डीआईजी अर्जुन चन्दको राजीनामा प्रहरी हेडक्वार्टरद्वारा फिर्ता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको छ ।

घरायसी कारण देखाउँदै गएको शनिबार उनले राजीनामा दिएका थिए। तर, प्रहरी प्रधान कार्यालयमा परामर्शपछि उनले राजीनामा फिर्ता लिएको स्रोतले जनाएको छ । त्यसपछि उनलाई बरु केही दिन बिदा बस्न भनेको स्रोतले बतायो । ‘उहाँलाई १० दिन बिदा बसेर आउन भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखमा कार्यररत डीआईजी चन्दले विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच कुटपिट भएपछि राजीनामा दिएका थिए । उनको कार्यकाल २०८१ चैतसम्म बाँकी छ ।

पनौतीबाट ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ

काठमाडौँ । प्रहरीले काभ्रेको पनौतीबाट ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका वडा नम्बर ५ आइटी पार्कमा जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पक्राउ पर्नेमा गाडी चालक नुवाकोटको विदुर नगरपालिका–११ घर भई अहिले काठमाडौँको बालाजु बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछापका २० वर्षका सञ्जीव तामाङ र ५३ वर्षीया विमला तामाङ रहेका छन् ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रका साझा मुद्दामा राजनीतिक दलहरू एकजुट हुनैपर्छ : सभामुख

काठमाडौं । आजदेखि सुरू भएको तेस्रो हिउँदे अधिवेसनको बैठकमा बोल्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका हुन्।

ऐन निर्माणमा संख्यात्मक नतिजा आउन नसकेकपनि एक वर्षको अवधिमा प्रयाप्त मात्रामा गृहकार्य  भएको उनको भनाइ छ। सभामुख घिमिरेले विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा समितिले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील हुँदै गएको दावी गरे। उनले चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्नुपर्ने र संसदीय गतिविधिलाई थप प्रभाकारी बनाउनुपर्नेमा जोड दिए।

सभामुख घिमिरेले विधिको शासन र पारदर्शीता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधार स्तम्भ भएको बताए। संसदमा अबलम्बन गरिने विधि र प्रक्रिया र अभ्यासलाई परिष्कृत र र जनमुखी बनाउन सामूहिक प्रतिवद्धता आवश्यक रहेको उनको भनाइ छ। संसदलाई प्रभावकारी,क्रियाशीलर जीवन्त बनाउनचालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्न लागेको बताए।

संसदीय गतिविधिलाई समयवद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथि छलफलका क्रममा  उठेका टिप्पणीलाई ध्यानमा राखेर यसै अधिवेशनबाट बजे सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने जानकारी गराए। संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले यस संस्थाप्रतिको विश्वास र भरोसा वृद्धि हुँदै  जाने बताउँदै  जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गरे।

प्रतिनिधि सभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ ।उक्त क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्नेछ । त्यसपछि फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक बस्ने दिनमा हुने छलफलको विषय पनि सार्वजनिक गरेको छ ।

सभामुख देवराज घिमिरेले संसदको यसै अधिवेशनबाट कार्यतालिका लागू हुने बताए । उनले सांसदहरूको विद्युतीय हाजिरी गरिने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने पनि बताए ।

उनले कार्यतालिका लागु हुने भएपछि सांसदहरूलाई सहज हुने बताए । गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरू उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणाममुखी बनाउन अपिल गर्दछु, ‘उनले सांसदहरूलाई भने । सभामुख घिमिरेले सांसदहरूको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी बन्ने पनि बताए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर संसदीय कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको बताए । बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्नेछ, उनले भने ।

प्रहरीलाई स्वतन्त्र रहन दिनुपर्छ: ओली

जनकपुर । एमाले अध्यक्ष केपी ओलीले राजनीतिज्ञले प्रहरीलाई स्वतन्त्र रहन दिनुपर्छ बताएका छन् । सर्लाही जाने क्रममा आज जनकपुरधाम एयरपोर्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रहरीलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए । 

प्रदेश सरकारहरूको निरन्तरको प्रयासपछि संघ सरकारले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाएका वेला ओलीले प्रहरीलाई मेरो र तेरो बनाउन नहुने बताए ।  ‘पुलिस त छँदै छ, कसले चलाउने भन्ने कुरामा विवाद हो ।

राजनीतिज्ञले प्रहरी चलाएर धेरै बिग्रिएको छ । नेताहरूले प्रहरी आफ्नै अधीनमा हुनुपर्छ भन्नु गलत हो,’ उनले भने, ‘सरकारको ध्यान जनतालाई सेवा दिने कुरामा हुनुपर्छ । प्रहरी कसले चलाउने भन्नेमा होइन ।’ 

मुख्यमन्त्रीहरूले प्रदेशमातहत प्रहरी नहुँदा शान्ति सुरक्षालगायतका काममा असर परेको भन्दै प्रदेशकै प्रभावकारितामाथि प्रश्न उठेको भन्दै निरन्तर संघ सरकारलाई दबाब दिँदै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समायोजनको प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेका वेला प्रमुख प्रतिपक्षी दलका नेताको यस्तो धारणा आएको हो । 

तिमी धेरै मायालु र……

तिमी धेरै मायालु र अधिक संयमी छौ
मन भित्रको माया बलियो बनाएकी छौ
पहाडमा घुम्दा घुम्दै यहाँ सम्म आए
यहाँ आएर मैले मिठो गीत गाए
                     
सुन्दर हिमाल सँग मितेरी गाँस्न पाए
पहाडको फेदीमा बस्नलाई घर बनाए
मायाको गीत गाउँछु मायामा रमाउँछु
ती नयनमा मायाको आभास पाउँछु
 
सबै सँग हाँसी खेली रमाएर बाच्नुपर्छ
मिठो स्वरमा गीत सुनाएर मन शान्त बनाउनुपर्छ
प्रकृतिको आँगनमा घुमेर बाच्नु छ
धर्तीमा कर्म गरेर अन्न उब्जाउनु छ
 
तिमी धेरै मायालु र अधिक संयमी छौ
मन भित्रको माया बलियो बनाएकी छौ

नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौं ।साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेर बन्द भएको छ। कारोबार अवधिको अधिकांश समय करिब स्थिर रहेको नेप्से, अन्तिम समयमा हाइ क्याप कम्पनीमध्ये एक एनटिसी अर्थात नेपाल टेलिकमको शेयरमूल्य बढेसँगै बढेको हो। आज नेप्से १४.५७ अंकले बढेर दुई हजार ७६ दशमलव २७ विन्दुमा बन्द भएको हो ।                                           

आज २ अर्ब ४३ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये १४८ वटाको बढेको छ भने ८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज नेपाल दुरुसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।  

त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ६.७८ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको १८ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.६८ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको हो।

 

खत्याडमा आगलागीबाट एक घर जलेर नष्ट, दुई बालक मृत्यु

मुगु । गएराति मुगुकाे खत्याडस्थित एक घरमा आगलागी हुँदा एकै घरका दुईजना बालकाे ज्यान गएका छन् । जिल्लाको पश्चिम खत्याड गाउँपालिका– २ गाडेखोला गाउँस्थित लालु माठागाईको घरमा आगलागी हुँदा दुईजना सुतिरहेका दाजु- बहिनीको मृत्यु भएको छ खरानी भएको प्रहरीले जनाएको  छ ।  आगोमा जलेर स्थानीय लालु सञ्जयालकी  १२ वर्षीया छोरी झरना र  १४ वर्षीय छोरा विशालको ज्यान गएको हो। 

बेलुका खाना खाइ उनीहरू सुत्न गएका थिए। राती २ बजेतिर घरभित्र एक्कासी आगो दनदनी बल्यो। त्यो कुरा विशालले चाल पाए। लगत्तै विशालकी आमा सरस्वति र उनी बाहिर निस्के । विशालकी आमा छिमेकीसँग  गुहार माग्न थालिन्। विशाल बहिनी बचाउन घरभित्र पसे।  सुतिरहेकी बहिनी बचाउन गएका बिहाल बाहिर निस्कन सकेनन्। उनी बहिनीसँगै आगोमा जलेर खरानी भए। विशाल ७ कक्षामा  र  झरना  ४ कक्षामा स्थानीय जनजागरण मावि सेरीमा पढ्दै थिए। घरमा आमा र दुईजना बालबालिका मात्रै थिए। 

मृतक बालबालिकाका बाबु लालु सञ्जयाल मजदुरी गर्न भारत छन् । आगलागीबाट लालुको घरसँगै जोडिएका उनका भाइ नरदिप र डिल्ली सञ्ज्यालको घरमा समेत क्षति पुगेको छ।

मृतकका आफन्त बिष्णुराज दाहालले झ्यालबाट विशालले बचाइदिनका लागि गुहार मागेको भएपनि बचाउन नसकेको दुखेसो पोखे। झ्याल फोड्नका लागि चाहिने औजार तत्काल नभेटिदा उनीहरूलाई बचाउन नसकिएको उनको भनाइ छ। घरभित्रै बालेको आगोबाटै आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक विरेन्द्र थापाले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टर आएपछि शवको पोष्टमार्टम गरिने प्रहरीले बताएको छ । आगलागीबाट चार गाईगोरु पनि जलेर मरेका छन् ।

देश र जनताको हितमा समर्पित हुनुस् सांसदलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका कामलाई जनतासमक्ष पुर्‍याउने गरी संसदमा प्रश्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको पाटीको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले सरकारले गरेका काम कारबाही जनतासमक्ष पुर्‍याउने गरी संसदमा आफ्ना धारणा राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको हो । संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा तेस्रो अधिवेशनलाई कसरी व्यवस्थ्ति गर्ने ? भन्नेबारेमा छलफल भएको बताउनु भयो । उहाँले बैठकमा प्रधानमन्त्री दाहालले भन्नुभएको भनाइलाई उद्धृत गर्दै सरकारले सुशासनका साथ जनताका पक्षमा उठाएका आवाजलाई संसदमा दरिलो आवाज उठाउन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको पनि बताउनु भयो । उहाँले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामति कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरुलाई निर्देशन दिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा हामीले तेस्रो अधिवेशनलाई कसरी व्यवस्थ्ति गर्ने ? सरकारले सुशासनका साथ जनताका पक्षमा जसरी आवाज उठाइरहेको छ, त्यसलाई जनताका प्रतिनिधि हामी दलका सदस्यहरुले संसदमा व्यवस्थित रुपमा कसरी उठाउने ? यि बारेमा हाम्रा छलफल भए ।

प्रधानमन्त्रीज्युले संसदलाई व्यवस्थित गर्नलाई खासगरी संघीयता कार्यान्वयनसँग सम्बन्धित जुन विधेयकहरु छन्, ति विधेयक व्यवस्थित गर्ने र सदनमा लैजाने र छलफल गर्ने बारेमा सांसदहरुलाई निर्देशन दिनुभएको छ । भोलि हामी ९ बजे बैठक बस्नेछौँ । राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रभावकारी रुपमा कसरी जनाताका आवाज लैजाने ? सरकारले गरेका राम्रा कामलाई जनतासमक्ष पु-याउने गरी लैजाने गरेर जानका लागि आवश्यक निर्देशन दिनुभएको छ । संसदमा अब कार्यतालिकाकासाथ जानेकुरा हामी प्रमुख सचेतक र सचेतक तथा सांसदहरु उठाउनुभएको थियो । कार्य व्यवस्थाको बैठक बस्दैछ, त्यहाँ कार्यतालिका आउँछ । त्यो कार्यतालिकालाई पालन गरेर आफ्नो भुमिकासहित अघि बढ्नेछौँ । टिआरसी सरकारको, हाम्रो पार्टीको सबैभन्दा बढी प्राथमिकता भएको विधेयक हो । सरकारले सकेसम्म सहमतिबाट अघि बढाउने भनेको छ । सहमति हुन सकेन भने प्रक्रियामा लगेर भनेपनि टुंग्याउने भन्ने छ । सकेसम्म सहमतिबाटै टुंग्याऔँ भन्ने हो ।’

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक सरकारको सबैभन्दा बढी प्राथमिकता भएको विधेयक रहेको बताउनु भयो । बैठक मंगलवार बिहान ९ बजे पुनः बस्नेछ ।

टीआरसीको मस्यौदा मिलाएर पारित गरिन्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन’ (टीआरसी) को मस्यौदा मिलाएर पारित गरिने बताएका छन् ।महोत्तरीको जलेश्वरमा पार्टी अधिवेशनमा सहभागी हुन आएका ओलीले सञ्चारकर्मीहरूसँगको भेटघाटमा तीन तहको सरकारका कारण संघीयतामाथि प्रश्न उठिरहेको बताए ।

‘टीआरसीको मस्यौदामा केही कुराहरू मिलेको छैन, ‘नेकपा एमालेले मस्यौदालाई मिलाएर पारित गर्ने पक्षमा छ ।

पीडितहरूले न्याय पाउनु पर्ने, ऐन पीडित केन्द्रित हुनु पर्ने, पीडितलाई पीडा थप्नु भएन, पीडितलाई जोरजुलुम गर्नु भएन, मानवताविरुद्धका जघन्य अपराधमा छुट नहुने गरी अर्न्तराष्ट्रिय समुदायले स्वीकार गर्ने गरी र सर्वोच्च अदालतको फैसलाअनुसार फेरि हिंसा नहुने गरी ऐन पारित गर्न एमाले तयार छ । ऐन पीडित मैत्री बन्नु पर्छ, ‘उनले भने ।

संघ, प्रदेश र स्थानीय तहको सरकारबाट राम्रोसँग काम नहुँदा जनताले सेवा सुविधा पाएनन् र विकासको अनुभूति गर्न सकेनन्, उनले भने,‘अहिले संघीयताबारे प्रश्न उठाउने बेला होइन । संघीयता सफल बनाउने बेला हो । संविधान कार्यान्वयन नहुँदै असफल भन्ने तरिका ठिक भएन ।’प्रदेश सरकारले अधिकारका लागि संघीय सरकारविरुद्ध लडाईं लडिरहँदा प्रदेश सरकारहरूले स्थानीय तहलाई दिनुपर्ने अधिकारबाट कुण्ठित गरिरहेकोले तीनै तहको सरकारले संविधानअनुसार अधिकार प्रत्योजन गर्नु पर्ने हुन्छ ।

उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले  स्थानीय तह, प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका २३ पदहरूमा आगामी दिनमा उपनिर्वाचन गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको छ । आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको उल्लेख गर्दै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ । 

साथै आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गरेको हो ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ ।

स्थानीय तह, प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

१५ दिन थपियो बालकुमारी घटना जाँचबुझ आयोगको अवधि

काठमाडौं। ललितपुरको बालकुमारीमा हालै भएको घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ । बालकुमारीमा गएको पुस १३ गते कोरियाको रोजगारी अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको सन्दर्भमा भएको प्रदर्शनपछि झडप हुँदा दुईजनाको मृत्यु भएको थियो भने यातायातमन्त्रीको गाडी जलाइएको थियो । 

उक्त घटनाको छानबिन गर्न मन्त्रिपरिषदले पुस १६ गते गठन गरेको जाँचबुझ आयोगको म्याद १५ दिन थप गरिएको गृहमन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए। समितिलाई छानबिनका लागि एक महिनाको म्याद दिइएको भए पनि काम सम्पन्न नभएकाले म्याद थपिएको हो।

उक्त घटनामा २३ वर्षका सुजन रावत र २२ वर्षका वीरेन्द्र शाहको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार तथा यातायतमन्त्री प्रकाश ज्वाला चढेको गाडी प्रदर्शनकारीले जलाएका थिए।

त्यसपछि सरकारले पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन्।

मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगलाई घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरणको अध्ययन र विश्लेषण गर्ने, उक्त घटनाका कारण र सो स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने, उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिका सम्बन्धमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा त्यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटिएको प्रतिवेदन तयार पारी पेस गर्ने जिम्मेवारी दिएको छ।

उक्त घटनापछि केही प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छभने ललितपुरका तत्कालीन प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय र तत्कालीन प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितलाई गृहमन्त्रालयमा फिर्ता गरिएको थियो।

पाकिस्तानको प्रहरी चौकीमा आक्रमणकारीले तीन दिशाबाट हमला आक्रमण गर्दा , कम्तीमा १० सुरक्षाकर्मीको मृत्यु

एजेनसी । उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् ।

“चौकीमा ३० भन्दा बढी आक्रमणकारीले तीन दिशाबाट हमला गरेका थिए । खैबर पख्तुनख्वा प्रान्तका प्रहरी प्रमुख अख्तर हयात गण्डापुरले एएफपीसँग भने, “साढे दुई घण्टाभन्दा बढी सशस्त्र झडप भएको उक्त घटनामा कम्तीमा १० सुरक्षाकर्मी मारिएका छन् ।”

उनले डेरा इस्माइल खान जिल्लाको चौधवान प्रहरी चौकीमा भएको आक्रमणमा अन्य चार सुरक्षाकर्मी घाइते भएको जानकारी दिए । खैबर पख्तुनख्वाको सीमावर्ती क्षेत्रमा वर्षौंदेखि पाकिस्तानी तालिवान, इस्लामिक स्टेट र अन्य समूहले सरकार र सुरक्षा लक्ष्यमा आक्रमण गर्नुका साथै सर्वसाधारणलाई लक्षित गर्ने गरेका छन् । 

गण्डापुरको स्थानीय प्रशासनले एएफपीलाई बताएअनुसार आक्रमणकारीहरूले सोमबार बिहान आक्रमणको क्रममा केही समयका लागि प्रहरी चौकीलाई नियन्त्रणमा लिएका थिए ।

गत हप्ता पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा रहेको एक सरकारी भवन परिसरमा बलोच पृथकतावादी समूहले लुकीछिपी आक्रमण गरेपछि भएको घटनामा २४ जना लडाकू मारिएको सेनाले जनाएको थियो । आक्रमण र त्यसपछिको खोजी कारबाहीमा चार सुरक्षाकर्मी र दुई सर्वसाधारणको मृत्यु भएको थियो ।

प्रतिबन्धित बलोच पृथकतावादी समूह बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणको जिम्मेवारी लिएको छ । पाकिस्तानको निर्वाचन आयोगले गत हप्ता खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा पूर्वनिर्धारित कार्यक्रमअनुसार नै मतदान हुने बताएको थियो । हिंसा भड्किएपछि सुरक्षा अधिकारीहरूसँग आकस्मिक बैठक गरी निर्वाचन कार्यक्रम यथावत रहने बताएको थियो । सुरक्षाका लागि देशभर हजारौँ सुरक्षाकर्मी परिचालन गरिने सरकारले जनाएको छ ।

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको भाउ घटेको छ ।  आज सोमबार आइतबार प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलाको एक लाख १८ हजार ५०० मा कारोबार भइरहेको छ । तेजावी सुन भने एक लाख १७ हजार ९५० मा कारोबार भइरहेको छ । 

आइतबार छापावाल सुन तोलामा एक लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन तोलामा एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 

यता, चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ३९० मा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दोहोरो शतक हान्दै रचिन रविन्द्रले बनाए कीर्तिमान

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको जारी टेष्टमा न्यूजील्याण्डबाट रचिन रविन्द्रले दोहोरो शतक बनाएका छन् । दक्षिण अफ्रिकाविरुद्धको जारी टेष्टमा २४० रन बनाएका रविन्द्रले न्यूजील्याण्डबाट डेभ्यु शतक बनाउने क्रममा धेरै रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन्।

यस अघि आफ्नो डेभ्यु टेष्ट शतक बनाउने क्रममा १९९९ मा  म्याथ्यू सिनक्लेयरले २१४ रन बनाएका थिए। यो कीर्तिमान अब रविन्द्रको नाममा गएको छ। यस टेष्टमा पहिला ब्याटिङ गरेको न्यूजील्याण्ड ५११ रन बनाउदै अल आउट भएको थियो।

रविन्द्रले केन विलियम्सनसँग तेस्रो विकेटका लागि २३२ रनको साझेदारी गरेका थिए भने डार्यल मिचेलसँग १०३ रनको तथा ग्लेन फिलिपसँग ८२ रनको साझेदारी गरेका थिए।

यस टेष्टमा विलियम्सनले ११८ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै दक्षिण अफ्रिकाका कप्तान निइल ब्राण्डले सर्वाधिक ६ विकेट लिएका थिए। दक्षिण अफ्रीकाले आफ्नो पहिलो ब्याटिंग शुरु गरेको छ।

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जना दौडमा (नामावलिसहित)

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार आवेदन दिने अन्तिम दिन आज आइतबारसम्म २५ जनको आवेदन परेको हो । 

आवेदन दिनेमा मैनेजरप्रसाद कानू, रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय छन् ।
त्यस्तै डोलेन्द्रप्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरेन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी र श्रीकृष्ण सुवेदीले पनि अध्यक्ष बन्न निवेदन दिएका छन् । त्यस्तै आवेदन दिनेमा भुपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनालसमेत रहेको उनले बताए ।

टेरामक्स र एमडीएमएस प्रणाली खरिद विवादमा परेपछि २४ पुसमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए । त्यसपछि मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि सचिव रामकृष्ण सुवेदीको नेतृत्वको सिफारिस समितिले १४ माघमा अध्यक्ष पदका लागि आवेदन माग्दै सूचना निकालेको थियो ।

जसमा सञ्चार मन्त्रीका सल्लाहकार रहेका भण्डारीदेखि विभिन्न संस्थानहरूमा यसअघि नेतृत्व गरिसकेकाहरु आकांक्षीका रुपमा देखिएका छन् । तर दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि ऐन र नियावलीअनुसार योग्यता नराखिएको विवाद भएपछि सर्वोच्च अदालतमा रिट समेत परेको छ ।

सचिव  सुवेदीको नेतृत्वको समितिले ३ जनाको नाम सिफारिस गरेर मन्त्रिपिरषदमा नियुक्तिका लागि सिफारिस गर्नेछ । त्यसैअनुसार मन्त्रिरपरिषदले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ ।