आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा महानगरले चलायो डोजर

काठमाडौँ । सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौँ महानगरपालिका-३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ । महानगर प्रहरीका अनुसार अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्छाका सामान, फर्निचर लगायत सामानहरु हटाएर डोजर चलाइएको छ ।  नगर प्रहरीका अनुसार १४ वटा टहरा भत्काइरहेको छ ।

राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते गर्ने तयारी गरिएको छ। राष्ट्रिय सभाले तयार पारेको सम्भावित कार्यसूचीअनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको चुनाव हुनेछ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श शाखाले तयार पारेको सम्भावित कार्यपालिका अनुसार माघ महिनामा २२ गते, २४ गते, २८ गते र २९ गते बैठक बस्नेछ।

साथै फागुनमा ५ गते, ११ गते, १४ गते, १७ गते, १८ गते, २१ गते, २७ गते, २९ गते र ३० गते बैठक हुनेछ। कार्यपालिका अनुसार संसद् सञ्चालन हुने हो भने फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्षको चुनाव हुनेछ।

गत माघ ११ गते रिक्त १९ सदस्यका लागि राष्ट्रिय सभा चुनाव भएको थियो। नेपाली काँग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का ५, नेकपा (एकीकृत समाजवादी) का २, जसपाका १ र नेकपा (एमाले) का १ जना निर्वाचित भएका थिए।

यससँगै राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ। १६ सांसदसहित काँग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ।

स्कटल्यान्डमा भएको आगलागीमा पोखरा घर भएका दिदी र बहिनीको मृत्यु

एजेनसी । स्कटल्यान्डको एबरडीन शहरमा भएको आगलागीमा दुई जना नेपाली दिदीबहिनीको ज्यान गएको छ ।

ब्ल्याक हिल्टन रोडमा सोमबार भएको आगलागीमा नेपालको पोखरा घर भएका शिक्षा सुवेदी र आँचल सुवेदीको ज्यान गएको एबरडिन लाइभले जनाएको छ ।समाचारमा जनाइएअनुसार सुवेदीद्वय दिदीबहिनी हुन् । अन्दाजी २२ वर्षीया आँचल इञ्जिनियर हुन् भने २४ वर्षकी शिक्षा आईटी पेसामा आबद्ध थिइन् ।आगलागीका बेला धुवाँमा निस्सासिएर उनीहरूको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको स्कटल्यान्ड प्रहरीले जनाएको छ ।

मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो मंगलबार गर्ने तयारी परिवारजनले गरेका छन्। सोही घटनामा आगलागीमा परेर निस्सासिएका अन्य ५ जनालाई प्रहरीले उद्धार गरेको थियो।

आगलागी कसरी शुरु भयो खुलेको छैन। तर प्रहरीले घटनालाई शंकास्पद भने मानेको छैन। पोखरा घर भएका सुवेदी परिवार झन्डै दुई दशकदेखि स्कटल्यान्डको एबर्डिनमा बस्दै आएकाे थियाे। उनीहरुका बुवाआमा पनि युकेमै बस्दै आएका छन्। 

नवलपरासीमा सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

नवलपरासी । पश्चिम नवलपरासीमा एक सुनचाँदी ब्यवसायीमा गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ६५ वर्षीय गजेन्द्र विश्वकर्मा माथि गएराति गोली प्रहार भएको हो । 

पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकैको हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको पाखुरामा गोली लागेको छ । गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ ।

दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

दाङ । दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षको छोराको हत्या गरेका छन्।

साढे दुई महिना पहिले बाँकेबाट दाङमा सरुवा भएर आएका रोल्पाका ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आइतबार बिहान ७ बजे २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेर आफै प्रहरी कार्यालय पुगेका हुन्। आज बिहान पिमलालले श्रीमती टिका र छोराको हत्या गरेको छ।

‘मैले श्रीमती र छोराको हत्या गरेँ भनेर प्रहरी जवान कार्यालयमा भन्न आएको थियो, होटेलमा गएर हेर्दा श्रीमती टिका र छोरा शुशान्तको शब होटेलको कोठामा फेला पर्यो।’ 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पिमलालले घोराही स्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन्। रोल्पा रुन्टिगढीका पिमलाल श्रीमती टिका र छोरा शुशान्तसँग गयराति घोराही स्थित एक होटेलमा बास बसेका थिए। श्रीमती र छोरा शनिवार मात्रै रोल्पाबाट घोराही आएका थिए।

उनका अनुसार पीमलालले श्रीमती टिका र छोराको घाँटी सलले कसेर हत्या गरेको देखिएको छ। हत्याको एकिन कारण खुलिनसकेको प्रहरीले जनाएको छ। प्रहरी जवान पिमलाल प्रहरीको नियन्त्रणमा रहेको र उनिसंग घटना बारे अनुसन्धान भैरहेको डिएसपी मल्लले जानकारी दिए।

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ रहेको महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले घट्दै आज १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य १४ सय १५ रुपैयाँ थियो ।

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो: थापा

पर्सा । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन् ।

वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राखे। उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको उल्लेख गरे। अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताए । ‘राजनीतिक दलका उच्च नेता, कर्मचारी, स्थानीय तहका प्रमुखसम्ममा सुधारको आवश्यकता छ,’ उनले भने, ‘सबै क्षेत्रमा सुधार गर्न सकिए मात्रै राष्ट्र विकास गर्न सकिन्छ ।’

उनले बढदो महङ्गी, बेरोजगारी, भ्रष्टाचार र भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाएकाले लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास बढाउन र आमनागरिकको जीवनमा सुधार ल्याउन शुद्धीकरण आवश्यक रहेको बताए ।

केही व्यक्तिका कारण लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम गर्ने प्रयास भइरहेको भन्दै महामन्त्री थापाले लोकतन्त्रको रक्षाका लागि आम सञ्चारमाध्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

राजनीतिक, प्रशासनिकलगायत हरेक क्षेत्रमा देखिएका समस्याबारे सञ्चारमाध्यमले तिखो प्रहार गर्नुपर्ने भन्दै उनले सबैका लागि समान अवसरको व्यवस्थालाई बलियो बनाउन सञ्चारक्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

जन्मका आधारमा शासन गर्ने व्यवस्था लोकतान्त्रिक हुन सक्दैन: नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जन्मका आधारमा शासन सञ्चालन गर्ने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । पार्टी निकट एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राजतन्त्रको बहस औचित्य नभएको बताए ।

उहाँले जनताबाट अनुमोदित नेतृत्व नै लोकतान्त्रिक व्यवस्था भएको उल्लेख गर्नुभयो । राजतन्त्रको विषय अहिले असान्दर्भिक भएको बताउँदै उहाँले राजतन्त्र चाहिन्छ भन्नेहरूलाई चुनावमा सहभागी हुन आग्रह गर्नुभयो ।

विद्यार्थीलाई उत्पादनसँग सम्बन्धित शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै उहाँले समाजको आवश्यकतालाई ध्यानमा राखी दक्ष जनशक्ति उत्पादनले राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले प्रचलित शिक्षा प्रणालीले स्वरोजगार सिर्जना गर्न नसकेकाले समाजमा चुनौती थपेको भन्दै समयसापेक्ष शिक्षा नीति परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

उनले एकीकृत समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने सङ्कल्पका साथ अगाडि बढेको भन्दै देशलाई समृद्ध बनाएर जनतालाई सुखी बनाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताए । 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.६८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदै छ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ ।

‘राष्ट्रव्यापी दबाब अभियान’ को सुरुआत   मेलम्ची खानेपानी आयोजना स्थलबाट सुरु गर्न लागिएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको जानकारी दिनुभयो । सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नुहुने छ । मेलम्चीस्थित खानेपानी कार्यालय, पिपलबोटबाट पदयात्रा सुरु गरी हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको जनाइएको छ । पदयात्राका क्रममा  स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने बताइएको छ ।

 दबाब यात्रामा  सांसदसहित २१ जनाले अगुवाइ गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागिएको सांसद गौतमले बताउनुभयो ।

नेपाल मेरो  जन्मभूमि……

नेपाल मेरो  जन्मभूमि र कर्मभूमि हो
भगवान् सँग प्रार्थना गर्न समय निकाल्न पर्ने भो
मेरो देश नेपाल हो यो मुद्रास्फीतिले भरिएको छ
राष्ट्रलाई  माथि उठाउने मेरो  ठुलो स्वार्थ छ
 
देश कता जाँदै छ लागेको छु केही सोच्न
पहल गर्नुपर्छ देशको अर्थतन्त्र सुधार गर्न
देशका राजनीतिज्ञले देश बनाउन लाग्नुपर्छ 
भाइचारा, देश प्रेम र समाज प्रति जबाफदेही हुनुपर्छ
 
हे धर्ती माता मेरो देशप्रति गहिरो प्रेम छ
म त हजुर नेपाली देशलाई विश्वमा  चिनाउनु छ
राष्ट्रियता र देश प्रेम मन मुटुमा राख्नु छ
अरू त छैन चाहना देशलाई प्रेम गर्नु छ
 
