सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार भन्‍ने नाराका साथ हेटौंडा कार्यालयले ३३ औ स्थापना दिवस मनायो

हेटौंडा । सुधारौ सोच संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार भन्ने नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले ३३ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ।

केन्द्रिय कार्यालयमा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेल को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको थियो भने देशभरका कार्यालयले आआफ्नो तयारीका साथ स्थापना दिवस मनाएको समाचार जानकारीमा आएको छ। स्थापना दिवस मनाउने सन्दर्भमा हेटौंडा कार्यालयले विभिन्न अतिरिक्त कार्यक्रमको आयोजना गरि मनाएको बताइएको छ। प्राप्त जानकारी अनुसार आयोगको कार्यालय, हेटौंडाको प्राङ्गणमा आयोजना भएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो।

कार्यक्रम बागमती प्रदेशका माननीय प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख, हेटौंडा उपमहानगरपालिकाका प्रमुख, उच्च अदालत, पाटन, हेटौंडा इजलासका माननीय न्यायाधिश, बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता, बागमती प्रदेशका प्रदेश सचिवहरु, मकवानपुर जिल्लास्थित संघीय, प्रादेशिक कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका कार्यालय प्रमुखहरु, सार्वजनिक संस्थानका हेटौंडास्थित कार्यालयका प्रमुखहरु, हेटौंडास्थित क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यालयका प्रधानाध्यापकहरु, नागरिक निगरानी संस्था, मकवानपुर र हेटौंडाका अध्यक्ष एवं सञ्चारकर्मीहरु र अन्य कर्मचारीहरु गरी दुई सय उन्नाईस जनाको सहभागिता रहेको बताइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका कार्यालय प्रमुख उमाकान्त आचार्यले उपस्थित अतिथिलाई स्वागत गर्नुहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासन प्रवर्द्धन गर्न एवं भ्रष्टाचार नियन्त्रणमा गरेका काम कारबाहीहरु तथा भ्रष्टाचार न्यूनीकरण एवम् सुशासन प्रवर्द्धनका सन्दर्भमा भएका प्रगति स्थितिबारे जानकारी गराउनुभएको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाका प्रमुख उमाकान्त आचार्यले आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा आफ्नो धारणा राख्नु हुँदै

बागमती प्रदेश सरकारको प्रतिनिधित्व गर्नुहुँदै कार्यक्रममा माननीय उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले कानूनको कार्यान्वयन गर्दै सुव्यवस्था, असल शासन र पारदर्शिता कायम गर्दै जनताको अपेक्षा पुरा गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनु भएको थियो। उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावहरु कार्यान्वयन गर्न बागमती प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका माननीय प्रदेश प्रमुख यादवचन्द्र शर्माले भ्रष्टाचारको इतिहास धेरै लामो रहेको उल्लेख गर्नुहुँदै यसले समाजका सबै पक्षमा असर पुर्‍याएको बताउनु भएको थियो। सुशासन बहुआयामिक विषय भएकोले राष्ट्रिय जीवनका सबै पक्ष सुशासनका लागि प्रतिबद्ध हुनुपर्ने र रुपान्तरणमुखी चेतना विकास गर्नुपर्ने उल्लेख गर्नुभएको थियो। उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै प्रदेशका कामकारबाहीका बारेमा अलग अलग वार्षिक प्रतिवेदन तयार गर्ने र त्यस सम्बन्धमा प्रदेश सभामा छलफल हुने भएमा अझै प्रभावकारिता बढ्ने बताउनु भएको थियो।

कार्यक्रममा बागमती र मधेश प्रदेशका विभिन्‍न १४ जिल्लाका विद्यालयका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरिएको निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट तीन विद्यार्थी राधिका विक, समज्ञा सापकोटा, प्रार्थना बेल्बासेलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो। यसका साथै आयोगको स्थापना दिवसका अवसरमा कार्यालयका कर्मचारीहरुका लागि आयोजना गरिएका विभिन्‍न खेलकुद प्रतियोगिताका विजेता कर्मचारीहरुलाई पनि पदक र प्रमाण पत्र वितरण गरिएको थियो। कार्यालय प्रमुख आचार्यले खेल्नुभएको महत्त्वपूर्ण भूमिकाको चर्चा भएको सो कार्यक्रम कार्यालयका उपसचिव तथा सुचना अधिकारी गोबिन्दप्रसाद गौतमले प्रभावकारी रुपमा संचालन गर्नुभएको थियो।

