एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

भेरीगङ्गा (सुर्खेत) । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ ।

यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित हुनुभएको छ । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

ढोलाहिटीमा दुईजनाको हत्या, १८ जना प्रहरी नियन्त्रणमा

पाटन । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ ।

राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए । “राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन”, उनले भने।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताउनुभयो । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज साेमबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार साेमबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया १९ पैसा र बिक्री दर १३३ रुपैया ७९ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ८६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७७ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ३२ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

एकीकृत समाजवादीद्वारा पाँच सदस्यीय संयन्त्र समिति गठन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सरकार र पार्टीबीच समन्वय गर्न उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले गठन गरेको संयन्त्रमा उपमहासचिव प्रकाश ज्वाला, सचिव जीवनराम श्रेष्ठ, मन्त्रीद्वय भानुभक्त जोशी र धनबहादुर बुढालाई सदस्यको जिम्मेवारी तोकेको छ ।

महाधिवेशनका लागि राजनीति तथा सुरक्षा समन्वय कमिटी थप गर्ने निर्णय गरेको सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नामावली तय गर्ने निर्णय गरेको छ ।

मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदवारको योगदानका आधारमा नाम सिफारिसका लागि निर्देशन दिएको बैठकले महाधिवेशन तयारीका आवश्यक कार्यलाई तीव्र रुपमा अगाडि बढाउने निर्णय गरेको सचिव श्रेष्ठले जानकारी दिए। पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तरराष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको बैठकमा पार्टीको जनवर्गीय सङ्गठन सुदृढीकरणबारे छलफल गरेको बैठकले महाधिवेशनका लागि विभिन्न कमिटीबाट गरेका तयारीबारे समीक्षा गरेको छ ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १२ कमिटी गठन गरिसकेको छ । साथै अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन गरिएको जनाइएको छ । महाधिवेशन दस्तावेज लेखन समितिले राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित गरेको छ ।

आज तराई प्रदेशमा हाेली पर्व मनाइँदै

काठमाडाै‌ । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली तराई क्षेत्रमा मनाइँदै छ । हिमाली र पहाडी क्षेत्रमा हिजाे हाेली मनाएकाे थियाे ।

फागुन शुक्ल पूर्णिमाका दिन परम्परागत रुपमा विभिन्न रङ्ग र लोला खेली यो पर्व मनाउने गरिएको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकशिपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपू होलीकाले आगोमा दहन पार्न लाग्दा आँफै भष्म भएको दिनको रुपमा होली पर्व मनाउने गरिएको धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

आजकाे माैसम : यी प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडाै ।

देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

बागमती र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । चारवटै प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती, मधेस र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

होली खेलेर सुनकोशीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । उनीहरु नुहाउन नदीमा जाँदा आज दिउँसो वेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा –१४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।

त्रियुगा –१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरु आज दिउँसो होली खेलेर  सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्  । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको खाेजी जारी राखेको जानकारी दिए । 

होलीमा जथाभावी रङ्ग दल्ने २७७ जना पक्राउ


काठमाडौ । जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । प्रहरीले होली पर्व मनाउने क्रममा आज दुई सय ७७ जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । उनले भने, “आज कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरुको अवस्था हेरेर केहीलाई आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।”

यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज छ सय ६४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जनाएको छ यसमा चारपाङ्ग्रे छ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

लापसे, मापसे गरी सवारी साधन चलाउने तथा सवारी साधनका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाउनेका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो । ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो ।

सामाखुसी साहित्य समाजको ११८औँ कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडाै‌ । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यमा सामाखुसी साहित्य समाजले द्वैमासिकरूपमा सञ्चालन गर्दै आएको ११८औँ कविता वाचन कार्यक्रम सम्पन्न भएकाे छ । शनिबार सामाखुसी चोकस्थित श्वेता सदन विद्यालयमा
आयोजना गरेको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि धमलाले वाचित कविताहरूमाथि टिप्पणी गर्दै साहित्यले समाजका आरोहअवरोहहरू बुझ्न जरुरी रहकेाे बताएका थिए । उनले साहित्य वर्गीय ,रैथाने चेतना ,पहिचान र सौन्दर्यसँग जोडिएको हुन्छ भन्ने विचार व्यक्त गर्दै कवितामा समाजका यस्तै कथाहरू प्रस्तुत हुन सक्नुपर्छ भन्ने धारणा राखे । उनले ‘भ्रम’ शीर्षकको कवितासमेत वाचन गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि कवि विनोद दाहाल वत्स,अतिथि कविहरू निर्मलरमण पराजुली, प्रमोद नेपाल, चन्द्रा न्यौपाने, लुमडीप्रसाद खनाल, माधव बिडारी, एच.के धिताल, वीरबहादुर लोहनी, राजेशमान केसीलगायतका कविहरूले आआफ्ना कविता वाचन गरेका थिए ।

यस कार्यक्रमको अध्यक्षता गरेका कवि डा.मेघराज ढकालले आफ्नो मनतव्यसहित कविता वाचन गरे ।यसैगरी कार्यक्रममा सामाखुसी साहित्य समाजका सचिव अरुणबहादुर खत्री नदीले स्वागत मनतव्यसहित केही टुक्का कवितासमेत वाचन गरेका थिए । यसैगरी आफ्नो कविता वाचनसहित कार्यक्रमको सञ्चालन कवि दिनेश थापाले गरेका थिए ।

एमालेको सचिवालय बैठक बस्दै

काठमाडाै । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ ।

‘हाम्रो संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नुपर्दछ’

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली पर्व)मा मौलिकतालाई जोगाउन आह्वान गरेकी छिन्। उनले होलीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दै संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नपर्नेमा जोड दिइन् ।
उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न यस पर्वबाट सबैमा प्रेरणा शुभकामना व्यक्त गरेकी छिन् ।

“होली पर्व मनाउने सन्दर्भमा देखिने जोरजबर्जस्ती, मादक पदार्थ सेवन र फोहर पानी भरिएको लोलाको प्रयोगजस्ता उत्ताउलोपनले हाम्रा चाडपर्वको मौलिकतालाई नष्ट गर्नुका साथै यसको महत्वलाई नै घटाउँदछ”, उनीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ, “तसर्थ हाम्रो संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नुपर्दछ । हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराइ आत्मसात् गर्न सकेमात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ ।”

शुभकामना सन्देशमार्फत उनले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायको पक्षमा अविचलितरूपले क्रियाशील रहन यस सांस्कृतिक पर्वले प्रेरणा प्रदान गर्ने बताइन् । पूर्व राष्ट्रपति भण्डारीले होलीमा प्रयोग गरिने रङमा स्वास्थ्यका लागि हानिकारक रसायनको समेत मिश्रण हुनसक्ने खतरा भएको भन्दै यस्ता रङहरूको प्रयोगमा सावधानी अपनाउन सुझावसमेत दिइन् ।

सामाजिक मर्यादाभित्र रहेर होली खेल्न अध्यक्ष ओलीकाे आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले होली पर्वले समाजलाई एकताबद्ध बनाउने बताएका छन् ।

ललितपुर, च्यालसस्थित पार्टी मुख्यालयमा आज मधेस प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्ने बताएका हुन्।

“होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न प्रेरणा दिन्छ । राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ । हामी सबैलाई यस्तै प्रेरणा मिलोस”, उनले भने, “हामी जहाँ भएपनि जुन भूगोलमा बसे पनि सबैको उद्देश्य भनेको नेपाल समृद्ध हुनुपर्छ । होलीको सन्देशले यो कुरामा बल थपोस । त्यसका लागि राष्ट्रिय एकता मजबुत बनाओस् ।”

अध्यक्ष ओलीले होलीलाई विकृत बनाउन नहुने र होलीका नाममा देखिएको अनुचित पक्षलार्ई रोक्नुपर्ने बताए । उनले होलीलाई सामाजिक मर्यादाभित्र रहेर खेल्नुपर्ने भन्दै कसैलाई जबरजस्ती रङ्ग दल्न नहुने उल्लेख गरे। “अरुमाथि आघात नपर्ने, सामाजिक सुसम्बन्धमा खलल नपर्ने कुरामा ध्यान दिनुपर्दछ । अरुको स्वतन्त्रमा खलल नपर्ने गरी आफ्नो स्वतन्त्रताको प्रयोग गर्नुपर्दछ । इच्छा विपरीत रमाइलो हुँदैन”, उनले भने ।

आज चीन भ्रमणमा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाै । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार (आज) चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् ।

श्रेष्ठ चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा रहने मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्किनेछन् ।

होली शालिनता, मेलमिलाप र आत्मीयता अभिवृद्धिको पर्व : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमा (होली)को अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको होलीपर्व शालिनता, परस्पर मेलमिलाप र आत्मीयता अभिवृद्धि गर्ने अवसर भएको समेत बताए ।

“सबैले आपसी मनोमालिन्यता, रिस, राग, द्वेष, क्लेश, मतभेद बिर्सेर एकअर्कालाई रङ अबिर लगाउँदै फागु पूर्णिमा (होलीपर्व) मनाउनुले हामीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दता र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै होलीपर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भनेका छन् ।

बहुआयामिक महत्व बोकेको यस पर्वका ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई नयाँ पिँढीमा हस्तान्तरण गर्ने र यसका सकारात्मकतालाई अङ्गीकार गर्दै यसलाई जीवन्त बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

उपराष्ट्रपति यादवले होलीको सांस्कृतिक महत्वबारे उल्लेख गर्दै पछिल्लो समय यो परम्पराले विकृत स्वरुप ग्रहण गर्नु चिन्ताको विषय भएको बताएका छन् । “अपरिचित, जोसुकै बटुवा, आफूभन्दा जेठो, ज्येष्ठ नागरिकलगायतमाथि फोहर पानी छ्याप्ने, लोला हान्ने र हुलहुज्जत गर्नेजस्ता कुसंस्कृतिले होलीलाई अमर्यादित बनाउनु हुँदैन । यसप्रति सम्बन्धित सबै सचेत र सावधान हुन अतिआवश्यक छ”, शुुभकामना सन्देशमा उनले भनेका छन् ।

यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया १९ पैसा र बिक्री दर १३३ रुपैया ७९ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा र बिक्री दर १६८ रुपैयाँ ३७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ९४ पैसा र बिक्री दर १४८ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८० पैसा र बिक्री दर ८७ रुपैयाँ १९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ५३ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७९ पैसा र बिक्री दर ८ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।