वडाध्यक्षले प्राविधिकलाई कुटपिट गरेपछि कामकाज ठप्प

काठमाडौँ । खजुरा गाउँपालिकाका प्राविधिक लिलाराज धामीमाथि हातपात भएको छ। खजुरा गाउँपालिका–५ का वडाध्यक्ष गरिबे शेषले आज दिउँसो प्राविधिक धामीमाथि कार्यक्षेत्रमै हातपात गरेका हुन्।

खजुरा गाउँपालिका-६ मा अवस्थित भानु माध्यमिक विद्यालयमा सम्पन्न भएको माटो पटान कामको प्राविधिक मूल्यांकन गर्न गएका प्राविधिक धामीमाथि कुटपिट गरेको स्रोतको भनाइ छ 

वडाध्यक्ष गरिबे वडा नम्बर-६ मा रहेको भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुन्। गाउँपालिकाले माटो पटानका लागि दुई लाख रुपैयाँ रकम विनियोजन गरेको थियो। वडाध्यक्ष गरिबेले नापजाँच नगरी प्राविधिक मूल्यांकन गर्न दबाब दिइरहेको उनीहरूको आरोप छ ।

वडाध्यक्ष गरिबेले प्राविधिकलाई कुटपिट गरेपछि खजुराका प्राविधिकहरूले कामकाज ठप्प पारेका छन्। अहिले पालीकाका जनप्रतिनिधि र कर्मचारीबीच घटनाबारे छलफल भइरहेको छ ।

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार नेप्सेमा ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज नेप्से ४.९२ अंकले बढेर दुई हजार ९० दशमलव ६४ विन्दुमा बन्द भएको हो ।                                             

आज २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये १६८ वटाको बढेको छ भने ६८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा गुरास लघुवित्त वित्तीय संस्था लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, स्टर्न हाइड्रोपावर र एशियन हाइड्रोपावर लिमिटेड रहेका छन् ।  

त्यस्तै, एनसीसी डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.२५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको २४ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।         

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५३ प्रतिशत घटेको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ। सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिंग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।

मन्त्री गुरुङको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए ।  सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) तथा आतङ्ककारी कार्यमा वित्तीय वातावरण निर्माण र व्यावसायिक वातावरण प्रवर्द्धन गर्न केही ऐनलाई संशोधन गर्न ऐन बनाइएको हो । 

गत असोज २४ गते कानुन, न्याय तथा मानवअधिकार समितिबाट सो विधेयक पारित भएको थियो । विधेयकमाथि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी लगायतका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिनिधिसभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । 

बाबु मेयर छोरा प्रमुख प्रशासकिय अधिकृत भतिजो इन्जिनियर

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटा गज्जवको संयोग जुरेको छ ।

पालिकामा अधिकृत नभएकै कारण बाउछोरालाई नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने सौभाग्य जुरेको हो ।

यतिमात्र हैन, नगरप्रमुखका भतिजाले समेत यही गाउँपालिकामा इन्जिनियरका रुपमा काम गरिरहेका छन् ।

शैल्यशिखर नगरपालिकाकाका प्रमुख हुन्, बिजय सिंह धामी । हाल प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हालिरहेका छन् उनका छोरा पुस्कर सिंह धामी ।

धामीको दरबन्दी दार्चुलाकै नौगाड गाउँपालिकामा छ । तर शैल्यशिखरमा प्रमुख प्रसाशकीय अधिकृत नभएपछि नगरपालिकाले छिमेकी पालिकामा कार्यरत पुस्करलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि बाबु मेयर र छोरा प्रमुख प्रशासकीय अधिकत बन्ने सौभाग्य जुरेको छ।

मेयरका भतिजा योगेश सिंह धामी यही इन्जिनियरका रुपमा कार्यरत छन्। यो संयोग देखेपछि अब बिकासको गियर लाग्ने भो भनि आम नगरवासी प्रतिक्रिया दिन थालेका छ्न्।

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीनै जना हिरासत मुक्त

काठमाडौँ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई आज रिहा भएका हुन् ।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाडेको हो ।

चौधरीलाई बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि भन्दै प्रहरीले माघ १८ गते काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको थियो । सीआईबीको हिरासतमा राखिएका उनलाई आदालतको आदेशबमोजिम आज हिरासतमुक्त गरिएको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा परेका सीजी होल्डिङ्सका अध्यक्ष चौधरीसहित ३ जनालाई त्यसअघि दिइएको ४ दिनको म्याद सकिएपछि अनुसन्धानका लागि थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । तर सोमबारमात्रै उनीहरूलाई अब दुई दिनभन्दा बढी हिरासतमा नराख्न अदालतले आदेश दिएको हो ।

सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । उनीहरू पनि आजै हिरासत मुक्त भएका छन् ।

जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम तीनै जनालाई हाजिरी जमानामा छोडिए पनि उनीहरूविरुद्ध सीआईबीले कीर्ते र ठगीमा अनुसन्धान कायमै राख्नेछ ।

गिरिश खतिवडाको शब्द एवम् संगीतमा सोना अमात्यकाे  ‘आइ एम द सुपरस्टार` सार्वजनिक   ( भिडियो )

गायिका सोना अमात्यले चर्चित र्‍यापर गिरिश खतिवडा र तिब्र र्‍यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आइ एम द सुपरस्टार` सार्वजनिक गरेकी छन् ।

सार्वजनिक गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द एवम् संगीत रहेको यस गितमा खतिवडा संगै ओ२एमएल(पीग इ प्रोड)ले प्रतिध्वनि दिने ताल निकालेका छन् । भारतीय चर्चित निर्देशक विशाल खरातले निर्देशन गरेका उक्त भिडियो नेपाली दर्शकको लागि खास बन्न सक्छ। निर्देशक खरातले कथावाचनलाई उत्कृष्ट रुपले पस्केका छन् । गितको भिडियोलाई आलोक शुक्लाले छायांकन र विशाल खरातले सम्पादन गरेका छन् । भिसी स्टुडियो, मुम्बईले अनलाइन व्यवस्थापन गरेको भिडियोको ग्रेडिङ सीएएच फोर स्टुडियोले गरेको छ ।

फुल सर्कल को प्रस्तुति रहेको यस गितको भिडियोमा इश्वर बल्लभ उप्रेतीको निर्माण संयोजक, प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीको कोरियोग्राफी रहेको यस गितमा गायिका सोना अमात्य, चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र र्‍यापरको बुलेट फ्लोको अभिनय देख्न सक्छौ । सोना विशेषत पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन् । गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीतले दर्शक श्रोतामाझ प्रतिध्वनि गर्नेमा गायिका सोना विश्वस्त छिन् । गितको भिडियोलाई सोना अमात्यको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आज एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत पदका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्ने जनाइएको छ। 

यसका साथै चार्टर्ड एकाउन्टेन्स वा सोही विषयहरूमा स्नातक उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक–वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव भएका हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको हो।

संसद् सचिवालयका कार्यवाहक महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा गुरुङले प्रस्तुत गरेको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका पनि तय गरिएको छ।

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार (आज) सुनको मूल्य बढेको छ।

बुधबार प्रतितोला ६०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै बुधबार मूल्य स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

गौर बाट काठमाडौ जादै गरेको लाखौंको तस्करीका सामान राजस्वको गस्तीद्वारा पक्राउ

काठमाडौँ । राजस्व अनुसन्धान विभागले सानेपाबाट ७६ लाख रुपैयाँबराबरको अवैध रूपमा भित्र्याएको कपडासहितको ट्रक नियन्त्रणमा लिएको छ । प्राप्त जानकारी अनुसार ट्रकमा चामल राखेको देखाएर राजस्व छलेको कपडाको चोरी पैठारी गरिएको थियो । विभागका महानिर्देशक नवराज ढुंगानका अनुसार ट्रकमा कुर्ता सलवार, सारी, धोतीलगायतका तयारी पोशाक रहेको छ । उनका अनुसार उक्त ट्रक गौरबाट काठमाडौंतर्फ आएको थियो । गौरदेखि नै पछ्याएर राजस्वको टोलीले चालकसहित ट्रकलाई पनि सानेपाबाट नियन्त्रणमा लिएको हो ।

खुला सीमाको फाइदा उठाएर तराइका नाकाहरूबाट चोरी पैठारीका सामान भित्र्याउने गरिएको छ । राजस्व अनुसन्धानका कार्यालय, बोर्डर आउट पोस्टमा (बीओपी) मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको चौकी ठाउँठाउँमा राखेपनि खुला बोर्डरको फाइदा लिएर गरिने चोरी पैठारी भने रोकिएको छैन ।

विभागका अनुसार एउटै ट्रकमा ठूलो परिमाण र लाखौं मूल्यको सामान बरामद भएको सम्भवतः यो घटना हो । कपडाधनीको खोजी भइरहेको विभागले जनाएको छ ।
गौर वरिपरिका क्षेत्र बाट तस्करी बढिरहेको समाचार आइरहेको बताइएको भएपनि सम्बन्धित निकायले देखाउने मौनताले राजस्व सकृय हुनुपरेको बताइन्छ ।

राज्य व्यवस्था समितिबाट अनुगमन तथा मूल्यांकन सम्बन्धमा विधेयक पारित

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो। 

बैठकको निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले समितिले प्रथम विधेयकका रुपमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक पारित गरेको बताए । राज्य व्यवस्था तथा सुशासन समितिले पहिलो पटक विधेयक पारित गरेको छ । यो कार्यकालमा यसभन्दा अघि कुनैपनि समितिबाट विधेयक पास हुन सकेका थिएनन् । २४ गतेको संसदमा उक्त विधेयक पेश भएर पारित हुन्छ ।’

खतिवडाले भने, ‘हामीले राष्ट्रिय सभाबाट उत्पत्ति भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेका छौँ। यो विधेयक पारित भइसकेपछि काममा ढिलासुस्ती गर्ने, आयोजना प्रमुख, ठेगदार कम्पनी, कार्यालय प्रमुख, सरकार वा मन्त्री जो हुन् सम्पूर्णलाई अनुगमन गरेर ठिक ठाउँमा ल्याउने र बद्‌मासी गर्ने र भ्रष्टाचारजन्य कानुनसरह अपराध सरहको कानुन लगाएर ठिक ठाउँमा ल्याउने विधेयक पास गरेका छौँ।’

२०७६ सालमा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २०७९ सालमा पारित भएर प्रतिनिधि सभामा सन्देश सहित आएको थियो । संघीय सरकारले कार्यान्वयन गर्ने संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी व्यवस्था विधेयकमा गरिएको छ । उक्त विधेयकमा आयोजनाको जिम्मेवारी लिएका ठेकेदार, सम्बन्धीत विभागका इन्जिनियर र कार्यालय प्रमुख समेत जवाफदेही हुनेगरी कानुन बनाइएको उनको भनाई छ । तोकेको समयमा काम नसके जिम्मेवारी लिएका व्यक्तिहरुलाई भ्रष्टाचारजन्य मुद्दा लाग्ने सम्मको व्यवस्था विधेयकमा गरिएको खतिवडाले बताए ।

सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिईने

काठमाडौं । भुमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री रन्जिता श्रेष्ठ चाैधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा परि मृत्युु भएका कर्मचारीकाे परिवारका सदस्यलाई राेजगारीकाे व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् । 

आज मन्त्रालय स्तरीय वैठकमा मन्त्री श्रेष्ठले दुर्घटना प्रति दुख ब्यक्त गर्दै मृतक परिवारलाई राहत स्वरुप राेजगारी तथा घाइतेको उपचारका लागि आवश्यक कदम चाल्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी हुन् । 

वैठकमा मन्त्री चाैधरी, मन्त्रालयका सचिव गाेकर्णमणि दुवाडी, नापी विभागका निर्देशक  प्रकाश जाेशी लगायतका कर्मचारीहरु उपस्थित थिए । 

वैठकमा मन्त्री चौधरीले मृतकका परिवारलाई भेटेर परिवार भित्रका एक सदस्यलाई रोजगारी दिने र गम्भीर घाइतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइ थप उपचार गर्न निर्देशन दिएकी हुन् । सोमबार राति नवलपुर-मलंगवा सडकखण्डमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका वागमती नगरपालिका-११, कर्मैयाका ४५ वर्षीय विनोद घिमिरेको मृत्यु भएको छ । घिमिरेको एलेक्स न्युरो अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घिमिरे नापी कार्यालयको कार्यालय सहयोगी थिए । दुर्घटनाका अन्य १० घाइतेमध्ये ५ जनाको कलैयामा, ४ जनाको वीरगन्ज र एक जनाको मलंगवामा उपचार भइरहेको छ । नापी कार्यालय प्रमुख सन्जय मानन्धरसहित केही घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

प्राविधिकतर्फका दुई सचिवको सरुवा

काठमाडौं । सरकारले प्राविधिक सेवातर्फका दुई सचिवकोृ सरुवा गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । गेलालले आज पत्र बुझेका छन् । गेलालले मंगलबार पत्र बुझेपछि मात्रै सचिव सरुवा भएको जानकारी सार्वजनिक भएको हो । गेलाल सहसचिव हुँदा मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन निर्माण विभागमा लामो समय महानिर्देशक भएर बसेका कारण शहरीबारे जानकार सचिवका रुपमा चिनिन्छन् । गेलाल २०७५ साउन १४ गतेदेखि २०७७ मंसिर २५ गतेसम्म करिव साढे दुई वर्ष विभागको महानिर्देशक बनेका थिए ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

यसैविच शहरी विकास मन्त्रालयका सचिव डा.सरजुकुमार बैद्यको चार महिनाकै अवधिमा सरुवा भएको छ । चार महिना अघि गत असोजको अन्तिम साता नेपाल ट्रष्टको कार्यालयबाट शहरी विकास मन्त्रालयको सचिवमा सरुवा भएका बैद्य चार महिना नपुग्दै त्यहाँबाट पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् ।

उच्च अदालतका तीनसहित १२ जना न्यायाधीशको सरुवा को-को कहाँ पुगे? (सूचीसहित)

काठमाडौं ।  न्याय परिषद्ले तीन जना उच्च अदालतका न्यायाधीशसहित १२ जना न्यायाधीशको सरुवा गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले उनीहरूको सरुवा गरेको हो । 

उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजीबहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलासमा र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा गरेको हो ।

न्यायपरिषद्ले कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालतमा, सुनसरीका हरिप्रसाद कोइरालाको कास्कीमा, कास्कीका अवनी मैनालीको मकवानपुरमा, तेह्रथुमका प्रमेश पोखरेको पर्सा, रौतहटका तेजबहादुर खड्काको झापा र झापाका भीमबहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा गरेको छ ।

त्यस्तै जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवनमा, नवलपुरका बाबुराम सुवेदीको मोरङ र दाङका कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा गरेको छ । बैठकले बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेल्धुरा जिल्ला अदालतको जिल्ला न्यायाधीशको हैसियतलेसमेत कामकाज गर्नेगरी तोक्न सिफारिस गरेको छ ।

सूचीः-

नेप्से संगै कारोबार रकम सामान्य बढ्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिनको अन्तिम समयमा बढेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ९.४४ अंकले बढेर दुई हजार ८५ दशमलव ७१ विन्दुमा बन्द भएको हो ।

आज २ अर्ब ५९ करोड १५ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८१ वटाको बढेको छ भने ५७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७६३ रुपैयाँ पुगेको छ । यसका साथै आज गुरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ता ९७८ रुपैयाँ पुगेको छ ।

त्यस्तै, सामलिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको कारोबार रकम साढे १६ करोड नाघेको छ।