संसदीय टोलीद्वारा चीन भ्रमणको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ ।  चीन भ्रमणबाट फर्किएको संसदीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न १५ बुँदे सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको हो । प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रममा प्रतिवेदनमा आएका सुझावहरूलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिवेदनमा जनता केन्द्रित विकासको मोडलले नै विकास र समृद्धि ल्याउने, नीतिगत निरन्तरता आवश्यक हुने, दुई देश वीच भएका विगतका समझदारीहरुलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने, चीनसँगका सीमा नाकाहरु खोल्ने र व्यवस्थित गर्न जोड दिनुपर्नेलगायतका सुझाव समेटिएका छन् ।

यस्तै, गरिवी निवारणका लागि चीनबाट पाठ सिकी ग्रामीण वस्तीहरुलाई सडक सञ्जालले जोड्ने, किसानहरुलाई मल, बीउ, उपकरण समयमा नै उपलब्ध गराउने, पर्यटकीय सम्भावना भएका गाउँहरुको विकास गर्ने, सूचना प्रविधि र अन्य सुविधाहरु उपलब्ध गराउनुपर्ने, भूमि माथि राज्यको अधिकार बलियो हुनुपर्ने र नेपालमा चिनिया लगानीको वातावरण निर्माण गर्नु पर्ने सुझाव समेत प्रतिवेदनमा समेटिएको छ ।

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ) को निमन्त्रणमा नेपाली सांसदहरूको टोलीले चीन भ्रमण गरी फर्किएको थियो ।

भ्रमण टोलीले सरकारलाई दिएका सुझावहरू

  •  जनता केन्द्रित विकासको मोडलले नै विकास र समृद्धि ल्याउने देखिन्छ ।
  •  नीतिगत निरन्तरता आवश्यक हुने देखिन्छ । 
  •  दुई देश वीच भएका विगतका समझदारीहरुलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्ने देखिन्छ । 
  •  विकासका लागि भूमि माथि राज्यको अधिकार बलियो हुनु पर्ने देखिन्छ । 
  • चिनियाँहरुलाई लगानीको वातावरण निर्माण गर्नु पर्ने देखिन्छ । 
  •  चिनियाँ पर्यटकलाई आकर्षण गर्ने कार्यक्रमहरु ल्याउनु पर्ने देखिन्छ । 
  • गरिवी निवारणमा चीनले प्राप्त गरेको सफलताबाट नेपालले पाठ सिकी ग्रामीण वस्तीहरुलाई सडक सञ्जालले जोड्ने, किसानहरुलाई मल, बीउ, उपकरण उपलब्ध गराउने, पर्यटकीय सम्भावना भएका गाउँहरुको विकास गर्ने, नयाँ गाँउहरुको विकास गर्ने, सूचना प्रविधि र अन्य सुविधाहरु उपलब्ध गराउने कार्य गर्नु पर्दछ । 
  •  विकास र वातावरणलाई संग संगै लैजानु पर्दछ । 
  • भ्रमण कार्यक्रमबारे समयमा नै सम्बन्धित पक्षले संसद सचिवालयलाई जानकारी गराउनु पर्दछ  र भ्रमणको पूर्वतयारी राम्ररी गरेरमात्र भ्रमण कार्यक्रम तय हुनुपर्दछ ।
  •  भ्रमण पूर्वसम्बन्धित मुलुकका विविध पक्षबारे जानकारी गराउने प्रि विफिङ्ग कार्यक्रम गरिनु पर्दछ  ।
  • भ्रमणलाई संस्थागत गर्नुपर्दछ ।
  • चीनसँगका सीमा नाकाहरु खोल्ने,व्यवस्थित गर्न जोड दिनुपर्दछ । 
  • चीनस्थित नेपाली राजदूतावासको भवन बनाउन आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने देखिएको छ । 
  • चीन भ्रमण र अनुभव आदान प्रदानका लागि संस्थागतरुपमा नै संघ, प्रदेश तथा स्थानीय तहलाई पनि समेट्नुपर्दछ ।

धरानबाट १४९ किलो गाँजासहित १४ जना पक्राउ

विराटनगर ।  सुनसरी प्रहरीले एक सय ४९ केजी प्रतिवन्धित लागुऔषध गाँजा सहित १४ जनालाई नियन्त्रण्मा लिएको छ। सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १ सय ४९ किलो गाँजासहित उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट अमरहाट धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बीआर १० पी९१५४ र एमपी १७ टीए ०५१२ नम्बर गाडीलाई जाँच गर्ने क्रममा गाँजा फेला परेको थियो । गाँजा ओसारपसारमा सक्रिय भारतको बिहारका ३१ वर्षीय मनोरन्जन मुइमार, ३९ वर्षीया गोपी मण्डल, २३ वर्षीय सञ्जयकुमार मण्डल, ३५ वर्षीया रेखा देवीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी पक्राउ पर्ने अन्यमा ३५ वर्षीया रिङ्की देवी, ३५ वर्षीया दया मण्डल, ३७ वर्षीय राजेश मण्डल, ४० वर्षीया पुनम देवी र २४ वर्षीया गुडिया देवी छन् । गाँजा ओसारपसारमा बीआर १० एजे ४४८६ नम्बरको कार चालक भारतको बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अंकितकुमार यादव, राजा जैसवाल, शिवम सिंह र सत्यम यादवको पनि संलग्नता रहेको पाइएपछि उनीहरुलाई समेत प्रहरीले  नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्रिवि उपकुलपतिको सर्टलिस्टमा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिटमा परेका १४ जनामध्ये विवादित व्यक्तिहरूबारे पुनर्विचार गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले सरकारको ध्यानाकर्षण गराएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा जरिवाना पाएकाहरु समेत सर्टलिस्टमा परेको भन्दै उपकुलपति नियुक्तिको प्रक्रिया तत्काल रोक्न माग गरेपछि समितिले विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । सर्टलिस्टमा रहेका तीर्थराज खनियाँ, केशरजंग बराल र शिवलाल भुसालमाथि प्रश्न उठेको हो ।

खनियाँमाथि बौद्धिक चोरीको आरोप छ भने बराललाई पोखरा विश्वविद्यालयको उपकुलपति हुँदा सम्बन्धनका क्रममा अनियमितता गरेको र त्रिविका बहालवाला कार्यवाहक उपकुलपति भुसाललाई राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको भन्ने विषय संसदीय समितिमा सांसदहरूले उठाएका थिए । त्रिविका कार्यवाहक उपकुलपति भुसालले हालै गरेका नियुक्ति र निर्णयबारे छानबिन गरी आवश्यक कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ । समिति सदस्य विद्या भट्टराईले भुसालले गरेका कानुन विपरीतका निर्णय रद्द गर्नुपर्ने बताएकी थिइन् ।

सांसद तोसिमा कार्कीले उपकुलपति सिफारिस समितिलाई बौद्धिक चोरीमा संलग्न रहेको मान्छेलाई सर्टलिस्ट नराख्न निर्देशन दिनुपर्ने माग गरेकी थिइन् । त्यस्तै, कार्यवाहक हुँदैमा भागबण्डा गरी नियुक्ति गर्ने भुसाललाई पनि सर्टलिस्टबाट हटाउनुपर्ने उनको माग थियो । सांसद कालुराम राईले भुसाल, खनियाँ र बराललाई सर्टलिस्टबाट हटाउन माग गरेका थिए । शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले उपकुलपति छनोटको प्रक्रिया रद्द गर्न नमिल्ने तर बौद्धिक चोरीको विषयमा सिफारिस समितिले आवश्यक छानबिन गर्ने कुरा राखेका थिए ।

सुनसरीबाट १ करोड ८२ लाख नक्कली नोटसहित एक भारतीय पक्राउ

काठमाडौँ ।  प्रहरीले सुनसरीबाट ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ। भारतबाट नेपाल आएको स्कारपियोबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बरामद गरेको हो।

इनरुवा नगरपालिका ४ सुनसरी खोलाको पुलनजिकबाट आइतबार साँझ प्रहरीले नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए। बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको चेकजाँच गर्दा स्कारपियोको पछाडिको भागमा लुकाएर ल्याइएको नक्कली नोट बरामद भएको उनले बताए।

गाडी चालक भारत सुपौलका २२ वर्षीय मोहम्मद सैयदलाई पक्राउ गरिएको रेग्मीले बताए। उक्त स्कारपियो भारतको कुन ठाउँबाट आएको हो भन्नेबारे अनुसन्धान भइरहेको रेग्मीले बताए। ‘ट्राफिक प्रहरीले चेकजाँचका क्रममा रोक्दा शंका लागेर हेर्दा नक्कली नोट बरामद भएको हो,’ रेग्मीले भने। बोराभित्र झोलामा लुकाएर र ल्याइएको अवस्थामा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले नक्कली नोटबारे पत्रकार सम्मेलन गरी सोमबार दिउँसो जानकारी दिने जनाएको छ ।

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । बजेट र मौद्रिक नीतिको अर्थवार्षिक समीक्षाको पूर्वसन्ध्या नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्से यस दिन भने बढेर बन्द भएको हो। आज नेप्से १५.३३ अंकले बढेर दुई हजार एक सय १ दशमलव १६ विन्दुमा बन्द भएको हो ।      

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्मको तथ्यांकले बाह्यक्षेत्र बलियो बनेको देखिएको छ। यसले गर्दा केन्द्रिय बैंकले दोस्रो त्रैमासिक समीक्षामा पनि केही लचिलो नीति ल्याउने अपेक्षामा यस दिन बजार सकारात्मक भएको हो।

आज ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये १९९ वटाको बढेको छ भने ४५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज छ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बोटलर्स नेपाल बालाजु लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, कुथेलीस्मल हाइड्रोपावर लिमिटेड, चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेड र बलेफी हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड रहेका छन् ।   

त्यस्तै, एनआइसी एसिया ग्रोथ फण्ड–२ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ८.८९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको २३ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।        

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन ०.०५ प्रतिशत घटेको छ।

यातायातका महानिर्देशक रिजाललाई कार्यालयमै दलियो कालोमोसो

काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलिएको छ ।
नक्कली लाइसेन्स प्रकरणमा संलग्न रहेको भन्दै मोहन वैद्य सम्बद्ध क्रान्तिकारी युवा संगठनले कालोमोसो दलिदिएको हो । संगठनको एक समूहले मीनभवन कार्यालय मै पुगेर बिहान १०:१५ बजेतिर दुर्व्यवहार गरेको जनाइएको छ । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ ।
पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले  राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन्।  

प्रतिवेदन बुझेपछि सो समारोहलाई सम्वेधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैँ चनाखो रही कार्य सम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताए । 

उनले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको संरक्षण गर्दै राष्ट्रिय एकताको प्रवर्द्धन गर्न, विभिन्न जात जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी संघीय इकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्न, राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरी शान्ति सुव्यवस्था कायम गर्न एवम् सर्वाङ्गीण मानवीय सुरक्षाको प्रत्याभूति कायम गर्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको पनि स्पष्ट पारे । 

संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन  राष्ट्रपतिसमक्ष प्रधानमन्त्री दाहालले पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

नेपालको संविधानको धारा २६६ को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । उक्त समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,अर्थमन्त्री डा .प्रकाशशरण महतलगायत परिषद् सदस्यहरूको उपस्थिति थियो ।

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं । नेपालविरुद्ध क्यानडाले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार नेपालविरुद्ध जारी एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको हो।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनाएको हो । नवनित धलिवलले ५० रन जोड्दा निखिल दत्त ४५ रनमा रनआउट भए । कप्तान सादले अन्त्यतिर १५ बलमा आक्रामक ३१ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरेपछि क्यानडाले स्कोरमा सुधार गरेको थियो । नेपालका लागि डेब्यु गरिरहेका हेमन्त धामीले ३ विकेट लिए ।

ओपनर आरोन जोन्सन ४ रन जोड्दै डेब्यु गरिरहेको हेमन्तको शिकार बनेका थिए । ठूलो सट खेल्ने धुनमा एज लाग्दै उनी थर्ड म्यानमा देवको हातबाट समातिए । दोस्रो विकेटका लागि ओपनर नवनित धलिवल र श्रीमन्थ विजयरत्नेले ४८ रनको साझेदारी गरे । विजयरत्ने २२ रन जोड्दै आकाश चन्दको शिकार बनेपछि क्यानडा ५५-२ मा पुगेको थियो ।

