भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण


भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ ।
हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । “भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ÷छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ”, उनले भने, “अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।”
हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास ९होम आइसोलेसन० मा बस्न सुझाव दिइएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् ।

कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना सङ्कलन गरेर काठमाडौँ पठाइएको प्रमुख साउदले बताए । “भेरिएन्ट एकिन गर्न नौ जनाको नमूना काठमाडौँ पठाएका छौँ”, उनले भने, “दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।”
कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

म्याग्दीका किसानले सुन्तला बेचेर कमाए डेढ करोड

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन्। यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन भने घटेको बताइएको छ।
राखुगाउँका एउटै किसानले पाँच लाखदेखि नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन्।राखुकी मनकुमारी पुनले यस वर्ष सुन्तला बेचेर ९ लाख रूपैयाँ आम्दानी भएको बताइन्।
उनले विगत डेढ दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवाको पनि उत्पादन गरिरहेकी छन्।
अगुवा कृषक पुनले यस वर्ष अन्यत्र जिल्लाबाट आएका व्यापारीलाई बोटबाटै सुन्तला बिक्री गरेको बताए।
सुन्तला उत्पादनका लागि जिल्लामै प्रख्यात मानिने तल्लो र माथिल्लो राखुमा रहेका ६५ घरधुरीले यस वर्ष करिब डेढ करोडको सुन्तला फलाएको अर्का अगुवा कृषक खिम पुनले जानकारी दिए।
सो गाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाखसम्मको सुन्तला उत्पादन गरेका छन्।

यस वर्ष नयाँ बोटले समेत फल दिएकाले आम्दानी बढेको सुन्तला जोन कार्यक्रमका संयोजकसमेत रहेका खिम पुनले जानकारी दिए।
‘उत्पादन घटे पनि आम्दानी घटेको छैन, सुन्तला खेतीमा लागेका कृषकले घरआँगनमै लाखौँ कमाएका छन्,’ उनले भने।

राखुबाट सुन्तला खरिद गरी सुर्केमेलाको सडकमा ग्रेडिङ गरी काठमाडौँ पठाउन लागेका कृषक पुनले जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने राखु क्षेत्रको सुन्तला खरिदमा व्यापारीले प्रतिस्पर्धा गर्दा किसानले उचित मूल्यसमेत पाएको बताए।
यसपालि सुन्तला काठमाडौँका व्यापारीले बोटबाट नै खरिद गरेका उनले बताए।
राखुमा कुलबहादुर गर्बुजा, जशीकला रोका, भीमकुमारी घर्ती, खिरमती राना, थबहादुर पुन, जसबहादुर घर्ती मगरलगायते सात लाखभन्दा बढीको सुन्तला फलाएका छन्।
भने सुन्तला बिक्री गरेर चार लाखभन्दा धेरै कमाउने कृषकको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ।
परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका राखुका राजेन्द्र रोका र मनबहादुर बुढाथोकीले यस वर्ष नयाँ बिरुवा थपेका छन्। सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गत वर्षदेखि गाउँभरि नै सुन्तलाका थप बिरुवा रोपिएको वडाध्यक्ष पदम पुनले बताए।
हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको उनको भनाइ रहेको छ।
सुन्तला खरिदका लागि ठूला ट्रक लिएर व्यापारी गाउँमा नै आएका छन्। टाढाटाढाबाट आउन थालेपछि सडकसमेत व्यवस्थित बनाइएको छ।
अन्नबालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि राखुका स्थानीय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएपछि अहिले बाँझो जमिनसँगै घरआँगनसमेत सुन्तलाको लटरम्मै बोटले पहेलपुर भएको छ।

कृष्णप्रसाद सिटौलाले गरे मनोनयन दर्ता

राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन् ।

उनले कोशी प्रदेशको राजधानी विराटनगरमा मनोनयन दर्ता गरेका हुन् । उनको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौला राष्ट्रिय सभा चुनावमा उठेका हुन् ।

सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो ।जस अनुसार नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीले पनि सिटौला लगत्तै मनोनयन दर्ता गरेकी छन् ।

एमालेले यहाँ रुक्मिणी चौधरी र परशुराम अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

हिमालयन रिइन्स्योरेन्सको कारोबार भएको पहिलो दिन नै सेयर मूल्य १० प्रतिशतल वृद्धि ।

