहाइका लागि दोस्रो युद्धविरामका बेलामा ठोस पहल लिने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुर पुगेर यस विषयमा जानकारी दिएका हुन् ।
‘विपिन जोशीको रिहाइका लागि निरन्तर कतार सरकारसँग कुरा भइरहेको छ’ मन्त्री साउदले भने, ‘दोस्रो युद्धविरामका लागि गृहकार्य भइरहेको छ । दोस्रो युद्धविराममा विपिनको रिहाइका लागि ठोस पहल गर्ने आश्वासन कतार सरकारले दिएको छ ।’यसअघि मंसिर पहिलो सातादेखि चार दिनसम्म चलेको युद्धविरामका क्रममा विपिनको रिहाइको अपेक्षा गरिएको थियो ।
हमासले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति गरेको थियो । तर त्योभन्दा बढी संख्यामा रिहाइ गरे पनि विपिन रिहाइ भएका थिएनन् ।

नेप्सेमा दोहोरो अंकको वृद्धि, विकास बैंकहरुमा लगानीकर्ताको आकर्षण

मंगलबार दोस्रो बजारका लगानीकर्ताहरु विकास बैंकहरुतर्फ आकर्षित भएको देखिएका छन्। यस दिन विकास बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै सो उपसमूहको परिसूचक पनि सर्वाधिक बढेको छ। आज नेप्से २०.६२ अंकले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा बन्द भएको हो ।   

त्यस्तै, आज ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये १६५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको १ लाख ४ हजार पटकको कारोबारमा ६ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ७९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, अप्पर सांगे हाइड्रोपावर, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेपाल वेयर हाउजिङ्ग, तेह्रथुम पावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.१९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन निफ्राको साढे १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सोल्टी होटलको कारोबार रकम साढे १७ करोड नाघेको छ।

जागरण अभियान चलाउने राजेन्द्र महतोको तयारी, तयार गरे दुईवटा दस्ताबेज


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
लोसपामा असन्तुष्ट उनले छुट्टै अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । उनले सुरुमा मधेसमा अभियान सञ्चालन गर्ने र त्यसपछि नयाँ पार्टी बनाउने योजना बनाएको बताइएको छ । त्यसका लागि दस्ताबेज समेत तयार गरिसकेको उनी निकट स्रोतको भनाइ छ ।
नेता महतो निकट स्रोतका अनुसार उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ र ‘अब के गर्ने रु’ भन्ने शीर्षकमा दुई वटा दस्ताबेज तयार गरिसकेका हुन् । ती दुई दस्ताबेज लिएर उनी मधेसमा जाने बताइएको छ ।
मधेसमा आन्दोलनको अझै आवश्यकता रहेको र त्यसको तयारी थाल्ने गरी उनी अभियानमा निस्कन लागेको बताइन्छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीलाई आफूखुशी चलाएको आरोप महतोको छ । केन्द्रीय समिति तथा पदाधिकारी बनाउँदा थुप्रै नेताहरूलाई बाहिर राखेको र त्यसलाई सच्याउने प्रतिबद्धता जनाए पनि नसच्याएको गुनासो नेता महतोको रहेको छ ।
आन्दोलनमा लागेका नेता तथा कार्यकर्तालाई जन्म कैदको फैसला सुनाए पनि लोसपाका अध्यक्ष महन्थ ठाकुरले केही नगरेको गुनासो नेता महतोको रहेको छ । यसरी नेता तथा कार्यकर्तालाई जेल नै हाल्न थालेपछि नेता महतोले अध्यक्ष ठाकुरलाई सरकारबाट फिर्ता हुन समेत आग्रह गरेका थिए ।
तर अध्यक्ष ठाकुरले सरकारबाट फिर्ता हुनु कता हो कता उल्टै गठबन्धन सरकारलाई निरन्तरता दिने विज्ञप्ति जारी गरेको गुनासो नेता महतोको छ ।

चुनाव हारेकालाई राष्ट्रिय सभा उम्मेदवार बनाउनु राजनीतिक व्यवस्था माथिकै गम्भीर प्रहार हो ; रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले चुनावमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउनु राजनीतिक व्यवस्था माथिकै गम्भीर प्रहार भएको बताएका छन्।
चुनाव हारेकाहरू राष्ट्रिय सभा उम्मेदवार भएकोमा लामिछानेले आपत्ति पनि जनाएका छन्।
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनाव हारेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार छन्।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदसमेत रहेका लामिछानेले चुनाव हारेकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने कुराले यो व्यवस्थामाथि गम्भीर प्रहार गरेको बताए।
उनले राज्यका सबै जिम्मेवार निकायमा मेरिटका आधारमा चयन गरिनुपर्ने बताए। संवैधानिक परिषदको सदस्यहरुको नियुक्ति पनि मेरिट बेसको आधारमा गर्ने भनेर संविधान र कानूनमै व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
लामिछानले राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी भएको पनि बताएका थिए।
‘चुनाव हारेका मानिसहरू राष्ट्रिय सभामा उठिरहेका छन्,’ उनले भने, ‘तपाईंहरुले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि१त्यसैगरी तपाईंको मुटुमा अर्को ढुंगा बस्छ। फेरि अर्को ढुंगा राखेर तपाईहरु हाँस्नुपर्ने अवस्था आउँछ। मलाई विश्वास छ–यहाँहरुको पुस्ताले लडेर हाम्रो पुस्ताले त्यो सौभाग्य प्राप्त गर्न सकेन व्यवस्था परिवर्तनका लागि। गोली थाप्ने, छाती थाप्न अगाडि बढन पाएन। मौका परे हामी पनि चुक्दैनौं। त्यसका लागि हामी पनि गोली थाप्छौं। तर त्यसरी गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदा खेरि व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदा यहाँहरुले गर्ने प्रतिवाद खोइ त
उनले व्यवस्थालाई थिलथिलो बनाउने काम भएको पनि बताए।
‘व्यवस्थालाई हाईज्याक गर्ने अवस्था हामी पुगिसक्यौं भने पछि फेरि संवैधानिक निकायका यस्ता ठाउँहरुमा हामीले देख्यौँ नि एक पटक प्रमुख प्रतिपक्ष दलको नेता आइदिनु भएन। अर्को पटक सभामुख आइदिनु भएन। यही कुरा निरन्तर भइरहन्छ भनेर यो बैठक बसेको हो,’ उनले भने, ‘यसले उहाँहरुको नैतिकतामा प्रश्न गर्न मिल्दैन भनेको भए त यो लज्जास्पद विषयमा हामी बस्नै पर्ने थिएन नि।’

८० हजार घुससहित पक्राउ परेका बुढानिलकण्ठका सब-इन्जिनियर र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर टिकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका तत्कालीन सब(इन्जिनियर राई र ठेकेदार सुनुवारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।


घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग ८० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत मंसिर १४ गते सब इन्जिनियर राई र ठेकेदार सुनुवारलाई पक्राउ गरेको थियो।

अख्तियारले राईविरुद्ध ८० हजार विगो र जरिवाना र सुनुवारलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (२२) बमोजिम आधा सजाय हुन मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो।