काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइने बैकले जनाएकाे छ ।
कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत व्याजदर रहेको छ । न्यूनतम् सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइराखेकालाई यस योजनाले लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
काठमाडौ । विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुुसीको सूचाङ्कमा नेपालले ९३औँ स्थान प्राप्त गरेको हो । उक्त प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ ।
फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । फिनल्याण्डपछि प्रमुख दशमा डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्टे«लिया छन् । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुसी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ । उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घ दिगो विकास सोलुसन नेटवर्क र डब्लुएचआर्स एडिटोरियल बोर्डले प्रकाशन गरेको हो । मुख्यत जीवन मूल्याङ्कनका प्रश्न उत्तरलाई आधार मानी प्रतिवेदन तयार पारिएको जनाइएको छ । उत्तरदाताहरुलाई आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बरबीच अङ्क दिने गरी प्रश्न सोधिएको थियो ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज मध्यान्ह १२ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ ।
यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्य योजनाका सम्बन्धमा छलफल हुने छ ।
काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले भूकम्पबाट ध्वस्त भएका दुई नगरपालिकाको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । गत कात्तिक १७ गते गएको भूकम्पबाट सबैभन्दा बढी क्षति भएको जाजरकोटको भेरी र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको पुनर्निर्माण गर्ने भएको हो ।
काठमाडौँमा हालै सम्पन्न संघको बार्षिक साधारणसभामा दुबै नगरपालिकाको पुनर्निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा संघका संरक्षक डा. शेष घले, अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरेका छन् भने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रमपछि बोल्दै संघका अध्यक्ष कुँवरले आफूहरुले भूकम्पबाट सबैभन्दा बढी क्षति पुर्याएको दुई नगरपालिकाको पुनर्निमाणमा सहयोग गर्न लागेको जानकारी दिए । उनले आफूहरुलाई काम गर्ने वातावरण बनाइदिन समेत नगर प्रमुखसँग आग्रह गरे ।
“हामीहरुलाई अरु केही चाहिँदैन, हामीलाई सहजरुपमा काम गर्ने वातावरण बनाइदिनुहोला । नेपालमा राम्रो काम गरौं भन्दा पनि अबरोध भएका अनुभव हामीसँग छन् । विशुद्ध सेवाभावका साथ हामीले दुई नगरपालिका रोजेका हौं । यसमा राजनीतिकरण गर्ने र काम गर्न असहज बनाइदिनुहोला” अध्यक्ष कुँवरले भने । उनले २०७२ सालको भूकम्पमा संरक्षक घलेको नेतृत्वमा लाप्राकको बस्ती नै बनाइदिएको स्मरण समेत गराए ।
अफगानिस्तान । अफगानिस्तानको कान्दाहार सहरमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा तीन जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका छन् ।
कान्दाहार सहरलाई देशमा शासन गर्ने तालिबान अधिकारीहरूको गढ मानिन्छ।
विष्फोट कसले गराएको हो भन्ने बारे तत्काल कुनै जिम्मेवारी लिएको छैन । उही समयमा, मार्च ११ मा मुस्लिम पवित्र महिना रमजान सुरु भएदेखि देशभरि धेरै विस्फोटहरू रिपोर्ट गरिएको छ, केही तालिबान अधिकारीहरूले पुष्टि गरेका छन्।
कान्दाहार प्रान्तका सूचना तथा संस्कृति निर्देशक इनामुल्लाह सामानगानीले प्रारम्भिक जानकारीका अनुसार सहरमा आत्मघाती हमला भएको थियो जसमा तीन जना देशबासीको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।
कर्णाली । चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न यो सम्झौता भएको हो ।
तीनवटै प्रतिष्ठानका सहकुलपति उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिपिकेआईएचएस र न्याम्ससँग, बिपिकेआईएचएसले कर्णाली र न्याम्ससँग, न्याम्सले कर्णाली र बिपिकेआईएचएससँग सम्झौता गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले बताए
अब तीनवटै प्रतिष्ठानबीच विद्यार्थी तथा अध्यापक आदानप्रदान हुने बताउँदै उनले भने, “शैक्षिक कार्यक्रम सञ्चालनका लागि सुगमको तुलनामा दुर्गममा गाह्रो हुन्छ तर काठमाडौँको न्याम्स, धरानको बिपिकेआईएचएसमा जस्तै जुम्लामा पनि अण्डर ग्र्याजुएट्स र पोष्ट ग्र्याजुएट्सका कार्यक्रमहरु सञ्चालन गरेका छौं ।”
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारी शैक्षिक प्रतिष्ठानलाई प्रभावकारी रुपमा अघि बढाउन आपसी सहयोग र सहकार्य फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानले स्वास्थ्य शिक्षा र सेवामा पु¥याएको योगदानको उनले सराहना गरे।
काठमाडाै । नेपाल राष्ट्र बैंकले आज शुक्रबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बैकका अनुसार शुक्रबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ७४ पैसा र बिक्री दर १३३ रुपैया ३४ पैसा कायम भएकाे छ ।
युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ७२ पैसा र बिक्री दर १७० रुपैयाँ ०८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४८ रुपैयाँ ६३ पैसा र बिक्री दर १४९ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६५ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ७६ पैसा छ ।
राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७८ पैसा र बिक्री दर ८ रुपैयाँ ८२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४४ पैसा र बिक्री दर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।
काठमाडौँ । बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।
बहराइनको रिफास्थित बहराइन राष्ट्रिय फुटबल मैदानमा आज बिहान भएको खेलमा बहराइनसँग नेपाल ५–० गोल अन्तरले पराजित भएको हो । यो जितसँगै बहराइनले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । बहराइन ६ अङ्कका साथ दोस्रो स्थानमा छ । यस हारसँगै नेपालले प्रतियोगितामा तेस्रो हार बेहोरेको छ । समूह ‘एच’ मा रहेको नेपाल पहिलो खेलमा युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । नेपाल अङ्क विहीन छ । बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन, इब्राहिम अल खातल र इस्मील अब्दुलातिजले समान एक एक गोल गरे ।
खेलको दोस्रो मिनेटमै माहदी अल हुमाइदानले बहराइनका लागि पहिलो गोल गरे । त्यस्तै खेलको नवौँ मिनेटमा सायद बाकरले गोल गर्दै बहराइनको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा अली मादनको हेडर गोल गरे । यससँगै बहराइनले खेलको पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ८७औँ मिनेटमा इब्राहिमले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इस्मीलले बहराइनका लागि पाँचौ गोल गरे । बहराइनका खेलाडीलाई नेपालका लाकेन लिम्बूले बक्सभित्र लडाएपछि अस्ट्रेलियन रेफ्री एलेक्जान्डर किङले बहराइनलाई पेनाल्टी दिएको थियो ।
समूह ‘एच’ मा नेपालसहित बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । युएई तीन खेलमा तीन जितसहित ९ अङ्कका साथ पहिलो स्थानमा छ । त्यस्तै यमन तीन खेलमा एक जितसहित तीन अङ्कका साथ तेस्रो स्थानमा छ ।
काठमाडाै । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
सोलुखुम्बु । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका सचिव रामेश्वर दंगालले आफुले गरेको काम सहि छ, कानून बमोजिम छ भने आयोगसँग कोही कसैले आत्तिनु र डराउनुपर्ने अवस्था नभएको बताएका छन् । यही चैत्र २ गते सोलुखुम्बुमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उनले उठेका प्रश्नहरुको जवाफ दिने क्रममा सो बताएका हुन् ।
उनले कार्यक्रममा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सबैको जिम्मेवारी रहेकोले सबैले सहकार्य गरे भ्रष्टाचार नियन्त्रण हुने बताए । आयोगको भूमीका केवल उपचारात्मक मात्र नभई प्रवर्द्धान्तमक समेत रहेकोले आयोगले प्रदेशस्तरीय, जिल्लास्तरीय तथा पालिकास्तरीय अन्तर्क्रिरया कार्यक्रम गरी भ्रष्टाचार नियन्त्रणमा अग्रसर रहेको उनको भनाइ थियो । सचिव दंगालले उजुरी पर्दैमा आत्तिनु नपर्ने तथा गरेको काम कानून सम्मत छ भने सो को भुक्तानी रोक्नु पर्ने आवश्यकता नभएको जवाफ दिए । उक्त कार्यक्रममा सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा सबैको भूमिका रहने र यसका लागि सबैले आयोगलाई सघाउनुपर्ने बताइन् । भौगोलिक रुपले दुर्गम क्षेत्र भएकोले आयोगले छानविनको जिम्मेवारी दिंदा सिमित समयमा सिमित संशाधनले छानविन गर्न निकै चुनौतिपूर्ण रहेको भनाइ थियो ।
उक्त दुर्गम क्षेत्रको छानविन अनुसन्धान आयोगको आफ्नै टोलीमार्फत गरिदिन उनले आयोगलाई अनुरोधसमेत गरिन् । कार्यक्रममा उनले वडाबाट हुने विभिन्न सिफारिसहरुमा अनियमितता भएको तथ्य देखिएकोले सिफारिस गर्दा संवेदनशिल भएर सबै तवरले सन्तुष्ट भई मात्र वडाबाट सिफारिस हुन मनासिव देखिएको बताइन् ।
सोही अन्तरक्रिया कार्यक्रममा सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा आयोगले उल्लेखनिय कार्य गरेको जानकारी गराउँदै यसमा सबैले सहकार्य गर्नुपर्ने औल्याए । त्यस्तै अध्यक्ष बस्नेतले देशको राजनितिक नेतृत्व तथा कर्मचारी नेतृत्वमा तालमेल नहुँदा जनतालाई सेवा प्रवाहमा मर्का परेको उल्लेख गरे । ‘अति आवश्यक कार्यको लागि समेत समयमा बजेट व्यवस्थापन नहुँदा विकास निर्माणको कार्यमा बाधा परेको तथा संरचना अधुरो भई प्रयोगमा आउन नसकेको तितो सत्य हो,’ उनले भने ।
यसैगरी कार्यक्रममा अर्का अतिधि लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले आफ्नो गाउँपालिका धेरै उजुरी परेको तर महिला भएकै कारणले असफल बनाउन तथा मानसिक रुपले प्रताडित गर्न कपोकल्पित झुठ्ठा उजुरी दिने गरेको बताइन् । आफ्नो गाउँपालिकामा परेका उजुरीहरुको छिनोफानो आयोगले समयमा गरिदिए राम्रो हुने उनको भनाइ थियो ।
गाउँपालिकाको अध्यक्ष हुनुभन्दा अघि पहिले शिक्षक भएको र सो पेशा छोडी राजनितिमा आउनुको मुख्य कारण पालिकाको विकास तथा सामाजिक रुपान्तरणको आकांक्षा रहेकोसमेत उनले प्रष्ट पारिन् । कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद निरौलाले आफुले भ्रष्टाचार नगर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले सबैले सोहि प्रतिवद्धता गरे भ्रष्टाचार आफैं नियन्त्रण भएर जाने औल्याए । ‘भ्रष्टाचार नियन्त्रणको कार्यमा हामी सबैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सघाउनु पर्छ,’ उनले भने । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख राम बहादुर कुरुम्वाङले स्वागत मन्तव्य राख्ने क्रममा आम नागरिकको अपेक्षित भावनाअनुरूप सुशासनको प्रत्याभूति गराउन सबै आआफ्नो ठाउँ बाट लाग्नुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी कार्यक्रमलाई संचालन सुनिल कुमार चौरसियाले गरेका थिए ।
काठमाडौ । गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ २१ बुँदे निर्देशन जारी गरेको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले तत्काल अनुभूत गर्नेगरी स्थानीय प्रशासनको कामकारबाहीमा सुधार ल्याउन निर्देशन गरेअनुसार मन्त्रालयले उक्त निर्देशन जारी गरेको उनको सचिवालयले जनाएको छ । निर्देशनमा शान्तिसुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, गुनासो व्यवस्थापन, कर्मचारी आचरण र अनुशासन, सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण, विकास निर्माणका काममा समन्वय र सहजीकरणलगायत विषय समेटिएका छन् ।
उपप्रधानमन्त्री लामिछानेले मन्त्रालयको निर्देशन कार्यान्वयन भए/नभएको मूल्याङ्कन गर्न उच्च अधिकारीलाई आग्रह गरेका छन् । उनले देखिने गरी सेवा प्रवाह गर्न, लोभमा नफस्न र कुनै पनि प्रभावबाट प्रभावित नहुन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल २४ घण्टा सञ्चालनमा आउने भएका छन् । चैत ७ गतेदेखि नै ति पेट्रोल पम्पहरु २४ घण्टा खुल्ला गरिएको गृह मन्त्रालयले जनाएको छ ।
नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्पले २४ सै घण्टा सेवा दिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघमा नयाँ कार्यसमिति गठन भएको छ । संघको चैत ७ गते सम्पन्न आठौं बार्षिक साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको हो । उक्त सभाले आगामी दुई वर्षको लागी राजेन्द्र मल्ललाइ नयाँ कार्यसमितिमा सर्वसम्मतले चयन गरेको हो।
काठमाडौंमा सम्पन्न संघको ८ औं वार्षिक साधारण सभाबाट नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत रहेका राजेन्द्र मल्लको नेतृत्वमा नेपाल निर्जीवन बीमा व्यवसायी संघको कार्यसमिति गठन भएको हो । मल्ल प्रभु इन्स्योरेन्सको तर्फबाट निर्वाचित भएका हुन् ।
नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मल्ल निर्वाचित हुँदा उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास मूल र महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ चयन भएका छन् । यसैगरी संघको कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रशेमकुमार निरौला निर्वाचित भए । संघको ८ औं वार्षिक साधारण सभाबाट यूनाइटेड अजोडका आजाद श्रेष्ठ, सिद्दार्थ प्रिमियर इन्स्योरेन्सका पवन अग्रवाल र सानिमा जनरलका कुनाल कयाल सदस्यहरूमा निर्वाचित भएका छन् ।
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ४ सांसदलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय बदर गरेको छ।
निर्वाचन आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै १५ हजार जरिवाना तोकेको थियो ।
उच्च अदालत पाटनका न्यायाधीशद्व मुनेन्द्र प्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले रिट जारी हुने फैसला सुनाएको हो। आयोगको निर्णयविरुद्ध १४ साउनमा ४ सांसदले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १५.३७ अंक घटेर २०४८.५७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।
नेप्सेमा आज ४ अर्ब ३१ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४८ वटाको बढेको छ भने १८८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, सर्वोतम सिमेन्ट लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।
आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। यसैका कारण यस दिन कारोबार रकम बढ्न पुगेको हो। यस दिन गोर्खाज फाइनान्सको २७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।