निकोलस किर्तन ३ रन जोड्दै कुशल मल्लको बलमा क्याच आउट भए । ओपनर नवनित धलिवल अर्धशतक पूरा गर्नेबितिक्कै क्याच आउट भएपछि क्यानडा १०१-४ को स्थितिमा पुग्यो । २७ औं ओभरमा आउट भएका उनले ८२ बलमा ५ चौकासहित ५० रन जोडे ।

हर्ष ठाकर २९ रन जोड्दै कुशल मल्लकै एलबीडब्लु धरापमा परे । उनले ४८ बलमा १ छक्कसहित २८ रनको योगदान दिए । निखिल दत्त र हर्षले छैटौं विकेटका लागि ५४ रनको साझेदारी गर्दै रनगति बढाएका थिए ।

विकेटकिपर श्रेयस मोभाले २९ बलमा १ चौकासहित २५ रन जोडे । उनी हेमन्तको बलमा क्याच आउट भए । निखिल दत्त ४५ रन जोड्दै रनआउट भए । ६२ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका उनी दोस्रो रन जोड्ने क्रममा रनआउट भएका थिए ।

डिलोन हेलिगर ४ रन जोड्दै हेमन्तकै बलमा क्याच आउट भए । हेमन्तले ३ विकेट लिँदा कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १-१ विकेट हात पारे ।

नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ। क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपाललाई ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ। नेपालले सिरिजको पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटले जित हात पारेको थियो। 

गृह मन्त्रालयले भन्यो – फागुन १ मा सार्वजनिक बिदा छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जितेका केही पालिकाहरूले जनयुद्ध दिवसको अवसर भन्दै फागुन १ मा सार्वजनिक बिदाको घोषणा गरेपछि गृह मन्त्रालयले उक्त दिन सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ।  मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो । 

गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ । 

यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो ।

तिम्रो पिडा लाई शक्तिमा बदल्न भगवानले साथ दिउन भन्दै श्रीमतीलाई पत्र लेख्दै अर्जुनले गरे आत्महत्या

आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्निको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफु असल परिवार र सँस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०:१५ बजे तिनिहरुका ९-१० बर्षकी छोरी, १३-१४ बर्षका छोरा सहित हाम्रो घरमा आएर गरेको झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिए, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थियन । उसले आफ्नो स्वास्निको गर्मीलाई शितल बनाउन तिम्रो घरबार बिग्यारो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठुलो नोक्सन बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाइ उसले सुनकै घर बनाएर दिय पनि पुर्ती हुन सक्ला त?

छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, ‘यो कारमा को आएको छ’? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन ।

गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन । यो बाटो ज्यादै नै पिडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनिय चित्कार, दु:खले रमेश अस्मिताको मनलाई धेरै शितल र शुखानुभुती हुन्छ नै होला । त्यहिनै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ । मेरो दु:खत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दीइ रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन । मैले बिगत ३६ सम्म गरेका कर्म-धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले ‘द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन । प्रेरित हुन । अरु के भनम! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ । दुखेको मनलाई लुकाइ राखेँ । आज बिगत १ बर्षदेखिको दु:ख सकिदै छ ।

म, तिमी, छोरा-छोरी (अमुन-अमित) र आमामा धेरै क्रितग्य छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा-छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कु द्रिष्ट्री पर्‍यो । सबै सत्यनास भयो । अब मैले बारबार जन्म लिनु नपरोस । यदी परेमा फेरिपनी तिमीलाई नै पाउँ । जस्तो सुकै गाह्रो परिस्थिती आय पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ती मिलोस । तिम्रो श्रीमान ।

अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको काज सरुवा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौँ जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हडपेको सन्दर्भमा पक्राउ परेका व्यवसायी अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि उनी विवादमा परेका थिए ।

आचार्यले गरेको आदेशमा कैफियत नभएपनि भाषा न्यायिक मर्म अनुसारको नभएको भन्दै सर्वोच्च अदालतको जिरो आवरमै छलफल चलेको थियो । आचार्यको आदेशमा हजारौँलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्दसँग प्रधानन्यायाधीश श्रेष्ठ असन्तुष्ट रहेका थिए । आचार्यको विषयमा विवाद आएपछि प्रधानन्यायाधीश श्रेष्ठले नै आचार्यलाई नै कामकाज गर्न सहज होस् भनेर मुगुमा काज सरुवा गरिदिएको सर्वोच्च श्रोतले बताएको छ ।