यो देश हाम्रो देश हो सधैँ जय होस् हाम्रो देशको
पढ्नु छ कथा मैले देश प्रेम ,एकता र स्वाभिमानीको
नेपाल मेरो  जन्मभूमि र कर्मभूमि हो
भगवान् सँग प्रार्थना गर्न समय निकाल्न पर्ने भो

यस्तो छ तपाईंको  २१ माघ २०८०, आईतवार आजको राशिफल

मेष : दैनिकी सामान्य राम्रो छ। बोलीमा ख्याल गर्नु राम्रो हुन्छ। हरेक क्षेत्र सबल छन्। लगानी गरेको क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिमा भने समस्या देखिन्छ। परिवार र समाजले तपाईंको प्रशंसा गर्नेछ।

वृष : दिन संघर्षपूर्ण छ। श्रमको मूल्य प्राप्त हुने भएकाले श्रम गर्दा हार खानु हुँदैन। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामज र परिवारले प्रशंसा गर्ने योग छ।

मिथुन : ग्रह गोचरी सामान्य छ। आफन्तले भन्दा बाहिरका मान्छेले सहयोग गर्नेछन्। गुमेको धन प्राप्त हुनेछ। गुरुबाट प्राप्त सहयोगले मनमा उत्साह बढ्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय राम्रो छ। प्रतिस्पर्धी पराजित हुनेछन्। समाजले तिरस्कार गर्ने खतरा रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्धमा खटपटी हुने खतरा छ। प्रेम सम्बन्धमा उतारचढाव देखिन्छ।

सिंह : दिन सामान्य राम्रो छ। लगानी गरेको ठाउँमा जोखिम देखिन्छ। विदेशको आम्दानी राम्रो हुनाले लगानीमा हात बढाउनु राम्रो हुन्छ। परिवारमा विश्वासको संकट देखिन्छ।

कन्या : दिन राम्रो छ। रमाइलो यात्रा हुनसक्छ। कथा र प्रवचनले जीवनमा उत्साह बढाउने छ। आज व्यापारको सुरुवात र विदेशको यात्रामा नगर्नु राम्रो हुनेछ।

तुला : दिन राम्रो छ। आर्थिक र सामाजिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा खुशी मिल्नेछ। सहकर्मीले खुट्टा तान्ने भएकाले सचेत रहनुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहने छ।

वृश्चिक : समय सामान्य राम्रो छ। झुटा आरोप र त्रासले सताउने खतरा छ। शनिदेवको छाया योग रहेकाले वर, पिपलको दर्शन गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : दैनिकी राम्रो छ। आर्थिक उन्नति हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साहा मिल्नेछ। स्वास्थ्य र रोजगारीको क्षेत्र सबल रहेको छ। वैदेशिक क्षेत्रमा आकर्षण बढ्नेछ। परिवारको सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। गाडी र पानीमा हुने ठुलो संकटबाट बच्न सक्नुहुन्छ। तर आफन्तसँग जोगिनुपर्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। बोल्दा नम्र बन्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा विश्वास जित्न नसक्दा खटपटी बढ्ने योग छ।

मीन : दिन राम्रो छ। राम्रो कामको थालनी गर्दा हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी सबल छ। परिवारको सहयोग प्राप्त हुनेछ। परिवारबाट नयाँ नयाँ कुराको माग हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ।

अर्थ मन्त्रालयका सात सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौ ।अर्थमन्त्री डा.प्रकाश शरण महतले अहिलेलाई सात सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । अर्थमन्त्री डा. महतले शुक्रवार राति मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव भूपाल बराललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।

शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट आन्तरिक राजश्व विभागको महानिर्देशक दीर्घराज मैनालीलाई हटाएर बराललाई पठाइएको बताइन्छ ।समाचार श्रोतका अनुसार बरालको ठाउँमा सहसचिव नारायण रिसाल सरुवा भएका छन् । त्यस्तै मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डे सरुवा भएका छन् ।

सेवन्त पोख्रेलले जागिरे अवधीभर भन्सार र अर्थ छोडनु परेन

आन्तरिक राजस्व कार्यालयका उपमहानिर्देशक पाण्डेको ठाउँमा भन्सार विभागका सेवन्त पोखरेल सरुवा भएका छन् । कतिपय कर्मचारीले निजामती प्रवेशको अवधी भर प्रदेशका कार्यालय बाहेक कतै देखेका हुदैनन। अर्थ मन्त्रालय त के त्यहाँको प्रभाव बाट टाढै देखिएका हुन्छ्न भने तिनै पोख्रेल नेपालको प्रशासन क्षेत्रमा भन्सार कार्यालयको ठाउँ ठाउँको प्रमुख भएर अनुभव सगाल्ने कर्मचारी मात्रै होइनन् उनि सोही कार्यालयको नेतृत्व गर्ने बिभागको उपमहानिर्देशक समेत हुने भाग्यमानी कर्मचारीका रुपमा परिचित छ्न् ।

उनका शुभेच्छुकका अनुसार कुनै दिन आन्तरिक राजस्व बिभागका पुर्व महानिर्देशक चुडामणि शर्मा जस्तो दिन नलागोस भन्ने कामना उनको हकमा गरिरहेको समेत सुन्न सकिन्छ । चुडामणि शर्मालाई भुल्ने गरि उनले इश्टमित्र जोडेको देखिन्छ भनिन्छ ।भन्सार बिभागको पोख्रेलको ठाउँमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डेयलाई पठाइएको बताइएको छ भने

त्यस्तै मन्त्री महतले आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा महेश आचार्यको सरुवा गरेको समाचार जानकारीमा आएको छ।

अध्यागमनका कर्मचारीलाई डिआइजीको आदेशमा हातपात भएको पुष्टि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् ।

शुक्रवार डीआईजी चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनामा आफ्नै मातहतका कर्मचारीहरुलाई बचाउन नसकेपछि डीआईजी चन्दले राजीनामा दिएको स्रोतले बतायो ।डीआईजी चन्दले उक्त प्रकरणमा कारबाहीमा परेका प्रहरी कर्मचारीलाई जोगाउन निकै पहल गरेका थिए ।

तर, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी वसन्त कुँवरले सहयोग नगरेको आरोप लगाएर आफ्नै मातहतका कर्मचारी कारबाहीमा परेको निष्कर्ष सहित डीआईजी चन्दले राजीनामा दिएको स्रोतले बतायो । समाचार स्रोतको अनुसार डिआइजी चन्दले लामो समय देखी अध्यागमनका कर्मचारी माथी आतंक नै मच्याएका थिए तर कतिपय प्रयोजित संचार माध्यमका कारण आतंक सहन बाध्य कर्मचारीले कुटपिट सम्म ब्यहोर्नु परेको थियो । आफनो निर्देशनमा तल्लो तहका प्रहरी परिचालन गरिरहेका उनको बास्तबिकता बाहिर आउने डरले राजिनामा दिएको त्यो घटना गहिरो सग अध्यन गर्नेहरूको विश्लेषण छ।

चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका आईजीपी वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट हुनु स्वभाबिक रहेको विमानस्थल स्रोतले बतायो ।

समितिले विवादमा संलग्न असई प्रकाश चौधरीलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको थियो।

तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएका थिए। डीआईजी चन्दको सेवा अवधि २०८१ चैतसम्म रहेको थियो ।कुटपिटमा उत्रिएका कर्मचारीको अन्तिम सम्म अडान राख्नु र राजिनामाको मुडमा पुग्नाले यसबाट के पुष्टि हुन्छ भने अध्यागमनका कर्मचारी माथी हात हाल्न आदेश यिनै डिआजिले दिएको बास्तबिकता यतिबेला खुलेको छ। अब डिआइजी माथि थप छानबिन हुनुपर्ने माग बढेको बताइन्छ ।

विवाद ल्याइएको अध्यागन विभागका अधिकृत छायाँलाल मोक्तानलाई भने समितिले जोगाएको छ ।

युवराज चौलागाईँको स्वरमा ‘नझुक्काऊ मलाई’ गीत सार्वजनिक

काठमाडौँ। गायक युवराज चौलागाईँको स्वरमा रहेको गीत ‘नझुक्काऊ मलाई’ को श्रव्य दृश्य सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा दीपिका थापा रिमालको शब्द रचना तथा युवराज चौलागाईँको सङ्गीत र स्वर रहेको छ ।

शान थापाले निर्देशन गरेको यसको भिडियोमा गायक चौलागाईँ आफैले अभिनय गरेका छन् । उनी परपुरुषसँग प्रेममा रहेकी तथा सम्पत्तिको लागि विवाह गरेकी युवतीको पतिको भूमिका निभाएका छन् । भिडियोमा मोडल कुसुम शर्मा र विकास लामिछानेको समेत अभिनय रहेको छ । मेनुका ढकालले सहायक भूमिकामा अभिनय गरेकी छन् । भिडियोको अवधारणा राज आचार्यको हो ।

भिडियोलाई अर्जुन तिवारी र उनको टिमले छायाङ्कन गरेको छ भने मिलन विश्वकर्माले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।

भिडियो: