सर्वोच्चले सुनायो दुर्गा प्रसाईंको पक्षमा फैसला, सम्बन्धन दिन आदेश 

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।

न्यायाधीशहरू डा कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याउनको लागि बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो। मेडिकल व्यवसाय हुँदै राजनीतिक कनेक्सन बनाएका दुर्गा प्रसाईले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए।

नवनियुक्त राज्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन्  । जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रीपरिषद् विस्तार गरेका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्कीलाई आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथ गराएका छन् ।

नेपालसँग आयरल्यान्ड ए ६ विकेटले पराजित

काठमाडौं । घरेलु टोली नेपालले पहिलो टी २० अभ्यास खेलमा आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको छ । १२२ रनको लक्ष्य पाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै खेलमा जित निकालेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३२ बलमा ४ चौकासहित सर्वाधिक ३७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे ।

ओपनर आसिफ शेख ११ बलमा २ चौका र १ छक्कासहित १६ रनमा, कप्तान रोहित पौडेल शून्य र गुलशन झा ४ रनमा आउट भए । व्यक्तिगत २ रनमा जीवनदान पाएका सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रन बनाए ।

उनले चौथो विकेटका लागि सन्दीप र कुशल भुर्तेलले ५० बलमा ५४ रनको साझेदारी गरेका थिए । आयरल्यान्डका ग्यारेथ डेलानीले २, बेन ह्वाइट र थोमस मेयसले १/१ विकेट लिए ।

त्यसअघि टीयु  क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भएको थियो । 

अस्पतालका प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कृषि सेड निर्माणमा हिनामिना गरेको आरोपमा डा यादवसहित ६ जनाविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले अस्पतालका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी र सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नं ९ का तत्कालीन वडाध्यक्ष राम ईश्वर ठाकुर, आम्रपाली बहुमुखी सहकारी संस्थाका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जय नन्दन राय यादवविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

साथै उनले लिमिटेडले पेश गरेको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी/नगराइ सोही प्रतिवेदन स्वीकृत गरी श्री ९ लाख ७७ हजार १६ रुपैयाँ बढी भुक्तानी गरेका आयोगको दाबी छ ।

आयोगले सोही बराबरको बिगो कायम गरी जरिवाना तथा कैद र बिगो असुल उपर गर्न मागदाबी गरेको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावटसंगै कारोबार पनि घट्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (सोमबार) शेयरबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) १७.०१ अंकले घटेको छ।

नेप्से परिसूचक १७.०१ अंक घटेर २०३१.५५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ४४ हजार २३६ पटकको कारोबारमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको ७० लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ३०४ कम्पनीको ४४ हजार २३६ पटक भएको कारोबारमा ७० लाख ६१ हजार १२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ३७ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको स्थिर रहेको छ ।

नेप्से घटेपनि आज दुई कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल (बालाजु) र सर्वोत्तम सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको साढे १३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

उम्मेदवार सुहाङ नेम्वाङ यस्तो छ बकपत्र

काठमाडौँ । नेकपा एमालेको तर्फबाट इलाम-२ का उम्मेदवार सुहाङ नेम्वाङ पार्टीले टिकट दिएपछि खुशी र उत्साही भएको बताएका छन्।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सुवास नेम्वाङका छोरा सुहाङलाई टिकट दिने निर्णय गरेको हो। गत वर्ष भएको चुनावमा नेम्वाङ निर्वाचित भए पनि गत भदौ २६ गते निधन भएपछि रिक्त स्थानम वैशाख १५ गते उपचुनाव हुँदैछ। निर्वाचन आयोगले चैत २४ गते मनोनयनको मिति तोकेको छ।

एमाले इमालले चैत ४ गते सुहाङसहित ६ जनाको नाम सिफारिस गरेको थियो। सुहाङ एमालेको कानुन विभागका सदस्य छन्।

त्यस्तै एमालेले बझाङको प्रदेशसभा चुनावमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय निर्णय गरेको छ।

इलामको लागि स्पष्ट योजना र मार्गचित्रसहित यात्राको लागि तयार भएको सुहाङले बताएका छन् ।

हार्दिक आभार तथा धन्यवाद !
आगमी १५ वैशाख २०८१ मा इलाम क्षेत्र नं. २ को उप–निर्वाचनको लागि गौरवमय इतिहास बोकेको नेपाली जनताको प्रिय पार्टी नेकपा (एमाले) ले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । म खुशी र उत्साही छु ।
यो महत्वपूर्ण अवसरको निम्ती हाम्रो पार्टी नेकपा (एमाले) र श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु । उम्मेदवारको लागि सिफारिस गर्ने नेकपा (एमाले) इलाम जिल्ला कमिटी, उम्मेदवार सिफारिस कार्यदल, इलामका सबै आदरणीय नेता कमरेडहरुप्रति आभारी छु ।
मलाई उम्मेदवार बन्नका लागि प्रेरित गर्नुहुने इलामका सबै आदरणीय अभिभावक, प्रियजन र नौजवान साथीहरुप्रति कृतज्ञ छु । तपाईहरुको माया, साथ र शुभेच्छा मेरा लागि अजस्र शक्तिको स्रोत र अमुल्य सम्पति हो । अप्ठ्यारो परिस्थीतिमा मलाई हौसला, उर्जा र साहस प्रदान गर्दै अघि बढ्नका लागि प्रेरित गर्नुहुने सबै आदरणीय व्यक्तित्वहरुलाई धन्यवाद भन्छु । आभार ।
पार्टीले मलाई उम्मेदवार बनाउने निर्णयपछि विभिन्न माध्यमबाट बधाई र शुभकामना दिनु हुने यहाँहरु सबैप्रति म असाध्यै आभारी छु । एक मुष्ठ धन्यवाद भन्न चहान्छु ।
यहाँहरुलाई थाहा छ, इलाममा विशेष अवस्थामा उपनिर्वाचन हुदैछ । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा इलामेली आदरणीय जनताहरुले मेरो बुवा उहाँहरुको प्रिय नेता सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउनु भएको थियो । तर, हामीलाई अकल्पनीय ब्रजपात आइलाग्यो । भौतिक रुपमा हामीलाई छोडेर जानुभयो । उहाँको सिद्धान्त, विचार, सपना र संकल्पहरु हाम्रो साथमा रहे पनि भौतिक साथ छुट्यो । उपनिर्वाचनको परिस्थीति आइलाग्यो ।
गएको निर्वाचनमा म बुवाको साथमा चुनावी अभियानमा थिएँ । यस क्रममा मैले बुवालाई आशीर्वाद दिने इलामेली वृद्ध बुवाआमाहरूको भावना नजिकबाट सुनेको थिएँ । उहाँहरुको सुखदुःख थाहा पाएको थिएँ । भबिष्यप्रतिको उज्यालो आशा सहित अहोरात्र निर्वाचनमा खट्नु भएका इलामेली नौजवान साथीहरुको अपेक्षा र चाहना बुझेको थिएँ । बुवाप्रतिको उचो विश्वास र भरोषा सहित उहाँले भबिष्यप्रति राख्नु भएको आशा असाध्यै नजिकबाट थाहा पाएको थिएँ । बुवाको काखमा आएर लुटपुटिदै ‘अल द बेस्ट’ भन्ने कलिला नानीहरुका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको थिएँ ।
गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनु भएको त्यो आशा, अपेक्षा, भरोषा र विश्वास मेरो लागि कति भव्य थियो ? त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन । मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु । सिक्नेछु । बुझ्नेछु । जान्नेछु । ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ म उहाँको लागि दरिलो सहयोगी बन्नेछु । तर बिडम्बना मेरो जीन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो । अकल्पनीय ब्रजपात आइलाग्यो । बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो समातेर उहाँका ती सपनाहरु पुरा गर्न तयार हुनुपर्ने अवस्था आयो ।
हो, बुवालाई राजनीतिमा साथ दिदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ । यसो भनौ, ‘आफ्नो बाटो आफै खन्दै थिएँ ।’ मेरा लागि जनसेवाका अनेकन सजिला र फराकिला बाटाहरु स्वागतको लागि तयार थिए । तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरुको आशा, भरोषा र विश्वासले मलाई पक्रिरह्यो । बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो । आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन । र भनीह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है ।’
त्यसैले म उम्मेदवारको लागि तयार भएँ । म उम्मेदवार बन्दै गर्दा आफ्नो जीन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनु भएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु । उहाँहरुको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधरण योगदानप्रति सधैं नतमस्तक छु । उहाँहरुप्रति असाध्यै ऋणी छु । रहनेछु ।
हो ! म असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएँ । यहाँनिर फेरि स्पष्ट गर्न चहान्छु, केवल परिस्थीतिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापी होइन । मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको छु । त्यो प्रतिबद्धता र अठोट सहित तयार भएको छु । इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको हुँ । तपाईहको माया, साथ र सहयोग अझै धेरै चाहिएको छ । फेरि पनि सबैप्रति आभार र धन्यवाद ।
धन्यवाद । नमस्कार !
सुहाङ नेम्वाङ
नेकपा (एमाले) को तर्फबाट
प्रतिनिधिसभा सदस्य उम्मेदवार
इलाम क्षेत्र नं.२

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङ पुगे

एजेन्सी । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको औपचारिक भ्रमणका क्रममा राजधानी बेइजिङ पुगेका छन् ।

बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरे ।

श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन्। चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ।

उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्नेछन्।

त्यस्तै, उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ।

शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छ: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।

चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन। भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको बताए। औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशनसमेत दिएको नगरप्रमुख रेग्मीले बताए।

सो अवसरमा एमाले अध्यक्ष ओलीसहित अर्थमन्त्री पुन, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा बाबुराम ढुङ्गाना, बहिरा महासङ्घका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायतको सहभागिता थियो । चितवनबाट प्रमुख रेग्मी नेतृत्वको प्रतिनिधिमण्डल आज काठमाडौँ आएको हो ।

भेटमा त्रिशूली डाइभर्सन, सामान्नीकरण अनुदान, समावेशी स्कुल स्थापनालगायत समग्र नगरको विकासका विषयमा पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको नगरप्रमुख रेग्मीले बताए।

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला १ हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

धनगढी । अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

आज (सोमवार) बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामकाले जानकारी दिए ।

मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेको छ ।

प्राप्त जानकारी अनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुईजनाको हत्या

काठमाडौं । ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ। होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका छन्। शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ।

“राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो। तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ। घटनाको कारण खुल्न सकेको छैन”, उनले भने।

उनीहरुबीच होली खेल्ने क्रममा विवाद भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ।

शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

यस्तो छ तपाईंको १२ चैत्र २०८०, सोमबार आजको राशिफल

मेष : आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ ।

वृष : समय राम्रो छ। गोप्य ढंगले बनाएको योजना सफल हुनेछ। काम गर्नु अगाडि हल्ला नगर्नु राम्रो हुन्छ। यात्रा रमाइलो हुनेछ। साथीले सहयोग गर्नेछन्। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ।

मिथुन : दैनिकी सामान्य छ। आर्थिक क्षेत्रमा विवाद हुनेछ। अल्छी बन्नुभयो भने काम हुँदैन। स्वास्थ्य जोगाउन खानपानमा ख्याल गर्नुपर्ने दिन छ। तपाईंले श्रम गरेको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। सिर्जनात्मक बन्ने योग छ। धार्मिक क्षेत्रको भ्रमण हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुनेछ।

सिंह : मिठो खाने अवसर मिल्नेछ। दिन रमाइलो हुनेछ। प्रेम सम्बन्ध सफल हुनेछ। तपाईंको प्रशंसा हुनेछ। आर्थिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ।

कन्या : अधुरा काम बन्ने योग छ। तपाईंको बोलीले समाज प्रभावित हुनेछ। मित्रसँग भेट हुनेछ। समय राम्रो छ। मेहनतको फल प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।

तुला : सानो समस्याले दुःख दिने योग छ। स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। गलत व्यक्तिसँगको संगतले खराब बाटोमा हिड्ने खतरा छ। परिवारको साथ र सहयोग निरन्तर रहनेछ।

वृश्चिक : समय राम्रो छ। समाजमा तपाईंको सम्मान हुनेछ। वौद्धिक व्यक्तिसँग सहकार्य हुनेछ। रोकिएको काम बन्नेछ। शिक्षामा प्रगति हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनसक्छ।

धनु : समय राम्रो छ। जिन्दगीमा न्याय मिल्ने दिन छ। सोचेको काम बन्नेछ। परिवारमा खुशी छाउने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : दिन राम्रो छ। सामाजिक क्षेत्रमा मन जानेछ। सार्वजनिक जिम्मेवारी प्राप्त हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ। शिक्षा भन्दा स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : आजको दिन सामान्य छ। शिक्षामा सफलता पाउन ठुलो मेहनतको खाँचो देखिन्छ। गलत बाटो देखाएर असफल बनाउने साथी सक्रिय छन्। बोलीमा रुखोपन बढ्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ रहनेछ।

मीन : समय राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। बोलीको प्रभावले धेरै काम बन्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ।

सुनकाेशी खाेलामा बेपत्ता भएका बालबालिकाकाे खाेजीकाे लागि सशस्त्र प्रहरी परिचालन

काठमाडाै‌ । सुनकाेशी खाेलामा बेपत्ता भएका बालबालिकाकाे खाेजीकाे लागि सशस्त्र प्रहरी परिचालन गरेकाे छ । आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो ।

हिजाे आइतबार दयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका हाेली खेलेर खाेलामा नुहाउन जाँदा बेपत्ता भएका थिए ।

बेपत्ता हुनेमा त्रियुगा –१४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।

पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको खाेजी जारी राखेको जानकारी दिए ।

करिब ८० प्रतिशत अफगानीमा खानेपानीको पहुँच छैन : युएनडिपी

अफगानिस्तानको करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अफगानिस्तानको शुक्रबार सार्वजनिक एक प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको पानीको पूर्वाधारमा उल्लेखनीय कमी आएको उल्लेख गरिएको छ ।

यो सङ्कटले महिला प्रधान परिवारहरूलाई असमान रूपमा प्रभावित गरेको छ ।

भूपरिवेष्ठित अफगानिस्तान खडेरीको चपेटामा परेको छ । अफगानिस्तानको कामचलाउ सरकारले भूमिगत पानीको सुधार र भण्डारणका लागि देशभर साना बाँध, पानी आपूर्ति सञ्जाल र पानीका नहरहरू निर्माण गरिरहेको छ ।

नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै

काठमाडाै‌ । दुई टी-२० अभ्यास खेलअन्तर्गत आज नेपालले पहिलो खेल आयरल्यान्ड ए स‌ग खेल्दै छ ।

खेल खेल टी-यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । टी-२० आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी-२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द रहेका छन्।

त्यस्तै आयरल्यान्ड ए को टोलीमा निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट छन् ।