यसअघि नवलपुर जिल्ला अदालतमा रहँदा देशैभरबाट सबैभन्दा धेरै मुद्दा फर्स्योट गरेका आचार्यलाई प्रधानन्यायाधीश श्रेष्ठले नै दुई वर्ष पूरा नहुँदै काठमाडौं जिल्ला अदालतमा सरुवा गरी ल्याएका थिए । काठमाडौँको मुद्दाको चाप घटाउन सहज हुने भनी काठमाडौं ल्याइएका उनी आदेशका प्रयोग गरिएको भाषाका कारण विवादमा परेपछि उनलाई काज सरुवा गरिएको हो । 

एक न्यायाधीशको दरबन्दी रहेको मुगु जिल्ला अदालतमा हाल रामानन्दप्रसाद अधिकारीको दरबन्दी छ । आचार्यलाई मुगुमा काज सरुवा गरिएपछि अधिकारीलाई काठमाडौँ ल्याउने तयारी भइरहेको सर्वोच्च स्रोतले जनाएको छ ।

२१ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल सरकारका २१ जना राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को सरुवा गरिएको छ।

महालेखा नियन्त्रकको कार्यालयले मातहतका विभिन्न निकायमा कार्यरत लेखाका उपसचिवहरूको काज सरुवा गरेको हो । 

कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयदेखि ठूला र आकर्षक मानिएका आयोजनासम्मका लेखा प्रमुखहरूको अदली बदली गरेको छ।

१४ जना  शाखा अधिकृतको बढुवा सिफारिस, को को परे? (सूचीसहित)

काठमाडौँ । १४ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस भएका छन् । 

नेपाल लेखापरीक्षण सेवाका चार, नेपाल कृषि सेवाको लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फ तीन, नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह स्यानिटरी उपसमूहतर्फ दुई जना बढुवाका लागि सिफारिस भएका छन् । 

यस्तै अन्य विभिन्न सेवा, समूह तथा उपसमूहतर्फ पाँच जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

सूची :

अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

काठमाडौँ । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् ।

एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने अरु १६ बैंकले ब्याजदर घटाएका छन् । हिमालयन बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन् । यी बैंकले माघमा पनि सोही ब्याजदर लागू गरेका थिए ।

प्राइम बैंकको ०.६९ प्रतिशत घटेर संस्थागततर्फ ५.४ प्रतिशत र व्यक्तिगततर्फ ७.४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले संस्थागततर्फ ६.१० प्रतिशत र व्यक्तिगततर्फ ८.१ प्रतिशत ब्याजदर तोकेको थियो ।

कृषि विकास बैंकको संस्थागततर्फ १.३१७ प्रतिशत घटेर ४.४४३ प्रतिशत र व्यक्तिगततर्फ ०.८१ प्रतिशत घटेर ६.४४३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि माघमा बैंकले संस्थागततर्फ ५.७६ प्रतिशत र व्यक्तिगततर्फ ७.२६ प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल एसबिआई बैंकले ०.१५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको हो । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याज दिएको थियो ।

एनएमबि बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ०।६ प्रतिशत घटाएर ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याज दिएको थियो ।

कुमारी बैंकले ०.१० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत ब्याजदर तोकेको थियो ।

प्रभु बैंकले ०.५६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको हो । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.०६५ प्रतिशत र संस्थागततर्फ ६.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सानिमा बैंकले ०.६४ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ५.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको थियो ।

एनआईसी एशिया बैंकले ०.०६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.०६५ प्रतिशत र संस्थागततर्फ ६.०६५ प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.६० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले ०.७२ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ६।०७ प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल बैंकले व्यक्तिगततर्फ ०.७५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ १.२५ प्रतिशत घटाएर ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

नबिल बैंकले ०.३६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.७२ प्रतिशत घटाएर ७.३५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

ग्लोबल आइएमई बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको थियो ।

ब्याजदर घट्दै जाँदा निक्षेपकर्ताले मुद्दती निक्षेप नवीकरण नगर्ने र केही समय बचतमा पैसा राख्दा बैङ्कहरूको मुद्दती निक्षेपको हिस्सा घटेर बचतको बढ्न लागेको छ ।