आजदेखि संसदको हिउँदे अधिवेशन, यस्ता छन् कार्यसूची

काठमाडौं । विधेयक अधिवेशनका रूपमा लिइने संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक आज अपराह्न ४ बजे बस्दैछ ।

यसै अधिवेशनबाट सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी) २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने मुख्य लक्ष्य राखेको छ । संसद्मा उक्त विधेयक गत फागुन २५ मा दर्ता भएको थियो । योसँगै संघीयतासँग जोडिएका कानुन पनि यसै अधिवेशनबाट पारित गर्ने तयारीमा सरकार जुटेको छ ।

 बैठक ढिलो बोलाइएकाले शीर्ष नेताहरुले आज सम्बोधन गर्ने छैनन् । यद्दपि आगामी २४ गतेको बैठकमा मात्र सम्बोधन गर्ने तयारी छ यस्तै, बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।

यस्तै, बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन० अध्यादेश, २०८० पेस गर्ने र त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गर्नेछन् ।

प्रि ओपन सेसनमा नेप्से सूचक २.२२ विन्दुले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.२२ विन्दुले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ५.३१ अंक घटेर २०६१.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२२ अंक बढेर २०६३.९२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५४ अंक घटेको छ।

यो सेसनमा कुल ५३ वटा कारोबार भएको हो । २२ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय, एक अर्ब ७२ करोड जरिवाना

काठमाडौँ । पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय भएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ ।

तामाङकी श्रीमती सृजना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय तोकिएको छ । केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार एक सय २४ रुपैयाँ ३७ पैसा बिगो, बिगो बराबर जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय भएको छ ।

कति छ आज विदेशी मुद्राको विनिमय दर? (सुचिसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४३ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

मन्त्रालयलाई बालेनको जवाफ : लाज त्यागेर पत्र लेख्नुको औचित्य के ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले धरहराको बेसमेन्टको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । निर्माणाधीन धरहराको बेसमेन्टमा समन्वय नै नगरी निःशुल्क पार्किङ सुविधा उपलब्ध गराएको भन्दै महानगरपालिकालाई सहरी विकास मन्त्रालयले ध्यानाकर्षण गराए पछि उनले यस्तो जवाफ दिएका हुन् । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण पुरा नभई कन पार्किङ गराउने नमिल्ने पत्राचार गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्। तर, कुन निकायले निःशुल्क पार्किङ बन्द गर्न पत्र पठायो खुलाएका छैनन्। उनले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सो पार्किङ भाडामा लगाउने प्रयास भएको आरोप लगाए।

उनले अहिले धेरैको नजरमा धरहराको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको पनि उल्लेख गरे। ‘हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ,’ उनले भनेका छन्।

उनले पत्र पठाउँदैमा पार्किङ बन्द नहुने भन्दै महानगरको पहलमा निःशुल्क पार्किङलाई अझै व्यवस्थित गर्दै लगिने बताए। ‘केही दिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नु।’

‘उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘अन्त्यमा सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन, महानगरको पहलमा अहिलेको लागि नि सुल्क सञ्चालन हुँदै छ , अझै व्यवस्थापन गर्दै लग्नेछौँ।’

उनले तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन आवश्यक रहेको बताए।

केपी ओलीप्रति लक्षित गर्दै भने,‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ। संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ।’

यस्तो छ तपाईंको २२ माघ २०८०, सोमबार आजको राशिफल

मेष : दिन राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। पुराना साथीसँगको भेटले दिन रमाइलो हुनेछ। लगानी गरेका ठाउँमा आम्दानी बढ्नेछ । पारिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानी सफल हुनेछ। आय भन्दा खर्च बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक हुन्छ। मासु र मदिराको लतमा रहेका साथीसँग सचेत हुनु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

कर्कट : दिन सामान्य छ। झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। नजिकका आफन्तबाट असहयोग हुनेछ। आजको दिन हनुमानको भजन मात्र सुने पनि काममा देखिएको अवरोध खुल्नेछ। परिवारको साथ पाइनेछ। प्रेम सम्बन्ध राम्रो बन्नेछ।

सिंह : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। रोगमुक्त हुने योगे छ। हरेक क्षेत्र सबल छन्। परिवारका सदस्यको गुनासो सुन्नुपर्नेछ।

कन्या : दिन राम्रो छ। ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा लाभ प्राप्त हुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। तर्साएर सफल बन्न खोज्नेसँग जोगिएर काम गर्नु राम्रो हुन्छ।

तुला : दिन राम्रो छ। समय सदुपयोग गर्नु राम्रो हुन्छ। समय नबुझेकै कारण परिवारसँग झगडा हुनसक्छ। धार्मिक र सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

वृश्चिक : दिन सामान्य छ। राम्रो कामको जस अरुले नै लिन खोज्छन्। आफ्ना भनेकाबाट धोखा हुने खतरा छ। साथीसँग सचेत हुनुपर्ने देखिन्छ। परिवारको तर्फबाट भने राम्रो साथ मिल्नेछ।

धनु : दिन राम्रो छ। सभा–समारोह वा व्यवहारिक काममा थोरै बोलेको राम्रो हुनेछ। अन्य क्षेत्रमा भएको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

मकर : दिन सामान्य छ। अचानक खर्च बढ्नेछ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। परिवारको साथले गर्दा दिन भने खुशीका साथ बित्नेछ।

कुम्भ : समय सामान्य राम्रो छ। बोल्न नजान्दा शब्दको जालमा फस्ने योग रहेको छ। थोरै र अर्थपूर्ण शब्द बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ। नसोची गरेको लगानीले घाटा हुनसक्छ। जानकार वा विज्ञसँग सल्लाह गरेर काम गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

चार करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएकी पक्राउ 

काठमाडौं । प्रहरीले चार करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएकी घराना डेभलपर्स प्रालिकी सञ्चालक मन्दिरा केसी (कार्की) लाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

उनले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर घराना डेभलपर्सका नाममा रहेको भक्तपुरको साविक चाँगुनारायण गाविस ७ र ९ का जग्गा धितो राखेर कर्जा लिएकी थिइन्। तर तोकिएको परियोजनामा कर्जा लगानी नगरी दुरुपयोग गरेको भन्दै बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनलाई २०७१ वैशाख २९ गते दोषी ठहर गरेको थियो । अदालतले ३ वर्ष कैद र ४ करोडको जरिवाना सुनाएपछि उनी फरार भएकी थिइन्।

फरार रहेकी केसीलाई काभ्रेबाट पक्राउ गरिएको छ । फैसला कार्यान्वयका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।

आदिवासी जनजातिको ज्ञान र सीपबाट राष्ट्रिय आय बढाउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताएका छन् ।  आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ०७० को चुनावमा आफूहरू पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भन्ने मूल नारा लिएर गएपनि त्यसकाे विरुद्ध जनमत देखिएकाे बताउनुभयाे ।

आदिवासी जनजाति आयोगमा साधनस्रोतको कमी रहेको, ऐनमा व्यवस्था भएबमोजिम प्रादेशिक कार्यालय स्थापनामा ढिलाइ भएको भन्ने विषयमा आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले जनसङ्ख्याको अनुपातमा नीति निर्माणको तहमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व हुन नसकेका विषयमा नेपाल सरकारको तर्फबाट आवश्यक हुने विश्वास बताए ।

पहिचानसहितको संघीयताकाे नारा लिएर चुनावमा जाँदा जनताकाे साथ नपाउनु दुर्भाग्यपूर्ण भएकाे उहाँले बताउनुभयाे । साे चुनावमा आदिवासी जनजातिहरुले नै पहिचान विराेधीलाई भाेट हालेकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘०७० काे चुनावकाे सन्दर्भमा हामीले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भन्ने मूल नारा लिएर निर्वाचनमा गयाैं, तर त्याे नाराकाे पक्षमा जनमत देखिएन, त्यसकाे विरुद्ध जनमत देखियाे, याे बढाे दुर्भाग्यपूर्ण कुरा हाे, निर्वाचन सकिएपछि एक जना स्थापित नेता मकहाँ आउनुभयाे तपाइँहरु नारा लगाउनुभयाे तर जनजातिले भाेट जति सबै पहिचान विराेधीलाई हाले मैले हाेइन उहाँले भन्नुभएकाे हाे ।’

भाेट नदिनुमा जनताकाे नभएर आफूहरुकाे कमजाेरी भएकाे भनेर आफूले ती नेतालाई भनेकाे ‍प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । ‘मैले भने यो आदिवासी जनजातिको दोष होइन भनेँ, याे पहिचान र संघीयताको पक्षमा, समावेशी र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमीको परिणाम हो भनेँ मैले, त्यसो गर्ने पार्टी एकताबद्ध नरहनु र जनतालाई यो विश्वास दिलाउन नसक्नु, की पहिचान र अधिकारको लडाइँ हामीले जित्न सक्छौँ भन्ने विश्वास दिलाउन नसक्नु हाम्रो कमजोरी हो, जनताको कमजोरी होइन भनेर भनेकाे थिएँ’- उहाँले भन्नुभयाे ।

आदिवासीकाे ज्ञान र सीपलाई संरक्षण गर्ने, आदिवासी जनजातिको सांस्कृतिक सम्पदालाई युनेस्कोमा अभिलेखन गर्ने लगायत काम सरकारले गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले जनाउनुभयाे ।

आदिवासी जनजाति आयोग अहिले पनि स्रोत र साधन सम्पन्न नभएको भन्दै उहाँले त्यसलाई स्रोत साधन सम्पन्न बनाइने प्रतिबद्धता जनाउनुभयाे ।आदिवासी जनजाति समुदायका सबै समस्याबारे आफू जानकार रहेकाे भन्दै प्रधानमन्त्री प्रचण्डले ती समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभयाे ।

गठबन्धन सरकार असफल भइसक्यो, कांग्रेस हेरेर नबसोस् : भट्टराई

ताप्लेजुङ । एमाले सचिव एवं प्रतिनिधि सभाका सांसद योगेश भटराईले अहिलेको गठवन्धन सरकार असफल भइसकेको बताउनुभएको छ । अहिलेको सरकार चाहिँ असफल भएको आरोप लगाएका छन् । प्रेस चौतारी ताप्लेजुङको २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले अब गठबन्धन दल कांग्रेसले यही अवस्थालाई टुलुटुलु हेरेर बस्ने की जनचाहना अनुसारको निर्णय लिने सोच्ने अवस्था भइसकेको बताए ।

नेपालमा हरेक दशकमा केही न केही परिवर्तन भएको स्मरण गर्दै उनले प्रजातन्त्र, गणतन्त्रको विकल्प निरंकुशता नभएको बताए । नेपालमा पृथ्वी नारायण शाह बाहेक कुनैपनि राजाको भूमिका नभएको भट्टराईको दाब थियो । ‘उनले एकीकरण नगरेको भए ब्रिटिस साम्राज्यले कहाँ पुर्याउँथ्यो’ भटराईले थपे, ‘राजतन्त्र वर्तमान पनि होइन र भविष्य पनि होइन । नेपालमा अहिलेको व्यवस्था निर्विकल्प हो । खुला समाजको विकल्प निरंकुश हुन सक्दैन ।’

अहिलेको सरकार ‘सरकार राजस्व संकलनमा चुकेको छ । एक खर्ब ५० करोड ऋण कर्मचारी लाई तलब खुवाउन ऋण लिनु परेको छ । सुशासनमा इतिहासकै सबैभन्दा भ्रष्ट भएको छ । सुरुमा ताप्के तातेजस्तो तातिन्छ अनि गठवन्धनका नेता तानिन थालेपछि छानबिन अन्तै मोडिन्छ’ उनले भने ।

अनुसन्धान गर्ने प्रहरी अधिकारी हटाइनु, सुन काण्डमा माओवादीका नेता तानिन थालेपछि छानबिन हराउनु यसको उदाहरण भएको उनले बताए । ‘बाँसबारी छानबिनमा सरकार तात्तियो अब काग्रेसका सांसद समेत मुछिने भएपछि सामसुम हुन्छ, ‘ उनले भने, ‘सरकार निकम्मा र कमजोर भएको छ ।’

यो सरकार जतिदिन बस्छ मुलुक बर्बादीमा जाने उनले बताए । ‘सरकार असफल हुँदा व्यवस्था असफल भएको होइन । कांग्रेसले यो अवस्था हेरेर नबसोस् र पुनर्विचार गर्नुहोस । कांग्रेसले कित्ता स्पष्ट गर्नुपर्छ भनेर हामीले भनेका छौं’ भटराईले थपे ।

उपसचिव बढुवाको सिफारिस (सुचिसहित)

काठमाडौँ । पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको बैठकले नेपाल लेखापरीक्षण सेवाका चार जना र नेपाल इञ्जिनियरिङ सेवा तर्फका शाखा अधिकृतलाई कार्यक्षमताको आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।शाखा अधिकृतबाट उपसचिव बढुवा हुनेमा डुलहरि दाहाल, संगीता फुयाल, पिंकीकुमारी दास र मञ्जु पन्थी छन् भने सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहतर्फ वीरबहादुर रावल सिफारिस भएका बताइएको छ।

सुचि:-

बलात्कारकाे आरोपमा नेपाल प्रहरीका एक प्रहरी पक्राउ

काठमाडौं । बलात्कारको आरोपमा नेपाल प्रहरीका एक पूर्व प्रहरी निरुद्र यादवलाई बलात्कारको जाहेरी पाएपछि पक्राउ गरेको हो ।

एकै घरमा भाडामा बस्ने युवतीमाथि यादवले पुस १७ गते बलात्कार गरेको पीडितको दाबी रहेको छ । राति करिब ८ बजेतिर घरमा आमा नभएको समयमा पीडितको कोठामा आएर जबरजस्ती करणी गरेको भन्दै उनले जाहेरी दिएकी थिइन् । यादवले सुरूमा ढोका ढक्ढक्याउँदै पानी मागेको र त्यसपछि कोठाभित्र पसेपछि नफर्केको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन्। डेरा गरी एउटै ठाउँमा बस्ने चिनजानको व्यक्ति भएकाले ढोका खोलेको भित्र छिरेपछि उनी फर्किएर गएनन्’, पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।
आमालाई एसिड छ्यापेर कुरुप बनाइदिने धम्की दिँदै पीडितले प्रतिवाद गर्न खोजेपनि थप त्रासमा पारेर बल प्रयोग गर्दै जबरजस्ती गरेको जाहेरीमा पीडितले उल्लेख गरेकी छिन् । यससँगै यसबारेमा कसैलाई थाहा दिए मार्ने धम्की समेत उनले दिएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन्।

यसैगरी, अर्को दिन पनि यादवले बन्दुकको त्रास देखाएर पीडितलाई फेरि बलात्कार गरेको पीडितले बताएकी छिन्।

सोहि जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले यादवलाई नियन्त्रणमा लिएको हो । यादवले भने सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिँदा इन्कारी बयान दिएका छन् । पूर्व सईले आफू पीडितकी आमासँग सम्बन्धमा रहेको र पीडितलाई आफ्नो छोरी जस्तै मान्ने बताएका छन् ।

प्रहरीको अनुसन्धानमा पीडितको स्वास्थ्य जाँच प्रतिवेदनबाट बलात्कार गरेको पुष्टि भएको छ । सोहि निष्कर्ष र रायसहितको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाइसकेको छ।

पूर्व सई यादवले २०७६ को पुस १ गते प्रहरीबाट राजीनामा दिएका थिए । अहिले उनी एक निजी कम्पनीको सुरक्षागार्डका रुपमा कार्यरत छन्

नेप्सेमा सामान्य अंकको गिरावटसंगै, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ५.३१ अंकले घटेर दुई हजार ६१ दशमलव ७० विन्दुमा बन्द भएको हो ।                                          

आज ३ अर्ब २१ करोड ६७ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये १०४ वटाको बढेको छ भने १३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२०३.५० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.४६ प्रतिशतले बढेको छ ।  

त्यस्तै, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन एशियन लाइफ इन्स्योरेन्सले करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ भने निफ्राको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०४ प्रतिशत घटेको छ।

         

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित

काठमाडौं । परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोइरालालाई सम्मान गरेका हुन् ।

हजारौं सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुनःजीवन दिन पुर्याुएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्षको परशुराम–शकुन्तला विशिष्ट सेवा सम्मान प्रदान गरेको छ ।

साहित्यकार प्रा डा रामप्रसाद दाहाल, प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहाल र उपप्राध्यापक केशवप्रसाद दाहालद्वारा आफ्ना माता–पिता शकुन्तला दाहाल र परशुराम उपाध्यायको स्मृतिमा विसं २०६८ मा उक्त प्रतिष्ठान स्थापना गरेका थिए। प्रतिष्ठानले समाजका विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रत्येक वर्ष विशिष्ट सम्मान प्रदान गर्दै आएको छ। प्रतिष्ठानले पछि परेका वर्ग, क्षेत्र र समुदायलाई अघि बढ्न छात्रवृत्तिका माध्यमबाट उत्पे्ररणा र हौसल्ला प्रदान गर्दै आएको छ। सो अवसरमा प्रतिभा प्रोत्साहन मोर्डन कन्या कलेजकी छात्रा सरस्वती परियार र श्लेषा दर्नाललाई प्रदान गर्‍यो।

सो अवसरमा सभामुख घिमिरेले मुटुको उपचारका क्षेत्रमा क्रियाशील रही उदाहरण प्रस्तुत गर्ने डा कोइरालाको जहाँ इच्छा त्यहाँ उपायको प्रतीकका रूपमा रहेको बताए। ‘प्रतिष्ठान पनि संस्कारद्वारा समाजमा समृद्धि ल्याउन सकिन्छ भन्ने अभियानमा जुटेको छ। डा कोइरालाले पनि इच्छालाई प्रयत्नमा बदलेर परिणाम दिइरहनुभएको छ,’ उनले भने।

मानिसले मृत्युलाई असल कामबौ जित्न सक्ने भन्दै सभामुख घिमिरेले झापामा बच्चाहरूको मुटुको उपचारका लागि डा कोइरालाकै निष्ठा, योगदान, सक्रियता र अग्रसरतामा ठूलो योजना अघि बढिरहेकाले त्यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गरे। सुशासनका माध्यमबाट मात्रै राष्ट्र र समाजलाई अघि बढाउन सकिने र त्यसका लागि आफूलाई लागेका र देखेका विषय स्पष्टसँग राख्दै कमी–कमजोरी हटाउन दिशानिर्देश गर्ने प्रतिष्ठानका अध्यक्ष दाहालको व्यवहार, शैली र अभिव्यक्ति प्रशंसायोग्य रहेको बताए।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय मुद्दामा दलभन्दा माथि उठेर देशलाई समृद्धि तुल्याउने अभियानमा सहभागी हुन सबै तह र तप्कालाई आह्वान गरे। ‘परशुराम–शकुन्तला दाहाल परिवार संस्कार, संस्कृति, सद्भाव र विचारका माध्यमद्वारा मुलुकमा समृद्धि र सुगन्ध छर्न सफल हुनुभएको छ,’ उनले भने।

सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मानिसको जीवनदान भगवान्ले मात्रै दिन सक्छन् भन्ने मान्यता रहेको नेपाली समाजमा डा कोइरालाले भगवान्कै स्वरुपमा कार्यजिम्मेवारी गरिरहेको बताए। सम्मानित व्यक्तित्व डा कोइरालाले राज्यले सुम्पिएको कार्यजिम्मेवारीभित्र रही मुटुरोगका क्षेत्रमा कर्तव्य पूरा गर्ने कोसिस गरेकाले त्यसलाई अस्वाभाविक कामका रूपमा नबुझिदिन आग्रह गरे। ‘मुलुकमा असल काम गर्नेको सङ्ख्यामा कमी आएको छ, राम्रो काम गर्नेलाई उत्साहित र प्रोत्साहित गर्न जरुरी छ। समाजमा अध्यक्ष दाहालजस्तो इमान्दार, प्रभावशाली र बेजोड प्रस्तुति भएका व्यक्तित्व पाउन कठिन छ,’ उनले भने।

उद्योगी डा उपेन्द्र महतोले सम्मानित व्यक्तित्व डा कोइराला आफ्नो क्षेत्रका मेहनती, इमान्दार र सक्षम चिकित्सक भएको बताउँदै आर्थिक अवस्था कमजोर भए पनि नेपाली संस्कार र संस्कृति विश्वमै अद्वितीय रहेको विचार प्रकट गरे। प्रतिष्ठानका संरक्षक प्रा डा दाहालले असल बाटोमा हिँड्न प्रेरित गर्ने पिता र माताले सिरहाको बन्दीपुर क्षेत्रमा पाटी, पौवा, मन्दिर, पोखरी र चौतारोलगायतका सामाजिक कार्यमा पुर्याएको योगदानको चर्चा गरे।

नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट ​

काठमाडौं-  नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ। नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरको रहेको सरकारले बताएको हो।

विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो। २०२० को तथ्यांकअनुसार जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देश्क डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको बताए। उनले नेपालमा प्रत्येक वर्ष करिव २० हजार जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताए।

२०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो। नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्रको क्यान्सरहरू रहेका छन्। अहिले २० हजार नयाँ केसको डिटेक्शन भएको र १६ हजार मृत्यु भएको उनले बताए। उनका अनुसार पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथ मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरू बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ।

अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमा एक हो। विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ। एक तिहाई कारक तत्वहरूमध्ये सुर्तिजन्य पदार्थको प्रयोग, मद्यपानको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ।

काँग्रेस महासमिति बैठकको तयारीका लागि तोकिए ८ उपसमिति संयोजक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिको तयारीका उपसमिति संयोजक तोकेका छन् ।

आगामी फागुन ७ देखि १० सम्म हुने महासमिति बैठकका मूल समितिका संयोजक सभापति देउवाले आठ नेतालाई उपसमिति संयोजक तोकेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।  देउवाले प्रचार प्रसार उपसमिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई दिएका छन् । 

आवास समन्वय उपसमितिको संयोजक मदनबहादुर अमात्य , भोजन व्यवस्थापन उपसमितिको नेतृत्व उदय शम्शेर राणाले पाएका छन् । यातायात व्यवस्थापनमा धना खतिवडा छन् । 

स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल के.सी., प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजक जितेन्द्र श्रेष्ठ तोकिएका छन् ।

ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारी समितिका उपसंयोजक तोकिएका नेताहरू अधिकांश ललितपुरका छन् । प्रचार प्रसार उपसमिति संयोजक विश्वकर्मा र प्रदेश समन्वय उपसमिति संयोजक बानियाँ बाहेकका सबै जना ललितपुरका हुन् ।