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर सोमबारदेखि कारोबार सुरु भएको छ । एचआरएल कोड नामबाट कम्पनीको कारोबार खुलेको हो ।
प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा कम्पनीको पहिलो कारोबार भएको हो । सो कारोबारपछि कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सोमबार कम्पनीको मूल्य प्रतिकित्ता ३४० रुपैयाँ १० पैसा पुगेको छ । कम्पनीको सेयरमा अधिकतम खरिदकर्ताहरु देखिएकाले मूल्य केही दिन बढ्ने अनुमान छ।
कम्पनीको कुल १० करोड कित्ता सेयर बजारमा सूचीकृत भएको छ । जसमा ७० प्रतिशत सेयर संस्थापकहरुको र ३० प्रतिशत सेयर साधारण समूहको छ । यस कम्पनीको आरटीएस सेवा एनएमबी क्यापिटलले प्रदान गर्नेछ । प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो।

ईपीएस परीक्षामा थप २० हजारजनाले दिए आवेदन

काठमाडौं । दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा ईपीएस मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली ईपीएस शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेको थियो । त्यसमा त्यो सङ्ख्याको आवेदन परेको हो ।
उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम सिप बिल्डिङ का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएको थियो । त्यसपछि गत पुस १६ गते पुनः आवेदन खुला गरेको थियो ।
उत्पादनतर्फ थप आवेदनसहित अहिलेसम्मकै धेरै एक लाख ६४ हजार ७१६ जनाको आवेदन परेको ईपीएस शाखाले जनाएको छ । सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागी हुन पुस १६ देखि १८ सम्म आवेदन माग गरिएको थियो । त्यसमा आवेदन नपरेपछि पुनः २० गतेसम्म समय थप गरेर आवेदन सङ्कलन गरिएको सो शाखाले जनाएको छ।

५० हजार तलब भन्दै फेसबुक विज्ञापन गरेर १७ लाख ठगेको आरोपमा एक ब्यक्ति पक्राउ


काठमाडौं । फेसबुकमा विज्ञापन राखेर ‘नेटवर्किङ’ मार्फत काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रवार एक युवकलाई बुढानीलकण्ठ नगरपालिका चपली हाइटको घुम्तीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौं बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय हिमाल राई रहेका छन् । प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबुकमा मासिक ५० हजार रुपैयाँ तलबका लागि कामदार आवश्यक परेको भन्दै विज्ञापन गरेका थिए ।

उनले मानिसहरूलाई विश्वास दिलाउनका लागि चाबहिल, गंगाहिटी, महाराजगन्ज लगायतका विभिन्न ठाउँमा ‘भिजनरी ड्रिमी प्रालि’ सञ्चालन गरेका गरेका थिए । त्यही कम्पनीमा कामदार आवश्यक परेको र तलब मासिक ५० हजार रुपैयाँ हुने आश्वासन दिने गरेका थिए ।

तर, त्यसभन्दा अगाडि सीप सिक्नुपर्ने भन्दै उनले विज्ञापन मार्फत सम्पर्कमा आएका व्यक्तिबाट प्रति व्यक्ति एक लाख १३ हजार रुपैयाँ उठाउने गरेका थिए । प्रहरीका अनुसार उनले यसरी १५ जनाबाट कूल १६ लाख ९५ हजार रुपैयाँ रकम उठाइसकेपछि तालिम नै नदिई कार्यालय बन्द गरेर सम्पर्क विहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए ।

शेयरधनीलाई माउन्टेन इनर्जी नेपालले गर्यो लाभांश घोषणा

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस २२ गते आईतबारका दिन बसेको संचालक समितिको बैठकले गत आवको वित्तीय विवरण पारित गरी शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०।७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले सोही बमोजिम लाभांश वितरणको निर्णयलाई विद्युत नियमन आयोगको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभामा पेश गर्ने जनाएको छ ।

पृथ्वीजयन्तीमा राप्रपाको चियापान कार्यक्रम , प्रधानमन्त्रीसहित ८, ००० जनालाई गरियो निमन्त्रणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ ।
चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेसाकर्मी, बुद्धिजीवीलगायत ८,००० जनालाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

सोही दिन राप्रपाले सिंहदरबारस्थित पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।

