यस्तो छ तपाईंको आजको राशिफल

मेष : दिन राम्रो छ। नयाँ कुराको खोजी गर्दै हुनुहुन्छ भने भेटिने छ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। अरुले गर्व गर्ने खालको कामको सुरुवात गर्नु राम्रो हुन्छ। ठुलो लगानी गर्नुभएको भए फाइदा हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

वृष : दैनिकी राम्रो छ। मन खुशी हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार भित्रकै सदस्यले ठगी गर्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ।

मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पुरानो रोग बल्झिएर दु :ख दिनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय सामान्य छ। काम अधुरो बन्नेछ। जुनसुकै काम गर्दा पनि झन्झट आइपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा गरेको लगानी सफल हुनेछ। राज्यको सेवामा राम्रो नतिजा प्राप्त हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। विश्वास गरेका पात्रले धोखा दिने भएकाले घरभित्र व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। तपाईंका हरेक क्षेत्र सबल छन्। आफ्ना क्षेत्र सबल हुनाले साथी टाढा हुनेछन्। नम्र भएर प्रस्तुत हुनु फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। समाजमा तपाईंको कामको प्रभाव देखिने छ। प्रतिस्पर्धीले कामको सम्मान गर्नेछन्। परिवारका सदस्यले असहयोग गर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। सानो गल्तीले भयावह रुप लिने सम्भावना छ। आरोप–प्रत्यारोप सुन्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

धनु : दैनिकी राम्रो छ। नयाँ काम र नयाँ ठाउँको भ्रमण हुनेछ। रोजगारीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। रोगबाट बच्न खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

मकर : दिन सामान्य छ। अचानक धन खर्च हुनेछ। आफ्नै सहकर्मीले कुरा काट्ने देखिन्छ। तपाईंको कर्मको प्रभावले लगानी गरेको भए फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा समस्या हुने देखिन्छ। जसले गर्दा मन उदास हुनेछ। मनमा अशान्ति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। साथीसँग भेटघाट हुनेछ। विद्वान मित्रसँगको भेटले दिन रमाइलोसँग बित्नेछ। मिठो खान पाइने छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

नेपालले आज अफगानिस्तानसँग खेल्दै, सुपर सिक्समा पुग्न दुबै टिमलाई जित्नै पर्ने दबाब

काठमाडौँ । आईसीसी यू–१९   विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ । नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समयानुसार दिउँसो १:४५ बजे सुरु हुने छ।

यस अघिका दुई खेलमा लगातार हार व्यहोरेको नेपाललाई सुपर ६ को यात्रा तय गर्न अफगानिस्तानविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ। उता अफगानिस्तानसमेत अघिल्लो चरणमा प्रवेशका लागि नेपाललाई हराउनुपर्ने दबाबमा छ।

नेपालले यसअघि पाकिस्तान र न्युजिल्यान्डसँग पराजय बेहोरेको थियो। पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो।

समूह ‘डी’ मा रहेको नेपाल आज आफ्नो समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग खेल्न लागेको हो। समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन्।

त्यसपछि समूह ‘ए’ का टोलीले समूह ‘डी’ तथा समूह ‘बी’ र समूह ‘सी’ को टोलीले एक अर्कासँग खेल्नेछन्। सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन्। समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन्।

अकुत सम्पत्ति आर्जनको आरोपमा पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले दियो अनुमति

काठमाडौँ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

बिहीबार म्याद थपका लागि भएको बहस पछि अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको आयोगका प्रवक्ता नरहरि धिमिरेले बताए ।

अकुत सम्पत्ति आर्जन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको बुझिएको छ । उनीहरु दुवैले यसअघि पनि भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

अनुसन्धान अधिकृत पदको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले लिएको परीक्षाको परीक्षाफलको सूचना विभागले सार्वजनिक गरेको हो।

विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै लिखितमा सहभागी भएको २६८ मध्ये ४४ जनाको नाम प्रकाशित गरेको छ।विभागले नेपाल विशेष सेवा समूह अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीको अनुसन्धान अधिकृतको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो।

मुड्केचुला गाउँपालिकाका इन्जिनियरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख शासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सडक निर्माण योजनामा गैरकानूनी तिकाले लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा  मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख शासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब-इन्जिनियर दीप नारायण यादव, कार्यवाहक वडा अध्यक्ष, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

यस्तै वडा नम्बर ८ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष धन बहादुर रोकाया, तत्कालीन कार्यपालिका सदस्य राम कुमार नेपाली (दमाई), वडा प्राविधिक (असिस्टेन्ट सब-इन्जिनियर) इशारा बुढा, घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मान बहादुर रोकाया र कोषाध्यक्ष निर्मला रोकायाविरुद्ध पनि मिलेमतो गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता भई सम्झौता बमोजिम स्वीकृत गरे अनुसारको लागत अनुमान बमोजिम कार्य नगरी कम काम भएको गरेको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्कनसहितको नापी किताबमा प्रमाणित गरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी १० लाख ९७ हजार आठ सय ५२ रुपैयाँ २९ पैसा हिनामिना गरेको अख्तियारको ठहर छ ।

आजपाद्वारा आव्हान गरिएको बन्दको रौतहटमा आंशिक प्रभाव

रौतहट ११ माघ। पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एकदिने मधेश प्रदेश बन्दको रौतहटमा आंशिक प्रभाव परेको छ।

बैंक तथा वित्तिय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आव्हान गरिएको 

बन्द लाई पूर्ण प्रभावकारी बनाउन आमजनता पार्टीका कार्यकर्ताहरु सदरमुकाम गौर लगायत बिभिन्न स्थानमा आज बिहानै देखि टायार बालेर प्रदर्शन गरेका छन।

जिल्ला सदरमुकाम गौर बाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बिगतको तुलनामा कम चलेको छ। पसल ब्यापारिक प्रतिष्ठानहरु पूर्ववत चलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्। जिल्लाको मुख्य बजार गरुडा कटहरियामा पनि साना ठूला पसलहरु सञ्चालनमा रहेको छ। कटहरियाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेको छैन। कटहरिया बाट आज बिहान एउटा टाटासुमो काठमाडौंको लागि खुलेको छ भने नारायणघात, हेटौंडा, बिरगंज जाने बसहरू नचलेको काउन्टर ईन्चार्ज बसरुदिन अन्सारीले बताएका छन। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यका अनुसार पूर्व पश्चिम राजमार्गमा बिगतको तुलनामा कम सवारीसाधन चलेको छ भने गौर चन्द्रपुर सडकखण्डमा पनि चल्ने गाडीको संख्या कम देखिएको छ।

यसैबीच मधेश बन्द सफल पार्न बिहानै रौतहटको सदरमुकाम गौर , शुकदेव चौक, चन्द्रपुर लगायत विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका २१ जना आजपा कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकि छन। गिरीका अनुसार बन्दको खासै प्रभाव परेको छैन। बन्दलाई पूर्ण प्रभावकारी बनाउन आजपा कार्यकर्ताहरुले बुधवार साँझ गौर, गरुडा, चन्द्रनिगापुरमा मसाल जुलुस प्रर्दशन गरेका थिए। बैंक तथा वित्तिय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आजपाले लामो समय देखि बिभिन्न खाले आन्दोलन गर्दै आएको छ । सञ्जय मिश्रा

शेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर सातौँ कारोबार दिन घटेर बन्द भएको छ। गत साताको मंगलबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ। नेप्से आज बिहिबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.९४ अंकले घटेर दुई हजार ८४ दशमलव ०९ विन्दुमा बन्द भएको हो ।                                        

आज नेप्सेमा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।   

आज कारोबार भएका कम्पनीमध्ये ९१ वटाको बढेको छ भने १४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये सामलिङ पावर कम्पनी लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।  

त्यस्तै, सिटिजन म्युचुअल फण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.०३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

बिहीबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०३ प्रतिशत घटेको छ।

प्रबिधि प्रयोगको व्यापक दुरुपयोग गर्दै अर्बौं बिदेशमा जम्मा गर्ने पौडेलद्वयको सेटिङ्गमा को को

काठमाडौं । सरकारका दर्जन मन्त्रालयले सूचना प्रविधि (आइटी) सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुने दुई जना पौडेलद्वय हाबी हुने गरेका व्यक्ति हुन्। बिकल पौडेल र सुनिल पौडेल सबैलाई जानकारी नै थियो तर के गर्नु हरेक शक्तिकेन्द्रलाई प्रभाबमा पारेर आफनो काम फत्ते गर्ने कला अनि गला र बृफ्केस सहितको सेवा सामु चाहेर पनि कसैले केहि गर्न सक्ने अवस्था थिएन। हरेक मन्त्रालयमा सूचना प्रबिधि जडान ठेक्कापट्टा उनीहरु बाहेक कसैले लिन नसक्ने साम्राज्य खडा गरेका थिए। माघ १० गते बुधबार एकाएक पौडेल द्वयको पक्राउको समाचार आए पनि सुरुमा धेरैले बिश्वास नै गरेनन्। अन्त: मा समाचार सहि थियो। अख्तियारले केही गरेन भन्नेहरू पनि अब त केही गर्छ कि के हो ? भन्न थालेका छन्। अख्तियारले आम मानिसमा बिश्वास जगाएको छ।
बिकल हाल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक हुन् भने सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक हुन्।

निजामति सेवाकाे करार सेवामा कार्यरत यी दुवै पौडेल बन्धु आइटी सम्बन्धी वस्तु तथा सेवा खरिदमा पछिल्लो समय भएको अनियमितताका घटनामा सधै विवादमा आउने गरेका थिए।
उच्च सरकारी अधिकारीहरु दर्जन भन्दा बढी सरकारी निकायले आइटीसम्बन्धी वस्तु र सेवा खरिद गर्दा यीनै पौडेलद्वयलाई ‘एक्सपर्ट’ का रुपमा स्पेसिफिकेसन तयार गर्न अनुरोध गर्छन्। तर यी बन्धुहरुले ‘एक्सपर्ट’ को विज्ञतालाई दुरुपयोग गर्दै आफुले चाहेको कम्पनीलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन तयार गरेर राज्यको अर्बौ रुपैयाँ दुरुपयोग गर्दै आएको आरोपलाई अख्तियारले सार्वजनिक गर्न सफल भएको छ।

‘सरकारी खरिद सस्तो र गुणस्तरीय बनाउन धेरैले प्रतिस्पर्धा गर्न मिल्ने गरी स्पेसिफिकेसन तयार गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था छ,’ उच्च सरकारी अधिकारीहरुले सम्पत्ति न्युज सँग भने ‘तर यी पौडेल बन्धुहरुले एक वा दुई कम्पनीले मात्र प्रतिस्पर्धा गर्ने गरी स्पेसिफिकेसन बनाउँदै आएका छन्। त्यो पनि आफुले चाहेको कम्पनीलाई मात्र मिल्ने गरि बनाउदै आएका थिए।

केही वर्षयता आइटीसम्बन्धी विवादमा आएका लाइसेन्स पोर्टल, मिसिन रिडएवल पासपोर्ट (एमआरपी), इम्बोस्ड नम्बर प्लेट, नेसनल पेमेन्ट गेटवे, स्मार्ट लाइसेन्स, बैंक नोट, इम्बोस्ड नम्बर प्लेट, अन्तशुल्क स्टिकर ग्रुपवेयरलगायत खरिदमा आएको विवादमा यी दुवै प्रत्यक्ष अप्रत्यक्ष मुछिएका छन्।

यी दुईले परिचालन गर्ने मुकेश रेग्मी सहितको समुहलाई अनुसन्धानको दायरामा ल्याउन जरुरी


सरकारी निकायमा साम्राज्य चलाएका उनीहरुले यातायात ब्यवस्था बिभाग सूचना प्रबिधि शाखा प्रमुख मुकेश रेग्मी लाई मुख्य रूपमा परिचालन गरेको देखिन्छ ।अवस्था हेरेर ब्याक्तित्व प्रयोग गर्ने उनीहरुले रेग्मी लाई निर्वाचन आयोग देखी सार्वजनिक खरिद कार्यालयका ठुला ठेक्कामा समेत रेग्मीलाई प्रयोग गरेको देखिन्छ। रेग्मी खरिद कार्यालयमा हुदा महत्त्वपूर्ण डकुमेन्ट गायब गरेको आरोपित कर्मचारी हुन। यातायात आए सगै स्मार्ट लाइसेन्सको ठेक्कामा यी दाजुभाइको सेटिङ अनुसार नक्कली लाइसेन्सको प्रकरण बाहिर ल्याएर आफनो ठेक्काको सेटिङलाई छोप्न खोजेका छन्। रेग्मी जहाँ गएपनी सबिन श्रेष्ठलाई बिज्ञको पगरी गुथाएर लैजाने गरेको बुझिन्छ। खरिद कार्यालय ,निर्वाचन देखि अहिले यातायातमा सम्म संगै लैजानु के बाध्यता पर्यो अनुसन्धान यिनको वरिपरि केन्द्रित होस उनलाई चिन्नेहरु बताउँछन्।यातायातका महानिर्देशक उद्वव रिजालले उनीहरुको सेटिङमा लाइसेन्स बनाउने मेसिन हेर्न जर्मन जाने भनेर त्यतातिरको तयारी गर्नुले धेरै बिषय प्रष्ट पारेको छ। फेरि नक्कली लाइसेन्स प्रकरणको छानबिन यातायात ब्यबस्था बिभागले गर्न सक्दैन ।अख्तियारलाई प्राविधिक सहयोग सुचना प्रबिधि बिभाग बाट गराउन सके बास्तबिकता पत्ता लाग्ने जानकारहरु बताउछन्।

सरकारी निकाय एकपछि अर्को गर्दै कब्जा
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको स्पेसिफिकेसन तयार गर्नेमा पनि यी दुई सामेल थिए। यी दुई बन्धुमध्ये विकलको भुमिका बढी हुने र सुनिल उनको सहयोगीका रुपमा रहेर काम गरिरहेको सरकारी उच्च अधिकारीहरु बताउँछन्।

बिकल नियमित रुपमा अमेरिका जाने आउने गरेको र श्रीमति र छोराछोरीसमेत उतै बस्ने गरेकाले उनिसँग ग्रीन कार्ड रहेको सरकारी अधिकारीहरुको आशंका छ।

बिकल सूचना प्रविधि केन्द्रको उपनिर्देशक हुँदा सर्बोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राहदानी विभाग, नेपाल राष्ट्र बैंक, आन्तरिक राजश्व विभाग, यातायात व्यवस्था विभागलगायतका निकायले गरेको आइटीसम्बन्धी खरिदमा खटिएका थिए। त्यसमा उनले ठेकेदारको स्वार्थमा काम गरेको आरोप लाग्दै आएको थियो ।

आइटीसम्बन्धी खरिदका विषयमा अख्तियारमा उजुरी परेको छ। तर उनले उन्मुक्ति पाउँदै आएका छन्। विकलले आफुले चाहेको कम्पनीलाई मिल्नेगरी स्पेसिफिकेसन्स देखि ठेक्का सम्झौतासमेतमा चलखेल गरे। एमआरपी र इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता त्यसैको कडी का रूपमा लिने गरिन्छ ।

बिकलको योजनामा कमिसनका लागि सूचना प्रविधि केन्द्रमार्फत हचुवामा नेसनल पेमेन्ट किन्ने प्रस्ताव अघि सारिएको थियो। १५ करोड मूल्यपर्ने पेमेन्ट गेटवे २५ करोड हालेर खरिद गरेको सञ्चार तथा सूचना प्रविधि केन्द्रका उच्च अधिकारीहरु बताउँछन्। पेमेन्ट गेटवे खरिद गर्दा कमिसनका लागि छुट्टै ओराकल समेत खरिद गरिएको छ। अर्कोतिर विकलको मिलेमतोमा पाँच वर्ष अघि करिब ५ करोड हालेर खरिद गरिएको लाइसेन्स पोर्टल अहिले अस्तित्वमा छैन।

बिकल कै डिजाइनमा राहदानी विभागले आपूर्तिकर्ता ओबर्थर टेक्नोलोजिज कम्पनीलाई एमआरपी खरिदमा राज्यकोषमा हानिनोक्सानी हुनेगरी सम्झौताभन्दा डेढ करोड रुपैयाँ बढी भुक्तानी गरेको देखिन्छ । विभागले सम्झौताबमोजिम ६ लाख एमआरपीलाई पुरानै दरमा भुक्तानी गर्नुपर्ने ६ लाख थान एमआरपीमध्ये पाँच लाखलाई पुरानो दर ३ डलर ५९ सेन्ट र एक लाख थान एमआरपीमा भेरिएसन गरेर बढाएको दर ५ डलर १४ सेन्टमा भुक्तानी गरेकाले एक लाख थानको प्रतिराहदानी १ डलर ५५ सेन्टका दरले हिसाब गर्दा डेढ करोड रकम घोटाला भएको देखिन्छ।

अर्कोतिर बिकल कै डिजाइनमा सवारीसाधनमा राख्ने इम्बोस्ड नम्बर प्लेट खरिदका लागि भएको सम्झौतामा सरकार तल पर्ने प्रावधान राखिएका कारण काम नभए पनि राज्यले करिब साढे चार अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था छ।

सन् २०१६ मा यातायात व्यवस्था विभाग र बंगलादेशी कम्पनीे डेकाटुर इन्डस्ट्रिज इन्कर्पोरेटबीच ठेक्का सम्झौताको बुँदा नम्बर १५.१ मा सरकारी पक्षको कमजोरीका कारण तोकिएको समयमै काम हुन नसके पनि इम्बोस्ड नम्बर प्लेट उपलब्ध गराउने कम्पनीलाई ठेक्का रकमको ९५ प्रतिशत भुक्तानी दिनुपर्ने सर्त राखिएको छ। यही सर्तका कारण तोकिएको समयभित्र काम सम्पन्न नभए पनि आपूर्तिकर्ता कम्पनीलाई साढे चार अर्ब रुपैयाँ राज्यलाई अतिरिक्त व्यभार थपिने देखिन्छ।

यता बिकल कै विश्वासपात्र सुनिलले नेतृत्व गरेको राष्ट्रिय सूचना–प्रविधि केन्द्रले एक वर्षअघि १० करोड तिरेर इमेल सिस्टम खरिद गरिएको छ। ६ वर्षअघि ४० करोडमा खरिद गरेको ग्रुप–वयेर प्रयोगमा नल्याई केन्द्रले अघिल्लो वर्ष फेरि १० करोडको इमेल सिस्टममात्र खरिद गरेको छ। प्रधानमन्त्री कार्यालयले भने २० लाख रूपैयाँ तिरेर सबै निजामती कर्मचारीले एकीकृत इमेल सेवा नेपाल जिओभी एनपी डोमेन भएकोे सिस्टमले राम्रोसँग काम गरिरहेको अवस्थामाकमिसन कै लागि केन्द्रले १० करोड खर्चेर नयाँ प्रणाली खरिद गरेको हो। केन्द्रले फेरि नौ करोडको इमेल प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।

डेढ वर्षअघि करिब ५ करोड हालेर खरिद गरेको राउटरमा पनि अनियमितता भएको आरोप छ। शास्त्र नेटवर्क सोलुसन इन्कले भन्दा एक करोड कम कबोल गर्ने म्याक्स इन्टरनेसनललाई उक्त ठेक्का नदिई मिलेमतोमा शास्त्रलाई दिइएको हो। राउटर खरिदका लागि कम कबोल गर्ने म्याक्सले केन्द्रलाई प्रस्तावबमोजिमको काम गर्न सक्दिनँ भन्दा पनि सार्वजनिक खरिद कानुनबमोजिम कालोसूचीमा नराखी केन्द्रले खरिद गरेका अन्य आइटी उपकरण खरिदमा म्याक्सलाई संलग्न हुन दिएको छ। राउटरमा मिलेमतो गर्ने कम्पनीले नै नेपाल दूरसञ्चार प्राधिकरणले ३ खर्ब खर्चिएर देशभरका एक हजार विद्यालयमा स्थापना गर्न खोजेको देखिन्छ ।
सरकारी कर्मचारीलाई आकर्षक जिम्मेवारी दिने आश्वासन
निष्ठापुर्वक काम गर्ने र उनीहरुको भावना बिपरित राष्ट्र हितमा काम गर्ने कर्मचारीलाई तपाईंको सबै थाहा छ। अब राम्रो ठाउँमा नजाने? महानिर्देशक नबन्ने? हामीले नचाहादा सम्म सचिब बन्न गाह्रो छ है ! जस्ता शब्दकोष खर्चेर धम्काउने यो समुहको दादागिरीले कर्मचारी बृत आतंकित थियो ।पौडेलद्वय पक्राउ परेको खबर सुन्ने कर्मचारीहरू भन्दैछ्न:अब जरैदेखि अनुसन्धान गरेर यो समुहले शिर उठाउन नसक्ने गरि कार्वाही गर्नुपर्ने आवाज यतिबेला तीब्र रूपमा उठेको छ।

रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा सप्तरी रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहालविरुद्ध मुद्दा दायर गरिएको हो ।

सामुदायिक विद्यालयका छात्राहरूका लागि आर्थिक वर्ष २०७७/०७८ मा सेनिटरी प्याड वितरण गर्न गाउँपालिकामा विनियोजित बजेटबाट ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने सेनिटिरी प्याड लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटर ललिताकुमारी साहसमेतको मिलेमतोमा १७ लाख ८५ हजार ९ सय २८ रुपैयाँमा खरिद गरेर अस्वाभाविक रूपमा बढी मूल्य तिरी लाभ लिएको अख्तियारको दाबी छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) को कसुर गरेको देखिएको बताउँदै उनीहरुलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिने र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर गरेको देखिँदा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुने एवम् प्रतिवादीहरुबाट असुल तथा जफत गरिएको बिगो छायाँनाथ रारा नगरपालिका मुगुलाई उपलब्ध गराउने मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

अबैध लाइसेन्स जारी गर्ने गिरोह अख्तियारको फन्दामा

अबैध लाइसेन्स जारी गर्ने गिरोह अख्तियारको फन्दामा भन्ने शिर्षकमा मंसिर २९ गते सम्प्रेषण भएको समाचार लाई लिएर त्यस्मा जोडिएर आएका नामका राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो भुमिका नरहेको भनी प्रष्ट पार्नु भएको र सम्पत्ति न्युजका सम्बाददाताले सम्बन्धित पक्षको धारणा समेटन नसकेको कारण न्युज को बिश्वासनियतामा कमि आउन सक्ने महसुस गरि ” सम्बन्धित पक्ष सङ्ग धारणा नसमेटी समाचार प्रकाशन हुन गएकोमा दुख ब्यक्त गर्दैछौ। सम्पत्तिन्युजको थप अनुसन्धान जारी रहेको र यस बिषयमा अख्तियारले समेत अनुसन्धान अगाडि बढाउने काम गरिरहेको सत्य भएको बताउदै यस अनलाइन पोर्टल सदा सत्य र सन्तुलित समाचार प्रति सचेत रहनुका साथै प्रेस काउन्सिल द्वारा जारी आचारसंहिता सधैं स्मरण गरिरहेको जानकारी गराउन समेत चाहान्छौ ।

आम जनता पार्टीद्वारा मधेस बन्द, सयौँ नेता-कार्यकर्ता पक्राउ

जनकपुर । आम जनता पार्टी (आजपा)ले आज मधेस बन्द गरेको छ। आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेस बन्द गरेको हो । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले मधेस बन्द गरेको छ ।

बिहानैदेखि आजपाका नेता-कार्यकर्ताले मधेसका विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन्। मधेसको यातायात , बजार, उधोग, शिक्षण संस्था आन्दोलनका कारण प्रभावित भएका छन् ।

यसैबीच प्रदर्शनमा उत्रिका सयौं नेताकार्यकर्तालाई प्रहरीले बिभिन्न ठाउँबाट पक्राउँ गरेको छ । मधेस प्रदेशको आठवटै जिल्लामा प्रदर्शन जारी रहेको छ । वीरगंज, कलैया, जनकपुर, गौर चन्द्रपुर, लालबन्दी, लहान, राजविराज लगायतका ठाउँमा प्रदर्शन जारी रहेको छ ।

प्रहरीले जनकपुरधामको रामानन्द चौकबाट आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, सचिव समिना हुसेन, प्रवक्ता चन्द्रभुषण साह महिला मोर्चाका अध्यक्ष बबिता साह, इन्चार्ज सिमल साह सहितका नेताकार्यकर्तालाई पक्राउँ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको जनकपुर स्थित कार्यालयमा राखेको छ ।

उता आजपा उपाध्यक्ष रितादेवी साह, उपमहासचिव अरुण घिसिङ, प्रदेश सचिव ममता शर्मा, आईटी आर्मीका उपाध्यक्ष सुमन यादव सहित सयौं नेताकार्यकर्तालाई पक्राउँ गरी प्रहरीले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा राखेको छ ।

यसैगरी आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहा, आजपा अध्यक्ष एवं सांसद प्रभु साहका स्वकीय सचिव बिजय यादव लगायतकालाई पक्राउँ गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको वीरगंजमा राखेको छ ।

यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीले आजपा रौतहट इन्चार्ज त्रिभुवन साह, आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरी लगायतका दर्जनौ नेताकार्यकर्तालाई पक्राउँ गरी चन्द्रपुरमा राखेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। आज बिहान ९ बजेदेखि सबै ठाउँमा मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ। राष्ट्रिय सभा सदस्यका रिक्त हुन लागेको १९ पदका लागि आज निर्वाचन हुन लागेको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा १-१ मतदान स्थल र २-२ मतदान केन्द्र कायम गरिएको छ।

गण्डकी राष्ट्रिय सभा सदस्य निर्वाचन-२०८० अन्तर्गत गण्डकी प्रदेशबाट चुनिने तीन सदस्यका लागि मतदान सुरु भएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेका दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।‘दिउँसो ३ बजेसम्म मतदानको अवधि रहेको छ’, कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने,’गण्डकीमा दुई सय ३० जना मतदाता रहनुभएको छ ।’ अन्य, महिला र अपाङ्गता/अल्पसङ्ख्यकतर्फ गरी तीन सिटका लागि मतदान भइरहेको हो । 

चार दलका आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए। सत्ता साझेदार दलका तर्फबाट नेपाली काँग्रेसले अन्य र अपाङ्गता/अल्पसङ्ख्यक कलस्टरमा क्रमशः गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ ।

महिलामा नेकपा (माओवादी केन्द्र)बाट पर्वतकी मनरुपा शर्मा चुनावी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले)ले अन्य कलस्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, महिलातर्फ गोरखाकी सम्झना देवकोटा र अपाङ्गता/अल्पसङ्ख्यक कलस्टरमा हेमन्द्र शेरचनलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठलाई उम्मेदवार छन् । राप्रपाले अपाङ्गता/अल्पसङ्ख्यकतर्फ भने उम्मेदवार उठाएको छैन । अन्य, महिला र अपाङ्गता/अल्पसङ्ख्यकतर्फ यसअघि निर्वाचित तीन सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिन लागेकाले ती सिटमा निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा प्रदेशसभाका ६० र स्थानीय तहका एक सय ७० गरी कूल दुई सय ३० मतदाता रहेका छन् । चुनावमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार रहेको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार रहेको छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल काँग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ मतदाता छन् । जसको कूल मतभार दुई हजार सात सय चार रहेको छ । बाइस प्रदेशसभा सदस्य र ६८ स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको एमालेको मतभार दुई हजार चार सय ५८ रहेको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार रहेको छ । दुई जना प्रदेशसभा सदस्य मात्र रहेको राप्रपाको एक सय छ, तीन स्थानीय तहको प्रमुख र उपप्रमुख रहेको राष्ट्रिय जनमोर्चाको ५७, एक प्रदेशसभा सदस्य र एक स्थानीय प्रमुख रहेको नेकपा (एकीकृत समाजवादी)को ७२ र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मनाङको ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङको १९ मतभार छ ।
 बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त चार सदस्य पदको लागि मतदान जारी रहेको छ ।

स्थानीय भुटनदेवी माविको भवनको (क)मतदान केन्द्रमा प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईले पहिलो मतदान गरेका थिए । उक्त भवनमा मतदान केन्द्र (क) मा प्रदेशसभाको लागि र (ख) मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको प्रबन्ध मिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए ।

उक्त मतदान कार्यको लागि प्रदेशसभाको एक सय १० जना र स्थानीय तहका दुई सय ३७ जना गरी कूल तीन सय ४७ जनाले मतदानमा सहभागी हुने उनले जानकारी दिए । आजै अपराह्न ३ बजेको समयभित्र मतदान कार्य सम्पन्न भएलगत्तै दलका उम्मेदवारको सहमतिअनुसार अपराह्नबाट मतगणना कार्यको लागि आवश्यक तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए ।

सो निर्वाचनको लागि सत्ता गठबन्धन, नेकपा (एमाले), राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको छ । दुवै मतदान केन्द्रमा सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले सुरक्षा प्रदान गरिरहेको र मतदाता प्रवेश गर्ने पश्चिम ढोका र मतदान कार्य सम्पन्न गरिसकेपछि उत्तरतर्फको मूल ढोकाबाट आवतजावत गर्ने सुविधा मिलाइएको मकवानपुरका प्रजिअ सूर्यप्रसाद  सेढाईंले जानकारी दिए ।


लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी रहेको छ ।  घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरी मतदानको सुरुआत भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

मतदानका लागि दुई मतदान केन्द्र तोकिएको छ । निर्वाचन अधिकृत पाण्डेका अनुसार  ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गर्ने  व्यवस्था गरिएको छ  भने ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षगरि २ सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा अन्य र महिला गरी दुई सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदी र नेपाली काँग्रेसले महिलामा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ ।

यस्तै नेकपा (एमाले)ले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री र महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीको तर्फबाट अन्यमा नवलपरासीका बालगोविन्द चौधरीको उम्मेदवारी दर्ता भएको छ। राप्रपाको तर्फबाट महिलामा कपिलवस्तुकी विजयालक्ष्मी सिंहलाई उम्मेदवारी दर्ता भएको  छ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ। लुम्बिनी प्रदेशमा कूल मतदाता सङ्ख्या तीन सय पाँच जना रहेको छ । यसमध्ये प्रदेशसभा सदस्यको सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको छ ।


