सरकारले आफ्नो नाममा ल्यायो बाँसबारी छालाजुत्ता उद्योगको जग्गा

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा आफ्नो स्वामित्वमा ल्याएको छ । मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको छ।

शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो। 

‘हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा लगिएको बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।

पछिल्लो समय गृहमन्त्री रवि लामिछानेले सिआइबीलाई उक्त जग्गा फिर्ता ल्याउन निर्देशन दिएको थियो। त्यसअनुसार सिआइबीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान भइरहेको थाहा पाएसँगै नेपाली कांग्रेसका सांसद विनोद चौधरी, उनका भाइ बसन्त लगायतले सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित भएर बयान दिएका थिए।

कार्कीको अध्यक्षतामा मिटरब्याज जाँचबुझ आयोग गठन

काठमाडौँ । सरकारले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन भएको हो । 

अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न बनेको आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन् ।

सरकारले यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । त्यो आयोगले ५ हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुङ्ग्याएको थियो ।

तर त्यसले समस्या समाधान गरेको भन्दै पीडितहरु २३ दिन पैदल हिंडेर काठमाडौं आएपछि सरकारले नयाँ आयोग बनाउने सहमति गरेको थियो ।

मन्त्रिपरिषद् बैठकका १६ निर्णय (सूचीसहित)

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका विभिन्न १६ निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको बैठकले विभिन्न १६ निर्णय गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

विभिन्न १६ निर्णय:-

राजेन्द्र महतो लोसपाबाट स्वतः निष्काशित : ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोले पार्टी परित्याग गरेको भन्दै पार्टीबाट स्वतः निष्कासित  भएको बताएका छन् । अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएसँगै आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्कासित हुन पुगेको जानकारी गराएका हुन् ।

विगतमा सद्भावना पार्टीबाट राजनीति गरेका महतो, तमलोपा हुँदै राजपामा आइपुगेका ठाकुरसहित पार्टी एकता हुँदै ०७६ सालमा जसपा बनेको थियो । त्यसमा पनि विभाजन आएसँगै ठाकुर, महतो लगायतहरु लोसपामा आइपुगेका थिए ।

उनले पार्टीमा चित्त नबुझेर महतो निस्किएको भन्दै महतोले पार्टी छोड्दा आफूहरुलाई हित नै हुने बताए। उनले महतोले मधेशको मात्रै कुरा नगरेको भन्दै यसले उनैलाई प्रभाव पार्ने बताए। सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ठाकुरले प्रदेश सरकारलाई संघको दृष्टिले हेर्नु नहुने भन्दै मधेश प्रदेश सरकारमा पार्टी सहभागी भएको बताए।

अब महतोले नयाँ राजनीतिक अभियानमार्फत अघि बढ्ने घोषणा गरेका छन् । उनले यसअघि कुरा गर्दै लोसपा लोसे शक्ति भएकाले यसले हिमाल पहाड तराई जोड्न नसक्ने बताएका थिए । महतोले आफ्नो अभियानलाई राजनीतिक पार्टीमा रूपान्तरण गर्ने बताइएको छ ।

भरुवा बन्दुकसहित एक जना पक्राउ

पाल्पा । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।  जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लीलाबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। 

खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएका छन्।  

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज (शुक्रबार) सिंहदरबारस्थित भेटवार्ता भएको छ ।

भेटवार्तामा सरकारको कामकारबाही, नीति तथा कार्यक्रमबारे शीर्ष नेताबीच छलफल भइरहेको छ । सत्तारुढ ५ दलले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पको प्रभावकारी कार्यान्वयनका बारेमा समेत दुई नेताबीच छलफल भइरहेको छ ।

त्यस्तै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने र संसद्‍मा देखिएको गतिरोध खुलाउनेबारे पनि दाहाल र ओलीबीचको छलफलको एजेन्डा रहेको जनाएको छ ।

कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो ।

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो ।

महरालाई यही चैत ५ मा कपिलवस्तुमा पक्राउ परेका थिए । त्यसपछि काठमाडौं ल्याइएका उनलाई स्वास्थ्य स्थितिका कारण अस्पतालमा राख्न अदालतले आदेश दिएको थियो ।

सामाजिक विकास इकाइ कार्यालय सप्तरीका सव- इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास इकाइ कार्यालय सप्तरीका सव-इन्जिनियर अजय रजकविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका रजकविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

केही दिनअघि अख्तियारको टोलीले सेवाग्राहीबाट लिएको  १५ हजार नगद र ५५ हजारको चेकसहित उनलाई नियन्त्रणमा लिएको थियो। उनीमाथि ७० हजार रुपैयाँ बराबरको बिगो र सजायको माग गरिएको अख्तियारले जनाएको छ। आयोगको टलीलाई देखेपछि उनी घुसबापत लिएको रकम र चेक छोडेर भागेका थिए । ​तर आयोगको टोलीले उनलाई तत्कालै पक्राउ गरेको थियो ।​​​​​

उनीविरुद्ध ७० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी आयोगले गरेको छ।

सरकार र सहकारी बचतकर्ताबीच ८ बुँदे सहमति

काठमाडौँ । सरकार र आन्दोलनरत सहकारी बचतकर्ताहरूबीच आठ बुँदे सहमति भएको छ । अधिकार सम्पन्न समिति गठन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउने सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको वार्तामा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानसँग समस्याग्रस्त सहकारी संस्थाहरूको हिसाब जाँच गर्ने सहमति भएको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सुदृढीकरण गरी समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन तथा बचत फिर्ता छिटो सम्पन्न गर्ने पनि सहमति भएकाे छ ।

सहकारी क्षेत्र सुधार सुझाव कार्यदल–२०८० ले दिएका सुझाव तत्काल कार्यान्वयनमा लैजान बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरण तत्काल स्थापना गर्ने लगायत सहमति भएको छ ।

१. संघर्षरत पीडित पक्षले माग गरेका एवं हाल समस्या देखिएका सहकारी संस्थाहरुको निरीक्षण अनुगमन एवं हिसाव जाँच गर्ने । यसरी जाँच गर्दा समस्यामा देखिएका सहकारीहरुको पहिचान गरी त्यस्ता सहकारी संस्थाहरुलाई समस्याग्रस्त सहकारीको रुपमा घोषणा गर्नुपर्ने भएमा विस्तृत विवरण सहित सरकार समक्ष सिफारिश गर्नको लागि पीडित संघर्षरत वचतकर्ता समेतको प्रतिनिधित्व हुने गरी एक स्वतन्त्र, अधिकार सम्पन्न समिति गठन गर्ने र सो समितिको सिफारिसमा त्यस्ता सहकारी संस्थालाई सरकारले समस्याग्रस्त सहकारी घोषणा गरी एकद्धार प्रणाली मार्फत त्यस्ता सहकारीको सम्पत्ति र दायित्वको फरफारक गरी वचतकर्ताको वचत फिर्ता गर्ने प्रक्रिया अविलम्ब थालनी गर्ने ।

२. मौजुदा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा जनशक्ति, स्रोतसाधन लगायत संस्थागत क्षमताको सुदृढिकरण गरी यसरी घोषणा गरिएका समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन तथा बचत फिर्ताको कारवाही यथाशीघ्र सम्पन्न गर्ने ।
३. समिति सिफारिसमा सहकारी ऐन, २०७४ को दफा १२२ वमोजिम कसुर गर्ने सहकारीका सञ्चालक, व्यवस्थापक र संलग्न कर्मचारीहरुलाई कानून बमोजिम तत्काल कारवाहीको दायरामा ल्याउने ।

४. सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएका सुझावहरु तत्काल कार्यान्वयनमा लैजान निम्न संरचनाहरु स्थापना गर्ने कार्य तत्काल अघि बढाउने । a) बचत तथा कर्जा सुरक्षण कोष, b) कर्जा सुचना केन्द्र, c) कर्जा असुली न्यायाधिकरण ।

५) सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई सम्बोधन गर्ने गरी राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गर्ने । सोही परिदृष्यमा सहकारी ऐन तथा नियमावलीमा सहकारी क्षेत्रबाट पिडितहरुको माग लगायतका विषयहरु संम्बोधन गर्ने गरी तत्काल ऐन, नियमावली संशोधनको प्रकृया यथाशीघ्र अघि बढाउने ।

६. वित्तीय सहकारी क्षेत्रको नियमन तथा सुपरिवेक्षणका लागि स्वतन्त्र, स्वायत्त र प्रभावकारी नियमनकारी निकाय तत्काल गठन गर्न कानून तर्जुमा प्रकृया अघि बढाउने ।

७. सहमति कार्यान्वयनको अवस्था दुबैपक्षबीच निरन्तर आदान–प्रदान गर्ने ।

८.सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको तर्फबाट हालसम्म सञ्चालित आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने ।

तीनै तहका सरकारले आ-आफ्नो जिम्मेवारीअनुसार जनतालाई अनुभूत हुने गरी काम गर्नु छ: मन्त्री जोशी

काभ्रेपलाञ्चोक। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले तीनै तहका सरकारले आ-आफ्नो जिम्मेवारीअनुसार जनतालाई अनुभूत हुने गरी सेवा प्रवाह र विकास व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

उनले सेवा प्रवाह र विकास व्यवस्थापनमा जनप्रतिनिधि र कर्मचारीहरु समेतले सुशासनका पक्षमा प्रतिवद्ध हुनुपर्ने आवश्यकता रहेको बताए । मन्त्रालयले बिहीबार धुलिखेलमा गरेको बहुक्षेत्रीय पोषण योजना तेस्रो, पोषणमैत्री स्थानीय शासन र स्थानीय तहको अनुगमन तथा प्रतिवेदन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्री जोशीले संविधानले तीनै तहका अधिकारको स्पष्ट बाँडफाट गरेको उल्लेख गर्दै सबैले आफ्नो दायित्व पूरा गर्नेमा ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

मन्त्री जोशीले पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि सर्वपक्षीय प्रतिवद्धता साथै कृषि, पशुपन्छी लगायतका क्षेत्रको प्रवर्द्धन र सम्वर्द्धन हुनुपर्ने बताए ।

कार्यक्रममा संघीय मामिला तथा प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले संघ, प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयबाट मात्र कार्यक्रमहरूको प्रभावकारिता बढ्ने बताए । मन्त्रालयका सहसचिव सुमन दाहालले बहुक्षेत्रीय पोषण अभियानमूलक कार्यक्रम भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप सूचक हासिल गर्न जीवनपद्धति तथा प्रणालीगत अवधारणा अनुसार काम गर्नुपर्ने बताए ।

चिकित्सा शिक्षा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय हो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पारे ।

‘गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्दछ,’ प्रधानमन्त्रीले भने, ‘दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्त्वपूर्ण छ ।’

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बाहिरी मुलुकबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालको चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आयोगबाट प्रस्तुत प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको बताए ।

“चिकित्सा शिक्षा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यो मानव समुदायको स्वास्थ्यसँग जोडिएको र सबैको चासोको क्षेत्र हो, यस क्षेत्रको नियमन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।”

सुन प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाड्ने तयारी

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख महरालाई कमजोर स्वास्थ्यका कारण छाड्न लागिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो । नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई छाड्न लागिएको हो । उक्त प्रकरणमा महरामाथि छानबिन भने जारी रहने छ।

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।

६ उपसचिवसहित प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौँ । ६ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।

प्राप्त जानकारी अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव गेहेन्द्रनाथ शर्माको जिल्ला समन्वय समिति उदयपुर सरुवा गरिएको छ भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका भूपेन्द्र राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा सरुवा गरिएको छ । यसैगरि वीरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीलाई दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

त्यसतै भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयकै उपसचिव चिरञ्जीवी पौडेललाई पुतली बजार नगरपालिका स्याङ्जाको प्रमुख प्रशासकीय अधिकृत, चितवनको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेलाई जिल्ला समन्वय समिति सिन्धुली र सिन्धुली जिल्ला समन्वय समितिमा कार्यरत लुम्बनाथ पोखरेललाई प्रदेश प्रमुखको कार्यालय, मधेस प्रदेशमा सरुवा गरिएको छ ।

घट्यो सुनको मूल्य, तोलामा कति पर्छ ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेर एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

बिहीबार एकै दिन २६ सयले बढेर प्रतितोला एक लाख २७ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ९ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला एक लाख २६ हजार २ सय थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर एक हजार ५ सय तोकिएको महासङ्घले जनाएको छ ।

यस्तो छ तपाईंको ९ चैत्र २०८०, शुक्रबार आजको राशिफल

मेष :सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँके÷ताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पद्र्धा वा परीक्षामा सफल भइने समय हो । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ ।

वृष : समय राम्रो छ। साथी र बन्धुको साथ मिल्नेछ। ठुलो काममा लगानी गर्नुपर्ने दिन छ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। धन परोपकारमा खर्च गर्ने अवसर मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानी राम्रो हुनेछ। परिवारले साथ दिनेछन्। शिक्षा र राजनीतिको क्षेत्रमा भने सचेत भएर लाग्नुपर्ने दिन छ।

कर्कट : समय राम्रो छ। धनलक्ष्मी योग परेको छ। काम गर्दा हल्ला कम गर्नु राम्रो होला। लगानीका क्षेत्र भने अब्बल छन्। यात्रामा जोखिम छ। पश्चिमको यात्रा गर्दै नगर्नु राम्रो हुन्छ। परिवारमा विश्वासको अभाव देखिन्छ।

सिंह : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारमा भने विश्वासको संकट हुनसक्छ। भगवानको नाम लिएर कामको सुरुवात गर्नुपर्ने दिन छ।

कन्या : दैनिकी राम्रो छ। हरेक क्षेत्र अब्बल छन्। शिक्षामा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। गुरुबाट हुने सहयोग उपलब्ध नहुने जोखिम देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : समय राम्रो छ। तपाईंको बोलीमा धेरै मानिस प्रभावित हुनेछन्। लगानी गर्ने भए धेरै बाटा खुलेका छन्। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। आफूभन्दा ठुलाले असहयोग गर्ने जोखिम हुन्छ। शिक्षाको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा हात नलगाएकै राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। तपाईंले लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिएका छन्।

मकर : दिन सामान्य छ। कुरा काट्ने सक्रिय छन्। सामाजिक क्षेत्रमा दोष लगाउनेहरु सक्रिय छन्। अपरिचित व्यक्तिको साथ र सहयोग रहनेछ। परिवारको मायाले काम गर्ने परिस्थिति बन्नेछ।

कुम्भ : सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँके÷ताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पद्र्धा वा परीक्षामा सफल भइने समय हो । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ ।

मीन : दिन सामान्य छ। सामान हराउने जोखिम देखिन्छ। धर्मकर्ममा मन जानेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ। मन चञ्चल भएकाले धेरै विचार खेल्ने समय छ।