भृकुटीमण्डपमा भेला भई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हॅुदै सिंहदरबार अगाडि रहेको शालिकमा पुगेर माल्यार्पण गरिने प्रवक्त श्रेष्ठले बताए ।
उनका अनुसार पार्टीले सोही दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तक्रिया, दिपावलीलगायत कार्यक्रम गरी उत्सवका रुपमा मनाउन पार्टी मातहतका सबैलाई सर्कुलर गरेको छ ।
जिल्लामा हुने कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रीय प्रतिनिधिलाई खटाइएको छ।
पृथ्वी जयन्तीकै दिन ‘पृथ्वीनारायण’ शीर्षकमा कविता लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरी पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार तथा सान्त्वना विजेता तीन जनालाई प्रतिव्यक्ति १० हजार पुरस्कार प्रदान गरिनेछ ।
पृथ्वीजयन्तीलाई एकता दिवस र उत्सवका रुपमा देशभर मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समितिसमेत गठन गरिएको छ ।

प्रचण्ड र प्रभु साह बीच भन्सार बिरुद्द आन्दोलन बारे छलफल, पर्यटन बोर्ड खारेज हुनुपर्ने

रौतहट । ४५ प्रतिशत पुरस्कारको ब्यवस्था बिरुद्द तिनसाता देखि जारी आन्दोलनको सम्बन्धमा प्रधानमन्त्री प्रचण्ड र आमजनता पार्टी अध्यक्ष प्रभु साह बिच छलफल भएको छ।
शुक्रवार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आम जनता पार्टी का अध्यक्ष प्रभु साहबीच सिंह दरवारमा भेटवार्ता भएको हो। भन्सार कमिसन खारेजीको माग सहित आम जनता पार्टीले गर्दै आएको आन्दोलनको विषयमा भेटका क्रममा छलफल भएको बताइएको छ ।
सिंहदरबारमा प्रचण्डसँग आफूहरुको आन्दोलनको मागको विषयमा करिब आधा घण्टा कुराकानी भएको पूर्व मन्त्री साहले जानकारी दिएका छन। छलफलका क्रममा प्रचण्डले आइतबारसम्म यस विषयमा आफूले निकास निकाल्ने आश्वासन दिएका छन् ।
‘छलफलका क्रममा मैले प्रधानमन्त्रीलाई पार्टीले गर्दै आएको आन्दोलनको विषयमा ध्यानाकर्षण गराएँ उनले बताए। आन्दोलनको माग सम्बोधन नभएको विषय राख्दा आफूले समाधान खोज्ने भन्नु भएको छ’, साहले भने, ‘आइतबारसम्मा निकास निकाल्छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’
भन्सार कानूनमा रहेको ४५ प्रतिशत कमिसन वापतको पुरस्कारको प्रावधान हटाउन माग गर्दै आजपाले लगातार भन्सार विभाग घेराउ गर्दै आएको छ । आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको आजपाले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएको छ ।
यसैबीच आमजनता पार्टीले सर्लाहीको बरहथवामा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । न्याय प्राप्तिका लागि हुने विभिन्न शान्तिपूर्ण संघर्षहरुमा पटक पटक राज्य पक्षद्वारा भईरहेको दमनकारी हर्कतहरुले सरकार निरंकुशताको पथमा अग्रसर रहेको पुष्टि हुने आजपाको भनाइ छ ।
यसै बीच प्रभु साहले पर्यटन बोर्डमाथि आक्रोश पोखेका छन् । मुलुकको पर्यटन प्रवर्द्धनका खातिर देश–विदेशमा प्रचारप्रसार गर्नका लागि, मुलुकभित्रका पर्यटन गन्तव्य तथा धर्म संस्कृतिको समान विकास एवम् उत्थान गर्नका लागि भनेर निजी सरकारी साझेदारी (पीपीपी) मोडलमा पर्यटन बोर्डको स्थापना गरिए पनि सो अनुसारको काम हुन नसकेको भन्दै सांसद साहले आक्रोश पोखेका हुन् ।
सङ्घीय संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले बोर्डको काम कारबाही र पर्यटन क्षेत्रको विकासको मुद्दामा बिहीबार समितिको बैठक डाकेको थियो । उक्त समितिका सदस्य समेत रहेका सांसद साहले पछिल्लो समय बोर्डले उद्देश्यअनुसार काम नै गर्न नसकेको दाबी गरे ।
‘जुन उद्देश्य र लक्ष्यका साथ २०५३ सालमा बोर्डको स्थापना गरिएको थियो, त्यो अनुसारको उपलब्धि पाउनै सकिएन । बोर्डभित्रकै कर्मचारीहरू स्वार्थमा लाग्दा कसले कुन प्रोजेक्ट लिने र कुन पाउने भन्नेमै भागबन्डामा बोर्ड रुमलियो । सन् २०२३ मा १० लाख पर्यटक भित्रिए त भनियो, तर कसको इफोर्टले यति पर्यटक भित्रिएको हो ?’ प्रश्न गर्दै सांसद साहले भने– ‘बोर्डको गतिविधिले त पर्यटक भित्रिएका होइनन् । ल स्पष्टसँग भन्न सक्नुहुन्छ, नियमित पर्यटक यति हो र बोर्डको पहलमा यति पर्यटक थपिए ? सक्नुहुन्न ।’
बोर्डको वार्षिक बजेटको कम्तीमा ६० प्रतिशत खर्च अन्तर्राष्ट्रिय सम्बन्ध, नेपालको प्रचारप्रसार र मार्केटिङमा खर्च गर्नुपर्ने प्रावधान भए पनि बोर्ड सानातिना राजनीतिक तथा व्यक्तिगत स्वार्थमा लागेको उनले आरोप लगाए । बोर्डले बढीभन्दा बढी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसारमा खर्च गर्नुपर्ने भए पनि आजभोलि गाउँ गाउँका साना पाटी पौवा र मन्दिर बनाउने कार्यमा मात्र केन्द्रित भएको उनले बताए ।
थप पर्यटन बोर्डले देशभित्रका सबै भाषा, धर्म, संस्कृति र कलालाई समान हैसियतमा विकास गर्न सहयोग गर्नुपर्नेमा असमान रूपमा आफू अनुकूल विभेदको काम गरिरहेको उनले आरोप लगाए । खास गरी मधेस प्रदेश, जनकपुर, मिथिला, लुम्बिनीको क्षेत्रमा काम गर्न बोर्डले कन्चुस्याई गर्ने गरेको उनले आरोप लगाए ।
‘कि त पर्यटन बोर्ड खारेज हुनुपर्‍यो कि त बोर्ड । एउटै प्रकृतिको समान दुई संस्था राख्नु उचित हुँदैन’ सांसद साहले भने, ‘दुईवटा संस्था राखेर खर्च बढाउने भन्दा बढीभन्दा बढी काम गर्ने एउटै संस्था चाहिएको छ ।’ सञ्जय मिश्रा

राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज (सोमबार) उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन्। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय निर्धारण गरेको छ। 

आयोगले सोमबार नै मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्नेछ। उम्मेदवारविरुद्ध उजुरी दिने समय भने मंगलबारलाई निर्धारण गरिएको छ। 

आयोगले उम्मेदवारको मनोनयन दाखिला गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा र १० हजार रुपियाँ धरौटी जम्मा गरेको रसिद वा भौचर समावेश गर्नुपर्ने छ। तर, महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ।

साथै आर्थिक रूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिसपत्र संलग्न हुनुपर्ने आयोगले जनाएको छ। त्यसै गरी दलको उम्मेदवारको हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र, राष्ट्रिय सभा सदस्य निर्वाचन पदको लागि दलित समूहबाट उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्नेछ।

त्यसै गरी अपांगता भएका वा अल्पसंख्यक समुदायबाट उम्मेदवारी दिनेले नेपाल सरकारको अधिकार प्राप्त निकायले दिएको अपांगता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसंख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा संलग्न गर्नुपर्ने पनि आयोगले भनेको छ।

प्रस्तावक र समर्थकको नाम र तिनको मतदाता नामावली नाम भएको व्यहोरा खुल्ने कागजात, उम्मेदवारको सम्पत्ति विवरण, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको भनी गरेको स्वघोषणा पत्र चाहिने भनिएको छ।

यसपटक राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुले साझा उम्मेदवार उठाउने भएका छन्। नेकपा एमाले भने एक्लै चुनाव लड्नेछ। 

सत्तारुढ गठबन्धनमा सिटहरुको बाँडफाँट समेत भइसकेको छ। गठबन्धनमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले एउटा सिटमा उम्मेदवार उठाउने समझदारी बनेको छ।

आजको दिन तपाईंको राशिफल कस्तो छ ?

मेष : आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ ।

वृष : दिन सामान्य राम्रो छ। हरेक क्षेत्र सबल रहे पनि सवारी साधनमा हिँड्दा गति सुस्त गर्नु राम्रो हुन्छ। उत्तरको यात्रा नगर्नु। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो उन्नति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आजको दैनिकी सामान्य छ। हरेक क्षेत्रको चिन्ता लाग्नसक्छ। मित्रहरु टाढा हुनसक्ने देखिन्छ। विद्याको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रमा लाभ प्राप्त होला। परिवारको साथ र सहयोग मिल्नेछ।

कर्कट : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तीव्र गतिको सवारी साधनमा यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँग बस्नुभयो भने दिन रमाइलो हुनेछ।

सिंह : दिन सामान्य राम्रो छ। अचानक खर्च बढ्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारमा विश्वासको खडेरी पर्ने योग रहेको छ। प्रेम सम्बन्धमा मनमुटाव हुनसक्छ।

कन्या : आजको दैनिकी सामान्य राम्रो छ। हरेक क्षेत्रका गोचरी राम्रा छन्। जुनसुकै कामको लागि आफ्नै मेहनत आवश्यक देखिन्छ। अरुको सहयोग लिन खोज्दा विवाद हुनेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। निजी काम भन्दा परोपकार गर्नु राम्रो हुन्छ। आज गरेको कामको प्रशंसा लामो समयसम्म हुन्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। मनमा चञ्चलता बढ्नेछ। निराशाको मनोवृत्तिले काममा मन नजान सक्छ। सूर्यको दर्शन गरेर गरेको काममा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग पाइने छ।

धनु : आजको दिन राम्रो छ। शिक्षा, स्वास्थ्य र रोजगारीमा फाइदा हुन्छ। राज्यको तर्फबाट मानसम्मान प्राप्त हुने योग देखिन्छ। पारिवारिक सम्बन्धमा समस्या हुने भएकाले सोचेर बोल्नु राम्रो हुन्छ।

मकर : संघर्ष गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। हरेक क्षेत्रको नेतृत्व आफैले गर्नु राम्रो हुन्छ। परिवारको साथले दिन खुशीका साथ बित्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुने योग रहेको छ।

मीन : आज सजिलै अरुको विश्वास जित्न गाह्रो पर्ला। विद्या र बुद्धिमा पनि ह्रास आउन सक्छ, तर धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेसले टुंग्यायो १० उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार आधा रातसम्म केन्द्रीय कार्यालय सानेपामा छलफल गरेर कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो । संस्थापन पक्षबाट ६ जना र संस्थापनइतरपक्षबाट ४ जना उम्मेदवार चयन भएका छन् । 

कांग्रेसले कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना (मधेश), बिष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत (बगमती), कृष्ण रोकाया (कर्णाली), नारायण दत्त भटट र बलदेव बोहरा (सुदुरपश्चिम), पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ (गण्डकी), बिष्णुदेवी सापकोटा (लुम्बिनी) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज सोमबार उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ। पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ।

राष्ट्रियसभा चुनावका मतदाताको अन्तिम नामावली प्रकाशित (मतभार तालिका हेर्नुस्)

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। 

सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अन्तिम नामावली प्रकाशन गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आयोगका प्रवक्ताका अनुसार आइतबार आयोगले माघ ११ गते हुने निर्वाचनका लागि सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्यको समय सकिएको छ। पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ।

पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ। मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगले जनाएको छ।  माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ।

नेप्सेमा दोहोरो अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार २६.३६ अंकले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ५ अर्ब २४ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये ८१ कम्पनीको शेयरमूल्य बढेको छ भने १५९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आठ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा तेह्रथुम पावर कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

त्यस्तै, मानुषी लुघवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ६।६९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको २८ करोड बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक यस दिन १.०३ प्रतिशत बढेको छ। यस दिन जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?


काठमाडाैं । हिमालयन रि इन्स्योरेन्सको १० करोड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर पुस २२ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको शेयर कारोबारको लागि एचआरएल (HRL) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ। सोमबार यही रेञ्जमा रहेर कम्पनीको शेयर कारोबार खुल्ने छ।

कम्पनीले कर्मचारी, बैदेशिक रोजगारीमा रहेका नेपाली र म्युचुअल फण्डलाई समेत गरी सर्बसाधारणमा ३ करोड कित्ता शेयर निश्काशन गरेको थियो। सर्वसाधारणमा र बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा जारी गरेको शेयर भने भोलिदेखि नै कारोबारमा आउने छ।