होलीपर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गराेस् : प्रधानमन्त्री

काठमाडौ‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्नेसमेत बताएका हुन् ।

“पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा (होलीपर्व)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उनले भनेका छन्, “होलीपर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीहरूमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु ।”

असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होलीपर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने उनको भनाइ छ ।

“नेपाली समाजमा विद्यमान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले हाम्रो राष्ट्रिय स्वाभिमान र गौरवलाई मात्रै स्थापित गरेका छैनन्, एकले अर्काको पहिचान, स्वाभिमान र संस्कृतिलाई सम्मान र आत्मसात् गर्ने राष्ट्रिय संस्कृतिको विकाससमेत गरेका छन् । रङहरूको पर्वका रूपमा स्थापित होलीपर्व पनि त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ”, शुभकामना सन्देशमा उनले भनेका छन ।

“हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन्”, शुभकामना सन्देशमा उनले भनेका छन् ।

आज पहाडी र हिमाली क्षेत्रमा होली मनाइँदै

काठमाडाै‌ । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली विशेषगरी पहाडी र हिमाली जिल्लाहरूमा मनाइँदै छ । तराई क्षेत्रमा भने फागु पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइने गरिन्छ ।

फागुन शुक्ल पूर्णिमाका दिन परम्परागत रुपमा विभिन्न रङ्ग र लोला खेली यो पर्व मनाउने गरिएको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकशिपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपू होलीकाले आगोमा दहन पार्न लाग्दा आँफै भष्म भएको दिनको रुपमा होली पर्व मनाउने गरिएको धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

काठमाडौँको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक रुपमा सुरुवात हुन्छ । हनुमान ढोकाको गद्दी बैठकमा तीन तले चीर ठड्याइन्छ अनि वसन्तपुरमा ध्वजासहित लिङ्गो गाड्दै फागु पर्वलाई स्वागत गरिन्छ ।

हाेली पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ ।

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने राष्ट्रपतिकाे विश्वास

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।

होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरे । उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।

“नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेकाे छ, “होलीपर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु ।”

राष्ट्रपति पौडेलले हिमाली, पहाडी तथा भित्री मधेस, काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा विभिन्न रङ र अबिर खेल्दै खुसीयालीसाथ मनाउने यस पर्वको परम्पराबारे उल्लेख गर्दै होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन् ।

कस्ताे रहला आजकाे माैसम ?

काठमाडाै‌ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभाव प्रभाव रहेको छ। जसकाे प्रभावले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार आज बिहान कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा आंशिकदेखि मुख्यतया सफा रहेको छ।

आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ।

रियलमी सि–५५ अब छुट मुल्यमा

काठमाडौँ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिला रु. २१ हजार ९९९ मा उपलब्ध रहेको ६ जिबि + ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य अहिले रु. १५,४९९ हुने भएको छ ।

रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपिको क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ ।

रियलमी सि–५५ मा ५ हजार एमएचको शक्तिशाली ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ ।

रियलमी सि–५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ । ६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ, भन्नाले मोबाइल तातिने समस्या कम हुन्छ ।

रियलमी सि–५५ को ६ जिबि + ६४ जिबि स्टोरेज भेरियन्ट अब मात्र रु. १५,४९९ मा उपलब्ध छ ।

दाङमा करेन्ट लागेर एकै घरका तीनको मृत्यु

घोराही । करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

राजविराजका सव-इन्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडाै‌ । सप्तर स्थित सामाजिक विकास इकाई कार्यालय राजविराजका सव-इन्जिनियर अजय कुमार साफी भन्ने अजय रजकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसहित नियन्त्रणमा लिइएको छ ।

भवन निर्माण सम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर अजय रजकलाई घुस/रिसवत वापतको रकम लिइसके पश्चात नियन्त्रणमा लिने क्रममा निजले घुस/रिसवत वापत लिएको नगद पन्ध्र हजार रुपैयाँ र रु. पचपन्न हजार रुपैयाँको चेक फ्याकी भागेकोले निज भाग्ने क्रममा फ्याकेको उक्त नगद र चेक नियन्त्रणमा लिइएको हाे ।

अनुसन्धानको सिलसिलामा अजय रजकले भवन निर्माण सम्बन्धी खाता रोक्का फुकुवा गर्नुपर्नेमा खाता फुकुवा नगरी/नगराई खाता रोक्का फुकुवा गर्ने प्रयोजनका लागि घुस/रिसवत माग गरी नगद रु.१५,०००।-(पन्ध्र हजार रुपैयाँ) र चेक रकम रु.५५,०००।-(पचपन्न हजार रुपैयाँ) समेत गरी जम्मा रु.७०,०००।-(सत्तरी हजार रुपैयाँ) घुस/रिसवत लिई सकेपश्चात नियन्त्रणमा लिने क्रममा घुस/रिसवत रकम र चेक फाली भागी फरार भएको थिए । उनलाइ उक्त घुस/रिसवत बरामद भएकोबाट निज अजय कुमार साफी भन्ने अजय रजकले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.७०,०००।-(सत्तरी हजार रुपैँया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएकाे छ ।

होलि खर्च जुटाउने नाममा रौतहट चेतनगर क्षेत्रका जङ्गल बिनास तीब्र

रौतहट । रौतहट जिल्लाभर बन बिनाश तीब्र भएको समाचार जानकारीमा आएको छ। स्थानीय राजनीतिक संरक्षकत्वमा बन क्षेत्रका काठपात चोरीपैठारी बढेको स्थानीय नागरिक समाजका अगुवा श्याम श्रेष्ठले सम्पत्ति न्युजलाई बताए । बनको महत्त्व बुझाउन नसक्दा र बुझ्नेहरुले नबुझ्नेलाई प्रयोग गरेर आम्दानीको श्रोत बनाउदा बन मासिने क्रमले तिब्रता पाएको हो। प्राप्त जानकारी अनुसार होलि पर्वको खर्चको निम्ति भन्दै रातभर बन फडानी र चोरी बढेको बताइएको छ।
पछिल्ला दिनमा चेतनगरभित्र मौलिया पैनी छेउ बाट खौराको बन्कुल हुँदै इनरुवा चाबी ,दुई मुहानका क्षेत्र बाट ठुलो संख्यामा बन फडानी गरिरहेका छन। रातीको समयमा ठुला रुख आरो प्रयोग गरेर काटानी भएको देखिन्छ भने दिउँसो हरियो काटानी गरिरहेपनी बन प्रशासन स्थानीय नागरिक समाजको मौनता रहेकोले पनि बन चोरी रोकिएको देखिदैन ।
चोरिएको रुख दाउराहरु जङ्गल नजिक रहेका चिरान मिल र इटा भटामा बेच्ने गरेको कारण कतिपय कमाउनैका लागि र आइपर्ने चाडपर्व मनाउनको निम्ति जगललाई आर्थिक श्रोत को रूपमा हेरिएको छ। चोरी गर्ने समुहको समरक्षण राजनितीक दलले गरेका कारण बन बिनास बढेको हो। बन नजिक रहेको चिरान मिलले सस्तोमा काठ किन्दिने र महगोमा बेच्ने समुहको संगठित गिरोहले बन बिनास गरिरहदा हेरिरहन बिवस बनेका कर्मचारीलाई समेत अतिरिक्त आम्दानी आउने भएकाले मौन बसेको नागरिक समाजको आरोप छ।

दिनरात भैरहेको यो बनबिनासको दृश्य हेरिरहेका स्थानीय समाजसेवी समेत रहेका श्रेष्ठ भन्छ्न हिजोको हरियो बन आज रहेन अब नागरिक स्वयं जागरुक नभए यो क्षेत्र जलवायु परिवर्तनको गम्भीर सिकार बन्ने निश्चित देखिन्छ भन्दै सम्पत्ति न्युजलाइ बन जोगाइदिने अभियानमा लागी दिन आग्रह गरेका छ्न्। यसैबीच बन बिनास बढे सगै बृक्षारोपण अभियान थाल्नुपर्ने सुझाब सगै गत हप्ता मरधरको चादी नजिक जन्म दिनमा एक एक बिरुवा रोपौ अभियान नेपाल पत्रकार महासघका केन्द्रिय सचिब गोबिन्द चौलागाईंले सुरु गरेका थिए। अब यो अभियानले रफतार लिन सके बन बिनास रोक्न मद्दत पुग्ने स्थानीय नगरिकको विश्वास रहेकाे देखिन्छ।

होलीलाई दुर्घटनारहित बनाउन उपत्यका ट्राफिकको कडाई

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरुको पर्व फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ ।

विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र ब्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने भएका हुन् ।

कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस बर्ष उपत्यका प्रवेश गर्ने नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखी नै चेकजाँचको व्यबस्था मिलाएको छ । त्यस्तै ३० ओटा मोबाइल भ्यान परिचालन गरि आवश्यकता बमोजिम मोबाइल गस्ति तथा चेक प्वाईन्ट समेत राखिने तथा दुर्घटना रहित होली पर्व मनाउन र उछ्रिङ्खल

गतिबिधीलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना बमोजिम मूख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्ने योजना रहेको छ, यसका

लागी ९ सय भन्दा बढि ट्राफिक प्रहरी खटिने ट्राफिक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।

अनावश्यक हर्न बजाउने, होहल्ला गरि सवारी चलाउने, मोडिफाई गरि ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तिब्रगति र जिकज्याक गरि मोटरसाइकल कुदाउने उपर विशेष निगरानी गरिनेछ भने अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाईका साथ कारबाही गरिने छ ।

विशेषगरी मादक पदार्थ र लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमती विपरीत रङ्ग दल्ने, लोला

हान्ने, अनावश्यक हो(हल्ला गर्ने, झै-झगडा गर्ने लगायतका उच्छ्रिङ्खल गतिबिधी गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने समेत प्रवक्ता

श्रेष्ठले जानकारी दिए। प्रवक्ता श्रेष्ठले रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको (मापसे र लापसे) सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर ट्राफिक चेकिङ्लाई कडा बनाइएको बताए ।

आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी

काठमाडाै‌ । सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए । उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ विकेटले पराजित गरेको छ ।

एक सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नइले १८ दशमलव चार ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । चेन्नईको जितमा ओपनरद्वय रितुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए । त्यसपछि आएका अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए । त्यसैगरी शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए । बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले एकरएक विकेट लिए ।


टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ७३ रन बनायो । बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए । उसका लागि सबैभन्दा धेरै अनुज रावतले ४८ रन बनाउँदा दिनेश कार्तिक २८ रनमा अविजित रहे ।

चेन्नईका लागि मुस्तफिजुर रहमान एक्लैले चार विकेट लिँदा दीपक चहरले एक विकेट लिए । जारी प्रतियोगिता अन्तर्गत शनिबार दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ भने राति ७:४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ ।

यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज(शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ। जसअनुसार

आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७७ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.३७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१९ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको छ ।

त्यस्तै भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आइतबार चीन भ्रमणमा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् ।

श्रेष्ठ चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा रहने मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्किनेछन् ।

आजकाे माैसम : यी स्थानमा वर्षाकाे सम्भावना

काठमाडाै‌ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसकाे प्रभावले आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोशनिबार मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार शनिबार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कांग्रेसद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

धनुषा । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज  पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।

पत्रमा भनिएको छ, “मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिदेखि सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।”
केन्द्रमा समीकरण फेरिएसँगै गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा सहभागी गराएका थिए ।

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएपछि परीक्षा रद्द 

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालन भएको कक्षा ६ को परीक्षा रद्द गरेको छ ।

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले परीक्षा रद्द गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका २८ सामुदायिक विद्यालयले सामूहिक परीक्षा गराउँदै आएका थिए ।

कक्षा ६ को स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयको प्रश्नपत्र कक्षा ४ को रहेको थियो ।

बिहान कक्षा ४ को परीक्षा भएको र सोही प्रश्नपत्र कक्षा ६ मा पनि दोहोरिएको विद्यार्थीको भनाइ छ । परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेपछि विषयसूची भन्दा बाहिरको भएपछि प्रश्नपत्र फिर्ता गरिएको विद्यार्थीको भनाइ छ ।

रद्द भएको परीक्षा यही चैत १० गते शनिबार हुने नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले बताए । उनले कक्षा ५ र ८ को परीक्षा नगरपालिकाले सञ्चालन गरे पनि अन्य कक्षाको परीक्षा समितिले गरेको बताए ।

उनले भने, ‘प्रश्नपत्र त्रुटि भएको विषयमा समितिलाई राय पेस गर्न भनेका छौँ।’ तयार भएको प्रश्नपत्र छपाइमा प्राविधिक त्रुटि भएको समितिका सदस्य नरेन्द्र घिसिङले बताए ।