यस्तो छ तपाईंको २६ माघ २०८०, शुक्रबार आजको राशिफल

मेष : दिन राम्रो छ। समाजमा बोलीको प्रभाव रहनेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा लाभ प्राप्त हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

वृष : दैनिकी राम्रो छ। लगानीबाट फाइदा हुनेछ। समाजले सम्मान गर्नेछ। रोजगारीमा प्रवेशको सम्भावना छ। धर्म छोडेमा पीडा भोग्नुपर्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ।

मिथुन : चुपचाप काम गर्नुपर्ने समय आएको छ। आर्थिक क्षेत्र सबल छ। सामाजिक क्षेत्रमा झन्झट सुन्नुपर्ने हुनसक्छ। परिवारमा विश्वास गरेकाले नै शंका गर्ने जोखिम छ।

कर्कट : दिन सामान्य छ। झुटो आरोप सुन्नुपर्ने हुनसक्छ। यात्रामा जोखिम रहेकाले गति नियन्त्रण आवश्यक छ। हनुमानको चिन्तन गर्नु राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। रोजगारीमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको मेहनतको प्रतिफल प्राप्त हुनेछ। परिवारमा भने विश्वासको अभाव देखिन्छ। दाजुभाइ र दिदीबहिनीले साथ दिनेछन्।

कन्या : दिन राम्रो छ। सामाजिक र आर्थिक क्षेत्रमा लाभ हुनेछ। गुरुबाट भने सहयोग नमिल्न सक्छ। धार्मिक क्षेत्रमा ध्यान जाने देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दैनिकी राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानीमा घाटा हुनाले स्वदेशमै लगानी गर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा लगानी अनावश्यक हुनसक्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। रोग, त्रास र भयले सताउने देखिन्छ। दुर्गा माताको दर्शन गरेमा काम सफल बन्नेछ। यात्रामा जोखिम हुने भएकाले सवारी साधन तीव्र गतिमा नचलाउनु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

धनु : दिन राम्रो छ। चन्द्रमा दाहिना छन्। ठुला उद्योगको सुरुवात गर्ने दिन आएको छ। तपाईंको लगानीले प्रतिस्पर्धी शान्त हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

मकर : समय राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। हरेक क्षेत्रमा कुरा काट्नेहरु सक्रिय छन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : समय सामान्य छ। आफ्नो निन्दा आफैले सुन्नुपर्ने छ। तपाईंले गाई र चरालाई दाना प्रदान गर्नु राम्रो हुन्छ। शिव भजन सुन्नुभयो भने दिन राम्रो हुनेछ। परिवारसँगको सम्बन्धले दिन रमाइलो बन्नेछ।

मीन : दिन राम्रो छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ।

पहिलो एकदिवसीय क्रिकेटमा क्यानडामाथि नेपालकाे रोमाञ्चक जित

काठमाडौँ । नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । क्यानडालाई ४७.५ ओभरमा २ सय १७ रनमा सीमित पार्दै नेपाल ७ रनले विजयी भएको हो । 

नेपालका तर्फबाट कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले २, सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १/१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले क्यानडाका लागि २ सय २५ रनको लक्ष्य दिएको थियो ।

टीकापुरको सरकारी जग्गा हिनामिना अभियोगमा अख्तियारद्वारा  २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार (आज) उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

आयोगले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्र प्रसाद जोशी लगायतका पदाधिकारीहरू विरुद्ध आरोप पत्र दायर गरेको हो । समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी एवम् कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिका प्लट घडेरी आफन्त लगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरी बिहीबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष पदाधिकारी एवम् कर्मचारीहरुको संलग्नतामा जग्गा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचविखन गरेको खुलेको छ ।

समितिको स्वामित्वमा रहेको जग्गा व्यक्ति विशेष तथा संघ/संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्थाबमोजिम उपलब्ध गराउनु पर्नेमा त्यसविपरीत नक्कली कागजात खडा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको अभियोग पत्रमा उल्लेख छ ।

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

काठमाडौं ।  रिक्त रहेको पदमा स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतले डा. श्रेष्ठलाई डेढ महिनाअघि मात्रै बोर्डको सदस्यमा नियुक्त गरेका थिए । निर्देशक डा दामोदर बसौलालाई हटाइएपछि अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

सुनील र विकललाई थप ७ दिन थुनामा राख्न अनुमति

काठमाडौँ ।  देशका ठूला सूचना प्रविधि माफियाका रुपमा बदनाम सुनिल पौडेल र विकल पौडेललाई थुनामा राख्न बिशेष अदालतले तेस्रो पटक ७ दिन थुनामा राख्ने अनुमति दिएको छ।

एक साता अघि दोस्रो पटक विशेष अदालतबाट लिइएको ७ दिन हिरासतमा राख्ने अनुमतिको म्याद बुधबार सकिएको थियो। त्यसकारण अख्तियारले फेरि एक साताका लागि हिजो याद थपेको हो।

भ्रष्टाचारको पैसा विदेशमा लुकाएको र अकुत सम्पत्ति आर्जनसम्बन्धि मुद्दामा आयोगले उनीहरुलाई पक्राउ गरेको थियो । विदेश भाग्ने तयारी गरेको सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन् । यसअघि पनि उनीहरुविरुद्ध नेशनल पेमेन्व गेटवे र सेक्युरिटी प्रेस खरिदसम्बन्धमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ ।

ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत

रौतहट । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई रौतहटमा एक सय एक किलोको मालाले स्वागत गरिएको छ। एमाले रौतहटको १० औँ जिल्ला अधिवेशन उद्घाटनका लागि गरुडा आएका अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत गरिएको हो ।

अधिवेशनमा ओलीसँगै केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ लगायतको उपस्थिति रहेको छ । बिहीबार र शुक्रबार चल्ने अधिवेशनले एमाले रौतहटको नयाँ कार्यसमिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चार जनाको नाम चर्चामा रहेको छ।अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको छ । 

सेयर बजारसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला ३ कारोबार दिनदेखि उकालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।आज नेप्से ५.७४ अंकले बढेर दुई हजार ९६ दशमलव ३८ विन्दुमा बन्द भएको हो ।                                             

आज ३ अर्ब २१ करोड २२ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये १५७ वटाको बढेको छ भने ८२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र त्रिशुली जलविद्युत कम्पनी लिमिटेड रहेका छन् ।   

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.९७ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको १८ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।   

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक १.१२ प्रतिशत बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ।

अन्तर्राष्ट्रिय लगानीकर्ताले नेपालमा लगानीका लागि चासो लिएका छन्: अर्थमन्त्री महत 

काठमाडौँ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समितिका संयोजक डा.प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो प्राप्त भइरहेको बताएका छन् 

आज अर्थ मन्त्रालयमा बसेको तेस्रो लगानी सम्मेलन, २०८१ निर्देशक समितिको बैठकमा अर्थमन्त्री डा महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताउनुहुँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिनुभयो ।  अर्थमन्त्री डा महतले लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश दिनका लागि लगानी सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो प्राप्त भइरहेकाले गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिनुभयो । 

“लगानी आकर्षण गर्न सम्मेलन हाम्रा लागि अवसर हो । विदेशी तथा नेपाली लगानीकर्ता एवं गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारका लागि सरकार सधैँ तयार छ”, उहाँले भन्नुभयो, “लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्‍याउने लगानी सम्मेलनको प्रमुख उद्देश्य हो ।”

बैठकमा मन्त्री डा महतले आगामी जुन महिनामा विश्व बैङ्कको सहुलियत दरमा ऋण दिने संस्थाले (आइडी) को सम्मेलन नेपालमा आयोजना गर्न विश्व बैङ्क तयार रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “औपचारिक पत्र केही दिनमा आउँदै छ । अहिलेसम्म सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुनेछ । विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दाबढी देशका प्रतिनिधि सम्मेलनमा सहभागी रहनुहुनेछ ।” 

यसअघि अप्रिल २८–२९ (वैशाख १६–१७) मा लगानी सम्मेलन हुने उहाँले बताउनुभयो । “यो सम्मेलनलाई उपलब्धिमूलक बनाइयो भने नेपालमा बहुर्राष्ट्रिय कम्पनी मात्र होइन, निजी लगानी बढ्ने सम्भावना पनि रहन्छ”, मन्त्री डा महतले भन्नुभयो । 

बैठकमा नीति, कानुन तथा संरचनागत सुधार कार्यदलका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले कानुनी तथा नीतिगत सुधार सम्बन्धमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । निजी क्षेत्रको समेत सहभागितामा प्रतिवेदन तयार भई मुख्य सचिव संयोजकत्वको लगानी सम्मेलन कार्यान्वयन समितिको बैठकमा प्राप्त पृष्ठपोषण समावेश गरी प्रतिवेदन तयार गरिएको हो ।

उक्त प्रतिवेदनलाई आधारित मानेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत ‘लगानी सहजीकरण गर्न केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ मन्त्रिपरिषद्को स्वीकृति पश्चात् अनुमोदनका लागि संसदीय प्रक्रियामा प्रवेश गर्नेछ ।

कार्यदलले उद्योग, व्यवसाय एवं लगानीमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउने, निर्माण परियोजना कार्यान्वयनमा अनुभव गरिएका अप्ठ्यारा तथा ढिलासुस्ती हटाउने उद्देश्यले औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, वातावरण संरक्षण ऐन २०७६, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३, नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ तथा वन नियमावली, २०७९ का विभिन्न प्रावधानमा संशोधन प्रस्ताव गरेको छ ।

त्यस्तै बैठकमा तेस्रो लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजनाको तयारीका सम्बन्धमा प्राविधिक समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले प्रस्तुतीकरण गर्नुभएको थियो । प्राविधिक समितिले परियोजना अध्ययनको विभिन्न चरणमा रहेका परियोजना वर्गीकरण गरी परियोजनाको प्रारम्भिक सूची तयार गरी थप गृहकार्य अघि बढाएको छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपक्षी विकास; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, वन तथा वातावरण मन्त्रालयका मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सरकारका मुख्यसचिव, अर्थ मन्त्रालयका सल्लाहकार, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षलगायतको उपस्थिति थियो । 

६१ हजार नक्कली नोटसहित पाँच जना पक्राउ

काठमाडौं  । नक्कली नोटसहित बाराबाट पाँच जना पक्राउ परेका छन्। एक हजारका ६१ थान नक्कली नेपाली नोटसहित जिल्ला प्रहरी कार्यालय बाराले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका-३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानीपुर गाउँपालिका-५ का सुमित साह, सन्तोष पटेल, वीरगन्ज महानगरपालिका-१० का विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव रहेका छन्।

उनीहरूलाई जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट बुधबार पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

एनआइसी एसिया बैंककाे व्यवसाय नभएपछि कम्तीमा ५० शाखा बन्द गर्ने

काठमाडौं। एनआइसी एसिया बैंकले कम्तीमा ५० शाखा र एक दर्जन विस्तारित (एक्सटेन्सन) काउन्टर बन्द गर्ने भएको छ। आर्थिक मन्दीका कारण व्यावसायिक गतिविधिमा धक्का लागेपछि बैंकले विभिन्न ठाउँका शाखा बन्द गर्न नेपाल राष्ट्र बैंकमा निवेदन दिएको हो।

केन्द्रीय बैंकले अनुमति दिए एनआइसी एसियाका व्यवसाय कम भएका शाखा बन्द गर्न बाटो खुल्नेछ। तर, एनआइसी एसियाले भने विस्तारित काउन्टर मात्रै बन्द गर्न निवेदन दिएको दाबी गरेको छ। सरकारका विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा विस्तारित  काउन्टर बन्द गर्न राष्ट्र बैंकमा निवेदन दिएको बैंकका सूचना अधिकारी अर्जुन खनियाँले जानकारी दिए।

राष्ट्र बैंक स्रोतका अनुसार ग्रामीण क्षेत्रका शाखामा सञ्चालन खर्च अत्यधिक रहेको र व्यवसाय खासै नभई बढी मात्रा घाटामा गएका शाखा बन्द गर्न निवेदन आएको जनाएको छ।  स्थानीय सरकारको खाता सञ्चालनका लागि विस्तारित काउन्टर सरकारी खाता हाम्रो बैंकमा नआउने भएपछि बन्द गर्ने प्रकृया अघि बढाएका छौं,’ बैंकका सूचना अधिकारी खनियाँले भने, ‘काठमाडौं उपत्यकाभित्र र बाहिर गरी करिब १२ वटा यस्ता काउन्टर बन्द गर्न राष्ट्र बैंकमा निवेदन दिएका छौं।’

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १३७५ रुपैयाँमा कारोबार भएको थियो ।

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिबाना र ६ महिना कैद हुने

काठमाडौँ । इजाजतपत्र (लाइसेन्स) नलिई घरजग्गा कारोबार गर्न नपाइने भएको छ । लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिबाना र ६ महिना कैद हुने भएको हो । इजाजतपत्र बिना घरजग्गा कारोबार गर्न नपाइने गरी मालपोत ऐन संशोधन सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

बुधबार प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।

उक्त विधेयक मार्फत मालपोत ऐन संशोधन गर्दै सरकारले तोकेको क्षेत्रमा तथा सरकारले तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले ‘घरजग्गा सम्बन्धी कारोबार’ भन्नाले कुनै शुल्क लिई वा नलिई कसैको घर वा जग्गा खरिद वा बिक्री गर्न सहयोग गर्ने, त्यस्तो घर वा जग्गा खरिद वा बिक्री गर्ने व्यक्तिलाई परामर्श दिने वा त्यस विषयमा अन्य कुनै किसिमले व्यावसायिक रूपमा सेवा उपलब्ध गराउने कार्यलाई सम्झनुपर्ने व्याख्या गरेको थियो । संसदले त्यसलाई संशोधन गरे प्राकृतिक व्यक्तिले आपसी सहमतिमा गर्ने खरिद बिक्रीबाहेक मात्रै उक्त व्यवस्था आकर्षित हुने भएको छ ।

प्राकृतिक व्यक्तिले आपसी सहमतिमा घरजग्गा कारोबार गर्न भने इजाजतपत्र दिनुनपर्ने गरी प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको हो । विधेयकले मालपोत ऐन संशोधन गर्दै कसैले इजाजतपत्र नलिई घरजग्गा सम्बन्धी करोबार गरे कारोबारको बिगो खुलेकोमा बिगो बमोजिम र बिगो नखुलेकोमा २५ लाख रुपैयाँसम्म जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

यस्तै इजाजतपत्र प्राप्त व्यक्तिले मालपोत ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा इजाजतपत्र प्रदान गर्दाको सर्त विपरीत घरजग्गा सम्बन्धी करोबार गरे इजाजत पत्र दिने अधिकारीले त्यस्तो व्यक्तिलाई कारोबारको बिगो खुलेकोमा बिगो बमोजिम र बिगो नखुलेकोमा १० लाख रुपैयाँ जरिबाना गर्न सक्ने व्यवस्था सहित विधेयक पारित गरेको हो । संशोधित विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागु हुनेछ ।

नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख रूपैयाँ घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक र अर्का एक जनाल एक लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँमा कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले सर्भेक्षक चौलागाई र लेखापढी कर्मचारी पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आज नापी कार्यालय कलंकीबाट पक्राउ गरेको हो ।

सर्भेक्षक चौलागाई र पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।  उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

यस्तो छ तपाईंको २५ माघ २०८०, बिहीबार आजको राशिफल

मेष : समय राम्रो छ। आर्थिक क्षेत्रमा अपेक्षा अनुसार फाइदा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। आफन्तको साथ र सहयोग मिल्नेछ।

वृष : दैनिकी राम्रो छ। सञ्चित धन सही ठाउँमा खर्च हुनेछ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दैनिकी सामान्य छ। मनमा नराम्रो सोच आउन सक्छ। काम गर्नु अगाडि आफूभन्दा ठुला मानिससँग परामर्श गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर रहन्छ।

कर्कट : दिन सामान्य राम्रो छ। लगानीको क्षेत्र भने सबल रहेको छ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ। झुटो आरोप लाग्नसक्छ। आफन्तको आलोचना सुन्नुपर्ने हुनसक्छ। वर र पिपलको दर्शन मात्र गरेमा काम बन्नेछ।

सिंह : दिन सामान्य छ। आफन्तबाट अपमानित हुनुपर्न सक्छ। स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नु आवश्यक छ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बढी विश्वास गर्नाले परिवारबाट धोखा हुनसक्छ।

कन्या : दिन राम्रो छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिएको छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानी राम्रो छ। परिवारको साथ मिल्नेछ।

तुला : दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षाको लगानीबाट फाइदा नहुने योग छ। प्रतिस्पर्धीबाट उम्कने सम्भावना धेरै छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

वृश्चिक : समय राम्रो छ। बन्धुबाट साथ र सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखापर्ने छन्। शिक्षामा असफलता आइलाग्न सक्छ। सामाजिक क्षेत्रमा हात नलगाएको राम्रो हुन्छ। वैदेशिक क्षेत्रको श्रम लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। लगानीका क्षेत्रबाट उपलब्धि हात पर्नेछ। स्वास्थ्य लाभ हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र वैदेशिक क्षेत्रमा सफलता हात लाग्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : बोलीको प्रभावले काम बन्नेछ। आजको दिन ठुलो व्यापारमा हात नलगाउनु राम्रो हुन्छ। विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। हनुमानको चिन्तन गरेमा धेरै समस्याको समाधान हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहने छ।

कुम्भ : दैनिकी सामान्य छ। बोल्दा ख्याल गर्नु आवश्यक छ। बोलीमा शनिदेवको कुप्रभाव रहेको छ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्य राम्रो हुनेछ वैदेशिक लगानीबाट फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शत्रुको नाश हुनेछ। हरेक काममा परिवारको साथ र सहयोग रहनेछ।

घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुससहित रंगेहात पक्राउ परेका बाराको जितपुरसिमरा उपमहानगरपालिकाका-३ का वडाध्यक्ष ताराबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरिएको हो ।

अध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

वडाध्यक्ष कार्कीले घुस लिएको पुष्टी भएपछि पाँच लाख रुपैयाँ बिगो कायम गर्दै आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

घुससहित पक्राउ परेका कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।