कोशी प्रदेशमा राष्ट्रियसभाका दुई सदस्य निर्वाचनको मतदान जारी रहेको छ ।  प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० मा प्रदेशसभा सदस्य एवं पालिकाका प्रमुख एवं उपप्रमुखले मतदान  भाग लिइरहेका छन् । विराटनगरका मौसम चिसो भए पनि प्रदेशसभा सदस्य एवं प्रमुख एवं उपप्रमुखलाई लामबद्ध भएर मतदान गरिरहेका छन् ।

मतदान कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए । प्रदेशमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । महिला पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की चम्पा कार्की र नेकपा (एमाले)बाट रुक्मिणी कोइराला, अन्यमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेलको उम्मेदवारी परेको छ ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको । निर्वाचनमा प्रदेश सभाका ९३ र स्थानीय तहका प्रमुख–उपप्रमुख दुई सय ७४ गरी तीन सय ६७ जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतदभार १९  छ ।

उपकुलपति भुसालको पुर्वाग्रह पुर्ण सरुवा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालले केही उच्च तहका बाहेक अधिकांश तल्लो तहका कर्मचारी सरुवा गर्नुभएको छ।

माओवादी केन्द्रबाट रेक्टर हुनुभएका प्राडा भुसाललाई त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कातिक १७ गते ३ महिनाका लागि उपकुलपतिमा नियुक्त गर्नुभएको थियो। नियुक्ति भएको एक महिना बित्न नपाउँदै उपकुलपति प्राडा भुसालले त्रिवि कार्यकारी परिषद्को सचिव विष्णु अर्याललाई सरुवा गरी शिक्षण अस्पतालका प्रमुख बैकुण्ठप्रसाद थपलिया ल्याउनुभएको छ।

शिक्षक नियुक्ति तथा बढुवासम्बन्धि कार्यबिधि–२०८० संशोधन गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका अर्यालको सरुवा गर्न लागेको बुझिएको छ। अर्यालको नेतृत्वमा कार्यविधि तयार भएको थियो। उपकुलपति भुसाल ‘एस म्यान’लाई कार्यकारी सचिव पदमा सरुवा गरेर कार्यविधि परिवर्तन गर्ने तयारीमा हुनुहुन्छ।

कार्यविधिमा उप–प्राध्यापकबाट सह–प्राध्यापक र सहबाट उप–प्राध्यापकमा बढुवा हुन आवश्यक अनुसन्धान, तोकिएको अवधिसम्म पढाएको विषयलाई कडा पारिएकाले बढुवा हुने लाइनमा रहेका उप–प्राध्यापक र प्राध्यापकले कार्यविधि परिवर्तन गर्न उपकुलपति भुसाललाई दबाब दिइरहेका छन्।

राम्रोभन्दा पनि हाम्रोलाई बढुवा गर्न कार्यकारी परिषद्को सचिव नै परिवर्तन गर्ने अन्तिम तयारी भइरहेको टिप्पणी गर्दै उच्च स्रोतले यस पङ्तिकार सँग भन्यो– ‘सायद ५ दिनभित्र सो निर्णय गर्नुहुनेछ। हिजो बुधबार रजिस्ट्रारबाट टिप्पणी उठ्ने कुरा थियो, समाचार प्रकाशित भएपछि केही दिनलाई सारिएको छ ।’ तीन महिने उपकुलपति भुसालको कार्यकाल यही १७ गते सकिदैछ।

कार्यविधि नै परिवर्तन गर्ने तयारीमा रहेका उपकुपति प्राडा भुसालले करिब दुई महिनाअघि राजिनामा दिइसक्नु भएका थपलियाको राजीनामा स्वीकृत नगरी शिक्षण अस्पतालबाट कार्यकारी परिषद् सचिवालयमा सरुवा गर्न लाग्नुभएको हो।

संघका अध्यक्ष कार्कीले उपकुलपति प्राडा भुसालसँग भएको कुराकानीबारे जानकारी गराउँदै भन्नुभयो– ‘म र केही कर्मचारीसँग टेलिफोन गरी असन्तुष्टी पोख्नुभएको छ।

उहाँले ‘तपाइँ र हाम्रो कुराकानी हुँदै थियो सञ्चारमाध्यममा समाचार आयो, यो त ठिक भएन नि भनेर भन्नुभयो।’ उपकुलपति भुसालले आफूसँग भएको त्रिभुवन विश्वविद्यालयका करिब ७ हजार कर्मचारीका प्रतिनिधित्व गर्दै अध्यक्ष निर्वाचत हुनुभएका कार्कीलाई हप्काएपछि उहाँले उपकुलपतिलाई ‘कर्मचारी तपाइँको रबर स्ट्याप्प होइन नि ?’ भनी जवाफ फर्काउनुभएको थियो।

समाचार प्रकाशित भएपछि उपकुलपति प्राडा भुसालले कर्मचारी सरुवा गर्ने हैसियत आफ्नो नभएको बताउनुभएको थियो। तर, सबै कर्मचारी सरुवा गर्नुअघि उपकुलपतिकै सहमति लिनुपर्छ। उपकुलपतिकै निर्देशनमा पुस र माघ महिनामा अघिकांश तल्लो तहका कर्मचारीको सरुवा गरिएको छ।

सरुवामा उपकुलपतिको प्रत्यक्ष हात रहने कर्मचारीको भनाइ छ। त्रिविले पुस र माघ महिनामा दुई मुख्य सहायकसहित ७ जना कार्यालय सहयोगी र ४ जना कार्यालय सहायक सरुवा गरेको छ। सो विषयमा जानकारी लिन खोज्दा उपकुलपति भुसालले मोबाइल फोन उठाउनु भएन। उपकुलपति प्राडा भुसालले तत्कालीन शिक्षाध्यक्ष पेशल दाहालको कार्यकाल सकिनासाथ सरुवा गरेको स्रोतको भनाई छ।

त्रिविले पुस २० गते एकैदिन ५ जना कर्मचारीको सरुवा भएको थियो। उक्त दिन सरुवा हुनेहरूमा सावित्री थापा, अर्जुन बस्नेत, बिन्दु खत्री, सिताराम घिमिरे र कृष्ण कार्की रहेका छन्। पुस र माघमा सरुवा हुने अन्य कर्मचारीहरूमा मुख्य लेखा सहायक धर्मराज शाही, कार्यालय सहयोगी मच्छिन्द्र खतिवडा र फुर्वा दोर्जे लामा रहेका छन्।

त्यस्तै, लेखा सहायक बुधन मुखिया, कार्यालय सहायक शान्ता मुखिया, कार्यालय सहयोगीद्वय सहदेव खत्री र पुण्यराम ख्वालापाला र मुख्य लेखा सहायक पुण्यप्रसाद आचार्यको सरुवा गरिएको थियो।

यसअघि त्रिवि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकाल सकिनै लागेका र निमित्तको जिम्मेवारी पाएका अन्य विश्वविद्यालयका पदाधिकारीलाई दैनिक कार्यसञ्चालनबाहेक अन्य दूरगामी र भविष्यमा असरपर्ने महत्वपूर्ण सरुवालगायत कुनै पनि निर्णय नगर्न निर्देशन दिनुभएको थियो।

तर, त्रिविको उपकुलपतिको दौडमा दरखास्त दिनुभएका प्राडा भुसालले निमित्त शिक्षाध्यक्ष प्रा. भार्गब धिताल र निमित्त रजिस्ट्रार डा. कृष्णप्रसाद बस्यालको साथ लिएर धमाधम कर्मचारी सरुवा गरेका छन्। कार्तिक १७ गते नियुक्त हुनुभएका उपकुलपति प्राडा भुसालको ३ महिने कार्यकाल यही १७ गतेबाट सकिँदै छ।यहि बीचमा गरिएको पुर्वाग्रहपुर्ण सरुवा के हुन्छ प्रश्न उठेको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।

बुधबार डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसामा कारोबार भएको थियो । 

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६० पैसा र बिक्री दर १४५ रुपैयाँ २६ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तो छ तपाईंको आजको राशिफल

मेष : दिन राम्रो छ। साथीसँग गफ गर्ने मौका मिल्नेछ। लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृष : समय राम्रो छ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको मेलमिलापमा घमण्ड आउने देखिन्छ।

मिथुन : आजको दिन चन्द्रमा दाहिना हुनाले धन लक्ष्मी योग परेको छ। आज धनको घमण्ड नगर्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा समस्या हुने देखिन्छ।

कर्कट : समय राम्रो छ। हरेक क्षेत्र सकारात्मक रहेकाले राम्रो कामको सुरुवात गर्नु राम्रो हुन्छ। धेरै अवसर अगाडि देखिए पनि एउटा क्षेत्र छनोट गर्नु राम्रो हुन्छ। परिवारबाट सहयोग मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ।

सिंह : दिन संघर्षमय छ। तपाईंले वादविवाद, आरोप-प्रत्यारोप सुन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ।

कन्या : दैनिकी राम्रो छ। दिन रमाइलो हुनेछ। भ्रमण र भेटघाटले मन खुशी हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

तुला : समय राम्रो छ। तपाईंको डुबेको लगानी उठ्ने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। संघर्ष गरेर कर्मलाई निरन्तरता दिनुपर्ने छ। हरेक क्षेत्रमा विवाद सुन्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीले भने उत्साह दिनेछ।

धनु : दैनिकी सामान्य राम्रो छ। आफ्नै बोलीका कारण विवाद हुनेछ। रोजगारीको क्षेत्रमा गरेको लगानीको प्रतिफल राम्रो मिल्नेछ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर रहनेछ।

मकर : समय सामान्य छ। ठुला कामको सुरुवात गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा ख्याल नगर्नाले समस्या हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारको साथ र सहयोगले मनमा शान्ति मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। राम्रा कामको जस अरुले नै लिन्छन्। तपाईंको मन दुःखाउनेहरु सक्रिय छन्। बिहान शिवको भजन सुन्नु राम्रो हुन्छ। पाथिभराको दर्शन वा स्मरण गरेमा सबै समस्या समाधान हुनेछन्। परिवारको साथ मिल्नेछ।

मीन : दिन राम्रो छ। स्वास्थानी माताको स्मरण गरेमा शिक्षाको क्षेत्र अब्बल रहनेछ। कर्मलाई प्राथमिकता दिएमा दिन रमाइलो हुनेछ। आफन्तसँग भेट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।