अख्तियारले प्रदेश र स्थानीय तहमा सल्लाहकार राख्ने कार्य तत्काल रोक्न आदेस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र स्थानीय तहमा अनुत्पादक र आफू अनुकूलका नियुक्ति रोक्न सर्कुलर जारी गरेको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तह र प्रदेशमा सर्कुलर जारी गरेको हो ।प्रदेश तथा स्थानीय तहहरूमा कार्य सम्पादनका लागि भन्दै आवश्यक नभएका र सरकारी स्रोत साधनको दुरुपयोग हुने गरी प्रेस सल्लाहकार, स्वकीय सचिव, कानुनी सल्लाहकार, प्राविधिक तथा प्रशासनिक सल्लाहकारहरू नियुक्ति गर्दै आएका छन् । आयोगमा यस्तो गुनासो आएपछि उसले त्यस्ता नियुक्ति रोक्न सुझाव दिएको हो । पछिल्ला दिनहरूमा यस्ता नियुक्तिको संख्या बढदै गएको छ।

पर्यटन मन्त्रालयका उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरर सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुली गर्ने फैसला सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौँबाट नेपाल र श्रेष्ठलाई पक्राउ गरेको थियो । घुसबापत सेवाग्राहीबाट बुझेको ६ लाख र आफू चढेको गाडीमा थप साढे १६ लाखसहित अख्तियारले उपसचिव नेपाललाई पक्रेको थियो ।

अमेरिकाद्वारा इराक र इरानमा हवाइ हमला सुरू

एजेन्सी । अमेरिकाले इराक र सिरियामा ब्यापक हवाइ हमला सुरु गरेको छ । गत आइतवारको ड्रोन आक्रमणमा तीन सैनिक अमेरिकी सैनिक मारिएको बदलामा अमेरिकाले हवाइ हमला सुरू गरेको हो ।

 अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले शुक्रबार रातीबाट सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प कुड्स फोर्स र सम्बद्ध मिलिशिया समूहहरू विरुद्ध हवाई आक्रमण गरेको जानकारी दिएको छ ।

 ‘हाम्रो प्रतिक्रिया आज सुरु भयो। यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ,’ राष्ट्रपति बिडेनले शुक्रबार एक विज्ञप्तिमा भनेका थिए ।  गत साता टावर २२ नामक अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै ४० भन्दा बढी सैनिक घाइते भएका थिए ।

 सो घटनामा ह्वाइट हाउसले इरानलाई दोष दिदैँ धेरै परिणामात्मक प्रतिक्रिया दिने यसअघि नै जनाइसकेको थियो । इरानले संलग्नतालाई अस्वीकार गर्दै अमेरिकी आरोपहरू ‘निराधार’ भएको जनाएको छ । उसका अनुसार प्रतिरोधी समूहहरूको निर्णयमा इरानको संलग्नता नभएको जनाएको छ ।

नेपाल सुन चाँदी  ब्यवसायी संघ रौतहटको विकल्पमा किन दर्ताभयो अर्को संघ 

रौतहट १९ माघ । रौतहटमा सुन चाँदी ब्यवसायीहरुले माउ संस्था नेपाल सुन चाँदी ब्यवसायी संघको विकल्पमा नेपाल सुन चांन्दी रत्न आभुषन ब्यवसायी संघ रौतहट गठन गरेका छन्।

माउ संघले साना व्यवसायिहरुको कहिलै वास्ता नगरेको तथा केन्द्र बाट पाईने सुविधाबाट वञ्चित गरेको कारण रौतहटमा सुन चाँदीका साना ब्यवसायीहरुले बिकल्प खोजेका हुन्।

यहाँका व्यवसायीहरु जिल्ला प्रसाशन कार्यालय रौतहटमा नेपाल सुन चांन्दी रत्न आभुषन ब्यवसायी संघ विधिवत रूपमा दर्ता गरी जिल्लाको मध्यभाग गरुडामा पहिलो सधारणसभा तथा अधिवेशन सम्पन गरेका छन्। बुधवार सम्पन्न पहिलो सधारण सभा तथा अधिवेशन बाट उमेश प्रसाद साहको अध्यक्षतामा १३ सदस्यिय नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ रौतहट चयन गरिएको छ।

संघको प्रथम बरिष्ठ उपाध्यक्षमा सन्नी कुमार सर्राफ, द्धितिय उपाध्यक्षमा शिवम कुमार सोनी, महासचिवमा रामवरण कुमार सोनी, सचिव तथा प्रवक्तामा चन्दन सागर, कोषाध्यक्षमा श्रीमति मिना देवी सल्लाहाकारमा कृष्ण कुमार साह, गान्धि साह सर्वसहमतिमा चयन भएका हुन् । यस्तै सदस्यहरुमा सचिन्द्र साह सोनार, श्रीमति शान्ती देवी, उमेश साह सोनार, शिवशंकर साह, श्रीमति अनिता कुमारी, श्री दिपक कुमार साह निर्वाचित भएका छन । दुईजना सदस्य भने समितिको अर्को बैठकले मनोनित गर्ने जनाईएको छ ।

संघका अध्यक्ष उमेश प्रसाद साहका अनुसार रौतहटमा सुन चाँदी व्यवसायीको माउ संस्था गठन भएदेखिनै गर्दैआएको बेमानस्ता पूर्ण व्यवहारको कारण आर्जित भएर एकदशक पछि अर्को संघ गठन गर्न बाध्य भएको हो। जिल्लामा २०७० सालमा पहिलोपटक संघ दर्ता हुँदा आफू सचिव रहेको थिए। विधानमा तीनवर्षे कार्यकाल अनुसार पटकपटक जिल्लाको नेतृत्व घुमिफिरी एउटै बृतमा अड्केर व्यवहारमा भने कुनै परिवर्तन देखिएन।

सुन चाँदी ब्यवसायी संघ दर्ता भएको जिल्लामा केन्द्र अर्थात महासंघले ९सहुलियत० राष्ट्र बैँकले तोकेको दरभाउमा मांग तथा आयातको आधारमा मासिक १ देखि ५ किलोग्राम सम्म सुन दिनेगर्दछ। बजार भाउ भन्दा ३ देखि ५ हजार प्रतितोला सस्तो हुने उक्त सुन संघमा दर्ता भएका सबै व्यापारीलाई कारोबारको मूल्याङ्कन गर्दै दामासाही अनुसार बितरण गर्नुपर्ने माहासंघले ब्यवस्था गरेको छ। उक्त व्यवस्था अनुसार जिल्लाको संघले कहिलै सुन बितरण गरेन।

पछिल्लो १० बर्ष देखि बहालवाला अध्यक्षकै हालीमुहालीका दुईचार जना व्यापारीले उक्त सुबिधा लिँदैआएको बैकल्पिक नवगठित संघका अध्यक्ष उमेश प्रसाद साहले गुनासो गरेका छन्। त्यतिमात्र नभई नेपाल सुन चाँदी ब्यवसायी संघ रौतहटमा तीन तीनजना बरिष्ठ उपाध्यक्षलाई पाखा लगाउँदै पावर पहुँचको भरमा साधारण सदस्य समेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाएको कारण अर्को संघ गठन गर्न बाध्य भएको उनले दुखेसो पोखेका छन्।

सदरमुकाम गौर, गरुडा, चन्द्रपुर , कटहरिया लगायत जिल्लाभरिका झण्डै १५० मध्ये १२५ ब्यवसायी आफूहरुको साथ रहेको नवगठित नेपाल सुन चांन्दी रत्न आभुषन ब्यवसायी संघ रौतहटका महासचिव रामबरण साह सोनारले बताएका छन्। नेपाल सुन चाँदी ब्यवसायी संघका पूर्वअध्यक्ष प्रकाश गहतराजले आरोपहरुको खण्डन गर्दै प्रजातान्त्रीक अभ्यास अनुसार अर्को संघ दर्ता गर्ने ब्यापारीको अधिकार भएको प्रतिक्रिया दिएका छन्।

अरुण चौधरीलाई तीन महिनाको अनुसन्धानपछि पक्राउ गरेका हौँ : सीआईबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन महिनाको अनुसन्धानपछि व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको बताएको छ ।  व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला सीआईबीले यस्तो प्रष्टोक्ति दिएको हो ।

बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीहरुले आपत्ति जनाएका थिए । उनीहरुलाई विनाअनुसन्धान पक्राउ गरेको भन्दै व्यवसायीले आपत्ति जनाएका थिए । तर, शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरी, थापासहितलाई पक्राउ गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले तीन महिनाको अनुसन्धानपछि बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिएका हुन् ।

च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत सेयर अरुण चौधरी समूहले खरिद गरेको पाइएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर अरुण समूहले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको थियो ।

ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि छुरा प्रहार

 सर्लाहीको नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका-१ नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि छुरा  प्रहार भएको हो ।

 पूर्व पश्चिम राजमार्गस्थित ट्राफिक कार्यालय नवलपुर अगाडि नियमित चेकजाँचको क्रममा मोटरसाइकलमा सवार  व्यक्तिलाई  चेकजाँच गर्ने क्रममा मोटरसाइकल कागज पत्र साथमा नभएपछि ट्राफिक प्रहरी जवान महतोले चिट काट्न खोज्दा ट्राफिक प्रहरी जवानमाथि नै छुरा प्रहार भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए ।

 पश्चिमबाट पूर्वतर्फ ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर १ घर भएका यमामुदिन देमानले चेकिङमा खटिएका ट्राफिक प्रहरी जवानलाई छुरा पहार गरेका हुन् । छुरा प्रहार गरी भाग्न खोजेका देमानलाई तत्काल पक्राउ गरी ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ । छुरा प्रहार गर्ने देमानलाई ज्यान मार्ने उद्याेगमा मुद्दा  दर्ता गरिने प्रहरी उपरीक्षक प्रबिण धितालले जानकारी दिए ।

घाइते ट्राफिक प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । घाइते प्रहरी जवानलाई उपचारका लागी नेशनल मेडिकल कलेज वीरगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कसैलाई पनि राज्यलाई लुट्ने छुन दिन सकिन्न : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि राज्यलाई लुट्ने छुन दिन नसकिने बताएका छन् ।हरेक क्षेत्रमा केही ककाम अघि बढाउने बित्तिकै त्यही क्षेत्रको दबाब सुरू हुने बताए ।

कुनै काम अघि बढाउने बित्तिकै राजनीतिक दलदेखि अन्य सम्मको दबाब आउने गरेको उल्लेख गर्दै उनले राज्य लुट्ने, अपराध गर्ने र जालसाझी गर्नेलाई जोगाउनेे काममा नलाग्न आग्रह गरे ।

कर्मचारीले गल्ती गर्‍यो र कारबाही गर्न थालियो भने कर्मचारी संगठन बोल्न थाल्छ । माथिल्लो उच्चपदस्थ कर्मचारी नै बोल्न थाल्छ कर्मचारीलाई त त्यो गर्नु भएन नी श्रेष्ठले भने । उनले कुनै पनि कर्मचारी र सुरक्षा अधिकारीहरु दृढतापूर्वक उभिनुपर्ने बताए । ‘कुनै पनि बाञ्छित हस्तक्षेपबाट तपाईंहरु हच्किनु पर्दैन । दृढतापूर्वक सामना गर्नका लागि अपिल गर्छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

शुक्रबार पोखरा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कसैलाई पनि छुट नदिने प्रतिबद्धता जनाए ।’उद्योगी व्यावासयी पनि गल्ती गर्छन् र कारबाही गर्न थाल्यो भने दबाब सुरु हुन्छ वक्तव्यबाजी सुरु हुन्छ ।

उद्योग व्यावसायीलाई त कारबाही गर्नु भएन नी ! हामीले कर तिरेका छौं’, उपप्रधानमन्त्री श्रेष्ठले भने,’ ठीक छ त, निजी क्षेत्रलाई पनि हामीले भनेको छौं निजी क्षेत्रको साथबिना नेपालको अर्थतन्त्रलाई अघि लैजान सकिन्न । तर कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिँदैन ।

कसैलाई पनि जालसाझी गरेर ठग्न छुन दिन सकिँदैन । कसैलाई पनि अपराध गर्ने छुट दिन सकिँदैन । यस्तो प्रकारको दबाब र हस्तक्षेप भइराख्ने हो भने हाम्रो देशलाई बिगार्छ ।’

‘कुनै अपराधिक काममा, ठगीको काममा, जालसाझीमा कोही राजनीतिक पृष्ठभूमिको मान्छे पक्राउ पर्‍यो भने पार्टीकै नेताहरु कराउन थाल्छन् । उ त नेता हो । हाम्रो पार्टीको हो । गठबन्धनको हो वा प्रतिपक्षको हो । गर्न पाइँदैन । तर त्यसरी चल्दैन ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने नापी अधिकृतसहित तीन जना दोषी ठहर

काठमाडौं । रुपन्देहीमा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको विषयमा तीन जना दोषी ठहर भएका छन्। विशेष अदालतले आज नापी कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुबे र सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासवानलाई दोषी ठहर गरेको हो ।

नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासवान दोषी ठहर भएका हुन् ।

टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना कैदको सजाय सुनाएको कार्कीले बताए । व्यक्तिको नाममा ल्याइएको सरकारी जग्गा पनि जफत हुने फैसला भएको छ । यसैगरी सो प्रक्रियामा संलग्न अन्यमाथि अनुसन्धान नभएको भन्दै अभियोजन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

भारतविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स टोली नेपालले भारतसँग टस हारेको छ ।

नेपालले पौने दुई बजे सुरु हुने खेलमा नेपालले टस हार्दै पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो ।

नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि नेटरनरेटको कारण सेमिफाइनल खेल्ने देखिन्छ । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।

बैंकहरूले व्याज बढाउने बेलामा दुई तर्फको सहमति हुनुपर्ने: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले व्याज बढाउने बेलामा दुई तर्फको सहमति हुनुपर्ने तर्क गरेका छन् । पार्टीनिकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति उनले आपत्ति जनाएका छन् ।

‘बैंकबाट ऋण लिँदा घटाउन वा बढाउन सकिने भनिएको छ । घटाउने त कुरै छैन । एकतर्फीरूपमा बैंकहरूले ऋणीसँग भएको सम्झौतामा बदल्नुपर्छ भने दुवैतर्फको सहमति हुनुपर्छ । हामीलाई मर्का पर्‍यो अनि बढायौं भन्ने, अनि अर्कालाई परेको मर्का के त ? यसवर्ष बैंकको यति खर्ब मुनाफा क्या बात भन्दै आफैंलाई धाप लायो । अनि ऋणीहरू ?’

बैंकहरू नाफाखोर निर्मम साहूजी नभई सहयोगी हुनुपर्ने बताए । राष्ट्र बैंक र सर्वसाधारणले पैसा राख्दा पनि सस्तोमै पाएपछि लगानी गर्दा धेरै व्याज लिन नमिल्ने उनको भनाइ छ ।

एक सय जना शाखा अधिकृत उपसचिवमा बढुवा

काठमाडौं । नेपाल प्रशासन सेवासहित विभिन्न सेवामा १०० जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

जसमा सबैभन्दा बढी ८७ जना प्रशासन सेवाका शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । ८७ जना प्रशासन सेवामा १९ जना भने लेखा समूहका रहेका छन् ।

त्यसपछि नेपाल लेखापरिक्षण सेवाका चार जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस हुदाँ नौ जना प्राविधिक सेवातर्फ विभिन्न समूह तथा उपसमूहतर्फको शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

सिकेन्द्र प्रसाद साह पनि भए उपसचिव
यसैबीच धनुषा जिल्लाको एक गाउँ पालिकाको प्रसाशकियअधिकृत सिकेन्द्र प्रसाद साह उपसचिव भएका छन्। हरेक काममा तत्काल नतिजा दिने क्षमता राख्ने साहको बढुवाको समाचारले उनको क्षमता मापन गर्नेले खुशी व्यक्त गरेका छ्न्।

जगन चापागाईं पुनः आइएफआरसीको महासचिवमा

काठमाडौँ । विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालका लागि कार्यभार सम्हालेका छन् । उनी दक्षिण एसिया एवं नेपालबाट सो पदमा पुग्ने पहिलो नेपाली हुन् ।

पहिलोपटक सन् २०२० फेबु्रअरी २ मा चापागाईंले उक्त पदको पहिलो चारवर्षे कार्यकाल सम्हालेका थिए । स्विट्जरल्यान्डको जेनेभामा गत वैशाखमा सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्षअगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः समयावधि थप गर्ने निर्णय गरेको थियो । सो बोर्डमा विश्वका २९ देश सहभागी हुने जनाइएको छ ।अब चापागाईं सन् २०२८ को जनवरीसम्म  आइएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा रहनु हुनेछ । 

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए  । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई अनवरत रुपमा मानवीय सहयोग गरिराखेको छ । महासचिव चापागाईंले मानवीय सेवाका क्षेत्रमा पु¥याउनुभएको काम तथा कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा उच्च प्रशंसा कमाउँदै आएको छ । 

दोस्रो कार्यकालको पदावधि थप गर्ने निर्णय पछि महासचिव चापागाईंले भन्नुभयो, “आइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष केट फोब्र्सको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित छु । यो ठूलो जिम्मेवारी हो र त्यहाँ थुप्रै चुनौती हुनेछन् तर हामी समाधान खोज्न तथा हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।”

तीन दशकभन्दा बढी मानवीय सेवामा अनवतर रूपमा तल्लीन चापागाईंले गत वर्ष नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए । विश्वका एक सय ९२ देशका रेडक्रस आइएफआरसीमा आबद्ध छन् ।

सल्फेरिनो युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फूर्त प्रदान गर्न जँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गर्नुभएको थियो । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ । 

सात लाखभन्दा बढी कर्मचारी र झन्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यामा बर्सेनि आइएफआरसीले मानवीय सहायता पु¥याउने गरेको छ । साथै रेडक्रस अभियानले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्दछ ।

बाँसबारीको १० रोपनी जग्गाको विवाद के हो ? चौधरीसहित तीन पक्राउ

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।

सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ सञ्चालन गरिरहेको छ ।

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनी पश्चिम नवलपरासी–१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद विनोद चौधरीका कान्छो भाइ हुन् ।

कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुट वेयरले तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो । यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको सीआईबीको दाबी छ ।

केही महिना अघिबाटै अनुसन्धान भइरहेकामा तथ्य र प्रमाणले कानुनविपरीतका गतिविधि भएको देखिएपछि केही आरोपितलाई नियन्त्रणमा लिइएको सीआईबीको भनाइ छ । ‘सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा लैजाने निर्णयमा संलग्न बाँसबारीका तत्कालीन कार्यकारी अध्यक्ष र सञ्चालक समिति सदस्य तथा सरकारी जग्गा लिएर भोगचलन गरिरहेका व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको छ,’ एसएसपी आचार्यले भने, ‘जग्गा हिनामिनामा संलग्न सबैमाथि अनुसन्धान भइरहेको छ ।’

२०२२ साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको जुत्ता कारखाना ८३ रोपनीमा फैलिएको थियो । कम्पनी निरन्तर घाटामा गएको कारण देखाएर सञ्चालक समितिले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । यस क्रममा सञ्चालक समितिले प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी (दुई पटक गरी) जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो । सरकारी उद्योगको जग्गा बिक्री गर्ने निर्णय मन्त्रिपरिषद्बाट मात्र सम्भव हुने भए पनि सञ्चालक समितिले नै त्यस्तो निर्णय गरेकामा कार्यकारी अध्यक्ष थापा र सञ्चालक समितिलाई सीआईबीले आरोपी मानेको छ । जग्गाको कुल मूल्य २५ लाख रुपैयाँ कायम भएकामा सो बराबर हुने गरी च्याम्पियन फुटवेयरको २५ सय कित्ता सेयर बाँसबारीले पाएको थियो । यसरी च्याम्पियनमा २५ प्रतिशतको सेयरधनी बाँसबारी भएकामा बाँकी ७५ प्रतिशत सेयर चौधरी परिवारका विनोद, अरुण, वसन्त, बाबु लुनकरणदास, दिदी गंगादेवी र भिनाजु महेशकुमार अग्रवालका नाममा कायम भएको थियो । यही अनुबन्धका आधारमा २०४३ कात्तिकमा च्याम्पियन फुटवेयर कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको थियो । बाँसबारीको ६ रोपनी जग्गा २०४४ को भदौमा र थप चार रोपनी जग्गा मंसिर १८ मा च्याम्पियन फुटवेयरको नाममा सारिएको थियो ।

च्याम्पियन फुटवेयरमा २५ प्रतिशत सेयरका लागि बाँसबारीको जग्गाको मूल्यांकनबाट २५ लाख लिइएकामा ७५ प्रतिशत सेयरबापत चौधरी परिवारले भने आठ लाख मात्र भुक्तान गरेको देखिएको सीआईबीको दाबी छ । ‘त्यसमा पनि तीन वर्ष जुत्ता उत्पादन गरेपछि कारखाना बन्द भएको देखिन्छ,’ सीआईबीका एसएसपी आचार्यले भने । बाँसबारी जग्गा प्रकरणमा उकालोडटकम र टक्सार म्यागजिनले समाचार लेख्दै आएका थिए ।

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ। 

यस्तो छ तपाईंको १९ माघ २०८०, शुक्रबार आजको राशिफल

मेष : दिन राम्रो छ। राजनीतिक र सामाजिक क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रमा उन्नती हुनेछ। ठुलो कामको सुरुवात गर्ने दिन छ। मनमा शान्ति र उत्साह बढ्नेछ। परिवारको साथ मिल्नेछ।

वृष : दैनिकी सामान्य राम्रो छ। आफैले गरेको कामबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारले भने निगरानी गर्ने योग रहेको छ।

मिथुन : दिन राम्रो छ। स्वास्थ्यमा लाभ, शिक्षामा प्रगति र आर्थिक क्षेत्रमा नाफा हुनेछ। स्वदेशमै लगानीका विकल्प खुल्नेछन्। खानपानमा ख्याल नगरेमा रोगले सताउने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। गुरुको साथ र सहयोग राम्रो रहनेछ। आम्दानी राम्रो हुनेछ। समाजले झुटो आरोप लगाउने खतरा छ। परिवारको विश्वास जित्न नसक्दा संकट आइपर्ने देखिन्छ।

सिंह : आर्थिक क्षेत्र सबल छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको विश्वास प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। समाज सेवाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा मानसम्मान मिल्नेछ। स्वास्थ्य र शिक्षामा भएको लगानीबाट राम्रो फाइदा मिल्नेछ। वैदेशिक क्षेत्रमा भने ठग सक्रिय रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। परिवारको साथ मिल्नेछ।
तुला : दिन राम्रो छ। अचानक शुभ समाचार सुनेर हर्षित बन्ने योग छ। धार्मिक क्षेत्रको घुमघाम हुनेछ। शिक्षाको क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

वृश्चिक : समय सामान्य छ। आर्थिक क्षेत्र विवादित बन्नेछ। झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। पारिवारिक सहयोग मिल्नेछ।

धनु : दैनिकी राम्रो छ। तपाईंको रोजाइमा पर्ने कार्यक्षेत्र सबल छन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : समय सामान्य राम्रो छ। तपाईंले गरेको राम्रो कामको जस अरुले लिनेछन्। झुटो आरोप लाग्ने देखिन्छ। त्रास देखाएर लुट्न खोज्नेहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। गुरुबाट साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : समय सामान्य छ। राम्रो कामको नतिजा फरक आउन सक्छ। झुटो आरोप लगाएर लुट्न खोज्नेहरु सक्रिय छन्। आफूभन्दा ठुला मानिसले आदर गर्नेछन्। परिवारबाट भने साथ मिल्ने योग रहेको छ।

मीन : दिन सामान्य राम्रो छ। अचानक सञ्चित धन खर्च हुनेछ। साथीबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ।