एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ। तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ। चैत १८ गते अनिवार्य गणित  र २० गते अनिवार्य विज्ञान विषयको परिक्षा हुनेछ।

यस्तै चैत २१ गते सामाजिक अध्ययन र २२ गते ऐच्छिक  प्रथमपत्रका सबै विषयको परिक्षा हुनेछ। परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

तालिका:-

नेपालमा पहिलोपटक ३ वर्षीय बालकमा सफल कलेजो प्रत्यारोपण

काठमाडौँ । नेपालमा पहिलो पटक ३ वर्षको बालकमा कलेजो प्रत्यारोपण सफल भएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत पुष २७ गते कलेजो प्रत्यारोपण गरिएका वीरगञ्ज, पर्साका ३ वर्षीय बालक ९ दिनपछि हिजो आइतबार स्वास्थ्यलाभ गरी अस्पतालबाट घर फर्किएका छन्।

बालकको अप्रेसनमा ५० जान चिकित्सकको टोलीले १४ घण्टा लगाएको श्रेष्ठले बताए । डा. श्रेष्ठको नेतृत्वमा भएका प्रत्यारोपणमा केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीले सार्वजनिक बिदाका दिन पनि प्रत्यारोपण गरेका हुन् । 

प्रत्यारोपणमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पुजा अमात्य लगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञ डा सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा वर्षा वर्मा तथा भारतीय चिकित्सकको पनि सहभागिता रहेको थियो ।

उनका अनुसार बच्चामा हुने क्यान्सरका कारणले कलेजो फेल भएको हो । 

बच्चालाई आइतबार ९ दिन र आमालाई ६ दिनमा डिस्चार्ज गरिएको  श्रेष्ठले बताए । केन्द्रका वरिष्ठ प्रशासक सहायक विश्वनाथ पौड्यालका अनुसार १५ देखि २० लाखसम्म रुपैयाँ कलेजो प्रत्यारोपणमा खर्च लाग्ने भए पनि १५ लाख मात्रै अस्पतालले लिएको छ । 

ती बालकलाई उनकी ३० वर्षीय आमा सिता भट्टले कलेजो दान दिएकी हुन् । प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको पौड्यालले बताए । 

अस्पतालको विज्ञप्तिमा भनिएको छ, ‘देशमा कलेजो प्रत्यारोपणको सुरुवात गर्ने यस केन्द्रले सबै भन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको छ । यस केन्द्रले सुरुको केही वर्ष वार्षिक १ दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष जनाको सफल कलेजो प्रत्यारोपण गरी सकेको छ भने केन्द्र स्थापनाको ११ वर्ष अवधिमा ११८८ जनाको मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण समेत भई सकेको छ ।’

बागमती प्रदेश लोकसेवा आयोगले माग्यो ११ सय १३ कर्मचारी (सूचनासहित)

काठमाडौं । बागमती प्रदेशको लोक सेवा आयोगले एक हजार एक सय १३ कर्मचारी माग गरेको छ। बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले सर्वाधिक संख्यामा कर्मचारी मागसहित विज्ञापन भएको हो।

प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि आवेदन माग गरिएको हो।

आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले नेपालको लोक सेवा आयोगकै इतिहासमा सर्वाधिक सङ्ख्यामा रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन माग गरिएको जानकारी दिए।

उनले यति धेरै सङ्ख्यामा लोक सेवा आयोगले पहिलो पटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरेको बताए।

नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ ।  उच्च अदालत पाटनले पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर पुनको नियुक्त बदर गरिदिएकाे हाे ।

न्यायाधीशहरू ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ति तत्कालका लागि कार्यान्वयन नगर्न आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै भरत मरासिनीले २६ पुसमा कार्यकारी निर्देशक पुन विरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । गत ४ पुसमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

पुनको नियुक्तिको विषयमा संसदीय समितिले पनि प्रश्न उठाएको थियो । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पुनकाे नियुत्तिको कागजात मागेको थियो । 

यो वर्षको एसइई चैत १५ देखि हुने

काठमाडौं । माध्यमिक शिक्षा (एसइई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसईईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो।

उहाँका अनुसार चैतको पहिलो हप्ता एसईई परीक्षा शुरू गर्ने योजना रहे पनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा शुरू गर्ने निर्णय भएको हो।

उहाँले भन्नुभयो– ‘चैत पहिलो हप्ताबाट परीक्षा शुरू गर्ने योजनामा थियौं, तर होली पर्व पर्ने र सोभन्दा अघि परीक्षा नसकिने भएकाले चैत १५ गतेबाट एसईई परीक्षा गर्ने निर्णय गरेका छौं।’यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४ सय ४४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन्।

तीमध्ये २ लाख ४६ हजार ४ छात्र र २ लाख ४३ हजार ४ सय ४० छात्रा परीक्षामा सहभागी हुँदै छन्। यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने हुन्छ।

यस्तो छ तपाईंको आजको राशिफल

मेष :(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन राम्रो छ । हरेक क्षेत्र सबल छन् । सांगीतिक क्षेत्रको यात्रा सफल बन्नेछ । आफन्तसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। अन्य सबै क्षेत्र सबल छन् ।

वृष :(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  दिन रमाइलो हुनेछ । परिवारबाट साथ र सहयोग रहने छ । बजारको तयारी खानाबाट टाढा रहनुपर्छ । बजारको खानपानले स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) दिन सामान्य राम्रो छ । शिक्षा र आर्थिक क्षेत्र सबल छन् । सामाजिक क्षेत्रमा प्रतिस्पर्धा गर्ने धेरै हुँदा सचेत हुनु राम्रो हुन्छ । परिवारको विश्वास जित्न नसक्दा अप्ठेरो पर्नसक्छ ।

कर्कट :(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन राम्रो छ । मान सम्मान प्राप्त हुने योग रहेको छ । पुरानो रोगले छोड्ने छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कन्या :(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  दिन राम्रो छ । हरेक क्षेत्रमा सफलता प्राप्त हुनेछ । विदेश जाने तयारीमा हुनुुहुन्छ भने सचेत हुनुपर्छ । यो क्षेत्रमा ठगको फन्दामा पर्ने खतरा छ । परिवारको साथ र सहयोगका कारण दिन रमाइलो हुनेछ ।

तुला :  (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समय राम्रो छ । शिक्षा र रोजगारीमा फाइदा हुनेछ । राज्यको सेवा सहजै प्राप्त हुनेछ । हिम्मत गरेमा आँटेको काम बन्नेछ । परिवारको साथ प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक :  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)दिन सामान्य छ । झुटा आरोप लगाएर हाँस्नेहरु धेरै देखिन्छन् । बिहान सूर्यको दर्शन गरेर कामको सुरुवात गरेमा दिन सफल हुनेछ । समस्या साथीसँग भन्नुभयो भने दिन सहज बन्नेछ । परिवारको साथ प्राप्त हुनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)दिन राम्रो छ । बजार, तीर्थ वा यात्रामा निस्कने योग छ । साथीको साथ मिल्नेछ । प्रेम सम्बन्धमा ख्याल गर्नु राम्रो हुन्छ । सोचेर मात्र बोल्नु राम्रो हुन्छ ।

मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  अचानक धन खर्च हुने योग रहेको छ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्र सबल रहेको छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ । परिवारको साथ प्राप्त हुनेछ ।

कुम्भ :(गु, गे, गो, सा, सि, सु, से, सो, दा)  समय सामान्य छ । ग्रहले साथ दिएको देखिँदैन । शनिदेवको छाया रहेकाले पाथिभराको भजन वा दर्शन गरेमा दोष मुक्त हुनेछ । आफ्नै परिवारबाट आरोप लाग्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)समय राम्रो छ । धर्ममा धन खर्च गर्ने योग रहेको छ । बोलीको प्रभावले चर्चा पाउने देखिन्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

बस दुर्घटना हुँदा २ जनाको मृत्यु

गएराति बर्दियाबाट काठमाडौं आउँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिए।

बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उनले बताए। शवलाई लमही अस्पतालमा राखिएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी अधिकारीलाई

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी वरिष्ठ कर्मचारीको हैसियतमा डा. नबराज अधिकारीलाई दिएको छ ।

गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्व विहीन बनेको छ । अर्थ मन्त्रालयले बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी कसलाई दिने भन्ने अन्योल कायमै रहँदा उनलाई नियुक्ति दिएको हो।

आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका वरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेवारी  दिएको हो।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्।अब नयाँ अध्यक्षको नियुक्ती नहुँदासम्म बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार अधिकारीलाई दिइएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक तत्काल बोलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन् ।

उनले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपकुलपति डा कार्कीलाई भने, “तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।”

यसैबीच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

तामाङ सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर

काठमाडौँ । पूर्वसांसद एवं संविधानसभा सदस्य इच्छाराज तामाङ दम्पतीलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार तामाङ दम्पतीबाहेक सोही मुद्दामा अरु ४ जना पनि दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न आदेश दिएको प्रवक्ता कार्कीले बताए ।

नक्कली लाइसेन्स बनाएर ठगी गर्नेलाई कानुनी दायरामा ल्याउने: मन्त्री ज्वाला

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नक्कली लाइसेन्स कान्डमा बदमासी गर्नेहरुलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।

१ लाख बढी अवैध स्मार्ट लाइसेन्स जारी धन्दामा यातायात व्यवस्था विभागमा कार्यरत आधा दर्जन प्राविधिक मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त विवरण अनुसार अवैध लाइसेन्स वितरण धन्दामा यातायात व्यवस्था विभागका तत्कालीन २ सूचना प्रविधि निर्देशक(उपसचिव) र ५ जना कम्प्युटर इन्जिनियर मुछिएको पाइएको छ । उनीहरू अहिले अख्तियारले निगरानीमा छन् ।

आइतबार मन्त्रालयमा प्रदेश सरकारका भौतिक मन्त्रीहरुसँगको समन्वय बैठकमा बोल्दै मन्त्री ज्वालाले कसैले उन्मुक्ति नपाउने बताएका हुन । नक्कली लाइसेन्स कान्डमा छानबिन समिति बनाएर काम थालिएको उनले जानकारी दिए । यातायात व्यवस्था विभाग र मन्त्रालय दुवै निकायबाट छानबिन भइरहेको उनको भनाइ छ ।

गत केहि हप्ता अघि विभागले बनाएको एक समितिले एक लाख भन्दा बढी नक्कली लाइसेन्स वितरण भएको दाबी गरेको थियो ।

 नक्कली लाइसेन्स कान्डमा दोषी ठहरिए कसैले पनि उन्मुक्ति नपाउने उनले बताए । उनले भने, ‘बदमासी गर्नेहरुलाई कानुनी दायरामा ल्याउँछौं, अख्तियार, सीआईबीबाट पनि अनुसन्धान हुन्छ, यसको निस्पक्ष छानबिन हुन्छ ।’  यसैगरी उनले सवारी लाइसेन्सको समस्या समाधान उन्मुख रहेको पनि बताएका छन् ।

उनले ६ लाख कार्ड तत्काल छपाइमा जान लागेको बताए । कुल पेन्डिङ १४ लाख कार्ड मध्ये पहिले ६ लाख तत्काल छापिने र अर्को ६ लाख क्रमशः छपाइ गर्ने गरी ट्र्याकमा लिइएको उनको भनाई छ ।

नेप्सेमा दाेहाेराे अंककाे गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २५.६३ अंकले घटेर दुई हजार एक सय ३० दशमलव १८ विन्दुमा बन्द भएको हो ।            

आज नेप्सेमा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६४ वटाको बढेको छ भने १७७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज कारोबार भएकामध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । समाज लघुवित्त र आँखु खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्तको ९.९४ प्रतिशतले बढेको छ। मिडसोलु हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेको छ । 

त्यस्तै, सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ८.२७ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

कारोबारमा आएका १३ उपसमूहमा हाइड्रोपावर र अन्य उपसमूह बाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूह नै २.४२ प्रतिशतले घटेको छ। धेरै पूँजी भएका बैंकहरुको शेयरमूल्य घट्दा त्यसले नेप्से सूचकलाई नै नकारात्मक बनाएको छ। यस दिन विकास बैंक र फाइनान्स उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धैरैले नकारात्मक देखिएको छ।

         

                      

न्यायाधीश परशुराम भट्टराईले दिए पदबाट राजीनामा

काठमाडौँ । जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले राजीनामा दिएका छन् । न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।

न्यायाधीश डा.भट्टराईले न्याय परिषद्मार्फत प्रधान न्यायाधीशसमक्ष राजीनामा बुझाएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । न्याय परिषद्ले विस्तृत छानबिनका लागि समिति गठन गरेको थियो । परिषद्मा परेका उजुरी र मुद्दामा मोलाहिजा, क्षमताको अभाव र बदनियत लगायतका विषयमा न्यायाधीशहरू अम्बिकाप्रसाद निरौला, डा.परशुराम भट्टराई र राजकुमार कोइरालामाथि विस्तृत छानबिनका समिति गठन गरेको थियो ।न्यायाधीश डा. भट्टराईको इजलासले हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायत माथिको आरोप पुष्टि नहुने भन्दै आरोपितलाई सफाइ दिएको थियो । उनको यो फैसलामा कैफियत देखिएको भन्दै न्याय परिषद्मा उजुरी परेको थियो ।
न्यायाधीश भट्टराईको राजीनामा कार्यान्वयनमा गएको छैन ।

मधेस प्रदेशमा डिआइजी ठाडा मगरका कारण सशस्त्र प्रहरीले बनायो उच्च छवि

बिरगंज । मधेस प्रदेश भित्र सशस्त्र प्रहरीले नागरिक सामु उच्च छबि बनाउदै गएको छ। संगठनको राम्रो छबि बन्दै गइरहेको बेला कहिँ कहिँ गुनासो समेत आएको छ। सशस्त्र प्रहरी हवल्दार गगन देव शाह भन्नेलाई एक साप्ताहिकले परिचयपत्र दिएर मधेसका केहि जिल्लामा चन्दा उठाउने धन्दामा संलग्न गराएर आतंक नै मच्याएको उजुरी सशस्त्र प्रहरी केन्द्रिय कार्यालय हल्चोकमा समेत परेपछि अनुसन्धान हुदै जादा हवल्दार साह गलत ठहरिए सगै उनलाई कार्वाही गरिएको छ।

प्रहरी त उनी भै नि हाले तर पत्रकार परिचय पत्र देखाएर बारा पर्सा रौतहटमा केहि ब्यापारीहरुलाई पैसा उठाउने अनि पुर्ब आई जी को नाम लिएर बाकि सबैलाई धम्काउने र गलत समाचार लेखाउने कार्य गरिरहेकोले सो कुरा जानकारीमा आए पश्चात प्रधान कार्यालयको कानुन महाशाखाले उसलाई जागिरबाट हटाउने निर्णय गरे सगै तिल्मिलाएका साह र उनले संकलन गरेको रकम खान पल्केका एक साप्ताहिकका सम्पादक इमानदार प्रहरी अधिकृतका बिरुद्ध समाचार सम्प्रेषणमा लागिपरेको समाचार जानकारीमा आएको छ।

मधेस प्रदेशका डिआइजी गणेश ठाडा मगरको मधेस प्रदेश प्रवेश सगै न्यूनीकरण भएका चोरी तस्करीका घटनाको सत्यतथ्य एकातिर छ भने लागुपदार्थ नस्ट देखी निरन्तर सशस्त्र प्रहरीले मधेसमा देखाएको दर्हो उपस्थितिको एकमुष्ट जस ठाडा मगरलाई जानु स्वभाबिक नै थियो । तर उठाउने धन्धामा बादल लागेपछि राम्रो काम गरेका डिआइजी ठाडा लाई बागमति प्रदेशको जिम्मेवारी दिनुपर्ने चौतर्फी रूपमा सुझाब आए सगै अतालिएका गिरोहबाट ठाडा मगरको ठिक बिपरित प्रचारप्रसार मा लागेको देख्दा मधेस प्रदेश सुध्रिएको देख्नेहरु चकित परेका छन्।

प्रधान कार्यालय अब केहि समयमा डिआइजिहरुको सरुवाको तयारीमा लागेको छ। गुण र दोषका आधारमा सरुवाको मापदण्ड बनाउदै गरेको प्रधान कार्यालय र गृह मन्त्रालयको उच्चस्तरीय टिमलाई प्रभावमा पर्ने मौका यहीँ हो भन्दै धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने मनसायका साथ केही थान पात्रलाई अगाडि सारेर काम गर्ने समुहलाई हतोत्साहित गराउने असफल प्रयास भैरहेको छ।

सशस्त्र प्रहरी संगठनको छबि सधैं उच्च बनाउन लागिपरेका डिआइजी ठाडा मगर बागमती प्रदेशको जिम्मेवारी आउनुपर्ने आवाज उठे संगै यहाँ आउन चाहाना राख्ने डिआइजि कमल गिरी पुर्वी क्षेत्रको रहिसक्नु भएको छ भने आर्का डिआइजी भट्टराइ उपत्याकाको सबै गणको गणपति तथा बाहिनी हुंदा सुदुर पश्चिम बसेका पात्र हुन तर कतै रोलक्रमले नै जिम्मेवारी पाउन लागेका ठाडा मगर यहि मौकामा रोक्न सकिए चौका दाउ लाग्थ्यो कि भन्ने मनसायको घिउ थपिए सगै निष्ठालाइ सधैं सिरोपर गर्ने डिआइजी ठाडा मगर जस्तैः सशस्त्र प्रहरीका उच्च अधिकारीले मनोबल खुम्चाएर हिडनुपर्ने बाध्यता नआओस भनेर कतिपयले कामना गरिरहेको बताइन्छ ।
मधेसका कतिपय संचारकर्मी नै तस्करीमा प्रयोग हुने
राज्यका निकायले सत्यतथ्य थप प्रमाणका निम्ति आधारका रूपमा लिने समाचारमध्यममा आउने समाचारलाई लिने गरेका छन् तर कहिलेकाही ती आउने समाचार नै कसै प्रती पुर्वाग्रह साधेर आउदा गन्तब्य सम्म पुग्न नसकिएका धेरै सन्दर्भहरु सम्झना योग्य बन्दै गएका छन्।

राष्ट्रिय स्तरमा चलेका पत्रीकाका जिल्ला स्थित सम्बाददाता पनि तस्करीमा जोडिएका घटनाक्रम पछिल्ला दिन नसुनेको होइन। त्यस्तै कतिपय जिल्लामा कार्यरत अनलाइन पोर्टलका कार्डधारीहरु दैनिक जसो सिमानाका राज्य द्वारा स्थापित संयन्त्र सग वार्गेनिङ गर्छ्न नसुने कार्यरत अधिकारीलाई हतोत्साहित गराउने गरि समाचार सम्प्रेषणमा उत्रन्छ्न भन्ने प्रमाण मधेशको धर्मेन्द्र यादव भन्ने पत्रकार तथा उनका नजिकका मित्र पत्रकार जय नारायण यादवले पनि पुष्टि गराउदा मधेसका धेरै स्वाभिमानी पत्रकारले शिर झुकाउनुपर्ने अवस्था आएको छ।
-ॠषिकुमार यादव

मेरो मनमा तिम्रो मुस्कान…………

मेरो मनमा तिम्रो मुस्कान घुमिरहन्छ 

तिम्रो मुस्कानले मेरो दिमागमा धेरै कुरा खेल्छ

एक सुन्दर दृश्य मनमा घुमिरहन्छ

धेरै नरम र धेरै दयालु रहेछौ हेरिरहन मन छ 

मेरा सोच र सपनाले मन भरिएको छ

म ब्युँझन्छु , मुस्कुराउँछु, सपनाहरू पूरा गर्नु  

तिमि बाट केही नयाँ कुरा सिक्नु छ

सङ्घर्ष र पसिनाले जीवन सजिने छ 

शब्दहरूले व्यक्त गर्नु भन्दा बढी माया गर्छु 

तिमि मेरो हौ मैले जान्न चाहन्छु

मैले जे गर्छु तिम्रो लागि गर्नेछु

तिमि नै हौ मेरो मनबाट माया गर्ने मायालु     

मेरो मनमा तिम्रो मुस्कान घुमिरहन्छ

तिम्रो मुस्कानले मेरो दिमागमा धेरै कुरा खेल्छ